डेढ करोड लगानीमा स्थापना गरेको उन्नत जातको बाख्रा फार्म अहिले पूर्ण रूपमा बीउ उत्पादन फार्मको रूपमा परिणत भएको छ । फार्ममा १२१ वटा बोयर जातका बोका, माउ बाख्रा र पाठापाठी रहेका छन । पाठापाठीबीउको निम्ति बिक्री गरिन्छ । स्थानीय जातका माउ बाख्रा र भारतबाट बोयर जातको एउटा बोका ल्याएर तीन वर्षदेखि हेटौंडा उपमहानगरपालिका ३ सिमन्थलीमा फार्म स्थापना गरिएको थियो । फार्ममा हाल दक्षिण अफ्रिकाबाट ल्याएको बोयर जातको २ , भारतबाट ल्याएको एउटासहित १० वटा बोयर जातका बोका छन् ।
दक्षिण अफ्रिकाबाट प्रतिबोका ३ लाख ८० हजार रुपैयाँमा खरिद गरी ल्याएको छ । चारवटा बोका फार्ममै नियमित रूपमा राख्ने गरिएको छ । अन्य ६ बोका जिल्लाको विभिन्न बाख्रा फार्ममा पठाउने गरिएको छ । ‘उक्त बोका लगाएर जन्मेको पाठापाठी उचित मूल्यमा खरिद गर्ने गरेका छौं,’ फार्मका सञ्चालक गोविन्द सुवेदीले भने, ‘तीन महिनाका पाठापाठी २ हजारदेखि ३ हजार रुपैयाँसम्ममा खरिद गर्ने गरेका छौ ।’ गत आवमा मात्र उक्त फार्मले बोयर जातका ५ सयभन्दा बढी पाठापाठी बिक्री गरेको थियो । आव ०७३/७४ मा फार्मले करिब ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको फार्म सञ्चालकले बताएका छन् । हाल फार्ममा स्थानीय जातका एउटा पनि बाख्रा छैनन । नश्ल सुधार गरी जन्मेका पाठापाठी २० वटा छन् । अरू सबै शुद्ध बोयर जातका छन् ।
‘निर्वाहमुखी बाख्रापालनबाट कृषकहरूलाई जीवन धान्न धौ–धौ परेकाले विदेशबाट उन्नत जातका बाख्रा र बोका ल्याएर नश्ल सुधार गरी बीउ उत्पादन गर्दै बिक्री–वितरणको उद्देश्यले फार्म स्थापना गरेका थियौं,’ सञ्चालक सुवेदीले भने, ‘फार्म अहिले क्रमश: बीउ केन्द्रको रूपमा स्थापित हुँदै गएको छ ।’ यो फार्ममा उत्पादित पाठापाठीहरू गत वर्ष ३९ जिल्लाका कृषकले खरिद गरेर लगेका थिए । ‘सिमन्थली बाख्रा फार्म वोयर जातको बाख्राको बीउ केन्द्रको रुपमा परिणत भइसकेको छ’ पशुसेवा कार्यालय हेटौडाका प्रमुख रामप्रकाश प्रधानले भने ।
स्थानीय जातका बाख्रापालन गरेर कृषकहरूको आर्थिक अवस्थामा सुधार नआएकाले उनीहरूको अवस्थामा सुधार ल्याउन उद्देश्यले उन्नत जातका बाख्राका बीउ उत्पादन केन्द्र स्थापना गरेको फार्मका सञ्चालक सुवेदीले वताए । चार महिना पुगेपछि मात्र उनीहरूले पाठापाठी बिक्री गर्ने गरेका छन् । बोयर जातका पाठापाठी प्रतिकेजी चार हजार रुपैयाँमा र क्रस गरेर उत्पादन गरेको पाठापाठी एक हजार ८ सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ । बोयर बोका लगाएबापत प्रतिबाख्रा ५ सयदेखि २ हजार रुपैयाँसम्म लिने गरिएको छ । उक्त बाख्राबाट उत्पादन भएको पाठापाठी फार्मलाई बिक्री गर्ने भए ५ सय रुपैयाँ, आफंैले पाल्ने भए एक हजार रुपैयाँ र उत्पादित पाठापाठी चार महिनापछि अरूलाई बिक्री गर्नेसँग २ हजार रुपैयाँ लिने गरिएको छ । ‘उन्नत जातको बाख्राको यो बीउ केन्द्रले बाख्रापालकहरूको जीवनस्तरमा परिवर्तन ल्याउन सहयोग पुर्याउँदै आएको छ,’ प्रधानले भने, ‘बोयर जातका बाख्रा र बोका बाहिरबाट ल्याउन समस्या छ ।’
करिब चार बिघा जमिनमा आधुनिक खोरसहित बनाएर डाले र भुइँघाँसको पनि राम्रो व्यवस्था गरेर खोलिएको उक्त बाख्रा फार्ममा चार जनाले रोजगारी पाएका छन् । उक्त बाख्रा फार्म अवलोकन गर्ने प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । समूहलाई ५ सय रुपैयाँ प्रवेश शुल्क लिने गरिन्छ । गत आवमा प्रवेश शुल्कबाट मात्र १८ हजार रुपैयाँ आम्दानी भएको सुवेदीले बताएकाे समाचार हामीले कान्तिपुर दैनिकबाट लिएका हाैं ।