संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा ९ वटा स्थानीय तह थप्ने गृहकार्य अघि बढाएको छ। यो संख्या थपिएपछि देशभरी स्थानीय तहको संख्या ७ सय ४४ बाट बढेर ७ सय ५३ हुनेछ।
मन्त्रालयका सचिव दिनेश थपलियाले नयाँ थपिने स्थानी तहको कार्यालय, कर्मचारी र स्रोत व्यवस्थापन लगायतका काम थालिएको जानकारी दिए। स्थानीय तहको संख्या वृद्धि गर्नुपर्ने राष्ट्रिय जनता पार्टीको मागबमोजिम सरकारले जेठ ८ गते तराईका १२ जिल्लामा २३ वटा स्थानीय तह थप्ने, साविकका गाउँपालिकालाई वीरगञ्जमा गाभ्ने तथा २४ वटा गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो। दोस्रो चरणको निर्वाचनपूर्व गरिएको उक्त निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले जेठ १२ मा संख्या नथप्न अन्तरिक आदेश जारी गरेपछि कार्यान्वयन हुन सकेको थिएन।
अब प्रदेश नम्बर २ मा १० वटा स्थानीय तह थप हुनेछन्। जसमध्ये पर्साको एउटा गाउँपालिकालाई वीरगञ्ज महानगरपालिकामा गाभिनेछ। प्रदेश २ मा हाल ७८ वटा गाउँपालिका र ४९ वटा नगरपालिका रहेकोमा संख्या र सीमाना हेरफेरसँगै ५९ गाउँपालिका र १ महानगरपालिकासहित ७७ वटानगरपालिका हुनेछन्।
सप्तरीमा बलान बिहुल गाउँपालिका थपिएको छ। अन्य केहीको सिमाना हेरफेर गरिएको छ। सिरहामा कर्जन्हा गाउँपालिकालाई नगरपालिका बनाइएको छ। धनुषामा एउटा गाउँपालिका थपिएको र साविकका ३ गाउँपालिकालाई नगरपालिका बनाउँदा धेरैको ससिमाना चलाइएको छ।धनौजी गाउँपालिका नयाँ बनाइएको छ। कमला सिद्धिदात्री, हंसपुर र मिथिला बिहारी नगरपालिका भएका छन्। महोत्तरीमा ७ गाउँपालिकालाई नगरपालिका बनाइएकोछ। बलवा, लोहरपट्टी< अनराशिसवा, रामगोपालपुर, औरही, भंगाहा, मटिहानी नगरपालिका भएका छन्।
सर्लाहीमा पर्सा, कौडेना, र बसबरिया गाउँपालिका थपिएको तथा कविलासी गाउँपालिकालाई नगरपालिका बनाइएको छ। रौतहटमा १ गाउँपालिका र १ नगरपालिका थपिनुका साथै १२ वटा साविकका गाउँपालिकालाई नगरपालिका बनाइएको छ।
बारामा विश्रामपुर गाउँपालिका थपिएको छ। पर्सामा बेलवा गाउँपालिकालाई वीरगञ्ज महानगरपालिकामा मिसाइएको छ। जिरा भवानी र कालिकामाई गाउँपालिका नयाँ थपिएका छन् भनि थाहा खबरमा समाचार छ ।