Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दश दिने अनशन

हरिशंकर परसाई हरिशंकर परसाई
अशोज ६, २०८०
- विमर्शका लागि, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आज मैले बन्नूलाई भनें, ‘हेर बन्नू, समय कस्तो आइसक्यो भने संसद, कानून, संविधान, न्यायालय सबै निकम्मा भइसके। ठूल्–ठूला मागहरु– अनशन र आत्मदाहको धम्कीबाट पुरा गराउने दिन आए। एउटा मानिस मर्ने वा भोकै बस्ने धम्कीले ५० करोड मानिसको भाग्यको फैसला हुने ठाउँमा हामी आइसक्यौँ। २० बर्ष पुरानो प्रजातन्त्र त्यसरी फत्रक्क गली सकेको छ। यति नै बेला तँ पनि त्यो आईमाईका लागि अनशन बसी हाल।’

    बन्नू गम्न थाल्यो। ऊ राधिकाप्रसादकी बुढी सावित्रीको पछि परेको बर्षौं भइसक्यो। उसलाई भगाउन लाग्दा एकचोटी कुटाइ पनि खाइसकेको थियो। छोडपत्र गराएर उसलाई भित्र्याउन पनि सक्दैन किनभने सावित्री उसलाई देखिसहन्न।

    केही बेर गमेर उसले भन्यो, ‘तर, यसका लागि पनि अनशन हुन सक्छ र ?’

    मैले भनेँ, ‘यतिबेला जेका लागि पनि अनसन हुनसक्छ। हालै बाबा सनकीदासले अनशन बसेर प्रत्येक व्यक्तिले जटा राख्नु पर्ने र त्यसलाई धुन नमिल्ने भनी कानूनै बनाइदिए। तमाम टाउकाबाट अहिले दुर्गन्ध बाहेक केही आउँदैन। यसका अघिल्तिर तेरो माग त निकै सानो हो– मात्र एउटी आईमाईका लागि।’

    सुरेन्द्र त्यहीँ बसेको थियो। उसले भन्यो, ‘यार कस्तो कुरा गर्छौ! अर्काकी स्वास्नी पोइल भगाउन पनि अनसन हुन्छ ? हामीले अलिकति भएपनि लाज मान्नुपर्छ है। मान्छे हाँस्छन् यस्तो कुरामा।’

    मैले भने, ‘अरे यार ठूल्–ठूला अनशनधारी साधु–सन्तहरुले त लाज मानेनन्। हामी त साधारण मान्छे हौँ। जहाँसम्म मानिस हाँस्ने कुरा छ– गौरक्षा (गोरक्षा) आन्दोलनलाई लिएर संसारभरीका मानिस यति हाँसिसकेका छन् कि उनीहरुको पेट अझै दुखिरहेको होला। अब कम्तिमा १० बर्षसम्म कुनै पनि मान्छे हाँस्न सक्दैन। जो हाँस्छ ऊ पेट दुखेर मर्ने निश्चित छ।

    बन्नूले भन्यो, ‘सफल भइन्छ त ?’

    मैले भनेँ, ‘त्यो त यसलाई कस्तो मुद्दा बनाउँछौँ भन्नेमा निर्भर गर्छ। राम्रो मुद्दा बन्यो भने आईमाई पाउन सकिन्छ। हिँड, हामी विशेषज्ञकोमा गएर सल्लाह गरौँ। बाबा सनकीदास यसका विज्ञ हुन्। उनको अभ्यास राम्रो चलिरहेको छ। उनकै निर्देशनमा यतिबेला चारजनाले अनसन बसिरहेका छन्।

    हामीहरु बाबा सनकीदासलाई भेट्न पुग्यौँ। पुरै कुरा सुनेपछि उनले भने, ‘ठिक छ। यो मामिला मैले हात हाल्न सक्छु। मैले भने अनुसार गर्नू। तैंले आत्मदाहको धम्की दिन सक्छस् ?’

    बन्नू थर–थर काम्न थाल्यो। सुस्केरामा भन्यो, ‘मलाई डर लाग्छ।’

    ‘जल्नु पर्दैन। धम्की मात्रै दिने हो।’

    ‘मलाई त त्यो भन्न समेत डरलाग्छ।’

    बाबाले भने, ‘ए, त्यसो भए अनसन बस न त। मुद्दा हामी बनाउँछौँ।’

    बन्नु फेरि डरायो। भन्यो, ‘मर्दिनँ होला नि ?’

    बाबाले भने, ‘चतुर खेलाडीहरु मर्दैनन्। उनीहरुको एउटा आँखा मेडिकल रिपोर्टमा र अर्को आँखा मध्यस्थताको टेबुलमा हुनेगर्छ। तैँले चिन्ता नगर। तँलाई पनि जोगाउँछौँ र त्यो आईमाई पनि तेरो पोल्टामा पारिदिन्छौँ।’

    ११ जनवरी
    आज, बन्नू आमरण अनसनमा बस्यो। पालमा धुप–दीप जलिरहेको छ। एउटा टोली भजन गाउँदै छ– ‘सबलाई सम्मति देऊ भगवान!’ पहिलो दिनै वरपर पवित्र वातावरण निर्माण गरिएको छ। बाबा सनकीदास यो कलामा बडो माहिर छन्। उनले बन्नूको नाममा, जुन वक्तव्य छापेर बाँडेका छन्, त्यो निकै शसक्त छ।

    त्यसमा बन्नूले भनेको छ– ‘मेरो आत्माबाट म अधुरो हुँ भन्ने पुकार उठिरहेको छ। मेरो अर्को खण्ड सावित्रीमा छ। कि त दुबै आत्म–खण्डलाई मिलाएर एक गराऊ होइन भने मलाई पनि मेरो शरीरबाट मुक्ति देऊ। म ती दुवै आत्म–खण्डलाई एक बनाउनका लागि आमरण अनशनमा बसेको छु। सावित्रीलाई पाउन सकुँ भन्ने मेरो माग छ। यदि मैले त्यो खण्ड पाउन सकिन भने म अनशनबाटै यस आत्म–खण्डलाई आफ्नो नश्वर देहबाट मुक्त गरिदिने छु। म सत्यको पथमा छु, त्यसैले निडर छु। सत्यको जय होस्!’

    सावित्री रिसले चुर भएर आएकी थिई। बाबा सनकीदासलाई भनी, ‘यो हरामखोर मेरा लागि अनशनमा बसेको छ होइन ?’

    बाबाले भने, ‘देवी उसलाई अपशब्द प्रयोग नगर। ऊ पवित्र अनशनमा बसेको छ। हरामखोर पहिले थियो होला। अब रहेन। अहिले उ पवित्र कर्ममा छ।’

    सावित्रीले भनी, ‘तर, कम्तिमा मलाई त सोधेको भए हुन्थ्यो। म त यसलाई थुक्छु।’

    बाबाले शान्त भावमा भने, ‘देवी, खासमा तिमी त हौँ– मुद्दा। मुद्दासँग सोधिँदैन। गौरक्षा (गोरक्षा) आन्दोलन गर्नेहरुले गाईसँग सोधेका थिए र ? तेरो रक्षाका लागि आन्दोलन गरौँ कि नगरौँ भनेर। देवी अब तिमी जाऊ। तिमी र तिम्रो पति अब यहाँ नआएकै बेस। एक–दुई दिनमा जनमत निर्माण हुन्छ र त्यसपछि तिम्रा अपशब्द जनताले सहन सक्दैनन्।

    ऊ बड्बडाउँदै गई।

    बन्नू उदास देखियो। बाबाले सम्झाउँदै भने, ‘चिन्ता नगर। विजय तिम्रै हुन्छ। अन्त्यमा सत्यकै जीत हुन्छ।’

    १३ जनवरी
    बन्नू भोकका अघिल्तिर बडो लवस्तरो छ। तेस्रो दिनै आज विलाप गर्न थाल्यो।

    सोध्छ, ‘जयप्रकाश नारायण आए ?

    मैले भनेँ, ‘उनी पाँचौँ कि छैठौँ दिन आउँछन्। उनको नियमै हो। उनलाई सूचना पुर्‍याइसकिएको छ।’

    फेरि सोध्छ, ‘यस विषयमा विनोबा भावेले के भने ?’

    बाबाले भने, ‘उहाँले साधना र साध्यको मीमांसा गर्नु भएको छ तर उहाँको कुरालाई अलिकति तोडमोड गरेर आफ्नो पक्षमा उपयोग गर्न सकिन्छ।’

    बन्नूले आँखा बन्द गर्‍यो। र, भन्यो, ‘ए हजुर जयप्रकाशलाई छिटो बोलाउनुस्।’

    आज पत्रकारहरु पनि आएका थिए। चाट्नु दिमाग चाटेर गए।

    सोध्न थाले, ‘के हेतुले अनसन बस्नु भएको ? यो मुद्दा सार्वजनिक हितमा छ ?’

    बाबाले भने, ‘हेतु, हिजोआज हेरिँदैन। आजको मुख्य प्रश्न– यसको प्राण के गरी जोगाउने भन्ने हो। अनशन बस्नु आफैंमा यति ठूलो आत्म–बलिदान हो कि हेतु पनि पवित्र हुन जान्छ।’

    मैले भनेँ, ‘यो अनसनले थप सार्वजनिक हित हुनेछ। कयौँले अर्काकी बुढी ल्याउन चाहन्छन् तर उनीहरुलाई के गरी ल्याउने थाहा छैन। अनशन सफल भयो भने, जनतालाई मार्गदर्शन हुनेछ।’

    १४ जनवरी
    बन्नू थप कमजोर भयो। उसले अनशन तोड्छु भन्दै हामीलाई पो धम्क्याउन थाल्यो। अनशन तोडियो भने हामी सबैको अनुहारमा ध्वाँसो पोतिन्छ भनेर बाबा सनकीदासले उसलाई निकै सम्झाए।

    आज बाबाले अर्को अद्भुत काम गरे। कुनै स्वामी रसानन्दको वक्तव्य पत्र–पत्रिकामा छपाइदिए। स्वामीजीले तपास्याकै शक्तिद्वारा आफूले भूत र भविष्य दुवै देख्न सक्ने बताउँदै, बन्नू पूर्वजन्ममा ऋषि भएको र सावित्री ऋषिकी धर्मपत्नी रहेको दिक्ष्यबाट थाहा पाएको बताए। त्यस जन्ममा बन्नूको नाम ऋषि वनमानुष थियो। उसले तीन हजार बर्षपछि फेरि नरदेह धारण गरेको छ। सावित्रीसाँग उसको जन्म–जन्मान्तरको सम्बन्ध छ। र, ऋषि पत्नीलाई राधिकाप्रसाद जस्तो साधारण मानिसको घरमा राख्नु घोर अधर्म हो। त्यसैले समस्त धर्मप्राण जनतासँग यो अधर्मलाई रोक्न म विनम्र आग्रह गर्छु।

    यो वक्तव्यले सबैतिर राम्रो प्रभाव पार्‍यो। केही ठाउँमा मानिसहरुले ‘धर्मको जय होस्!’ भन्दै नारासमेत लगाए। एउटा भिडले राधिका प्रसादको घर अघिल्तिर नारा लगाई रहेको थियो– राधिका प्रसाद पापी हो! पापीको नास होस्! धर्मको जय होस्।’

    स्वामीजीले मन्दिरहरुमा बन्नूको प्राण–रक्षाका लागि प्रार्थनाको आयोजन गराइदिएका छन्।

    १५ जनवरी
    रातमा राधिकाप्रसादको घरमा ढुङ्गा हान्न लगाइयो। राम्रो जनमत बनेको छ। महिला–पुरुषहरुको मुखबाट हाम्रा एजेन्टहरुले के सुने तपाईंलाई थाहा छ ?

    उनीहरु भन्दै थिए– ‘विचरा पाँच दिन भयो। भोकै लडेको छ।’

    ‘धन्य त्यसको निष्ठा।’

    ‘तर, त्यो निठुरीको मन अझै पग्लिएको छैन।’

    ‘उसको लोग्ने पनि कति लाज पचाएको मान्छे रैछ, छ्या।’

    ‘पछिल्लो जन्ममा ऋषि थियो भन्ने सुनिन्छ नि।’

    ‘स्वामी रसानन्दको वक्तव्य पढेका छैनौ ?’

    ‘ऋषिकी धर्मपत्नीलाई घरमा राख्नु ठूलो पाप हो।’

    आज ११ सौभाग्यवतीहरुले बन्नूलाई अक्षेता–माला लगाए र उसको आरती गरे। बन्नू निकै खुसी भयो। सौभाग्यवतीहरुलाई देखेर उसको मन तरंङ्गित थियो।

    अखबार अनशनका समाचारहरुले भरिएका छन्।

    आज एउटा भिडलाई हामीले प्रधानमन्त्री निवासमा ‘प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्छ’ भन्ने माग गर्न र बन्नूको प्राण रक्षाको अपिल गर्न पठाएका थियौँ। प्रधानमन्त्रीले भेट्न मानेनन्। हेरौँ कहिलेसम्म भेट्न नमान्दा रहेछन्।

    साँझ जयप्रकाश नारायण आएका थिए। त्यति खुसी थिएनन्। भन्न थाले, ‘क–कस्को प्राण जोगाउँ म ? यही धन्धा हो र मेरो ? प्रत्येक दिन कोही न कोही अनशनमा बस्छ र प्राण जोगाउ भनेर चिच्याउँछ। प्राण जोगाउने हो भने भात किन खान्नस् त ? प्राण जोगाउन मध्यस्थता कहिलेदेखि चाहिने भयो ? यस्तो पनि हुन्छ ? अर्काकी स्वास्नी खोस्नलाई अनशन जस्तो पवित्र अस्त्रको उपयोग हुन थालेको छ।’

    हामीले बुझाउने प्रयत्न गर्‍यौँ, ‘यो मुद्दा अलिक भिन्न ढंगको हो। आत्माकै पुकार हो।’

    उनी शान्त भए। भने, ‘आत्माकै कुरा हो भने म यसलाई मिलाउँछु।’

    मैले पनि थपेँ, ‘त्यति मात्रै होइन, कोटी–कोटी धर्मप्राण जनताको भावना पनि यससँग जोडिएको छ।’

    जयप्रकाश मध्यस्थता गर्न तयार भए। उनले सावित्री र उनका पतिलाई भेटेर प्रधानमन्त्रीलाई भेट्ने निधो भयो।

    बन्नू बडो दिनभावका साथ जयप्रकाशलाई हेरिरहेको थियो।

    हामीले उसलाई पछि भन्यौँ, ‘अबे साले, यति दिनभावका साथ कसैलाई पनि नहेर। तेरो कमजोरी थाहा पाए भने जो–कुनै नेताले पनि तँलाई मौसमको रस पिलाई दिन बेर छैन। वरपर हेर्‍या छैनस, कति नेताले झोलामा मौसम राखेर पालको फेरो लगाई रहेका छन्।’

    १६ जनवरी
    जयप्रकाशको ‘मिसन’ असफल भयो। कोही मान्न तयार छैन। प्रधानमन्त्रीले भने, ‘बन्नूका प्रति मेरो सहानुभूति छ तर म केही गर्न सक्दिनँ। पहिले अनशन तोड्न भन्नुस् अनि शान्तिपूर्वक वार्ताद्वारा समस्याको हल खोजौँला।’

    हामी निराश भयौँ। बाबा सनकीदास निराश भएनन्। उनले भने, ‘आरम्भमा सबैले माग अस्वीकार गर्छन्। यही चलन हो। अब आन्दोलन तिब्र गर्ने बेला आयो। बन्नूको पिसाबमा ‘एसीटोन’ धेरै बग्न थाल्यो भनेर अखबारहरुमा छपाउ। उसको अवस्था चिन्ताजनक छ भन। बन्नूको प्राण कुनै पनि मुल्यमा जोगाउन पर्छ भनेर वक्तव्य छपाउन लगाउ। सरकार बसेर के हेरी रहेको छ ? बन्नूको बहुमूल्य प्राण जोगाउन उसले तत्काल कुनै न कुनै कदम उठाउनै पर्छ भनी आवाज उठाउन लगाउ।’

    बाबा अद्भूत मान्छे हुन्। कति धेरै विकल्प छन् उनका दिमागमा। भन्छन्, ‘अब आन्दोलनमा जातिवाद मिसाउने बेला आयो। बन्नू ब्राम्हण हो र राधिका प्रसाद कायस्थ। एकातर्फ ब्राम्हणहरुलाई भड्काउ अर्कोतर्फ कायस्थहरुलाई। ब्राम्हणसभाका मन्त्री आगामी निर्वाचनमा उम्मेदवार हुँदैछन्। उनीहरुलाई ब्राम्हणको भोट लिने यही उपयुक्त बेला हो भनेर भन।’

    आज राधिकाप्रसादको तर्फबाट सावित्रीसँग भाइटिका लगाउने प्रस्ताव आएको थियो।

    हामीले हुँदैन भन्दियौँ।

    १७ जनवरी
    आजका पत्रिकाहरुमा शिर्षक यस्तो छ–

    ‘बन्नूको प्राण जोगाउ!’

    ‘बन्नूको हालत चिन्ताजनक!’

    मन्दिरहरुमा प्राण–रक्षाका लागि प्रार्थना!’

    एउटा पत्रिकामा हामीले विज्ञापनको दर रेटमा यस्तो छपाई दियौँ–

    ‘कोटी–कोटी धर्म–प्राण जनताको माग!

    बन्नूको प्राण–रक्षा गरियोस्!

    बन्नूको मृत्युले भयानक परिणाम निम्त्याउने छ!’

    ब्राम्हण समाजका मन्त्रीहरुको वक्तव्य पनि छापियो। उनीहरुले यसलाई ब्राम्हण जातिको प्रतिष्ठाको विषय बताए। साथै सोझै कारबाहीको धम्की पनि दिए।

    हामीले चारजना गुण्डाहरुलाई कायस्थहरुको घरमा ढुङ्गा हान्न पक्का गरेका छौँ। त्यो काम फत्ते गरेर उनीहरुले नै ब्राम्हणका घरमा पनि ढुङ्गा हान्ने छन्।

    उनीहरुलाई बन्नूले पेस्की दिइसकेको छ।

    बाबाका अनुसार भोलि वा पर्सीसम्म कर्फ्यू  लगाउने वातावरण पनि मिलाउनु पर्छ। दफा १४४ त कम्तिमा लाग्नै पर्छ। यसले मुद्दा बलियो हुन्छ।

    १८ जनवरी
    राती ब्राम्हण र कायस्थका घरमा ढुङ्गा हान्ने काम सफल रह्यो। बिहानै ब्राम्हण र कायस्थबीच राम्रैसँग ढुङ्गा हानाहान भयो। शहरमा दफा १४४ लाग्यो। सनसनी फैलिएको छ।

    हाम्रो प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई भेटेको थियो। उनले भने, ‘यसमा कानूनी व्यवधानहरु छन्। विवाह कानूनमा संशोधन गर्नुपर्ने हुन्छ।’

    हामीले भन्यौँ, ‘त्यसो हो भने संशोधन गर्नुस्। अध्यादेश जारी गराउनुस्। तर, कसैगरी बन्नूको ज्यान गयो भने देशैभरी आगो लाग्छ।’

    उनले भने, ‘पहिले अनशन तोडाउनुस्।’

    हामीले भन्यौ, ‘पहिले सरकारले सैद्धान्तिक रुपमा माग स्वीकार गरोस् र एउटा समिति गठन गरोस्। त्यसपछि सोही समितिले उसले त्यो आइमाई कसरी पाउन सक्छ भनेर सुझाओस्।’

    सरकारले हाल विकसित परिस्थिति नजिकदेखि नियाली रहेको छ। बन्नूले अझै केही दिन कष्ट भोग्नु पर्ने हुन्छ।

    मामिला जहाँको त्यहीँ अडिएको छ। वार्तामा ‘डेडलक’ आइपुगेको छ।

    छिटपुट झगडाहरु भइरहेकै छन्।

    राती हामीले पुलिस चौकीमा ढुङ्गा हान्न लगाइदियौँ। यसले राम्रो संदेश गएको छ।

    ‘प्राण जोगाउ’ भन्ने माग आज थप बढेको छ।

    १९ जनवरी
    बन्नू सारै कमजोर भएको छ। मर्छु कि क्या हो ? भनेर आत्तिएको छ। हामीले उसलाई फसाइदियौँ भनेर बर्बराउन थालेको छ। कतै वक्तव्य दियो भने हामी ‘एक्सपोज’ हुन्छौँ।

    जे गरे पनि छिटै गर्नु पर्नेछ।

    यत्तिकै अनशन तोड्ने हो भने जनताले उसलाई मार्न बेर लगाउँदैनन् भनेर हामीले उसलाई भनेका छौँ।

    प्रधानमन्त्री भेट्न प्रतिनिधि मण्डल फेरि जाँदैछ।

    २० जनवरी
    ‘डेडलक’

    यसबीच जम्मा एउटा बस जलाउन सकियो।

    अब बन्नू सम्हालिन सकेको छैन।

    उसको तर्फबाट हामी नै भनिरहेका छौँ– ‘ऊ मर्न तयार छ तर झुक्दैन!’

    सरकार पनि अलिक आत्तिए जस्तो लाग्छ।

    साधु संघले आज बन्नूको मागमा समर्थन जनाइदियो।

    ब्राम्हण समाजले अल्टिमेटम दिइसक्यो। माग पुरा नभए १० ब्राम्हणले आत्मदाह गर्नेछन्।

    यसबीच सावित्रीले आत्महत्याको प्रयास गरेकी थिई, तर छिमेकीहरुले उसलाई जोगाए।

    बन्नूको दर्शनका लागि लाईन लागेको छ।

    राष्ट्रसंघका महासचिवलाई आज चिठ्ठी पठाइएको छ।

    ठाउँ–ठाउँमा प्रार्थना सभा भइरहेका छन्।

    डा. लोहियाले यो सरकार रहुञ्जेल न्यायोचित माग पुरा नहुने बताउँदै उनले सावित्रीको सट्टा सरकारलाई नै भगाई लैजान बन्नूलाई सुझाएका छन्।

    २१ जनवरी
    सरकारले बन्नूको माग सिद्धान्ततः स्वीकार गर्‍यो। व्यवहारिक समस्या समाधान गर्न एउटा समिति बनाइएको छ।

    भजन र प्रार्थनाका बीच बाबा सनकीदासले बन्नूलाई मौसमको झोल खुवाए। नेताहरुको मौसम झोलामै सुक्यो। बाबाले प्रजातन्त्रमा जनभावनाको आदर हुनुपर्ने कुरा बताए। यो प्रश्नका साथ कोटी–कोटी जनताको भावना जाडिएको थियो। राम्रै भयो, समस्याको हल शान्तिपूर्ण ढंगबाटै खोजियो नत्र हिंस्रक क्रान्ति हुन्थ्यो।

    ब्राम्हणसभाका विधान सभा उम्मेदवारले आफ्नो चुनावी प्रचारका लागि बन्नूलाई अग्रिम अनुबन्ध गरिसकेका छन्। निकै ठूलो रकम दिएका छन्। बन्नूको दाम निकै बढेको छ।

    चरण छुँदै गरेका नर–नारीसँग बन्नू भन्छ, ‘सबै ईश्वरको इच्छाले भएको हो। म त उसको माध्यम मात्रै हुँ।’

    नारा लागि रहेको छ– सत्यको जय होस्! धर्मको जय होस्!

    – नेपाल रिडर्सका लागि नरेश ज्ञवालीको अनुवाद । 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      हरिशंकर परसाई

      हरिशंकर परसाई

      परसाई हिन्दी साहित्यका मुर्धन्य व्यंग्यकार हुन्। उनका ‘हँसते हैं रोते हैं’, ‘भोलाराम का जीव’, ‘जैसे उनके दिन फिरे’ कथा सङ्ग्रह प्रकाशित छन्। ‘सदाचार की ताबीज’, ‘आवारा भीड के खतरे’, ‘प्रेमचन्द के फटे जुते’, ‘ऐसा भी सोचा जाता हैं’ लगायत निबन्ध सङ्ग्रह प्रकाशित छन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.