टर्कीले रुसबाट क्षेप्यास्त्र प्रतिरोधी प्रणाली किन्ने भएको छ। टर्कीले रुसबाट जमिनबाट आकाशमा प्रहार गर्न मिल्ने एस–४०० क्षेप्यास्त्र प्रतिरोधी प्रणाली किन्ने भएको हो।
‘रुसबाट एस–४०० किन्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ। त्यसका लागि केही अग्रिम भुक्तानी पनि गरिसकिएको छ,’ राष्ट्रपति रेसेप तैयप एर्डोगानले भनेका छन्, ‘पुटिन र म यसमा प्रतिबद्ध छौँ।’
नेटो सदस्यभन्दा बाहिरको राष्ट्रपबाट टर्कीले पहिलो पटक क्षेप्यास्त्र प्रणाली किन्ने कुराले नेटो गठबन्धनमा चासो पैदा गरेको जनाइएको छ।अमेरिकी रक्षा मन्त्रालयले यसबारेमा पहिले नै असन्तुष्टि जनाइसकेको छ। उसले गठबन्धनभित्रैबाट यस्ता सामग्री किन्नुपर्ने बताएको छ।अमेरिकी दबाबको बेवास्ता गर्दै राष्ट्रपति एर्डोगानले आफ्नो रक्षा आवश्यकता अनुसार सैन्य सामग्री किन्न टर्की स्वतन्त्र रहेको बताइसकेका छन्।
रुसले पनि सो प्रतिरक्षा प्रणाली टर्कीलाई बेच्न लागिएको पुष्टि गरेको छ। नेटो र रुसबीच क्रिमिया संकटपछि तिक्तता बढ्दै गएको छ। २०१५ को नोभेम्बरमा टर्कीले एक रुसी लडाकु विमान खसाइदिएपछि यी दुई राष्ट्रबीच पनि तनाव उत्पन्न भएको थियो।
तर गत वर्ष टर्कीमा भएको असफल कु प्रयासपछि टर्की र रुस नजिकिँदै गएका छन्। सो असफल कु मा अमेरिकासहित पश्चिमा शक्तिहरुले सहयोग गरेको आरोप टर्कीले लगाउँदै आएको छ। एजेन्सी