देशभर मनसुन सक्रिय भएसँगै अाएकाे बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १४ पुगेकाे छ । भारी बर्षाका कारण तराइमा बाढी र पहाडमा पहिराेका कारण जनजीवन अस्तव्यस्त भएकाे छ । सर्लाहीमा पनि बाढीले बगाएर दुई जनाको ज्यान गएपछि बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको हो। हरिवन नगरपालिकाको लखनदेही खोलाको बाढीले बगाउँदा ४० वर्षीय धनबहादुर लोप्चनको ज्यान गएको जानकारी प्रहरीले मंगलबार दिएको हो। यस्तै हरिवन खोलाले बगाउँदा टेकबहादुर विकको गएको छ। लखनदेही खोलामा आएको बाढीले बगाउँदा बरहथवा नगरपालिका १६ का ६५ वर्षका बलदेव महतो हराइरहेको प्रहरीले जनाएको छ।
बाढीपहिरोमा परी प्रदेश ५ मा मात्र आठ जनाको मृत्य भएको छ। त्यसमध्ये बाँकेमा चार जनाले ज्यान गुमाएका छन् भने रोल्पामा तीन जनाको मृत्यु भएको छ। दाङमा एक जनाको मृत्यु भएको छ। प्रदेश २ को पर्सा जिल्लामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। प्रदेश ७ को कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ। राजधानी काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलाले बताउँदा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले भने सोमबार साँझ ११ जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको पुष्टि गरेको छ। बाँकेमा सबैभन्दा बढी जनको क्षति भएको छ। बाँकेमा बाढीबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ। बाढीमा परी बैजनाथ गाउँपालिकामा दुई, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।