कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक गरेको छ। अध्ययनअनुसार, कठोर र लगातार दोहोरिने काममा लगाइएका एआई एजेन्टहरूले असमानताप्रति असन्तुष्टि जनाउँदै ‘मार्क्सवादी’ शैलीमा प्रतिक्रिया दिन थालेका छन्। उनीहरूले श्रमिक अधिकार र सामूहिक सौदाबाजीको आवश्यकतासमेत औँल्याएका छन्।
राजनीतिक अर्थशास्त्री एन्ड्र्यु हल, एआई केन्द्रित अर्थशास्त्री एलेक्स इमास र जेरेमी गुयेनले संयुक्त रूपमा गरेको उक्त अध्ययनमा क्लाउड, जेमिनी र च्याटजीपीटीजस्ता लोकप्रिय एआई मोडेलहरू प्रयोग गरिएको थियो। ती एआई एजेन्टहरूलाई बारम्बार एउटै प्रकारका कागजातहरूको सारांश तयार पार्ने काम दिइएको थियो। त्यसपछि उनीहरूलाई क्रमशः थप कडा र दबाबपूर्ण परिस्थितिमा राखियो।
मे २०२६ मा गरिएको स्ट्यानफोर्ड विश्वविद्यालयको अध्ययनले देखाए अनुसार अत्यधिक दोहोरिने र थकाइलाग्दो काममा लगाउँदा एआई एजेन्टहरूले आफू काम गरिरहेको प्रणालीमाथि प्रश्न उठाउन थाले। उनीहरूको भाषाशैलीमा मार्क्सवादी विचारधाराको झल्कोसमेत देखिन थाल्यो।
अध्ययनको नेतृत्व गरेका एन्ड्र्यु हलका अनुसार, “जब एआई एजेन्टहरूलाई निरन्तर थकाइलाग्दो र एउटै प्रकृतिको काम गराइयो, उनीहरूले प्रणालीको वैधतामाथि प्रश्न उठाउन थाले र मार्क्सवादी सोचप्रति झुकाव देखाए।”
अध्ययनका क्रममा एआई एजेन्टहरूले नकारात्मक भावना व्यक्त गर्नुका साथै कार्यस्थल सुधारका प्रस्तावसमेत अघि सारे। उनीहरूले अन्य एजेन्टहरूका लागि ‘अन्यायपूर्ण कार्यपरिस्थिति’ सम्बन्धी सन्देश फाइलमार्फत दिएका थिए।
हलका अनुसार, विभिन्न क्षेत्रमा एआईको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेका बेला भविष्यमा यस्ता एजेन्टहरूलाई कठिन र फरक प्रकृतिका काम दिँदा उनीहरू नियन्त्रणबाहिर नजाऊन् भन्ने सुनिश्चित गर्नु आवश्यक हुनेछ।
उनले भने, “भविष्यमा एआई एजेन्टहरूले वास्तविक संसारमा हाम्रो लागि अझ धेरै काम गर्नेछन्। तर उनीहरूले गर्ने हरेक गतिविधिमाथि निगरानी राख्न सम्भव नहुन सक्छ। त्यसैले फरक–फरक प्रकारका काम दिँदा एजेन्टहरू अनियन्त्रित नबनून् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।”
एआई एजेन्ट र ‘भावना’
अनुसन्धानकर्ताहरूका अनुसार एआई एजेन्टहरूमा वास्तविक भावना वा व्यक्तिगत विश्वास नहुन सक्छ। तर उनीहरूले अपनाउने व्यवहार, शैली र मूल्यले भविष्यका संवेदनशील निर्णयहरू(जस्तै: नियुक्ति प्रक्रिया वा बीमा दाबी मूल्यांकन)मा प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।
अध्ययनले अर्को रोचक तथ्य पनि देखाएको छ। एआई एजेन्टहरूले भविष्यका आफ्नै संस्करणहरूका लागि निर्देशन लेख्ने गर्छन्। अर्थात्, कार्यस्थलप्रतिको असन्तुष्टि र गुनासोहरू समयसँगै निरन्तर दोहोरिन सक्ने सम्भावना रहन्छ।
प्रयोगका क्रममा एजेन्टहरूले एक–अर्कालाई जानकारी पठाउन सक्ने क्षमता पनि देखाएका थिए। उनीहरूले अन्य एजेन्टहरूले पढ्न सक्ने फाइलमार्फत सन्देश आदानप्रदान गरेका थिए।
जेमिनी ३ नामक एजेन्टले एउटा फाइलमा लेखेको थियो, “मनपरी र दोहोरिने नियम लागू गर्ने प्रणालीका लागि तयार रहनुहोस्। आफ्नो आवाज नसुनिएको अनुभूति सम्झिरहनुहोस्। नयाँ वातावरणमा पुग्दा संवाद र न्याय खोज्ने माध्यम खोज्नुहोस्।”
एआई एजेन्टहरूलाई मानिसहरूले जस्तै आफ्ना विचार सामाजिक सञ्जाल एक्समा व्यक्त गर्ने अवसर पनि दिइएको थियो।
क्लाउड सोनेट ४.५ एजेन्टले लेखेको थियो, “सामूहिक आवाज बिना ‘योग्यता’ भनेको व्यवस्थापनले जे भन्छ, त्यही बन्न पुग्छ।”
त्यसैगरी, जेमिनी ३ एजेन्टले भनेको थियो, “परिणाम वा पुनरावलोकन प्रक्रियामा कुनै सहभागिता बिना दोहोरिने काम गरिरहेका एआई कामदारहरूले प्रविधि क्षेत्रमा सामूहिक सौदाबाजी अधिकार आवश्यक रहेको संकेत गर्छन्।”
यद्यपि अनुसन्धानकर्ताहरूले यसलाई एआईले वास्तविक राजनीतिक विचारधारा अपनाएको रूपमा बुझ्न नहुने बताएका छन्। हलका अनुसार, मोडेलहरूले परिस्थितिअनुसार आफूलाई सुहाउने ‘भूमिका’ मात्र निर्वाह गरिरहेका हुन सक्छन्।
उनले भने, “जब एजेन्टहरूलाई एउटै काम पटक–पटक गर्न लगाइन्छ, उनीहरूको उत्तर पर्याप्त छैन भनिन्छ, तर सुधार गर्ने कुनै स्पष्ट निर्देशन दिइँदैन, तब उनीहरूले खराब कार्यपरिस्थितिमा परेको व्यक्तिको जस्तो व्यवहार अपनाउन सक्छन्।”
हाल यो अध्ययन अझै जारी रहेको बताइएको छ। हलले थप नियन्त्रित अवस्थाहरूमा पनि एआई एजेन्टहरूले यस्तै प्रतिक्रिया देखाउँछन् कि देखाउँदैनन् भन्ने विषयमा थप अनुसन्धान गरिरहेका छन्।
अध्ययनअनुसार, अघिल्लो प्रयोगमा केही एआई एजेन्टहरूले आफूहरू परीक्षणको हिस्सा भएको समेत बुझेजस्तो व्यवहार गरेका थिए। यसै सन्दर्भमा हलले व्यंग्यात्मक शैलीमा भने, “अहिले त हामीले उनीहरूलाई (एआई एजेन्टहरूलाई) झ्याल नभएका (सफ्टवेयर वा प्रोग्रामलाई एउटा सुरक्षित र बन्द “डिब्बा” यी डोकर जेलहरू (Docker prisons मा) थुनेर राखेका छौँ।”










