Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

एलेण्ड आयरल्याण्ड एलेण्ड आयरल्याण्ड
कार्तिक २३, २०७६
- इतिहास, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्याकाबारे छलफल गर्न थाल्नु अघि, यस विषयमा केही तथ्याङ्कहरू सम्झनु राम्रै हुन्छ होला। सन् १८४८ मा अमेरिकामा चीनियाँहरूको जनसंख्या जम्मा ३ थियो, त्यो पनि क्यालीफोर्नियामा मात्रै। सन् १८५३ सम्म अमेरिकाका अन्य शहरमा चिनीयाँहरु रहेको तथ्यांक प्राप्त छैन, तर त्यसवेला क्यालीफोर्नियामा तिनीहरुको संख्या ३४,८९३ थियो। तर सन् १८८० मा क्यालीफोर्नियामा संख्या ७२,४७२ थियो भने अमेरिकाभर १०७,४७५ भएको तथ्यांक छ।

    वर्लिनगेम सम्झौतालाई सन् १८६८ मा सिनेटले स्वीकार गर्‍यो। चीनियाँँ आप्रवासनलाई प्रोत्साहित गर्ने प्रावधानहरू सहितको यस सम्झौतालाई सिनेटले स्वीकार गर्नुले त्यसबेलासम्म अमेरिकामा चीनियाँँहरू विरोधी भावना थिएन भन्ने जस्तो लाग्छ। वास्तवमा, स्थिति त्यसको उल्टो थियो। यो स्वीकार गरिनुकाबारे क्यालिफोर्निया राज्यमा रहेका चीनियाँ जनसमुदायका बारेमा विषयगत समितिको आशय बुझ्नु आवश्यक पर्दछ। क्यालिफोर्निया विधान–सभामा प्रस्तुत गरेको प्रतिवेदनमा चीनियाँहरूका सम्बन्धमा यस्तो उल्लेख पाइन्छ– “विदेशीहरूको एउटा वर्ग जो अति शान्तिप्रिय, मेहनती र उपयोगी छन्”। “यो खास शाखा (अंगुर खेती) मा गोरा मजदुरहरूको साथमा एक भाग चीनियाँहरूको सहयोगबाट राज्यका श्रोतहरूमा अनगिन्ती योग पुर्‍याउँछ। यसले गोराहरुको लोसेपनलाई समेत कम गर्छ र त्यसका कारणले मजदूरहरूलाई फकाइरहनु पर्ने स्थितिमा कमी आउँछ, जसले गर्दा अपराध तथा दरिद्रतामा  कमी आउँछ।” “चीनियाँहरूले गोराहरूलाई हेप्छन् भन्ने आरोप लगाइन्छ। यस्ता आरोप लगाउनुका आधारहरू हामी पाउन सक्तैनौ…ती हाम्रा निम्ति काम गर्दछन्ः हामीलाई ठूलो मात्रामा करहरू बुझाएर जहाज, कृषि तथा मशीन सम्बन्धी उद्यमहरूमा योगदान पुर्‍याएर र कुनै पनि तवरमा यी क्षेत्रहरूमा हाम्रा प्रतिष्पर्धी नभइकन, उनीहरूले हाम्रो राज्य बनाउन हामीलाई सहयोग पुर्‍याइरहेका छन्”। “उनीहरूलाई राज्य बाहिर खेद्नुको साटो चिया, धान इत्यादिको खेती गर्न उनीहरूलाई अनुदानहरू दिन सकिन्छ।”

    करिब सन् १८७० देखि चीनियाँहरू प्रति प्यासिफिक किनारा तिर चर्को वैरभाव उत्पन्न भयो। यो वैरभावले धेरै तरिकाबाट आफुलाई अभिब्यक्त गर्‍यो। क्यालिफोर्नियामा चीनियाँहरूलाई चर्को कर लगाइयो। विधान सभामा हुने छलफलहरूमा उसलाई सबै अपराध र अनाचारको जननीका रुपमा प्रर्दशन गर्न थालियो। राज्यका निम्ति चीनियाँहरू भार भएको विश्वास गर्नेहरू, जसले शुक्ल पक्षमा होस् या कृष्ण पक्षमा चीनियाँहरूमा खरावी मात्रै देखेका थिए। यस्तो प्रोपोगण्डा चिर्ने काम कमै भयो, किनभने चीनियाँ श्रमिकहरू मतदाता नभएको तर गोरा श्रमिकहरू मतदाता भएको यो राज्यमा यो एउटा राम्रो चुनावी मुद्दा थियो।

    के कुरामा शंका छैन भने, चीनियाँहरूको उपस्थितिले समग्र राष्ट्रलाई नभएपनि, राज्यको अस्तित्वलाई संकटग्रस्त बनाउने कुरामा इमान्दारीपूर्वक विश्वास गर्ने धेरै ब्यक्ति थिए। चीनियाँहरूका बिरुद्ध मुख्य रुपमा उठाइएका आपत्तिहरू के थिए भने– चीनियाँहरूले कामको जति ज्याला लिन मञ्जुर गर्थे त्यति ज्याला गोरा मजदुरहरूले लिने हो भने उनीहरुको गुजारा नै चल्न सक्दैनथ्यो; चीनियाँहरूको बचत, राष्ट्रकै सम्पत्तिको रुपमा राष्ट्र मै रहनुको साटो चीन पठाइन्छ; चीनियाँहरूका बानीब्यहोरा अनैतिक छन्; उनीहरू वाचा पालन गर्दैनन्; तिनीहरू सम्मिश्रण गर्न नसकिने खालका छन् र राजनीतिक मूलधारामा घुलमिल हुन नसक्ने जनसमुदायका रुपमा रहन्छन्; तिनीहरू मध्ये अधिकाङ्शको अपराधिक पृष्ठभूमि छ; राज्यलाई समर्थन सहयोग गर्न उनीहरूले कुनै योगदान गरेनन्; तिनीहरू मध्ये बहुसंख्यक, वास्तवमा सानफ्रान्सिस्कोका चीनियाँ कम्पनीहरूका दासहरू हुन्; र उनीहरूको कुनै दिन अमेरिकीकरण हुने कुरामा आशा गर्नु बेकार छ।

    चीनियाँहरु कम ज्यालामा काम गर्थे र अपराधमा कम संलग्न थिए

    चीनियाँ विरोधी भनाईहरू अतिशयोक्ति तिर धेरै ढल्किएको पक्षलाई चिह्नित गरिएको निष्कर्ष ननिकाली त्यस विषयका प्रसस्त आधिकारिक तथा अनाधिकृत दस्तावेजहरू छिचोल्न असम्भव छ। खतराको कोकोहोलो मच्चाउनेहरूको कुतर्कको एउटा नमूना यस्तो छ कि सन् १८८८ मा ‘फोरम’ पत्रिकामा एकजना लेखकले लेखेको कुरालाई सम्झन सकिन्छ। त्यसमा उनले क्यालिफोर्नियाका चिनियाँहरूका उद्यमशीलताका कारणहरूले जमीनका भाउमा वृद्धि हुनुको सारा दोष चीनियाँहरूको थाप्लोमा हालेको छ। उसका कुतर्कका रुप कस्ता थिए भने जग्गा धनीहरूले चीनियाँ श्रमिकहरूलाई रोजगार दिएका कारणले जग्गाका भाउमा यति वृद्धि भयो कि उनीहरू अब साना किसानहरूलाई जग्गा बेच्न इच्छुक नै रहेनन्। यसरी, चीनियाँहरूले ती जमिनमा काम नगरेका भए, जग्गा धनीहरूले खुशीले जग्गा बेच्ने थिए, त्यसो हुँदा गोराहरूले ससाना जमिनका टुक्रा किन्ने थिए र यसरी राज्यलाई बचाउन सकिने थियो।

    चीनियाँहरूका तर्फबाट के तर्क राखियो भने, न्यून ज्यालाको दोष त्यसलाई स्वीकार गर्ने चीनियाँहरूको नभएर, त्यसको प्रस्तावक रोजगारदाता कै हुन्छ। धेरै ज्याला दिइने हो भने त्यसलाई कुनै पनि चीनियाँहरूले अस्वीकार गर्दैनथे। एकजना मेधावी चीनियाँले के औँल्यायो भने क्यालिफोर्नियाको विधायकले पेश गरेको अनुमान–कुनै खास वर्ष क्यालिफोर्नियाका चीनियाँहरूले देश बाहिर १८ करोड डलर पठाए–ठीक हुन्थ्यो भने, हरेक चीनियाँहरूले औसत १२५० डलर कमाएको थियो र अब उसको प्रश्न यो छ कि सस्तो श्रम ज्यालाको तर्कको गुन्जाइस कहाँ रह्यो ?

    तर कानूनी आधारहरूका अलावा चीनियाँहरूका निम्ति सबैभन्दा कडा तर्क धेरै वर्ष चीन बसेका, प्रसिद्ध चीन विशेषज्ञ डा.एस.वेल्स विलियम्सले राखेका थिए। अमेरिकी सामाजिक विज्ञान संघमा चीनियाँ आप्रवासका सम्बन्धमा उनले गरेको भाषणको एउटा अंश यस्तो छ :“क्यालिफोर्नियामा बसोवास गरिरहेका ९५,००० चीनियाँहरू मध्ये, सन् १८७७ मा, १९८ जना राज्यका जेलमा थिए, जबकी त्यस बेला ३४७ जना गोराहरू त्यहाँ थिए । १२ वर्षको अवधिमा आयरलेण्ड मूलका ७११ जनाको तथा चीनियाँ मूलका ७५० जनाको अपराध सावित भयो, जबकी वस्यक आइरिसहरूको जनसंख्या ३५,००० मात्र वा चीनियाँहरूको एकतिहाई मात्र थियो। सन् १८७५ मा औद्योगिक तालिम विद्यालयहरूमा अन्य मूलका मानिसहरू २२५ थिए भने, चीनियाँहरू ४ जना मात्र थिए।

    आल्मस् हाउसमा त्यस वर्ष ४९८ निवासीहरु मध्ये एउटा पनि चीनियाँ थिएनन् तर १९७ आइरिसहरू थिए। सन् १८७५ को अस्पतालको प्रतिवेदन अनुसार, त्यहाँ भर्ती गरिएका ३,९१८ जना मध्ये, ११ जना चीनियाँ थिए भने ३०८ जना आइरिस थिए। सन् १८७८ मा अस्पतालमा भर्ती गरिएका ३,००७ जना मध्ये ९४८ आइरिस र ६ जना चीनियाँ थिए। जुन ३०, १८७८ को वार्षिक आंकडा अनुसार मादक पदार्थ खाएर हिडेकोमा गिरफ्तार हुने ६,१२७ जना मध्ये एकजना पनि चीनियाँ थिएनन्।”
    संयुक्त राज्य अमेरिकामा चीनियाँहरू मित्र–विहीन भने थिएनन् र त्यस्ता मित्रहरूमा सबैभन्दा परिचित जेनेरल ग्रान्ट, महामहिम जर्ज फ्रिस्वी होअर तथा जर्ज एफ. सेवार्ड थिए। आफ्नो विश्व भ्रमणको दौरानमा, अप्रील १८७९ मा, जेनेरल ग्रान्टले संयोगवस मलाया प्रायद्वीपका जर्ज टाउन, पाउलो पेनाङमा पुगेका थिए। त्यहाँका चीनियाँ समुदायले उनलाई संयुक्त राज्य अमेरिकामा बसोवास गरिरहेका चीनियाँहरूका निम्ति उचित ब्यवहार र सुरक्षाका निम्ति आफ्नो कार्यालयको प्रभाव प्रयोग गर्न आग्रह गर्दै अनुरोध–पत्र बुझाएका थिए। उक्त अपीललाई स्वीकार गर्दै मन्तव्य दिने क्रममा जनरल ग्रान्टले के भने भने चीनियाँहरूले गुनासो गरे जस्तो वैरभावले समग्र अमेरिकाको भावनाको प्रतिनिधित्व गर्दैन बरु त्यो आफ्ना राजनीतिक स्वार्थहरू सिद्ध गर्न सकिन्छ कि भनी ठान्ने राजनीतिवाजहरू, (जो सबैै राष्ट्रका उस्तै हुन्छन्), ले जाति वा राष्ट्रियताका बिरुद्ध पूर्वाग्रह फैलाउन तथा थिचोमिचोका सबैै उपायहरूको पक्षपोषण गर्न गरेका कर्तुतहरू हुन्। उनलाई के कुरामा शंका थिएन भने, र कसैलाई पनि शंका हुन सक्तैनथ्यो कि, वर्तमान आन्दोलनका तात्कालिन प्रभाव जस्तोसुकै भए पनि अन्त्यमा अमेरिकी जनताहरूले चीनियाँहरूलाई नम्रतापूर्वक तथा न्यायपूर्ण ढंगले ब्यवहार गर्ने छन् र बाँकि सारा संसारलाई उनीहरूले प्रदान गरेको आश्रय उनीहरूको देशका स्वतन्त्र तथा योग्य ब्यक्तिहरूलाई अस्वीकार गर्ने छैनन्।

    बहिष्करण कानून–१८८२ र अन्य कानूनहरुको निर्माण

    बहिष्करण कानून–१८८२ का बारेमा मार्च १, १८८२ मा सिनेटमा बोल्ने क्रममा सिनेटर ओहरले एउटा बुद्धिमतापूर्ण कुराको निचोड यसरी राखे– “सय वर्ष अघि हाम्रा पुर्खाहरूले जति दृढ निश्चयी भावले एउटा मार्गमा आफ्ना पाइला बढाए, त्यसले हामीलाई सुरक्षा, शक्ति तथा गौरव तिर डोर्‍यायो। हामी अहिले जुन मार्गमा आफ्ना पाईला राख्न खोज्दैछौ, त्यसले त्यति नै निश्चित तवरले हामीलाई लज्जा, कमजोरी र सर्वनास तिर डोर्‍याउने छ।”
    तर, चीनियाँहरू प्रति आम अरुची यति तीव्र थियो कि राष्ट्रका धेरै भागहरूमा चीनियाँ–विरोधी दङ्गाहरू फैलन थाले। यी दङ्गाहरू सेप्टेम्बर २, १८८५ मा उयोमिङ् राज्यको रक स्प्रिङ्समा चीनियाँहरूको नरसंहारका रुपमा विष्फोट भयो। यस विध्वङ्शका लागि सरकारद्वारा १ लाख ४७ हजार ७४८ डलर क्षतिपूर्ति भरियो; तर प्यासिफिक किनारालाई पनि उचालियो र ठूला वा साना मात्राका चीनियाँ विरोधी दङ्गाहरू बारम्बार मच्चिन थाले। ७ नोभेम्बर १८८५ र पुनः ९ फेब्रुअरी १८८६ मा राष्ट्रपति क्लिभलेन्डले दङ्गाकारीहरूलाई तितरवितर गर्न आज्ञा दिँदै घोषणा जारी गरे; तर, यी फूर्तिला उपायहरूको फाइदाजनक प्रभाव परे पनि, तिनले चीनियाँहरूलाई लोकप्रिय भने बनाउन सकेन। संयुक्त राज्य अमेरिकामा चीनको प्रश्नले एउटा नयाँ रुप लियो। राष्ट्रको कल्याणका सन्दर्भमा एउटा ब्यवहारिक प्रश्न उब्जियो, जसको ब्यवहारिक समाधान आवश्यक थियो। चीनियाँहरूका मित्रहरूका सबै तर्कहरूलाई स्वीकार गर्दा पनि, वास्तविक स्थीति कस्तो बन्यो भने, चीनियाँहरूको कुनै गल्ती नभए पनि, राष्ट्रमा उनीहरूको उपस्थिति शान्ति भङ्ग हुने स्थायी कारण बन्न गयो।

    चीनियाँहरूका सन्दर्भमा कानूनहरुको संक्षिप्त विवेचना

    चीनियाँहरूका सन्दर्भमा उक्त कानूनको संक्षिप्त विवेचनाले त्यस कठिनाइबाट पार पाउन कसो गरियो भन्ने कुरा देखाउन सहयोग पुग्छ।

    जनताको चीनियाँ विरोधी भावनात्मक उफानको लगत्तै जसो चीनियाँ आप्रवासन सम्बन्धी कानून आयो। अमेरिका भ्रमण गर्न चाहने चीनियाँहरूलाई स्वतन्त्रतापूर्वक प्रवेशको अनुमति दिने तथा उनीहरूलाई स्थायी बसोवासको समेत अधिकार भएको बर्लिङ्गेम सम्झौता सन् १८६८ मा पारित भयो। सन् १८८० मा संयुक्त राज्य अमेरिका तथा चीनका बीचमा एउटा सम्झौता भयो, जसका प्रावधान अनुसार चीनियाँ श्रमिकहरूको उपस्थितिले अमेरिकी हितहरूलाई प्रभावित पार्ने खतरा भएको वा कुनै स्थान विशेषमा शान्ति–सुरक्षामा खलल परेको अमेरिकी सरकारलाई लागेमा, अमेरिकी सरकारले उनीहरूलाई नियमबद्ध गर्ने, सीमित गर्ने वा उनीहरूका आगमनमा प्रतिबन्ध लगाउने अधिकार सुरक्षित गर्‍यो; तर त्यसमा के प्रष्ट गरियो भने, त्यस्ता प्रतिबन्ध अस्थायी प्रकृतिका हुनेछन्, स्थायी होइन। मे ६, १८८२ मा, १८८० को सम्झौतामा सुृरक्षित गरिएका अधिकारहरूबाट फाइदा उठाउँदै अमेरिकी प्रतिनिधि सभाले “चीनियाँहरूसँग सम्बन्धित सम्झौताका केही खास प्रावधानहरू लागू गर्ने ऐन पारित गर्‍यो’’। यो ऐनले के ब्यवस्था गर्‍यो भने, ऐन पारित भएको नब्बे दिन पछि र त्यस पछिका दश वर्षसम्म, चीनियाँ श्रमिकहरूको संयुक्त राज्य अमेरिकाको आगमन मुल्तवीमा राखिनेछ। नोभेम्वर १७, १८८० का मितिमा संयुक्त राज्य अमेरिकामा रहेका वा ऐन पारित भएका मितिले ९० दिन भित्र आएकाहरूका हकमा उक्त ऐन लागू नहुने भयो। छुटको सुविधा पाउने सबैै चीनियाँहरूलाई प्रमाणपत्र जारी गरिने भयो र उनीहरूले अमेरिका छाडी गएमा, फर्केका बेला उक्त प्रमाणपत्र देखाएपछि पुनः प्रवेश पाउने ब्यवस्था गरियो।

    खासगरी परिचय र दण्ड सजायका सन्दर्भमा केही संशोधनहरू सहित जुलाई ५, १८८४ मा १८८२ को ऐनलाई पुनः लागू गरियो। चीनियाँ श्रमिकको कानूनी श्रीमति, बच्चाहरू वा आमा–बाबु संयुक्त राज्य अमेरिकामा नभएमा वा १ हजार डलर बराबरको सम्पत्ति वा त्यति नै दायित्व त्यहाँ नभएमा उसको संयुक्त राज्य अमेरिका फिर्तीलाई पूर्ण प्रतिबन्ध लगाउने ऐन सेप्टेम्बर १३, १८८८ मा पारित गरियो। यो ऐन कहिल्यै पनि लागू भएन, किनभने त्यसको प्राक्कथन अनुसार यो चीनसँगको मार्च १२, १८८८ को सम्झौता पुन:प्रमाणित भएको मितिसँगै लागू हुने घोषणा गरिएको थियो र त्यो सम्झौतालाई सिनेटले केही संशोधनसहित पारित गरेका कारणले चीनियाँ सरकारले त्यसलाई स्वीकार गरेन तथा कहिल्यै पनि पुन:प्रमाणित हुन सकेन।

    सन् १८८२ को ऐनको पूरक ऐनका रुपमा १ अक्टोवर १८८८ मा एउटा ऐन पारित गरियो, जसमा भविष्यमा संयुक्त राज्य अमेरिकामा फर्कने अनुमतिसहित कुनै पनि प्रमाणपत्र जारी नगरिने, विगतमा जारी गरिएका सबैै प्रमाणहरू रद्द हुने र राष्ट्र छाडी सकेका वा त्यसपछि राष्ट्र छाडी जाने कुनै पनि चीनियाँहरूलाई फर्कने अनुमति नदिने प्रावधानहरू थिए।
    मे ५, १८९२ मा प्रतिनिधि सभाले प्रसिद्ध गेरी ऐन पारित गर्‍यो। त्यो “चीनियाँहरूलाई संयुक्त राज्य अमेरिका आगमनमा प्रतिबन्ध लगाउने ऐन” थियो। यस ऐनका प्रावधानहरू धेरै कडा थिए। यो ऐन पारित भएकै समयदेखि पूववर्ती बहिष्करणका कानूनहरूलाई अझ दश वर्षका लागि थप गरियो। यसमा के प्रावधान राखियो भने, कुनै पनि चीनियाँ वा उसका वंशजले मागेका वखत राष्ट्रमा रहन पाउने कानुनी अधिकारको प्रमाण देखाउन सकेन भने उ संयुक्त राज्य अमेरिकामा गैरकानुनी ढंगले बसोवास गरिरहेको मानिने; र त्यस्तो व्यक्ति संयुक्त राज्य अमेरिकामा गैर–कानुनी ढङ्गले रहेको प्रमाणित भएमा एक वर्षसम्म उसलाई कडा सश्रम कारावास दिइने तथा त्यसपछि उसलाई राष्ट्रबाट हटाइने कुरा थिए। बसोवासका प्रमाणपत्र प्राप्त गर्नका निम्ति राष्ट्रमा भएका सबैै चीनियाँ श्रमिकहरूले आफू बसोवास गरिरहेका जिल्लाहरूका आन्तरिक राजस्व संकलकहरू समक्ष कानुन पारित भएका मितिले एक वर्षभित्र निवेदन दिनु पर्ने गरियो; र त्यसो गर्न नसक्ने सबै चीनियाँहरूलाई संयुक्त राज्य अमेरिकामा गैरकानुनी ढंगले बसोवास गरिरहेको ठानिने र उनीहरू त्यससँगसम्बन्धी दण्डसजायका प्रावधानहरूको भागी हुने ब्यवस्था गरियो।

    उक्त ऐनलाई नोभेम्वर ३, १८९३ मा संशोधन गरियो। ‘श्रमिक’ तथा ‘ब्यापारी’ भन्ने शब्दलाई प्रष्टताका साथ ब्याख्या गरियो र त्यसमा के प्रावधान राखियो भने बसोवासको प्रमाणपत्रका लागि हरेक निवेदकले उपयुक्त अधिकारी समक्ष आफ्नो २ प्रति फोटोसहित निवेदन दिनु पर्नेछ।

    मार्च १७, १८९४ मा संयुक्त राज्य अमेरिका र चीनका बीचमा एउटा समझदारी सम्पन्न भयो। यो चीनियाँ श्रमिकहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशसँग सम्बन्धित थियो। यस समझदारीका प्रावधान अनुसार, समझदारी भएका मितिदेखि आगामी दश वर्षसम्म, समझदारी भएका मिति भन्दा अगावै दर्ता भएका र संयुक्त राज्य अमेरिकामा कानूनी मान्यताप्राप्त श्रीमति, बच्चाहरू वा आमा–बाबु भएका वा १ हजार डलर बरावर सम्पत्ति वा दायित्व भएका चीनियाँ श्रमिकहरूलाई, उनीहरूले त्यो राष्ट्र छाडेको एकवर्ष भित्र फर्कदैनन् भने, संयुक्त राज्य अमेरिकामा उनीहरूको आगमनमा पूर्ण बन्देज लगाइयो।अन्त्यमा, हवाइलाई संयुक्त राज्य अमेरिकामा गाभ्ने ऐन जुलाई ७, १८९८ मा पारित गरी लागू गरिए।

    बहिष्करणका कानूनहरूले अदालतहरूलाई ब्यस्त बनाए र समय समयमा प्रसस्तै पुनरावेदनहरू संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालत पुर्‍याइए। गेरी कानूनका प्रभाव र ब्यापकताका सन्दर्भमा सर्वोच्च अदालतका विचारहरूको साराङ्श फोङ् ओङ् र लि वादी तथा संयुक्त राज्य अमेरिका प्रतिवादी रहेको मुद्दा (१४९ युएस् रिपोर्टस्, ६८९) को फैसलाबाट खिच्न सकिन्छ। यी मुद्दाहरू न्युयोर्कका दक्षिणी जिल्लाका संयुक्त राज्य अमेरिकाका सर्किट अदालतहरूका फैसलाहरू माथि पुनरावेदन थिए र संयुक्त राज्य अमेरिकामा गैरकानूनी ढङ्गले बसोवास गरिरहेका पुनरावेदक चीनियाँ श्रमिकहरूलाई फिर्ता पठाउने प्रक्रियाका बिरुद्धमा ती पुनरावेदनहरू परेका थिए। उनीहरूलाई पक्राउ गरिए पछि ती चीनियाँहरूहरूले तल्लो अदालतमा ‘बन्दी प्रत्यक्षीकरण’ का प्रक्रिया शुरु गरेका थिए। न्यायाधीशले उत्प्रेषणको आदेश गर्न अस्वीकार गरे तर उनको आदेशमा चित्त नबुझे माथिल्लो अदालतमा पुनरावेदन गर्ने म्याद रहुन्जेल राहत दिए।

    उक्त पुनरावेदनका सम्बन्धमा संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतमा मे १०, १८९३ मा बहस भयो र त्यसै महिनाको १५ गते फैसला दिइयो। पुनरावेदकहरूको विपक्षमा फैसला भए तापनि, फैसलाका पक्षमा झिनो बहुमत मात्र थियो। हराउने पक्षमा चार तथा विपक्षमा तीन थिए। विपक्षमा मत जाहेर गर्ने न्यायाधिशहरूमा मूख्य न्यायाधिश फुलर, न्यायाधिश ब्रुभर तथा न्यायाधिश फिल्ड थिए। त्यस मुद्दासँग सम्वन्धित कानूनका बारेमा सर्वोच्च अदालतको निर्णय (त्यस मुद्दामा तथ्य निरुपण गर्नु पर्ने केही थिएन) मा उही प्रकृतिका थुप्रै मुद्दाहरूलाई उदाहरणका रुपमा लिइएको थियो र निम्न सिद्धान्तहरू स्थापित गरियोः विदेशीहरूलाई निश्कासन वा बहिस्करण गर्ने अधिकार हरेक राष्ट्रमा अन्तर्निहित अधिकार हो; निश्कासन वा बहिष्करण गर्न सक्ने अधिकार/शक्तिहरूसँग गरिएका सम्झौताहरूका क्षेत्राधिकारका बारेमा सर्वोच्च अदालतको मत मागिएन, जुन यस मुद्दाको छिनोफानो गर्नका निम्ति प्रतिनिधि सभाले आफ्नो संवैधानिक अधिकारको प्रयोग गरी उक्त कानून निर्माण गरेको हो होइन भन्ने एकमात्र विषय निरुपण गर्नुपर्ने देखिन आउँछ; यो भन्दा अघिका पुनरावेदनहरूमा चीनियाँ आप्रवासन नियन्त्रण गर्ने कानूनहरूलाई सर्वोच्च अदालतले संवैधानिक भनी घोषणा गरेको देखिएकाले यो भन्दा अघिका कुनै पनि सम्झौताहरूले चीनियाँ श्रमिकहरूलाई प्रतिनिधि सभाले लोककल्याणका निम्ति आवश्यक मानेका बखत फिर्ता लिन सक्ने गरी लाइसेन्स, अनुमति तथा सर्त–बन्देजहरूका अन्तर्गत वाहेक; यस राष्ट्रमा रहने कुनै पनि अधिकारहरू प्रदान गरेको मान्न सकिन्न। साराङ्शमा, निर्णय यस्तो रह्योः कानून बनाउने आफ्नो अधिकारको प्रयोग गर्दै तथा विदेशी सरकारहरूसँगको सम्झौताका सन्दर्भमा सम्झौताको पुष्टि गर्ने निकायका रुपमा आफ्ना अधिकारहरू प्रयोग गर्दै, प्रतिनिधि सभाले, आफैले विदेशीहरूलाई प्रदान गरेका कुनै पनि अधिकारहरू कुनै पनि समयमा खोस्न सक्छ।

    फरक राय दिने न्यायाधिशहरूले मुख्यत निम्न कुराहरूमा आधारित भएर आफ्ना राय पेश गरेः पुनरावेदकहरू सन् १८६८ को सम्झौता अनुरुप संयुक्त राज्य अमेरिकामा प्रवेश गरेका हुन् र उक्त सम्झौता अनुरुप उनीहरूलाई प्राप्त भएका अधिकारहरू सामान्य कानूनद्वारा खोस्न मिल्दैन; जबर्जस्ती पहिलेकै बसोवास स्थलमा फर्काइनु एक प्रकारको दण्ड हो र मुद्दा चलाई एवं दोषी प्रमाणित भएको अवस्थामा बाहेक दण्ड सजाय दिन सकिन्न; विदेशीहरूलाई बहिष्करण गर्न पाउने अधिकारको बारम्बार पुष्टि गरिए पनि, राष्ट्रभित्र प्रवेश गरिसकेकाहरूलाई धपाउने अधिकारको दावा कहिल्यै गरिएको छैन; यस्तो अधिकारको अस्तित्व रहेको भए पनि सम्झौताले प्रष्ट रुपमा निरन्तरता दिएको बसोवासका विशेषाधिकार भएका मानिसहरूका बिरुद्धमा त्यस्तो शक्ति प्रयोग गर्न सकिन्न; अदालतले निर्णयले सन् १८९२ को कानूनलाई भूतप्रभावी/पश्चात्दर्शी (ex-post-facto) कार्यान्वयन गरेको छ। आफ्ना विचार राख्दै न्यायाधिश फिल्डले यसो भने– “संयुक्त राज्य अमेरिकासँग शान्तिपूर्ण सम्बन्ध भएको एउटा राष्ट्रको मानव स्वेच्छाले हाम्रा न्यायिक क्षेत्राधिकार भित्र आएका बखत (र यस्तो स्वेच्छिक सहमति प्रष्टसँग मुलतवी गरिएको छैन भने सधै मान्य भइरहन्छ र हाम्रा सामू आएको चीनियाँ श्रमिकहरूको मुद्दा सम्बन्धित सम्झौताहरूले उनीहरूलाई प्रदान गरेका शर्तहरू अनुरुप रहेकाले) उ हाम्रा ती सबैै कानूनहरूको मातहतमा आउँछ, कानूनद्वारा निर्धारित सजाय उसले पाउँछ र कानूनी सुरक्षाको हकदार समेत हुन्छ। जहाँसम्म उनीहरूको जिउज्यान तथा सम्पत्तिको कुरा छ, त्यो राष्ट्रमै जन्मिएका नागरिकहरूको जीउज्यान तथा सम्पत्ति भन्दा अलग गरी एकपक्षीय एवं दमनकारी शक्ति आइन्दा उनीहरूका बिरुद्धमा लागू गर्न पाइदैन। नागरिकहरू भन्दा उनीहरू यति कुरामा मात्र फरक छन् कि उनीहरूले भोट हाल्न वा सार्वजनिक पद बहाल गर्न पाउदैनन्। मानवहरू नै हाम्रो साझा मानवता भएकाले संविधानले प्रदान गरेका सबैै ग्यारेण्टीहरूबाट उनीहरू सुरक्षित छन्। उनीहरू अलग कानून मातहतका हुन् भनी ठान्नु वा खास खास कुरामा उनीहरू अर्को ब्यक्ति भन्दा कम सुरक्षित भएको मान्नु, मेरा आँखा, हाम्रो इतिहासका पाठहरू, हाम्रा सरकारका अभ्यासहरू तथा संविधानको भाषालाई बेवास्ता गर्नु हो।’’संयुक्त राज्य अमेरिकामा चीनियाँ प्रश्नको अन्तिम समाधानले ती दुई राष्ट्रलाई ब्यापार बाहेक केही पनि दिएन ।

    (हामीले सन् १९०२ मा प्रकाशित Allende Ireland द्वारा लिखित China and Powers को छोटो अंशलाई हरेक शनिवार क्रमश: प्रसारण गर्दै आएका छौं।  यो पुस्तक प्रकाशन भएको करीव १०२ वर्ष भइसकेकोछ तर पश्चिमाको  थुसिडाइट्स रणनीति यसैमा आधारित छ। र यही पुस्तकमा  प्रस्तुत धारणा नै हालको पश्चिमा राष्ट्रहरुको चिनलाई व्यवहार गर्ने रणनीति बन्दै आएको छ। फ्रान्सिस फुकियामाका हालका धारणाले पनि यस पुस्तकको घेरा नाँघ्न सकेको छैन। जम्माजम्मी १५० प्रति छापिएको यो पुस्तक खासखास व्यक्तिलाई वितरण गरिएको थियो र त्यसपछि यसको प्रिन्टिङ्ग प्लेटहरु नष्ट गरिएको थियो। यस अघिका  २ भागहरुमा पनि हामीले संयुक्त राज्य अमेरिका र चिनको शुरुवाती सम्बन्धबारे प्रस्तुत गरेका थियौं, जुन यस तेस्रोभागमा पुरा भएको छ। अबको शनिवारमा पनि यसै पुस्तकको  इङ्गल्याण्ड र चीनको शुरुवाती सम्वन्धबारे प्रस्तुत गरिनेछ। 

    यो पनि पढ्नुहोस् –

    स्वतन्त्र भएपछि संयुक्त राज्य अमेरिकाको चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयाश – एक

     

    चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित) 

     

    संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट  

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      एलेण्ड आयरल्याण्ड

      एलेण्ड आयरल्याण्ड

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.