मैले कार्ल मार्क्सको लगभग आधा दर्जनजति जीवनी पढेँ हुँला। ती दुईथरी जीवनी थिए । एकथरी सोभियत संघले लेखाएको सरकारी पाराको जीवनी र अर्काथरी मार्क्सका वैचारिक विपक्षीहरूले आलोचना गर्न लेखाएका जीवनी। विपक्षीहरूले कार्ल मार्क्सलाई अहंकारी, जँड्याहा, अराजक, व्यभिचारी र जुम्र्याहा भनेर व्याख्या गरेका छन् । अनि सोभियत संघबाट आएका सरकारी किताबमा सबै सामान्य मान्छेमा हुने दुर्गुण सीमा, खोट केही नभएको देवताको रूपमा कार्ल मार्क्सलाई उभ्याइएको थियो।
स्टालिनले गाडेको किताब र जेनी
सोभियत संघको आर्काइभमा एकचोटी एउटा बायोग्राफी फेला पर्यो । स्टालिनको कुनै भक्तले त्यो पढ्यो । पढेपछि के थाहा भयो भने–जेनीको माइतबाट लेन्चेन भन्ने एउटी नोकर्नी जेनीको सहयोगका लागि पठाइएको थियो । जेनी बाहिरफेर गएका बेला मार्क्सको उनीसँग लसपस भयो। उनले पेट बोकिन्। बच्चा जन्मने भयो । अनि मार्क्सलाई आपत पर्यो । उनले सोचे, ‘अब सबै सिद्धिने भयो।’ एङ्गेल्स मार्क्सका अत्यन्त प्रिय थिए। मार्क्सले एङ्गेल्सलाई अनुरोध गरे, ‘तिम्रो त पत्नी छैन । तिम्रो त यति धेरै ब्यभिचार भए कि गन्नै जरुरी छैन। लेन्चेनबाट जन्मने सन्तानलाई तिमीले स्वीकारिदेऊ । म मान्छे हुँ, मबाट मानवीय गल्ती भयो।’ एङ्गेल्सले बढो गाह्रोसँग स्वीकारे।
स्टालिनका भक्तले स्टालिनलाई उक्त पुस्तकबारे जानकारी गराएपछि उनले भनेछन्,–यो किताब यस्तो ठाउँमा गाड कि माटो पनि अल्मलियोस् । बस्, पुस्तक गाडियो।
मार्क्सका जति पनि जीवनी लेखिए, ती सबै मूलतः पुरुष दृष्टिकोणबाट लेखिएका छन् । त्यहाँ कार्ल मार्क्सको बखान छ अनि फुटनोटमा कतै ‘जेनी असल पत्नी थिइन्’ भनिएको छ । जेनीले मार्क्सको काममा जिन्दगीभर सहयोग गरिन् । बौद्धिक महिला सहयोगीका रूपमा उनी सधैं मार्क्सको साथमा डटेर उभिइन् । सन्तान जन्माइन्, तिनलाई बचाउने कोसिस गरिन् । बाँकी उनले दायाँबायाँ केही पनि गरिनन् भने अर्कातिर कार्ल मार्क्सलाई पूँजीवादको अध्येता, अनुसन्धानकर्ता, विचारक, नयाँ दर्शनको प्रणेताको रूपमा चित्रण गरिएको छ । तर मान्छे मार्क्सबारे भने अत्यन्तै थोरैमात्रै खोतलिएको छ । जेनीलाई मुख्य पात्र मानेर मार्क्सको जीवनी खोज्ने हो भने माथि भनिएका दुईथरी जीवनीभन्दा केही अलग साहित्य लेखिँदो हो भन्ने लाग्छ।
त्यस्तो अभिष्ट राखेर लेखिएको एउटा कृति हो, लभ एण्ड क्यापिटल । कार्ल मार्क्सको बाल्यकालदेखि मृत्युसम्मको, प्रेमको आरम्भदेखि प्रेमको अवसानसम्म, जीवनका उकाली-ओराली, उतार चढाव, सङ्गति, विसङ्गतिहरू, भयावह आर्थिक अभाव, शोक, कोलाहलहरूको समग्र चित्रण छ लभ एण्ड क्यापिटलमा । यो चाहिँ कार्ल मार्क्सलाई माथि आकाशमा पुर्याउने वा जर्बजस्त जमिनमा धस्याउने जीवनी होइन । बरु, अध्ययन, अनुसन्धान र समाज परिवर्तनमा लागेको एउटा जोधा मानिसलाई सामान्य मानिसका रूपमा बुझेर लेखिएको जीवनीजस्तो लाग्छ । जेनीको नजरमा कार्ल मार्क्स, छोरीहरूका नजरमा कार्ल मार्क्स, सामान्य मजदुरका रूपमा कार्ल मार्क्स, यहाँ त्यसरी परख्ने कोसिस गरिएको छ।
कार्ल मार्क्समाथि लेखिएको जीवनमात्र होइन, लेखिएका अरु धेरै जीवनहरूमध्ये एउटा नमुना कृति हो लभ एण्ड क्यापिटल । कार्ल मार्क्सलाई एक सामान्य मान्छे, चिन्तक, अध्येता, पुत्र, पति, पिता, मित्र, क्रान्तिकारी र उनले भोगेको समग्र जीवन र त्यो बेलाको पश्चिमा समाजलाई बुझ्नलाई यो किताब पढ्नुपर्छ।
१५ वर्ष लगाएर लेखियो दास क्यापिटल
सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र छापियो। घोषणापत्र छापिँदा कार्ल मार्क्स तीस वर्षका थिए भने एङ्गेल्स अठ्ठाइस वर्षका थिए । दुबै जवान थए र एउटा उमङ्गमा थिए । सन् १८५१ मा कार्ल मार्क्सले घोषणा गरे– पाँच हप्तामा समग्र पूँजीवादको अध्ययन सकिन्छ । तर यो सकिन पन्ध्र वर्ष लाग्यो । उनी पुस्तक लेख्दै गए । उनलाई के लाग्छ भने –यो विषयमा मानव सभ्यताको इतिहासमा जे जे लेखिएका छन्, आधारभूत कुरा सबै पढेँ हुँला । अनि घोषणा गर्छन्–यो पुस्तक महिना दिनमा सकिन्छ । महिना दिनमा सकिएपछि कुनै एउटा पुस्तक वा लेख छापिएको थाहा पाएपछि उनलाई लाग्छ–अध्ययन त पुगेनछ । तर प्रकाशकले पेलिरहेको छ- गुरु, अस्ति दिएको मिति त गयो नि ! उनीचाहिँ भन्छन्– त्यस्तो मिति अर्को आउँछ तर काम ठोस, समग्र र घनीभूत हुनुपर्छ । कार्ल मार्क्सले पुस्तक सक्याउने भाका सारेको सार्यै गरिरहे।
विकराल आर्थिक अवस्था
दोस्रो रमाइलो कुरा के छ भने कार्ल मार्क्सको जिन्दगी विकराल आर्थिक अवस्थामा बित्यो । कार्ल मार्क्सका बाबु सम्पन्न थिए, युवा कार्ल मार्क्स पनि बाबुको कमाईअनुसारकै खर्चालु र सौखिन भए। बाबुले वर्षभरिमा जति कमाउँछन्, विद्यार्थी कालमा उनले त्योभन्दा बढी खर्च गरिदिए । उनी व्यापक पढ्थे, साथीहरूसँग खुब रमाइलो गर्थे। रक्सी पनि मस्त खान्थे भनिन्छ । तर उनले जस्तो जीवन रोजे र जस्ता काम उनको चुनावमा पर्यो, त्यसले उनलाई कष्टकर जिन्दगी जिउने ठाउँमा पुर्यायो । पछि उनको बास ओसिलो ठाउँमा भयो । उनका धेरै लालाबाला भए, तिनलाई हुर्काउन सधैँ हम्मे परिरह्यो।
उनले बेलामा पानी र इन्धनको पैसा तिर्न सकेनन् । अन्नपानी छैन । खानेकुरा जुटाउन उत्तिकै गार्हो भयो । कतैबाट अलिकति पैसा आइलाग्यो, उनलाई भोलिक के खाने भन्ने चिन्ता हुँदैन । उनलाई लाग्छ–छोरीहरू संगीतप्रेमी छन्, छोरीहरूका लागि पियानो लिएर आइहाल्छन् । छोरीहरू बडो भ्रमणप्रेमी छन्, अलिकति पैसा जुट्यो भने तिनलाई लिएर घुम्न हिँड्छन् । उनी कथा सुनाउन खुबै रुचाउँछन् । छोरीहरूलाई लिएर दुई, चार माइल जान्छन् । सय माइलको कथा सुनाउँछन्।
आर्थिक अवस्था तन्नम भएपछि जेनीले घरमा भएका थोरैतिनो मूल्य आउने सबै सामान एकएक गर्दै धितो राखिन् । ओभरकोट र जुत्ता पनि धितो राखियो । अनि मार्क्स दिनैपिच्छेजस्तो एङ्गेल्सलाई चिठी लेख्छन् – मित्र, केही बाँकी रहेन । एङ्गेल्सका बाको ठूलो फ्याक्ट्री हुन्छ म्यानचेस्टरमा, एङ्गेल्सको कमाई राम्रो छ । उनले केही पैसा ल्याइदिएपछि धितो राखेका केही सामान उकास्छन् । आवश्यक सर्दामको जोहो गर्छन्।
भोको पेटमा एङ्गेल्सको स्याम्पेन
यता अभाव हुन्छ अन्नपानीको, धनाढ्य एङ्गेल्सले मार्क्सको आवश्यकता खासै थाहा पाउँदैनन् । खानाको साटो एक बोतल स्याम्पेन (रक्सी) बोकेर आउँछन् । क्रिसमस आयो, क्रिसमस ट्रीका लागि पैसा छैन । छोरीहरू साना छन् । स्कुलमा क्रिसमसको चर्चा छ । छोरीहरू स्कलुबाट फर्केर घरमा आएर हेर्छन्, क्रिसमस ट्री पनि छैन, बा मार्क्स दिक्क मानेर बसिरहेका छन् । त्यस दिन पनि एङ्गेल्स आउँछन्, उही रक्सीकै बोतल लिएर आउँछन् । टेबलमा सजाइएका ६ वटा बोतललाई नै क्रिसमस ट्री मान्ने निधो गर्छन् मार्क्स। क्रिसमस ट्री स्थापना भएपछि शुरू भयो स्याम्पेनका गिलास ठोक्ने कार्यक्रम।
अद्भुत जेनी
मार्क्स एउटा उदेश्य लिएर अघि बढेका मान्छे थिए। उनलाई दुःख झेल्ने शक्ति त्यही उद्देश्यले प्रदान गर्थ्यो । तर, जेनीले मार्क्सको जस्तो दुनियाँलाई दुःखबाट मुक्त गर्ने उपायको खोजी गर्ने कुनै स्थुल उदेश्य लिएकी थिइनन् । उनलाई दुःख बेहोर्ने शक्ति कसरी प्राप्त हुन्थ्यो ? जेनीको मिहिनेत बुझ्दा उनी अद्भुत मान्छे हो भन्ने लाग्छ।
उनी बेरेनको छोरी हुन्, अत्यन्तै सम्पन्नतामा हुर्केकी । उनले चरम अभावका बारेमा कहिल्यै मार्क्ससँग गुनासो गरिनन् । एकाध पटक उनले खिन्नता व्यक्त गरिन् । कार्ल मार्क्स बढो फुर्ति लाउँथे, ‘हेर बुढी सधैँ दुःख हुँदैन । दुःखजति जम्मै हाम्रै भागमा पर्नुपर्छ भन्ने पनि केही छैन । मेरो यो पुस्तक छापिएपछि यसको व्यापक चर्चा हुन्छ । पैसा आउँछ।’
पुस्तक छापियो तर तर पटक्कै चर्चा हुँदैन। समीक्षा कसैले पनि लेख्दैन। एउटा समीक्षा फास्सफुस्स लेखियो । मार्क्स दङ्ग परे । जेनीसँग मार्क्स भन्छन्, ‘बुढी, केही त भइरहेको छ नि!’ जेनी भन्छिन्, ‘थाहा छ, यो त एङ्गेल्सले लेखेको हो।’ त्यो किताब ६ महिनामा जम्मा एकसय जति बिक्यो।
कुपोषण, सन्तान वियोग र निष्ठा
मार्क्सका चार जना सन्तान कुपोषणले मरे । लण्डन यसै पनि अत्यन्तै चिसो ठाउँ, त्यसमा पनि पोषिलो खाना र पर्याप्त न्यानोको अभावमा उनका सन्तानहरू मरे । त्यत्रो सन्तान मरे, त्यत्रो अभाव खेपिन् उनले । तर कार्ल मार्क्सको ध्येयप्रति उनको निष्ठा, विश्वास र समर्पण अद्भूत थियो।
एउटा प्रसङ्गमा भने जेनीको निष्ठा अलि डगेको देखिन्छ । चरम अभाव बेहोरिरहेको बेला थियो । नेदरल्याण्डमा उनका कोही नातेदारहरू थिए । त्यहाँ केही पैत्रिक सम्पत्ति छ कि भन्ने आभाष भयो उनीहरूलाई । मार्क्सले जेनीलाई बुझ्न पठाए, उनी गइन् । उनलाई त्यहाँ ठूलो अपमान गरियो । उनले त्यहाँ केही पनि पाइनन् । उनको दुःखमा पनि कसैले सहयोग गरेनन् । उनी खिन्न भएर फर्किइन् । त्यही बीचमा मार्क्स र लेन्चेनको लसपस भएको थियो । त्यही बेला जेनीलाई दादुरा भयो । उनी त अत्यन्त सुन्दरी । उनको अनुहारमा दाग बसेकाले उनी अत्यन्तै खिन्न भइन्।
कार्ल मार्क्स त अत्यन्तै बाठो मान्छे थिए । उनले लेन्चेनसँगको सम्बन्धबाट जेनी दुखी भएको कुरा बुझे र सोधे, ‘तिमी किन खिन्न भएको?’ जेनी भन्छिन्, ‘म पहिला जस्तो सुन्दर थिएँ, अब त्यस्तो सुन्दर रहिनँ। दादुराले मेरो अनुहारमा दाग लाग्यो । कार्ल मार्क्स भन्छन्, ‘मेरो आँखामा त तिमी अझै उस्तै सुन्दरी छौ।’ अनि जेनीले लेन्चेनको कुरा उठाउँछिन्, ‘लेन्चेनका कारण मलाई चोट लागेको छ ।’ त्यसपछि खुब रिसाउँछन् कार्ल मार्क्स, स्वीकार गर्न मान्दैनन्।
के भनिन्छ भने जेनी यदि उनको जीवनसाथी नभएको भए, वैचारिक समर्थक नभएको भए, त्यतिविधि दुःखलाई झेल्ने साथी नभएको भए, कार्ल मार्क्सले आफ्नो जीवनमा जे जति गरे त्यो सम्भवै थिएन । कार्ल मार्क्स जीवनमा एङ्गेल्सको साथ सहयोगको अर्थ छ तर जेनीको सहयोग बिना त्यो अपूरो हुन्थ्यो।
यो पुस्तकको शीर्षक क्यापिटल एण्ड लभ राख्न पनि सकिन्थ्यो होला । कार्ल मार्क्स् चिनिएको त दास क्यापिटलले हो । ‘लभ’लाई अगाडि किन राखियो होला भने यो पुस्तकको प्राथमिक जग भनेको प्रेम हो । प्रेमको जगमा अध्ययन, अनुसन्धान र क्रान्तिको भवन उभिएको छ। उनको व्यक्तित्व, उनले प्रतिपादन गरेको सिद्धान्त सबै प्रेमको जगमा उभिएको छ । प्रेमको त्यो जग खन्ने मुख्य श्रमिक जेनी हुन्।
मार्क्सको छोरी
मार्क्स र जेनीका छोरीहरू एक से एक थिए । सबैभन्दा सानी एलियानोर, आठ वर्षको उमेरदेखि कार्ल मार्क्स्को रचना पढ्ने । कार्ल मार्क्स्को रचनामा यति तिक्ष्ण टिप्पणी गर्ने कि मार्क्स वाल्ल पर्ने । कुनै रचनामा कार्ल मार्क्सले यहुदीमाथि कठोर टिप्पणी गरे । यो आपराधिक पूँजीवादले मान्छेलाई विरूप, विद्रुप बनाउँछ भनेर यहुदीलाई दृष्टान्तको रूपमा प्रक्षेपण गरे ।छोरीलाई खबै रिस उठ्यो । उनले प्रतिवाद गरिन्, ‘यहुदीलाई नै पिनपोइन्ट गरेर किन भन्ने ? पूँजीवादको आपराधिक मनोवृत्तिबाट यिनीहरूमात्रै ग्रसित भएका छन् र?’ मार्क्स छोरीलाई शान्त गराउन खोज्छन्, ‘हैन, मैले त एउटा उदाहरणको रूपमा मात्र लिएको । यहुदीहरूप्रति मेरो कुनै अन्यथा भाव छैन।’
तिनताक लण्डनमा आइतवारका दिन भेला भएर कार्यक्रम गर्न निषेध थियो । एलियानोरले सन्डे इभिनिङको आयोजना र प्रचार गरी । उसैका प्रचारका आधारमा दुई हजार मान्छे जम्मा भए । अनि दुई हजार मान्छेका बीचमा चौध वर्षे एलियानोरले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरी । कार्ल मार्क्स के भन्छन् भने, ‘सबै कुरा निषेधित थियो, चौध वर्षकी छोरीले कार्यक्रम गरी, एउटा मानछे पनि पक्राउ परेन । यसबाट सिक्ने कुरा के ? इफ यु वान्ट टु डु समथिङ इलिगल, डु विथ टु थाउजेन्ड पिपल। (कुनै अवैधानिक काम गर्नु छ भने दुई हजार मान्छे बटुलेर त्यस्तो काम गर।)
कार्ल मार्क्समा ठूलो प्रतिभा मात्रै होइन, उत्तिकै ठूलो अहंकार, असहिष्णुता र अभद्रता पनि थियो । जेनी भन्छिन्, तिमी अहंकारी र असहिष्णु छौ । तिमी आफ्नो र बिरानो पनि छुट्याउँदैनौ । आफ्नोप्रति कठोर छौ, बरु शत्रुप्रति नरम छौ।’
‘रुखो दास क्यापिटल’
दास क्यापिटल कथ्यसँग जेनीको असहमति थिएन । त्यसको प्रस्तुतीको शैलीप्रति असहमति थियो। जेनी दास क्यापिटल रुखो चिज भयो भन्थिन् । यति रूखो छ कि पढिसाध्य छैन । उनको मत थियो, ‘लेख्ने त कम्युनिष्ट घोषणापत्रजस्तो हो ।’ कार्ल मार्क्स भन्छन्, ‘हामीले आम मान्छेलाई सम्बोधन गरेर कम्युनिष्ट घोषणापत्र लेख्यौँ । दास क्यापिटल त विश्लेषण हो । विश्लेषण सबैले बुझ्दैनन् । यो सामान्य कुरा हो।’
‘विश्लेषण गरिराख तर अलिकति आवेग राख,’ जेनी भन्छिन्।
लभ एयण्ड क्यापिटलललाई एकदमै मसिनोसँग पढियो भने, पढेको कुरालाई समाजमा चर्चा, विमर्शमा ल्याइयो भने मार्क्सवादको नाममा सङ्गठनमा जे निर्माण गरिएको छ, मार्क्सवादको नाममा जुन प्रकारको समाजवादी सत्ताको निर्माण गरिएको छ र जुन जुन कारणले समाजवादी सत्ता पतित भयो, त्यसलाई नित्तान्त नयाँ ढङ्गले हेर्नका निम्ति यसले प्रेरित गर्छ।
सम्यक अध्ययनका लागि खुराक
मार्क्सवाद प्रयोजन वा अभिप्राय भनौं मानव मुक्ति हो । समाजवादले मान्छेलाई दास बनायो । सबै अधिकार स्टालिनको हातमा । बन्दुक स्टालिनसँग। स्रोतसाधन स्टालिनसँग। अनि असहमति हुनेबित्तिकै मार्ने भनेको त जघन्य अपराध हो । मार्क्सवादको एउटा मौलिक चरित्र के थियो? मार्क्सवादको उत्पत्ति कसरी भयो? एउटा दार्शनकि रूपमा सामाजिक आन्दोलनको एउटा उपकरणको रूपमा मार्क्सवादको प्रयोजन के थियो ? सङ्गठनमा प्रवेश गरेपछि, व्यवहारमा प्रवेश गरेपछि त्यो कसरी संकुचित भयो ? कसरी सीमाबद्ध भयो ? कसरी विकृत भयो ? त्यसैले सोभियत संघबाट प्रारम्भ भएको सङ्गठन समाजवादबाट मार्क्सवादलाई छुट्याएर कसरी अध्ययन गर्ने होला ? यी प्रश्नहरूको सामना गर्नका लागि मार्क्सबारे र उनले कुन पृष्ठभूमि, कस्तो अवस्था र केका लागि उनले पुस्तकहरू लेखे भनेर बुझ्न आवश्यक होला । शुरूवात यस पुस्तकको अध्ययनबाट गर्न सकिन्छ।
दर्शनले स्वयम् राजनीतिक कार्यक्र दिँदैन । दर्शनले त जीवनको यात्राको रेखाङ्कन मात्र गर्ने हो । पोलिटिकल प्रोग्राम भनेको अल्पकालीन कुरा हो । त्यो निरन्तर बनिरहने, निरन्तर परिवर्तन भइरहने कुरा हो । दर्शनचाहिँ अलि लामो समयसम्म रहने कुरा हो । त्यसैले कुनै दार्शनिक पुस्तकले राजनीतिमाथि कुनै गम्भीर विमर्श गरेन, राजनीतिक कार्यक्रम दिएन भन्दैमा त्यो अपूर्ण हुन्छजस्तो लाग्दैन । दर्शन वृहत्तर कुरा हो । राजनीति तत्कालिन कुरा हो । राजनीतिक दस्तावेजहरू त फेरिइरहन्छन्।
राजनीतिक कार्यक्रम नहुँदा पनि मार्क्सवाद रहन्छ किनभने श्रमिक वर्गका आन्दोलनहरू कमजोर हुँदैमा मार्क्सवादको प्रासङ्गिकता मर्दैन। किनभने, त्यसले मान्छेको उत्पत्तिदेखि मान्छेको नियतिको निर्धारण केले गर्छ, समाज केले निर्माण गरेको छ , समाजका तत्वहरू, पक्ष विपक्षहरू के के हुन्, त्यसलाई तिक्ष्ण र दुरगामी ढङ्गले अध्ययन गर्छ। राजनीतिक कार्यक्रम त उतारचढाव भइरहने कुरा हो।
यो दर्शन कसरी निर्माण भयो, कसतो अर्थ–सामाजि र सांस्कृतिक परिवेशमा मार्क्सले मार्क्सवादको जग बसाले भनेर बुझ्न यो किताब अत्यन्त सहयोगी छ । सकेसम्म युवाहरूले यो पुस्तक पढे भने माथि उल्लेख गरिएका दुईथरी अतिहरूबाट बचेर तिनलाई मार्क्सवादको सम्यक अध्ययन गर्न जाँगर बढ्दो हो।
‘रातो झिल्को’(२०७६, वैशाख–असोज)को अंकबाट
Discussion about this post