Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
Thursday, April 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भोकाएको मान्छेसँग छनौटको लक्जरी हुँदैन

एउटा यस्तो देश खुशहाल, अमन, चयन, महाकवि देवकोटाले भनेको जस्तो सुनको बिहानी आउँछ, जहाँ हामी सबै मेहनतकस, हामी मजदुर किसान, हामी सर्वहाराको दिन आउँछ। हामी खुशहाल हुन्छौँ, अमन चयनको जिन्दगी बिताउँछौँ। जुन समाज शोषणरहित हुन्छ, हरेक व्यक्ति समान हुन्छ। यो सपनाबाट प्रभावित, दायाँबायाँ त मैले गर्न जानेकै छैन।

नेपाल रिडर्स नेपाल रिडर्स
पुस ४, २०८०
- अन्तर्वार्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वसन्त थापाका परिचय अनेक छन्। उनी लेखक हुन्, सम्पादक हुन्, अनुवादक हुन् र गीतकार पनि हुन्। समिक्षक, पुस्तक प्रकाशक, फिल्म फेष्टिवलका आयोजक लगायतका पहिचान उनको नाममा जोड्न सकिन्छ। त्यसैले, उनी एकजना सक्रिय खुशदिलवाला मान्छे हुन्। धनकुटामा जन्मेर, धरानमा हुर्केर र काठमाडौंमा आएर आफ्नो निजी जीवन व्यवस्थापन गरेका सार्वजनिक वृत्तमा अनेक नामले चिनिएका वसन्त थापासँग उनको जीवनकै अनुभवका सेरोफेरोमा अल्झेर नेपाल रिडर्सका लागि सम्पादक झलक सुवेदीले गरेको वार्ताको सम्पादित अंश यहाँ प्रकाशित गरिएको छ।

    मसँग कुराकानी गरिरहेको र वर्षौंदेखि गरिरहेका काम छाडेर म जिम्मेवारीबाट मुक्त भएँ भन्दै गरेको वसन्त थापाले आफूलाई कसरी हेर्दो हो? को हुँ भन्ठान्दो हो? आफैले आफूलाई फर्किएर हेर्दा जीवनलाई कसरी मूल्यांकन गर्दो होला भन्ने लागेको छ। को हो यो वसन्त थापा भन्ने?

    सुरुमा भन्नुभएको थियो, गम्भीर कुरा उठाउँदिन भनेर तर यो दार्शनिक कुरा उठाउनुभयो। को हो? यसैको खोजीमा त छौं नि हामी। के हामीले आफैंलाई चिनेका छौं? यो बडो गम्भीर विषय हो जीवनको। म को हुँ, के हुँ भन्ने त देख्नेले अरुले मूल्यांकन गर्ने हो। म आफैंले आफ्नै जीवन पछाडितिर फर्किएर हेर्दा, अहिलेसम्म मैले जे निर्वाह गरेँ, त्यता फर्किएर हेर्दा मेरै मूल्यांकनमा म एउटा औसत जीवन बिताएको सचेत व्यक्ति हुँ। र परिश्रममा विश्वास गर्ने व्यक्ति हुँ।

    अहिले अरुको दृष्टिमा हेर्दा र समाजको जुन मापदण्ड छ, कुनै व्यक्तिको सफलता अथवा विफलता नाप्ने जुन मापदण्ड छ त्यसमा म सफल व्यक्तिको कोटीभित्र पर्छु जस्तो लाग्दैन। शायद त्यो ठीकै पनि होला। तर जे भएतापनि मेरो आफ्नै जीवनप्रति कुनै गुनासो छैन।

    म पुनर्जन्ममा विश्वास त राख्दिनँ तर पनि यदि पुनर्जन्म सम्भव छ भने र मलाई सोधियोः तिमी पहिलेकै जीवन बाँच्न चाहन्छौँ? दोहोर्‍याउन चाहन्छौ भनेर कसैले सोधे भने मलाई कुनै आपत्ति छैन। मलाई अहिलेकै जीवन ठीक छ। यद्यपि यो जीवन त्यति सजिलो रहेन। एकदमै, के भन्ने कठिन, दुस्कर बाटो रह्यो मेरो जीवनको।

    तपाईंलाई मैले हिमाल द्वैमासिकको सम्पादकका रुपमा मात्रै चिन्न सुरु गरेको हुँ। तपाईंले औसत जीवन भनेर भन्नुभयो तर मैले मेरो ठाउँबाट चिनेको वसन्त थापालाई हेर्दा काठमाडौंमा सहज खाल्को जीवन बिताउने एकजना पढेलेखेको समाजप्रति उत्तरदायित्व बोध गरेको सचेत र सक्रिय मान्छे भनेर चिनेँ। तपाईं त्यहाँ आउने बेलासम्म, मैल चिन्ने वसन्त थापा हुनेबेलासम्म अथवा आजको बसन्त थापासम्म आउनु अगाडि अलिकति तपाईंको बाल्यकाल तिर फर्कौं? तपाईं धनकुटा जन्मनुभयो र धरानमा हुर्कनुभयो।

    धनकुटामा त एकदमै प्रारम्भिक शैशवकाल हो। त्यसपछि हामी धरान झर्‍यौँ। धरानमै हुर्कने बढ्ने पढ्ने मौका मिल्यो। काठमाडौँ आएको त बिए पास गरेपछि हो। मेरो प्रारम्भिक जीवन छ नि, जसलाई अंग्रेजीमा फर्म्याटिभ इयर्स भनिन्छ, त्यो समय मैले धरानमै बिताएँ। सजिलो थिएन। किनभने एउटा एकदमै आर्थिक रुपले निम्नस्तरको, त्यसलाई के भन्न मिल्छ, सर्वहारा भने पनि हुन्छ। त्यस्तो परिवारमा हुर्किँदाको आफ्नै दुःख र अप्ठ्याराहरु छन् जो मैले व्यहोर्नुपर्‍यो। कुनै उपाय थिएन। हुर्काइ त्यति सुखद रहेन। तर फर्किएर यसो हेर्दाखेर ती यावत कठिनाइका बावजूद ती दुःखमा पनि काहीँकाहीँ सुख भेटिन्छन्। किनभने जस्तो दुःख भएपनि आफ्नो बाल्यकाल, आफ्नो शैशवकाल र आफू किशोरअवस्थामा प्रवेश गर्दाको बेला मान्छेलाई रमाइलो लाग्दछ। रमाइलै थियो सारा दुःखका बावजूद।

    तर मैले अघि नै भनेँ, कठिन थियो। गुजारा गर्नै कठिन थियो। कसरी पढेँ, त्यो आफैंमा आश्चर्य लाग्छ, कसरी यहाँसम्म आइपुगेँ? मैले कलेज कसरी पार गरेँ, म कसरी युनिभर्सिटी पुग्न पाएँ। कसरी काठमाडौँमा पदार्पण गरेँ, यहाँ कसरी बाँचेँ? काठमाडौँ यस्तो ठाउँ हो जहाँ मेरो कुनै टेक्ने समाउने ठाउँ थिएन। आज पनि छैन। यसर्थ भूइँफुट्टा हुँ म। माथि समात्ने पनि छैन, मुनि टेक्ने पनि छैन। म जे छु, आफैं मात्रै छु भन्दा हुन्छ। तपाईंहरुका दृष्टिमा हेर्दा मेरो कुन छवि तपाईंहरुका आँखामा बस्यो त्यो अर्को कुरा हो। तर, त्यो सजिलो रहेन। काठमाडौं आइपुग्दा पनि। किनभने नितान्त एक्लो, कुनै घचेट्ने, समात्ने, उचाल्ने, ठेल्ने नभएपछि कति गाह्रो हुन्छ तपाईं आफैं कल्पना गर्न सक्नुहुन्छ।

    तपाईंले विवाह काठमाडौं आएरै गर्नुभएको हो?

    विवाह त काठमाडौँ आएरै गरेको हो मैले।

    टियूबाट मास्टर्स पनि गर्नुभयो नि?

    हो, टियूमा मैले नेपाली साहित्यमा एमए गरेको हो। पढ्न त म अरु विषय चाहन्थेँ। तर म यहाँ कसरी आएँ भन्नेमा पनि अलिकति कारण छ। सम्भवत समयले दिँदैन। म विस्तारमा बताउँदिन। तर, मेरा पिताजीका राजनीतिक साथीहरुले मलाई यो धरानमा बसेर ज्यादै बाटो बिरायो, यसलाई काठमाडौं लैजानुपर्छ भनेर उहाँहरुको जोडबलले म यहाँ आएको हो। र यसमा प्रमुख नाम, आज पनि म सम्झन्छु, कृष्णराज बर्मा। उहाँ राजविराजमा बस्नुहुन्थ्यो, धरानमा आइकन मलाई पटकपटक सम्झाएर बुझाएर काठमाडौँ हिँड्, पढ्न मद्दत गरौँला। यहाँ भएन भनेर जोड दिनुभयो। र, उहाँहरुको राजनीतिक स्वार्थ के थियो भने त्यसबेला भर्खर भर्खर नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन भन्ने संस्थाले पुनर्जन्म लिएको थियो।

    त्यो संस्था भनेको नेपालको सबैभन्दा पुरानो विद्यार्थी संगठन हो भनिन्छ। त्यही राष्ट्रिय विद्यार्थी फेडरेसनको झण्डा अन्तरगत नै चिनियाँ काजी सहिद भए, २००८ सालमा भन्ने गरिन्छ। तसर्थ यो धेरै पुरानो विद्यार्थी संगठन हो। तर यो बीचमा हराएको थियो, ओझेलमा परेको थियो। अरु अरु विद्यार्थी संगठनहरु अगाडि थिए। जस्तैः नेविसंघ, अनेरास्ववियु। यसलाई पुनर्जीवन दिने उहाँहरुको राजनीतिक समूहले विचार गरेछ र मलाई काठमाडौँ ल्याइएको थियो। यसले केही गर्छ कि भन्ने आशा रहेछ। तसर्थ उहाँहरुले प्रारम्भिक हिसाबले यताउती बस्ने आउनेबित्तिकै केही मिलाइदिने चाँजोपाँजो गरिदिनुभयो। त्यसैले आएको हुँ।

    कति सालमा?

    २७ सालमा म आइसकेको थिएँ।

    त्यतिबेला त्यस समूहमा भएका मान्छेहरु प्राय तपाईं जत्तिको पढेका मान्छे त रुस पढ्न जान्थे, स्कलरसिपमा। तपाईंको चाहिँ कहाँनिरबाट त्यो चुक्यो? कि तपाईंले नै चाहनुभएन?

    रुस पढ्न जान मेरो योगदान भइसकेको थिएन होला सायद। असलमा भन्ने हो भने रुस पढ्न जानतिर मलाई त्यति ध्याउन्न पनि थिएन। अनि, कुरा के आयो भने अर्थशास्त्र पढ्ने कि अर्को विषय के पढ्ने भन्ने भयो। अर्थशास्त्रमा एकदुईपटक कक्षा लिएँ, म गणितमा कमजोर मान्छे पहिलेदेखि, मलाई यस्तो लाग्यो कि अर्थशास्त्रमा मैले गरीखान्नँ। यता युनिभर्सिटी प्रवेश गर्ने भन्ने मुख्य कारण चाहिँ फेडरेसनलाई पुनर्जीवित गर्ने, त्यसलाई अगाडि बढाउने भन्ने भइसकेपछि त त्यहाँ घुँडा धसेर पढ्ने सम्भावना पनि थिएन। सजिलो विषय के छ भन्दा नेपाली। नेपालीमा प्रवेश पाइन्छ भन्दा पाइन्छ। त्यहाँ पनि एकदम मेहेनत गरेर, खुरुन्दार गरेर मैले पढेको होइन। किनभने, ध्याउन्न अर्कै थियो मेरो।

    फेडरेसनको के जिम्मेवारी पूरा गर्नुभयो?

    सुरुमा म आउने बित्तिकै मलाई त त्यसै टिपेर केन्द्रीय समितिमै राखियो क्यारे। त्यसपछि म तुरुन्तै सचिव भएँ। पछि महासचिव पनि भएँ। कालान्तरमा म अध्यक्ष भएर त्यसकामबाट निवृत्त भएको हुँ।

    राजनीतिको त्यो चक्करमा कति सालसम्म हुनुहुन्थ्यो?

    सन् १९७० मा म आएँ, ७५ बाट म फारिग भएँ सबै चीजमा। त्यसबीचमा मैले गरेको सबैभन्दा ठूलो काम के हो भने त्रिभुवन विश्वविद्यालयको विद्यार्थी युनियनको चुनावमा फेडरेसनको प्रतिनिधित्व गरेर म सभापतिको उम्मेद्वार भएको थिएँ। जहाँ फेडेरेसनको कुनै एउटा बिउ पनि थिएन। त्यो बिउ रोप्ने काम मेरो पालामा भयो। भोट त धेरै ल्याइनँ।२५,३० भोट कति ल्याएँ होला।

    कति सालको कुरा होला यो?

    मलाई वि. सं. र इस्वीको अलिकति अप्ठ्यारो परिरहन्छ। तर त्यो सालमा मसँग हुनुहुन्थ्यो, जससँग मेरो अहिले पनि दोस्ती छ, दीपेन्द्रबहादुर क्षेत्री। उहाँ अनेरास्ववियुबाट अध्यक्ष उठ्नु भएको थियो। नेविसंघको को उठेको थियो मैले बिर्सेँ। ०२९ सालमा त हाम्रो ठूलो आन्दोलन भएको थियो। ०२९ साल वा त्यस्तै होला। अनि ती सबैसँग मेरो एकदम राम्रो दोस्ती छ, व्यक्तिगत तवरमा। हामीलाई त्यो विद्यार्थी फेडरेसनको राजनीतिक कोर्स र विचारलाई अगाडि लैजानु थियो। त्यो काममा एक किसिमले सफल भयौँ।

    यसैसँग जोडेर राजनीतिका दुईवटा प्रश्न सोध्छु। तपाईं राजनीतिक जीवन कहाँनिरबाट मोडिएर, काहीँ छुट्यो?

    यसो भयो। मैले यता नेपालीमा एमए गरेँ १९७३ मा। त्यसपछि ७४ मा हो क्यारे, सँगसँगै बीएल पढ्न पाइन्थ्यो र मैले पढेँ पनि। र, कृष्णप्रसाद भण्डारीको सौजन्यबाट मैले बीएल पढेको हो। फि तिर्नुपर्दैन थियो। उहाँ त्यहाँको लेक्चरर हुनुहुन्थ्यो। उहाँले पाउने जुन तलब थियो, त्यसबाट मेरो त्यहाँको शुल्क काटिन्थ्यो। यसरी मैले ल पूरा गरेँ। उहाँ अहिले पनि हुनुहुन्छ। भेट्न जान चाहिँ पाएको छैन। जाने भन्दैछु। यसरी एमए पनि भएँ र बीएल पनि भएँ। काम त गर्नुपर्‍यो। नभए काठमाडौँ बस्ने कसरी? मसँग दुईवटा च्वाइस थिए, एउटा धरान जाने। कि यहीँ जसरी भए पनि घुँडा धसेर बस्ने। धरानमा पनि सम्भावनाहरु सीमित थिए। के जागिर गर्नु?

    नेपाली पढाउन त पाइँदो हो नि?

    शिक्षण पेशा एउटा सम्भवना थियो र वकालत गर्ने पनि सम्भावना थियो। मैले घोरिएर हेरेँ। मेरो आफ्नै पिताजी सारा जीवन एउटा आदर्श कम्युनिष्ट भएर, आदर्श र असल निष्ठावान कम्युनिष्ट भएर बिताउनुभयो। त्यसको मतलब ‘लुजर’ हो, आजको सन्दर्भमा। त्यो सबै दुःख, त्यो सबै अप्ठ्यारा कठिनाईहरु मैले भोगिरहेको थिएँ। त्यहाँ गएर मैले फेरि कहाँबाट सुरु गर्ने? भाइबहिनीहरु थिए म मूनि। त्यसको जिम्मेवारी पनि बहन गर्नुपर्थ्यो। त्यहाँ गर्ने के त मैले फेरि? सम्भावना सीमित देखेँ, यही गर्नुपर्‍यो। ल प्राक्टिस गर्ने कि भनेर पनि विचार गरेँ। केही समय भण्डारी जी कै ल फर्ममा गएँ पनि। तर ती काइते अक्षर देखेर मेरो कपाल दुख्थ्यो। मान्छे त तार्किक नै हुँ तर अक्षर र जुन पुराना ठेली, तमसुक थिए ती सबै अप्ठ्यारो लाग्यो।

    त्यसबेला मैले मलाई यो राजनीति फाप्दैन, म गर्नेवाला छैन भन्ने लाग्यो। एकजना बाउले त गल्ति गरे गरे, त्यो गल्तिलाई छोराले दोहोर्‍याउनु हुँदैन भन्ने मलाई बोध भइसकेको थियो। मैले लिने राजनीतिक विचार भनेको वामपन्थी विचार हो, जानेकै त्यही हो। सिकेको त्यही हो। मानेको पनि त्यही हो। तर, यसबाट गुजारा त हुँदैन। बाउ त सहिद भए भए छोरा किन सहिद हुने? म मात्रै सहिद हुन्नँ। मेरो परिवार, आमा सहिद हुन्छन्, भाइबहिनी छन्, ससाना। उनीहरु पनि पढ्छन्, मैले केही न केही गर्नपर्छ भनेर जागिरको खोजीमा लागेँ।

    केही न केही त गर्न पर्‍यो। राइजिङ नेपाल अहिले पनि निस्कन्छ। २५ पैसामा पाइन्थ्यो। त्यो पनि किन्न नसकेर भुगोल पार्कमा टाँसेको हेरिन्थ्यो। त्यहाँ वान्टेड विज्ञापनहरु धेरै आउँथे। अरु पनि साथी थिए म जस्ता। अहिले जस्तो कम्प्युटरको प्रविधि थिएन। टाइपराइटरमा काहीँ गएर गराउन पैसा लाग्थ्यो, थिएन। अनि हामीले एउटै व्यहोराको, एउटै मजबुनको निवेदन अंग्रेजीमा लेखेर कार्बन पेपर राखेर ४/५ वटा बनाउँथ्यौँ। माथि शीर्षक मात्रै फेर्‍यो। जहाँ वान्टेड छ, त्यो निवेदन दिइहाल्यो। त्यस्तो प्रक्रिया चलिरहेको थियो। एकातिर यो काइते तमसुकले कपाल दुखेको, दोस्रो कुरो तत्कालै केही नगरि पनि भएको थिएन।

    घरभाडा चाहियो, खाना चाहियो। केही न केही त तत्काल चाहियो मलाई। ल फर्मबाट आउनेवाला थिएन, एकदुई वर्षलाई। त्यही सिलसिलामा मैले एउटा काम पाएँ। ३/४ सय रुपैयाँ महिनाको। त्यसपछि मेरो बाटो नै अलग भयो। राजनीति त मैले पहिले नै छोड्ने अठोट गरिसकेको थिएँ। त्यतातिर चटक्कै छोडिदिएँ, कामतिर लागेँ। काम पनि पर्यटनसँग सम्बन्धित पाएँ। त्यसबेला नेपालको टुरिजम माथि गइरहेको थियो। त्यसको बेग्लै संसार थियो, ट्राभल एजेन्सीको, एअरलाइन्सको, ठूल्ठूला होटलको। होटल सोल्टीमा, होटल अन्नपूर्णमा जाने भएँ। वाह ! यो के हो? पुरै नौलो संसार थियो। त्यस्तैको संगत भयो। जागिरले गर्दा। यसो हुँदाहुँदै विवाह गरियो। विवाहपछि झनै जिम्मेवारी बढ्यो।

    विवाह भएको चाहिँ मागेर हो कि प्रेम गरेर?

    आधा आधा हो। कलकता कि केटी हो। यहाँ भेट भयो। मनपरापर भयो। नेपाली नै हो। तर उतै जन्मिएको उतै हुर्केको सबै दृष्टिले बंगाली, नश्लका दृष्टिले मात्रै नेपाली। त्यो भएपछि बकाइदा माग्न गइयो। पिताजीलाई लिएर गएँ म।

    त्यसो भए पर्सी जाने भनेको कलकत्ता होइन, ससुराली पो हो?

    कलकत्ता पनि हो। ससुराली पनि हो।

    मैले अलिकति पछि फर्काएँ तपाईंलाई। एउटा तपाईंको बुवाको राजनीतिक जीवनको कुरा गर्नुभयो। जसले तपाईंलाई तानेर धरानबाट निकालेर यहाँसम्म ल्यायो र यता अलपत्र छोड्दियो। बुवाको बारेमा बताइदिनु न। कस्तो राजनीति गर्नुभयो, कहाँबाट पुग्नुभएछ कम्युनिष्ट पार्टीमा?

    मैले यसबारे दोहोर्‍याएको जस्तो हुन्छ, तर बेग्लै माध्यम भएकाले दोहोर्‍याएको पनि नमानौँ। मैले हिमाल खबरपत्रिकाको अनलाइनमा पिताजी र वहाँको अवस्थाका केही प्रसंग लेखिसकेको छु। त्यसको शीर्षकै के थियो भने ‘बाँच्न गाह्रो कम्युनिष्ट पुत्र भएर’। त्यसमा मैले आफ्नो पिताजीबारे जे जति जानकारी र भावना छ, त्यसमा पोखेको छु। सारांशमा उहाँ ६ सालतिरै धनकुटा छोडेर विराटनगरतिर जानुभयो। विराटनगरमा त्यतिबेला फ्याक्ट्रीहरु थिए। जुटमिल भन्ने सुन्नुभएको होला। बबिन मिल, सलाई फ्याक्ट्री आदि। उहाँ कुनै मिलमा गएर, बबिन फ्याक्ट्री भन्थे त्योबेला, त्यहाँ गएर काम गर्नुभयो। त्यसबेला ७ सालको आन्दोलन सुरु भयो। उहाँ त्यसमा सरिक हुनुभयो।

    उहाँले भनेको सुनेअनुसार त्यसबेला विराटनगरको राणा बडाहाकिमको निवासमा आक्रमण गर्ने काम भएको थियो, क्रान्तिकारीहरुद्वारा। त्यस जत्थाको अग्रदस्तामा मेरो पिताजी हुनुहुन्थ्यो। त्यहाँ कसैले एउटा डोजरलाई ट्यांक जस्तो स्वरुप दिएर आक्रमण गरेको रहेछ। त्यसपछि सायद उहाँ सरसंगतबाट नै राजनीतितिर प्रवेश हुनुभयो र पछि सम्भवतः ७ सालपछि होला, वहाँ कम्युनिष्ट पार्टीमा लाग्नुभएको थियो क्यारे।

    पछि हामी धरानमा आएर बस्यौँ। उहाँले मजदुर फाँट, उहाँ पहिले यातायात मजदुरका रुपमा काम सुरु गर्नुभयो। उहाँ गाडी हाँक्नुहुन्थ्यो, ट्रक, बस हाँक्नुहुन्थ्यो। पछि चाँहि यातायात मजदुरहरुको नेताको रुपमा चिनिनुभयो। ट्रेड युनियन लिडरका रुपमा। त्यही उहाँको छवि रह्यो र उहाँ सधैँ नै कम्युनिष्ट पार्टीको सदस्यका रुपमा रहनुभयो, जीवनपर्यन्त।

    तपाईंको नेताहरु कृष्णराज बर्माहरु जेलमा थिएनन्,तपाईंलाई काठमाडौं ल्याउने बेलासम्म। त्यसपछि पनि बेलाबखत तपाईंको बुवा गिरफ्तार भइरहेको, जेलमा बसिरहेको भन्ने देखियो?

    ८ देखि १२ सालसम्म त नेपाल कम्युनिष्ट पार्टी प्रतिबन्धित नै रह्यो। त्यसबेला त भागाभाग हुने नै भयो। त्यसपछि भद्र अवज्ञा आन्दोलनको क्रम आउँछ, त्यसपछि १५ सालको चुनावमा उहाँहरु सबैले भाग लिनुभयो। त्यसपछि १७ साल आयो। फेरि लुक्ने छिप्ने कुरा आयो। जीवन त सधैँ यसरी नै भगौडाको जीवन उहाँले बिताइरहनुभयो। हाम्रो वास्तवमा पारिवारिक जीवन एकठाउँमा रहेर सुमधुर आनन्दमय कहिल्यै पनि रहेन। एक त अभाव छ, श्रमजिवीको परिवार छ। अहिले खायो भरे के खाउ, भरे खाए भोलि के खाउँ भन्ने अवस्था छ। त्यसमा उहाँको ताल भागिहिँड्नु पर्ने। यस्तो थियो हामी हुर्किँदाको बेला।

    तपाईंहरुको दाजुभाइ कति?

    गन्ती नै गर्नुपर्छ। निकै धेरै पो थिए त। किनभने उसबेला सन्तान धेरै हुन्थे। म मुनिको एकजना बित्यो, सानैमा। जीवित त ५ जना छौँ। म जेठो हुँ। एउटी बहिनी पनि छन्।

    बा को भागाभाग, जेल भइसकेपछि सबै भारी त आमाले बोक्नुभयो। बा को राजनीतिप्रति तपाईंहरुको हुर्काइ पछि आएर जहाँ पुग्नुभयो, परिवार जे जसरी भएपनि सेटल भइसकेपछि आमाले के भन्ने गर्नुहुन्थ्यो तपाईंहरुको जीवन र राजनीतिबारे?

    आमाले धेरै दुःख गर्नुभयो। त्यो पनि मैले कतै लेखेको छु। सानोतिनो एउटा किराना पसल हुन्छ नि जे पनि हुने, सिगरेट, चुरोट बिँडी, नरिवल, तरकारी जे छ त्यही। हरेक चिज उहाँले गर्नुभयो, पिताजी बेपत्ता। खुब दुःख गर्नुभयो आमाले। कहिले बाउ जेल परे, म पनि जेल परे। म पनि झण्डै दुई महिना पुगनपुग विराटनगर जेलमा बसें कलेजमा हुँदाखेरी। वारेन्ट त कति हो कति। म छुच्चो थिएँ, कलेजमा। चर्काचर्का कुरा गर्ने, नारा लगाउने। त्यो त कति हो कति।

    आफ्नो लोग्ने पनि, छोरा पनि यो तालमा हुँदा आमालाई कस्तो भएको होला? तर, आमाले कहिले पनि गुनासो गर्नुभएन। त्यो लगभग हामी दुई महिना कलेजमा हुँदा धेरैजनालाई समातेर लग्यो। त्यसको अर्कै कथा छ। धेरैका आमा बाउ रुँदै भेट्न आए, कतिलाई के गरेर कागज गरेर छुटाएर लगे। कतिले मेरी आमालाई जाउँ भनेछन्, किनभने हाम्रो ३०/४० जनाको झुण्डलाई नै थुनेको थियो। एउटा काण्ड लगाएर, कलेजको। मेरो छोरो फर्किन्छ, ज्यानमारा होइन, डकैती गरेको होइन, फर्किन्छ, म त जान्नँ भनेर आउनुभएन।

    त्यसैगरी हाम्रो बुवा जेलमा पर्दा पनि आमा कहिल्यै भेट्न गएको सम्झना छैन। त्यो त एउटा क्रम हो जान्छ आउँछ भनेजस्तो। त्यस हिसाबले उहाँले लिनुभएको थियो सायद। यो के गरेको? मलाई भोकै पार्ने भयौ, यस्तो गर्न छाड भनेर कहिल्यै रोएको पनि होइन। मलाई लाग्छ, त्यो उहाँको बुझाइ, समझदारी र उहाँको सहयोग थियो बुवाको राजनीतिप्रति। छोरालाई पनि तैले किन यसो गरिस् भनेर कहिले गाली गरेको पनि होइन, खुरुक्क पढ्नु नि अनेकथरी के गरेर हिँडेको पनि भन्नुभएन। मलाई लाग्छ उहाँको त्यो एउटा अव्यक्त सहयोग र समर्थन थियो।

    यसमै जोडेर, राजनीतिको एक पाटोलाई अन्तिमतिर लैजाऔँ। तपाईंको त्यो लेख पढ्नेहरु कम्युनिष्टको छोरा भएर बाँच्न झन गाह्रो छ भन्ने शीर्षकको जे छ, पढ्नेहरुले एक ढंगले बुझे। हामी राजनीति पनि बुझ्ने भएको हुनाले हामीले त्यसलाई एक ढंगले हेर्‍यौँ होला। त्यही वाक्य जुन छ, पढ्नेले बुझ्ने कुरो एउटा भयो, तपाईं अहिले पनि केही भन्नुपरेमा हाम्रो पाठकहरुसँग के भन्नु हुन्छ?

    तपाईंलाई एउटा रमाइलो कुरा भनुँ? एकजना युवा खुलेरै भन्ने हो भने मेरो छोराको सालो। ऊ जवान छ, ४० मूनिको। ऊ मैले लेखेको जस्तो लेख पढ्ने मान्छे पनि होइन। अचेलका युवाहरु पढ्दैनन् पनि। के सन्दर्भमा मैले यो पढ न भनेर लिंक उसलाई पठाइदिएँ, त्यही कम्युनिष्टको छोरा भएर..। अर्कोपटक भेट्दाखेरी त्यो पढी सकेको हुनुपर्छ, म सोध्छु भनेको थिएँ। भेट भयो संयोगले। पढ्यौ भनेर सोध्दा पढेँ भने। कस्तो लाग्यो भन्दा अंकलको बारेमा धेरै कुरा थाहा पाएँ भन्यो। उनलाई के थाहा? ऊ कहाँको म कहाँको। तर उनले एउटा रमाइलो कुरो के भने थाहा छ? तर अंकल त्यसको टाइटल अलिक ठीक भएन कि। किन? कम्युनिष्ट भन्दा त नराम्रो हिसाबले लिन्छन् नि ,के के गरेर पैसा कमाउनेहरु पो भन्छन्। नराम्रो भयो कि। उसको बुझाइ। त्यो चाहिँ नराखेको भए हुन्थ्यो कि। जुन गाँठी कुरा भन्न चाहेको थिएँ, अहिलेको बुझाइ हेर्नोस् त? अहिलेको अवस्थामा कम्युनिष्ट भन्ने शब्द र कम्युनिष्ट भन्ने विचार या व्यक्तिहरुप्रति जनमानसमा कस्तो प्रभाव रहेछ भन्ने त्यसबाट बुझ्न सकिन्छ। यो तपाईं जस्तो राजनीतिक विश्लेषकले बुझ्ने कुरा हो। म दङ खाएँ।

    हामीले हाम्रो नेतृत्वले गाली त खाएको थियो। तर उसले यसरी भित्रबाट मेरो दिदीको ससुरा दुःख पायो, ठीक छ तर कम्युनिष्ट नभनेको भए हुन्थ्यो, बदनाम हुने भयो भन्नु भनेको त हामी सबैका निम्ति ठूलो व्यङ्ग्य मर्मैमा प्रहार भयो नि!

    रोचक छ। के व्यङ्ग्य हुनु, ठूलो प्रहार हो यो। यो भर्खरको कुरा हो। अब म के बताउँ।

    अब फेरि तपाईको जीवन संघर्षतिर फर्कौं। तपाईं त्यो ४०० को जागिर छाडेर एउटा होटल पनि गर्नुभयो भोटेबहालतिर?

    मैले धेरै काम गरेँ। असलमा भन्नुपर्दा म के दाबी गर्थें भने गर्वसाथ मैले नगरेको कामै छैन। त्यसैले मैले हरेक किसिमको काम गरेँ। बाँच्ने क्रममा जे जे सामुन्ने आयो त्यही त्यही गरेँ। जस्तै एउटा भोको मान्छेसँग कुनै विकल्प हुँदैन। तपाईंलाई भोक हरहरी लागिरहेको छ भने तपाईं यो मिठो यो मसिनो भन्ने त मौका नै पाउनुहुन्न। अगाडि जे आउँछ त्यो हसुर्ने हो, त्यो खाने हो। त्यसैगरी म एक्लो थिएँ, म दुक्लो भएँ , छोराछोरी भए, भाडामा बस्नु छ काठमाडौँमा उनीहरु ठूला पनि हुँदै गए। पढाउनुपनि छ। केही न केही त मैले रातदिन गर्नुपर्‍यो। र यो गर्ने त्यो नगर्ने, त्यहाँ राम्रो छ भन्ने कुरा छानीवरी, त्यो छनौटको लक्जरी थिएन।

    त्यही क्रममा मैले ट्राभल एजेन्सीमा काम गरेँ, रेस्टुरेन्ट खोलेँ एकजना पार्टनरसँग मिलेर। त्यही पार्टनरसँग मिलेर गेस्टहाउस खोलें, ट्रेकिङको काम गरेँ, कार्गोको काम गरेँ, क्लर्क भएर काम गरेँ। एउटा कार्यालयमा म क्लर्क, त्यसको अफिस सेक्रेटरी भएर काम गरेँ। बिहान अर्को ठाउँमा जान्थे, २,३ सय रुपैयाँ पाउँथें। साँझ ५ बजेपछि अर्को २,३ सय रुपैयाँ पाउँथे। त्यही अफिसमा बस्दा बस्दै अर्को जिम्मेवारी लिएर त्यहाँबाट पनि अरु पैसा पाउँथें। मुख्य एउटा ‘जव’, तीन वटा ‘साइड जब’ गर्थें। त्यसपछि बेलुका गएर फेरि ट्रान्सलेसन गर्थें। मैले धरानदेखि जानेको काम त्यही थियो, त्यो गरिरहन्थें। त्यसबाट पनि अलिअलि आउँथ्यो। एक पेजको २५ रुपैयाँ आउँथ्यो। त्यो पनि गरिरहन्थें। खाली कसरी काठमाडौँमा टिक्ने र कसरी मेरो परिवारलाई टिकाउने भन्ने मात्रै ध्याउन्न हुन्थ्यो। तसर्थ मैले धेरै काम गरेँ। के के गरेँ भनी साध्य छैन।

    एउटा कुरा चैँ भनिहालुँ, गर्न नहुने काम चाहिँ मैले केही पनि गरिनँ। किनभने मेरो पिताजीको आदर्शले नै मलाई रोक्थ्यो। मेरो हुर्काइ त्यस प्रकार रह्यो, आदर्श सोच आयो। एउटा यस्तो देश खुशहाल, अमन, चयन, महाकवि देवकोटाले भनेको जस्तो सुनको बिहानी आउँछ। जहाँ हामी सबै मेहनतकस, हामी मजदुर किसान, हामी सर्वहाराको दिन आउँछ। हामी खुशहाल हुन्छौँ, अमन चयनको जिन्दगी बिताउँछौँ। जुन समाज शोषणरहित हुन्छ, हरेक व्यक्ति समान हुन्छ। यो सपनाबाट प्रभावित, दायाँबायाँ त मैले गर्न जानेकै छैन। न मेरो बाउले गरे, न बाजेले। तर म हरेक काम गर्थें। दुःख गर्नुपर्ने काम मैले सबै गरेँ। कुनैपनि छाडिन मैले।

    तपाईंको जीवन सम्बन्धी संस्मरणहरु पढ्दाखेरी आउने दुईवटा पाटा छन्। एउटा धरानमा छ, ४,५ वर्ष अगाडि पोखरामा एउटा साहित्य महोत्सवका बेला तपाईंले दीप श्रेष्ठसँग लिएको संवाद मैले पूरै सुनेँ। जान पाएको थिइनँ, घरमै बसेर। तपाईंले दीपसँग गरेको संवादले तपाईको गीत संगीतबारेको रुची व्यक्तगर्छ। सिनेमा बारे तपाईंको जानकारीहरु पुरानो ६०,७० का दशकका सिनेमाहरु, त्यसका पात्रहरु, कथाहरुबारे तपाईले गरेको चर्चा सन्ध्याकालिन जमघटमा पनि मैले सुनेको छु। त्यो धरानको चरित्रमाथि तपाईंले दुईतीन ठाउँमा लेख्नु बोल्नु पनि भएको छ। तपाईंको हुर्काइमा धरानको प्रभाव कस्तो थियो? बसन्त थापा बनाउनमा धराने समाजको प्रभाव कस्तो थियो?

    छोटकरीमा भन्दा यदि बसन्त केही हो, बसन्त थापा तपाईंको यो कार्यक्रममा ठाउँ पाउन योग्य भयो यदि र त्यो केही हो भने त्यो धरानले बनाएको हो। धरान बिना म यस्तो हुने थिइनँ।

    के थिए त्यस्तो विशेषता?

    धरान एउटा जङ्सन, यस्तो संगमस्थल भयो, सांस्कृतिक रुपले। सबैतिरका मान्छे आए त्यहाँ। र सबैभन्दा ठूलो त्यसबेलाको भूमिका भनेको त्यहाँ ब्रिटिश क्याम्प आइदियो। त्यो आएको त १९५३ मै हो। फुस्रेमा आएर पहिला अस्थायी क्याम्प बनायो। पछि घोपामा गएर अहिले जहाँ बिपी कोइराला इन्स्टिच्युट छ, त्यहाँ सरेको हो। त्यो चाहिँ सन् ५९ को कुरा। त्यो क्याम्प आइदिनाले धेरै कुरा ल्यायो। कहाँ कहाँका व्यक्तिहरु आए। धेरैजसो दार्जिलिङ, कालिङपोङ, सिलोङ, बर्माका कताकताका आए। फेरि तेस्रो लहरमा बर्माका आप्रवासी धपाइएका थिए, आए। आसामका नेपालीहरु कुनै न कुनै कारणले आउने। यसरी सबैतिरका मान्छे भेटघाट हुने ठाउँ भयो। एक किसिमले नयाँ संस्कृति त्यहाँ विकास हुने भयो। हामी पहाडतिरबाट झरेका मान्छे त त्यहाँ छदै थियौँ। र, ब्रिटिश क्याम्प आइदियो।

    जतिखेर अन्यत्र गोरा छाला भएका मान्छे देख्न गाह्रो हुन्थ्यो। त्यहाँ त सधैँभरी हुने भए। त्यसले एउटा नयाँ संस्कृति भित्र्यायो। ब्रिटिशहरुको प्रभावयुक्त संस्कृति। जुन ठाउँमा अहिले बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान छ, त्यहाँ उनीहरुले जो क्याम्प बसाले त्यो आफैंमा सेल्फ क्यान्टोनमेन्ट हो। त्यहाँ उनीहरुको आर्मी पनि बस्थे, गोर्खा आर्मी पनि बस्थे। सिभिलियन लाइन थियो बेग्लै। त्यहाँभित्र पल्टन बजार भन्ने एउटा बजार नै थियो। सिनेमा हरेक हप्ता देखाइन्थ्यो।

    त्यहाँ गल्फ खेलिन्थ्यो। फुटबल ग्राउण्ड नै तीनवटा थिए। स्कुल पनि थियो, त्यहाँका केटाकेटी पढ्ने। सबै चिज थियो। सबैभन्दा ठूलो अस्पताल थियो। धरानमा पनि अस्पताल थियो तर त्यो यथेस्ट थिएन। तर, त्यहाँ आधुनिक सुविधासम्पन्न अस्पताल ल्याइदिए। खासगरी त्यहीँका मान्छेहरुका लागि हो, उनीहरुकै स्टाफहरुका लागि हो। तर, बाहिरका मान्छेका लागि नाइँ भन्न भएन। जान्थे। त्यो सुविधा पनि उपलब्ध भयो। समग्रमा त्यसको समाजशास्त्रीय हिसाबले मूल्यांकन हुन बाँकी नै छ, तर मेरो बुझाइले त्यसले ठूलो परिवर्तन त्यहाँ ल्याएको थियो। त्यो माहोलमा म सट्ट त्यहाँभित्र पसेँ। हामी बजारमा बस्थ्यौँ, त्यो पर थियो, तर मेरो रातदिन रासोबासो त्यही क्याम्पभित्र थियो। त्यहीँका साथीहरुसँगै।

    तपाईंको भनाइले के लाग्छ भने धरानमा जुन धेरैतिरका मानिसहरुको मिश्रण भयो, त्यसले चाहिँ मान्छेहरुको सोच्ने तरिकालाई, परम्परागत सांस्कृतिक संरचनालाई भत्काइदियो, आधुनिकतातिर धकेलिदियो?

    आधुनिकता त्यस रुपमा आयो। त्यहाँ फेरि के भयो भने उनीहरुले ब्रिटिश लाइब्रेरी पनि खोलिदिए। अंग्रेजी भाषासँगको निकटता आयो। नत्र हामी हिन्दी पढेर हुर्केका। हिन्दीका पत्रपत्रिका, समाचारपत्र, किताब, उपन्यास पढेर हुर्केका हामी। त्यहाँ ब्रिटिश लाइब्रेरी छ, ब्रिटिश काउन्सिलको जहाँ गएर हामीले अंग्रेजी पत्रपत्रिका हेर्न सक्यौँ। अंग्रेजी किताबहरु हेर्न सिक्यौँ, पढ्न सिक्यौँ। प्रत्येक हप्ता अंग्रेजी फिल्म हेर्न पायौँ। हलिउडका फिल्महरु हामीले कहाँबाट हेर्न पाउने बाहिर?

    यतातिर धरानमा उसैबेला दुई दुईवटा सिनेमा हल थिए, त्यसको प्रभाव त छँदैथियो। अघि तपाईंले भन्नुभयो सिनेमाप्रतिको लगाव, हो त्यो हामी हुर्किदाँको बेला हरेकमा सिनेमाको त्यो प्रभाव थियो। हिन्दी सिनेमा नै हेरेर हुर्कियौँ, त्यसमा थपियो अंग्रेजी सिनेमा। दुईतिरको संसार देखियो। तुलना पनि गर्न सकियो। त्यसले चाहिँ पश्चिमी संस्कृति र अंग्रेजी भाषायुक्त संस्कृति त्यहाँ भित्रिएको थियो। त्यसमा म चाहिँ एकदमै लगालग ५,६ वर्ष डुबेँ। जसले गर्दा मेरो एउटा यस्तो खालको विश्वदृष्टिकोण, यस्तो खालको सोचाइ, मेरो व्यवहार, आचार, व्यवहार यस्तो हुन गयो। मलाई लाग्छ मेरो निर्माणमा त्यो माहोलको ठूलो भूमिका थियो। त्यसलाई घटाएर हेर्नोस्, म कंकाल जस्तो मात्रै हुन्छु। मासु बिनाको कंकाल मात्रै रहन्छु।

    तपाईंको फिल्म हेरेर भएको हुर्काइबारे तपाईंले पहिला पनि लेखिसक्नुभएको छ। पछि आएर काठमाडौँमा इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल किम्फको संयोजक र अर्गनाइजरका रुपमा धेरै वर्ष काम गर्नुभयो।

    २२ वर्ष काम गरेँ

    ती के अन्तरसम्बन्धित छन्?

    जरुर छन्। मेरो व्यक्तित्व निर्माणमा मैले आफैले बोध गरेको अर्थात् आफूले बोध नगरेको पनि जुन प्रभाव फिल्मले पारेको थियो, त्यसले गर्दा मैले जहिले पनि यो सिनेमालाई एकदमै उच्च महत्व दिँदै आएको थिएँ। यो लर्निङकै एउटा पार्ट हो, यो समय खेर जाने काम होइन। समय व्यर्थ जाँदैन। यो हाम्रो ज्ञान आर्जनकै एउटा माध्यम हो भन्ने ममा जहिले पनि थियो। कतिले यसलाई खाली मनोरञ्जनको हिसाबले मात्रै हेरेर समय बर्बाद मात्रै भइरहेको छ, बरु पढ्नु नि भन्छन् नि। एउटा राम्रो फिल्म हेर्नु पनि राम्रो पुस्तक पढ्नु जस्तै हो भन्ने गुरुमन्त्र मलाई मदनमणी दिक्षितले दिएर जानुभएको थियो।

    मैले उहाँले सम्पादन गर्ने समीक्षा साप्ताहिक पत्रिकामा दुई वर्ष काम गरेँ। विशेष संवाददाताका रुपमा। उहाँ अन्तर्गत काम गर्दा उहाँले दिएको गुरुमन्त्र थियो कि एउटा राम्रो सिनेमा हेर्नु भनेको राम्रो पुस्तक पढ्नु जस्तै। मलाई के चाहियो, बाँदरलाई लिस्नो भनेजस्तै। मैले जे काम गरेको छु राम्रो गरेको रहेछु। त्यो हुनाले यो एउटा लर्निङकै प्रोसेस हो, यो एउटा महत्वपूर्ण माध्यम हो भनेर पनि त्यसले काम गरेको छ। अनि त यो फिल्म फेस्टिभल सुरुवात गर्नमा जाँगर आएको र सुरुवात गर्नमा मात्रै होइन कि त्यसलाई २२ वर्षसम्म बोक्नमा जाँगर आयो।

    तपाईंको ज्ञान वा व्यक्तित्व, विश्वदृष्टिकोण निर्माणको पाटोबाट हेर्दा यो सिनेमाका प्रभाव, त्यहाँको मिक्स हुँदै गएको आधुनिक संस्कृति, विश्वविद्यालयसम्मको शिक्षा, आन्दोलन, राजनीति यीसबैले योगदान गरे। व्यक्तिगत रुपले तपाईंले लेख्नुभएको छ, धनकुटामा हुँदाखेरी हजुरबुवा कहाँ गएको, झोला बोकेर फर्किएको के के, त्यहाँबाट धनकुटाका प्रभाव होलान्, धरानका प्रभाव होलान्। यी सबै कुरा छन्। एउटा कुरा तपाईंको पिताजीको राजनीतिक संलग्नता, आबद्धतता त्यसले तपाईंलाई पनि डोहोर्‍याइसकेपछि मार्क्स, लेनिन अथवा यिनीहरुको जुन शिक्षा पढ्नुभयो, सोभियत साहित्य। त्यसको प्रभाव चाहिँ कस्तो छ? आफ्नो जीवन दृष्टि बनाउने कुरामा यी कुराको प्रभाव कस्तो रह्यो? साहित्यसँग त तपाईं छिटै संगतमा जानुभयो जस्तो लाग्छ।

    हाम्रो त्यसबेलाको त्यो वातावरण, त्यो माहोल नै यस्तै थियो। अहिले भनुम् न मान्छेको मन बहलाउने अथवा समय बिताउने धेरै उपाय र साधनहरु छन्। हामीसँग थिएन। भएको एउटा सिनेमा थियो, केही पत्रपत्रिका थिए। जो पढ्दैन थिए, तिनको कुरै छोडुम्। पढ्नमा सानैदेखि प्रवृत्त गर्ने पनि अरु कारण थियो, पुस्तकालय कारण थियो। हामी भन्दा जेठा दाइहरुले घरैको छेउमा पुस्तकालय, लक्ष्मी वाचनालय भन्ने खोलिदिए। त्यो पुस्तकालयमा बिपी कोइराला प्रधानमन्त्री भएका बेला २०१६ सालमा आएका थिए। एउटा सानो मान्छे उभिँदा पनि टाउको ठोक्किने जस्तो ठाउँमा उनी आएर भिजिटर्स बुकमा सही गरेका थिए। हामी एकदमै उत्साहित भएर पर्खेको सम्झन्छौँ। त्यो पुस्तकालयले गर्दा किताब, पत्रपत्रिकाप्रतिको एकदमै रस बढ्यो। बनारसबाट छापिने आज भन्ने हिन्दी पत्रिका आउँथ्यो। दैनिक पत्रिका हो त्यो। त्यस्ता पत्रिका आइरहन्थे।

    कार्टुन, कमिक्सहरु हेर्न सिक्यौँ त्यसैबेला। त्यसबेला जादुगर, वेन्ड रेन्ड, बेताल भन्ने थियो। यस्ता यस्ता कमिक्स्‌हरु। अनि त्यसबेला किताबतिरको अलिक संगत बढ्नाले, सुरुसुरुमा त जासुुसी उपन्यासहरु पढियो, हिन्दीमा। अनि विस्तारै अरु किताबतिर लागियो। अनि अघि भनेको जस्तै पछि अलिक चेतनाको स्तर बढ्दै गएपछि मार्क्सवादी भनिने किताब पनि पढियो। माक्सिम गोर्की उसैबेला पढियो, टोल्स्टोय पनि उसैबेला पढियो। अलिक पछि गएर त हामीले अङ्ग्रेजी पनि पढ्न थाल्यौं। निकोलाई आस्त्रोभ्स्कीको हाउ दि स्टिल वाज टेम्पर पढियो। अंग्रेजीमा सकिनसकि उसैबेला पढेको।

    त्यसले एकतारि हामीलाई यो फ्यान्टम, म्यान्ड्रे जस्ता कमिक्स‌्का पात्रहरु छन्, जो हरेक चिज गर्न समर्थ छ। एकातिर एउटा क्रान्तिकारी भावना पनि छ। यो समाजलाई कसरी बदल्ने होला। हामी क्रान्ति गरिरहेका छौँ। अनि यो फ्यान्टम जस्तै हामी गुफा भित्र हराउँछौँ। अनि हामीलाई पछ्याउँदै आएका सरकारी पुलिसहरु त्यही अल्मलिन्छन्। अनि हामी फेरि गुरिल्ला अट्याक गर्छौँ। यस्तो कल्पना गरिन्थ्यो। कमिक्स् र क्रान्तिको गजव मिश्रण थियो कल्पनामा।

    लु सुन लगायत चिनियाँ साहित्य र माओत्सेतुङका रचनाहरु पनि पढियो। घरको वातावरण पनि त्यस्तै थियो। तस्वीर कार्ल मार्क्सका टाँगिन्थे। लेनिनका टाँगिन्थे। त्यस्तै माहोल थियो। त्यसको ठूलो प्रभाव छ। निसन्देह प्रभाव छ। त्यो मेरो आफ्नो निर्माणमा सव कन्सियसमा, मेरो चेतन, अर्ध चेतनमा त्यो सबैको समग्र प्रभाव छ। त्यसलाई छुट्याउन मिल्दैन। त्यही भएर साहित्यप्रति रुचि जाग्यो। संगीत त अब मेरो पिताजी नै नाटककार, गीत गाउने, गीत लेख्ने, कविता लेख्ने।

    त्यस्ता मजदुर नेता नि। उहाँका धेरै रचनाहरु छापिएका छन्। एकै ठाउँ संगालेर छापुँ भनेको मिलिरहेको छैन। त्यो हुनाले साहित्य पनि आयो सरेर। कलेज स्कुलमा गीत गाउने गरिन्थ्यो। यो साहित्य संगित, कला समिश्रित भयो। त्यसमा त्यो पाश्चात्य संस्कृति र भाषा पनि मिसियो। अंग्रेजी भाषाले त नयाँ उद्घाटित गरेर नयाँ बाटोतिर देखायो। पहिले पहिले सबै हिन्दी पढ्ने गरेको। काठमाडौँ आएपछि हिन्दी झण्डै झण्डै छोडिदिएँ। सबै अंग्रेजी। कति अपूर्ण छ हाम्रो अंग्रेजी। समाचारपत्रको शीर्षक पनि बुझ्न गाह्रो। कहिले अर्थोक नै बुझिदिने। कमजोर ब्याकग्राउण्ड भएको कारणले। तसर्थ अंग्रेजी तिर लागेँ। तर मेरो ब्याकग्राउण्ड त त्यही हो। त्यसको एकदम ठूलो भूमिका छ।

    तसर्थ म के भन्छु भने धरानलाई माइनस गर्ने हो भने बसन्त थापा जिरो। म अरु भन्दा फरक आफूलाई किन मान्छु भने मसँग धरान छ। मैले धरान बोकेको छु भन्ने मलाई लाग्छ। थाहा छैन तपाईंहरुले पोखरातिर गिटार कहिले देख्नुभयो?

    मैले त गिटार ३५ सालमा मात्र देखेँ।

    हामीले त उहिल्यै। ठूलाले बजाउँथे स्कुलमै हुँदा। पछि उनीहरुकै सरह बजाउन सकियो। एउटा सानो उदाहरण दिएको नि। त्यो गिटार आफैंमा मोडर्निटीको द्योतक होइन र त्यो? सिम्बल होइन र? यसरी स–साना कुराले जो सेपिङ गरेको छ, त्यो सबै धरानबाट सम्भव भयो।

    के के गीत रचना छन् तपाईंका?

    गीत अहिले पनि लेख्छु म। उतिबेला बाध्यात्मक परिस्थितिले मैले लेख्न पुगेँ। दीप श्रेष्ठ यहाँ आएको थियो प्रतियोगितामा भाग लिन। प्रथम भएपछि त एकाएक एकाएक राष्ट्रिय गायक भयो। गीत त चाहियो उसलाई। ट्युन गर्दा चाहियो नि। के मा संगीत गर्ने? हामी त कवि गोष्ठिमा एकदम अगाडि। तिमीहरु त लेखिरहन्छौँ, गीत लेख न यार भनेर उसका लागि गीत लिएर आएका थियौँ। हाम्रो एउटा सानो सांस्कृतिक समूह पनि थियो। हाम्रो टोली, अनि ठाउँ ठाउँमा गएर नृत्य, गायन प्रस्तुत गर्ने टोली थियो। त्यसको संयोजक म नै हो। त्यस्तो पनि गरियो। त्यो भएर गीत लेख्न सुरु गरिएको हो।

    कविता पनि लेख्थेँ। त्यो अर्कै कुरा तर म कवितातिर अगाडि बढिनँ। गीत केही लेख्थें। अहिले पनि लेख्छु म। निजी रुपमा। यसलाई प्रकाशन गरिसकेको छैन। गीत लेख्ने भनेको निजी अभिव्यक्तिको माध्यम हो भन्ने लाग्छ। धेरै चाहिँ गीत लेखिसकेपछि संगीत गर्नुपर्‍यो भनेर जान्छन्। मैले त्यो कसैलाई दिएको छैन। दीपलाई जति दिएँ, दिएँ। अहिले उसले मागेको पनि छैन मैले दिएको पनि छैन। मलाई त्यस्तो आवश्यकता महशुस नै हुँदैन। गीत भनेको के हो भने मेरो आफ्नो हिसाबले संगीत बिना पनि गीत बाँच्नु पर्छ। तब त्यो गीतको शक्ति देखिन्छ। संगीतको वैशाखी चाहिँदैन। आफ्नो खुट्टाले हिँड्न सक्छ, त्यो गीत हो मेरो हिसाबले। त्यो जहिले पनि बाँच्छ। सबै गीत संगीतबद्ध हुनुपर्छ भन्ने जरुरी छैन। अहिले पनि लेख्छु। कुनैदिन म संकलन निकाल्ने सुरमा पनि छ।

    उपन्यास, कथातिर लाग्नुभएन? धेरैले लेख्छन् नि।

    हा… हा… त्यसो भन्नेले पनि लेखेका छन्।

    तर, मलाई आख्यान चाहिँ बडो कठिन काम हो भन्ने लाग्छ। मलाई आँट नै पुगेको छैन। मैले आफ्नो संस्मरणहरु लेखेरै त्यो रहर मेटाएको छु।

    तपाईंको संस्मरणहरु आख्यान जस्तै पावरफुल छन्। त्यसमा दुईवटै फ्लेवर आउँछ, आख्यान र संस्मरण।

    त्यसको लागि धन्यवाद। कति दंग परेँ म।

    तपाईं व्यंग्य लेख्नुहुन्थ्यो। व्यंग्य कोलम ‘ऋतुविचार’ एकदमै चर्चामा थियो। तपाईंको कलम शक्तिशाली। पेशेवर लेखक जस्तो नदेखिएको पनि तपाईं लामो समयदेखि लेखिरहनुभएको छ।

    त्यो पक्का हो। तर उपन्यास कथा भन्ने कुरा आख्यान विधा अन्तर्गत पर्छन्। त्यो ज्यादै कठिन जस्तो लाग्छ। त्यसलाई मैले न्याय गर्न सक्दिनँ भनेर आँटै पुगेको छैन। जो लेख्छन्, तिनलाई म खुब मान्छु। क्या लेख्न सकेको होला बाबा! किनभने त्यहाँ पात्र सिर्जना गर्न सक्नुपर्‍यो। त्यहाँ एउटा प्लट हुन्छ, त्यहाँ एउटा क्लाइमेक्स हुन्छ। धेरै कुरा पो छ। चरित्रको निर्माण हुन्छ, चानचुने कुरा छ र? अनि त्यसलाई कसरी प्रस्तुत गर्नुहुन्छ। त्यो आफ्नो ठाउँमा छ। मलाई लाग्छ मलाई आँट पुग्दैन।

    तपाईंले फिल्म फेस्टिभल यत्रो वर्ष अर्गनाइज गर्नुभयो र सिनेमा ६० को दशकदेखि हेर्नुभयो। आजको नेपाली सिनेमाबारे तपाईंलाई केही भन्नु छ? जस्तै यस्तो सिनेमा बन्दिए हुन्थ्यो भन्ने कुरा?

    म यस विषयमा टिप्पणी नै गर्न चाहन्नँ। किनभने म एकदमै थोरै फिल्म हेर्छु। अचेलभरी सबैखाले फिल्महरु धेरै कम हेर्छु म। बरु समय पाएँ भने युट्युवमा पुराना पुराना, पैसा नतिरी हेर्न पाइने, छुटेका फिल्महरु, मैले हेर्न छुटाएका, आफ्नै समयका फिल्म हेर्छु। हिन्दी फिल्मका क्या क्रेजी थिइम् हामी उसबेला, अहिले हिन्दी पनि उतिसारो हेर्दिनँ। अंग्रेजी पनि के के आउँछन्, थाहा नपाएका, हलबाट पनि हराइसकेका हुन्छन्, नेपाली पनि कहिलेकाहीँ एकदम नजिकका साथीहरुको छन् भने, कोही कोहीले लौन दाइ हेरौं भने भने म हेर्छु। राम्रै बनिरहेका छन्। तर म टिप्पणी गर्न चाहन्नँ। किनभने त्यो कुन हिसाबले बनिरहेका छन् भनेर ठीकसँगले मैले मूल्यांकन गर्ने अवस्थामा म पाउँदिन।

    त्यतिबेलाका तपाईंलाई को को अभिनेता अभिनेत्रीहरु विशेष लाग्थे?

    धेरै छन्। सबै मनपर्थे। हाम्रा बेलाका सबै राम्रा थिए। दिलिप कुमार वाफ रे ! राज कपुर आवारा हुँ। देवानन्द, वाह रोमान्टिक हिरो। यस्तो लाग्थ्यो कि त्यो पिरियड नै अर्को थियो। त्यसबेलाका संगीत ओ हो ! म त ५० को दशकदेखि १९७५ सम्म हो क्यारे, मेरा आफ्ना हिसाबले। त्यो २५ वर्षको अवधिलाई भारतीय फिल्म इन्डस्ट्रीको स्वर्णकाल मान्छन्। गोल्डेन एज। संगीत र त्यसबेलाको गीत कति अर्थपूर्ण थिए। कसरी लेख्न सकेको, त्यति मार्मिक। कसरी भाति पुर्‍याएर भन्न सकेको, थोरै शब्दमा धेरै कुरा। र, त्यसलाई एकदम सुहाउँदिलो संगीत भर्न सकेको फेरि।

    तपाई खुरुखुरु व्याचलर, मास्टर्स पढेर जागिर तिर पसेर चुप लागेर बसेको भए पनि जिन्दगी त जान्थ्यो। तर आउट अफ फर्मल सेक्टर, एजुकेसनका, परिवारका, व्यक्तिगत जीवनका फर्मल बाटो भन्दा बाहिर निस्केर तपाईंले जे कुरा सिक्नुभयो त्यसरी हेर्दा अहिलेका पुस्ताको ज्ञान हासिल गर्ने, सिक्ने, समाजप्रतिको उत्तरदायित्व अनुभूति गर्ने तत्परता कस्तो देख्नुहुन्छ? धमाधम १२ सकेर बाहिर जानेको संख्या बढेको भनिन्छ। व्यक्तिगत रुपले आफ्नो जीवनतिर बढी लागिरहेको र पब्लिक स्फेयरमा साहित्य कला आदि क्षेत्रमा कम गइरहेको कुरा तपाईंलाई कस्तो लाग्छ?

    हो, मेरो बुझाइमा हामी बेग्लै युगमा, बेग्लै कालखण्डमा हुर्कियौँ। त्यसको डिटेलतिर नजाऔँ। अहिले सारा समाज एकदम भौतिकवादी रुपमा हावी भएको छ। आफ्नै लागि गर्ने, आफूभन्दा परतिर नहेर्ने व्यक्तिवादी प्रवृत्ति बढेको छ। यो सबै भौतिकवादी प्रभाव परेको हुनाले यो सार्वजनिक तहमा यसो गर्नुपर्छ, समाजका लागि यो गर्नुपर्छ, देशका लागि यो गर्नुपर्छ भन्न धेरैलाई फुर्सद छैन। आफू बन्यो देश बन्यो, आफू भलो जगत भलो भन्छन्। त्यस्तै आफू धनी भए सबै धनी। सबै बन्यो, देश बन्यो भन्ने प्रवृत्ति छ। हामी अलि आदर्शबाट प्रेरित थियौँ।

    हामी हुर्केको माहोलले परिवारको कुराले। देशका लागि केही त गर्नुपर्‍यो नि? सार्थक जीवन बिताउनुपर्‍यो। केही त योगदान गर्नुपर्‍यो भन्ने मान्यता थियो। त्यो अभाव हुनाका कारण मानिसहरु अहिले मलाई लाग्छ, एउटा जुन युग चेतना हुन्छ नि, त्यो युवा पुस्तामा अभाव छ भन्ने मलाई लाग्छ। तर यो हिसाबले युग चेतना आउँछ भन्ने पनि लाग्दैन। हामीलाई उसैबेला त्यस सीमित स्रोतहरुबाट पनि विश्वका धेरैकुरा थाहा थियो। प्याट्रिस लुवुम्बा मारिएको कुरा थाहा थियो। जे होस् विश्व राजनीतिका केही घटनाहरुमा हामी वाकिफ थियौँ त्यस्तो सानो ठाउँमा बसेर पनि। अहिले यहाँ सोध्नुस् त, ‘गाजा’ भन्दा के हो गाजा भनेर सोध्ने अवस्था छ। अचेत छन्। के भइरहेको छ?

    सूचना मात्रै भएर पनि नहुने रहेछन्। यहाँ यत्तिका किताबहरु छन्, कसैले यो खोल्यो भने त आफ्नो रुची अनुसारको लिन्छ नि। यहाँ त हरेक चिज छन्, राम्रो नराम्रो, उपयोगी होलान्, उपयोगी नहुने पनि होलान्। त्यस्तै कुरा हो, यो संसारमा के रोज्ने भन्ने कुरा त तपाईंको आफ्नो छनौटको विषय हो। तपाईं त्यही कुरा छान्नुहुन्छ, जुन तपाईंले बुझ्नुभएको छ, तपाईं कुन हिसाबले हुर्किनुभएको छ।

    यसमा मैले अलिकति जोडेँ, ००७ सालको क्रान्तितिर कृष्णप्रसाद भट्टराई वा बिपी कोइराला देखि पुष्पलाल र केपी ओलीहरुसम्म यी सबै भूमिगत बस्ने, जेल बस्ने, यस्तै हो राजनीति भन्ने। तपाईंको बुवा कै कुरा, त्यो चाहिँ पूँजीवादको राम्रो विकास नभइसकेको समाजमा यस्तो भएको र पूँजीवाद अलि बढी विकास भएको र लिवरल, सबै हिसाबले, जुन भौतिकवादी चिन्तनको कुरा गरियो, छनौटको कुरा गरियो, त्यहाँ पुग्दा त्यो आदर्श विघटन भएको, त्यस्तो केही होला?

    यो त मेरो हैसियत भन्दा अलि ठूलो प्रश्न गर्नुभयो। तर, मलाई के लाग्छ भने त्यो आदर्श रहेन। आदर्शले नपुग्ने भो वा आदर्श भन्ने तत्व नै विलिन भयो जस्तो लाग्छ। के कारणले, त्यो चाहिँ पूँजीवादको अतिक्रमण वा प्रहारले भएको हो कि के हो त्यो विश्लेषण गर्न योग्य समाजशास्त्री म होइन, तर मलाई लाग्छ अहिले हामीमा आदर्शको नितान्त अभाव छ। आदर्श भनेकै डोहोर्‍याउने सानो डोहोरो हो। त्यो डोहोरो छैन। मलाई लाग्छ, बिना आदर्श मान्छेहरु किन बाँचिरहेका छन् जस्तो लाग्छ। त्यसको मक्सद के हो बाँच्ने?

    पैसा, गाडी, घर…

    हो, त्यो आज छ। त्यो आदर्श विलिन भयो जस्तो लाग्छ।

    तपाईं जुन पृष्ठभूमिमा हुर्किनुभयो, कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ता, आदर्श व्यक्तित्वको छोराका रुपमा। त्यो विचारलाई क्यारी गरेको कलेजको एक्टिभिस्टका रुपमा। पछि सामाजिक बहसमा सामेल भएको व्यक्तिका रुपमा आजको हाम्रो राजनीति, माथि सरकारदेखि तलसम्म पनि कम्युनिष्ट पार्टीले नेतृत्व गरिरहेका छन्। यो राजनीति कता जाँदै गरेको देख्नुहुन्छ तपाईं? ०७२ मा संविधान बनेपछि अब सोझिएला हामी भन्ठान्छौँ। केही केही कुरा राम्रै छन्, त्यो संविधानमा। धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था धेरै राम्रो कुरा हो। स्थानीय तह पनि शक्तिशाली, सरकारलाई नागरिकको नजिक लग्यो भन्ने छ। तर अहिले यसो हेर्दा के के भत्किए जस्तो देख्छु। तपाईंले कसरी हेरिरहनुभएको छ?

    यो मैले भन्न पर्ने हो कि होइन थाहा छैन। तर, मेरो अन्तरआत्माले भनिरहेको कुरा नभनिरहन सक्दिनँ। देशको वर्तमान परिस्थिति मात्रै होइन कि भविष्यप्रति पनि त्यति आशावादी छैन। वर्तमान त एकदमै निराशाजनक छ। र, अहिलेको अध्याँरो भयो भोलिपर्सी उज्यालो होला भन्ने सम्भावना पनि म देख्दिनँ।

    यो कुराको सिलसिलामा केही छुटेको कुरा, भन्नैपर्ने खालको केही छ तपाईंको?

    मलाई यस्तो लाग्छ, भन्नु त पर्‍यो, सुन्ने कतिले हुन् त्यो थाहा छैन। मैले मेरो जीवनको यात्राको सानो रुपरेखा हामीले यहाँ कोर्‍यौँ। त्यो तपाईंले देख्नुहुन्छ, सोझो सरल रेखा छैन, बाङगोटिङगो बक्र रेखामा हिँडेको छ, जिकज्याक। तर पनि अहिले म यस्तो मुकाममा आइपुगेको छु, तपाईंले मलाई एउटा लेखक भन्नुभयो वा पहिलेको सम्पादक भन्नुभयो, केही न केही सोचेर मकहाँ आउनुभयो। यदि यो परिचय मैले बनाएको छु भने, यो धेरै अगाडि होइन, ३० वर्षदेखि मात्रै हो मैले यो परिचय बनाएको। त्यो भन्दा अगाडि म आफ्नो परिवारको गुजारामै अल्मलिरहेको थिएँ। मेरो जीवनले त्यतिखेर नयाँ मोड लियो, जतिखेर म हिमाल पत्रिकाको सम्पादक हुन पुगेँ।

    कसरी पुग्नुभएको थियो?

    धेरै संयोगहरु छन्। म अर्कै ठाउँमा बसिरहेको मान्छेलाई कनकमणि दिक्षितले ‘तपाईंको एउटा सहयोग चाहियो, मद्दत गरिदिनुपर्‍यो’ भन्न आउनुभयो। मलाई पनि लाग्यो, राम्रो पत्रिका निस्किरहेको छ। यो त राम्रो हो मैले पनि समर्थन गरिरहेको छु भनेर म त्यहाँ गएँ। पहिले त म अनुवाद, त्यसपछि उहाँको प्रशासनिक काममा मद्दत गरिदिने। धेरै ठाउँमा काम गरेर गएको थिएँ नि। पछिबाट हुँदा हुँदा नेपालीमा पनि पत्रिका निकाल्ने कुरा भयो। को सम्पादक भन्दा तपाईं हो भन्नुभयो। म त भइदिएँ। त्यसरी मेरो जिन्दगीको यात्राले नयाँ मोड लियो।

    त्यतिखेर मात्रै मलाई बोध भयो, कि म कति खुशी छु भनेर। आर्थिक हिसाबले त धेरै आम्दानी केही थिएन। त्यसका लागि ट्रेकिङमा गएर के के गर्थे, अलिअलि उपार्जन गर्थेँ। ट्रान्सलेसन गर्थेँ, त्यो छँदै थियो। तर, सम्पादक भएर अक्षरसँग मैले फेरि खेल्न थालेँ नि। त्यसबाट थाहा भए मेरो त यो पो रहेछ। के बाटो बिराएर म कता लागेछु, अनि फेरि आएर आफैंलाई, २० वर्षपछि रिडिस्कभवर गरेर म त्यहाँ पुगेँ। फेरि लेख्ने, पढ्ने कामतिर पुगेँ। त्यही मेरो मन रमायो। अनि मलाई आफ्नो शक्तिबारे पनि आफूलाई बोध भयो। म त हनुमान जस्तो रहेछु, आफ्नै शक्ति बोध नभएको।

    त्यो आफ्नो मन रमाउने काम गर्न पाउनु एकदम ठूलो उपलब्धि हो। त्यसका लागि आफ्नो स्ट्रेन्थ के हो त्यो चिन्नुपर्दो रहेछ। धेरै मान्छेले चिन्दैनन्। मैले पनि चिनिनँ। चिनेर पनि कहिलेकाहीँ सकिँदैन। कम्प्रमाइज गर्नुपर्ने हुन्छ। त्यो २० वर्षको समय रेस्टुरेन्ट लगायत चलाउँदा त म एउटा निजी पत्र लेख्न नसक्ने अवस्थामा थिएँ। त्यो भन्दा अगाडि म अंग्रेजीमा टाइप गरेर पनि चिठी लेख्ने, नेपालीमा लेख्ने। क्लर्कले के गर्छ, जे पनि लेख्छ। त्यो ५ वर्ष रेस्टुरेन्ट चलाउँदा त एउटा निजी ५ लाइनको चिठी लेख्न नसक्ने अवस्थामा पुगेको थिएँ। सबै गुमाएको थिएँ मैले। अनि जब म यहाँ कनकजीले गर्दा यता प्रवेश गरेँ, त्यो फेरि सबै कुरा फर्किएर आयो। त्यो मेरो लागि एकदमै खुशीको समय थियो। र, अहिले पनि जे जति छ बाँकी जिन्दगीमा म निवृत्त भइसकेपछि म मेरो बाँकी जिन्दगीमा केही सकेँ भने लेख्छु। नलेखे पनि म पढ्छु, म घुम्छु, म आफ्नो हिसाबले बाँकी जिन्दगी बिताउँछु। तर, आफूलाई खोज्ने सेल्फ डिस्कभरी वा आत्मबोध, आफूलाई चिन्ने नि, त्यो जरुरी छ।

    कहिलेकाहीँले मान्छे त्यसै अल्मलिरहेको हुन्छ, आफूलाई नचिनेर। आफूलाई चिन्ने प्रक्रिया चाहिँ सधैँ जारी रहनुपर्छ भन्ने मलाई लाग्छ। अरुलाई पनि त्यही सल्लाह दिन्छु। जे गरिरहनुभएको छ तपाईंले चाहेर त गरिरहनुभएको छ? मनपरेर गरिरहनुभएको छ?

    आज भन्दा ४०/४५ वर्ष अगाडि जब म एकाबिहानै जागिरमा जान्थेँ, म रुँदै जान्थेँ, खुट्टा घिसार्दै जान्थेँ। ३/४ हजार तलब पाइएको छ, जानु त पर्‍यो। तर खुट्टा घिसार्दै जाने। आज एक दिन बित्यो, आज सकियो भने जस्तो। हरेक दिन एउटा जोश जाँगरले जान पाइयोस् न, केही गर्न पाइयोस् न। आज यो गरेँ, भोलि यो गर्छु भन्ने उत्साह होस्। त्यो खोजी जारी राख्नुपर्छ। कहिलेकाहीँ हामी विभिन्न परिस्थितिले चाहेर पनि जान सक्दैनौँ। त्यो अर्कै कुरा हो। तर कतिलाई थाहा पनि हुँदैन कि के खोजिरहेको छु भनेर। त्यो चाहिँ हुनुपर्छ।

    मेरो अरुलाई सल्लाह यही हो। जीवनको अर्थं खोज्नुहोस्। म रमाइरहेको छु अहिले। मलाई अघि नै पनि भनेँ, यति कठिनाई, यदि दुःखका बावजूद यही जीवन दोहोर्‍याउन कसैले भने भने म ओके भन्छु।

    भिडियो: 

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.