रोजगारको सिलसिलामा विभिन्न मुलुक पुगेका ९ वर्षमा ५ हजार ९ सय ३५ जना नेपाली कामदारको मृत्यु भएको छ । यो संख्या वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएका कामदारहरूको मात्रै हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार भदौ ०६५ देखि हालसम्म सबैभन्दा बढी मलेसिया, साउदी अरब र कतारमा नेपाली कामदारको मृत्यु भएको देखिन्छ । जसमा सबैभन्दा बढी मलेसियामा २ हजार १ सय ५२ जनाको ज्यान गएको छ । त्यसपछि क्रमशः साउदीमा १ हजार ६ सय ३७ र कतारमा १ हजार १ सय ९९ कामदारको मृत्यु भएको छ। नेपाली कामदारहरूको बढी मृत्यु हुने अन्य मुलुकहरूमा युएई, कुबेत, बहराइन, दक्षिण कोरिया, ओमानलगायतका छन् । उल्लिखित तथ्यांकमा श्रमस्वीकृति नलिई गएका, करार अवधि समाप्त भएका, अवैध रूपमा बसेका र अन्य भिसामा गएकाहरूको विवरण समावेश गरिएको छैन ।
वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरूमा सबैभन्दा बढी हृदयाघातबाट मात्रै १ हजार ६ सय २६ नेपाली कामदारको मृत्यु भएको प्रवद्र्धन बोर्डले जनाएको छ । दोस्रो कारण, भने प्राकृतिक मृत्यु भनेर उल्लेख गर्ने गरिएको छ । यसरी मृत्यु हुने कामदारको संख्या १ हजार ३ सय ५५ रहेको छ । वैदशिक रोजगारीमा गएका कामदारहरूको ज्यान जाने तेस्रो कारण भने सडक दुर्घटना हो । सडक दुर्घटनाबाट ८ सय २ जनाको ज्यान गइसकेको छ ।
यस्ता छन् मृत्युका कारण
वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरूमा सबैभन्दा बढी हृदयाघातका कारण ज्यान जाने गरेको पाइएको छ । हृदयाघातबाट मात्रै १ हजार ६ सय २६ नेपाली कामदारको मृत्यु भएको प्रवद्र्धन बोर्डले जनाएको छ ।
दोस्रो कारण, भने प्राकृतिक मृत्यु भनेर उल्लेख गर्ने गरिएको छ । यसरी मृत्यु हुने कामदारको संख्या १ हजार ३ सय ५५ रहेको छ । सम्बन्धित मुलुकमा नै प्राकृतिक मृत्यु उल्लेख भएर आउने र सोहीअनुसार बोर्डको रेकर्डमा उल्लेख हुने गरिएको बोर्डका निर्देशक बद्रीकुमार कार्कीको भनाइ छ । तर, युवा अवस्थाका कामदारको मृत्युलाई प्राकृतिक मृत्यु भनिनु गरिब मुलुकलाई हेप्नुबाहेक अन्य केही नभएको गंगालाल हृदय रोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले बताए । उनले भने, ‘यस्तो गम्भीर विषयमा कसैलाई मतलब नै छैन ।’ डा. कोइराला केही समयअगाडि सरकारले विदेशमा कामदारको मृत्यु भएको विषयमा अनुगमन गर्न पठाएको कार्यदलका सदस्यसमेत हुन् । सो कार्यदलले विषय गम्भीर भएको भन्दै विस्तृत अध्ययन गर्न आवश्यक रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर, सरकारले सो विषयमा हालसम्म कुनै सुनवाइ गरेको छैन ।
वैदशिक रोजगारीमा गएका कामदारहरूको ज्यान जाने तेस्रो कारण भने सडक दुर्घटना हो । सडक दुर्घटनाबाट ८ सय २ जनाको ज्यान गइसकेको छ । अन्य ८ सय ९७ जना कामदारको भने विभिन्न कारणले मृत्यु भएको छ । यस्तै, ५१ जनाको हत्या भएको छ भने ६ सय ५४ जनाले आत्महत्या गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । त्यस्तै कार्यस्थलको दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ रहेको छ ।
सरोकारवाला भन्छन्
घटना न्यूनीकरण गर्न अभिमुखीकरण तालिम पूर्णबहादुर मल्ल, अध्यक्ष वैदेशिक रोजगार अभिमुखीकरण महासंघ
वैदेशिक रोजगारमा जाने कामदारहरूले पर्याप्त मात्रामा जाने मुलुकको विषयमा जानकारी लिनुपर्छ । तर, त्यसको अभावमा सडक दुर्घटनालगायतका कारणले कामदारको मृत्यु भइरहेको छ । यस्तै घटना न्युनीकरण गर्न अभिमुखीकरण तालिमको व्यवस्था गरिएको हो।
पछिल्लो समयमा अभिमुखीकरण तालिमका कारणले मृत्यु हुने कामदारको संख्यामा कमी आउन थालेको छ । तर, त्यसलाई छलाङकै रूपमा सुधार भयो भन्ने अवस्था अझै छैन । अहिलेको अवस्थामा कुनै पनि कामदार अभिमुखीकरण तालिमबाट छुट्ने भन्ने छैन । तर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले योग्यता नै नहेरी प्रशिक्षक नियुक्ति गर्छ । त्यसले गर्दा अभिमुखीकरण तालिममा गुणस्तरता आउन नसकेको हो । सकेसम्म अभिमुखीकरण तालिम लिइसकेपछि कामदारको परीक्षा लिनुपर्ने व्यवस्था आवश्यक छ ।
अदक्ष कामदारले समस्या बद्री कार्की, निर्देशक,वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड
हाल वैदेशिक रोजगारमा जाने कामदारको मृत्युको दर एकदमै उच्च छ । तर, किन मृत्युदर बढी छ भन्नेमा बोर्डका तर्फबाट खासै अनुसन्धान अगाडि बढाइएको छैन । अदक्ष कामदार पठाएकै कारण कार्यस्थलको दुर्घटनामा कामदारको मृत्यु हुने गरेको छ । यस्तो अवस्थामा सकेसम्म दक्ष कामदार पठाउनेतर्फ जोड दिनुपर्छ । अभिमुखीकरण कार्यक्रम केही प्रभावकारी हुँदै गएकाले मृत्यु हुनेको संख्या बिस्तारै घटेको छ । नयाँपत्रिका दैनिकबाट ।