Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बीपी व्याख्यान: ‘जेल–जर्नल’ दिनपञ्जीको समालोचना, कमल दीक्षितबाट

कमल मणि दीक्षित कमल मणि दीक्षित
भदौ २५, २०७९
- विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन्दर्भः बीपी १०९ औं जन्मजयन्ती
    ‘जेल जर्नल’ र ‘दिन पञ्जी’ यी दुवै शीर्षक बीपीले नै दिनुभएको हो आफ्नो सुन्दरीजल जेलबासको डायरीलाई । डायरी भनेपनि दैनन्दिनी भनेपनि या माथि भने झैं जेल जर्नल दिनपञ्जी जे नाम दिएपनि वास्तवमा यो त्यो केही पनि होइन, ‘म चिठीका रुपमा यो लेख्दै छु’ भनेर बीपीले शुरु मै (पृ.२) भनिदिसक्नु भएको छ। आफ्नी पत्नी सुशीलाजीलाई सम्झेर उहाँले लेख्नुभएको छ– ‘यसैगरी रोजिंन्दै लेखेर म आफ्नो मनको भाव तिमीलाई पोख्ने छु’भनी । पृ. ६६ मा लेखिएका यी वाक्यले सो अझ स्पष्ट पार्छन्ः ‘यो दिनपञ्जी प्रारम्भ गर्दा तिमीलाई सम्झेर गरेको थिएँ। तिमीलाई सम्बोधन गरी भनेका भावनालाई लिपिबद्ध गर्ने मेरो इच्छा थियो।’

    आफ्नी प्यारी पत्नीलाई मनमा राखेर लेखिएका हुनाले साँच्चै नै अन्तरंग हुनपुगेका छन् बीपीका उद्गारहरु यस दिनपञ्जीमा। कुनै कुरा नलुकाई भनेको भान हुन्छ यो पढ्दै जाँदा। आफ्ना खुशीका क्षण(पृ.१२६–१२७), दुःखका क्षण (पृ.३३), आत्मग्लानीका, आफ्ना निरीहताका कुरा(पृ.१२५), रिस बढेको, प्रतिहिंसामा जलेको अनुभव(पृ.१६५–१६६) सबै केही नलुकाई बोल्नुभएको छ बीपीले यहाँ। बीचबीचमा आफूमा आउने निराशा, कुण्ठाका आवेगहरुलाई अलिकति पनि लाज नमानी पोखिदिनुभएको छ उहाँले यी पत्रहरुमा।

    आफ्ना मनका भित्री तहमा बसेका कुराहरु, आफूले सत्य मानेका धारणाहरु पनि बीपीले यसमा सबै पस्किदिनु भएको छ। आफूले गरेका गल्तीहरु, आफ्ना कमजोरीहरु केही लुकाउन खोजिएको छैन यहाँ, छर्लंग पारिदिएको देखिन्छ। कतिसम्म भने यौनका कुरा र स्त्रीप्रसंगका विषयमा पनि उहाँ स्पष्ट हुनुभएको छ। आफूले अत्यन्त माया गरेका गुणवती पत्नीलाई पतिले के लुकाउने? त्यसै धारामा बगेको छ बीपीको लेख यहाँ। भाव र लेखनीलाई लगाम लगाउने प्रयास छैन यहाँ। बन्दी जीवनको उकुसमुकुसबाट उम्कने एकमात्र भरपर्दो साधन बन्नपुगेको रहेछ यो दिनपञ्जी बीपीका लागि भन्ने बुझ्न सक्छ पाठकले यसका शुरुका केही पत्र पढ्ने बितिक्कै।

    ‘दिनपञ्जी’ भनेपनि यो नियमित रोजिन्दै लेखिएको छैन। लेख्छु भन्ने अठोट छ, तर त्यो कायम हुनसकेको छैन। हप्तादिन, महिना दिन, कहीँ–कहीँ त २÷३ महिनाको पनि अन्तराल परेको देखिन्छ यी लेखाइमा (पृ.१०७)। यसरी लेखाइमा व्यवधान आउनुमा कैले बिरामी परेर, कैले मनस्थिति ठीक नभएर र कैले चाहिँ अल्छ्याइँ मात्रपनि कारण भएको देख्न सकिन्छ। अनि बन्दी भएको चार वर्ष पुगेका दिन २०२१ साल पुस १ गतेको एउटा ‘इन्ट्री’ पछि अकस्मात् टुगिंएको छ डायरी ‘कानुन दोषपूर्ण अभिप्राय’ भनेर राजामाथि आक्षेप गरेर।

    माथि दुइठाउँमा प्रियपत्नीको प्रसंग उठेको छ। वास्तवमा बीपीले सुशीलाजीलाइ कति माया गनुहुँदो रहेछ भन्ने कुरा बीपीले उहाँका बारेमा लेख्ता प्रयोग गरेका कोमल ललित पदावलीले (पृ.६६) स्पष्ट पार्छन्। उहाँले सुशीलाजीको सहिष्णुता, गृहकार्य निपुणताका बारेमा भनेका वाक्यहरुले मात्रै होइन ‘बिचरीले कसरी काम चलाइरहेकी होली’ भन्ने आसयको सहानुभूतिपूर्ण उल्लेखले पनि धेरै बताउँदछन्।

    त्यसबाहेक ठाउँ–ठाउँमा सुशीलाजीलाई गरिएको सम्बोधन ‘मुटु’(पृ.११), ‘धेरै बेरसम्म एकअर्कालाई हेरेर बसिरह्यौं’(पृ.४१) वूता शब्द र वाक्यले पनि उहाँको दाम्पत्य प्रेम परिभाषित गर्छन्। ‘तिम्रो सहवासबाट छुट्याइएको छु। कारागारको यो अभाव तथा वञ्चनाको जीवनमा सबभन्दा क्लेशदायक कुरो तिमीबाट छुट्टिनु परेको वियोग भएको छ’ लेखेकोबाट पनि त्यही कुरो बुझिन्छ(पृ.६६)।केही कु

    रा लुकाइएको छैन भनेर माथि भनियो। सांकेतिक रुपमा, लक्षणा, व्यञ्जनामा होइन, अभिधामै, छ्याङ्गै भनिएका छन् यसमा मनका भित्री तहका गोप्य कुराहरु पनि। अझ यौन या स्त्री–प्रसंगका कुरा गर्दा यो स्पष्टबादिता सबभन्दा टड्कारो रुपमा देखिन्छ। ‘तीन कुरा सुशीलाले मलाई त्याग्न भनेकी थिइन् चुरोट, रक्सी र अवैध यौन। दुइटा कुरा छाडें एउटा छाड्न सकेको थिइनँ। अबदेखि म स्वास्नीमान्छेका बारेमा पनि सुशीलाको आग्रह पूरा गर्छु’ भन्ने अठोटका कुरा(पृ.७३) बीपीले भन्नुभएको छ। लेखोटमा यसभन्दा बढी इमान्दारी कहाँ खोज्ने ? यो पढ्दा कताकता बालकृष्ण समको ‘मुटुको व्यथा’मा सनकले भनेको एउटा वाक्य सम्झन पुगिन्छ। आफूले भारतीसँग गरेको प्रेमक्रीडा देखेपछि मुटु फुटी मरेकी कपिलालाई सम्झदैं सनकले भनेको छ ‘…लोग्नेमानिसहरु प्रेम गर्दै सौता हाल्दै गर्न सक्तछन् भन्ने नबुझेर कपिला मरी…।’ बीपीले पनि त्यही गर्नु भएको रहेछ– सुशीलाजीलाई अत्यन्त माया गर्दागर्दै, प्रेम गर्दागर्दै पनि उहाँ अरु आइमाईसँग पनि लसपस गर्नुहुँदो रहेछ(पृ.६७ र ७२) त्यसैलाई सुन्दरीजलको कारागारबाट उहाँले सर्कानुभएको छ र भन्नु भएको छ– अब म अरु आइमाइहरुसँगको संसर्ग त्यागिदिन्छु। यसैलाई भन्न खोजिएको हो– बीपीले अभिधामा बोलेको स्पष्टोक्ति भनेर।

    स्पष्टोक्तिकै कुरा गर्दा बीपीले यस दिनपञ्जीमा आफ्ना कमजोरीहरुको पनि आत्मविश्लेषण गर्नुभएको ठाउँ–ठाउँमा देख्न पाइन्छ(पृ.१४९)। त्यस्ता विश्लेषणहरुमा राजनीतिक विश्लेषण प्रमुख छन्(पृ.१००)। सत्र सालको घटना किन र कसरी हुनसक्यो, त्यो नहुन दिन हामीले किन सकेनौं भनेर उहाँले धेरै चित्त मन्थन गर्नुभएको देखिन्छ(पृ.१५७)। त्यहाँ अरु कुरा त जे छन् छदैं छन् वा मिलेटरीपट्टि ध्यान नदिनु आफूहरुको मुख्य कमजोरी हो भनेर विश्लेषण गर्नुभएको छ बीपीले। यसै हुँदा नेपालको भविष्य सुधारका लागि स्थायी–सेना राख्न नहुने, इजरायल या स्विटजरल्याण्ड जस्तो मिलिसिया खडा गर्नुपर्ने उहाँका विचार(पृ.१४३–१४४) निकै मननीय हुनपुगेका छन्। अरु उहाँ त भन्नुहुन्छ– पार्टीले पनि आफ्नो पल्टन राख्नुपर्छ।

    विश्लेषणको कुरा गनै थालेकोले बीपीले आफ्ना साथीभाइ, आफन्तहरुबारे गर्नुभएका छोटा मीठा टिप्पणीहरु महत्वपूर्ण भएर देखापर्छन्। सूर्यप्रसाद उपाध्याय(पृ.२५), तुलसी गिरी, गणेशमान(पृ.१५५)बारे मात्र होइन तारिणी(पृ.१०५) रामनारायण मिश्र(पृ.१३९) जस्ता आफ्नै भाइहरु र साथीका बारेमा उहाँले प्रयोग गर्नुभएका एकदुई शब्द वा वाक्यले धेरै कुरा भन्दछन्। रोशा(तारिणी पत्नी)का निम्ति उहाँले व्यक्त गर्नुभएका सहानुभूतियुक्त वाक्यहरुबाट उहाँ रोशामाथि कति निर्भर हुनुहुँदो रहेछ भन्ने बुझिन्छ। त्यस्तै शैलजाका बारेमा भनिएका थोरै शब्दबाट (पृ.३८, १०८) पनि शैलजाको राजनीतिक उर्जा (अग्निको स्वभाव)को समेत उहाँले राम्रो मूल्यांकन गरिसक्नुभएको थाहा हुन्छ। बीपीका सबभन्दा कोमल भावको पात्र खोजी गर्न बस्ता यस पञ्जीमा उहाँकी माता (दिव्या कोइराला)को छवि अगाडि आउँछ। कति श्रद्धा रहेछ उहाँलाई आमामाथि, कति ममता, कति करुणा रहेछ त्यो वृद्ध शरीरउपर, पढ्दै जाँदा अचम्म पर्नुपर्छ(पृ.५५, १३१, १३४–१३५)। सुशीलाजीको त कुरै गर्नु परेन। माथि नै धेरै भनिसकिएको छ। कति माया, कति प्रेम, कति करुणा छ त्यहाँ।

    आमा र पत्नीका बारेमा कुरा गर्दा ‘करुणा’ शब्दको शायद प्रयोग गरिन्न। तर मैले यहाँ त्यो ‘अपराध’ गरेको छु। किनभने बीपीका यी दुई सबभन्दा निकट व्यक्तित्वहरुका बारेमा उहाँकै लेखनीबाट उब्जिएको शब्द हो यो मेरो मनमा। बीपी आफ्नो आमालाई माया मात्र गर्नुहुन्न दया पनि गर्नुहुन्छ। पत्नीलाई पनि ऐजन ऐजन। यसको व्याख्या गर्न सकिँदैन। पञ्जी पढे बुझिन्छ।

    जेलबासको निराशपूर्ण जीवनले होला। बीपीले यस पञ्जीमा ठाउँठाउँमा आफ्ना कमजोरीहरुको उल्लेख गर्नुभएको छ। आफ्नो स्वास्थ्यको पनि उहाँलाई चिन्ता छ। तर एक ठाउँमा त उहाँले आफ्नो मानसिक स्वास्थ्यामाथि पनि शंका गर्नुभएको फेला पर्छ। लेख्नुहुन्छ ‘यता धेरै दिनदेखि म आफ्नो मस्तिष्कको कमजोरी महशूस गरिरहेको छु’(पृ.१५७–१५९)। अचम्म लाग्छ, त्यो वाक्य लेखेपछि उहाँले गर्नुभएको मनोवैज्ञानिक विश्लेषण सारै माथिल्लो स्तरको छ। मस्तिष्क कमजोर भएको व्यक्तिले लेख्न सक्ने कुरा होइनन ती।

    आफ्नो कमजोरीको कुरा गर्दा फेरि बीपीले राती सुत्दा नाङ्गै सुत्ने परिक्षा गरेको प्रसंग पनि आउछ(पृ.१३६)। तर त्यो धेरै दिन चलेको बुझिदैन। बरु आफ्नो लुगा आफैं धुने, इस्त्री ंलाउने कुराको चर्चा बीपीले धेरै ठाउँमा गर्नुभएको छ। जेलजीवनको नीरसतामा यस्ता कामले पनि केही ‘रिलिफ’ दिन्छ भनिएको छ। आफ्नो काम आफैं गर्न बानी बसाल्ने पनि उहाँको उद्धेश्य रहेको देखिन्छ। त्यसको कारण पनि आर्थिक भएको बुझिन्छ। परिवारको आर्थिक स्थितिका बारेमा बीपी ठाउँठाउँमा निकै चिन्तित देखिनुहुन्छ। जेलमा बस्ता पनि आफ्नो खर्च घटाउन उहाँले गर्नुभएको प्रयास(पृ.१५१) हाँस्यास्पदसम्म हुनपुगेको महसुश हुन्छ, जब उहाँ लेख्नुहुन्छ ‘नत्र भने म बडो किफायतसँग बस्छु। मलाई व्यक्तिगत खर्च रु ५ महिनाभन्दा बढी लाग्दैन। लुगाधुने साबुन २ डल्ला भए पुग्छ। म शरीरमा साबुन लाउँदिन…’

    नेहरुको मृत्युको खबरले आफूमा भएको पीडा कत्ति पनि नलुकाई बीपीले बताउनुभएको छ। आफू एक्लै रोएको सम्म उल्लेख छ त्यहाँ (पृ.१८३)। ‘नेहरु धन्यधन्य भएर गए’ भनेर सकार्नुभएको छ। अनि भन्नुभएको छ ‘निश्चय नै जवाहरलालजीको मृत्युले हिन्दुस्तानमा आधारित हाम्रो संगठनलाई ठूलो धक्का लाग्यो होला’। तर यत्ति सबै भनेता पनि बीपी नेहरुको अन्धभक्त हुनुहुन्थेन भन्ने स्पष्ट हुन्छ। नेहरुका बारेको उहाँको लामो राजनीतिक विश्लेषण(पृ.१८४–१८५)को अन्त्यमा बीपीले लेख्नुभएको छ– ‘तर जुन कुराको जवाफदेही उनको काँधमा परेको थियो त्यसलाई कस्तो किसिमले उनले पूरा गरे? यहाँ उनलाई पूर्णंक दिन सकिन्न’। नेहरु मात्र होइन विश्वविख्यात अरु राजनीतिकहरुको पनि व्यक्तित्व विश्लेषण गर्नुभएको छ बीपीले। उदाहरणार्थ डाग हामरशोल्डको कुरा लिऊँ। लेखेको छ ‘उनको शान्त र गम्भीर मृदु स्वभावले मलाई प्रभावित पारेको थियो(पृ.२०३) तर मलाई उनी अपेक्षाकृत ठन्डा व्यक्तित्ववाला लागे– आदर्श ब्राह्मण जस्तो। धोती, तिलक र यज्ञोपवीत(लाइदिए) उनी पूरा ब्राह्मण लाग्ने थिए…’ इत्यादि।

    हामरशोल्डबारे लेख्दा अलि व्यंग्यात्मक भाका आएको सायद ‘गीताको उपदेश लिया जस्तो छ उनले’ भन्ने बीपीको धारणाले गर्दा हो। किनभने बीपी स्पष्ट रुपमा गीताको निष्काम कर्मको खिलाप हुनुहुन्छ। निकै लामो तर्क गरेर बीपीले ‘निष्काम कर्मको अर्थ निष्कर्म हो, या त्यो एउटा निरर्थक शब्दाडम्बर हो’ भन्ने निश्कर्ष(पृ.२०७) निकाल्नु भएको छ। बीपीको ‘मोदीआइन’को गीताविरोधी धारणाको बीज यो जेलपञ्जीको यस निश्कर्षमा खोजे पाइन्छ जस्तो लाग्छ। गीतादर्शनका बारेमा उहाँको एउटै वाक्यले उहाँको धारणा स्पष्ट गर्छ। भन्नुहुन्छ– ‘बाँच्नका लागि दर्शन चाहिएको छ मर्नका लागि होइन’(पृ.२०७)।

    मोदिआइनको कुरा निक्लेकाले अब बीपीभित्रको साहित्यिक बीपीलाई अलिकति खोजी पसूँ यस पञ्जीका कलेवरमा। २०२० सालको मंसिरतिर पुग्दा उहाँको मनस्थिति किताप लेख्नेतिर गैसकेको थियो। पैले उहाँ आफ्ना चारजना सन्तानका लागि चारओटा किताप लेख्ने अठोट गर्नुहुन्छ। तर त्यसपछि अरु चार कितापमा हात हालिसकेको छु भन्नुहुन्छ। दुइटा नाटक, एउटा आत्मकथा र एउटा (नेपालको इतिहास होला) ‘नेपाल कता’ भन्ने। तिनमा केटाकेटीका लागि लेखिने चार किताप थपिएपछि आठओटा किताप हुनेछन् भन्नुभएको छ बीपीले। त्यो संकल्प अक्षरशः सत्य नभए पनि जेलबाट निस्कँदा आठ–नौ ओटा पूर्ण अपूर्ण किताप उहाँले लिएरै निस्कनुभएको कुरा हामीले बिर्सनु हुन्न। तर बीपीलाई आफ्नो नेपाली भाषा प्राञ्जल छैन भन्ने परेको रहेछ। ‘हृदय भन्दा मस्तिष्क, भावना भन्दा बुद्धिले थिचेको हुन्छ मेरो भाषा’(पृ.१३७) भन्दै हुनुहुन्छ– ‘मूलतः मेरो ‘आर्किटेक्चुरल माइण्ड’ छैन, तीव्र वेगको अभिव्यक्तिमा मात्र म प्रस्फिूटित हुनसक्छु… कविको लक्षण हो यो। तर कविताका लागि मेरो संगीत र ध्वनिका प्रति चाहिने प्रवृत्ति र शिक्षा भएन’(पृ.१९९)। अर्थात् बीपीलाई छन्दमा कविता लेख्ने इच्छा थियो तर छन्दाज्ञान भएन। भएपनि उहाँले सुन्दरीजल जेलमा छँदा कथाहरु बाहेक एउटा ‘कविता संग्रहलाई पुग्ने कविताहरु लेखिसकेको छु’ भनेर सकार्नुभएको छ। तर त्यो कविता संग्रह जनसमक्ष आएको छैन, कहाँ छ थाहा छैन। त्यो छापिन सके साहित्यकार बीपीको अर्को एउटा पाटो देखिने थियो।

    – कमल मणि दीक्षित

    त्यो कविता संग्रह देख्न नपाए पनि बीपीको कवित्वशक्तिका अलिकति झिल्काहरु यो पञ्जीमा कतैकतै भेटिन्छन्। उदाहरणका लागि एउटा दुइटा वाक्य र वाक्यांशहरु जाँची हेरुँ। एउटा छ– आन्दोलन असफल भएको कुरा गरेर बीपी लेख्नुहुन्छ ‘…केही दिनका लागि हाम्रो सूर्यास्त भयो’(पृ.८०)। यसमा परेको ‘केही दिन’ र ‘सूर्यास्त’ शब्द कति मार्मिक छन् भनिरहनु पर्दैन। यस्तै शनिबारको शून्यताको वर्णन गर्दै मुटु छुने गरी लेखिएको छ ‘प्रत्येक शनिबार म पुनः पुनः बन्दी हुन्छु’(पृ.५८)। अनि भदौ, शरदऋतुको प्रकृतिको वर्णन बीपीको कलमबाट अनायास यसरी हुनपुगेको छ– ‘बाहिरको जगत् शरतको द्यौत आभामा सद्यस्नाता कुमारी जस्तो टल्किएको छ’(पृ.१२४)। यो वर्णन पढ्दा भ्यानगगको चित्र हरेजस्तो लाग्दैन? अथवा यो हेरौं– बीपीले प्रयोग गरेको ‘सिगरेटको रातो राप’(पृ.४), ‘नीमको थाँक्रो लगाइएको करेलाको झाँग जस्तो’(पृ.३१) या ‘ज्योतिहीन आँखाको उघ्राइ जस्तै’(पृ.१८७) जस्ता उपमा या बिम्बहरु के हाम्रा स्वनामधन्य कविहरुको टक्करका छैनन्?

    बीपीको शब्दज्ञानकै कुरा गरुँ भने ‘रन्कारन्की’ र ‘भनाभन’(पृ.९५) अथवा ‘साडीको फुर्को’(पृ. १८९) जस्ता शब्दका सँगसँगै सँस्कृतका कविहरुले मात्र प्रयोग गर्ने जस्तो ‘स्नातोद्यत निर्वस्त्रा वपुमान तरुणी’(पृ.३८) भन्ने वर्णन पनि पढ्न पाइन्छ। यस्तो विविधता देख्ता अचम्म पर्नुपर्छ। अझ प्रशंसा गर्नुपर्ने कुरा त के भने यस्ता शुद्ध सँस्कृतका गहिरा शब्दलाई पनि कानमा नबिझ्ने गरी, नेपालीमा उतार्न सक्नु बीपीको राम्रै खुबी हो भन्नु पर्छ। त्यसबाहेक, यो दिनपञ्जी अवलोकनबाट के देखिन्छ भने देवकोटा झैं बीपी पनि कैलेकाहीँ आफैं शब्द बनाएर जडिदिनुहुँदो रहेछ नेपालीमा। त्यसको एउटा मात्र उदाहरण दिऊँ। (पृ.१४७)को ‘पांग्रिरह्यो’ पढ्दा गौँथलीले कोठाभित्र चक्कर काटिरहेको चित्र कति सजीव भएको छ बयान गरिरहनु आवश्यक छैन।

    यति भन्दाभन्दै पनि यस पञ्जीमा देखापर्ने साहित्यिक बीपी त कविभन्दा बढी समालोचक पो देखिनुहुन्छ। त्यो समालोचना सँस्कृत साहित्यको होस्(पृ.१३५–१३७, १४५) अँग्रेजीको होस् (पृ.३२,४२) कि नेपालीको (पृ.१०५) निकै गहिरो अध्ययनको फल हो भन्नैपर्छ।

    यस जेलपुञ्जीमा बीपी जति राजनीतिक नेता हुनुहुन्छ त्यति नै या त्यसभन्दा बेसी साहित्यिक हुनुहुन्छ जस्तो मलाई लाग्छ। जेलमा किताप लेख्ने वातावरण हुन्छ भन्ने तारिणी र (पृ.१६५) गणेशमान(पृ.१९७) र त्यति सजिलो छैन भन्ने बीपीको विश्लेषण(पृ.१९२–१९४) पनि बीपीको साहित्यिक व्यक्तित्वले नै उब्जाएको हो भन्ने छनक पाइन्छ। नत्र त गौँथलीको कथा (पृ. १४६–१४७) र अरिंगालको गुँडको व्यथा(पृ.६८–६९) यी वृत्तान्तहरु त्यति मर्मस्पर्शी पाराले लेख्ने बीपीले किताप लेख्न त्यति सजिलो छैन भन्नुहुने थिएन। यो अरिंगालको गुँडको कथा त्यसै फासफुसमा लिनु हुँदैन। आफैंले आदेश दिएपछि सिपाहीहरुले राँको बालेर त्यो गुँड जलाउँदा बीपीलाई भएको पीडाबोध चानचुने छैन। बीपीको कमलो मन, संवेदनशीलता र मानवतावाद नभन्दा नभन्दै पनि उकेलिएर छरपस्टिएको छ। त्यसै ‘वारदात’को यो अन्तिम वाक्य पढौँ। ‘….बमन त भैहालेन र भोजन पनि गरें तर कस्तो भोजन? स्मशानमा धधकिरहेको चिताको अगाडि बसेर कबाब पकवान खाएजस्तो!’

    लेख्नबस्ने हो भने यस जेलपञ्जीको एकएक पुष्टमाा एकएक परिच्छेद लेख्नुपर्छ, अनि कहीँकहीँ त एउटा वाक्यको व्याख्या गर्न पेजै भर्नुपर्छ। त्यसैले त्यतापट्टि नजाऊँ। पढ्नेहरुले आफैं पढ्दा आफ्नै रुचि अनुसारको स्वाद पाउन सक्छन्, त्यसैले कुनै किसिमको आग्रह राखी व्याख्या गरिरहनु आवश्यक छैन। भएपनि आफूलाई महत्वपूर्ण वा नौला लागेको कुराको चर्चासम्म यहाँ उठाइएको हो। त्यस्तै चर्चा गर्नैपर्ने एक या दुई अरु विषय उठाएर यो गन्थनको बीट मार्नेतिर लागौं।

    त्यस्तो चर्चा गर्नुपर्ने कुरा मलाई बीपीको भारतबारेको धारणा लागेको छ। भारतलाई बीपीले सशंकित आँखाले नै हेर्नुभएको देखिन्छ। जस्तो उहाँले भन्नुभएको वाक्य(पृ.८०) त्यसहिसाबले अर्थपूर्ण छ– ‘हिन्दुस्थान उपर सारा आधार राख्नु बडो ठूलो गल्ती थियो हाम्रा मानिसहरुको।’ त्यसभन्दा कडा प्रहार उहाँले पुस्तकको अन्त्यतिर(पृ.२०१) गर्नुभएको छ। भारतीय राजनीतिको विशद विश्लेषण गरिसकेपछि उहाँ लेख्नुहुन्छ– ‘….मलाई लाग्छ भारतीय सँस्कृतिको सबभन्दा ठूला दोष कपटचारको प्रोत्साहन हो। भारतीयहरु बडा ढोंगी हुन्छन्…’

    निकै कडा आरोप हो एउटा अन्तर्राष्ट्रिय स्तरको नेताबाट। तर बीपीको यो आक्षेप कति ठिक रहेछ भन्ने कुरा पछि उहाँका भारत–प्रवासमा इन्दिरा गान्धीको व्यवहार र उहाँले नेपाल फर्कनुपर्ने परिस्थितिको सिर्जनाले प्रमाणित गरेको छ भनेर हामीले मान्नुपर्छ।

    यस पञ्जीमा बीपीले अर्को त्यस्तै प्रहार गरेको व्यक्तित्व राजा महेन्द्रको छ। उहाँलाई अत्यन्त ठूलो वितृष्णा भएको छ श्री ५ महेन्द्रमाथि। आफूलाई बिनाअपराध त्यसरी त्यति लामो जेलयातना दिनेमाथि उहाँले अप्रिय शब्द प्रयोग गर्नु अस्वभाविक थिएन पनि। तर उहाँका शब्द अप्रिय मात्र होइनन् कटु पनि भएका देखिन्छन्। शुरुमै राजा महेन्द्र ‘मिठो कुरा’बाट उहाँ छकिएको उल्लेख छ(पृ.२३) अनि डेढ वर्षपछि पनि शैलजा, गौरीहरु नछुटेको सन्दर्भमा बीपी बम्कनुभएको छ– ‘…आफ्नो सजायको पूरा अवधि जेलमा काटेर पनि सरकारले रिहा गरेन। अन्धाधुन्ध छ यो राज्यमा। एकदम बहुलट्ठी लागेको छ राजालाई। उनको अन्तिम दिन त होइन आएको?’(पृ.५०)। २०१९ साल पुस १ गते बीपीले लेख्नुभएको छ– ‘राजालाई यदि मैले बुझेको छ भने अब झन् बदलाको भावनाले उनी प्रेरित भएर राजबन्दी… माथि झन् कठोर बर्ताव हुनेछ’(पृ.८२)। अर्को छ ‘राजाको एकतन्त्री हुकुमी शासनको आजकाल बारम्बार प्रमाण नकच्चरो किसिमबाट स्वयम् राजाले दिराखेका छन्’(पृ.९८)। अनि छ– ‘राजाको देशभ्रमणको सिलसिला पनि प्रारम्भ भयो। उनले ठाउँठाउँमा बोलेका कुराहरुमा स्पष्ट अभिमानको झल्को छ– विजेताको फूर्ति(पृ.१७५)। सत्रसाल पुस १ गतेको तुस बीपीको मनबाट कैल्यै जान सकेन भन्ने देखाउँछ यस पञ्जीले। मेलमिलापको प्रकरणपछि के भयो थाहा छैन तर मेलमिलापको उल्लेखले एउटा कुरा भन्न बाध्य गराउँछ– त्यो अवधारणा यस जेल डायरीमा पनि झल्केको छ।

    अब अन्त्यतिर एकदुई कुरा संकेत मात्र गरेर यसलाई टुंग्याऊँ– ती ती विषयमा चाख लाग्ने पाठकहरुले आफैंले खोजेर पढ्न आग्रह गर्दै। यस पञ्जीमा चर्चा भएका ‘ग्रहणमा निरमिष भोजन(पृ.५), किताप र तरुणीको तुलना(पृ.२७–२८), यौन र भोगको समानता(पृ.६१–६२), उपनिषदको निष्प्रयोजन(पृ.१०६), भौतिकवाद अध्यात्मवादको द्वन्द्वबीच बीपी(पृ.११४), युथ्नेसिया, दयामृत्यु(पृ.१३४) इत्यादिलाई चाख हुनेले ध्यान दिएर पढ्नै पर्नेछ।

    यो पञ्जी यति पढेर पनि एउटा कुरा चाहिँ बुझिन्न– बीपीहरुको खबर आदानप्रदानको ‘गुप्ति माध्यम’ के थियो, को थियो(पृ.१७६)। यस पञ्जीमा अर्को बुझ्न नसकिने एउटा चरित्र छ ‘रमेश’ को। कतैपनि उनको थर दिइएको छैन। उनी परिवार पनि होइनन्। उनी राजाका मान्छे हुन् कि बीपीका बुझ्न सकिदैन। तर यति बुझिन्छ– बीपीले उनलाई निकै स्नेहका साथ सम्झनुभएको छ र भरपत्यार पनि गर्नु भएको छ। त्यो भरपत्यार बीपीलाई लाभदायक भयो कि नोक्सानदेह त्यो यस पञ्जीबाट मात्रै त केही पनि खुल्दैन।

    अब चाहिँ साँच्चै टुंग्याऊँ। बीपीले जवाहरलाल नेहरुको मृत्यु र अन्त्येष्टिको प्रसंगमा लेख्नुभएको छ– ‘नेहरु विश्वबन्द्य भएर चितामा चढे। उनको मरणले लाखौंलाख आँखामा आँसु ल्यायो। उनको शवको यात्राले इतिहासका महत्तम चक्रवर्तीहरुको शवयात्रालाई उपेक्षा गरेका थियो होला। नेहरु धन्यधन्य भनेर(भएर?) गए। व्यक्तिगत जीवनमा त्यो भन्दा बढी के चाहना हुन सक्छ?’(पृ.१८७) यस वाक्यमा बीपीको आफ्नो अन्त्येष्टि पनि यस्तै होस भन्ने चाहना परिलक्षित हुँदैन र ? यो पंक्ति कोरेको सत्र वर्ष चार महिनापछि उहाँले पनि त्यसै गर्नुभयो, त्यसैगरी जानुभयो उहाँ लाखौँ लाखलाई रुवाएर, नेपालको इतिहासमा सबभन्दा ठूलो शवयात्रा गराएर। यो बीपीको भविष्यवाणी थियो कि नियतिको बिडम्बना? यसको जवाफ दिनसके निश्कर्ष निस्कन्थ्यो यस दिनपञ्जीको।

    त्यो नि नसकेकाले यति लामो गथासो बेकार नै भयो। यो न निश्कर्ष हुन सक्यो न भूमिका!

    (‘जेल–जर्नल’ दिनपञ्जी किताबमा संग्रहित कमल दीक्षितद्वारा ‘न निश्कर्ष न भूमिका’ शीर्षकमा विश्वेश्वर प्रसाद कोइरालाले लेख्नुभएको कृतिमाथिको समालोचनात्मक आलेखलाईभदौ २४ गते पर्नगएको बीपीको १०९ औं जन्मजयन्तीको सन्दर्भमा जगदम्बा प्रकाशनद्वारा प्रकाशित गरिएको पुस्तकबाट साभार गरिएको।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कमल मणि दीक्षित

      कमल मणि दीक्षित

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.