(आज स्वास्थ्य सेवा एक सेवा नभई वस्तु वा मालमा परिणत भएको छ। यस वस्तुको स्वास्थ्यकर्मी, औषधि, निदानात्मक प्रविधि र अस्पतालको आक्रामक प्रचारले विक्रिवितरण हुने गर्दछ। शुरुमा क्रिश्चियन धर्मप्रचारकको परोपकारी सेवा रहेको यो वस्तु बेलायति साम्राज्यको विस्तारसँगै विश्व व्यापारको प्रमुख वस्तु बन्यो। यसले विश्वका समाज तथा समुदायमा रहेका उपचार प्रणालीहरुलाई दमनमात्र होइन, पातालमा भसाइदियो। नेपाल भारत जस्ता मुलुकहरुका वनस्पति तथा जडिबुटीमा आधारित आयुर्वेद तथा प्राकृतिक उपचार प्रणालीहरुको विकासलाई रोक्यो। यसको बदला स्वास्थ्य सेवा दिन पश्चिमा चिकित्सा शिक्षा, सो शिक्षामा प्रशिक्षित जनशक्ति, पश्चिमा कच्चापदार्थमा आधारित औषिधहरु र पश्चिममा विकसित, ठूला, महङ्गा प्रविधिहरु हाम्राजस्ता मुलुकहरुमा प्रवेश गरायो। सन् १८१६को सुगौली सन्धिको कारण नेपालमा खुलेको वेलायती रेजिडेन्सीसँगै पश्चिमा जगतको व्यापारिक पूँजिवाद प्रवेश भयो। यससँगै एलोपेथिक चिकित्सा प्रणाली हाम्रो समाजमा छिर्‌यो, जुन हाम्रो समुदायमा आधारित थिएन र हुदैन। यो वस्तु निर्माण हुने कुनै पनि कच्चा पदार्थहरु जस्तै चिकित्सा शिक्षा, औषधिहरु, जाँचबुझ प्रविधि आदि स्वदेशमा छैनन्। हामीले गर्ने भनेको जडान मात्र हो। यसैकारण यो सेवा प्रवेश भएको दुई सय वर्ष भइसक्दा पनि एलोपेथिक चिकित्सा प्रणाली हाम्रो स्वास्थ्य सेवा प्रणालीको रुपमा स्थापित हुन सकेको छैन। वारम्वार नेपालको स्वास्थ्य क्षेत्रमा अनगिन्ति समस्याहरु र वाधाहरु र अन्तरविरोधहरु देखा पर्ने गरिरहेकाछन्। त्यसैले स्वास्थ्य सेवा प्रणालीगत समस्याहरुको समाधान कुनै एक व्यक्तिको पवित्र चाहना र प्रयाशबाट सम्भव छैन। यसका समस्याहरुलाई नेपालभित्रबाट उत्पादन भनेर मात्र भनेर बुझियो भने ती समस्याहरु समाधान हुनसक्दैनन्। यी सबै विश्व पूँजीवाद र यसका प्रतिनिधि नेपालको दलाल पूँजीसँग गाँसिएका समस्याहरु हुन्। यसर्थ गाँउमा चिकित्सक पठाएर र कम शुल्कमा चिकित्सक पढाएर स्वास्थ्य सेवा नेपालीले पाउन सक्दछन् र सम्विधान प्रदत्त स्वास्थ्य अधिकार उपभोग गर्न सक्दछन् भनेर कल्पना गर्नु बेकार छ। सबभन्दा पहिला नेपालको स्वास्थ्य सेवाका समस्याहरुको निदान र उपचारका लागि यस प्रणालीको विकाससँगै यस माथि पूँजीवादको पकडबारे स्पष्ट हुनु पर्दछ। यसैकारण यसपटक हामीले यहाँ नेपालमा यस प्रणालीको प्रवेश र विकासबारे डा. हेमाङ्ग दिक्षितका विचार प्रस्तुत गरेकाछौं। यसपछि हामी एलोपेथिक उपचार प्रणालीका विभिन्न आयाम तथा समस्याहरुका साथै यस प्रणालीसँग नेपाली समाज र जनताको अन्तरविरोधबारे चर्चा गर्नेछौं। जुन चर्चाले यसिभत्रका समस्याहरु र अन्तरविरोधको समाधानार्थ केही प्रस्तावनाहरु पहिल्याउने विश्वास लिएका छौं- सम्पादक)।

हेमाङ्ग दिक्षित: चेतनाको विकाससँगै मान्छेले रोगको कारण खोज्न र उपचार तथा रोकथामका उपायहरु गर्न थालेको बुझिन्छ। घाउ चोट लाग्ने वित्तिकै मानिसले चिसो बनाउन हावामा राख्थ्यो वा रगतलाई रोक्न चुस्ने वा थिच्ने काम गर्दथ्यो। त्यो पनि उपचार नै हो। रोगको कारण खोज्दै जाँदा पापको कारणले भएको भन्ने सोच्न थाल्यो। देउतालाई भाकल गरेर रोगको रोकथाम र उपचार हुने विश्वाससमेत बन्यो। तर, पटक पटकका प्रयोगले रोग निको पार्ने काइदा मान्छे सिक्दै पनि गयो। यो कुरा गाँउका बुढाबुढी खासगरी बृध्दाहरुले आफ्ना सन्तानलाई सिकाउँदै गए। यस्तो अभ्यास संसारका सबैजसो समाज तथा समुदायमा पाइन्छ । यस्तै अभ्यासलाई सग्रह गर्दै विभिन्न उपचार प्रणालीको विकास भएका छन् । हाम्रो पूर्वी जगतमा आयुर्वेदको विकास भयो तर पश्चिममा विकसित एलोपेथिक चिकित्सा उपचार प्रणालीले अरु उपचार प्रणालीलाई जित्यो ।

म एलोपेथिक चिकित्सा उपचार प्रणालीको चिकित्सक भएकाले नेपालमा यसको प्रवेश र विकास कसरी भयो? छोटकरीमा बताउँछु ।

नेपालमा एलोपेथिक चिकित्सा उपचारको प्रवेश र विकास

नेपालमा एलोपेथिक चिकित्सा उपचार तरिका क्रिश्चियन पादरीहरु वा मिसनरीहरुमार्फत् प्रवेश र विकास भयो। यस कुरालाई स्पष्ट पार्न म एक सन्दर्भको चर्चा गर्दछु। मल्लकाल देखि नै पश्चिमा देशहरु त्यसमा पनि भ्याटिकन(रोम)बाट मिसिनरीहरु चीनमा जान समयसमयमा काठमाडौं उपत्यकाको बाटोको प्रयोग गर्दथे भनेर जनाथन लिडिलले उनको किताबमा इशाइहरु मिसनरी कसरी आए भनेर लेखेका छन्। उनीहरु भारतको मुम्बइ वा गोवा हुँदै यता आउथे। तराईको भूभागमा औलो लाग्ने हुनाले उनीहरुले जाडो महिनामा त्यो पार गर्दथे।

रञ्जित मल्लको समयमा बिस १७४० तिर भक्तपुरमा उनीहरुले चर्च नै बनाएका थिए। क्राइष्टको चर्च बनाएर देखिने गरी राखिएको सो स्थानमा उनीहरु तीन चार महिना बस्दथे। जब गर्मी महिनाको शुरुवातसँग हिउँ पग्लिन शुरु हुन्थ्यो उनीहरु चीनतर्फ लाग्दथे। हिमालले एउटा किताब प्रकासित गरेको छ। त्यसमा अष्ट्रेलीयन पादरीहरु पनि यसरी नै आवतजावत गर्थे भन्ने उल्लेख छ।
रञ्जित मल्लको समयमा बिस १७४० तिर भक्तपुरमा उनीहरुले चर्च नै बनाएका थिए। क्राइष्टको चर्च बनाएर देखिने गरी राखिएको सो स्थानमा उनीहरु तीन चार महिना बस्दथे। गर्मी महिनाको शुरुवातसँग जब हिउँ पग्लिन शुरु हुन्थ्यो उनीहरु चीनतर्फ लाग्दथे। हिमालले एउटा किताब प्रकासित गरेको छ। त्यसमा अष्ट्रेलीयन पादरीहरु पनि यसरी नै आवतजावत गर्थे भन्ने उल्लेख छ।

त्यसपछि एकैपटक पृथ्वीनारायण शाहको समयका बारेमा चर्चा छ। गोरखाली र कीर्तिपुरेबीचको युध्दमा उनका भाइ सूरप्रताप शाहको आँखामा तीरले लागेको थियो । त्यस तीरलाई क्यापुचिन पादरी माइकल एन्जेलोले निकालेका र आखाको उपचार गरेका थिए भन्ने हामीले पढेका थियौ। पृथ्वीनारायण शाहको मिसिनरीहरुप्रति राम्रो धारणा थिएन। उनले ‘मिसिनरीहरुसँग बन्दुक हुन्छ र बाइबलसँगै आउछ, तिनीहरुलाई धपाउनु पर्छ’ भने। त्यसपछि मिसिनरीहरु मकवानपुरको बाटो हुँदै रक्सौलमा पुगे। नेपालबाटै लखेटिएका मिसिनरीहरुले रक्सौलमा डङ्कन अस्पताल बनाएका हुन् भन्ने गरिन्छ। नौतनवा हुँदै पनि मिसिनरीहरु आउनेजाने गर्दथे। ती मध्ये एक मिसिनरी रबर्ट फ्लेमिङ् तानसेनमा भारतको मसुरीबाट आउनेजाने गर्दथे। उनी आउनुको उद्देश्य चरा खोज्नु थियो। यो सन् १९४० को आसपासको कुरा हो । रवर्ट फ्लेमिङ् र उनका छोराले ‘बर्ड्स अफ नेपाल’ पुस्तक लेखेका छन्, त्यसमा उनीहरुले स्पाइनी ब्याबलर (काँडे भ्याकुर) नामक चरा पत्ता लगाएको उल्लेख गरेकाछन्। सन् १९५१ र ५२ मा आफ्नी श्रीमति डा. बेथेलसँग रवर्ट फ्लेमिङ् र डा. कार्ल फ्रेडरिक्ससँग पनि उनी नेपाल आएका थिए। यसवेलाको भ्रमणमा तिनीहरुले चरामा होइन नेपालमा स्वास्थ्य सेवाको आवश्यकताबारे ती दम्पत्तिले ध्यान दिए। उनीहरुलाई नेपालमा शैक्षिक र स्वास्थ्य सुविधाहरुबारे सहयोग गर्ने विचार आयो। तिनीहरुले पाल्पाको तानसेनमा ६ हप्तासम्म हेल्थ क्याम्प संचालन गरे र केहीको शल्यक्रिया र करीव २ हजारको उपचार गरे। त्यसपछि उनीहरु सहित डा. मोफाटले काठमाडौं र पाल्पामा क्लिनिक खोल्नका लागि निवदेन दिएका थिए। त्यसपछि काठमाडौंमा टेकुमा रहेको सरुवा रोग अस्पतालको भवनको आधा भागमा प्रसुति इकाइ र भक्तपुरमा बालबालिका स्वास्थ्य केन्द्र शुरु भयो। प्रसुति इकाइलाई सन् १९५६ मा शान्तभवन अस्पताल खुलेपछि त्यहीं सारियो।

सन् १९५६ मा डा. एडगर मिलर फिजिसियन र डा. एलिजावेथ मिलर स्त्रीरोग विशेषज्ञ (श्रीमान-श्रीमति) आएपछि शान्ता भवन अस्पतालमा खुल्यो। त्यसपछि विस्तारै अन्य मिसन अस्पतालहरु खुल्न थाले। अहिले सबै मिसन अस्पतालहरु सरकारको मातहतमा हस्तान्तरण भइसकेका छन्, जस्तो पाटन अस्पताल, ओखलढुंगा, गोर्खाको आँपपिपल आदि। पश्चिम नेपालमा मिसिनरीहरुले टिम अस्पताल सञ्चालन गरेका थिए। ती पनि सरकारलाई हस्तान्तरण गरिएको छ। यसरी हेर्दा युनाइटेड मिसन टु नेपालमार्फत् नेपालमा मिसिनरीहरुले शिक्षामा मात्रै नभएर स्वास्थ्य क्षेत्रमा समेत योगदान गरेको पाइन्छ।

आइएनएफ नेपालको सबभन्दा पुरानो क्रिश्चियन मिशनरीहरुको संस्था हो। यो युनाइटेड मिसन टु नेपाल भन्दा एक वर्ष अघिबाट संचालनमा छ। उनीहरुले ग्रिन पाश्चर अस्पतालमा पोखरामा खोलेका थिए। कुष्ठरोगका लागि अस्तपाल खोलेका थिए त्यसको सँगसँगै उनीहरुले पोखरामा साइनिङ् अस्पताल खोले। जस्तापाताको प्रयोग गरेर बनाएको अस्पतालको छानामा सूर्यको किरण परेपछि चम्किलो देखिएको हुनाले त्यसको नाम साइनिङ् राखिएको थियो। पछि सरकारले गण्डकी अञ्चल अस्पतालमा गाभेपछि अहिले साइनिङ् अस्पताल छैन। तर ग्रिन पाश्चर अस्पताल भने संचालनमा छ। आइएनएफको सुर्खेतमा पनि अस्पताल छ। यस बाहेक धनुषाको लालगढमा अन्य क्रिश्चियन मिशनरीहरुले पनि कुष्ठरोग अस्पताल सञ्चालन गरेका छन्।

स्वास्थ्य सेवाको विकासमा राणाहरु

नेपालको स्वास्थ्य सेवाको विकासमा राणाहरुको पनि उल्लेख गरिनै पर्छ। देशको विभिन्न भागमा एलोपेथिक अस्पताल र क्लिनिकहरु तिनीहरुकै कारण खुले। यसबारे पनि रोचक कुराहरु छन्। तीबारे उल्लेख गर्नु ठिकै हुन्छ जस्तो लाग्छ। शुरुवात मै राणाहरुले शासन आफ्ना भाइछोरामा जाने थिति बसाले। तर चाडो शासन हात पार्न एकले अर्कोलाई कु गर्ने शुरुवाती जङ्गबहादुरको मृत्युपरान्त शुरु भइहाल्यो। थाहा नै छ, देव शम्शेरलाई हटाएर धनकुटा पठाइयो। डा. भिष्मराज प्रसाईले आफ्नो पुस्तकमा राणाा शासकहरूलाइ नेपाल खाल्टाेबाट निकाल्दा शम्शेर नेपाल खाल्डोबाट निकाला गर्दा पनि एक्लै नपठाएर उनको साथ एक जना कम्पाउन्डर पठाएको लेखेका छन्। त्यसरी अन्यतिर धपाएर पठाउँदा उनीहरुको साथमा पनि एक एक जना कम्पाउन्डरलाई पठाउने गरिएको थियो। पाल्पाको कमाण्डर भएर वीर शम्शेर र खड्ग शम्शेर पनि बसेका थिए। त्यसरी नै रुद्र शम्शेरको समयमा श्याम मल्ललाई पठाइएको थियो। जहाँजहाँ राणाहरुको लामो बसाइ हुन्थ्यो, विस्तारै विस्तारै त्यहाँत्यहाँका सेन्टरहरुमा स्वास्थ्य सेवाको विकास हुन थाल्यो।
देव शम्शेरलाई हटाएर धनकुटा पठाइयो। डा. भिष्मराज प्रसाईले आफ्नो पुस्तकमा देव शम्शेर नेपाल खाल्डोबाट निकाला गर्दा पनि एक्लै नपठाएर उनको साथ एक जना कम्पाउन्डर पठाएको लेखेका छन्। त्यसरी अन्यतिर धपाएर पठाउँदा उनीहरुको साथमा पनि एक एक जना कम्पाउन्डरलाई पठाउने गरिएको थियो। पाल्पाको कमाण्डर भएर वीर शम्शेर र खड्ग शम्शेर पनि बसेका थिए। त्यसरी नै रुद्र शम्शेरको समयमा श्याम मल्ललाई पठाइएको थियो। जहाँजहाँ राणाहरुको लामो बसाइ हुन्थ्यो, विस्तारै विस्तारै त्यहाँत्यहाँका सेन्टरहरुमा स्वास्थ्य सेवाको विकास हुन थाल्यो।

नेपालमा स्वास्थ्य सेवाको विकासका लागि सबैभन्दा ठूलो योगदान वीर शम्शेरले गरेका हुन्। तर त्यसको बीज जंगबहादुर राणाको पालामा रोपिएको हो। त्यसभन्दा अघि सुगौली सन्धि सन् १८१६ मा। सन्धिपछि अंग्रेजले दुतावास खोल्ने भए। उनीहरुलाई सरकारले लैनचौरमा जग्गा उपलब्ध गराएको थियो। कारण के थियो भने लैनचौरमा औलो लाग्थ्यो। औलो लागेर अंग्रेज चाँडैमा समाप्त हुन्छन् भन्ने हिसाबले लैनचौर दिइएको थियो। तर, बेलायतीहरुले पानीको निकास निकाले। यो गर्नुको मतलव त्यहाँ लामखुट्टेको बास उजाड्नु थियो। अनि अंग्रेज त्यँहा बस्न थाले। जंगबहादुर बेलायत गएको समयमा एडिनबरा पनि गएका थिए। एडिनबराको रोयल कलेज स्कुल अफ सर्जन घुमेका थिए। नेपालमा बेलायतले सबैभन्दा पहिलो अस्पताल चाँही आफ्नो दुतावासभित्र खोलेको थियो। लिगेसन भन्थे त्यहाँ उनीहरुले अस्पताल खोलेका थिए। त्यहाँ उपचार गराउन जंगबहादुर पनि बेलाबेलामा जाने गर्दथे।

जंगबहादुरले युरोप घुम्दा बेलायत र फ्रान्समा खोप कार्यक्रम देखेका थिए र नेपालमा पनि खोप सेवा भित्र्याए। उनले बिफरबाट जोगिन दरवारभित्रका बालबालिकाका लागि खोप दिन शुरु गरेका थिए। त्यस समयमा जंगबहादुरकी भारतेली श्रीमती गंगाको पेटमा पिप जम्मा भएकाे थियाे। त्यसलाई निकाल्न बेलायती रेसेडेन्सीको स्वास्थ्यकर्मीले अपरेसन गरेका थिए।

जंगबहादुरलाई बेलायतीहरुले तक्मा दिएका दिएका थिए। रणोद्दिपलाई मारेर वीर शम्शेरको शासन शुरु भयो। वीर शम्शेरले अंग्रेजलाई आफूलाई पनि जंगबहादुरको जस्तै तक्मा दिन अनुरोध गरे। अंग्रेजहरुले ‘तिमीले समाजको भलाईका लागि काम गर्‍यौ भने दिन सकिन्छ’ भने। वीर शम्शेरले गवाहवा भन्ने स्थानमा वीरगञ्ज सहर बसाले। काठमाडौंमा वीर अस्पताल खोले। त्यो अहिले राष्ट्रिय नाचघर भएको स्थानमा २० शैय्याको थियो। पछि मात्रै अहिलेको स्थानमा आएको हो। वीर अस्पतालमा मेल र फिमेल गरेर दुई छुट्टाछुट्टै अस्पताल थिए। म काम गर्न आउँदा समेत त्यस्तै अवस्था थियो। वीर शम्शेरले त्यही क्रममा मलंगवा(सर्लाही)मा पनि लेप्रोसियम खोले। काठमाडौंमा वीर धारा बनाए। त्यसपछि त्रिचन्द्र मेलिटरी अस्पताल खुल्यो, राजा र श्री ३ प्रधानमन्त्रीको नाममा।  हालको वीर अस्पतालकाे नाम पृथ्वीवीर अस्पताल भन्ने थियो। तरपछि पृथ्वीको नाम मानिसले भन्न छाडे र विर्से पनि।

धीर शम्शेरको मृत्यु कालिजको हड्डी अड्केर भएको थियो। केटाकेटी हुँदा धीर शम्शेरको मृत्यु काँडा अड्केर भएको थियो भन्ने सुनेको थिएँ। तर पछि पढेपछि थाहा भयो, कालिजको हड्डी टुक्राटुक्रा जोडिएर बनेको हुन्छ भन्ने कुरा। त्यसैले घोचेर बनेको घाउ आव्सेस (घाउ धेरै पाक्यो) भयो। कालिजको अड्किएको हड्डीलाई शुल भएको भन्दै एक बाबाले मन्त्र पढेर सुनाउदा निको हुन्छ भन्दाभन्दै धीर शम्शेरको मृत्यु भएको थियो। हाम्रो जिजुबाजे शिरोमणि धीर शम्शेरको पण्डित हुनुहुन्थ्यो। मेरो बाजे भीम शम्शेरको पण्डित हुनुहुन्थ्यो। भीम शम्शेरले पनि भीम अस्पताल खोले।

पण्डित हुन १२ वर्षसम्म संस्कृत पढेको हाम्रो बुबा चन्द्र शम्शेरको पालामा डाक्टरी पढ्न जानु भयो। त्यस समयमा पढ्न जान पनि राणालाई भन्ने चलन थियो। उनीहरुले शिरोमणिको नाति डक्टर पढ्न ‘जाने भए जानू, तर मलाईलाई कुनै प्रकारको पाप नलागोस्’ भनेर भनेका थिए।

मल्लकालमा उपचार गर्न आएकाहरु औपचारिकरुपमा पढेका चिकित्सक थिएनन्। उनीहरु पादरी थिए। पुरानो इतिहास पढ्दा पनि के पाउछौं भने पहिले पहिले प्लेटो वा एरिस्टोटल जस्ता विद्वानसँग उपचार गर्न वा औषधीको बारेमा सोध्न मानिस आउने गर्दथे। समाजमा पढेलेखेको शिक्षित वर्ग नै त्यही थियो।

हाम्रो धामी झाक्री पनि एक प्रकारले प्रिस्ट नै हुन्। उनीहरुलाई शमान (shaman) भनिन्छ। चीनमा पनि त्यही थियो। बेइजिङ्मा रहेको ‘टेम्पल अफ हेभन’मा पुजारीले राजालाई भगवानसँग केही कुरा गर्न भनेर कराउँथे रे! अनि ईश्वरले यस्तो यस्तो भनेको छ भनेर राजालाई भन्दथे रे!

मल्लकालदेखि आएका केही मानिसहरुले उपचार गर्ने गरेको भएपनि पश्चिमा उपचार पद्धति नेपालमा भित्राउने श्रेय भने जंगलबहादुरलाई नै जान्छ। यहाँ म मैले पढेको कुरा बताउन चाहन्छु, त्यो के हो भने चन्द्र शम्शेरको समयमा शिकार खेल्न जाँदा हैजा आएको थियो। त्यस समयमा हैजालाई निकोपार्न अफिमको गोली लिइन्थ्यो। अनि त्यसपछि पुजापाठ गर्ने काम गर्दथे। जर्ज पाँचौं सन् १९११ तिर नेपालको तराईमा शिकारका लागि आएका थिए। त्यस समयमा पनि हैजाको महामारी चलेको थियो। बेलायती मिसनहरु र यात्रादलहरुसँगै मिलिटरीका डक्टरहरु हुने गर्दथे। उनीहरुले पनि उपचार गरे होलान्। तर त्यसवेला पनि हैजा भगाउन होम लगाउने काम भएको थियो।
मल्लकालदेखि आएका केही मानिसहरुले उपचार गर्ने गरेको भएपनि पश्चिमा उपचार पद्धति नेपालमा भित्राउने श्रेय भने जंगलबहादुरलाई नै जान्छ। यहाँ म मैले पढेको कुरा बताउन चाहन्छु, त्यो के हो भने चन्द्र शम्शेरको समयमा शिकार खेल्न जाँदा हैजा आएको थियो। त्यस समयमा हैजालाई निकोपार्न अफिमको गोली लिइन्थ्यो। अनि त्यसपछि पुजापाठ गर्ने काम गर्दथे। जर्ज पाँचौं सन् १९११ तिर नेपालको तराईमा शिकारका लागि आएका थिए। त्यस समयमा पनि हैजाको महामारी चलेको थियो। बेलायती मिसनहरु र यात्रादलहरुसँगै मिलिटरीका डक्टरहरु हुने गर्दथे। उनीहरुले पनि उपचार गरे होलान्। तर त्यसवेला पनि हैजा भगाउन होम लगाउने काम भएको थियो।

यो पनि जंगबहादुरकै समयताका कुरा हो। जंगबहादुरले बेलायत गएको समयमा अपरेसनका लागि आवश्यक पर्ने धेरै औजारहरु आँफैले ल्याएका थिए। बेलायती दुतावासका चिकित्सकले कहिलेकाँही अपरेसन गर्न आवश्यक परेको बेलामा सापटी लिएर चलाएको पढ्न पाइन्छ।

चन्द्र शम्शेरको पहिलो पत्नि लोकभक्त कुमारीको मृत्यु क्षयरोगले भएको थियो। त्यस समयसम्म क्षयरोगको उपचारको औषधि नै बनेको थिएन। त्यसपछि स्वच्छ हावामा राख्नका लागि टोखामा स्यानिटोरियम बनाएको हो। लोकभक्त कुमारीको मृत्यु भएपछि चन्द्र शम्शेरले भक्तपुरको अस्पतालको उनकै नाममा राखिदिएका थिए। मेरो पिता डा. सिध्दिमणिले पनि एक समय सो अस्पतालमा काम गर्नु भएको थियो। पास गरेर आउने वित्तिकै त्यहाँ जानु भएको थियो।

नेपालमा होमियोप्याथी चिकित्सकहरु कति छन् थाहा छैन। युरोपेली इतिहास हेर्ने हो नाइफ डक्टर (Knife Doctor) र अर्को मेडिकल डक्टरहरु हुन्थे। पहिले बार्बर(हजाम)हरुले नै चिरफार गर्दथे, सर्जनहरु पछि आएका हुन्। होमियोप्याथी जर्मनीका हानीम्यानले शुरु गरेका हुन्। यो पद्धति जर्मनीबाट भारत हुँदै नेपाल भित्रिएको हो। तर यसको प्रचार हुन सकेन, नेपालमा दुईचार जना मात्रै छन्। पशुपतिमा लगिएका व्यक्तिहरुको उपचारका लागि रामघाटमा होमियोप्याथी डिस्पेन्सरीको खोलिएको थियो। हाल त्यो रामघाट डिस्पेन्सरीलाई पुल्चोकमा मन्त्रि क्वार्टर नजिकै सारिएको छ। होमोप्याथिक र युनानीका उपचार केन्द्र दुवै एकै भवनमा छन्।

चिकित्सा शिक्षा र उपचार सेवाको विस्तार

स्वास्थ्य उपचार सेवाका कुरा गर्दा सबैभन्दा पहिलो सन् १९३३ तिरबाट प्राक्टिनर्सहरुबाट शुरुवात् भएको थियो। भारतमा पश्चिमा उपचार पद्धतिको स्वास्थ्य सेवाको शुरुवात बेलायतीहरुले गराएका हुन्। शुरुमा बेलायतबाट पढेर आउने गरेका थिए। पछि बेलायतीहरुले सन् १९३५ तिर कोलकोटामा र मद्रासमा मेडिकल स्कुल खोले। पोर्चुगिजले पनि गोवामा खोल्या हो। भारतीयहरु आफैले भने बम्बइमा खोले। त्यसभन्दा अघि बेलायतीसँग आउनेहरुले उतैबाट पढेर आउने गरेका थिए। तर भारतमा पढेकाहरुलाई शुरुमा एलएमएफ (Licentiate of Medical Faculty) भनिन्थ्यो।

नेपालको पहिलो एलएमएफ डा.रत्नप्रसाद बैद्य हुनुहुन्थ्यो। उहाँ डा.भरतराज बैद्य र डा. रघुवर बैद्यको पिता हुनुहुन्थ्यो बेलायत जानु भएको थियो। उहाँले एलएमएफ र त्यसपछि एलएमपी (Licentiate of Medical Practitioner) गरेर आउनु भएको हो। त्यस समयमा बंगाली भाषामै पढाइ हुन्थ्यो। पछि मात्रै अंग्रेजी भाषामा पढाई हुन थालेको हो। सन् १९२१ मा कोलकोटाबाट नै मेरो पिता सिद्धिमणिले एमबी गर्नु भएको थियो। पछिमात्र एमबिबिएस गर्नु भएको हो। गणेश मास्केलगायत अरु केहीले शुरुवाति चरणमा नै एलएमएफ गर्नु भएको हो। नर्सिङ्मा हेर्दा सन् १९२६ मा विद्यादेवी लगायत चार जनाले मिडवाइफ्री गर्नु भएको देखिन्छ। शुरुमा उमादेवी दास, मिस चरण सन् १९५० तिर सरकारले नर्सिङ् पढ्न पठाएको थियो। उहाँहरुले नै त्यसपछि वीर अस्पतालमा नर्सिङ् कलेज खोल्नु भएको हो।

नेपालका पहिलो एमबिबिएस सिद्धिमणिले गर्नु भएपनि अर्को मोहनमणि भन्ने दीक्षित हुनुहुन्थ्यो धरहराको। नेपालको ढोरपाटनमा हेलिकप्टर दुर्घटना भयो, जसमा नरप्रतापको मृत्यु भएको थियो। उहाँकै पोस्टमार्टम गर्न जाँदा मोहनमणीको पनि हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भयो। दीक्षित परिवारमा डाक्टर हुनेमा सुन्दरमणि दीक्षित,भाष्कर दीक्षित मात्रै होइन अन्य पनि छन्। केही अमेरिका र युरोपतिर पुगेका छन्। पहिले कम्पाउन्डर भएका वा बैद्य भएर पितापुर्खाले काम गरेका धेरै सन्तानहरु अहिले चिकित्साक्षेत्रमा काम गरिरहेका छन् ।

जनशक्ति तथा स्वास्थ्यनीतिको विकास

वीर शम्शेरले परोपकार भावनाका साथ वीर अस्पताल बनाएका थिए। वेलायति सम्मानका लागि मात्र भन्न हुँदैन, उनीमा जनताको निम्ती केही गर्नुपर्छ भन्ने भावना थियो। नेपाली समाजमा स्वास्थ्य उपचारको विषय भनेको परोपकारी व्यक्तिसँग सम्बन्धित थियो। सन् १९५० पछि स्वास्थ्यको विषय सरकारको विषय बन्यो। जतिखेर स्वास्थ्यसेवा विभाग बन्यो त्यसपछि मात्रै यो राज्यका जिम्मेवारीभित्र पर्‍यो। अहिलेको संविधानले मानवअधिकार जस्तै स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ। कतिगर्न सक्छ वा सक्दैन त्यो भिन्दै विषय हो।

नेपालका स्वास्थ्य सेवाको विकास कसरी गर्ने त्यसबारे राष्ट्रिय योजनाभित्रै समावेश गरी गर्ने गरिएकोछ। त्यसमध्ये दुई वटा योजना तीन-तीन वर्षीय थिए भने अरु पञ्च वर्षीय योजनाअनुसार नै बनेको देखिन्छ। पञ्चायतको समयमै स्वास्थ्य क्षेत्रमा जनशक्ति निर्माण गर्ने भन्ने विषय आएको थियो। चिकित्सा शास्त्र अध्ययन संस्थान डा. मोइन शाह (भर्खरै दिवङ्गत)ले सुरुवात गर्नु भएको थियो। स्वास्थ्य क्षेत्रमा जनशक्ति निर्माण गर्न उहाँले शिक्षण अस्पताल निर्माण गराउनु भयो। पास भएर आउने वित्तिकै मैले वीर अस्पताल र त्यसपछि कान्ति वाल अस्पतालमा काम गरें।  डा. मोइन शाहले नै मलाई टिचिङ अस्पतालमा पुर्‍याउनु भएको हो। सन् १९७७ देखि २००१ सम्म सोही अस्पतालमा काम गरे। सो अस्पतालले शुरु गरेको पाठ्यक्रम समुदाय आधारित थियो।
चिकित्सा शास्त्र अध्ययन संस्थान डा. मोइन शाह (भर्खरै दिवङ्गत)ले सुरुवात गर्नु भएको थियो। स्वास्थ्य क्षेत्रमा जनशक्ति निर्माण गर्न उहाँले शिक्षण अस्पताल निर्माण गराउनु भयो। पास भएर आउने वित्तिकै मैले वीर अस्पताल र त्यसपछि कान्ति वाल अस्पतालमा काम गरें। डा. मोइन शाहले नै मलाई टिचिङ अस्पतालमा पुर्‍याउनु भएको हो। सन् १९७७ देखि २००१ सम्म सोही अस्पतालमा काम गरे। सो अस्पतालले शुरु गरेको पाठ्यक्रम समुदाय आधारित थियो।

जनताको स्वास्थ्य सेवा दिने दायित्व राज्यको हो भन्ने कुरा विस्तारै विस्तारै आइरहेको छ। तर जति स्वास्थ्य संस्थाहरु हुनुपर्ने हो त्यति पुगेको छैन। अहिले नेपालमा १८ हजार चिकित्सक छन्। तर ती सबै चिकित्सकहरुले नेपालमा सेवा दिइरहेका छैनन्। किनभने ५–६ हजार चिकित्सकहरु युरोप र अमेरिकातिर पुगेका छन्। त्यसमध्ये कति जनाको निधन भैसक्यो। दर्ता गराउँदा त्यति संख्या आउने गरेको छ तर त्यसमा कहिले पनि अपडेट भएको छैन। अहिले मेडिकल काउन्सिलले अनलाइन अपडेटको व्यवस्था गरेको छ। मैले दर्ता गरेको छु तर कति बाहिर गएका छन्, उनीहरु के कस्तो अवस्थामा छन् र त्यसको स्पष्ट जानकारी छैन। यो अपडेट गर्न कसैलाई चासो छैन र चाहँदा पनि चाहाँदैनन् कि? सुनेको छु, चिकित्सक संघको ४–४ वर्षमा हुने चुनावमा धाँधली गर्नका लागि पनि चाहँदैनन् रे! त्यसले नेपालमा अहिले कति चिकित्सकहरुले सेवा दिइरहेका छन् भनेर सही जानकारी चाहियो, तर त्यो प्राप्त गर्नसक्ने अवस्था छैन। चार चार वर्षमा चुनाव हुनसक्छ भने यो अध्यावधिक गर्ने कुरा त्यति ठूलो विषय होइन।

अस्पतालमा रहेको शैय्याकै कुरा गर्दा अहिले सरकारी अस्पताल भन्दा निजी क्षेत्रको मेडिकल कलेजमा बढी छ। सबै शैय्याको प्रयोग भएको छैन। स्वास्थ्य सेवाका विश्वव्यापीरुपमा भएको सुधारको कारणले गर्दा पनि फरक पर्न थालेको छ। पहिले हामी साना हुँदा शल्यक्रिया गरेपछि कम्तीमा १० दिन अस्पतालमा बिरामीहरुलाई राख्ने गरिन्थ्यो, सुत्केरी हुँदा ६–७ दिन राख्ने गरिएको थियो। अहिले बिहान नर्मल रुपमा सुत्केरी भयो भने साँझमा घर फर्किने अवस्था हुनथालेको छ। छालाको होस् वा आँखाको, बिहान अपरेसन गरे भने साँझ घर फर्काइदिने गरिन्छ। त्यसैले पहिले जति अस्पतालमा शैय्या आवश्यक पर्दथ्यो त्यति शैय्या (जनसंख्या अनुपातमा) अचेल पर्दैन। अस्पतालमा बस्दा खर्च बढी हुन्छ। त्यसको साटो घरबाटै गरे पनि कम खर्चिलो हुन्छ। त्यसैले समुदायमा आधारित स्वास्थ्य पनि कम खर्चिलो होस् भनेर गरेको हो।

पछिल्लो समयमा मेडिकल कजेलहरु उपत्यका बाहिर खुल्न थालेपछि त्यसले केही न केही मात्रामा जनस्वास्थ्यको क्षेत्रलाई सुधार गरेको छ। पहिला पहिला कैंयन समस्याहरुमा उपचारका लागि काठमाडौं आउनै पर्ने हुन्थ्यो भने अचेल विराटनगर, पोखरा वा नेपालगञ्जमा नै जटिल समस्याको निदान र उपचार हुनसक्छ। र स्थानीयस्तर र नजिकैबाट नै  उपचार संभव भएको छ।

गिरिजाप्रसाद कोइरालाले मणिपाल पोखरामा शुरु हुँदा त्यसले हार्ट सेन्टर चलाउँछ भनेर भन्नु भएको थियो। तर मैले नबुझेको कुरा के हो भने डा. अशोक बाँस्कोटा पाटन अस्पतालमा काम गर्थे। युनाइटेड मिसन अस्पतालको रुपमा पाटन अस्पताल सञ्चालनमा थियो। सो अस्पताल जिल्ला अस्पताल स्तरको थियो। त्यो स्तरमा विशेषज्ञ सेवाका रुपमा अर्थोपेडिक्स राख्न मिल्दैनथ्यो। त्यहीकारण डा. बास्कोटाले अस्पताल छाडे। सरकारले म चिशाअसको डिन भएको समयमा ‘डुप्लिकेसन अफ सर्भिसेज’ नगर्ने बतायो। जापानीहरुसँग कुरा गर्दा यति नजिकै कान्ति बाल अस्पताल छ भने शिक्षण अपतालमा चिल्ड्रेन वार्ड नराख्ने भनियो। जापानीले बालचिकित्सा पढाउनका लागि कान्ति अस्पतालको भवन बनाइदिए। अहिलेको भवन पहिले रसियनले बनाइदिएको भवनलाई नै भत्काएर बनाएको हो। पाल्पामा मिसन अस्पताल हुँदा सरकारले आफ्नो जिल्ला अस्पताल बन्द गर्‍यो। समय वित्तैजाँदा पहिलेकै अर्थात् ‘डुप्लिकेसन अफ सर्भिसेज’ हुने अवस्थामा पुग्यो। यस्तै अवस्था अहिले देख्न सकिन्छ। छ–सात किलोमिटर सडकको दुरीभित्रमा तीन वटा मुटुरोग उपचार केन्द्रहरु छन्। बाँसबारीमा गंगालाल, महाराजगञ्जमा मनमोहन कार्डियोलोजी र वीर अस्पतालमा पनि सेवा छ। देशका अरु भागमा पनि मुटुका रोगीहरुको संख्या बढ्न थालेको छ उनीहरुका लागि खै त? हाम्रोमा नीतिहरु बनाउने काम व्यक्तिलाई हित हुने गरी निर्माण भैरहेको छ। यसमा सरकार भन्दा कहीं न कहीं उच्चपदधारी तथा प्रभावशाली चिकित्सकहरु दोषी छन्। मेडिकल काउन्सिलका संस्थापक अध्यक्ष लक्ष्मीनारायण प्रसादले दीर्घकालीन स्वास्थ्य सेवाको तयार पार्नु भएको थियो। त्यो सन् १९७५ देखि १९९९ सम्मका लागि थियो। त्यस टोलीमा डा. सुन्दरमणि दीक्षित, नरेन्द्र राणालगायत रहेका थिए। अहिले दोस्रो दीर्घकालीन स्वास्थ्य सेवा नीति आएको छ अहिले हामी त्यसमै छौं। मैले किन यो नीति चाहियो भनेर सोध्दा मन्त्री परिवर्तन हुने वित्तिकै हरेक नयाँ मन्त्रीले आफू अघिकाले गरेका कामलाई उल्टाउन थालेपछि यस्तो नीति चाहिएको कुरा बुझिएको थियो।

स्वास्थ्य सेवा पहुँचमा समस्या

स्वास्थ्य सेवा आम जनताको पहुँचमा पुर्‍याउन नसक्नुको सबैभन्दा ठूलो समस्या दुरीकै हो। एक घण्टाका दुरी भन्दा पर गएर मानिस उपचार गराउन जाने गरेका छैनन्। यसको समस्या के भने जो मन्त्री छ उसले आफ्नो क्षेत्रमा बनाउँदा धैरैलाई अपायक पर्ने स्थानमा पनि स्वास्थ्य केन्द्रहरु खुलेका पाइन्छन्। यसलाइ समान रुपमा गहन ढङ्गले विचार विमर्श गरेर गर्नुपर्ने त्यो त्यतिको भएको छैन। जापानीहरुले ठाउँ ठाउँमा स्वास्थ्य केन्द्र पनि बनाए। उनीहरुले सडकबाट नजिकैको पर्ने स्थानमा हेल्थ पोस्टहरु बनाए। पोखरा जाने बाटोमा जहाँ मानिस आउन सक्छन् त्यो स्थानमा बनाए। मानिसको बस्ति तल छ डाँडाको टुप्पामा हेल्थ पोस्ट बनाउनाले मानिस त्यहाँ जाँदैनन्।

मेडिकल शिक्षाको स्तर

चिशाअसको शुरुको डिन मोहन शाह हुनुहुन्थ्यो। म दोस्रो डिन हुँ। हामीले समुदायमा आधारित मेडिकल शिक्षा शुरु गरेको हो। त्यस समयमा हेल्थ असिस्टेन्ट वा नर्स भैससकेका अर्थात् हेल्थको मिडिल लेभल म्यानपावरले मात्रै पढ्न पाउने व्यवस्था थियो। अन्य छ वटा विषयका बाट दुई दुई जना लिने व्यवस्था थियो। त्यस्तो गर्दा हेल्थ असिस्टेन्ट गरेका धेरै आउँथे। यो व्यवस्था हटाएर आइएस्सीबाटै लिनु पर्छ भनेर धेरै दवाव आएको थियो तर मैले दवाव झेंले। मेरो कार्यकाल सकिएपछि त्यो व्यवस्था हटेर गयो। त्यस समयमा आधा हेल्थ अस्सिस्टेन्ट र आइएस्सी गरेकाबाट बराबर गरेर लिने व्यवस्था भयो। हेल्थ अस्सिस्टेन्टबाट लिएकाहरु दुर्गम क्षेत्रमा जाने गाह्रो मान्दैनथे। मेरो कुरा गर्ने हो भने पनि दुर्गममा जानु पर्‍यो भने ‘के होला कसो होला’ भनेर डर लाग्थ्यो। तर हेल्थ असिस्टेन्ट भएर काम गरिसकेको मानिसलाई दुर्गममा गएर काम गरेको अनुभव हुन्छ। त्यसैले पास भएपछि दुर्गममा जान खासै आपत्ति जनाउँदैनन्। बाटोघाटो खुले, हवाइजहाजको सुविधा छ, त्यसैले अब यो धेरै समस्या नहुनुपर्ने हो। काठमाडौं बाहिर पनि ठूलो ठूला शहरहरु बनेकाछन्। तर पहिला पहिला दुर्गम क्षेत्र जाने भनेपछि ठूलो समस्या थियो। जुन प्रकारले शहरहरु बने त्यसले मानिसको मोविलिटी (आवतजावत) बढ्यो। हाल नेपालमा अध्ययन गरेका चिकित्सकको संख्या करीव २ हजार जति पुगेको हुनुपर्छ। काठमाडौंको जत्तिकै स्तरको नै नभए पनि अहिले देशको ठूला ठूला अन्य शहरहरुमा स्वास्थ्य सेवा पुगेको छ।

 ब्रेन ड्रेनको समस्या

कसैलाई मन परोस् वा नपरोस् यो समस्या आइरहन्छ। पहिले मदन पुरस्कार पुस्तकालयको २ र शुर शम्शेरको एक गरी तीन सीट थियो कोलकोतामा। त्यसबाहेक कोही कोही आफ्नै तरिकाले जाने गर्नुपर्दथ्यो। कोलम्बो प्लान आएपछि साठीको दशकदेखि वर्षेनी १५-१६ जना जति नेपालीले डक्टर अध्ययन गर्ने मौका पाउन थाले। नेपालमा मेडिकल कलेज खुलेपछि त्यो बन्द भयो। उनीहरुले त्यस्तो अवशर पोस्ट ग्राजुयटलाई दिए।

नेपालमा कति जना डक्टर अहिले नेपालमा काम गरिरहेका छन्। त्यो अहिले साँच्चै पत्ता लगाउनु आवश्यक छ। सरकारकै हिसावले हेर्ने हो भने २ सय डक्टर वर्षेनी आइरहेकाछन्।

सरकारले ५ वर्षको बन्ड गर्नुपर्ने भनेको छ। यसबारे म एउटा घटना बताउँछु। सरकारले लोकेन्द्रमान सिंहलाई आयुर्वेद पढ्न भारत पठाएको थियो। उहाँ पढेर नेपाल फर्केपछि सरकारले रोजगारी दिन सकेन। त्यसपछि फर्केर बनारस विश्वविद्यालयमा काम गर्नु भयो। त्यहाँबाट रिटायर भएपछि म छदै खेरी उहाँले चिशाअसमा ज्वाइन गर्नु भएको थियो। उहाँ नरदेवीस्थित आयुर्वेद कलेजको प्रमुख पनि हुनुभएको थियो। सरकारले पढ्न पठाएको छ तर २ वर्षभित्र काम दिन सकेन भने मुक्त गर्ने गरेको थियो। अहिले २ सय जना चिकित्सकलाई सरकारले रोजगारी दिन सक्दैन। फेरि आउने वित्तिकै रोजगारी दिन सरकारलाई पनि मिल्दो रहेनछ। किनभने पहिले लोकसेवा पास गर्नु पर्ने हुन्छ।

अहिले अर्को समस्या भनेको डक्टर पढ्न ठूलो रकम लाग्ने गरेको छ। चुनाव जित्न सांसदहरुले पैसा खर्च गरेभने पदमा हुँदा त्यो उठाउन परेको जस्तो डक्टर बन्दा लाग्ने धेरै रकम उठाउनु पर्ने बाध्यता छ। पहिले सरकारी खर्चमा पढ्ने गरेका थिए। पहिले सरकारी खर्चमा पढ्ने भएकाले चाँडै पैसा उठाउनु पर्‍यो भन्ने थिएन।

नेपालीको लाहुरे हुने एउटा संस्कृति नै जस्तो भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पढ्दा पनि तिब्बततिर रोजगारीका लागि गएको देखिन्छ। जीविका चलाउन गैरहेको देखिन्छ। नेपालमा बसेर त्यतिको पैसा उसले उठाउन सक्दैन। त्यसैले ब्रेन ड्रेन एउटा बाध्य परिस्थिति हो।

चिशाअस पछि मैले १३ वर्षसम्म काठमाडौं मेडिकल कलेजमा प्रिन्सिपल भएँ। यस दौरानमा एमविविएसको प्रवेश परीक्षा दिने विद्यार्थीका धेरै अभिभावकसँग अन्तर्वार्ता गर्ने अवसर पाएको थिए। शुरुशुरुमा आमाबाबुले खेत बेचेर पढ्न पठाएका छन्। कतारमा काम गरेकाहरुले समेत छोराछोरीको भविष्य राम्रो हुन्छ भनेर कोसिस गरिरहेको मैले देखेको छु।

यी मेरा अनुभवहरु हुन्। यस्तै अरु मेरा अग्रज, सहकर्मी तथा आजका नीतिनिर्माताहरुका पनि होलान्। यी तीन पुस्ते अनुभवहरुका बारे विना आग्रह छलफल चलाइए स्वास्थ्य सेवाका समस्याहरु बुझ्न सकिन्छ। समस्याहरुको पहिचान पछिमात्र नेपालको भावी स्वास्थ्य सेवा प्रणालीको जग बसाल्न सकिन्छ होला। अस्तु।

फेसबुकबाट तपाईको प्रतिक्रिया
डा. हेमाङ्ग दीक्षित
चर्चित चिकित्सक दीक्षितको शिक्षा र साहित्यको क्षेत्रमा पनि योगदान छ। उनी त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन र बालरोगका प्राध्यापक हुन्। हाल काठमाडौं मेडिकल कलेजका प्राचार्यको रुपमा कार्यरत उनले बेलायतकाे University of London बाट MBBS, Licentiate of the Royal College of Physicians ( LRCP), Membership of the Royal College of Surgeons (MRCS), Diploma in Tropical Medicine & Helath (DTM&H) र Diploma in Child Helath (DCH) गरेका छन्।