Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
Thursday, April 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गान्धी नश्लवादी थिए, अम्बेडकरसँग सही समाधान थिएनः ओबाडेले बकारी कम्बोन

हामीमाझ गान्धीको जस्तो खाले छवि देखाइएको, पढाइएको र सुनाइएको छ त्यो सबै निर्माण गरिएको छवि हो। वास्तवमा उनी कालाजाति विरोधी र ब्राह्मणवादी चिन्तनले सुसज्जित व्यक्ति रहेछन्। गान्धीका विपरित अम्बेडकरले जात व्यवस्था उन्मुलनका लागि जीवनभर इमान्दार प्रयास गरे। तर, उनको तरिका ठीक थिएन।

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ १५, २०८०
- अन्तर्वार्ता, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    घाना विश्वविद्यालयका सह–प्रध्यापक तथा इन्स्टीच्यूट अफ अफ्रिकन स्टडिजमा भाषा, साहित्यका प्रमुख रहेका ओबाडेले बकारी कम्बोन उपनिवेशवाद र जात व्यवस्थाका मुखर आलोचक हुन्। उनले अध्यापन गर्ने विश्वविद्यालयको प्राङ्गणमा विश्वभर अहिंसाका प्रतिक ठानिएका मोहनदास करमचन्द गान्धीको शालिक ठड्याइएको थियो। भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीले सन् २०१६मा घानाको राजधानी अकरास्थित घाना विश्वविद्यालयमा भारतीय दुतावासको पहलमा स्थापना गरिएको गान्धीको शालिक अनावरण गरेका थिए। तर, कम्बोनले गान्धी नश्लवादी र जातिवादी भएकाले उनको शालिक विश्वविद्यालयको प्राङ्गणमा राख्न नहुने मत राखे। उनले सन् २०१८मा घाना विश्वविद्यालयमा रहेको गान्धीको शालिक फाल्ने ‘गान्धी मस्ट फल’ नामक अभियानको नेतृत्व गरे र गान्धीको शालिक फालिदिए। अश्वेत अफ्रिकीमाथी शताब्दियौँदेखि भइरहेको उपनिवेशवादी शोषण र एशियाको जातव्यवस्थाबारे अध्ययन गरेका कम्बोनसँग नेपाल रिडर्सका लागि नरेश ज्ञवालीले गरेको कुराकानी।

    अफ्रिका र अफ्रिकी जनताबारे सोच्नासाथ हाम्रो मष्तिष्कमा गरिबी, द्वन्द र भोकमरीको छवि निर्माण हुन्छ, जबकी सिङ्गो अफ्रिका प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ। हाम्रो मष्तिष्कमा निर्माण हुने छविमा समाजको चिन्तन प्रणालीले भूमिका खेलेको हुन्छ भन्ने हो भने अफ्रिकाबारेको यो धारणा निर्माण गर्ने समाजको चिन्तन प्रणालीलाई के कुराले प्रभावित गरेको छ ?

    औपनिवेशिक कालपूर्व पनि प्यान–अफ्रिकानिज्म थियो। वास्तवमा जेरुसलेम फिर्ती अफ्रिकी संघर्षले गराएको हो, जसलाई यहुदी मिथकीय भाष्यमा एक्जोडस भनिन्छ। हामी कहिल्यै उपनिवेशका अघिल्तिर झुकेनौँ, त्यति बेला पनि जब यूरेसियालीहरुले (युरोप र एसियाका बासिन्दा, जुन भूभागबाट तपाईं अन्तर्वार्ता गर्न आउनु भएको छ) अफ्रिकामा घुसपैठ गर्ने प्रयास गरेका थिए। सवर्ण तथा गोरा युरेसियालीहरुमा कालाजाति विरोधी जब्बर सोचको भावना उपनिवेशवादी सोचबाट विकासित गरिएको शैक्षिक प्रणालीबाटै जन्मिएको हो भन्दा फरक पर्दैन।

    कालान्तरमा यसै भाष्यबाट निर्मित सोच र आवश्यकता कर्महरुमा विकसित हुँदै गए। त्यसो त औपनिवेशिक कालपूर्व पनि तपाईं कालाजातिमाथिको दासता देख्न सक्नुहुन्छ अर्थात् हिन्द महासागर र बेलायती सामुद्रिक दासताको रुपमा। केमेट (कालाजातिको भूमि) मा घुसपैठ र त्यहाँका आदिवासीको निर्मूलीकरण गर्नु भन्दा पहिले युरेसियालीहरुले आफ्नो स्वार्थ रक्षाका लागि वास्तविकताको मिथ्याकरण र अफ्रिकी छविको धुमिलीकरण गरेका थिए।

    वास्तविकताको मिथ्याकरणले युरेसीयालीहरु महान हुन्, शासनका लागि उनीहरु सबैभन्दा योग्य छन् भन्ने मिथ्या हामीमाझ सञ्चार गराइरह्यो। हामीले उनीहरुलाई शासन गर्न छनौट गर्‍यौँ र उनीहरुले हामीलाई निकृष्ट मानव बनाइरहे। अन्ततः हाम्रो छवि यसरी नै धुमिल्याइयो। युरेसियाली विचार विज्ञ एवं मानवशास्त्री एनी मरिम्बाले डाइकोटोमाइजेसन/डि–कस्टमाइजेसनको अवधारणा ल्याए। उनका अनुसार प्लेटो, एरिस्टोटल जस्ता युरेसियालीले उनीहरुको कोणबाट पस्किने कुनै पनि विषय असल र त्यसको विपरित कोणबाट आउने धारणालाई खराब भन्ने द्वैत मान्यता स्थापित गरिदिए।

    केन्याका प्रसिद्ध लेखक न्गुगी वा थ्योङ्गोसँग कम्बोन। तस्बिर: कम्बोनको वेवसाइटबाट।

    उसो त प्लेटो, एरिस्टोटल भन्दा पहिले पनि यो द्वैत विचार मिथकहरुमा थियो। अर्थात् जहाँ ईश्वर हुन्छन् त्यहाँ त्यसका विपरित राक्षस पनि हुन्छन् भन्ने मान्यता थियो। भनी राख्नु परेन ईश्वर सामान्यतया स्वेत वर्णका हुन्छन्, राक्षस कालाजातिका। यो द्वैत मान्यताले युरेसियालीहरुको भाष्यमा निरन्तरता पाइरह्यो। गोरापनका लागि उनीहरुमा सकारात्मकता झल्किरहन्थ्यो भने कालोपनका लागि नकारात्मकता। यो भाष्य शिक्षाका माध्यमबाट जन–जनमा स्थापित गराइयो। सेल्फ–फुलफिलिङ प्रोफेसी (आत्मपूरक आकलन) जहाँ अपेक्षा र नजीरहरु देखाइन्छ र तत्पश्चात आफ्ना स्वार्थ अनुसार के सही र के गलत भन्ने भाष्य सञ्चार गराइन्छ। यसरी आफ्नो हितानुकूलको अर्धसत्यलाई पूर्णसत्यका रुपमा सबै माझ स्थापित गराइन्छ। उपनिवेशवादको चिन्तन प्रणाली यसैगरी फल्ने–फुल्ने गर्छ।

    आममानिसको विचार निर्माणमा शैक्षिक प्रणाली, शिक्षाविद् र सार्वजनिक बुद्धिजिवीहरुको भूमिका कस्तो पाउनुहुन्छ ?

    यसका लागि तपाईं घाना वा समग्र अफ्रिका हेर्न सक्नुहुन्छ। हामीकहाँ शिक्षा व्यवस्था छैन, छ त केवल स्कुलिङ। ‘दि ओरिजिन्स अफ दि इभान्जिलिकल चर्च अफ केमरुनः यूरोपियन मिसन्स एण्ड इन्डिजिनस क्रिस्चियनिटी’ का लेखक स्लेगरिनले सन् १८९०मा अमेरिकामा शिक्षा सम्बन्धी संकथनबारे राखेको विचार यहाँ सान्दर्भिक छ। उनका अनुसार तत्कालीन स्वेत शिक्षाविद् र प्रशासकले निग्रो शिक्षालाई आक्रमण गरे। ती स्वेत व्यक्तिहरुले कालाजातिका लागि पाठ्यक्रम तयार गरे, जुन बेलायतीहरुको माध्यमबाट अफ्रिका पुर्‍याइयो। उनीहरुले अफ्रिकामा हाम्रो सहमति र योगदान बिना आफ्नो स्वार्थ र हाम्रो बर्बादीका निम्ति कु–शिक्षाको व्यवस्था थोपरे।

    जब हामी यो सत्यबारे अवगत हुन्छौँ तब बल्ल बुझ्छौँ, हाम्रा सन्ततिहरु नेपोलीयन बोनापार्ट, जुलीयस सिजर, गान्धी वा अन्य युरेसियालीका बारेमा जानकार छन् तर अफ्रिकामै लेखिएको विश्वकै प्राचीन पुस्तकबारे अनभिज्ञ छन्। उनीहरुलाई संसारको पहिलो संगीतकार, संसारको पहिलो महिला चिकित्सक कालाजातिका हुन् भन्ने थाहा छैन। यो कु–शिक्षाको संस्थागत व्यवस्थाले कालाजातिको बर्बादीको जगमा युरेसियाली सर्वोच्चता स्थापित गर्ने बाहेक केही गरेन। एकजना कालाजातिका विद्वान भन्छन्– हामी आफूलाई तब मात्र चिन्छौँ, जब हामी आफ्नाबारे सोच्छौँ। र, आफूप्रतिको सोचाइ हामी आफ्नाबारे के जान्दछौँ र हामीलाई के भनिएको छैन भन्नेबाट शुरु हुन्छ। हामी आफ्नाबारे धेरै जान्दैनौँ भने हामी आफ्नाबारे धेरै सोच्न पनि सक्दैनौँ।

    कु–शिक्षाको संस्थागत व्यवस्थाले कालाजातिको बर्बादीको जगमा युरेसियाली सर्वोच्चता स्थापित गर्ने बाहेक केही गरेन। हामी आफूलाई तब मात्र चिन्छौँ, जब हामी आफ्नाबारे सोच्छौँ। र, आफूप्रतिको सोचाइ हामी आफ्नाबारे के जान्दछौँ र हामीलाई के भनिएको छैन भन्नेबाट शुरु हुन्छ।

    सोचाइको संकुचनको जगमा उभिएर तपाईं के नै गर्न सक्नुहुन्छ र ? बिडम्बना हामीले आफूलाई औचित्यहीन सोच्यौँ। अहिले पनि सोचिरहेका छौँ। आफ्नो औचित्य सिद्ध गर्न हामी अंग्रेजी बोल्छौँ। अझै भन्ने हो भने अंग्रेज भन्दा बढी अंग्रेज हुन खोजीरहेका छौँ। अर्थात् हामी आफ्नो औचित्य पुष्टि गर्नका लागि आफ्नै शत्रुको नक्कल गर्दैछौँ। मिथ्याकरण गरिएको सत्य र धुमिल्याइएको छविले हाम्रो चेतनालाई नियन्त्रण गर्छ। अन्ततः हाम्रो मानसिकता पनि यसैअनुरुप निर्मित हुन्छ।

    तपाईं दक्षिण एशियाको जात व्यवस्था विरोधी आन्दोलनतर्फ कसरी आकर्षित हुनुभयो ?

    सन् ९०को दशकमा एउटा वृत्तचित्र हेरेको थिएँ, जहाँ दलितमाथि कसरी विभेद हुन्छ भनेर देखाइएको थियो। त्यो देखेर म झसङ्ग भएँ। दलितमाथि हुने विभेद र कालाजातिका मानिसमाथि हुने विभेदमा समानता छ भन्ने लाग्यो। त्यसपछि एशियाको जात व्यवस्थालाई पछ्याउन थालेँ। कालाजाति र दलितहरुका केही विशिष्ट परिघटनालाई पन्छाएर हेर्ने हो भने मूलतः समानता नै पाइन्छ। तर, केही विशिष्ट परिघटनामा उनीहरु कालाजातिका मानिस भन्दा पनि तल्लो अवस्थामा छन्। जसरी नश्लवादी गोराहरुको चंगुलमा कालाजातिका मानिस छन् त्यसैगरी भारतमा दलितहरु माथिल्लो जातका ब्राह्मणवादीको चंगुलमा छन् भन्ने डा. भिमराव अम्बेडकरको कथन सुनेपछि म उनीतर्फ आकर्षित भएँ।

    स्वभावतः मोहनदास करमचन्द गान्धीका बारे मैले पहिले नै धेरै कुरा सुनेको थिएँ। तर, अम्बेडकरबारे केही थाहा थिएन। विस्तारै म दुवैतर्फ लहसिएँ। दुवैलाई पढ्दै जाँदा बल्ल थाहा पाएँ– हामीमाझ गान्धीको जस्तो खाले छवि देखाइएको, पढाइएको र सुनाइएको छ त्यो सबै निर्माण गरिएको छवि हो। वास्तवमा उनी कालाजाति विरोधी र ब्राह्मणवादी चिन्तनले सुसज्जित व्यक्ति रहेछन्। गान्धीका विपरित अम्बेडकरले जात व्यवस्था उन्मूलनका लागि जीवनभर इमान्दार प्रयास गरेका थिए। तर, उनको तरिका ठिक थिएन। उनी अन्तरजातीय विवाह, निर्वाध मन्दिर प्रवेश, पानी–पधेरोमा समान पहुँच र छुवाछुतको अन्त्य हुनुपर्ने लगायतका विचार राख्थे। वास्तवमा उनको माग– आफ्ना हत्याराहरुलाई छुन पाउनु पर्ने भन्दा बढी थिएन।

    ऐतिहासिक रुपमा जसले नरसंहार गरिरहेको छ, उसँग छोइछिटो हटाई पाउँ भनी आशा गर्नु नै बेफ्वाँकको आशावादी हुनु हो। त्यसैले उनको आन्दोलनले जात व्यवस्था अन्त्यका लागि सही निष्कर्ष दिन सकेन। जब हामी भ्रामक र गलत शिक्षाको चपेटामा पर्छौं, हामीमाझ थुप्रै दरार देखिन थाल्छ। यो दरार मेटाउनु नै अहिलेको हाम्रो सबैभन्दा ठूलो चुनौती हो। तर, दरार मेट्ने नाममा गरिने सम्झौताले हामीमाथि भइरहेको दमन र अत्याचारको अन्त्यमा भूमिका खेल्न सक्दैन भन्ने पनि हामीलाई त्यति नै थाहा हुनुपर्छ।

    तपाईं लामो समयदेखि गान्धीलाई जबरजस्त ‘नायक’ का रुपमा कसरी स्थापित गरियो भनेर सोध गर्दै हुनुहुन्थ्यो, के फेला पार्नु भयो ?

    हो, मैले गान्धीका बारेमा अध्ययन गरेको छु। र, यहाँ गान्धीकै सेरोफेरोमा आफ्नो कुरा राख्नेछु। गान्धीको आत्मकथा भन्दा पहिले मैले उनका अरु रचनाहरु र कामबारे अध्ययन गरेँ। त्यसले मलाई उनले आफ्नो जीवनकालमा के भूमिका खेले भनेर साङ्गोपाङ्गो बुझ्न मद्दत गर्‍यो। त्यसैले मलाई के लाग्छ भने जसले सर्वप्रथम उनको आत्मकथा र उनको स्तुतिमा लेखिएका कृति पढ्छन्, उनीहरु गलत धारणा बनाउन पुग्छन्। अर्थात्, सत्यको मिथ्याकरण र छविहरुको धुमिलीकरणबाट उनीहरुले वास्तविक छवि निर्माण गर्न चुक्छन्।

    वास्तविकता के हो भने गान्धीले बम्बाथा बिद्रोहलाई निस्तेज पार्न ठूलै भूमिका खेलेका थिए। उनले जुलु समुदायमाथि गोली हान्न भारतीय नवयुवाहरुको प्रयोग गराएका थिए। भारतीयहरुलाई ब्रिटिश उपनिवेशको रक्षकका रुपमा उभ्याउन सक्दो प्रयास गरेका थिए र त्यसैका लागि सैन्य तालिमको माग गरेका थिए। उनले बेलायतीहरुलाई आफ्नो मित्र मानेका थिए। गान्धी कालाजाति विरोधी थिएनन् भन्नु डर्बन पोस्ट वा टेलिग्राफहरुको प्रोपगाण्डा पत्याउनु हो।

    घाना विश्वविद्यालयबाट गान्धीको शालिक हटाउनुअघि र हटाएपछि।

    अफ्रिकीहरु भन्दा भारतीयहरु श्रेष्ठ नश्लका हुन्, त्यसैले उनीहरुलाई जस्तै भारतीयहरुलाई व्यवहार गरिनु हुन्न भन्ने उनको मत थियो। वास्तवमा भारतका सवर्ण र पश्चिमा गोराहरु एउटै नश्लका हुनाले उनीहरुको समान हैसियत हुनुपर्ने उनको माग थियो। उनी यही विचार प्रवर्तक हुन्। उनैको अलगावको मागले अहिले अपर्थाइड भनिने अलगावको जग बसाल्यो। उनले अलगावका बहु–स्तर (मल्टी–टायर्स) को रचना गरे अर्थात् गोरा सबभन्दा माथि, त्यसपछि सवर्ण एवं अन्य गैर–कालाजाति र पीँधमा कालाजाति। ठ्याक्कै तपाईंहरुको समाज व्यवस्थामा रहेको ब्राह्मणवादी जात व्यवस्था जस्तै। अफ्रिकामा रहँदा उनले निर्माण गरेको विरासत यही हो। हो, पछि उनले भारतीय नागरिकको अधिकारका लागि संघर्ष गरे यद्यपि त्यो संघर्ष उच्च जातीय, उच्च वर्गीय भारतीयहरुका लागि मात्रै रहेको स्पष्ट भयो।

    उनमा जातीय सर्वोच्चता प्रष्ट झल्किन्थ्यो। उदाहरणका निम्ति गान्धी आफूलाई कुल्ली भनेको रुचाउँदैनथे। कसैले उनलाई कुल्ली वकिल भनेर बोलाउँदा अफ्ठ्यारो मान्छन् भने त्यसको अर्थ के हो हामीले थाहा पाउनु पर्छ। उनी आम श्रमिकका लागि भन्दा पनि उच्च श्रेणीका भारतीयहरुको हितका लागि मात्रै चासो दिन्थे। भारतको जात व्यवस्थालाई टिकाइराख्नुपर्छ भन्ने उनको स्पष्ट मत थियो। जात व्यवस्थाले समाजमा सहिष्णुता कायम गर्छ भन्दै उनले त्यसको समूल विनासका लागि आवाज उठाई रहेका अम्बेडकरलाई वैचारिक रुपमा कहिल्यै साथ दिएनन्। छोटोमा भन्दा जात व्यवस्थाप्रति उनीमा विशेष अनुराग थियो। अफ्रिकामा छँदा उनले ब्रिटिस सरकार समक्ष राखेको प्रस्ताव नै भारतीयहरु बफर बनेर काम गर्न पाउनु पर्छ भन्ने थियो। उनी अफ्रिकी अर्थात् कालाजातिका मानिसलाई रैती र जनावर हुन् भन्थे।

    भारतीय स्वतन्त्रता संग्राममा होमिँदासम्म पनि उनी कालाजाति विरोधी थिए। सन् १९१३मा जब उनी जेलबाट रिहा भए, केही अभियन्ताहरुले उनलाई कालाजातिका मानिससँग गठबन्धन गरेर संघर्ष गर्न सुझाए। तर, ‘काफिर’ सँग कुनै पनि गठबन्धन नगर्ने भनी उनले प्रस्ताव खारेज गरिदिए। उनले स्पष्ट शब्दमा भनेका थिए– ‘काफिरसँग गठबन्धन गर्नेमा मलाई कुनै चासो छैन।’ दक्षिण अफ्रिका रहुन्जेल उनले कालाजातिका सबै मानिसलाई काफिर भनेर सम्बोधन गर्थे।

    उनको सत्याग्रही छवि यूरेसियाली भाष्यबाट निर्मित हो, जहाँ सत्य धुमलिएको छ। वास्तवमा निर्मित छवि र वास्तविक छविका बीच भनाइ र गराइबीच हुने, आकाश–पातालबीच हुने फरक जस्तै छ। तपाईं शान्तिको भाष्य फलाक्नु हुन्छ तर यथार्थमा युद्धको पैरवी गर्नु हुन्छ। आमजनता माझ आफूलाई मानवतावादी नेताको रुपमा चित्रण गर्नु हुन्छ तर व्यवहारमा कालाहरुको हत्याको वकालत गर्नुहुन्छ। परस्पर विरोधी तर आफू अनुकूलका नीतिहरुमै यूरेसियाली चिन्तनको गाडी हुइँकिरहेको हुन्छ।

    के जात व्यवस्था नश्लवाद भन्दा पतित व्यवस्था हो?

    जात व्यवस्था वास्तवमा धेरै तला भएको घर जस्तो हो, जहाँ कुनै झ्याल–ढोका छैन। एक चेम्बरबाट आर्को चेम्बरमा जान कुनै लिस्नो छैन। जात व्यवस्थाको कोठाहरुमा तपाईं अनन्तकालसम्म थुनिन विवश भए जस्तो। अर्थात् जन्मदेखि मृत्युसम्म तपाईं कुनै न कुनै रुपमा जातको अंग हो। त्यसैले डा. अम्बेडकर भन्छन्– जात व्यवस्था शक्तिको ‘चेम्बर’ हो। कालाजातिको हकमा पनि यस्तै हो। तपाईं जन्मदेखि मृत्युसम्म कालो नै हो र तपाईंका विरोधीको नजरमा तपाईं सधै शत्रु नै हो।

    भन्नुको अर्थ तपाईं जेब्रा हो र जीवनभर जे सुकै गरे पनि तपाईं नै जेब्रा हो। यस्तोमा तपाईंलाई सिंहले गर्ने व्यवहार कस्तो हुन्छ? हुनसक्छ तपाईंलाई सिंह जत्तिकै अर्को कोहीबाट पनि डर छ र सिंहले तपाईंको अर्को शत्रुलाई सिध्याई दियो। तर, त्यसले तात्विक रुपमा केही फरक पार्दैन। यस्तोमा कुन पतित व्यवस्था हो भन्दा पनि पीडितहरुको हातमा शक्ति कसरी ल्याउने भनी चिन्तन गर्नु उपयुक्त होला।

    तपाईंसहितको आन्दोलनले डिसेम्बर २०१८ मा घाना विश्वविद्यालयको प्राङ्गणमा ठड्याइएको गान्धीको शालिक ध्वस्त गरिदियो। स्वभाविक रुपमा यसलाई ‘हिंस्रक सोचद्वारा प्रेरित समूह’ ले शालिक ध्वस्त बनाएको भन्न मिल्छ किनभने तपाईंहरुले ‘अहिंसावादी’ नेताको शालिकमा हमला गर्नु भएको थियो। तपाईंहरुले ‘गान्धी मस्ट फल मुभमेन्ट’ किन गर्नु भएको थियो?

    तपाईं जुन देशबाट मलाई यो प्रश्न गर्दै हुनुहुन्छ, त्यस देशको धर्म र समाजमा एउटा व्यक्तिलाई गुरु वा मुक्तिदाता मान्ने चलन अझै पनि व्याप्त छ। मुक्तिदातामाथि प्रश्न गर्नेलाई सैतान वा राक्षस करार गर्ने चलन अहिलेदेखिको चलन होइन। यो पुरानै चलन हो। तर, यहाँका जनताको मानसिकतामा असल र खराब दुबैबारे द्वैत धारणा थियो। केही मानिस यत्तिको ठूलो मानिसको शालिक किन ढालेको भन्ने थिए, केही ठिक गर्‍यौभन्ने पनि थिए। तर, शालिक ढाल्नु अघि हामीले विश्वविद्यालय र घानाको समाजमा यो ढाल्नु किन जरुरी छ भनेर घनिभूत बहस चलाएका थियौं। अफ्रिकी जनताको आत्मसम्मानलाई कुल्चिने मानिस हाम्रा लागि अहिंसाको दुत कसरी हुन सक्छ भन्ने हाम्रो प्रश्न थियो।

    कुरा सन् २०१५ तिरको हो, घानामा रहेको भारतीय दुतावासले विश्वविद्यालयलाई बौद्धिक कर्मका लागि केही आर्थिक अनुदान दिने प्रसङ्ग चली रहेको थियो। त्यसको केही समयपछि अनुदानसँगै गान्धीको शालिक पनि भारतीय दुतावासले दिन चाहेको र त्यो विश्वविद्यालय प्राङ्गणमा राखियोस् भन्ने उनीहरुको चाहना रहेको कुरा हामीलाई भनियो। हामीले सोच–विचार गरेरै विश्वविद्यालयले गान्धीको शालिक राख्ने निर्णय गर्नु हुँदैन भन्यौँ।

    हामीले भारतलाई बारम्बार भनिरहेका छौँ– हामीलाई शालिक दिने नै हो भने गान्धीको होइन डा. अम्बेडकरको दिनुस्। तर, अहिंसाको नाममा हिंसाको व्यापार गर्नेहरु अहिंसाको वास्तविक प्रतिकलाई कहिल्यै स्थापित गर्न चाहँदैनन् भन्ने सबैलाई थाहा भएकै कुरा हो।

    बहसले समाजलाई उद्देलित बनाइरहेकै थियो। दुवै पक्षबाट आ–आफ्ना तर्क–वितर्क चल्दै थिए। यत्तिकैमा अचानक एक रात भारतीय दुतावासले विश्वविद्यालयसँग कुराकानी गरेर गान्धीको शालिक स्थापित गरिछाड्यो। उनीहरुलाई थाहा थियो– दिउँसो शालिक स्थापित गर्न सकिँदैन। त्यसैले उनीहरुले रात रोजे। घानाका युवाहरुले यसलाई भारतीय हस्तक्षेपका रुपमा बुझे।

    विश्वविद्यालयलाई अनुदानको आश र दुतावासलाई गान्धीको शालिक स्थापित गरेर देखाउनु पर्ने दवाबबीच हामीले ‘गान्धी मस्ट फल मुभमेन्ट’ शुरु गर्‍यौं। र, अन्ततः हामीले गान्धीको शालिक विश्वविद्यालय प्राङ्गणबाट उखेलेर फालिदियौँ। हामीले भारतलाई बारम्बार भनिरहेका छौं– हामीलाई शालिक दिने नै हो भने गान्धीको होइन डा. अम्बेडकरको दिनुस्। तर, अहिंसाको नाममा हिंसाको व्यापार गर्नेहरु अहिंसाको वास्तविक प्रतिकलाई कहिल्यै स्थापित गर्न चाहँदैनन् भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो।

    जब हामी अफ्रिकाबारे कुरा गर्छौँ मनमा दुईवटा छवि आउँछ– नेल्सन मण्डेला र इदि अमिन। हाम्रो सोच मण्डेलाको महानताबाट शुरु हुन्छ र इदि अमिनको ‘बर्बरता’ मा टुङ्गिन्छ। तर, यसबीच हामीले पैट्रिस लुमुम्बा, एलेक्स ला गुमा, केन सारो–विवा, न्गुगी वा थ्योङ्गो, वोले सोयिन्का, चिनुवा अचिवे, जेमो केन्याटा र मैल्कम एक्स जस्ता कयौँलाई बिर्सन्छौँ। यस्तो किन हुन्छ?

    मण्डेला र इदि अमिनको जुन छवि तपाईं पाउनु हुन्छ त्यो दिग्भ्रमित र मिथ्याकृत हो। मानव इतिहासका बारेमा लेखिएका अधिकांश सामाग्री त्यो भाषामा सीमित छ, जुन धेरै अफ्रिकीले पढ्नसमेत जान्दैनन्। जब भाषा नै पहुँच भन्दा बाहिरको छ अनि ती सामाग्रीहरुको अन्तरकुन्तरमा के छ भनेर अफ्रिकीहरुले कसरी थाहा पाउने ? तात्पर्य के भने अफ्रिकीहरु उनीहरुमै निर्भर छन्, जसले अफ्रिकाको इतिहास एक वा दुई शताब्दीसम्म सीमित बनाइदिएका छन्। तपाईंले उल्लेख गरेका नामहरु समेत सय वर्ष अन्तराल भन्दा अघिका छैनन्। यो कस्तो इतिहास हो ?

    कुनै अफ्रिकीले एक सय वर्षको इतिहास भन्ने कुनै नेता वा उदाहरण कसैबाट थाहा पायो भने त्यो व्यक्तिलाई विस्मृतिबाट ब्युँझेको भान हुन्छ। अर्थात् एक्कासी भित्तामा टाउको ठोकिएको महशुस हुन्छ उसलाई। कतिपयलाई त बिहान के भएको थियो भन्ने बाहेक कुनै जानकारी नै हुँदैन। यसको सोझो अर्थ हो– तपाईंमा कुनै पनि विमर्श गर्ने क्षमता छैन। हो यस्तै छ विश्वका कालाजातिका मानिसको हालत किनभने अधिकांशलाई सय वर्षको इतिहाससमेत थाह छैन। हामीले आफ्नै आदिवासी–मौलिक लिपि सिकेका–पढेका छैनौँ। हामीले आफ्नै प्रकृतिबारे पढेका छैनौँ। हामीले हाम्रै समुदायका लैंङ्गिक अल्पसंख्यकबारे बुझेका छैनौँ।

    उपनिवेश कायम रहेको देशमा वा उनीहरु हावी भएको देशमा आफ्नो वर्चश्व कायम राखिराख्नका लागि उनीहरु समस्याको गलत निदान प्रस्तुत गर्छन्। बडो इमान्दार ढंगले प्रस्तुत भए जसरी उनीहरु भन्छन्– यो उत्कृष्ट शासन व्यवस्था हो तर यसलाई सञ्चालन गर्नेहरुका कृत्य मात्रै गलत हुन्। हामीमाझ समस्यालाई नै समाधान हो भनेर पस्किने चलन व्याप्त छ।

    यदि माथि भनिएका लिपि, समुदायबारे तपाईं अनभिज्ञ हुनुहुन्छ, तपाईं विस्मृति वा भ्रममा रुमल्लिनु भएको छ भने नतिजा तपाईंलाई नेल्सन मण्डेला, इदि अमिन, जोमो केन्याटा वा त्यस्तै अरुबारे मात्रै थाह हुन्छ। यो हामी कालाजातिका मानिसको मात्रै समस्या होइन इतिहासमा अध्ययन गर्ने सबैको समस्या हो। हाम्रो महादेश विश्वकै प्राचिन मानव सभ्यताको केन्द्र रहेको निर्विवाद छ। संसारका प्रत्येक जीवाश्म वैज्ञानिकले स्वीकारेको तथ्य हो यो। करिब तीन लाख वर्ष पहिले मोरोक्कोमा आधुनिक होमो सेपीयन्सको अवशेष फेला परेको थियो, जुन पृथ्वीमा स्वेतवर्णका मानिसको उत्पत्ति भन्दा दुई लाख ७० हजार बर्ष पहिलेको कुरा हो। माथिको अवशेषपछि प्राप्त होमो सेपीयन्सको अवशेष करिब दुई लाख ९५ हजार वर्ष पुरानो हो। त्यो पनि अफ्रिकामै भेटिएको थियो। अब भन्नुस्, हाम्रो इतिहास पछिल्लो शताब्दीको वरपर मात्रै कसरी घुमिरहेको छ? यो तितो यथार्थले हामीलाई लङ्गडो बनाइरहेको छ। जब तपाईंलाई आफ्नो इतिहासबारे नै थाहा छैन र यूरेसियालीको नक्कल मात्रै गर्नु हुन्छ भने तपाईंको अस्तित्व कहाँनेर रह्यो ?

    तपाईंले दक्षिण अफ्रिकी स्वतन्त्रता आन्दोलनका नेता नेल्सन मण्डेला र अमेरिकी नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङ्ग जुनियरको आलोचना गर्दै मेरा आदर्श मार्कस गार्वी र रोबर्ट मंगलिसो हुन भन्नुको पछाडि के कारण छ ?

    यदि तपाईंले रोगको गलत निदान प्रस्तुत गर्नु भयो भने रोगको उपचार सम्भव हुँदैन। यूरेसियालीहरुको उपनिवेश कायम रहेको देशमा वा उनीहरु हावि भएको देशमा आफ्नो वर्चश्व कायम राखिराख्नका लागि उनीहरु समस्याको गलत निदान प्रस्तुत गर्छन्। बडो इमान्दार ढंगले प्रस्तुत भए जसरी उनीहरु भन्छन्– यो व्यवस्था उत्कृष्ट शासन व्यवस्था हो तर यसलाई सञ्चालन गर्नेहरुका कृत्य मात्रै गलत हुन्। उनीहरु हामीलाई यसरी आश्वस्त बनाउँछन्, मानौँ त्यही नै सत्य हो। जबकी वास्तवमा समस्या भनेकै उनीहरु हुन्।

    हामीमाझ समस्यालाई नै समाधान हो भनेर पस्किने चलन व्याप्त छ। तपाईंलाई के लाग्छ हामी हाम्रो समुदाय, जनतासँग भन्दा उनीहरुसँग नजिक हुनु समस्याको निराकरण हो ? बिलकुल होइन। दक्षिण अफ्रिकामा भएको त्यहि हो। यदि अमेरिकामा हेर्ने हो भने समस्या भनेकै वैधानिक पहिचानको समस्या हो भनेर औंल्याइन्छ। भारतको जात व्यवस्थामा समस्या देखाइयो भने त्यो समुदायलाई नछुनुमै समाधान औंल्याइन्छ। वास्तवमा माथि उल्लेख गरिएका सबै सन्दर्भमा मूल समस्या भनेकै नरसंहार हो।

    मण्डेला र मार्टिन लुथर दुवै आफ्नो जाति, समुदायका मानिससँग भन्दा अंग्रेज र उपनिवेशवादीहरुसँग नजिक भएर समस्याको समाधान पहिल्याउन खोज्छन्। त्यस्तो अवस्थामा उनीहरु हाम्रा नायक कसरी भए ? तर, उपनिवेशवादीहरु हामीलाई मण्डेला, मार्टिन लुथर किंग र गान्धीहरुलाई नायक मान्न ठूलो स्वरमा भनिरहन्छन्।

    तपाईंले उल्लेख गर्नु भएका मण्डेला र मार्टिन लुथर दुवै आफ्नो जाति, समुदायका मानिससँग भन्दा अंग्रेज र उपनिवेशवादीहरुसँग नजिक भएर समस्याको समाधान पहिल्याउन खोज्छन्। त्यस्तो अवस्थामा उनीहरु हाम्रा नायक कसरी भए ? त्यसैले मलाई लाग्छ हामीले हाम्रो समाजको नायक त्यस्ता व्यक्तिहरुमा खोज्नु पर्ने हुन्छ, जसले समस्या समाधान जरैसम्म पुगेर गर्न खोजिरहेका छन्। त्यसपछि शक्तिमा पुगेर यूरेसियाली शत्रुहरुलाई पराजित गर्न सकियोस्। तर, जब हामी आफ्ना शत्रुहरुबाट नायक खोज्छौं तब समस्याको गलत निदान बाहेक केही आउँदैन र गलत उपचारको विधि सतहमा देखा पर्न थाल्छ। उनीहरु आफ्ना नायक र भगवानलाई पूजा गर्न सिकाउँछन्। उनीहरु अन्ततः हामीबीच किन स्थापित हुन् चाहन्छन् ? यसबाट कसलाई फाइदा हुन्छ ? उत्तर सहज छ।

    सन् २०१८ मा घाना विश्वविद्यालयबाट गान्धीको शालिक हटाउँदै विद्यार्थी तथा अभियन्ताहरु। तस्बिर: बीबीसी

    कतिसम्म भने हामीलाई शान्त रहन वा कसैले एउटा गालामा थप्पड हान्दा आर्को गाला थाप्नुपर्ने जस्ता वाहियात समाधान सिकाउँछन्। तपाईं आफै भन्नुस्, कसैले तपाईंलाई बारम्बार छुरा रोपिरहेको छ र तपाईंलाई उपदेश दिनेले शान्त रहन भनिरहेको छ भने त्यसको परिणाम के हुन्छ ? त्यसैले उनीहरु हामीलाई मण्डेला, मार्टिन लुथर र गान्धीहरुलाई नायक मान्न ठूलो–ठूलो स्वरमा भनिरहन्छन्। उनीहरु यसबाट प्रत्यक्ष फाइदा लिइरहेका हुन्छन्।

    सेनेगलको राजधानी डकारमा अफ्रिकी पुनर्जागरणकालको सम्झनामा ठूलो स्तम्भ निर्माण गरिएको छ र त्यसभित्र संग्राहलय छ। त्यहाँ अफ्रीकी स्वतन्त्रता आन्दोलन र अफ्रीकी पुनर्जागरणका नेता भनेर जसलाई दर्शाइएको छ, उनीहरुलाई बाँकी विश्व ‘तानाशाह’ ठान्छ। म फेरि पनि तपाईंसँग के जान्न चाहन्छु भने बाँकी विश्वमा अफ्रिकाको त्यस्तो छवि कसरी निर्माण गरियो, जो अफ्रिकी जनताको सोच भन्दा भिन्न छ।

    मलाई थाह छैन, तपाईं विशेषरुपमा इंगित कुनै तानाशाहबारे कुरा गर्दै हुनुहुन्छ वा सामान्य स्वतन्त्रता संग्रामीको कुरा गर्दै हुनुहुन्छ। उक्त संग्राहलयमा म गएको छैन। त्यसैले म सम्पूर्णतामा कुरा गर्नेछु। तर, एकजनाले त्यो संग्राहलयभित्र गान्धीको मूर्तिको भिडियो पठाएका थिए, जुन अफ्रिकी जनताका लागि भद्दा परिहासबाहेक केही होइन। तपाईं अफ्रिकामा भइरहेका द्वन्द्व हेर्नु हुन्छ भने चाहे त्यो आन्तरिक होस् वा बाह्य, ती सबै द्वन्द्वका जरा अमूल्य प्राकृतिक स्रोतसँग जोडिन पुग्छन्। ती स्रोतहरुको मूल्य नतिरी हडप्नेहरु युरोपेली र अमेरिकी नै हुन्।

    कपासका नाममा पूर्वी कंगोमा दशौँ लाख काला मानिसको हत्या भइरहेको छ। यदि तपाईं त्यहाँ भइरहेका द्वन्द्वलाई केवल युद्ध सिर्जित हिंसाको रुपमा हेर्नुहुन्छ भने तपाईंले केही बुझ्नु भएको छैन। पूर्वी कंगोमा कुनै मानिसको घरमा हतियार उत्पादन गर्ने उद्योग छैन। त्यसैगरी तपाईं सिएरा लियोन र लाइबेरियालाई हेर्नु हुन्छ भने, त्यहाँ हिराका लागि द्वन्द्व भइरहेको छ। सतहमा हेर्दा त्यहाँका जनता एक आपसमा लडिरहेझैं लाग्छ तर वास्तविकता त्यस भन्दा कोसौँ पर छ। त्यसो भए यसको वास्तविकता के हो त ? यसको कारकतत्व युरेसियाली युद्धपिपासुहरुले आफ्नो फाइदाका लागि कालाजातिबीच द्वन्द्व गराइरहेका छन्।

    अफ्रिकी जनतालाई एकआपसमा लडाइएको जति सत्य हो त्यति नै सत्य अफ्रिकी जनताको पछिल्लो पुस्तासम्मलाई उपनिवेशवादीहरुले आफू अनुकुलको शैक्षिक, सांस्कृतिक र दार्शनिक चिन्तनबाट पुनःउत्पादन गर्न सफल छन् भन्ने पनि हो। उपनिवेशवादीहरुको निरन्तर आफू अनुकूलको झूठको प्रवर्धन र पुनःउत्पादनले बाँकी विश्वलाई अफ्रिकीबारे सत्यको तहसम्म जानै दिँदैन। भनिन्छ नि, झूठलाई पनि सयौँ पटक भनिराख्यो भने सत्यझैं लाग्नथाल्छ। अफ्रिकाको विषयमा यो भनाई त्यति नै सत्य हो।

    वर्तमान पूँजीवादी व्यवस्थाले जात व्यवस्था र नश्लवादलाई कायम राख्न कस्तो भूमिका खेलिरहेको हुन्छ?

    खासमा हामी पूँजीवादी व्यवस्थामा मात्रै होइन सबै व्यवस्थामा प्रताडित छौँ। हामीले समस्याको जरो व्यवस्था हो भनेर बुझ्न–बुझाउन खोजिरहेका छौँ। व्यवस्था भनेको पूँजीवाद, नव–उदारवाद, समाजवाद, साम्यवाद वा अरु कुनै व्यवस्था भनेर बुझ्छौँ। जबकि यी व्यवस्थाहरु त नश्लवाद र जात व्यवस्थाले बनाएका अवधिहरु मात्रै हुन्। हामीलाई अवधी अर्थात ‘टाइम एण्ड स्पेश’बाट समाधान चाहिएको होइन। हामीलाई त विभेदबाट उन्मुक्ति चाहिएको हो। अमानवीयताबाट उन्मुक्ति चाहिएको हो। आजसम्म व्यवस्थाको कुरा गर्नेहरुले हामीलाई त्यस्तो समाधानको विकल्प तर्फ देखाइरहेका छन्, जुन वास्तवमा विकल्प नै होइन। उनीहरु त्यस्ता समाधान दिन्छन्, जुन लागू गर्नै सकिँदैन। उनीहरु त्यस्तो निष्कर्ष सुनाउँछन्, जुन वास्तवमा निष्कर्ष नै होइन।

    अफ्रिकी जनतालाई एकआपसमा लडाइएको जति सत्य हो त्यति नै सत्य अफ्रिकी जनताको पछिल्लो पुस्तासम्मलाई उपनिवेशवादीहरुले आफू अनुकूलको शैक्षिक, सांस्कृतिक र दार्शनिक चिन्तनबाट पुनःउत्पादन गरिरहेका छन् भन्ने पनि हो। उपनिवेशवादीहरुको निरन्तर आफू अनुकूलको झूठको प्रवर्धन र पुनर्उत्पादनले बाँकी विश्वलाई अफ्रिकीबारे सत्यको तहसम्म जानै दिँदैन।

    व्यवस्थालाई नै समस्याको मुख्य जरो मान्ने हो भन्ने हो भने मलाई लाग्छ यो त केवल माकुरोको जालो नष्ट गरे जस्तो विकल्प भयो। उदाहरणका लागि हामी पूँजीवादबाट मुक्त भयौँ भने हामीलाई कुनै अर्को व्यवस्था त चाहिन्छ होला। अब तपाईं भन्नुस्, समस्याको जड माकुराको जालो हो वा माकुरा स्वयं हो ? पूँजीवाद भनेको यूरेसियालीहरुले ल्याएको अन्य कुनै वाद भन्दा फरक होइन अर्थात् समाजवाद र साम्यवाद पनि त्यही माकुराको जालो भन्दा भिन्न होइन। यूरेसियालीहरुले ल्याएको जुनसुकै व्यवस्थाले पनि कालाजातिका मानिसको समास्या समाधान गर्दैन किनभने व्यवस्था समस्या समाधानका लागि बनेकै होइनन्। यी व्यवस्थाहरु त शोषण र अत्याचारलाई झन–झन सजिलो गरी काम निष्पादन गर्नका लागि बनाइएका हुन्।

    तपाईंको कुरा त खेलौना बन्दुकलाई नै वास्तविक बन्दुक ठानेर युद्धमा गएजस्तो भयो। त्यही बन्दुक लिएर युद्धमा लड्न जान सकिन्छ तर त्यो पड्किएन भनेर दुखेसो गर्न पाइँदैन। किनभने, त्यो बन्दुक युद्ध लड्नका लागि बनाइएकै होइन। खासमा समस्याको समाधान काला मानिसले निर्माण गर्ने आफ्नै वैकल्पिक विचारधारामा छ। कतिले यो विचारलाई अतिवादी विचार पनि भन्लान् तर आफ्नो विचारधाराको निर्माण नगरी हाम्रो मुक्तिका लागि अरुले सोचिदेलान् भन्नु आफैंमा ठट्टा बाहेक केही होइन।

    अन्त्यमा अफ्रिकी समाज, त्यहाँको सामाजिक आन्दोलन र संस्कृतिलाई बुझ्नका लागि हामीले आफ्नो अध्ययन कहाँबाट शुरु गर्नुपर्छ ?

    सबैभन्दा पहिले कालाहरुको अस्तित्वलाई मानिस सरह स्वीकार्नु पर्छ। र, के पनि स्वीकार्नु पर्छ भने यो संसारमा कोही पनि श्रेष्ठ हुँदैन। यति भएपछि न्याय हामीमाझ पनि आउनेछ भन्नेमा म पूर्णरुपमा विश्वस्त छु। संसारभर जति नै बेइमानी र झुटको खेती भए पनि एक दिन अवश्य निस्तेज हुनेछ। यति उत्सुकता साथ अफ्रिकी समाज, यहाँको आन्दोलन र संस्कृतिलाई बुझ्न चाहने तपाईंलाई र ती तमाम पाठकहरुलाई म हैटीको इतिहास र क्रान्तिबारे पढ्न आग्रह गर्छु।

    त्यसपछि प्यान–अफ्रिकानिज्म पढ्न सुझाउँछु। उपनिवेशको इतिहास र दास प्रथाको उतार–चढावबारे तपाईंहरुले थाहा पाउनै पर्छ। मानव समाजमै एकले अर्कोमाथि कति अत्याचार र हिंसा थोपरेको थियो भन्नेबारे तपाईंहरुले जान्नै पर्छ। यति भन्दै गर्दा फेरि पनि तपाईं कुन धरातलमा उभिएर अध्ययन गर्न खोज्दै हुनुहुन्छ भन्ने प्रश्नले फरक पार्छ। तपाईं रोमाञ्चकताका लागि पढ्दै हुनुहुन्छ भने उपनिवेशवादीहरुको कथाले तपाईंलाई रोमाञ्चित तुल्याउने छ। तर, तपाईं उपनिवेशवादीहरुले थोपरेको हिंसाका विरुद्ध उभिएका जनताको संघर्षको कथा पढ्न चाहनु हुन्छ भने तपाईंले अफ्रिकी इतिहास, समाज र संस्कृति छिट्टै बुझ्नुहुनेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.