बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।कानुन मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा भावुक हुँदै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको तामाङले बताउनुभयो । आफू सधैँ नेपाली महिलाको सम्मानमा आँच आउन नदिने कुरामा सजग भएको उहाँले बताउनुभयो ।कानुनमन्त्री तामाङको अभिव्यक्तिले सरकार र पार्टीलाई काम गर्न अप्ठेरो भएपछि उहाँलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको थियो । आफूले एउटा सार्वजिनक कार्यक्रममा दिएको अभिव्यक्तिलाई गलत तरिकाले बुझिएको बताउँदै नारी अधिकारका लागि आफू निरन्तर लड्दै आएको बताउनुभयो । आफूले बंगलादेशमा पढ्ने छात्राहरु हिंसामा परेका कुरा भनेको स्पष्ट पार्दै त्यसलाई अतिरञ्जित पारिएको उहाँले बताउनुभयो ।मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । यसअघि आफ्नो अभिव्यक्तिप्रति उहाँले माफी माग्नुभएको थियो ।
हेर्नुहोस् भिडियोः
https://youtu.be/E-H9bqN0HA8
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्री शेरबहादुर तामाङलाई बालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए । बंगलादेश अध्ययनका लागि गएका नेपाली छात्राहरुको बारेमा उनले दिएको अभिव्यक्ति विवादास्पद भएपछि उनको चौतर्फी आलोचना गर्दै बर्खास्त गर्न आग्रह गरिएको थियो ।