Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भाइरसले खोक्रो पारेको पार्टी र मान्छेको मासु

नेपाल रिडर्स नेपाल रिडर्स
कार्तिक २७, २०७७
- यो हप्ता, राजनीति, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    शान्तदास मानन्धर पुराना कम्युनिष्ट अभियन्ता हुन्। अहिले उनको मूल परिचय साहित्यकार हो। मदन पुरस्कार गुठीले उनलाई २०७४ को जगदम्बा–श्री पुरस्कार दिएको थियो। बालसाहित्यलाई आफ्नो विधा बनाएका उनी अन्धविश्वास, रुढीवाद, अन्याय र शोषणविरुद्धका कुुरा साना नानीहरूका भाषामा लेख्छन्। साना नानीबाबुहरूलाई जागृत गर्न सके मात्र ती ठूला भएपछि तिनले समाजलाई न्यायपूर्ण र विवेकयुक्त बनाउन सक्ने ठान्छन् उनी। दर्जनौं बालपुस्तक रचना गरेका शान्तदाससँग कम्युनिष्ट आन्दोलन र सार्थक साहित्यबारे नेपाल रिडर्सले कुरा गरेको छ। सोही कुराकानीको सार यहाँ प्रस्तुत छ:

    उपत्यकाका भोका र फुर्सदिला किसान
    म वि.सं. १९९१ म जन्मेको हुँ। काठमाडौंको वसन्तपुरनजिकै, गणेशमन्दीरनजिकै मेरो जन्म भएको हो। अहिले ८७ वर्षको भएँ। मैले चौध वर्षसम्म राणाशासन देखें। अहिले हामी कहाँ बसिरहेका छौं, के गरिरहेका छौं भन्ने भन्ने कुरा सजिलै थाहा पाउँछौ, उतिखेर केही थाहा हुँदैनथ्यो। अचेल त सानासाना नानीहरूले पनि ‘अहिले यो पार्टीको सरकार र फलानो प्रधानमन्त्री छ’ भनेर थाहा पाउँछन्। उतिखेर त अन्धकारजस्तो थियो। कि त तपाईँ सरकारी जागिरदारको छोरा हुन पर्‍यो (छोरीले जागिर खाने कुरो कल्पनै गर्न सकिन्थेन।)। सर्वसाधारणले राजकाजका कुरा गर्नै मिल्दैनथ्यो। अरूले भनेको सुनेको भरमै ‘राजा छन्, महाराजा छन्, ठीक छ’ भन्ने धारणा थियो आम मान्छेमा। हरेक मान्छेहरू जातपातमा गहिरोसँग बाँडिएका थिए, जसको प्रभाव आज पनि छँदैछ।

    सर्वसाधारणले राजकाजका कुरा गर्नै मिल्दैनथ्यो । अरूले भनेको सुनेको भरमै ‘राजा छन्, महाराजा छन्, ठीक छ’ भन्ने धारणा थियो आम मान्छेमा ।

    उतिखेर मान्छेहरू फुर्सदिला थिए, पर्याप्त काम थिएन। कृषिकर्म बाह्रै महिना हुने कुरा भएन। खेतीको याममा खेतबारीमा काम गर्‍यो, सकियो। महिलाहरूले बच्चा र परिवारका अन्य सदस्यहरूलाई खुवाउने, लुगा धुने र बच्चा स्याहार्ने हुनाले उनीहरू त प्रायः वर्षभरी नै व्यस्त नै रहन्थे। तर पुरूषहरू कृषीयाममा बाहेक अरू समय फुर्सदिला रहन्थे। खेती हुँदा परिवारै खेतबारीमा काम गर्न पुग्थे । अरु बेला एक दुई जना मात्र खेतबारीमा पुग्दा पनि हुन्थ्यो। किसानको जिन्दगीमा अरू ठूलै विषय के हुन्छ र ? खेतमा बस्यो, मुला रोपेको छ भने त्यसको पात चुँडेर खायो। पैसा हुने कुरो भएन। फेरि खानेकुरा पनि कति नै हुन्थ्यो र ? कसैले मकै भुटेर खेतमा लग्थ्यो, कसैले गहुँ। सबै किसानहरूले भुटेको मकै या गहुँ खान पनि पाउँथेनन्।

    भोक लुकाउँदै, सुपारी चपाउँदै
    त्यतिखेर गजबको चलन थियो । भात खानुभन्दा अघि सुपारी खानुहुँदैन भन्ने मान्यता थियो । तर कोही व्यक्ति सुपारी चपाइरहेको छ भने उसलाई ‘तपाईंले भात खानुभयो?’ भनेर सोध्न मिल्दैनथ्यो । त्यही कारण यदि आफ्नो घरमा भात पाक्ने अवस्था छैन भने सकेसम्म चाँडो, बिहानको नौ बजेअघि नै एउटा सुपारीको सानो टुक्रा मुखमा राखेर नटोकीकन मुख चलाएर बस्नुपथ्र्यो। यसो गर्दा भात खान नपाएका कारण जाने ‘इज्जत’ जोगिन्थ्यो। कसैसँग अभिवादन र शिष्टाचार प्रकट गर्दा ‘नमस्ते’ भन्नुको साटो एकाबिहानै भेटमा मान्छेहरू ‘मुख धुनुभयो?’ भनेर सोध्थे। एकछिनपछिको भेटमा मान्छेहरू ‘बिहानको चमेना खानुभयो?’ भन्थे। अनि भात खाने समयतिर भेटे ‘भात खानुभयो?’ भनेर सोध्थे । अहिले पनि उपत्यकाका रैथानेहरू दिउँसो खाजा खाने बेलामा कसैलाई भेट्दा ‘बजी नेयला’ (चिउरा खानुभयो?) भनेर शिष्टाचार प्रकट गर्छन्।

    यदि आफ्नो घरमा भात पाक्ने अवस्था छैन भने सकेसम्म चाँडो, बिहानको नौ बजेअघि नै एउटा सुपारीको सानो टुक्रा मुखमा राखेर नटोकीकन मुख चलाएर बस्नुपथ्र्यो । यसो गर्दा भात खान नपाएका कारण जाने ‘इज्जत’ जोगिन्थ्यो ।

    धेरैजसो मान्छेहरूको घरमा उबेला बिहानको खाना चाँडै पाक्दैनथ्यो। कसैको त पाक्दै–पाक्दैनथ्यो। ती भोकै रहन्थे। हिजोको बासी भात बाँकी छ भने केटाकेटीले अलिअलि पाउँथे। मान्छेहरू साह्रै गरिब थिए। चामलको भात त अत्यन्तै थोरै मात्र मान्छेले खान पाउँथे । धनीमानी र हुनेखानेका घरमा चामल केलाउन र निफन्न जान्ने महिलाहरूले कहिलेकाहीँ श्रमवापत केही कनिका पाउँथे। त्यही कनिकालाई पानी हालेर धेरै बेर पकाएर पातलो खोले बनाएर खान पाउँदा पनि दंग पर्थे मान्छेहरू। यस्ता भोका मान्छेहरू कमसेकम सयकडा चालिस थिए होलान् उपत्यकामा। अहिले पनि हामीहरूले टन्न खान पाएका छौं र त्यतिसम्म विपन्नताको परिकल्पना नै गर्दैनौं हामी। आजका दिनमा पनि राती भोकै सुत्ने मान्छेहरू छन् होलान्।

    जातपातको संस्कृती र सामन्तवाद
    समाजमा जातपातको व्यवस्था र भावना गहिरो थियो। जातिपातीको भेद भएपछि एकले अर्कामाथि पर्दा हाल्ने काम हुन्छ। लुकाउने र छिपाउनु पर्ने हुन्छ। आफ्नो तथाकथित् ठूलो जातलाई सानो जातबाट सम्मान दिलाउनुपर्ने हुन्छ। पहिले–पहिले त यही कुरा स्विकार्न पनि हामीले सक्दैनथ्यौं। हामीलाई हाम्रो संस्कृतिले नै यो जात ठूलो र अर्को सानो भनेर सिकाएको हुन्छ। समाजले सिकाएअनुसार हिँडे राम्रो, नत्र नराम्रो। अहिले थोरै कम भयो होला तर जातीय विभेदको त्यो क्रम जारी छ। हामीले अझै चुँडाल्न सक्याछैनौं। अहिले पनि कतिपय मान्छेहरू देखासिकी गरेर हिँडिरहेका छन्। घरमा गरिबी छ तर देखासिकी नगरे इज्जत जाने डर छ उनीहरूमा । हामीले त्यस तथ्यलाई कुरा स्विकार गर्न सकेका छैनौं। हामी त ढाकछोप गर्दैछौं। नयाँ संस्कृतीको सुरुवात गर्ने हो भने तपाईंले आफ्ना समस्या, दुःख र कष्टलाई जनतासमक्ष राख्न सक्नुपर्छ।

    अरुले हेप्ला र अपमान गर्ला भनेर मान्छेहरूले देखासिकी गरेका हुन् । हेप्ला कि भनेर डराउनु कुसंस्कृती हो । हेप्ला कि भनेपछि छोप्नुपर्‍यो । तथ्य लुकाउनुपर्‍यो ।

    हाम्रो संस्कृतीमा धेरै खराबी छ भनेर गफ हाँक्नेहरू त धेरै छन् तर त्यसलाई फ्याँक्ने हिम्मत गर्नेहरू थोरै छन्। अरुले हेप्ला र अपमान गर्ला भनेर मान्छेहरूले देखासिकी गरेका हुन्। हेप्ला कि भनेर डराउनु कुसंस्कृती हो। हेप्ला कि भनेपछि छोप्नुपर्‍यो । तथ्य लुकाउनुपर्‍यो । मनोवैज्ञानिक रूपमै यस्ता कुराको विकाश हुन्छ । आफ्नो गरिबी देख्दा अर्कोले हेप्छ भन्ठान्नु सामन्ती संस्कृती हो। समता स्थापना गर्न लड्ने हो तर आफ्नो विपन्नतामा लाज मान्नु हुन्न। राणाशासनताक पनि बाहिर क्रान्तिकारी देखिने तर खानपिन, व्यवहार, बोलीबचन र ढर्रा सबै सामन्ती भएका थुप्रैं ढोंगीहरू थिए। अहिले पनि थुप्रै छन् त्यस्ता मान्छे।

    अशिक्षामा विद्रोह र प्रेरणा
    सात सालअघिसम्म सर्वसाधारणहरूका लागि शिक्षा सहज थिएन। तर शिक्षा र चेतनाबिनै विद्रोहमा कसरी उत्रे मान्छेहरू ? खासमा भोक र गरिबीकै कारण मान्छेहरू कठोर शासनविरुद्ध उभिएका हुन् । चेतनाकै कारणले मात्र राणाविरुद्ध मान्छेहरू उत्रिएका हुन् र ? चीनमा उत्रो ठूलो क्रान्ति हुँदाखेरि त्यहाँ कति नै मान्छेहरू शिक्षित थिए र ? हामीले ‘बालकोसेली’ पत्रिकामा चार शहीदको जीवनी छाप्यौं । यसको कारण उनीहरूले पनि आफ्नो जीवनमा दुःख अभाव भोगेका थिए भनेर बालबालिकालाई बुझाउनु थियो । ती शहिदहरुले पनि भारतमा भएका विद्रोहका कहानी पढेका थिए । राणाहरूले दुःख दिएका र दुःख कहाँ पोखुँ–कहाँ पोखुँ भइराखेका मान्छेहरूसँग उनीहरूको भेट भयो । जहाँजहाँ खाल्डो छ, त्यहीँ पानी अडिएजस्तै यिनै उल्लेखित कारणहरूले विद्रोहको वातावरण बन्यो । जसरी पनि जागिर खाउँ भन्ने चेतना लिएर म नचलेका कारण पनि मेरा त्यस्ता विद्रोहीहरूसँग भेट भयो । गरिबी, विसमता र अभाव मेरा लागि पनि विद्रोहको कारक बन्न पुग्यो ।

    खासमा भोक र गरिबीकै कारण मान्छेहरू कठोर शासनविरुद्ध उभिएका हुन् । चेतनाकै कारणले मात्र राणाविरुद्ध मान्छेहरू उत्रिएका हुन् र ? चीनमा उत्रो ठूलो क्रान्ति हुँदाखेरि त्यहाँ कति नै मान्छेहरू शिक्षित थिए र ?

    ‘अति गोप्यतावादी’
    २००७ सालपछि राजनीतिक वातावरण अलि खुला भयो । त्योभन्दा अघि त जे हुन्थ्यो, सबै भित्रभित्रै हुन्थ्यो । सडकमा ह्वात्त जुलुस आउँथ्यो । चोकतिर हुर्रर पर्चा छरिन्थ्यो । अरु त सबै भित्रभित्रै, गोप्य रूपमै हुने त हो नि ! धर्मभक्त र गंगालाल लगायतले पहिलो पर्चा छरे । पछि मात्र न त्यसबारे जनताले थाहा पाए । त्यति नै खेर त त्यो काम कसले गर्‍यो भनेर जनतालाई थाहा थिएन । पर्चा छरियो, कुरा फिँजियो। कुरा फिजिँएपछि मत विभाजन भयो । यस्तो पनि गरेछन् भन्ठाने होला कतिपयले। कतिपय दुःख पाएकाहरूले चाहिँ ‘ठीक गरेछ पर्चा छरेर’ भन्ठाने होलान्। त्यसरी क्रान्तिको सुत्रपात भयो । त्यतिखेरसम्म म आन्दोलनमा सहभागी भएको थिइनँ । म त बाह्र–तेह्र सालतिर आन्दोलनमा लागें । त्यतिखेर म विद्यार्थी थिएँ। विद्यार्थीका बीचबीचमा पनि पार्टीहरूका कामहरू हुनेरहेछन् । र, त्यसमा मेरा साथी पनि रहेछन् । अल्लि शान्त र साथीहरूलाई मदत गर्ने खालको मान्छे थिएँ म । मेरा बुबाचाहिँ सामान्य पसले हुनुहुन्थ्यो । कमाई थोरै हुन्थ्यो । तर उहाँ बुबा पढैया खालको हुनुहुन्थ्यो । गीता, वेदान्तलगायतका धर्मशास्त्र र सिद्धान्तका किताब पढ्ने भएकाले उहाँलाई क्रान्तिकारीहरू मन पर्ने रहेछ ।

    त्यतिबेला क्रान्तिमा भाग लिनेमध्ये कोहीकोही मेरा बाका साथीहरू थिए । धर्मभक्त मेरा बाकै साथी हुन् । त्यसो हुनाले विद्रोहको बाटो मेरा लागि सहज भयो । नत्र भने त उहाँले रोक्नुहुन्थ्यो होला, ‘पंचायतविरुद्ध नजा’ भनेर हप्काउनुहुन्थ्यो होला । किसानहरूसँग मेरो नियमित भेट हुन थालेपछि किसानहरूको जिल्ला समितीको बैठक मैले मेरै कोठामा राखें । बाले पनि किसान प्रतिनीधिहरूलाई मकै भुटेर, प्याजस्याज साँधेर खुवाउनुभयो । त्यसपछि मलाई थप हौसला जाग्यो ।

    बाले पनि किसान प्रतिनीधिहरूलाई मकै भुटेर, प्याजस्याज साँधेर खुवाउनुभयो । त्यसपछि मलाई थप हौसला जाग्यो ।

    पंचायतविरुद्ध हामीले भूमिगत रूपमा काम गरेका हौं । तर हामीलाई आन्दोलनकै केही मान्छेहरूले ‘अतिगोप्यतावादी’ भनेर लेबल लगाइदिएछन् । तर म त कसैको शत्रु थिइनँ । त्यसरी लेबलिङ गरिदिएपछि त उल्टै शासकहरूले दुःख दिन्थे भन्ने कुरो उनीहरूले बुझ्नुपथ्र्यो । त्यस्ता मान्छेहरू प्रजातन्त्र प्राप्तिपछि पनि सत्तामा पुगे। गोप्य हुनैपर्ने बेलामा ‘अति गोप्य’ भनिदिँदा त्यसले हामीलाई झनै अप्ठ्यारो पार्न सक्थ्यो तर हुनचाहिँ केही भएन। हामीले कसैलाई गाली गरेनौं तर भित्रभित्रै अन्याय, निरंकुसता र शोषणविरुद्ध काम गर्‍यौं। सोही कारण हामीलाई ‘अतिगोप्य’ भनियो होला।

    पुष्पलालसँग नियमित भेटघाट
    पुष्पलाल काठमाडौंको, म पनि काठमाडौंकै। भुमिगत जीवनमा उहाँ धेरै पटक हाम्रो घरमा आउनुभयो। मायालु र मिलनसार पुष्पलालकै कारण म टिकें होला राजनीति र साहित्यमा। पुष्पलालको आग्रहमा त्यतिखेरका ‘यङ कम्युनिष्ट’का कतिपय नेताहरूलाई पढाएँ । पुष्पलालका भाइहरू चाहिँ मेरा साथी थिए। गौरीलाल त मेरा दाजु नै भए । पुष्पलालजीकै कारण श्यामप्रसादजीलगायतका सँग पनि मेरो भेट भएको हो। अष्टलक्ष्मी शाक्यलाई पनि मैले पढाएको हुँ।

    मार्क्सवाद र ओली सरकार
    वर्गीय चेतना, हित र एकताको कुरो बुझ्न सकेमात्र मान्छे कम्युनिष्ट हुने हो । माक्र्सवाद पढ्नेजति सबै कम्युनिष्ट हुने होइन। जनेच्छा पूरा गर्न ठूलो माक्र्सवादी हुन जरुरी पनि छैन। जे भन्यो, त्यही गर्ने नै मार्क्सवादी हुन् जनताका नजरमा। तर यत्रा संघर्षपछि कम्युनिष्ट सरकार बन्दा पनि देखिने परिणाम आएन। तपाईंलाई मैले औषधी दिएपछि औषधीको प्रभाव देखिनुपर्छ, बिमारी निको हुनुपर्छ। जनताले परिवर्तनको अनुभुती गर्नुपर्छ। कम्युनिष्ट पार्टी भनेको हाम्रो पार्टी हो र यसले सत्ता चलाएपछि हाम्रो हित भएको छ भनेर मलाई फिल हुनुपर्छ। भन्नुस् त, कम्युनिष्ट सरकारका कारण कसैले परिर्वतनको अनुभुत गरेको छ? ओलीजी प्रधानमन्त्री भएर जनतालाई के लाभ भयो? कम्युनिष्ट पार्टीले सुख र समृद्धिको बाटो लिन्छ भन्ने दावा गर्दै उनले सत्ता हाँकेको दुई वर्ष नाघिसक्यो।

    ओलीजी प्रधानमन्त्री भएर जनतालाई के लाभ भयो ? कम्युनिष्ट पार्टीले सुख र समृद्धिको बाटो लिन्छ भन्ने दावा गर्दै उनले सत्ता हाँकेको दुई वर्ष नाघिसक्यो ।

    ओलीजीले आएर हामीसँग सोध्नुपर्छ– समृद्धी र न्यायको निम्ति सरकारले के काम गर्‍यो र सरकारको कामबाट जनताले कति सुख र कति दुःख पाए भनेर। परिणाम नै नदेखिने हो भने बेफ्वाँकमा किन गफ दिएको ? किन सपना देखाएको? हुँदै नहुने कुरा बोलेर हिँड्ने गफाडी पो रहेछौ तिमी भनेर भन्न मिल्दैन अब हामीले ? डाक्टरले ‘लौ म तपाईंको बिमारी ठीक पार्छु, पैसा जम्मा गर्नुहोस्’ भनेर दावी गरे । तर एक वर्ष नियमित उपचार गर्दा पनि बिमारी जस्ताको तस्तै भयो भने तपाईं के भन्नुहुन्छ ? डाक्टरका सबै सुझाव मानियो। पथपरहेजमा बसियो, औषधी बेलैमा खाइयो। तैपनि निको नभएपछि हामीले डाक्टरलाई प्रश्न उठाउन नमिल्ने ?

    ओलीजी आफैंले ‘मलाई कामको जस दिएनन्’ भन्नु सुहाउँदो कुरो होइन । जाँचमा फेल भएका र जनताले फालेको व्यक्तिलाई फेरि उकास्ने काम कसले गर्‍यो? चुनावमा हारेका मान्छेहरूले त अर्को चुनावसम्म कुर्नु पो पर्छ । जनताले फालेकोलाई फाल्ने र ल्याएकोलाई राख्ने पो जनादेश हो । यति कुरा बुझ्न तपाईं राजनीतिक कार्यकर्ता वा नेता हुनुपर्छ भन्ने छैन । जनताका मतादेश नमान्नेले जनताको सुखका लागि कति काम गरेको होलान् ?

    जनताको अवस्था के छ भनेर कुनचाहिँ सर्वसाधारणकोमा सोध्न गए प्रधानमन्त्री ? झापा गएका बेला केही मान्छेसँग उनले सोधे क्यार । तर अन्यत्रका जनतासँग त एक बचन पनि सोधेनन् । बरु उहाँ त जथाभावी बोलेर हिँड्नुहुन्छ । त्यसरी जनताको मुख थुन्नकै लागि जे पायो त्यही बोल्न पाइन्छ ? जनतालाई हेप्न र हेलाँ गर्न पाइन्छ ? प्रतिस्पर्धी र प्रतिपक्षहरू त सबै पार्टीभित्र हुन्छन् । पार्टीभित्रका प्रतिपक्षलाई पनि सम्मान गरेर चित्त बुझाउन सक्नुपर्छ पार्टीका समेत अध्यक्ष रहेका प्रधानमन्त्रीले ।

    जिवाणु र किटाणु
    मेरो शरीरमा रोगहरू छन् । तैपनि म त टिकिरहेको छु किनभने मेरा शरीरमा त्यस्ता जिवाणुहरू पनि छन् जसले मलाई उभिन–टिक्न सहयोग गरिरहेका छन् । पार्टी पनि त्यही हो । त्यहाँ राम्रा जिवाणु पनि छन्, खराब किटाणु पनि छिर्छन् । पार्टीलाई जोगाउने राम्रा जिवाणु भनेको असल कार्यकर्ता हुन् । तर यो कम्युनिष्ट पार्टीले राम्रा जिवाणुहरूलाई संरक्षण गरिरहेको छ त ?

    अहिले पार्टीभित्र चलखेल गर्ने धेरै जसो मान्छेहरू विचौलिया हुन् । आफू केही नगरी दुबै तर्फैबाट लाभ लिने तिनै मान्छेहरूले पार्टीलाई बरवाद पारेका छन् ।

    आफ्नै श्रम गरेर बाँच्नेचाहिँ जिवाणु र अरुमा भर पर्नेचाहिँ परजीवी किटाणु हुन् । केही काम नगर्ने र केवल गफ गरेर हिँड्ने नेता–कार्यकर्ताहरू धेरै भए पार्टीमा । यसो भएपछि पार्टी दिर्घजीवी हुन सक्दैन । श्रम गरेर बाँच्ने कार्यकर्ताहरूले मात्रै पार्टीलाई जोगाउँछन् । गफाडीहरूले गफमा त जित्न सके होलान् तर हृदय जित्न सकेनन् । जनता त आफैं काम गरेर बाँच्छन् । तर बिडम्बना , जो आफ्नै श्रम गरेर बाँचेका छन्, उनीहरूले बढी दुःख पाएका छन् । भोलि सरकारले ठूलो आयोजना नै संचालन गर्नुपर्‍यो भने त काम गर्ने त तिनै जनता हुन् । अहिले पार्टीभित्र चलखेल गर्ने धेरै जसो मान्छेहरू विचौलिया हुन् । आफू केही नगरी दुबै तर्फैबाट लाभ लिने तिनै मान्छेहरूले पार्टीलाई बरवाद पारेका छन् ।

    देवकोटा र पौडेलबारे
    लेखनाथ पौडेल वालसाहित्यकार होइनन् । ‘लल, केटाकेटीहरूलाई हाम्रो राज्यसत्ताको भक्त कसरी बनाउने हो, जसरी भए पनि बच्चाहरूलाई भक्त बनाइदेउ’ भनेर राणाहरुले आग्रह गरेपछि पौडेलले बच्चाहरूलाई बाख्रालाई चराएझैं गरेका मात्र हुन् । केटाकेटीहरूलाई भेडाबाख्रा ठानेर लठ्ठी समाएर चराउने व्यक्ति हुन् पौडेल । बालकहरूको हित र विकास होस् भन्ने सोच राखेर लेखनाथले साहित्य लेखेकै छैनन् । पत्रकारिता र साहित्यमा जनताको जागरणको उदेश्य राखिन्छ । पत्रकारिता–साहित्य गुलामी होइन । जनताका दुःख के छन्, त्यसका निरुपणका उपाय के हुन सक्छन् भनेर पहिल्याउन सके पो जनताका लागि पत्रकारिता र साहित्यसेवा गरेको ठहर्छ । यसर्थ, मेरो विचारमा बालसाहित्यमा लेखनाथ उल्लेखनीय छैनन् ।

    ‘लल, केटाकेटीहरूलाई हाम्रो राज्यसत्ताको भक्त कसरी बनाउने हो, जसरी भए पनि बच्चाहरूलाई भक्त बनाइदेउ’ भनेर राणाहरुले आग्रह गरेपछि पौडेलले बच्चाहरूलाई बाख्रालाई चराएझैं गरेका मात्र हुन् ।

    तर देवकोटाले जानी नजानी बालकविता लेखेका छन् । उनका बालकविता किसानको घरमा हाँडीमा पकाइने भातजस्तो छ । सबैभन्दा माथी परेको भात बल्लबल्ल पाकेको हुन्छ । बीचको भात माडजस्तो हुन्छ । सबैभन्दा तलको भात आगोले डढेको हुन्छ । अलेलि पाकेकै भएपनि माथिको भात खेतमा मरीमरी काम गरेर आएकाहरूलाई पचिहाल्छ । बीचको माँडजस्तो भात बच्चाहरूलाई दिइन्छ । अनि अन्तिममा भात खाने मौका पाउनेहरू महिला हुन्छन्, उनीहरूलाई चाहिँ डढेको भात मिल्छ । देवकोटाका वालकविता त्यस्तै हुन्छन् । ‘बालकको सेवा नै मेरो उद्देश्य हो’ भन्ने उनले ठानेनन् होला । जटिल हुन्छन् उनका कविता तर बालबालिकालाई माया गरेरै लेखिएका छन् । देवकोटाको वालसाहित्य सबै उमेर समुहका लागि काम लाग्ने छन् ।

    बालसाहित्य, राज्यका पाठ्यक्रम र जगदम्बा
    बच्चाहरूलाई प्रश्न गर्न सिकाउनुपर्छ । जान्नु भनेको केही होइन, ओल्टाई–पल्टाई हेर्न सिक्नु हो । ‘के हो भनी सोधन, कसरी भनी सोधन, किन भनी सोधन ।’ यसरी सोध्नु भनेको एउटै कुरालाई चारैतिरबाट घुमीघुमी हेर्न जान्नु हो । बालबालिकालाई स्वस्थ, सचेत र सक्षम पार्न बालसाहित्य लेख्ने हो । आफैं कमाएर खान सक्ने बनाउनु हो । तर राज्यले दिएको पाठ्यक्रममा बालबच्चाका लागि उपयोगी साहित्य छैनन् । कुनै पनि सरकारले सत्ताविरोधी कुरा पढ्न लगाउँछ र आफ्ना नागरिकका सन्तानलाई ? आफ्नो सेवा गर्न जस्तो जनशक्ति आवश्यक छ, त्यस्तै मात्र बनाउन खोज्छ सरकार । यसर्थ, बालसाहित्यको सेवा पाठ्यक्रमबाट हुनै सक्तैन । अठार सालमै मैले स्कुलमा २, ३, ४, ५, ६ र ७ कक्षामा विज्ञान र स्वास्थ्य विज्ञान पढाएँ मैले । २ कक्षामा त अहिले पनि कतिले विज्ञान पढाएका छैनन् ।

    मैले साहित्यसेवा गरेको भन्दै जगदम्बाश्री पुरस्कार पनि पाएँ । पुरस्कार दिने व्यक्तिहरूलाई शान्तदास कम्युनिष्ट हो भन्ने पनि थाहा छ । उनीहरू कम्युनिष्टलाई रूचाउन्नन् भनुँ भने पुरस्कार नै दिए ! भनेपछि उनीहरूलाई समेत चित्तबुझ्दो काम गरेको रहेछु मैले । शान्तदास भन्ने मान्छे मनबचनले नै बालबालिकाको क्षेत्रमा लागेको हो भन्ने ठहर गरेर उनीहरूले मलाई पुरस्कार दिएका हुन् भन्ने मेरो ठहर छ ।

    अठार सालमै मैले स्कुलमा २, ३, ४, ५, ६ र ७ कक्षामा विज्ञान र स्वास्थ्य विज्ञान पढाएँ मैले । २ कक्षामा त अहिले पनि कतिले विज्ञान पढाएका छैनन् ।

    मान्छेको मासु र लु सुन
    मैले लु सुन को हुन् र के हुन् भनेर पढें । चाइनिज लिटरेचर भन्ने किताबमा लु सुनको ‘म्याड मेन्स डायरी’ (बहुलाहाको डायरी) भन्ने कथा छापिएको थियो । त्यस कथालाई पर्गेल्दा हामी बाँचिरहेको सिंगो समाज देख्न सकिन्छ । कथाको अन्त्यमा लु सुनले भनेका छन्, ‘यो संसारमा मान्छेले मान्छेको मासु खाएको हजारौं वर्ष भयो । एक मान्छेले अर्काे मान्छेलाई मार्दै खाँदै आएको छ । एउटै घरभित्र पनि एकले अर्काको मासु खाएको हुन्छ, अर्कोलाई पत्तै नभएपनि ।’ तपाईंलाई लाग्ला, मैले आप्mनै परिवारकै मासु त खाएको छैन ! तर तपाईंले पनि मान्छेको मासु खाएको हुन सक्नुहुन्छ ! यसर्थ, तपाईं आफ्नै जातिको मासु खाने डरलाग्दो प्राणी हो मान्छे । र, मान्छेको मासु नखाएका मान्छे यस समाजमा कोही पनि छैनन् । यसो भनेर कथामार्फत लु सुनले समाज, घर र आफन्तहरू समेत शोषण र असमानताको जालो व्याप्त रहेको संकेत गरेका थिए।

    हुर्के बढेकाहरू त सबै ब्वाँसा हुन् । शुद्ध भनेकै बालबालिका हुन् । ठूला मान्छेहरूले मान्छेकै मासु खाएपनि बच्चाहरूले भने मान्छेहरूको मासु पक्कै खाएका छैनन् र उनीहरूले कहिल्यै पनि मान्छेको मासु खान नपरोस् ।

    हुर्के बढेकाहरू त सबै ब्वाँसा हुन् । शुद्ध भनेकै बालबालिका हुन् । ठूला मान्छेहरूले मान्छेकै मासु खाएपनि बच्चाहरूले भने मान्छेहरूको मासु पक्कै खाएका छैनन् र उनीहरूले कहिल्यै पनि मान्छेको मासु खान नपरोस् । त्यस्तो वातावरण नै बन्न दिनुहुन्न भनेर लु सुनले सबैसँग समतामूलक समाजको लागि आह्वान गरे । त्यसैले हामीले त्यस्तो समाजको निर्माण गरौं, जहाँ कसैले कसैको शोषण नगरुन् । मान्छेले मान्छेको मासु खान नपरोस् । बालबालिकालाई शोषण, अन्याय र अत्याचारबारे बुझाउँ, जसका कारण उनीहरूले अन्धविश्वास र असमनता हटाउन् । अहिले हाम्रोमा पनि मान्छेहरूले मान्छेका मासु खाएकै छन् नि । यो लाजमर्दो हो । यो बदल्नुपर्छ, लड्नु धेरै छ । लडिरहनुपर्छ ।

    प्रकाश अजातसँगको कुराकानीमा आधारित । तस्वीर/भिडियो: महेश पाण्डेय

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.