बोलिभिया

इतिहास

सि आई ए वर्ल्ड फ्याक्ट बुकका लेखहरूको रासभित्र बोलिभियाको वर्तमान एभो मोरालेस नेतृत्वको वामपन्थी सरकार केन्द्रित छ, त्यसैले इतिहास बारे अरु धेरै लेखिन बाँकी नै छ । राष्ट्रको इतिहास सम्बन्धी सानो खण्डमा स्पेनी औपनिवेसिक शासन देखि हालसम्म बारे यसरी लेखिएको छः

स्पेनी औपनिवेसिक शासन विरुद्ध लड्ने स्वतन्त्रता सेनानी सिमोन बोलिभारको नाममा बोलिभिया नाम राखिएको देशले सन् १८२५ मा स्पेनी शासनबाट मुक्ति पाएको, त्यसपछिको इतिहास करिब २०० तख्ता पलट र प्रति तख्ता पलटको श्रङ्खला हो । प्रजातान्त्रिक नागरिक शासन सन् १९८२ मा स्थापना भएको थियो, तर नेताहरूले चरम गरिबी, सामाजिक  अस्थिरता आन्दोलनहरू र गैह्र कानुनी लागु औषध उत्पादन जस्ता गहिरा समस्याहरूको सामना गर्नु पर्‍याे ।

यस अध्ययनमा बोलिभियाको विषय छलफल गरिएका अरु ल्याटिन अमेरिकी राष्ट्रहरू भन्दा भिन्न छ, त्यो समयसम्म बोलिभियामा गैरकम्युनिष्ट घोषणापत्रको वामपन्थी सरकारको सफलताको इतिहास नै थिएन । बोलिभियामा एउटा सानो कम्युनिष्ट पार्टी थियो तर चे ग्वेभाराकाे आगमन पछि मात्र देशमा वामपन्थी आन्दोलनले राष्ट्रिय राजनीतिमा दखल दिने गरि कदम चल्न थाल्यो । चे ग्वेभारा निर्वाचनद्वारा सत्तामा पुग्ने कुरामा विश्वास गर्देनथेः उनलाई त्यो प्रकृया धेरै योजनाबद्ध र शासक इलाइट तर्फ ढल्किएको लाग्दथ्यो । चे ग्वेभारालाई बोलिभियामा उनले गरे जस्तै बढी भन्दा बढी सर्वहारा क्रान्तिको थालनी गर्नु थियो जसले एकल पार्टीको सरकार स्थापना गर्ने तर्फ डोर्‍याउँथ्यो ।

अध्ययनको यो खण्ड सि आई ए हस्तक्षेप वरिपरिका घटना अमेरिकी विदेश नीति चे ग्वेभारालाई समात्ने र उनको हत्या गर्ने अभियानको आँखाबाट हेर्ने कोशिस गरिएको छ । बोलिभिया यस अर्थमा पनि पृथक छ कि, अमेरिकी सेनाले मैदान मै उत्रिएर बोलिभियाली सेनालाई गुरिल्ला युद्ध विरोधी रणनीतिकाे तालिम दिएको थियो । यस बाहेक सि आई ए का जासुसहरू बोलिभिया भित्र स्वतन्त्र रूपमा र बोलिभियाली सेना भित्र काम गरिरहेका थिए भन्ने निर्णायक प्रमाणहरू पनि उपलब्ध छन् । एउटा सानो अभियानका दौरानमा सि आई ए आफूले एउटा यस्तो कार्य सम्पन्न गरेको, जसले ल्याटिन अमेरिकामा कम्युनिष्ट क्रान्तिको अन्त्य गरेको निष्कर्षमा पुगेको छः त्यो काम भनेको कम्युनिष्ट आइकन अर्नेस्टो चे ग्वेभाराको हत्या थियो ।

सि आई ए हस्तक्षेप

३ नोभेम्बर १९६६ मा ग्वेभारा बोलिभियाको ला पार्जमा पुगे । ग्वेभाराले आफ्नो जर्नल(डायरी)मा भुतपूर्व अर्जेन्टिनी राष्ट्रपति ह्वाँ पेरोनले (Juan Peron) जो चे ग्वेभारालाई मन पराउँथे तर उनका गुरिल्ला रणनीतिलाइ थोत्रा ठान्दथे, ‘बोलिभियामा तिमी बाँच्दैनौं । त्यो योजनालाई रोक । विकल्पहरूको खोजी गर । आत्महत्या नगर’, भनेको कुरा टिपोट गरेका छन् ।

सन् १९९३ देखि २०१३ बीचमा बोलिभियामा चे ग्वेभाराको विद्रोह नियन्त्रण गर्नमा सि आई को गतिविधि सम्बन्धी सि आई ए ले बाहिर ल्याएका दस्तावेजहरूको भण्डार नै छ । यी दस्तावेजहरू पनि ग्वाटेमाला र ब्राजिल सम्बन्धी दस्तावेजहरू जस्तै पि डि एफ फर्म्याटमा ढालेर पिटर कर्नब्लुहले अनलाइनमा राखेका छन् । बोलिभियामा चे ग्वेभाराका गतिविधि सम्बन्धी दस्तावेजहरू एकजना युवा जासुसी विश्लेषक ब्रेन लाटेलले एउटा सि आई ए मेमो लेखेर दुई वर्ष अगाडि तयार गर्न थालिएको थियो । दस्तावेजको धेरै खण्ड ग्वेभारा र क्युवाका फिडेल क्यास्ट्रो बीचको बेमेलमा केन्द्रित भएको भएता पति त्यसको केही खण्डमा ग्वेभाराको अझ अघि बढ्ने क्रान्तिकारी योजनाका बारेमा पनि ब्याख्या गरिएको छ । लेटेल लेख्छन्,’आफ्नो क्रान्तिकारी प्रतिभाको अझ राम्रो उपयोग अन्यत्र हुनसक्छ भन्ने चे ले ठाने’ ।

बोलिभिया दक्षिण अमेरिकाको गरिबी आक्रान्त क्षेत्र जुन क्रान्तिको लागि महत्वपूर्ण सबै अवस्था विद्यमान भए जस्तो थियो । यस्तै आँकलन गरेर अमेरिकाले (ग्वाटेमाला र ब्राजिलमा प्राप्त सफलताबाट हौसिएर वा क्युबामा भोगेको असफलताबाट चिन्तत भएर हुनसक्छ) बोलिभियाली सेनासँग एउटा सहमति गर्‍यो । दुबै पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेको उक्त सहमति पत्रमा बोलिभियाले तालिमका लागि उपयुक्त स्थान, क्रान्तिकारी गतिविधिहरू दबाउन उपयुक्त प्रतिभा भएका सैनिक जवानहरू, तालिम अभ्यासका लागि आवश्यक अमेरिकी उपकरणहरूको मर्मतसंहार र अमेरिकी तालिम, उपकरण, बन्दोबस्तीका सामानको सहयोग, परामर्श, अफिसरहरू र जासुसी सूचना वापत अमेरिकी सेनालाई खाद्यान्न र बसोबासको ब्यवस्था बोलिभियाले गर्ने सहमति गर्‍यो ।

भाग्यले साथ दिए जस्तो देखिएता पनि चे ग्वेभारा पहिलो पटक बोलिभिया कहिले आए भन्ने प्रत्यक्ष सूचना अमेरिकासँग थिएन । यद्यपि ११ मे १९६७ मा रोस्टोवले जोन्सनलाई पहिले मरेको ठानिए विपरित चे ग्वेभारा जिउँदै र दक्षिण अमेरिकामा क्रियाशिल रहेको पहिलो विश्वास योग्य प्रमाण दिए । विधिका साथै प्रमाणहरू पनि प्रशस्त सेन्सर गरिएका थिए जस्तो कि चे ग्वेभारा सम्बन्धी धेरै जसो दस्तावेजहरू सेन्सर गरिएका छन् । रोस्टोवले चे ग्वेभारा मुश्किलले बाँचेका मात्र छैनन् क्रियाशिल पनि छन् भन्नलाई थप प्रमाणहरूको आवश्यकता पर्ने तर्फ औंल्याएका छन् ।

चे को डायरीले उनीहरूको अवस्था साह्रै सुन्दर नरहेको देखाउँछ । ह्वाइट हाउसमा मेमो तयार गरिएको मितिका आसपासको समयमा ९ मे १९३० चे र उनका सहकर्मी क्रान्तिकारीहरूको समुहले सामना गरिरहेको अवस्थाको चित्रण गरिएको उद्धरण यस्तो छः

डकार, पाद, वान्ता र छेरौटीले भरिएको दिन— हाम्रा अङ्गहरूको वास्तविक चिन्ता । हामी आफूले खाएको सुंगुर पचाउन पूर्ण अचल भएर बस्यौं । हामीसँग दुई बोतल पानी छ । मलाई धेरै विसञ्चो भइरहेको थियो, वान्ता भयो र मैले आराम अनुभव गरें । राती हामीले मकैका च्याँख्ला, पोलेको फर्सी र अघिल्लो दिनको हाम्रो भोजमा उब्रिएको खाना खायौंं— अर्थात जो जो खान सक्ने अवस्थामा थिए, उनले खाए ।

त्यसै दिन लेखिएको लगत्तै पछिल्लो अनुच्छेदले विद्रोहीहरूको अत्यासलाग्दो अवस्थाको चित्रण गरेको छः

सबैजसो रेडियो स्टेसनहरूले केही क्युबालीहरू भेनेजुयला उत्रदै गर्दा समातिएको समाचार लगातार प्रसारण गरिरहेका छन् । लियोनी सरकारले समातिएका मध्ये दुई जनाको नाम र दर्जा सहित खुलासा गरेको छ । म उनीहरूलाई चिन्दिन तर सबै कुराहरूले केही न केही गडबडी अवश्य भएको छ भन्ने देखाउँछ ।

चे ग्वेभारा र उनका सहयोगीहरूको समूहको अवस्था हेर्दा बोलिभियाली ‘क्रान्ति’ त्यति लामो समय टिक्नु उदेकलाग्दो देखिन्छ । चे ग्वेभारा सदाजसो बिमार रहन्थे, उनीहरूलाई बोलिभियाली कम्युनिष्ट पार्टीबाट न्युन सहयोग थियो र किसानहरू खानेकुराको आशमा वा पक्राउ पर्ने र यातना भोग्नु पर्ने धम्कीका कारण सेनालाई सूचना बेच्न हतारिन्थे । यति हुँदा पनि ८ अक्टोबर १९६७ का दिन अमेरिकी सेनाद्वारा तालिम प्राप्त बोलिभियाली सेनाको दोस्रो बटालियनले चे ग्वेभारालाई समातेर मारेको घटनालाई अचम्म मानियो ।

९ अक्टोबर १९६७ का दिन रोस्टवोले जोन्सन समक्ष चे मारिएको अनुमानित रिर्पोट पेस गरे । त्यसै दिनको बिहान १० बजे बोलिभियाली राष्ट्रपतिले पत्रकारहरू समक्ष चे मारिएको घोषणा गर्दै त्यो सुचना तत्काल बाहिर नल्याउन आग्रह गरे । रोस्टवोले आफ्नो रिपोर्टको अन्तिम प्याराग्राफमा जम्मा ४ जना विद्रोही मारिएको र त्यसमध्ये चे, दुई जना क्युवाली र एक बोलिभियाली भएको जानकारी गराएका छन् ।

समकालीन स्रोतहरू अक्टोबर ९ को राति चे मारिएको नै पुष्टि गर्छन् । चे ग्वेभाराको जीवनी लेखक जन एन्डरसनले चे का अन्तिम क्षणहरूको ब्याख्या यसरी गरेका छन्ः चे लाई गोली हान्न बदलाको भावनाले हवल्दार मारियो तेरान अघि सरे किनभने चे ग्वेभाराका गुरिल्लाहरूका हातबाट उनका केही सहकर्मी सिपाहीहरू मारिएका थिए । चे अन्तिम समय सम्म दुढ रहे । उनले तेरानलाई, ‘मलाई थाहा छ तँ मलाई मार्न आएको होस । गोली ठोक कायर तैँले केवल एउटा मान्छेलाई मार्ने न होस्’ । ९ गोली हानिए पछि चे को मृत्यु भयो ।

ह्वाइट हाउसका थप ३ वटा दस्तावेजले चे को मृत्यु भएको टुङ्गो लगायो । अक्टोबर १० का दिन ह्वाइट हाउसका कर्मचारी विलियम बोउड्लरले मारिएकाहरूमा चे ग्वेभारा भएकोमा शंका ब्यक्त गरे । अक्टोबर ११ मा जोन्सनका लागि रोस्टवो प्रेषित मेमोमा हाल सम्पादित तथ्यका आधारमा ‘चे मारिएको कुरा ९५ निश्चित हो’ भनेका छन् । उक्त मेमोमा माथि उल्लेख गरिको चे मारिदाको अवस्थाको पनि वर्णन गरिएको छ । अक्टोबर १३ मा रोस्ट्वोले चे को मृत्य सम्बन्धमा खण्डन गर्न नसकिने प्रमाण जोन्सन समक्ष पेस गरेका छन् । आजका मितिसम्म बहुसंख्यक दस्तावेजहरू सम्पादन भएका छन्, सेन्सर पछि एकरूप टेक्स्ट मात्र बाँकी रहेको छः यसले चे ग्वेभारा मारिएकाे कुरामा कुनै शंका बाँकी रहेन ।

त्यसपछि

बोलिभियाको शासक इलाइटको लागि चे ग्वेभाराको मृत्यु भनेको पहिले जसरी नै शासन चलाउनु थियो । सि आई ए समर्थित अर्को भिन्दै सैनिक कु बाट सत्तामा आएका रेने बारिन्तोसले सन् १९६९ मा हेलिकप्टर दुर्घटनामा उनको मृत्यु हुने दिन सम्म शासन गरे । बारिन्तोस स्वयंले छानेका उत्तराधिकारी, अल्फ्रेडो ओभाल्डाले सन १९७१ मा उनको मृत्यु नहुन्जेल देशको नेतृत्व गरे । त्यसपछि समाजवादी नेता ह्वाँ होजे टोरेस (Juan Jose Tores) सत्तामा आए तर अपरेसन कोन्डर अन्तरगत सि आई ए ले उनको हत्या गर्‍यो । त्यसपछि सन् २००५ सम्म निर्वाचित भएर वा तानाशाहको रूपमा (यद्यपी निर्वाचनको वैधानिकता माथि प्रश्न उठाउन पर्छ) विभिन्न जेनरलहरू राष्ट्रपति भए । सन् २००५ मा जब एभो मोरालेस राट्रपति निर्वाचित भए र बोलिभियाको पहिलो आदिवासी सरकार प्रमुख बने ।

मोरालेस चे ग्वेभाराका प्रशंसक हुन् त्यसैले मोरालेसका समाजवादी नीतिहरूमा चे ग्वेभाराको प्रभावलाई नजरअन्दाज गर्न सकिँदैन । सि आई ए र अझ विशेष गरी रोस्ट्वो दक्षिण अमेरिकाबाट चे ग्वेभारा जस्ता लोकप्रिय क्रान्तिकारीहरूको प्रभावलाई नामेट पार्न चाहन्थे । तर कम्तीमा पनि बोलिभियाको हकमा लोकप्रिय मार्क्सवादी राजनीतिको चेतना जिउँदो र क्रियाशिल छ । फ्लोरिडा स्थित नोभा साउथइष्टर्न विश्वविद्यालयमा अन्तर्राष्ट्रिय द्वन्द्व विश्लेषणमा विद्यावारिधिका उम्मेद्वार थोरो रेडक्रोलाई उद्धृत गर्दा, ‘चे ग्वेभारा प्रतिको आकर्षण बोलिभिया र सम्पूर्ण दक्षिण अमेरिका भरि उनको सन्देशको दुरगामी प्रभावको परिणाम हो’ ।

प्रसिद्ध अर्जेन्टिनी–क्युवाली मार्क्सवादी क्रान्तिकारी अर्नेस्टो चे ग्वेभाराको लास

 

(एम अर्ल स्मिथको अनुसन्धानात्मक आलेखको आधारमा कस्मोनट सम्पादक मण्डलले तयार पारेको यो रिपोर्ट नेपाल रिडर्सका लागि दामोदर उपाध्यायले अनुवाद गर्नुभएको हो।)