Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सवाद र अफ्रिकी मुक्ति

वाल्टर रोड्नी वाल्टर रोड्नी
अशोज २५, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “पुँजीवादीहरु माझ जतिसुकै मतभेदहरु भएता पनि उनिहरुलाई एकताबद्ध बनाउने साझा ध्येय चाहीं सबै मिलेर मार्क्सवादी विचार प्रणालीको प्रासङ्गिकताबारे प्रलाप मचाउनु हो।”

    सम्पादकको नोटः यो आलेख “मार्क्सवाद र अफ्रिकी मुक्ति“ विषयमा वाल्टर रोड्नीले सन् १९७५ मा क्वीन्स कलेज, न्युयोर्कमा दिएको एक प्रवचनको अंश हो। सन् १९८० मा गिनी सरकारको षडयन्त्रबाट मारिएका रोड्नी गिनी देशका एक इतिहासबेत्ता, राजनीतिक अभियन्ता तथा विद्वान हुन्। यस प्रवचनमा अफ्रिकी जनताको मुक्तिका लागि मार्क्सवाद एक विधि र एक क्रान्तिकारी विचार हुने कुरालाई प्रष्ट गर्न खोजिएको छ। हाल नेपालमा समेत ‘वाद केही होइन‘, ‘विचारहरु राष्ट्रवादीय हुनु पर्छ‘, ‘पुरानो विधि वा विचार हालको सन्दर्भमा उपयुक्त हुन नसक्ने‘ जस्ता कथनहरु निर्माण गर्ने प्रयत्न भइरहेको छ। हाल नवउदारवादीहरुले हार खाइसकेका छन् तिनीहरुबीच अन्तरकलह पनि बढेको छ तथापी विदेशी तथा यहाँका चेलाचपेटाहरु नवउदारवादको असफलतालाई ढाक्न समाजवाद प्रति सन्देह पैदा गर्नका लागि एक जूट हुने गरेका छन्। हाल तिनीहरुबाट समय र सन्दर्भलाई नहेरी साम्राज्यवादले विश्व चुसेर गरेको  विकासको चकाचौंध र केही स्थानमा त्यहाँका स्रोतहरुले गरेका केही सफल प्रयत्नहरु नेपालमा उपयुक्त हुनसक्ने विना वादको अर्को उट्पट्याङ्गवादको पैरवी हुन लागेको छ। यसकारण यो प्रवचन  मार्क्सवाद मुख्यतः समाजको विश्लेषण गर्ने विधि र परिवर्तन गर्ने विचार हो भनेर बुझ्न र हाल “नेपालमा समाजवाद उन्मुख होइन विना–वाद उन्मुख मार्ग“भन्ने कथनको निर्माणकर्ताको राजनीतिसमेत बुझ्नका लागि सन्दर्भ बन्नसक्ने भएकाले यहाँ प्रस्तुत गरिएको छ। सम्पादक

    जब कुनै व्यक्तिलाई, विशेषगरी काला जनसमुदाय भित्रका मानिसलाई कुनै खास समयमा अफ्रिकामा मार्क्सवादको प्रासङ्गिकता र मुलुकभित्र चलिरहेका ऐतिहासिक वहसहरुमा बोल्नका लागि आग्रह गरियो भने यस्तोबेला सर्वप्रथम, हामीले त्यस्ता बहसका पृष्ठभूमिबारे बुझ्नु अति जरुरी हुन्छ। यस्ता बहसहरु बितेका वर्षदेखि उल्लेख्यरुपमा वृद्धि भएका छन्| मेरो आफ्नै अवलोकनमा पनि त्यस्ता बहस देशभरि धेरै स्थानमा भइरहेका छन्। कहिलेकाहीं यस्ता बहस तथाकथित राष्ट्रवादी विरुद्ध मार्क्सवादीको भेषमा प्रकट भएको प्रतित हुन्छ; कहिलेकाँही यो जातीय अडान दाबी गर्नेहरूका विरुद्ध वर्गीय अडान दाबी गर्नेहरुको भण्डाफोड भनेर छद्मरुपमा देखा पर्दछ। त्यसकारण यस बहसको सबै पक्षमा एउटै सेसनमा प्रवेश गर्नु सम्भव हुँदैन, तर यसले हाम्रो छलफलको पृष्ठभूमि भने अवश्य तैयार गर्नेछ।

    यो एउटा महत्त्वपूर्ण बहस हो। आज देशमा यस किसिमका बहस भइरहेका छन्, यो साँचो हो| ठीक यसरी नै अन्य अफ्रिकी, एसियायी, ल्याटिन अमेरिकि मुलुकहरु र पश्चिमी यूरोप र जापानका बडा शहरहरुमा पनि बहस भइरहेका छन| यी चालु बहसहरुले जुन विस्तृत आयाम र तीव्रता हाशिल गरेका छन्, त्यो भनेको पूँजीवादी-साम्राज्यवादी उत्पादन पद्धतिको संकट प्रतिविम्वित हुनु हो। विचार र वाद प्रतिवाद आकाशबाट बर्सदैनन्। यो अरू मानिसलाई अर्थहीन बहसमा संलग्न गराउने केही व्यक्तिहरूको षड्यन्त्र मात्र हुँनसक्दैन।

    बहसको परिणाम जेसुकै निस्कियोस्, विभिन्न सहभागीले जस्तोसुकै अडान लिएता पनि यस्ता बहसले आज पुँजीवाद र साम्राज्यवादको संकटको वास्तविक प्रतिनिधित्व गर्दछ। संकट गहिरिदै जाँदा जीर्ण बन्दै गईरहेको प्रणालीको औचित्य सावित गर्न खोजिने विचार प्रणाली स्वीकार्न गाह्रो हुन्छ| अतः नयाँ दिशाको खोजी गर्नु आवश्यक छ| निश्चय नै यस शिलशिलामा मार्क्सवाद, वैज्ञानिक समाजवाद स्वयंमा उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा अब्बल विकल्प देखिएको छ।

    यो प्रश्न अफ्रिकाका लागि वा समग्र कालाहरुका लागि नयाँ होइन- यो बुझ्नु जरुरी छ। हामी मध्ये धेरैले यो वा त्यो बिषयमा मार्क्सवादको प्रासङ्गिकताबारे प्रश्न उठाएका छौं। जहाँसम्म मार्क्सवादको युरोपमा प्रासङ्गिकताको सवाल छ, धेरै यूरोपीयन बुद्धिजीवीले आफ्नो समाजमा यसको प्रासङ्गिकताबारे बहस चलाए। एशियामा यसको प्रासङ्गिकताबारे एशियालीहरुले बहस चलाए। ल्याटिन अमेरिकाको लागि यसको प्रासङ्गिकताबारे ल्याटिन अमेरिकीहरूले बहस चलाए। धेरै मानिसहरुले आफ्नो समयमा मार्क्सवादको प्रासङ्गिकताबारे विशद छलफल चलाए। के यो १९औं शताब्दीमा सान्दर्भिक थियो? यदि थियो भने, के यो २० औं शताब्दीमा पनि प्रासंगिक छ? हामी समाजको संस्कृतिको एक पक्षमा वा समाजको समग्र कानून वा संस्कृतिमा यसको सान्दर्भिकताबारे बहस गर्न सक्दछौं।

    “एङ्ग्लो-अमेरिकी परम्परा दार्शनिकरुपमा भन्नु पर्दा मार्क्सवादप्रति प्रचण्ड वैरभाव राख्दछ र त्यो पनि विशेषरुपमा प्रकट हुन्छ| यो मार्क्सवादको अध्ययन गर्नमा समेत छिः छिः र दुर दुर गर्दछ| यदि तपाईंले युरोपको महादेशीय परम्परालाई नियाल्नु भयो भने त्यो अलिक भिन्न छ। आफ्नो दृष्टिकोण जस्तो भएता पनि फ्रान्सेली, जर्मन र बेल्जियन बुद्धिजीवीहरु मार्क्सवादको महत्त्व बुझ्दछन्। उनिहरू त्यसको अध्ययन गर्छन्, त्यससँग आफ्नो सम्बन्ध खोज्छन्, उनीहरू विचारको मार्क्सवादी श्रृङ्खलालाई बुझ्दछन् र उनीहरू त्यसको पक्ष वा विपक्षमा अडान लिन्छन्।”

    यी सबै मुद्दाहरू पहिले नै बहस गरिसकिएका हुन् र आज हामीले यस प्रश्नको चर्चा गर्नु पर्दा हामीमा इतिहासको केही चेत भने हुनै पर्दछ, किनकि इतिहासको त्यस्तो चेतको आधारमा नै हामी प्रश्न गर्न सक्छौं, किन मार्क्सवादको समाजसँगको प्रासङ्गिकताबारे निरन्तर प्रश्न उठाइन्छ? संक्षिप्त रुपमा के भन्न सकिन्छ भने यो सवाल उठान हुनुको प्रथम कारण चाँही संघर्षको विद्यमान अवस्था हो| यो अवस्था भनेको मानिसहरु वास्तविकतालाई अनुभूत गर्ने प्रचलित प्रभावशाली पद्दतिसँग असन्तुष्ट रहेको अवस्था हो|

    यस्तो बेला मानिसहरूले मार्क्सवादको प्रासङ्गिकताको बारेमा जिज्ञाशा राख्नु अस्वाभाविक होइन।

    यो सवाल उठ्नुको अझ ठुलो, दोस्रो कारण मानिसहरुको त्यो अवस्था हो जसको चिन्तन प्रणाली चाहीं पुँजीवादी ढाँचामा  छ र त्यसैको आधारमा प्रश्न गर्छन्। मानिसहरु पूँजीवादलाई भरथेग गर्ने तौरतरिका भित्र रहेर तर्क गर्ने गर्दछन्| यसलाई हामी अनुभूतिको पुँजीवादी ढाँचा (Bourgeoisie Framework of Perception)भन्छौं। जब मानिसहरु त्यस ढाँचाबाट बुझ्न सुरु गर्छन्, तब तिनले मार्क्सवादको सान्दर्भिकताबारे प्रश्न उठाउनु नौलो कुरा भएन|

    यसरी पाखुरा सुर्किने हो भने त पुँजीवादी विचारधाराको प्रासङ्गिकतामाथि प्रश्न उठाउनु झन् बढ्ता राम्रो होला किनभने समस्या मार्क्सवादको होइन पुँजीवादी विचारधाराको हो| जुत्ता न मिलेको चाहीं अर्को जुत्तामा हो|

    शुरुमै भनि हालौं, पुँजीवादीहरु माझ जतिसुकै मतभेदहरु भएता पनि उनिहरुलाई एकताबद्ध बनाउने साझा ध्येय चाहीं सबै मिलेर मार्क्सवादी विचार प्रणालीको प्रासङ्गिकताबारे प्रलाप मचाउनु हो। एक अर्थमा त हामी पनि पुँजीवादी विचार प्रणालीको माखेसाङ्ग्लोबाट पूर्णतः मुक्त छैनौं र त्यहीं ढाँचाभित्र रहेर निकै संकोच र अनिश्चयका साथ आफै जिज्ञाशा पनि राखिरहेका हुन्छौं कि मार्क्सवादको प्रासङ्गिकता छ के?

    यो विशेषगरी विश्वको हामी बसेको भूखण्ड अर्थात् अंग्रेजी बोलिने भागका सम्बन्धमा साँचो ठहरिन्छ किनकि एङ्ग्लो-अमेरिकी परम्परा दार्शनिकरुपमा भन्नु पर्दा मार्क्सवादप्रति प्रचण्ड वैरभाव राख्दछ र त्यो पनि विशेषरुपमा प्रकट हुन्छ| यो मार्क्सवादको अध्ययन गर्नमा समेत छिः छिः र दुर दुर गर्दछ| यदि तपाईंले युरोपको महादेशीय परम्परालाई नियाल्नु भयो भने त्यो अलिक भिन्न छ। आफ्नो दृष्टिकोण जस्तो भएता पनि फ्रान्सेली, जर्मन र बेल्जियन बुद्धिजीवीहरु मार्क्सवादको महत्त्व बुझ्दछन्। उनिहरू त्यसको अध्ययन गर्छन्, त्यससँग आफ्नो सम्बन्ध खोज्छन्, उनीहरू विचारको मार्क्सवादी श्रृङ्खलालाई बुझ्दछन् र उनीहरू त्यसको पक्ष वा विपक्षमा अडान लिन्छन्।

    विश्वको यो खण्ड, क्यारेबियन क्षेत्र, अफ्रिकाका धेरै भागहरुमा हस्तान्तरण भएको अंग्रेजी परम्परामा मार्क्सवाद सम्बन्धित कुनै पनि ज्ञानलाई अस्वीकार गर्नु फेसन जस्तो भएको छ। हामी मार्क्सवाद विरोधी हौं भन्नका लागि आफ्नो अज्ञानतामा पनि गर्व गर्नुलाई यहाँ फैशन जस्तो बनाइएको छ। जब कर गरेर सोधिन्छ तब उनिहरु भन्छन्- त्यसलाई पढ्ने लेठो किन बोक्नु जब कि त्यो विल्कुलै बकवास छ।

    त्यसैले कसैलाई यो पढ्दै न पढी बकवास लाग्छ र कोही यो पढ्नै चाहदैनन् किनकि उनिहरुमा पूर्वाग्रह छ कि यसमा सब बकवास बाहेक केही छैन, अत: उनमा आफ्नो विद्यमान हालतमा रहेको अज्ञानतावस गर्व गर्ने बानी हुन्छ।

    मार्क्सवादको प्रासङ्गिकताको प्रश्नलाई गम्भीरतासाथ सम्बोधन गर्न तबसम्म गाह्रो छ जबसम्म कसैले यसको विचार श्रृङ्खलाको न्यूनतम आधारभूत तहभित्र प्रवेश गर्ने जमर्को गर्दैन, किनभने यो विचार श्रृङ्खला भनेको साहित्य र विश्लेषणको एक विशाल भण्डार हो, र बाहिरीबाट हेर्दा यो ज्यादै कठिन देखिन्छ।

    निश्चत रुपमा म यो भन्न सक्छु कि मार्क्सवाद के हो भनेर पढ्न र बुझ्न सामान्य मेहेनत नै नगरी यसको प्राशङ्गिकता के छ भनेर प्रश्न गर्नु व्यर्थ छ। यो लगभग जवाफ दिन असम्भव प्रश्न हो; विनम्रतापूर्वक भन्नुपर्दा हामी जो एक खास प्रकारको पृष्ठभूमिबाट आएका छौं, (र हामी सबै उस्तै पृष्ठभूमिबाट आएका हौं) हामीले सबैभन्दा पहिले विभिन्न बौद्धिक परम्पराका एकसरो आधारभूत ज्ञान हाशिल गर्नु पर्दछ, त्यसो भएमा हामी अवस्था अनुसार मार्क्सवादको प्रासङ्गिकता वा अप्रासङ्गिकताको मूल्यांकन गर्ने राम्रो स्थितिमा हुनेछौं।

    अब हामी छलफलद्वारा दिक (स्थान) र काल (समय) का चरहरुको सान्दर्भिकता निर्क्यौल गर्न गइरहेका छौं, अझ यसो भनौं दिक (स्थान) र काल(समय)का चरहरुले मार्क्सवाद सान्दर्भिक छ छैन भन्ने प्रश्नमा कतिको प्रभाव पार्छ भन्ने धारणाबाट म अघि बढ्छु। एक अर्थमा हामीले यसको उत्पति भएको स्थान(दिक)अथवा पश्चिम युरोपमा यसको वैद्यता छ भनेर लगभग स्विकार गर्नु हो। यसबारे सविस्तार विमर्श गर्न हामीसँग पर्याप्त समय छैन। तर पश्चिम युरोपमा मार्क्सवादको सान्दर्भिकता छ, यसको अर्थ छ, यसको उपयोगिता छ वा १९ औं शताब्दीमा थियो भन्ने मानेर हामी यसको वैधता भौगोलिक रुपमा कतिसम्म विस्तार हुनसक्छ, यसको वैधता कति समयसम्म विस्तार हुनसक्छ?, भन्ने प्रश्न सोध्न सक्छौं।

    दिक र काल दुई चर हुन्| तीनलाई ऐतिहासिक परिस्थिति, समय (काल)- र स्थान(दिक)को अर्थमा संस्कृति र कुनै स्थान विशेषमा कस्ता सामाजिक र सांस्कृतिक अवस्थाहरु विद्यमान छन् भनेर अनुवाद गर्न सकिन्छ। हाम्रा लागि, यसलाई अझ सटीक रुपमा भन्नु पर्दा काला मानिसहरु, निसन्देह सटिक शब्दमा काला मानिसहरूले १९ औं शताब्दीमा पश्चिम यूरोपेली संस्कृतिभित्र ऐतिहासिकरुपले उत्पन्न भएको विचारधारा आज २० औं शताब्दीको तेस्रो खण्डमा, अर्कै समयमा, विश्वको अर्को हिस्सा तोकेरै भन्नु पर्दा अफ्रिका वा क्याराबियन वा यस देशका काला मानिसहरुका लागि औचित्यपूर्ण छ के भनेर सोध्ने गर्दछन् ? म यस प्रश्नबारे चर्चा गर्न चाहन्छु।

    मार्क्सवादी विधि

    म किन मार्क्सवादी विचार, वैज्ञानिक समाजवादी विचार विभिन्न तहमा, विभिन्न समयमा र विभिन्न स्थानमा एउटा औजारको रुपमा, मानिसहरुले अंगिकार गर्नु पर्ने अवधारणाको शृंखलाको रुपमा यसको उपादेयता किन रहिरहने छ भन्ने कुरामा मूलतः दुई आधारभूत कारण उल्लेख गर्न चाहान्छु।

    पहिलो, मार्क्सवादलाई विधिको रुपमा हेर्नु हो, किनकि विधि भन्नासाथ आफ्नो परिभाषाले नै त्यो समय र स्थानबाट स्वतन्त्र हुन्छ। तपाइँले कुनै पनि समय, कुनै पनि स्थानमा त्यो विधि प्रयोग गर्न सक्नुहुनेछ। त्यसबाट तपाईले बिभिन्न परिणामहरू प्राप्त गर्न सक्नुहुनेछ, तर पनि विधि स्वयं भने समय र स्थानबाट स्वतन्त्र हुनेछ।

    दोश्रो, आवश्यकीय रुपमा समयको पावन्दीले गर्दा मार्क्सवादलाई संक्षिप्त रुपमा, भलै अतिसरलीकरण भए पनि म के उल्लेख गर्न चाहन्छु भने मार्क्सवादको एक वास्तविक आधार भनेको यो मानिसको भौतिक संसारसँगको सम्बन्ध बारेको दृष्टिकोणबाट सुरु हुन्छ|

    जब मार्क्सवाद ऐतिहासिक रुपमा विकसित भयो यसले सचेतनापूर्वक विचारबाट, अवधारणाबाट र शब्दहरुबाट उद्भव भएका नाना भाँतिका अन्य सबै प्रकारका बुझाईबाट यसले आफुलाई पृथक राख्यो र तिनका विरुद्ध आफुलाई उभ्यायो| यसले आफूलाई भौतिक अवस्था र समाजका सामाजिक सम्बन्धहरुका आधारमा खडा गर्‍यो।

    म यहीं भिन्नताबाट यहाँ सुरु गर्न चाहन्छु। मार्क्सवाद एउटा यस्तो विधि हो जसले मानिसहरु बीच उत्पादनको प्रक्रियामा उत्पन्न हुने आपसी सम्बन्धहरुको खोजीद्वारा कुनै पनि समाजको, कुनै पनि परिस्थितिको विश्लेषण गर्छ। त्यसबाट अनेक कुराहरू उत्पन्न हुन्छन्: मानव चेतना प्रकृतिमाथिको हस्तक्षेप कै क्रममा विकास हुन्छ; प्रकृति स्वयं मानव श्रमसँगको अन्तरक्रिया मार्फत मानवीयकृत बन्दछ; र मानिसको श्रमले प्रविधिको स्थिर प्रवाह उत्पन्न गर्दछ जसले अन्य सामाजिक परिवर्तनहरू सिर्जना गर्दछ।

    उत्पादन भनेको मानिसको अस्तित्वको आधार मात्रै नभएर मानिस विशेष चेतनायुक्त प्राणि पनि हो भनेर चिनाउने आधारसमेत हो| यसै मान्यतामा रहेर उत्पादन प्रक्रियामा मानिसको सम्बन्धलाई संबोधन गर्ने यो एउटा पद्धति हो| उत्पादनको कारणले गर्दा नै मानव जातिलाई बाँकी प्राइमेटहरु र जीवहरुबाट पृथक बनाउँछ।

    मार्क्सवादले आफूलाई केका बिरुद्ध उभ्याउछ? उसले आफुलाई कतिपय परिकल्पना र कतिपय विश्व दृष्टिकोणका विरुद्ध उभ्याउछ। मार्क्स र उनको विचार प्रणालीको विकासबारे जानकार जो कोहीलाई पनि ज्ञात भएको कुरा के हो भने उनले सर्वप्रथम १९ औं शताब्दीका एक तार्किक तथा बुझकी विश्लेषक हेगेललाई पछ्याएका थिए। मार्क्सको आफ्नै अनुमानमा हेगेल पूर्णतः आदर्शवादी अडानलाई अगाडि सार्ने दोषका भागिदार थिए| उनको दर्शनले चेतनालाई ब्रह्माण्डको केन्द्रमा राख्थ्यो र भौतिक विश्व त वास्तविक रुपमा तिनै चेतनाको सृजना भएको मान्दथ्यो।

    “हामी स्वयम् लेनिनलाई र उनले रुसी समाजमा मार्क्सवादी सिद्धान्तलाई कसरी प्रयोग गरे भनेर हेर्न सक्छौं। त्यो उनले गरेको एउटा प्रमुख योगदान हो। युवा लेनिनको पहिलो प्रमुख शोध नै ‘रूसमा पुँजीवादको विकास’ कसरी भयो भन्ने थियो। उनले आफ्नै समाजसँग अनुक्रिया गर्नुपर्‍यो। उनले मार्क्सवादी प्रस्तावनालाई पश्चिमी यूरोपको विशिष्ट सांस्कृतिक र ऐतिहासिक प्रसङ्गबाट बाहिर निकालेर हेर्नु परेको थियो, पूर्वी युरोपमा हेर्नु परेको र रूसलाई हेर्नु परेको थियो| त्यहाँ परिस्थिति फरक तरिकाले विकसित भइरहेको थियो| आफ्नो समाजमा आफ्नै ढंगले त्यसलाई लागू गर्नु परेको थियो। उनले त्यसै गरे।”

    यसबारे सोच्दा मैले हेगेलभित्र नपस्ने विचार गरें। शास्त्रीय आदर्शवादी विश्व दृष्टिकोणबारे जान्न म हेगेलभन्दा अगाडि जान सक्छु। यसका लागि न्यूटेस्टामेन्टको बुक अफ जन (Book of John) लिनसक्छु। त्यसमा उनी भन्छन्,”अनादिकालमा शब्द थियो, र शब्द ईश्वरसँग थियो। र, शब्द नै ईश्वर थियो|” यो नै शास्त्रीय आदर्शवादको प्रस्तावना हो। यहींबाट अन्य सबै चीजहरू लिइन्छ: त्यो शब्द परमेश्वर थियो।

    तर हामी भनिरहेकाछौं कि शब्द एक अर्कासँग कुराकानी गर्ने प्रयासमा मानिसहरुद्वारा एक आपसमा गरिने क्रियाकलापका क्रममा विकसित अभिव्यक्तिको रुप हो, जो उत्पादनको सिलसिलामा उनिहरुले विकास गरेको सामाजिक सम्बन्धको क्रममा प्रस्फुटित हुन्छ र हामी शब्दबाट चकित हुनुहुँदैन। स्वाभाविक रूपमा हामीले अवधारणाहरू र चेतनाका शक्तिसँग अनुक्रिया गर्नुपर्ने हुन्छ| त्यस्तो शक्ति अति नै बलवान् हुन्छ| कुनै कुनै मार्क्सवादीहरूले त्यसलाई नजरअन्दाज गरेको पनि देखिन्छ|

    मार्क्सले विधिको त्यो व्यापक ढाँचालाई लिएर पश्चिमी यूरोपमा लागू गर्ने प्रयत्न गरे। उनले यसलाई विभिन्न समाजमा र विभिन्न स्थानमा लागू गरे; तर उनले आफ्नो ध्यान पश्चिमी यूरोपमा बढ्ता केन्द्रित गरे। यदि तपाईंले मार्क्स र एंगेल्सको साहित्यको भण्डारलाई नियाल्नु भयो भने, तपाईले उनीहरूले सामुदायिक समाजको बारेमा, दासयुगका बारेमा, सामन्तवादको बारेमा बोलेको पाउनुहुनेछ, तर उनीहरूले मुख्यरूपमा पूँजीवादमा केन्द्रित भएर लेखेका छन्। उनीहरूले समाजवादको बारेमा विरलै कुरा गरेकाछन्।

    मार्क्सको महानतम योगदान भनेको विद्यमान समाज अर्थात् पूँजीवादी समाजको माथिको उनको जोडदार आलोचना थियो। पुँजीवाद विश्वको कुनै खास भागमा कसरी अस्तित्वमा आउन सक्यो? उनीहरूका धेरैजसो साहित्य यहीं प्रश्नमा केन्द्रित छन्।

    तर, मैले भनेजस्तै प्राक–पूँजीवादी समाज, विशेषगरी सामन्तवादको कुरा उठाउँदा उनीहरूले विश्वका अन्य केही भूभागका बारेमा पनि प्रसँग उठाका छन्। कहिले काहीं मार्क्सले एशियाली उत्पादन पद्धतिको उल्लेख गरेको पाइन्छ। कहिलेकाहीं उनी संयुक्त राज्य अमेरिकाको बारेका तथ्याङ्क निहाल्न पुगेका छन् यसकारण उनले आफ्नो खोजमा ठूलो भौगोलिक फैलावट र लामो समयावधिलाई समेटेका छन्।

    तर, यो उनले गरेको विशाल कामको तुलनामा एउटा झिनो हिस्सा मात्रै हो| अर्थात यो सत्य हो कि धेरैजसो मानिसले मार्क्सको विधि र उनको निष्कर्षलाई एकलकाँटे रूपमा हेरेका छन्| तिनको बुझाईमा मार्क्सवाद केवल पश्चिम युरोपमा लागू गरिएको एउटा विधि मात्र हो, यो स्वयंमा पश्चिम युरोप बारेको विचारधारा हो, यो १९औं शताब्दीको पूँजीवाद बारेको एउटा विचारधारा हो र निश्चित रुपमा त्यसले यो सिमा पार गर्न सक्दैन| उता मार्क्स भने आफुले गर्नुपर्ने काम खुरुखुरु गरिरहेका थिए। उनी आफ्नै समाजलाई हेरिरहेको थिए, उनि यो सब कठिनतम परिस्थितिमा गरिरहेका थिए| पुँजीवादी ज्ञानमा प्रवीणता हासिल गरेर उनि त्यो ज्ञानलाई परिवर्तन र क्रान्तिको सेवामा लगाइरहेका थिए।

    यसर्थ मलाई के लाग्छ भने मार्क्सवादी विधि दिक र कालबाट स्वतन्त्र छ। यो विधि मार्क्समा अब्यक्तरुपमा अन्तरनिहित थियो| मार्क्स पछिको समयमा अरुले यस विधिलाई अक्षरस स्वयं मार्क्सको जीवनीमा समेत प्रकटरुपमा प्रयोग गरेको देख्न सकिन्छ| मार्क्सको मृत्यु पछि अन्य ब्यक्तिहरुले यसलाई अन्य दिक र कालमा पनि लागू गर्न सकिन्छ र लागु गर्नु पर्दछ भन्दै वैज्ञानिक समाजवादी विचार प्रणालीमा थपथाप या विकास गरेका छन्| यो कुरा छर्लङ्ग देख्न सकिन्छ|

    पुनश्चः इतिहासलाई संक्षिप्त रूपमा प्रस्तुत गर्दै हामी स्वयम् लेनिनलाई र उनले रुसी समाजमा मार्क्सवादी सिद्धान्तलाई कसरी प्रयोग गरे भनेर हेर्न सक्छौं। त्यो उनले गरेको एउटा प्रमुख योगदान हो। युवा लेनिनको पहिलो प्रमुख शोध नै ‘रूसमा पुँजीवादको विकास’ कसरी भयो भन्ने थियो। उनले आफ्नै समाजसँग अनुक्रिया गर्नुपर्‍यो। उनले मार्क्सवादी प्रस्तावनालाई पश्चिमी यूरोपको विशिष्ट सांस्कृतिक र ऐतिहासिक प्रसङ्गबाट बाहिर निकालेर हेर्नु परेको थियो, पूर्वी युरोपमा हेर्नु परेको र रूसलाई हेर्नु परेको थियो| त्यहाँ परिस्थिति फरक तरिकाले विकसित भइरहेको थियो|आफ्नो समाजमा आफ्नै ढंगले त्यसलाई लागू गर्नु परेको थियो। उनले त्यसै गरे। यसका साथै उनले समयको आयाममाथि पनि विचार पुर्‍याउनु परेको थियो। मार्क्सले १९ औं शताब्दीको पूँजीवादको बारेमा लेखेका थिए, जतिखेर शास्त्रिय पूँजीवाद अर्थात् उद्यमी पूँजीवादको चकचकी थियो| १९ औं शताब्दीको पछिल्लो अवधिमा त्यसले एकाधिकार पूँजीवादका निम्ति मार्ग प्रशस्त गर्‍यो। कालान्तरमा त्यसले पनि साम्राज्यवादलाई मार्ग प्रशस्त गरिदियो। त्यसैले लेनिनले त्यो विधिलाई समयको नयाँ आयाममा लागू गर्नुपर्‍यो। त्यसैले उनले पुँजीवादको साम्राज्यवादी चरणका बारेमा लेखे।

    त्यसैले यसमा दुई क्रियाशील चर छन् : विभिन्न समयमा विभिन्न स्थानहरुमा लागू गरिएको विचारधारा र त्यसको विधि (हाललाई हामी विधिमा केन्द्रित रहनेछौं)।

    लेनिनको बारेमा यति कुरा गरेपछि, केही अन्य ब्यक्तिहरुका विषयमा पनि कुरा गर्नु वान्छनीय हुनेछ भन्ने मलाई लाग्छ| माओ त्सेतुंगले यसलाई चिनियाँ समाजमा लागू गरे| चिनियाँ  समाज रूसी समाज भन्दा भिन्न र पछौटे थियो। उनले किसानको प्रश्नलाई त्यस अघिका लेखकहरुले भन्दा भिन्न र समृद्ध तवरले सम्बोधन गर्दै चिनियाँ समाजको भित्री गतिशीलता बुझे, किनकि त्यो चिनियाँ समाजको स्वभाव थियो र उनि स्वयंले त्यसको सम्वोधन गरे।

    अन्त्यमा हाम्रो उद्देश्यका लागि, सबैभन्दा महत्वपूर्ण उदाहरण लिने हो भने, एमिल्कार काब्रालको उदाहरण लिउँ! उनी अफ्रिकाको उन्मुक्तिको निम्ति क्रियाशील थिए। क्याब्रालले, मैले ठीकै सम्झेको हुँ भने, आफ्ना महत्वपूर्ण लेखहरुमध्ये एक ‘सिद्धान्तको अस्त्र’ भन्ने शीर्षक भएको एउटा निबन्धमा ‘आफुले गर्नसक्ने सर्वोत्तम काम भनेको पुनः मार्क्स र एंगेल्सको आधारभूत विधिमा फर्कनु हो’ भनेका छन्। तर, उदाहरणका लागि क्याब्रालले, “म वर्गहरुको विश्लेषण गर्नेछु” भन्दै गिनि-बिसाउको इतिहासको विश्लेषण शुरु गर्न सम्भव थिएन। उनले भने, “यदि म यसो भन्छु भने म मेरा जनताको कुनै ईतिहास छ भन्ने कुरा अस्वीकार गरिरहेको हुनेछु किनभने म मेरा जनताको सृष्टिको कथामा लामो समयसम्म वर्गको अस्तित्व देख्दिन”।

    त्यसपछि उनि “विद्यमान सबै समाजको इतिहास वर्ग संघर्षको इतिहास हो” भन्ने मार्क्स र एंगेल्सको शास्त्रीय कथनमा पुनः फर्किए| त्यस कथनमा एंगेल्सले एउटा टिपोट थपेका थिए,”सबै ईतिहास” भन्नाले “पूर्ववर्ती अभिलिखित सबै इतिहास” हो। तर कुरा के छ भने गिनी-बिसाउका जनताको इतिहास अभिलिखित छैन र क्याब्रालले भने,”म त्यो इतिहास रेकर्ड गर्न चाहन्छु। हामी मार्क्सवादी विधि प्रयोग गर्नेछौं। हामी मार्क्सले पश्चिम युरोपेली समाजको अध्ययन गर्ने क्रममा ऐतिहासिकरुपमा विकास भएको त्यहाँ प्रचलित अवधारणासँग भने बाँधिने छैनौं|”

    मार्क्सले आफ्नै विधिको प्रयोग गरे| उनले वर्गको विकास र वर्गीय परिघटनालाई प्रमुख निर्धारकको रुपमा, पश्चिमी यूरोपेली इतिहासको समयको कुनै खास बिन्दुमा प्रमुख निर्धारकको रुपमा बुझे। काब्राल भन्छन्, ‘हामी प्रारम्भबाट शुरू गर्नेछौं। सुरुमा हामी वर्गहरुबारे पनि चिन्ता गर्नेछैनौं। हामी केवल उत्पादनको प्रक्रियामा संलग्न मानिसहरूलाई हेर्नेछौं। हामी गिनिको ईतिहासमा उत्पादनका तरिकाहरू(modes) हेर्नेछौं, र हामी हाम्रो समाज कसरी विकास भयो भनी हेर्नेछौं।’ त्यसकारण धेरै तामझाम बिना उनी अफ्रिकी समाजमा त्यो विधिको प्रासङ्गिकता देखाउँदै थिए।

    यदि कहीं गिनि-बिसाउको इतिहासमा वर्गीय पक्ष ऐतिहासिक महत्त्वका साथ देखा पर्‍यो भने क्याब्रालले त्यसको चर्चा गरे। त्यस हदसम्म उनी मार्क्सवादी विधिमा अडी रहे| त्यो भनेको ऐतिहासिक रुपमा विकास भई रहेको एक निश्चित दिशा लिई रहेको उत्पादनको प्रक्रियामा, विभिन्न उत्पादन विधिमा, सामाजिक संरचनामा, सांस्कृतिक संरचनामा गिनी जनतालाई हेर्नु थियो|

    जब आज हामी काला जातिका मानिसहरुसमा मार्क्सवादको प्रासङ्गिकताबारे प्रश्न गर्छौं, हामी धेरै हदसम्म नजानिदो ढंगले थोरै जस्तो भई हाल्छौं। बहसमा संलग्न धेरैजसो मानिसहरु यसरी पेश हुन्छन् कि मानौं मार्क्सवाद चाहीं युरोपियन परिघटना हो र यसलाई अङ्गीकार गर्ने हो भने काला जातिका मानिसहरुले वहिस्करणमा पर्ने हुन्छ| तिनको विचारमा बहस गर्नु नै पर्ने कुरा चाहीं जातीय वहिस्करण हो| ती बहसकर्ताहरुले यो मार्क्सवादी विधि र विचारधारा पत्तै न पाई युरोप बाहिर विश्वको ठूलो क्षेत्रमा प्रयोग भएको या भई रहेको,आत्मसात गरिएको वा आ-आफ़्नो अवस्थामा घरेलुकरण गरिएको छ भन्ने तथ्य ख्याल गरेको जस्तो लाग्दैन।

    अहिले यो ८० करोड(सन् १९७५ ताका -अनु) चिनियाँ जनताको विचारधारा बनेको छ; यहीं विचारधारले भियतनामी जनतालाई साम्राज्यवाद विरुद्ध संघर्ष गर्न र त्यसलाई पराजित गर्न मार्गदर्शन प्रदान गर्‍यो। यो नै त्यो विचारधारा हो जसले उत्तर कोरियालाई एक पिछडिएको, अर्ध-सामन्ती, अर्ध औपनिवेशिक राष्ट्रबाट स्वतन्त्र, एक शक्तिमा रुपान्तरण गर्न मद्दत पुर्‍यायो। यो ल्याटिन अमेरिकी महादेशमा लागु गरिएको विचारधारा हो| यो क्युबाली गणतन्त्रको विकासको आधारशिला बनेको छ। यो क्याब्रालले प्रयोग गरिरहेको विचारधारा हो| सामोरा माचेलले यसैलाई प्रयोग गरेका थिए| यो अफ्रिकी महाद्विपमा नयाँ समाजका लागि सङ्घर्ष र त्यसको निर्माणको आधार र रुपरेखा तयार गर्न प्रयोग हुँदै आएको छ|

    त्यसैले यसलाई मात्र यूरोपेली परिघटना भन्न मिल्दैन| विश्वव्यापी बनिसकेको यस परिघटनाको बारेमा ज-जसले काला जातिका मानिसहरुमा लागू हुन सक्दैन भनेर पैरवी गर्दै आएका छन् उनीहरुले नै आफ्नो अडानलाई प्रमाणित गर्नु पर्ने हुन्छ| म उनीहरुलाई कथं त्यो आनुवंशिक नै भई हालेछ भने पनि, काला जातिका मानिसका वंशाणुहरुले, के कारणले, यस वैचारिक स्थितिलाई अस्वीकार गर्छन्, भनि स्पष्ट पार्न सुझाव दिन्छु।

    जब हामी यसको सान्दर्भिकताका बारेमा ध्यान केन्द्रित गर्छौं या अनुसन्धानमा गर्दै केद्रित हुन्छौं, त्यति खेर हामीले आफैलाई वर्तमानका बारेमा प्रश्न गर्नुपर्छ। हामी काला जातिका मानिसहरु आज कस्तो खालको समाजमा जीई रहेका छौं? पक्कै पनि हाम्रो देशमा, क्यारेबियन र अफ्रिकाका विभिन्न भागमा काला जातिका मानिसहरुको आफ्नै स्वतन्त्र ऐतिहासिक अनुभव छ| त्यसको चुरो कुरो चाहीं के भने हामी सबै कुनै न कुनै रुपमा पूँजीवादी उत्पादन प्रणालीभित्र बाँचिरहेकाछौं।

    मार्क्सले वर्णन गरेको पुँजीवादी समाज प्रभुत्व विस्तारको शिलशिलामा वाणिज्य युगमा नै अफ्रिका र अमेरिका पुगेर हक जमाउन थाली सकेको थियो| उतिखेर पुँजीवाद परिपक्क हुँदै थियो| त्यसले विश्वका यी भुभागहरूमा प्रभुत्व जमायो। यसले अमेरिकामा दास समाजको सिर्जना गर्‍यो| दास युग लगत्तै पूँजीवाद, अझ बढी शक्तिशाली बनेर सम्पूर्ण विश्वलाई उत्पादनको वैश्विक सञ्जालमा समेट्न सक्षम भयो। यो पश्चिमी यूरोप र उत्तरी अमेरिकाबाट प्रारम्भ भएको हो| यो एउटा यस्तो प्रणाली थियो जसका एउटा या अनेक महानगरीय केन्द्रहरु र तिनको वरिपरि एक अलग सिमान्त क्षेत्र, उपनिवेशहरू र अर्ध-उपनिवेशहरूको समूह थियो।

    यसरी ऐतिहासिक रुपमा हामी सबै पूँजीवादी उत्पादन प्रणालीमा समाहित गरिएका छौं| यो मार्क्सवादको प्रासङ्गिकताको अर्को आयाम हो।

    मलाई के लाग्छ भने दिक र कालको आधारमा रुपान्तरणविनै पनि हामी पुँजीवादी साम्राज्यवादी विश्व व्यवस्थाका अंग बनेका छौं| यसर्थ हामी चाहेर न चाहेर पनि यससँग गाँसिएका छौं, यसको अनुसरण गर्न अभिशप्त छौं, यसलाई हामीले बुझ्नु परेको छ र सम्भवतया हामीले त्यस पुँजीवादी प्रणालीको समालोचना गर्नुपर्ने र त्यसमा अनुकुलन हुनु पर्नेछ| मार्क्सको रचनाको सार पनि त्यहीं हो|

    उनले पूँजीवादी प्रणालीको आलोचना पुँजीवादी लेखकहरुले भन्दा बढी प्रभावकारी ढंगले गरेका थिए| पुँजीवादको बिगबिगी भएको हामी हुर्केको दुनियाँको जानकारी हाशिल गर्ने हो भने हामीले त्यस प्रणालीको केन्द्र, त्यसको संचालक र पुँजीवादी प्राणाली भित्र त्यसले गर्ने नाना भाँतीका शोषणका तरिकाहरुबारे बुझ्नुपर्ने हुन्छ| यस प्रयोजनको निम्ति पनि मार्क्सवादको सान्दर्भिकता छ|

    क्रान्तिकारी विचारधाराको रूपमा मार्क्सवाद

    मार्क्सवादी विधि पश्चात् मैले चर्चा गर्नुपर्ने अर्को विषय (जस्तो कि मैले शुरुमै उल्लेख गरेको थिएँ कि मार्क्सवादका दुईवटा आधारभूत कुरा छन्, त्यस मध्ये एउटा विधि हो) भनेको मार्क्सवादलाई क्रान्तिकारी विचारधारा र वर्गीय विचारधाराको रूपमा हेर्नु हो|

    “वैज्ञानिक समाजवादी अडान सधैंभरि क्रान्तिकारी हुन्छ र रहिरहन्छ, किनभने यसको सचेतन उद्धेश्य भनेकै पुँजीवादी उत्पादन प्रणाली र त्यसबाट निसृत राजनीतिक सम्बन्धहरुलाई निर्बल बनाउनु हो। यहीं कारणले मैले क्रान्तिकारी भनेको हो।”

    वर्गीय समाजमा सबै विचारधारा वर्गीय विचारधारा हुन्। सबै विचारधारा कुनै खास वर्गबाट उत्पन्न हुन्छन् र त्यसै वर्गको पक्षपोषण गर्दछन्| त्यसैले यावत व्यावहारिक हिसावले हामी पूँजीवादी समाजमा हुर्कियौं, र हाम्रो समाजमा पुँजीवादी विचारधारा नै हावी छ। हामीले काम गर्ने यावत संस्थाको सिर्जना नै विचारलाई मालको रुपमा सिर्जना गर्नमा मदत गर्नु थियो| तिनले यस्ता विचारहरुको सिर्जना गर्नु थियो जसले पुँजीवादी प्रणालीलाई टेकोपुँडो दिन सकोस्|

    अब, म के उलेख गर्न चाहन्छु भने जस्तो कि मार्क्स स्वयंले उल्लेख गरेका पनि छन् कि हामीले भन्ने गरेको वैज्ञानिक समाजवादको विचार श्रृङ्खला ऐतिहासिक रुपमा पूँजीवादी समाज भित्रैबाट उत्पन्न भएको हो| त्यसले समाजका उत्पादकहरुको हितमा बोल्न, शोषण र बेदखलीको मारमा परेकाहरुको हितमा खडा हुन, उत्पीडितहरुको पक्षमा पैरवी गर्न र सांस्कृतिक रूपमा अलगावमा पारिएकाहरुको पक्षमा बोल्न सिकाउँछ| हाम्रा सम्मुखमा रहेका दुई विराट विचार श्रृङ्खला, आदर्शवाद र भौतिकवाद, पुँजीवादी दर्शन र मार्क्सवादी दर्शन, र यी दुवैले आ-आफ्ना विशेष वर्गको प्रतिनिधित्व गर्दछन्।

    समाजवादको निर्माण सम्बन्धी सारा ऐतिहासिक जराहरु खोतलखातल गर्ने यस प्रवचनमा सकिदैन। तर, संक्षेपमा भन्नुपर्दा १९औं शताब्दीमा पूँजीवादी समाजको जुन ढंगले उत्थान भयो त्यसले समाजवादी विचारको विकासका परिस्थितिहरु पनि सिर्जना गरी दियो। रङ्गीविरंगी र अब्यवस्थित समाजवादी विचारहरुको चाङबाट नै मार्क्स एक सुस्पष्ट र व्यवस्थित सिद्धान्त – वैज्ञानिक समाजवाद निर्माण गर्न सक्षम हुनु भएको थियो| यस समाजवादको एक विशेष वर्ग आधार थियो| यस विशेष वर्गीय आधारले गर्दा यो क्रान्तिकारी थियो। यसले समाजमा विद्यमान सम्बन्धहरुलाई रुपान्तरण गर्ने र माथि उठाउने प्रयत्न गर्‍यो।

    पुँजीवादी विचारधारा यथास्थितिलाई कायम राख्न आवश्यक हुन्छ। यसले संरक्षणको चाहना राख्छ, यसले विद्यमान उत्पादन प्रणालीलाई, त्यसबाट निसृत उत्पादन सम्बन्धलाई टेको दिन खोज्दछ|

    वैज्ञानिक समाजवादी अडान सधैंभरि क्रान्तिकारी हुन्छ र रहिरहन्छ, किनभने यसको सचेतन उद्धेश्य भनेकै पुँजीवादी उत्पादन प्रणाली र त्यसबाट निसृत राजनीतिक सम्बन्धहरुलाई निर्बल बनाउनु हो। यहीं कारणले मैले क्रान्तिकारी भनेको हो।

    समय-समयमा यस्ता मार्क्सवादीहरू पनि देखा पर्ने गरेका छन्– जसले मार्क्सवादलाई, त्यसको क्रान्तिकारी सारलाई अस्वीकार गर्ने वा तोडमरोड गर्ने गरेका छन्। यो साँचो कुरा हो। अर्का खाले वैधानिक र सौखिन मार्क्सवादीहरू पनि छन् जो मार्क्सवादलाई अन्य इनेगीने दर्शनकै रूपमा हेर्न चाहान्छन्| उनीहरु यसलाई पाकतौली भाँडोका रुपमा हेर्छन् जस्तो कि मानिसहरुले प्राचिन ग्रीक विचार प्रणाली वा त्यस्तै अन्य कुनै प्रणालीबाट आफुलाई मनलाग्दो निस्कर्ष निकाल्छन्। यी जस्तै ती वैधानिक र सौखिनहरु मार्क्सवादीहरु पनि त्यस्तै निस्कर्ष निकाल्न चाहान्छन्| उनीहरु  त्यसको वर्गीय आधार वा कुनै विचारधाराले यथास्थितिलाई कत्तिको भरथेग गर्छ कि गर्दैन भन्ने कुरालाई वास्तै गर्दैनन्|

    जे होस्, आम रुपमा हामी मार्क्सवाद र वैज्ञानिक समाजवादलाई हामी बाँचिरहेको उत्पादन प्रणालीको विध्वंसक र प्रतिवादको रूपमा लिन्छौं। म फेरि दोहोर्‍याएर भन्न चाहान्छु, विचार आकाशबाट झर्दैन, त्यो वायुमण्डलमा तैरिरहेको  हुँदैन, त्यो त ठोस उत्पादन सम्बन्धसँग गाँसिएको हुन्छ।पुँजीवादी विचार पुँजीवादी उत्पादन सम्बन्धबाटै उत्पन्न भएको हुन्छ। त्यस्ता विचारको कर्म नै पुँजीवादी उत्पादन सम्बन्धको संरक्षण र सम्भार गर्नु हो। समाजवादी विचार पनि त्यही उत्पादन सम्वन्धबाट उत्पन्न भएर आएको हो, तर त्यो भिन्न वर्गको चासोबाट उत्पन्न हुन्छ र त्यसको उद्देश्य चाहीं पुँजीवादी उत्पादन प्रणालीलाई उखेलेर फ्याक्नु हो।

    अफ्रिका र वैज्ञानिक समाजवाद

    म यहाँ पुनः दोहोर्‍याउँछु, अफ्रिकी जनताको पनि अन्य तेस्रो विश्वका जनताहरुको जस्तै वैज्ञानिक समाजवादमा निहित स्वार्थ छ, किनकि यसले उनीहरु समक्ष स्वयंलाई सिद्धान्तको रुपमा हतियार उपलब्ध गराउँछ। यसले उनिहरुलाई पूँजीवादी साम्राज्यवादी संरचना भत्काउन मद्दत पुग्ने गरी वैचारिक औजार उपलब्ध गराउँछ| त्यसो गर्नु यसको सरोकार हो।

    “एक अर्थमा,एन्क्रुमाले यसको अनुसरण गरे| हुन त, एक पटक उनले आफूलाई मार्क्सवादी हुँ भनेर न भनेका होइनन्| तर त्यसो भनि रहँदा पनि उनी कतै न चुकियोस् भनेर बडो सतर्कतापुर्वक आफू प्रोटेस्टेन्ट पनि भएको भन्दै बचाउ गर्दथे। उनि मार्क्सवादमा मात्र होइन प्रोटेस्टेन्ट धारमा पनि विश्वास भएको कुरा गर्थे। अतः उनी एकै पटक दुईवटा विश्व परास्त गर्न खोजिरहेका थिए – पहिलो विश्व जसले भन्छ सुरुमा वस्तु थियो र अर्को विश्व जसले भन्छ सुरुमा शब्द थियो।”

    यथाशक्य म केहि प्रश्नको हल गर्ने कोसिस गर्नेछु। ती प्रश्नहरु त्यस्ता व्यक्तिहरूबाट सम्भवतः उठाइने छन् जो झट्ट मैले भनेका धेरैजसो कुरामा सहमति जनाई टोपल्छन् तर एकै छिनमा प्रश्न गर्छन्, “के अरू कुनै विकल्प छैनन्? त्यस्तो अर्को कुनै वैचारिक प्रणाली छैन? जो न पूँजीवादी होस् न समाजवादी, तर पूँजीवाद विरोधी होस्, मानवतावादी होस् र विश्वका जुनसुकै कुनामा बसिरहेका भएता पनि अफ्रिकी जनताको हितको सम्बोधन गरोस्!”

    यी प्रश्नहरू ध्यान दिन लायक छन् किनकि काला जातिका मानिसहरुले यी प्रश्नहरू सोधिरहेका हुन्छन् र हामीले तिनको समाधान गर्ने प्रयास गर्नुपर्दछ। मेरो आफ्नै निरुपण चाहीं के छ भने हामी अफ्रिकी या काला जातिका जनताको केही ठोस उदाहरणहरू हेरी हेरौं न त! जसमा उनिहरुले मुक्तिका खातिर उपयुक्त गैर-पूंजीवादी र गैर-समाजवादी प्रणाली सुल्झाका हुन्, त्यस्तो प्राणाली जसलाई उनीहरुले वैज्ञानिक समाजवादको मान्य विकल्प ठहर्‍याका हुन्।

    यस सन्दर्भमा हामीसँग थुप्रै अखिल अफ्रिकीहरू छन्, अफ्रिका, क्यारेबियन र यहीं देशमा पनि त्यो बाटो समातेका थुप्रै अफ्रिकी राष्ट्रवादीहरू छन्। जर्ज प्याडमोरले आफ्नो जीवनको अन्तिम समयमा यहीं अडान लिए र ठुलो फरक पारे| उनले निसंकोच भने, हामीले अनुसरण गर्ने भनेको अखिल अफ्रिकीवाद हो| हामी पुँजीवादी बाटो हिड्ने छैनौं र हामी समाजवादी बाटोमा पनि जान चाहँदैनौं, हामी आफैंले आफ्नो त्यस्तो बाटो खोज्नेछौं जो अखिल अफ्रिकी हुनेछ।

    एक अर्थमा,एन्क्रुमाले यसको अनुसरण गरे| हुन त, एक पटक उनले आफूलाई मार्क्सवादी हुँ भनेर न भनेका होइनन्| तर त्यसो भनि रहँदा पनि उनी कतै न चुकियोस् भनेर बडो सतर्कतापुर्वक आफू प्रोटेस्टेन्ट पनि भएको भन्दै बचाउ गर्दथे। उनि मार्क्सवादमा मात्र होइन प्रोटेस्टेन्ट धारमा पनि विश्वास भएको कुरा गर्थे। अतः उनी एकै पटक दुईवटा विश्व परास्त गर्न खोजिरहेका थिए – पहिलो विश्व जसले भन्छ सुरुमा वस्तु थियो र अर्को विश्व जसले भन्छ सुरुमा शब्द थियो ।

    अनि त उनी यी दुई बीचको चेपुवामा पर्ने नै भए। दुवैमा एकैचोटी घोडा चढ्नु विल्कुल असम्भव कुरा हो| तर उनले कोसिस गरे| हामीले उनको इमानदारीलाई मान्नै पर्छ| हामीले धेरै अन्य मानिसहरुको इमान्दारीलाई पनि मान्नु पर्छ जसले यो असम्भव काम गर्ने विंडो उठाए र हामी किन असफल भयौं भनी खोजि गर्न त्यसलाई पछ्याए।

    उनीहरू असफल भए किनकि उनीहरुले के कुरा बुझ्दै बुझेनन् भने पुँजीवादी विचारभन्दा भिन्न र समाजवादी विचारभन्दा फरक विचार भनेको पुँजीवादी विचार कै अर्को रुप हो।

    यो नै समस्या थियो| पुँजीवादी विचार भनौं या पक्का समाजवादी विचार, जब हामी तिनलाई कार्यान्वयनको तहमा लान्छौं तिनले अलग अलग विकास, भिन्न भिन्न बाटो, छुट्टा छुट्टै आयाम या फरक फरक गोरेटोमा लैजान्छन्| आफ्नो सन्की स्वभावले, यसको चकचके बानीले गर्दा पुँजीवादी विचारले कुइराको काग जस्तै कतै पनि भड्काउने डर रहन्छ|

    यसर्थ आफुमा अन्तर्निहित विचारकै कारणले यी मानिसहरुले पुँजीवादी विचारबाट पिण्ड छुट्याउन त कोशिस गरे तर अन्ततोगत्वा पुँजीवादी विचार कै अर्को अंगालोमा लेपासिन पुगे|

    यस्ता कैयौं उदाहरण छन्| कुनै कुनै त सुसँगत पनि छन्| तर यस्ता अरु उदाहरण पनि छन् जहाँ केही खाट्टी अफ्रिकीहरू शुरुदेखि नै निर्लज्ज बेइमान चटकेवाज थिए भन्ने मेरो मान्यता छ| मलाई के लाग्छ भने तेश्रो बाटो भनेर दावी गर्ने अधिकांश अफ्रिकी समाजवादका पक्षपोषकहरु वास्तवमा घटिया चटकेवाज हुन्| ती बहुसंख्यक जनतालाई गुमराहमा राख्ने प्रयास गरिरहेका छन्। मलाई लाग्दैन कि तिनीहरू समाजवादको विकासको निम्ति लागि परेका हुन्। मलाई लाग्दैन कि तिनीहरू अफ्रिकी जनताको सरोकारको सम्बोधनका लागि अग्रसर भएका हुन्। तर यति हुँदाहुँदै पनि हाम्रो जमनाको आवश्यक कुरा के भएको छ भने हाम्रा जनताहरू अब उप्रान्त समनजवादको आवरणमात्र पनि नभएको कुनै पनि कुरा स्वीकार गर्न इच्छुक छैनन्।

    त्यसकारण म वास्तवमा अफ्रिकी समाजवादमा चर्चा गर्न रुचाउन्न। म आफ्नो चर्चामा गम्भीर र इमानदार ठहरिएकाहरुको मात्र उल्लेख गर्न चाहान्छु। निस्सन्देह क्वामे एन्क्रुमा यस कोटीमा पर्दछन्। एन्क्रुमा पचासको दशकका केही वर्ष देखि आफु अपदस्थ नहुन्जेलसम्म –  कम्तिमा दश बर्ष –  विचारधाराको खोजिमा लागे। त्यस क्रममा उनले मार्क्सवाद र प्रोटेस्टेन्ट धर्मको मिश्रणबाट सुरु गरे| उनले अखिल अफ्रिकावादको बारेमा चर्चा गरे; त्यसपछि उनी अन्तश्करणवाद र अन्तमा एन्क्रुमावादमा टुङ्गिए| उनका विचारमा सबकुछ थियो, थिएन त खाली सिधासादा समाजवाद|

    यस अवधारणाको अन्ततः परिणति के थिए? हाम्रा निम्ति चासोको कुरा चाहीं यो हो। मानौं कि उनि अफ्रीकीपन भएको कुनै चीज खोजिरहेका थिए, उनी कुनै परचक्री विचार अनुसरण गर्नुपर्ने पासोबाट जोगिन खोज्दै थिए। आफूलाई अन्तर्राष्ट्रिय समाजवादी परम्पराबाट अलग्याउने यो प्रयासका व्यावहारिक परिणाम के भए? घानामा वर्गहरु विद्यमान छन्, वर्गीय अन्तरविरोहरु छन् र ती वर्गीय अन्तरविरोधहरु आधारभूत अन्तरविरोधहरु हुन् भन्ने कुरा एन्क्रुमाले दृढतापूर्वक अस्वीकार गरे, हामीले यो कुरा पनि देख्यौं।

    “हामीले यी अन्तरिवरोधहरुको समाधान गर्ने लक्ष्य राख्ने हो भने, श्रमजीवी जनता, अफ्रिकाका उत्पादकहरूलाई विजयी र मुक्त बनाउने भने, हामीले शोषण र उत्पीडनकारी वर्गको अस्तित्वलाई चिन्ने र चुनौती दिने विचारधारालाई ग्रहण गर्नै पर्दछ।”

    वर्षौंसम्म एन्क्रुमा यो छ्यासमिसे दर्शन लिएर अघि बढे| त्यसभित्र केही समाजवादी पक्षहरु पनि परेका थिए तर उनले तिनको तार्किक निष्कर्षको अनुशरण गर्न भने अस्वीकार गरे – अर्थात कुरो के भने कसैले या त उत्पादनका साधनको निजी स्वामित्व भएको र आफैले उत्पादन गरेको वस्तुबाट आफु अलग हुनु पर्ने उत्पादन पद्धति भएको पूंजीवादी प्रणाली वा विलकुलै भिन्न वैकल्पिक प्रणाली अपनाउने भन्ने निर्णय लिनु पर्ने हुन्छ| यहाँ चिची पनि पापा पनि वा दुवैलाई मिसाएर तेश्रो छुट्टै नयाँ वस्तु निर्माण गर्ने भन्ने कुराको कुनै गुञ्जाइस नै रहँदैन|

    यसको अग्निपरिक्षा चाहीं त्यतिखेर भयो जब एन्क्रुमा स्वयंलाई अपदस्थ गरियो। उनको बर्खास्ति पछि उनी गिनि-कोनाक्रीमा बस्न थाले र मर्नुभन्दा पहिले उनले अफ्रिकामा वर्गसंघर्ष भन्ने एक छोटो लेख लेखे। यो त्यति उत्कृष्ट दार्शनिक ग्रन्थ त होईन तर यो ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ, किनकि त्यहाँ स्वयं एन्क्रुमाले अफ्रिकी ध्येयलाई मार्ग प्रसस्त गर्ने ठानिएको विचारधाराको भ्रामक परिणामलाई स्वीकारे। तर उनले महसुस गरे पनि कारण बुझ्न सकेनन्| कारण त्यो विचारधारा थियो जसले आफूलाई वैज्ञानिक समाजवादबाट अलग पार्ने ऐतिहासिक आवश्यकता ठान्थ्यो। त्यस अडानबाट स्पष्टरुपमा विनाशकारी दुस्परिणाम देखा परे ।

    निम्न पुँजीपति वर्गले आफुलाई अपदस्थ नगरुन्जेल एन्क्रुमाहले वर्गको अस्तित्वलाई स्वीकार गरेनन्|  त्यसपछि उनि गिनिमा गए र त्यहाँ पुगेर उनले वर्गको अस्तित्वलाई अस्वीकार गर्न गरिएको आफ्नो भयानक गल्तीलाई स्वीकार गरे। हो, अफ्रिकामा वर्गहरू छन्। हो, निम्न पुँजीपति वर्गको स्वार्थ आधारभूत रुपमै अफ्रिकी मजदुर र किसानहरूको हित बिरूद्ध छ। हो, निम्न पुँजीपति वर्गको वर्गीय स्वार्थ अन्तर्राष्ट्रिय एकाधिकार पुँजीको वर्गीय स्वार्थसँग मिल्दोजुल्दो वा कम्तिमा पनि त्यससँग गाँसिएको छ| त्यसकारण अफ्रिकामा अफ्रिकी महाद्वीपभित्र वर्ग संघर्ष छ र साम्राज्यवाद विरुद्धको सङ्घर्ष पनि छ।

    हामीले यी अन्तरिवरोधहरुको समाधान गर्ने लक्ष्य राख्ने हो भने, श्रमजीवी जनता, अफ्रिकाका उत्पादकहरूलाई विजयी र मुक्त बनाउने हो भने, हामीले शोषण र उत्पीडनकारी वर्गको अस्तित्वलाई चिन्ने र चुनौती दिने विचारधारालाई ग्रहण गर्नै पर्दछ।

    यो ज्यादै महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज हो। यो एन्क्रुमाको करीव–करीव आत्म आलोचना हो। यो एक असली राष्ट्रवादीको, एक अफ्रिकी राष्ट्रवादीको अभिलेख हो जो वर्षौंसम्म यो या उ वहानामा आफुलाई जसरी भए पनि वैज्ञानिक समाजवादबाट पृथक राख्न यत्र तत्र भौतारी रह्यो| त्यसबाट तर्किनु पर्ने कारण उनि के ठान्थे भने वैज्ञानिक समाजवादको उत्पति पराई भूमिमा भएको हो| उनि त्यसको सांस्कृतिक प्रभावहरुबाट पनि डराउँथे।

    यो सर्वथा शालीन अभिव्यक्ति हो। तर डरको वास्तविक कारण चाहीं उनमा रहेको पुँजीवादी विचारधाराको प्रभाव थियो| उनले सामाजिक सिद्धान्त र वैज्ञानिक सिद्धान्तबीच भिन्नता जुन देखाए त्यो त्यस्तो खासै भिन्नता होईनन्। पुँजीवादी बिचाधाराको इतिहासमा त्यस्ता भिन्नता बग्रेल्ती छन् र ती त्यहींबाट आएका हुन्|

    मानिसहरुलाई पश्चिममा हुर्केको भौतिक सांस्कृतिक पक्षलाई अभ्यास गर्नु पर्दा, भलै ती पुँजीवादी या समाजवादी समाजमै उद्भव भएका किन न हुन्, निर्णय गर्न कुनै हम्मे हुँदैन| मानिसहरूलाई बिजुली प्रयोग गर्न कुनै कठिनाई हुँदैन| तर उनीहरू भन्छन्: “मार्क्स र एंगेल्स त युरोपियन हुन्!” के एडिसन जातिवादी थिए? तर उनीहरू सोध्छन्, “के मार्क्स जातीवादी थिए? उनीहरुलाई पक्का विश्वास छ कि उनीहरू आधारभूत भिन्नता कायम गरिरहेका छन्, जबकि वास्तवमा उनीहरू समग्र सामाजिक विकासमा बाधा खडा गरिरहेका छन्। प्राकृतिक विज्ञानलाई सामाजिक विज्ञानबाट अलग बनाइनु हुँदैन। सामाजिक यथार्थको हाम्रो विवेचनामा पनि हामी प्राकृतिक विज्ञानमा जस्तै एक निश्चित, ऐतिहासिक नियम फेला पार्न सक्छौं| यसर्थ सामाजिक विज्ञानको विवेचनाबाट हामी सामाजिक विकासको वैज्ञानिक नियम निर्माण गर्न सक्छौं; त्यसलाई यसको उत्पत्ति वा श्रष्ठाको परवाह न गरी कार्यान्वयन गर्न सक्छौं।

    कुनै पनि विचारधारा लागू गर्नु पर्दा बडो संवेदनशीलताका साथ लागू गर्नु पर्दछ। निस्सन्देह, यो सत्य हो, र यो लेख अन्त्य गर्ने सबैभन्दा उपयुक्त बिन्दू पनि यहीं नै हो| कुनै पनि विचारधारा कुनै पनि समाजको आन्तरिक वास्तविकता (internal realities)को पूर्ण ज्ञान हाशिल गरेर मात्रै लागू गर्नु पर्दछ।

    मार्क्सवाद एक ऐतिहासिक तथ्यको रूपमा संसारमा आएको छ, र यो सांस्कृतिक मिलीभगतमा आएको छ। यदि, उदाहरणका लागि, हामी अफ्रिकीहरु भनौं या एशियालीहरु कहाँ फर्कौं; जब चिनियाँहरूले पहिलो पटक मार्क्सवादी साहित्य प्राप्त गरे, ती यूरोपियन ग्रन्थहरू थिए। ती युरोपको ऐतिहासिक विकासका अवधारणाले भरिएका थिए। अत: तिनमा उल्लिखित विधि र तथ्यहरु निश्चय नै एक आपसमा जेलिएका थिए र निष्कर्षहरू वास्तवमा एक विशिष्ट ऐतिहासिक र सांस्कृतिक अवस्थाका लागि लेखिएका थिए।

    तिनलाई बुझ्नु, आफ्नो परिस्थिति अनुरुप बनाउनु, त्यसको परिक्षण गर्नु र आफ्नो समाजमा त्यसलाई कसरी लागू गर्न सकिन्छ भनेर हेर्नु चिनियाँहरुको काम थियो। सर्वोपरी रुपमा, वैज्ञानिक हुनुको अर्थ तिनले के बुझे भने तिनले चीनको ऐतिहासिक तथा सामाजिक विकासका विशेषताहरूको सम्मान गर्नु पर्दछ।

    मैले अर्कै सन्दर्भमा अघि नै काब्रलको उदाहरण दिइसकेको छु| उनि नयाँ चोलामा पनि देखिएका छन्। जुन प्रकारले उनि जब जब समकालीन गिनी बिसाउमा वर्गीय विकासका विशेषताहरु निहाली रहेका हुन्छन् तत् तत् क्षण उनि त्यहाँका वर्गहरुको आ-आफ्नो सम्भावनाबारे निहाली रहेका हुन्छन्| यसर्थ उनी मार्क्सवाद केवल अन्य जनताको इतिहासको जोडफल जस्तो नदेखियोस् बरु आफैमा अन्तर्निहित, आफ्नै ईतिहासको जिउदो शक्तिका रुपमा देखापरोस् भनी निश्चित गर्न प्रयत्नशील थिए। 

    यो गाह्रो परिवर्तन हो। यो ज-जसले आफुलाई मार्क्सवादी हुँ भन्ने ठान्छन् उनीहरुले गर्ने काम हो। यो धेरै कठिनाइहरु र अवरोधहरुबाट भरिएको छ, तैपनि धेरै व्यक्तिहरु हतारो गर्न चाहन्छन्| तिनीहरु परिवर्तनलाई आफ्नो समाजमा ढालिनु पर्ने निर्माणाधीन सामाजिक वस्तु नभएर बनिबनाऊ तातो आलुको रुपमा लिन्छन्|

    मार्क्सवादी सिद्धान्तलाई जातिको सन्दर्भमा अध्ययन गर्दा, मार्क्सवादी सिद्धान्तको राष्ट्रिय मुक्तिसँगको प्रासङ्गिकतामा अध्ययन गर्दा हामी एउटा महत्त्वपूर्ण विरोधाभासको सामना गर्छौं। त्यो यो हो: शाब्दिक अर्थमा राष्ट्रवादी भन्नु नै निम्न पुँजीवादी राष्ट्रवादी हो, त्यसले हाम्रो जमानाको राष्ट्रिय स्वतन्त्रताको पुनर्स्थापनाको मात्र लक्ष्य राखेको हुन्छ, त्यसले अफ्रिकी वा क्यारेबियाली जनतालाई उदार प्रजातन्त्रमा सहभागि बनाउन सक्दैन।  

    निम्न–पुँजीवादीहरुले यी ऐतिहासिक अभिभाराहरू पूरा गर्न सक्दैनन्। राष्ट्रिय मुक्तिका लागि समाजवादी विचारधारा चाहिन्छ। हामी यी दुईलाई अलग गर्न सक्दैनौं।

    अफ्रिकामा राष्ट्रिय मुक्तिका लागि पनि, गिनि-बिसाउ र मोजाम्बिकले विचारधाराको विकास गर्नु किन जरुरी छ भनेर प्रस्टसँग देखाएका छन्| लेटिन अमेरिकीहरु यसलाई अन्तस्करणको विकास भनेर उल्लेख गर्छन्| त्यहाँ राष्ट्रिय स्वाधिनता संग्राम यस कारणले सफल भयो कि यो वैज्ञानिक समाजवादी दृष्टिकोणमा सँगठित भएको थियो।

    क्याब्रलले भनेझैं “क्रान्तिकारी सिद्धान्तले लैस भएर पनि कतिपय क्रान्तिहरु असफल भएका हुन सक्छन्। तर निश्चित रुपमा क्रान्तिकारी सिद्धान्तबिना कुनै पनि क्रान्ति सफल भएको छैन|”

    अनुवादः दामोदर उपाध्याय र टंक कार्की।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      वाल्टर रोड्नी

      वाल्टर रोड्नी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.