चीनको स्यामनमा अब सी–मोदीबीच दिल खोलेर वार्ता हुन सक्नेछ
‘यो सुनाउन पाउँदा खुशी छु कि (दोक्लमबाट) भारतीय सेना र सैन्यउपकरण सबै फिर्ता भैसक्यो।’
सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले यो खुसी साटेसँगै तत्कालका लागि चीन–भारत युद्धको खतरा टरेको छ र सम्बन्धले नयाँ मोड लिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनको स्यामनमा अर्को साता हुने ब्रिक्स सम्मेलनमा सहयात्री देशका नेताहरूमाझ मुख देखाउन पनि दोक्लममा खटिएका आफ्ना सेना फिर्ता बोलाउनु आवश्यक थियो र सोही बमोजिम हुँदै गएको छ।
तत्कालका लागि ५५ वर्षअघि अर्थात् सन् १९६२ मा चीन र भारतबीच जुन सीमायुद्ध भएको थियो, त्यो दोहोरिने संभावना टरेको छ जसले एक्काइसौं शताब्दीमा युद्ध हैन, वार्ताद्वारा मात्रै शान्तिको वातावरण बन्छ भन्ने तथ्यलाई आत्मसात गरेको छ।
चीनको फुच्येन प्रान्तको राजधानी स्यामनमा भदौ १८ गतेदेखि पाँच (ब्राजिल, रसिया, इण्डिया, चीन, दक्षिण अफ्रिका) विकासोन्मुख राष्ट्रहरूको नवौं ब्रिक्स शिखर सम्मेलन हुँदैछ।
चिनियाँ मिडियाले लेखेका थिए– यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्मेलनमा भाग लिन आएनन् भने उनको उद्देश्य युद्धको पृष्ठपोषण गर्नु हो भन्ने ठहर्नेछ।एउटै गुटमा रहेका अन्य मुलुकमा राष्ट्रप्रमुख सहभागी भएको सम्मेलनमा भारतले आफ्नो प्रतिनिधि पठायो भने पनि दोक्लम विवादमा भारतले युद्ध नै खोजेको प्रष्टिन्छ। यदि भारतले दोक्लममा तैनाथ आफ्ना सेना र सैन्य उपकरण फिर्ता लिँदैन भने उसले शान्तिको पक्षमा बोल्नु पनि हास्यास्पद हुन्छ। अनि सम्मेलनपश्चात् शान्तिका पक्षमा भारतले वार्ताको वातावरण बनाएन भने पनि युद्धकै खतरा रहन्छ।
लामो समय बेलायती उपनिवेश रहेको भारतको मानसिकतामा अझै पनि औपनिवेशिक धङ्धङी बाँकी छ तर पनि भारतमा व्याप्त मपाइँत्व, महत्वाकांक्षा र अहंकारलाई कम आँक्न नहुनेमा चिनियाँ विश्लेषकहरू सतर्क थिए। भारतले सैन्य छलकपट र शक्तिका भरमा सिक्किममाथि कब्जा जमाउनु र भुटानमाथि आधिपत्य जमाउन खोज्नुलाई तिब्बत मामिलासँग दाँज्न नमिल्ने कुरामा विश्व विश्वस्त भैसकेको चीनको बुझाइ छ।
चीनको शान्तिपूर्ण विकासमा लम्किने सिद्धान्त मात्रै हैन, चीनले अघि सारेको एक पेटी एक मार्गको विश्वव्यापी आकर्षणले भारतलाई हीनताबोध भएको हुनसक्छ भनेर पनि चिनियाँ मिडियामा लेखिएको थियो।
दुई महिना अघि कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रुका लागि नाथुला नाका बन्द गरेपछि भारतले दोक्लममा चीनले बनाइरहेको बाटोमा औंला उठाएको थियो। भुटानको मामिलामा आफूले हस्तक्षेप गर्न पाउने भारतको दावी थियो र चीन–भुटान विवादमा भारत बीचमा घुस्न आएकाले चीनको अडान बलियो पनि थियो।
भारतीय सेना विवादित क्षेत्र दोक्लमबाट फिर्ता भएमात्रै वार्ता हुनसक्ने चीनको अडान सुरूवातीदेखि नै निरन्तर थियो। त्यसबीचमा बेइजिङमा ब्रिक्स सुरक्षा सल्लाहकारहरूको बैठक हुँदा भारतले विवादमा केही छलफल गर्ने अपेक्षा थियो, तर चीनले भनिदियोः यो बैठक दोक्लम विवादका लागि आयोजना गरिएको हैन।
चीन आफ्नो अडानमा टसको मस नभएपछि स्थितिले क्षेत्रीय शान्ति र विकासमा नमीठो कोल्टो फेर्ने त्रासदी छँदैथियो। चीनले भारतीय सेना फिर्ता नभएसम्म औपचारिक वार्ता नगर्ने भनिरहँदा भित्रभित्रै कूटनीतिक तवरबाट चाहीँ वार्ता भएको देखिन्छ।
सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता ह्वा छुन यिङले भनिन्, ‘चिनियाँ पक्षले आफ्ना प्रतिनिधि मार्फत् कैयौं पटक भारतीय प्रतिनिधिहरूसँग छलफल चलाएको थियो। यसमा चीनले सत्यतथ्य प्रस्तुत गर्दै भारतलाई सेना फिर्ता गर्न अपील गरेको थियो। चिनियाँ सीमा रक्षकले पनि सार्वभौमिकताको सुरक्षाका लागि वैधानिक अधिकार प्रयोग गरेको थियो।’
सोमबारका दिन भारतीय पक्षले दोक्लममा खटिएका आफ्ना सुरक्षाकर्मी फिर्ता लिने कुरा चीनलाई जानकारी गराएको थियो। तर प्रवक्ता ह्वाले चीनले आफ्नो सार्वभौमिकताको सुरक्षाका लागि ऐतिहासिक मार्गचित्रका प्रावधान बमोजिम अभ्यास गरिरहने पनि बताइन्।
उनले थपिन्, ‘चीनले भारतसँग राम्रो छिमेकपन र मित्रताको सम्बन्ध राखिराख्नेछ र हामी अपेक्षा गर्छौं कि भारतले पनि इतिहास र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै सीमा क्षेत्रको शान्ति र स्थिरता कायम राख्न अग्रसरता देखाउनेछ।’
सिमा क्षेत्रको तनावपूर्ण स्थितिले चीन भारत दुवै देशलाई पिरोलेको थियो। शान्तिपूर्ण निकासका लागि कुनै न कुनै पक्षले एक कदम पछाडि हट्नुको विकल्प पनि थिएन। अन्ततः जे भयो, राम्रो भयो।
विकासोन्मुख ठूला मुलुकसामु क्षेत्रीय शान्ति र विश्व अर्थतन्त्र विकासका लागि हातेमालो गर्नुपर्ने युग हो यो। ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री दिल खोलेर सहभागी हुनेछन् जहाँ राष्ट्रपति सी जिनपिङ र मोदीबीच दिन वार्ता हुन सक्नेछ।
भारतले दोक्लमबाट सेना फिर्ताको निर्णय सुनाएर चिनियाँ परम्परागत पात्रो अनुसार आज (सोमबार) प्रेम दिवसको दिन चीनलाई मीठो सन्देश दिएको छ। अब यो प्रेमले अझै गति लिन सकेमा एशियाको सुन्दर भविष्यका लागि मार्गदर्शन बन्न सक्नेछ। लक्ष्मी लम्साल/नेपाल खबरबाट