ईरानका राष्ट्रपति हसन रोहानीले आइतबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई गम्भीर चेतावनी दिँदै ईरानसँगको लडाईँ वापत अमेरिकाले ठूलो परिणाम भोग्नुपर्ने हुनाले ट्रम्पले पछुताउनुपर्ने चेतावनी दिएका छन् । रोयटर्सका अनुसार ट्रम्पले ईरानका समर्थक राष्ट्रहरुलाई ईरानविरुद्धको नीतिमा लाग्न उक्साइरहेको आरोप लगाउँदै रोहानीले सो चेतावनी दिएका हुन् ।ईरान आणविक सम्झौताबाट बाहिरिएसँगै अमेरिकाले ईरानमाथिको दबाब र प्रतिबन्ध झन कडा रुपमा लागू गरिरहेको छ । तर उता ईरानले भने अमेरिका सामु हार मानेको छैन र अहिले चीन, बेलायत रुस लगायतका राष्ट्रहरुसँग यस विषयमा समर्थन र सहयोग बटुलिरहेको छ ।
यसैबीच एक सम्मेलनमा आफ्ना कूटनीतिज्ञहरुलाई सम्बोधन गर्दै रोहानीले ट्रम्पलाई सिंहको पुच्छरसँग नखेल्न धम्की दिएका हुन् । उनले भने, ‘अमेरिकाले कुनैपनि लापरवाहीपूर्ण व्यवहार देखाएमा भविष्यमा उनीहरुलाई नै ठूलो पश्चाताप हुनेछ । त्यसैले अमेरिकाले थाहा पाइराख्न जरुरी छ कि ईरानसँगको शान्तिपूर्ण सम्बन्ध सबै शान्तिको बाबु हो भने ईरानसँगको लडाईँ सबै युद्धको आमा हो ।’उनका अनुसार अमेरिका अहिले ईरानको राष्ट्रिय सुरक्षा र हित विपरित कुनैपनि कार्य अघि बढाउने स्थानमा छैन । त्यसैले पनि रोहानीले ट्रम्प प्रशासनलाई आफ्नो ठाउँमा रहन आग्रह गरेका हुन् । वास्तवमा ट्रम्प प्रशासनले ईरानमाथिको दबाब जारी राख्न भड्कीला टिप्पणी गरिरहेको ईरानको आरोप छ । अमेरिकाले भने ईरानको आणविक कार्यक्रमलाई टुङ्गो लगाउने प्रयासमा आर्थिक प्रतिबन्धलाई झन कठोर बनाइरहेको छ । अमेरिकाले ईरानबारे गलत खबर प्रचार गर्दै सहयोगी राष्ट्रलाई आफ्नो पक्षमा पार्न खोजिरहेको इरानको गुनासो छ । एजेन्सीकाे सहयाेगमा