सर्लाहीको शंकरपुर एकका छोटन मियाले गाई भैंसीको व्यापार गर्ने सोचेर ५ वर्षअघि ५० हजार रुपैयाँ ऋण लिनुभयो । ५० हजार रुपैयाँबाट सुरु गरेको व्यापारले कमाउन पाउनुभएको थिएन। ऋण बढेर एक लाख पुग्यो।
कामलाई निरन्तरता दिइरहे एक दिन कसो नकमाइला भन्ने सोचेर व्यापार गरिरहेका छोटनले लिएको ऋण ४ वर्षमा आठ लाख रुपैयाँ पुग्यो। ८ लाख रुपैयाँ ऋण लागेपछि भने उहाँलाई संकट पर्यो ।छोटनसँग ऋण तिर्ने कुनै उपाय थिएन् । त्यसैले भएको १५ कठ्ठामध्ये ८ कठ्ठा जग्गा बेचेर साहुको आठ लाख रुपैयाँ ऋण तिर्नुभयो । बाँकी रहेको खोला किनारको ६ कठ्ठा खेत हरेक वर्ष खोलामा बगेर घट्दो थियो।
त्यसैले उपाय नदेखेपछि उहाँले विदेश जाने सोच्नुभयो । विदेश पठाउने मान्छे खोज्दै काठमाडौं छिरेका छोटन बानेश्वरमा रहेको प्रदिप म्यानपावरमा पुग्नुभयो।
म्यानपावरले कतारमा गाडी धुने काम गर्न जाने भए १२ सय रियाल तलब र दुई सय रियाल खाना खर्च सहित १४ सय रियाल तलब हुने बतायो। म्यानपावरको प्रस्ताव राम्रो लागेर छोटनले त्यसलाई स्वीकार गर्नुभयो । छोटनसँग ८५ हजार लिएर २५ महिना अघि उहाँलाई कतार पठायो।
तर कतार पुगेर छोटनले म्यानपावरको भनेको काम र तलब दुवै पाउनु भएन । गाडी धुने काममा गएका छोटनलाई घर बनाउने काममा लगाएपछि उहाँले सिमेन्ट मुछ्नेदेखि सिमेन्ट रड बोक्ने काम गर्नु पर्यो । गाडी धुने काममा गएका उहाँले भनेको भन्दा गाह्रो काम त गर्नु पर्यो नै, तलब पनि भनेको जति हात पार्नु भएन।
काठमाडौंको म्यानपावरले १४ सय रियाल दिन्छ भने पनि छोटनले कतारमा एक हजार रियाल मात्र हात पार्नुभयो । खाने, बस्ने अरु कुनै सुविधा पनि पाउनु भएन । ‘त्यसैले मुस्किलले मैले ८ सय रियाल बचाउँथें’ छोटन भन्नुहुन्छ । छोटनको मन ‘खेपी’ ऋणले तर्साइसकेको थियो । त्यसैले तलब थोरै भए पनि काम गरिरहनुभयो । एक त कतारको घाम त्यै माथि बाहिरको काम । छोटनले खप्नै सक्नुभएन्।
१३ महिना पुगेपछि काम गर्ने नसक्ने भएर उहाँ कतारबाट फर्किनुभयो । कतारबाट फर्किंदै गर्दा छोटनलाई भनेको जस्तो काम र भने जति तलब दिलाउन नसकेको म्यानपावरले केही गर्ला कि भन्ने आशा थियो । तर म्यानपावरले ‘हामीले त पठाएकै हौ अब तिम्रो भाग्यले नै यस्तो पर्यो हामीले के गर्नु’ भनेपछि उहाँको आशा त्यही टुङ्गियो।
उहाँलाई विदेशमा भनेको काम र तलब नपाएकाहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिन सक्छन भन्ने थाहा थिएन त्यसैले उहाँ कतै नगई घर फर्किनुभयो । १३ महिना कतार बस्दा ३ लाख ६० हजार रुपैयाँ घर पठाउनुभएको थियो । तर त्यो पैसा छोराको विहे र घर खर्चमा सकियो।
छोटन कतारबाट फर्किएको अहिले १० महिना भयो । अहिले उहाँ पुरानै काम अर्थात गाई भैंसीको व्यापार गरिरहनुभएको छ । त्यो पनि ऋण मै । अहिले उहाँले ‘खेपी’ ऋण लिनुभएको छैन । उहाँले गाउँलेसँग एक लाख २५ हजार रुपैयाँ र साना किसान विकास बैंकसँग चार लाख रुपैयाँ लिनुभएको छ।
के हो ‘खेपी’?
तराईमा विशेष गरी सयकडा तीन अर्थात ३६ प्रतिशत व्याजमा ऋण दिने चलन छ । तर ‘खेपी’ त्यो भन्दा महङ्गो मात्रै होइन खतरनाक छ । किन कि जति पैसा ऋण लियो त्यसको एक वर्षमा दोब्बर बुझाउनुपर्छ । यस्तो ऋण लिँदा साहुकोमा केही पनि धितो राख्नु पर्दैैन।
त्यसैले व्यापार गर्न होस वा विदेश जान साहुहरुले व्यक्ति हेरेर यस्तो ऋण दिन्छन् । यस्तो ऋण विशेष गरी विदेश जान्छु भन्दै माग्नेहरुले छिट्टै पाउँछन् । छोटन यहि ‘खेपी’ ऋणबाट पीडित हुनु भएको हो।
छोटनले लिएको ५० हजार रुपैयाँ ऋण एक वर्षमा एक लाख भयो भने दुई वर्षमा दुई लाख, तीन वर्षमा चार लाख अनि चार वर्षमा ८ लाख । यस्तो जोखिम मोल्नु छोटनको रहर होइन बाध्यता हो। ‘गाउँमा ऋण नै पाइँदैन अनि के गर्नु’ छोटनले जान्दा जान्दै पनि ‘खेपी’ ब्याजमा ऋण लिनुको बाध्यता सुनाउनुभयो।
अहिले छोटनलाई व्यक्ति र साना किसानको ऋणको चिन्ता छ। उनीहरु छोटनसँग माग्न पटक पटक आइरहेका छन तर उहाँसँग तिर्ने क्षमता छैन । आफूसँग पैसा नभएपछि उहाँले बाँकी रहेको ६ कठ्ठा जग्गा बेचेर तिर्ने योजना बनाउनुभयो तर खेत कटान भइरहेकाले बिक्रि भएको छैन । ‘यो बिक्रि भयो भने पनि मेरो त उठिबास नै लाग्ने भयो’ छोटन भन्नुहुन्छ। उज्यालाे अनलाइन