नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले गृह जिल्ला चितवनबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
प्रेस सेन्टर नेपाल चितवनले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफू चितवनबाट चुनाव लड्ने निर्णय भइसकेको बताएका हुन्। ‘वीरगञ्ज बैठकबाट म चितवनबाट चुनाव लड्ने निर्णय भएको छ, चितवन देशको एउटा विशिष्ट जिल्ला हो, यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ। त्यसैले म चितवनबाट चुनाव लड्दैछु।’ प्रचण्डले भने । प्रचण्डले आफू समग्र देशको अनुभव लिएर चितवन आउन लागेको र चितवनलाई उत्कृष्ट सहरको रुपमा विकास गर्न दीर्घकालीन विकासको गुरुयोजना बनाउने जानकारी गराए।
‘भरतपुरलाई स्मार्ट सिटी मात्रै नभएर उत्कृष्ट सहर बनाउनुपर्छ, मैले यसबारे चिनियाँहरुसँग पनि कुरा गरेको छु, छिट्टै यसको गुरुयोजना बन्छ।’ नदी नियन्त्रण र व्यवस्थापन, निकुञ्ज व्यवस्थापन, कृषिको आधुनिकीकरण, प्राविधिक शिक्षाको गुणात्मक विकास, रिङ रोड, सञ्चारलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिने उनले बताए।
हालै निर्वाचन क्षेत्रको पुनर्संरचना गर्दा चितवनमा ३ वटा निर्वाचन क्षेत्र निर्धारण भएको छ। प्रचण्डले आफूले चितवनको कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्नेचाहिँ खुलाएका छैनन्।