नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आज प्रभातफेरीसहित उहाँको शालिकमा माल्यार्पण गरिएको छ ।भानु प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।प्रभातफेरी कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान पुगी श्रद्धाञ्जलि सभामा परिणत भएको थियो । भानुजयन्तीका अवसरमा आजै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने सम्मिलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहनेछ । विसं १८७१ असार २९ मा तनहुँको चुँदीमा जन्मनुभएका भानुभक्तले वाल्मीकि रामायणलाई नेपालमा अनुवाद गर्नुभएको थियो । उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ आदि कृति लोकप्रिय छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताउनुभएको छ ।नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई सवल बनाउने भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो ।उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘सांस्कृतिक अस्मिताका प्रतीक ः तुलसीदास र भानुभक्त’ को विमोचन तथा भानु जयन्तीमा उत्कृष्ट प्रतिभालाई पुरस्कृत गर्नुभयो ।कोलकत्तास्थित आनन्द प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तक डा सत्यप्रकाश तिवारीले हिन्दीमा सम्पादन तथा राजेन्द्रप्रसाद उपाध्याय ढकालले नेपालीमा अनुवाद गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भानु जयन्तीका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमको सराहना गर्नुभयो ।प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकको भौगोलिक एकीकरण गरेका पृथ्वीनारायण शाह र भाषाका माध्यमबाट भावनात्मकरुपमा देशलाई एकता गर्ने भानुभक्तलाई सबै नेपालीले सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । भानु प्रतिष्ठानका अध्यक्ष व्रत्तराज आचार्यले भानुभक्तको जन्मथलोलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।