प्रदेश २ को चुनावी परिणामपछि एमाले र माओवादी केन्द्र प्रदेश र संसदको चुनावको तालमेल गर्दै पार्टी एकतासमेत गर्ने निष्कर्षमा पुगेका छन्। दुई पार्टीबीच चुनावी तालमेल र पार्टी एकताबारे श्रृंखलावद्ध छलफल भएका छन्।
छलफलमा एमालेबाट वरिष्ठ नेता माधव नेपालसहित उपाध्यक्षद्वय वामदेव गौतम र भीमबहादुर रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली र योगेश भट्टराईलगायतका नेताहरू वार्तामा सक्रिय छन्। त्यस्तै, माओवादीबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’, अग्नि सापकोटा, टोपबहादुर रायमाझीलगायतका नेताहरू सक्रिय रहेका छन्।
यसबीचमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि पटक पटक छलफल भैसकेको छ।
यस्तो छ समझदारीको मस्यौदा
१. एमाले र माओवादी केन्द्रबीच कम्तीमा चुनावी गठबन्धन र बढीमा पार्टी एकता गरेर अघि बढ्ने, प्रतिनिधिसभा र प्रदेश सभामा वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिबीच चुनावी गठबन्धन बनाउने।
२. गठबन्धन र एकतामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलगायतका दल र शक्तिलाई पनि सामेल गराउने, हृदयेश त्रिपाठीलाई पनि समेट्ने।
३. निर्वाचनमा नयाँ शक्ति र फोरमलगायतका शक्तिलाई दिइनेबाहेक बाँकी सिटमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने।
४. पार्टी एकताका लागि सर्वपक्षीय प्रतिनिधित्व हुने गरी १० सदस्यीय एकता संयोजन समिति बनाउने । समितिमा एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेता वामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल, नयाँ शक्तिबाट डा। बाबुराम भट्टराई तथा संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव र अशोक राईले प्रतिनिधित्व गर्ने।
५. पार्टी एकता भएमा एमाले र माओवादी केन्द्रका अध्यक्षको हैसियत समान रहने, दुईमध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने।
६. निर्वाचन आयोगले सहमति दिए एउटै चिह्नबाट दुवै दलले प्रत्यक्ष र समानुपातिकतर्फ चुनाव लड्ने, आ–आफ्ना चुनाव चिह्नबाट उम्मेदवारी दिएको अवस्थामा पनि निर्वाचनपछि पार्टी एकता गर्ने।
७. निर्वाचनअघि नै सरकार परिवर्तनको पहल गर्ने, राष्ट्रिय सहमतिको आधारमा सर्वदलीय चुनावी सरकार गठन गर्ने विषयलाई प्रस्तावको रूपमा अघि बढाउने।नयाँ पत्रिकामा समाचार छ ।