चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङको विचारधारालाई पार्टीको संविधानमा समावेश गर्ने निर्णय गरेको छ । संविधानमा सीलाई चीनका पहिलो कम्युनिस्ट नेता तथा संस्थापक माओत्से तुङसित बराबरी हैसियतको दर्जा दिइएको छ । ०१२ मा चीनका राष्ट्रपति बनेपछि सीको चिनियाँ सत्तामाथिको पडक लगातार बलियो हुँदै गएको छ ।
संविधानमा ‘सी जिनपिङ विचार’ लेख्ने पक्षमा सर्वसम्मत निर्णय भएको छ । कम्युनिस्ट पार्टीको कंग्रेसको अन्त्यमा यो निर्णय गरिएको हो । बेइजिङमा बन्द ढोकाभित्र आयोजित यस कंग्रेसमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । यो चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठक हो, जसमा आगामी पाँच वर्षसम्म देशको सत्ताको बागडोर कसको हातमा हुनेछ भन्ने निर्णय लिने गरिन्छ ।
‘सी जिनपिङ विचार’
कम्युनिस्ट पार्टीको कंग्रेस १८ अक्टोबरमा सुरु भएको थियो । यस सुरुवातमा सी जिनपिङले तीन घन्टा लामो भाषण दिएका थिए । आफ्नो भाषणमा सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ नामको दर्शन पहिलोपल्ट पेस गरेका थिए । सीद्वारा यस दर्शनलाई पार्टीको कंग्रेसमा राखिसकेपछि पार्टीका शीर्ष अधिकारी र मिडियाका तर्फबाट यसको लगातार उल्लेख गरिँदै आएको थियो । यसलाई ‘सी जिनपिङ विचार’ भन्न थालिएको थियो । त्यतिखेरै यसको संकेत प्राप्त भएको थियो कि सीले पार्टीमा आफ्नो प्रभाव छाडेका छन् ।
बिबिसीका चीनस्थित सम्पादक केरी ग्रेसीको भनाइ छ कि पार्टीको संविधानमा ‘सी जिनपिङ विचार’ स्थापित हुनुको अर्थ यो भयो कि अब कुनै पनि प्रतिद्वन्द्वीले शक्तिशाली सी जिनपिङलाई कम्युनिस्ट पार्टीका नियमहरूको उदाहरण नदिई चुनौती दिन सक्दैन ।
यसअघि पनि कम्युनिस्ट पार्टीका नेताहरूका आआफ्ना विचार रहेका थिए । तर, माओत्से तुङका अतिरिक्त कसैको पनि विचारलाई पार्टीको संविधानमा ‘विचार’का रूपमा स्थान दिइएको थिएन । केवल माओ र देङ सियाओ पिङको नाम पार्टीको संविधानमा उनीहरूको विचारलाई लिएर समावेश गरिएको थियो ।
अब चिनियाँ स्कुलका बालबालिका, कलेजका विद्यार्थी र सरकारी कर्मचारीले कम्युनिस्ट पार्टीका नौ करोड सदस्यका साथ सी जिनपिङ विचार पढ्नेछन् । चीनमा सी जिनपिङ विचारका साथमा नयाँ ढंगमा चिनियाँ समाजवादी युग सुरु भएको छ । पार्टीले यस नयाँ युगलाई आधुनिक चीनको तेस्रो अध्याय नाम दिएको छ ।
पहिलो चरण अध्यक्ष माओको थियो । जसले गृहयुद्धमा फसेको चीनलाई बाहिर निकाल्नका लागि जनतालाई एकजुट गरेका थिए । दोस्रो चरण देङ सियाओ पिङको रह्यो, जसको शासनकालमा चीन एकजुट भयो । सियाओपिङले चीनलाई अनुशासित र विदेशमा थप शक्तिशाली बनाए ।
अब तेस्रो युग सी जिनपिङको सुरु भएको छ । अब सी जिनपिङको नाम पार्टीको संविधानमा समावेश गरिएको छ । यसपछि जबसम्म कम्युनिस्ट पार्टीका नियममा कुनै आँच आउँदैन, तबसम्म उनलाई कसैले चुनौती दिन सक्दैन ।
के छ सीको विचारधारामा ?
सी जिनपिङ विचारधारालाई नेताहरूले आफ्नो भाषणमा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी जिनपिङ विचारधारा’ का रुपमा उल्लेख गरेका छन्। यसले चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा माओ युग र देङ युगपछि शी युगको सुरुवातको संकेत गरेको छ ।
सीले आफ्नो विचारधारामा कम्युनिष्ट पार्टीको उपस्थिति, सक्रियता र सुदृढिकरणमा जो दिएका छन् । उनले आफ्नो भाषणमा समाज र राजनीतिका हरेक क्षेत्रमा पार्टीको नेतृत्वलाई सुनिश्चितता प्रदान गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।
सीले प्रस्तुत गरेको प्रतिवेदनमा १४ वटा प्रमुख सिद्दान्त रहेको बताएका थिए। जसमा ‘पूर्ण सुधार’, ‘विकासका नयाँ अवधारणा’, ‘मानवजाति र प्रकृतिको साझा भविष्य’, ‘सेनामाथि पार्टीको पूर्ण नियन्त्रण’, ‘एक राष्ट्र, दुई प्रणाली’ लगायतका विषय उल्लेख छन् ।
सीको विचारधारा बदलिँदो चिनियाँ सन्दर्भमा मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई लागु गर्ने प्रणाली भएको कम्युनिष्ट पार्टीका नेताहरुले बताए । सीले आफ्नो प्रतिवेदनमा पनि मार्क्सवाद–लेनिनवाद, माओ विचारधारा, देङ स्यायो पेङ सिद्दान्त, तीन प्रतिनिधित्वको सिद्दान्त र विकासबारे वैज्ञानिक दृष्टिलाई अझ सम्पन्न बनाउने उल्लेख गरेका छन् ।
त्यस्तै सीले २१ औँ शताब्दीको मध्यसम्ममा चीनलाई ‘महान आधुनिक र समाजवादी’ राष्ट्र बनाउने योजना पनि अघि सारेका छन् । यसका लागि उनले दुई चरणको लक्ष्य तय गरेका छन् । जसअनुसार, सन् २०३५ सम्म कम्युनिष्ट पार्टीले समाजवादी आधुनिकीकरणमा जोड दिने र सन् २०५० सम्ममा ‘समृद्ध, शक्तिशाली, लोकतान्त्रिक, साँस्कृतिक रुपले विकसित, सामञ्जस्यपूर्ण र सुन्दर’ चीन बनाउने उनले बताएका छन् । यसका लागि सेनाको सुदृढीकरण, नवान्वेषण, आर्थिक विकास र कूटनीतिमा उनले विशेष जोड दिएका छन्। उनले भनेका छन्, ‘यो युगमा चीन विश्वको केन्द्र बन्दै जानेछ र चीनले मानवजातिका लागि थप योगदान दिँदै जानेछ ।’ नयाँ पत्रिका/बिबिसी हिन्दीबाट