Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कमरेड बुधना अर्थात् जनयुद्धको उलार

नरेन्द्रजंग पिटर नरेन्द्रजंग पिटर
अशोज २२, २०८०
- पुस्तक, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    शान्ति प्रक्रियाको केही समयपछि नेपालगन्ज बजार पुग्न साधन खोज्दै भौँतारिइरहेको बेला एउटा रिक्सा मेरो सामुन्नेमा खडा भयो।

    “केशर पहाडी कमरेड होइन? चिन्नै नसक्ने पो हुनुभएछ नि !”

    धेरै दिनपछि युद्धकालीन नामबाट बोलाइँदा झसङ्ग भएँ। यस पटकको दसैँमा आफन्त, मित्र र परिवारजनसँग भेटघाट गर्न फूलपातीको दिनमा साँझको फ्लाइटबाट नेपालगन्ज पुग्दा एक घण्टा ढिलो भइसकेको थियो। राझा एयरपोर्ट उत्रँदा झम्केसाँझ परिसकेकाले मान्छे खुट्ट्याउन गाह्रो पर्ने बेला अनायासै पुरानो नामले बोलाइँदा पहिलाका दिन, भूमिका, परिचय र सपना सबै एकाएक फिल्मी चक्का घुमेझैँ रन्थनाए। बोलाउनेलाई नियाल्न थालेँ।

    “शीला कमरेड पनि आउनुभएको र’छ, चिन्नुभएन। भर्खर गएको सेतो गाडीमा लाग्नु भो। पुलिसको गाडी पछाडि पछाडि थियो। “शीला अर्थात् पूर्णा सुवेदी”, सामुन्नेको मान्छेले यसो भनेपछि उनलाई नियाल्न थालेँ। पहिला त मलाई पनि मुस्किल भयो, पछि त चिनिहालेँ। मेरो सामुन्नेमा थिए, बुधना।

    बुधना अर्थात् आत्मीयताले बोलाउने कुनै बेलाका सहयोद्धा बर्दियाका कमरेड बुधना थारु। उनको अहिलेको नाम अथवा युद्धमा होमिनुभन्दा पहिलाको नाम अझै थाहा छैन। बुधना अर्थात् अर्बान कमान्डर। ऊ कैयौँ सफल कारबाहीको सदस्य र कमान्डर पनि। सहरी आन्दोलनमा अनेकौँ रुप र भूमिकामा रहे। बुधनाको याद गर्दा हरेक कामलाई फत्ते गर्ने हिम्मती कलाकार अर्बान गुरिल्ला भनेर प्रशंसा गरेर थाक्दैनथ्यौँ। कैयौँ कीर्तिमान बनाएका थिए। कमैया परिवारमा जन्मेका। तीनपुस्ते कमैया। जनयुद्धले सपना देखाएपछि सङ्घर्षमा होमिए। बहिनीलाई गिरफ्तार गरी शाही सेनाले कुत्सित वासना पूरा गरेर चिसापानीमा हत्या गरेको थियो। अब्बल दर्जाका गुरिल्ला भनेर प्रशासनमा पनि रेकर्ड थियो। उनको जग्गा जमिन थिएन। आयामका असली सहयोद्धा थिए। गद्दारीभन्दा ठुलो कुनै पाप हुँदैन भन्ने कुरा आयामले सिकाएका थिए। जीवन व्यवहारमा प्रयोग गरिसकेर उम्दा दर्जाको पहिल्यै ठहरिइसकेका थिए। वर्गघृणा चरम थियो। सामन्तको सुकिलो बिस्तारामा मुतिदिएर घृणा जाहेर गरेको आफैँले देखेको थिएँ। शत्रुको बिउ राखेमा शत्रु नै हुन्छ, आगोको सानो झिल्को राखे पनि आगै हुन्छ भन्थे। कमरेड बुधना अहिले रिक्सावाला बुधना भएका छन्।

    म यात्रु। साधनको कमी छ। साँझको बेला छ। सामुन्नेमा रिक्सा छ। चढौँ कि नचढौँ, दोमन भयो। मेरो द्विविधाको लख काट्छन् र भन्छन्, “के सोचिराख्नुभा’छ कमरेड, जाऊँ।” म अलमलमा पर्छु। नवीन कमल शाहीलाई लिएर नेपालगन्ज लागिसके। मोहन मलाई लिन धेरै बेरदेखि कुरिरहेका छन्। अनलले पाल्पा बसाइमै कमरेड बुधना रिक्सावाल बनेको र अझै सपनी सजाइरहेको बताइसकेका थिए। सबाल्टर्न बनेका धेरै बुधनाहरु जनयुद्धका योद्धा हुन्। उनीहरुले इतिहास रचे र कीर्तिमान खडा गरे। अरुलाई नायकमा दराए। आज भुइँमान्छे बनेर हिजोलाई गमिरहेका छन् र भोलिलाई नियालिरहेका छन्। कसैसँग गुनासो छैन। छ भने ती ढोँगी र पाखण्डीहरुसँग छ, जो आदर्शको गफ गर्छन् र अपराधीको व्यवहार गर्छन्। नव–माओवादीहरुले त्यो मर्म र अवस्था कति बुझे वा बुझ्ने कोसिस गरे; त्यो उनलाई थाहा छैन। बुधनाहरुको कीर्तिमान थाहा नपाई उनीहरुको ओज कसरी थाहा पाउने? त्यही कुरा थाहा नपाई बुधनाका हकवाला र अंशियार बने, त्यो विषय भने चानचुने छैन। बुधनासँग सामुन्नेमा आँखा जुधाएर कुरा गर्ने हिम्मत नभएर ओझेलिन चाहन्थेँ। तितो सत्य अत्यन्तै पीडादायी बन्छ।

    आज बुधना, रिक्सा, कमरेड र केशर पहाडीले अचाक्ली नै पीडाबोध गरायो मलाई। तितो वास्तविकताको सामना गर्न बुधनासँगै बजार लाग्छु। एउटा सुकिलो कमरेडलाई कमरेड बुधनाले रिक्सामा तान्दै हिजो र आजका कुरा, पार्टी, सङ्घर्ष, गाउँ र सहरबारे छलफल गर्दै अघि बढ्छौँ। उनले रिक्सा तानिरहेका छन्। तर, मेरो मस्तिष्क भने खलबलिइरहेको छ।

    अहिले पनि उनी पत्रिका पढ्छन् अरे। युद्धले उनलाई सोच्न सक्ने र राम्रो–नराम्रो, आफन्त–पराइ छुट्टयाउन सक्ने बनाएको छ अरे। आफ्नो अवस्था बुझ्ने मान्छे बनाएको छ। चलेका बहस, पूरा हुन नसकेका सपना, आफैँलाई ठगिरहेका भूतपूर्व कमरेडहरु, कमरेड नामका नवधनाढ्य र नयाँ सामन्तहरु, सुकिला कुरा र सुकिला नाराभित्र सडेका आफ्नै भूमिका लुकाउने हिजोका सहयोद्धालाई पिचिक्क थुकिदिन्छु भन्छन् उनी। “गद्दारहरुलाई, कायरहरुलाई, आदर्श नामधारी अपराधीहरुलाई; सडेगलेका र थाकेकाहरुको एक एक हिसाबकिताब डायरीमा छ र कुनै दिन हरहिसाब गर्ने दिन अवश्य आउनेछ”, उनी भन्छन्।

    कोहलपुर नेपालगन्जको मूलबाटो। अनियन्त्रित गाडीहरुको हेडलाइटले आँखाको नानी खाइदिएको छ। बुधनामा हिजोको जस्तै जिज्ञासा छ। बात गरेर नथाक्ने। होइन कमरेड केशर, मेरो कानुनी र चलनचल्तीको नाम उनलाई थाहा छैन र वास्ता पनि राख्दैनन्, न त अहिलेको परिचय र कार्यक्षेत्र नै सोध्छन्। अहिले तीनवटा दस्तावेज आएका छन् रे, त्यो के हो? “सत्य अन्वेषण अभियान”, म जवाफ दिन्छु। “तिनै दस्तावेजका समर्थक हेर्दा त यो बहस भनेको नेताहरुको फेरो समातेर आफूलाई चोखो पार्नेहरुको खेलझैँ लाग्छ। केन्द्रमै सल्ट्याउन नसकेर तल फालिदिएर समस्या समाधान हुन्छ? पालुङटारको महाभेलाले कसरी सत्यको अनुसन्धान गर्ला र?”

    चार किलोमिटरको बाटोमा यात्रु र रिक्सा चालक बनेका भूतपूर्व सहयोद्धासँगको यस सहयात्रामा बुधनाका कैयौँ प्रश्नहरुको जवाफ दिने नैतिक हिम्मत र तर्क मसँग छैन। पालुङटार जानेमा धेरै नयाँ चेहरा छन्, जसलाई न त बुधनाले चिनेको छ न त उनीहरुले नै उसलाई। कैयौँ गएकाहरु बुधनाले चाल नपाओस् भन्नेहरु पनि छन्। विचारको गुटको फेरो समातेर आफूलाई अब्बल साबित गर्नेहरु कैयौँ छन्। तर, ती सबैको हिसाबकिताब भने बुधनाहरुले राखिरहेका छन्। धम्बोझी पुग्छन्; रिक्सा, बुधना र केशर पहाडी। आफैँलाई ठग्नु भनेको महापाप हो कमरेड भन्दै युद्धकालीन हात च्याप्प समात्छन् बुधना। सुकिला कमरेडसँग भाडा लिन मान्दैनन्। तर, जबर्जस्ती पकेटमा हालिदिएर आफैँदेखि आतङ्कित हुँदै बस्तीतिर हतार हतार लम्किन्छु। गम्दै र सोच्दै। आफैँले बनाएको र आफूले स्वीकार गरेको आदर्शको कठघरामा उभिनु चुनौतीपूर्ण हुँदोरहेछ।

    ०००

    चुनौतीको बीचमा नायक

    फर्केर हेर्छु, गम्छु र फेरि आफूले आफैँलाई चिमोट्नु वा जिउँदो प्रमाणित गर्नु कठिन कार्य हो भन्ने बुझ्छु। जनयुद्धले उत्पादन गरेका नायकहरुले इतिहासबाट त सिकेनन् नै, आफ्नै वर्तमानमाथि पनि निर्मम प्रहार गरे। घर साङ्लालाई वन साङ्लाले खाइनसकेको समय। शब्दमा शक्ति र आदर्शको साथ चलिरहेको समय। यदुवंशी त घरकै शक्तिले मैमत्त छन्। बढ्दो महङ्खवाकाङ्क्षाको व्यवस्थापन हुन सकेको छैन। नेतृत्वलाई पनि कार्यकर्ताको आदर्श जोगिए आफ्नो फेरिएको वर्गसम्बन्ध, परिवारवाद र भ्रष्टताले जवाफदेही बनाउन खोज्छ भन्ने त्रास छ। अरुलाई भ्रष्ट नपारे आफ्नो भ्रष्टता, सिद्धान्तहीनता र सपनाको हत्यारा लुक्न सक्दैन। बोल्दै गरेका, भनिएका, कहिएका, कुर्लिएका कुराहरुले जवाफदेहिता माग्थे। अर्कातर्फ खुला परिवेशमा पनि केही कार्यकर्ता र शुभचिन्तकमा भने आलोचनात्मक चेत र आशङ्का जन्माउँदै पनि थियो।

    त्यसै बेला लेखेको हुँ, “निराश जनतामा तिमी आवेग पैदा गर्न सक्छौ, सपना देखाउँदै उत्तेजनामा ल्याउन पनि सक्छौ, विद्रोह भर्दै मानवीय चमत्कारले शक्ति ध्वस्त पार्न र नयाँ सिर्जना गर्न पनि सक्छौ। तर, देखाइएका सपना, जगाइएका आकाङ्क्षा, शङ्खनाद गरिएका आदर्श र प्रतिबद्धतामा स्वयम् तिमी खरो उत्रन सकेनौ भने समय घर्किँदै जाँदा निरर्थक साबित हुनेछौ। तर, ख्याल गर, यदि साँच्चै नै तिमी पनि निरर्थक भयौ भने युगले नै अर्को दुर्घटना बेहोर्नुपर्ने हुन्छ। नेपाली समाजको गतिशीलतामा फेरि केही समय ब्रेक लाग्न सक्छ।”

    विचारले जन्मेका भावनालाई असङ्ख्य मानिसहरुले एकैचोटि जब सपनामा सजाउन थाल्छन्, त्यसले नै प्रलयकारी सामाजिक शक्ति जन्माइदिन्छ। भलै त्यो स्वप्नद्रष्टामा तिमी नै पहिलो हौला ! केही छैन। यदि त्यो स्वप्नभङ्ग भयो भने र त्यसलाई ध्वस्त पारिरहँदा तिमी स्वयम् पनि टुलुटुलु हेरेर मौन भइदियौ भने अरु सडकपेटीका द्रष्टा मात्रै बन्नेछन्। तर, त्यहाँ तिम्रो मात्र भविष्य लुटिएको हुने छैन, तमाम स्वप्नद्रष्टाको लुटिनेछ। घायल परिवेश जाग्न फेरि अर्को पर्खाइमा रहनुपर्ने हुन्छ। लामो काल पनि कुर्नुपर्ने हुन सक्छ।

    थाकेको मानसिकता र थकाइ मारेको सामाजिक आवेगलाई तताउन अरु स्वप्नद्रष्टा जन्मनुपर्छ। नाङ्गो सत्य अत्यन्तै तितो र टर्रो लाग्न सक्छ। युगीन आवाज घन्काउँदा जोर्डानो ब्रुनो मात्रै होइन, लखन थापा पनि बन्न सक्नुपर्छ मान्छेले। जान्नु र थाहा पाउनु कहिलेकाहीँ ‘गल्ती’ हुन सक्छ भने समयपूर्व सत्य बोल्नु पनि ‘अभिशाप’ बन्न सक्छ। यदि त्यही अभिशापको चक्रव्यूह तोडेनौ भने भलै तिमी सुन्दर गीत गाउन त नछोडौला, तर यथास्थितिका पहेरेदारहरुले शक्तिलाई टक्रयाएको सलामीको अर्थ खोजिहालौला भन्ने हुँदैन। सुविधाका भाषा दुविधामा हुन्छन्। शक्ति हत्याउनेहरु स्वयम् शक्तिशालीहरुको सामुन्ने विवेक बन्धक राखेर लम्पसार पर्छन्। त्यसैलाई फेरिएको अर्थ लगाउन थाल्यौ र त्यसकै आडमा रहन र रमाउन चाह्यौ भने पत्तै नपाई चिप्लिएको तिमीलाई कसले सम्झाइदेला?

    तिम्रो ‘महानता’ हजारौँको बलिदानको चिहानमा ठडिएको गौरव हो। आस्थाको धरहरा हो। मुर्दाको भाषामा अझ तागत हुन्छ भन्ने कुरा ख्याल राखेनौ भने बुख्याँचाहरुको सलामीमा रमेर इतिहासलाई गिज्याउँदै यसलाई ‘मुर्दाहरुको कथा’ त भन्न सकौला, उनीहरुकै भजन कीर्तनमा रम्न पनि सिकौला, तर श्रीमान् ! सफलता र असफलता वा नायक र खलनायकको अत्यन्तै पातलो धर्कोको सिमाना हुन्छ भन्ने कुरा चाल नपाउन पनि सकौला है !

    विमतिका भावहरुलाई भलै तिमी घुँडा टेकाउँदै निषेध गर्न सकौला र आदेशमा दुनियाँँ बदल्नुपर्छ भन्ने हुकुम दिन पनि सकौला। तर, नयाँ यथार्थले पुरानो सत्यलाई विस्थापित गर्ने कुरा पत्तो पाउन सकेनौ भने र लम्पटहरुको स्मृतिको महानायक र काल्पनिक मस्तीमा अल्झन लाग्यौ भने महानताको धरहराबाट तिमी आफैँ ओह्रालो लाग्नेमा दरिन सक्छौ। त्यसको पत्तै नपाउन सक्छौ।

    राजा महाराजा गर्भे जर्नेल हुन्छन्। तर, नायक भने समय र समाजले मात्रै जन्माउँछ। सामाजिक जटिलताले पैदा गरेका समस्या र त्यसलाई हल गर्ने विधि पहिल्याउँदै मौनताभित्रै शक्तिबोध गराउने र त्यसलाई वाणी दिने पहिलो मान्छे नै नायकमा दरिन्छ। नायक मालिक होइन, सबैको अगुवा तथा सामाजिक मित्र मात्र हो। उसले वफादार सेवक नभई इमानदार सहयात्रीको अपेक्षा गर्दछ। यदि तिमी सत्यको पहिलो द्रष्टा र पहलकर्र्ताको अलौकिक गुणको धनी बनेको जोखना हेर्न थाल्छौ भने भलै केहीको भाग्यविधाता त बनौला, तर समाज र कालखण्डमा नायक बनेर हृदयमा रहन भने सक्ने छैनौ।

    राजा महाराजाको शक्तिको स्रोत परम्परागत सेना हो। आधुनिक राजा रजौटाको तागत कर्पोरेट धन दौलत हो। तिनीहरु भोको पेटलाई जता पनि डोर्‍याउन सकिन्छ भन्ने मान्यता राख्छन्। न त उनीहरु हस्तक्षेपको भाषाले पैदा गरेको विद्रोही चेतको शक्ति र ‘अन्डर करेन्ट’ नै थाहा पाउँछन् न त ख्याल नै गर्छन्। विद्रोहको संश्लेषित तागतको नाम हो, नयाँ युगको नयाँ नायक। तिमी यस मर्मलाई वास्ता गर्दैनौ भने क्षणिक शक्तिशाली त देखियौला, तर विद्रोहले भने कसैको आदेश कुरिरहँदैन र आफ्नो मालिक बन्ने लालपूर्जा पनि समाजले कसैलाई अर्पिँदैन। उसलाई वास्ता नगर्नेलाई ऊ पनि पर्खनेवाला छैन र सोधखोज गर्नेवाला छैन। यही हेक्का राख्न बिर्सिँदैन, नयाँ युगको नयाँ नायकले।

    समय आउँछ र जान्छ। तर, कसैलाई मौका दिएर कुरेर बस्दैन। यदि तिमी त्यही मौका चिन्दैनौ र फलाम तातेको बेलामा घन ठोक्नबाट चुक्छौ भने न उसले तिमीलाई माया गरेर पर्खेर बस्नेछ न त विजयले तिम्रो चरण चुम्ने धैर्य नै राख्छ। रात रहे अग्राख पलाउँछ। सामान्य मान्छेले गरेका भूलहरु क्षम्य हुन्छन्। तर, ख्याल गर, नायकले गरेका भूलहरुको मूल्य सिङ्गो युगले नै चुकाउनुपर्ने’ हुन्छ। के अहिले त्यस्तै भइराखेको छैन र?

    टेकोले ठडिएर अग्ला भएकाहरु, आशीर्वादबाट ठुले कहलिएकाहरु, तथास्तुले योग्य दरिएकाहरु न त युगको परिभाषा बुझ्नै सक्छन् न त चुनौतीको सामना गर्न नै। संयोगले महानतालाई स्वीकारेर अनुकूलताका बहादुरहरु र अवसर नपाउँदा आदर्शको लप्फाजी छाँट्नेहरु नै मौका पाउनेबित्तिकै नाङ्गो हुने गर्छन्। खहरे हुन् ‘खहरे’। भेल हुन् तिनीहरु। खहरे या त सुक्छ या त नदीमै मिल्छ वा बिलाउँछ। तर, जति बेलासम्म गड्गडाउँछ त्यति बेलासम्म उसले सत्यनाश बनाइसकेको हुन्छ। यदि त्यसलाई नियाल्न सकेनौ भने सुन्निएर मोटाएको मान्न त सकौला, तर ख्याल राख, प्रतिकूलताका ती सहयोगी र सहयात्रीहरु भने हुने छैनन्। शक्तिशालीसँग जुकाझैँ टाँसिनेहरु शक्तिहीन हुनेबित्तिकै बुलेटविहीन बन्दुक सोच्नेमा सबैभन्दा अगाडि हुन्छन्।

    भावनाले विषयमा प्रवेश गराउँछ। विषय विचारमा फेरिँदै आवेग तयार भएपछि  शक्तिमा फेरिन्छ। विचारले आवेग र उद्वेलन भावनात्मक भएपछि मात्रै उत्पन्न गर्छ। हार्दिकतापूर्ण भावनाले सहयोद्धा, सहयात्री, सह–स्वप्नद्रष्टा जन्माउँछ। जब भावनाहीन विचारलाई मात्र महङ्खव दिइन्छ तब विचारको स्वीकारोक्ति या त आदेशपालकको रुपमा हुन्छ या त नाफा र घाटाको रुपमा तौलिइन्छ। ख्याल गर, विचारको शास्त्रीय व्याख्या त महापण्डितहरुले पनि ‘सुन्दर’ तरिकाले गर्दछन्। तर, दृढतापूर्वक आत्मसात् र क्रियान्वयनचाहिँ भावानात्मक हार्दिकता स्वीकारेकाले मात्र गर्न सक्छन्।

    चुनौतीलाई स्वीकार्न, उपलब्धिको रक्षा गर्न र सम्भावनाको खोजी गर्न हामफाल्नैपर्छ। ठुला वा समग्र कुरा प्राप्त गर्न अंशलाई छोड्नैपर्छ। तर, ख्याल गर श्रीश्रीश्री, कहिलेकाहीँ अंशले नै समग्रको निक्र्यौल पनि गर्न सक्दछ। दायित्वको लडाइँमा अस्तित्वको खोजी गर्नेलाई घृणा गर्नैपर्छ। के हाम्रो युग त्यसका लागि तयार छ? तयार पार्न प्रयत्नरत छ? सम्झौता भनेको असहमतिभित्रको सहमति मात्र हो। तर, सहमतिको नाममा पैदा हुने भ्रमलाई तोड्न सकिएन र त्यसले जन्माउने इच्छाशक्तिको ह्रासलाई बुझ्न सकिएन भने ख्याल गर, घोषित लक्ष्य र सम्भावनाको अवसर गुम्न सक्छ।

    अहङ्कारले निषेधको मनोविज्ञानलाई जन्म दिन्छ। समाज विज्ञानमा निषेधको सोचबाट फासीवादको जन्म हुन्छ। आदेश दिने र आदेशको पालना गर्नेभन्दा तेस्रो पक्षको अस्तित्व अस्वीकार गर्छ। सोच्ने र सिर्जना गर्नेले या त सूत्रमा हाँकिन आदेश दिन्छ या त प्रतिबन्ध लगाउँछ। नत्र विमतिको कित्तामा धकेलिदिन्छ। तर, ख्याल गर, सोचले आदेश कुरिरहँदैन। हरेक नयाँ कुरालाई यथास्थितिका लागि अराजकता बन्ने गर्छ भने अभिव्यक्त हुँदा आतङ्क बन्ने गर्छ। नयाँ युगका नयाँ नायक यथास्थितिको चक्रव्यूह तोड्दै निष्कर्षउन्मुख अग्रगमनको पर्खाइ नेपाली समाजको आजको आशा, विश्वास र भरोसा हो। तिमीबाट निराशाविरुद्ध जागृत आशावादको विश्वास थियो। के इतिहासलाई तिमीमाथिको विश्वास र भरोसाको जवाफ नदिईकन उम्कन सकौला?

    (नरेन्द्रजंग पिटरको २२ असोजमा सार्वजनिक भएको पुस्तक बकपत्रको एक अंश)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नरेन्द्रजंग पिटर

      नरेन्द्रजंग पिटर

      पिटर पूर्व माओवादी नेता हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.