सिङ्गापुर । सिङ्गापुरमा स्वासप्रश्वास रोग डिप्थेरियाबाट एक बङ्गलादेशी निर्माण मजदुरको मृत्यु भएको छ। बीस वर्षपछि यस रोगबाट पहिलो मृत्यु भएको सूचना त्यहाँको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमार्फत् प्रसार गरेको छ।
अगस्त ४ का दिनमा प्रसारित विज्ञप्तिमा ” मृतक बङ्गलादेशी भएपनि उनी सिङ्गापुरबाट बाहिर यात्रा नगरेको” भन्दै “उनीलाई सिङ्गापुरमा नै संक्रमण भएको हुनसक्ने” बताइएको छ।
जुलाई ३० मा घाँटी सुन्निएका र ज्वरो आएका २१ वर्षीय मजदुरलाई अस्पतालमा भर्ना गरी पृथक कक्षमा राखी उपचार गरिँदै थियो। तर भर्ना भएको ३ दिनपछि उनको मृत्यु शुक्रवार भएको थियो।
मन्त्रालयको विज्ञप्तिमा थप कुरा के भनिएको छ भने बिरामीसँगै बस्ने घनिष्ट सहयोगी र उनको आवास र कार्यस्थलका व्यक्तिहरुको समेत निदानात्मक परीक्षण गरिदैछ।
यस भन्दा अघि त्यहाँ सन् १९९२ मा सिङ्गापुरकै स्थानीय विरामी र सन् १९९६ मा अन्य मुलुकबाट आएका विरामी देखापरेका थिए।
डिप्थेरिया विरामी व्यक्तिबाट अर्को व्यक्तिमा छोइछिटो हुँदा स्वासप्रश्वास नलीको बाटो हुँदै सर्ने रोग हो। ज्वरो आउनु, घाँटिभित्र घाउ हुनु र सुन्निनु र सिंगान बग्नु जस्ता लक्षणहरु यसमा देखापर्छन्।
यस रोगका विरुद्ध भ्याक्सिन छ, जसले यस रोगबाट हुने मृत्यु र विरामी संख्यामा उल्लेखनीयरुपमा घटाएको छ ।
यसअघि जून २०१५ मा स्पेनमा २९ वर्षपछि डिप्थेरियाका विरामी पाइएको थियो । यस घटनालाई स्पेन सरकारले केही अभिभावकहरु भ्याक्सिनविरोधी अभियानमा लागेकाले केही बच्चामा भ्याक्सिनको कभरेज पुग्ननसकेको हुनसक्ने बताउँदै प्रतिरक्षा गरेको थियो। स्रोत: सिनह्वा २०१७, ६ अगस्त।