Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
Thursday, April 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘पूँजीवादमा व्यक्तिगत स्वतन्त्रता हुन्छ भन्नु भ्रम मात्रै हो’

'मार्क्सवादमा संशोधन गर्नुपर्छ भन्नेहरू सबैभन्दा ठूला अवसरवादी हुन्'

नेपाल रिडर्स नेपाल रिडर्स
साउन २२, २०८०
- अन्तर्वार्ता, राजनीति, विमर्शका लागि
A A
1
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मन्सुर हेक्मत इरानको वर्कर् कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष हुन्। उनी कम्युनिष्ट राजनीतिज्ञ मात्रै नभएर प्रखर बौद्धिक पनि थिए। सन् २००२ मा उनको मृत्यु बेलायतको राजधानी लण्डनमा भएको थियो।

    यो अन्तरवार्ता सबैभन्दा पहिले इरानको ‘वर्कर कम्युनष्टि पार्टी’को प्रकाशन ‘इन्टरनेशनल’को अंक १, फेब्रुअरी १९९२ को अगस्टमा प्रकाशित भएको थियो। पर्सियन भाषामा गरिएको अन्तर्वार्ता अंग्रेजीमा अनुवाद गरी ‘इन्टरनेसनल’मा प्रकाशित गरिएको थियो। यो नेपाली अनुवाद त्यसैबाट तयार पारिएको हो।

    आजसम्म बहस भइरहेको विषय सोभियत संघको पतनका कारणबारे उनले केही भिन्न दृष्टिकोणहरू राखेका छन् भने यसबारे पश्चिमा जगतका पूँजीवादी विद्वानहरूले अघि सारेका अवधारणाका पनि चर्को आलोचना गरेका छन्। यस्तै, चिनियाँ क्रान्तिबारे पनि उनको दृष्टिकोण भिन्न छ। मार्क्सवादी विश्लेषण पद्धति अनुसरण गरी समाज र राजनीतिको विश्लेषण गर्ने हेक्मतले त्यसैबेला फासीवाद र चरम दक्षिणपन्थको खतरा रहेको औंल्याएका थिए भने त्यसको प्रतिवादका सम्बन्धमा पनि आफ्ना दृष्टिकोण पेश गरेका थिए। साथै, पूँजीवादले निम्त्याउने जोखिमबारे पनि उनले व्याख्या गरेका थिए। सोभियत संघको पतन लगत्तै अर्थात् आजभन्दा ३० वर्षअघिको यो अन्तरवार्ता आजका जटिल मुद्धाहरूमा बहसका लागि उत्तिकै सान्दर्भिक छ। त्यसैले, हामीले यसको नेपाली अनुवाद प्रकाशित गरेको छौं। यो अन्तरवार्ता नेपाल रिडर्सका लागि रोहेज खतिवडाले अनुवाद गरेका हुन्।

    प्रश्नः बुर्जुवा टिप्पणीकारहरूले सोभियत संघको विघटनलाई ‘समाजवादको हार’ र ‘साम्यवादको अन्त्य’ भनेका छन्। त्यस्तो टिप्पणीमा कुनै सत्यता छ? तपाईंको विचारमा सोभियत संघको विघटन, अथवा सोभियत संघको स्थापनादेखि विघटनसम्मको सम्पूर्ण अभ्यासले कुन हदसम्म समाजवादको असफलता देखाउँछ?

    मन्सुर हेक्मत: वास्तवमा सोभियत संघको पतन न समाजवादको हार हो, न त साम्यवादको अन्त्य। यो एक प्रकारको ‘बुर्जुवा समाजवाद’ को पतन हो। पूँजीवादकै एउटा प्रकार राज्य नियन्त्रित पूँजीवादको पराजय मात्र हो। मजदुर आन्दोलन र मार्क्सवादसँग यसको लिनुदिनु केही छैन।

    सोभियत संघ कहिल्यै पनि समाजवादी मुलुक थिएन। त्यतिमात्र होइन, साम्यवादको मार्क्सवादी परिकल्पनासँग त्यो व्यवस्था कहीँ पनि मेल खाँदैन। यो कुरा आफूलाई कम्युनिष्ट भन्न चाहनेमध्ये आधाभन्दा धेरैलाई राम्रोसँग थाहा थियो। कतिपय बुर्जुवा चिन्तक र सोभियत संघका विज्ञ (सोभियतोलोजिस्ट्स)ले पनि यो कुरा स्वीकार गरिसकेका छन्। आज आएर फेरि सोभियत संघलाई मार्क्सवाद र साम्यवादसँग जोडेर परिभाषित गरिँदैछ। यो प्रचारबाजी मार्क्सवाद र वास्तविक श्रमिक वर्गको साम्यवादी आन्दोलनमाथि आक्रमण गर्न प्रयोग गरिएको एउटा हतियार मात्रै हो। उनीहरू भन्छन्, समाजवाद पराजित भइसक्यो त्यसैले यसलाई पराजित गर्न सकिन्छ। उनीहरू भन्छन्, साम्यवादको अन्त्य भइसक्यो त्यसैले यसलाई अन्त्य गर्न सकिन्छ। यो बुर्जवाहरूले युद्धमा गरेको क्रुर चित्कार मात्रै हो। उनीहरूको चित्कार जति क्रुर हुन्छ, त्यति नै साम्यवादको महत्व प्रमाणित हुँदै जान्छ। त्यती नै बुर्जुवा समाजमाथि श्रमजीवी वर्गमाथि चुनौती बढेको प्रष्ट हुँदै जान्छ।

    पूर्वी ब्लकको पतन आफैंमा साम्यवादसँग सम्बन्धित मुद्धा होइन। सोभियत संघ तथा पूर्वी ब्लकको आर्थिक, राजनीतिक, प्रशासकीय वा सैद्धान्तिक, कुनै पनि अभ्यासले साम्यवाद वा समाजवादको झल्को दिँदैन। सम्पूर्ण सोभियत अभ्यास अक्टोबर मजदुर क्रान्तिको असफल प्रयोग थियो भन्ने पनि सत्य हो। सन् १९१७ को मजदुर क्रान्तिले सफलतापूर्वक बुर्जुवा वर्गको हातबाट राजनीतिक शक्ति खोसेको थियो भन्ने मेरो विश्वास छ। साथै, सत्ताच्युत बुर्जुवाहरूले गरेको प्रतिक्रान्तिको प्रत्यक्ष राजनीतिक र सैन्य प्रयासलाई पनि सोभियत मजदुर वर्गले विफल पारेको थियो। त्यसपछि क्रान्तिको भविष्य आर्थिक सम्बन्ध रूपान्तरणको सफलता वा विफलता तथा मजदुर वर्गको लागि ल्याइने समाजवादी कार्यक्रममा निर्भर भयो। रसियाली क्रान्ति यही बिन्दुमा आइपुगेर रोकियो। उत्पादनका साधनमाथि सामूहिक स्वामित्व स्थापित गर्नुको सट्टा पूँजी र उत्पादनका साधनलाई राज्यको स्वामित्वमा ल्याउने नीति लिइयो। ज्यालादारी मजदुर र प्रणाली, पैसा, विनिमय मूल्य तथा उत्पादक वर्गलाई उत्पादनका साधनबाट अलग राख्ने संरचना, सबै कायमै रहे। १९२० को दशकको उत्तरार्धदेखि राज्य पूँजीवादमा आधारित राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने नीति अवलम्बन गरियो। श्रमजीवी वर्गको क्रान्तिपछि रसियामा पूँजीवादी आर्थिक सम्बन्ध कायम राख्न बुर्जुवा वर्गसामु यही एकमात्र विकल्प थियो। वास्तवमा पूँजीको एकीकण र मजदुर वर्गको राजनीतिक विजय आफैंमा विरोधाभाषी थिए।

    सोभियत संघको अभ्यासबाट मार्क्सवादीले सिक्नुपर्ने पाठ के हो भने सही आर्थिक कार्यक्रम लागु नगरेसम्म, समाजको आधारभूत अर्थतन्त्रमा नै क्रान्तिकारी परिवर्तन नल्याएसम्म  मजदुर आन्दोलन पराजित हुन अभिशप्त छ। मार्क्सवादले पनि आधारभूत आर्थिक रूपान्तरणमै जोड दिएको छ। पेरिस कम्युनको पाठसमेत यही थियो

    लेनिनले स्थापना गर्न प्रयत्न गरेको क्रान्तिकारी श्रमजीवी वर्गको शासनलाई केन्द्रीकृत बुर्जुवा कर्मचारीतन्त्रले विस्थापन गर्‍यो। पूँजीवादको विकृत स्वरूपको अभ्यास र बुर्जवा राष्ट्रवादसँग साम्यवाद पराजित भयो। मजदुर वर्गलाई सोभियत सत्ताबाट विस्थापित गर्ने र समाजवादमाथि प्रहार गर्ने क्रम आज सुरू भएको होइन। पछिल्ला केही घटनाक्रमसँग सुरू भएको पनि होइन। पहिलेदेखि नै यो प्रवृत्ति कायम थियो। सोभियत संघको पतन यसैको उत्कर्ष हो।

    छोटकरीमा भन्दा, सोभियत संघको अभ्यासबाट मार्क्सवादीले सिक्नुपर्ने पाठ के हो भने सही आर्थिक कार्यक्रम लागु नगरेसम्म, समाजको आधारभूत अर्थतन्त्रमा नै क्रान्तिकारी परिवर्तन नल्याएसम्म  मजदुर आन्दोलन पराजित हुन अभिशप्त छ। मार्क्सवादले पनि आधारभूत आर्थिक रूपान्तरणमै जोड दिएको छ। पेरिस कम्युनको पाठसमेत यही थियो, जसलाई सोभियत क्रान्तिले सम्झिन आवश्यक ठानेन। अर्थतन्त्रलाई आधारभूत तहबाटै नबदलेसम्म प्रत्येक राजनीतिक क्रान्ति असफलतामा टुंगिन्छन्।

    मन्सुर हेक्मत

    समाजवादी आन्दोलनलाई विभाजित गर्न सकिँदैन। यदि जित हात पार्ने हो भने एउटा सामाजिक क्रान्तिको रूपमा सबै पक्षमा विजयी हुनु आवश्यक छ। यति हुँदाहुँदै पनि आर्थिक क्रान्ति केही विशेष छ। समाजवादी क्रान्तिको विजयका लागि आर्थिक पक्षमा वास्तविक क्रान्ति हुनु अनिवार्य छ, वर्तमान अर्थतन्त्रलाई पूर्णरूपमा बदल्नु आवश्यक छ। क्रान्तिको आधारभूत माग भनेकै ज्यालादारी प्रणालीको अन्त्य एवम् उत्पादनका साधन र वितरणलाई सामूहिक स्वामित्वमा ल्याउनु हो। दु:खको कुरा, सोभियत संघमा यस्तो कहिल्यै पनि गरिएन।

    प्रश्नः तथाकथित कम्युनिष्ट आन्दोलन र समाजवादको अपिलबाट सोभियत संघ र पूर्वी ब्लकको इतिहासको केही कालखण्ड गहिरोसँग प्रभावित थियो। अहिले त्यस्तो प्रभाव निकै कम भएको मात्र होइन, पहिले आफूलाई कम्युनिष्ट भन्नेहरूसमेत नाटकीय रूपमा धमाधम मार्क्सवाद त्यागेको घोषणा गरिरहेका छन्। यसबारे तपाईंको धारणा के छ ? सोभियत संघ तथा पूर्वी ब्लकको पतनले कतै मार्क्सवादमा संशोधनको आवश्यकता माग गरेको पो हो कि ?

    हेक्मत: मार्क्सवाद आलोचनात्मक दर्शन हो। मार्क्सवाद सिद्धान्त र भविष्यवाणीको ठेली होइन, बरू पूँजीवादी समाजको आलोचना गर्ने दर्शन हो। यो पुँजीवादी पद्धतिको आधार र यसभित्रको अन्तरविरोधको गहन विश्लेषणमा आधारित छ। मेरो विचारमा मार्क्सवाद त्याग्नु सत्य छोड्नु हो। सोभियत संघको पतनजस्ता हजारौं घटना भए पनि मार्क्सवादी दृष्टिकोणबाट मैले गर्ने वर्तमान समाजको आलोचनामा कुनै फरक पर्नेछैन। एक मार्क्सवादीका रूपमा स्वतन्त्र मानवका लागि योग्य समाजको कल्पनामा गर्न छोड्ने छैन।

    विधि र विषयवस्तु, दुवै रूपमा मार्क्सवादले पूँजीवादी समाजको अत्यन्त गहन र सिलसिलेवार व्याख्या गरेको छ। समाजको एउटा वर्ग श्रमजीवी वर्गलाई केन्द्रमा राखेर गरिने विद्यमान सम्बन्धहरूको आलोचनात्मक अध्ययन नै मार्क्सवाद हो। सोभियत संघको पछिल्लो घटना क्रमले मात्र होइन, वर्तमान समयको आर्थिक तथा सामाजिक यथार्थले पनि मार्क्सवादको सत्यता पुष्टि गरेको छ। आज प्राज्ञिक संस्थाहरू, सञ्चार माध्यम तथा कला साहित्य लगायतमा वर्तमान विश्वका प्रमुख समस्याबारे भइरहेको बहसले पनि मार्क्सवादको सत्यता पुष्टि गरेको छ।

    मार्क्सले भनेका छन्, आर्थिक सम्बन्धले समाजको राजनीतिक र सांस्कृतिक जीवन निर्धारण गर्छ। यसैकारण मार्क्सलाई घृणा गरियो। आज कुनै साधारण मान्छेले पनि नश्लवाद, फासीवाद, राष्ट्रवाद वा अपराधको वृद्धिसँग अर्थतन्त्रको सम्बन्ध सजिलै थाहा पाउँछ। कला वा सङ्गीतमा खास शैली किन लोकप्रीय हुन्छ भन्ने कुराको पछाडि रहेको आर्थिक कारणबारे जानकार हुनसक्छ। आज इरानी मुल्लाह धर्मको अस्तित्व केन्द्रीय बैंकको कार्यप्रणाली तथा डलरको विनिमयदरमा खोजी गर्छन्। अन्तिममा गएर सबै कुरा नाफा र श्रमिकको उत्पाकत्वसँग जोडिन्छ भन्ने सबैलाई थाहा छ। राज्यले के गर्छ, पुलिस र सेना किन बनाइएको हो भन्ने आज सबैलाई थाहा भइसकेको छ। मजदुर र पूँजीपतिबीच, ज्याला पाउने र ज्याला दिनेबीच निरन्तर संघर्ष चलिरहेको छ भन्ने सबैलाई थाहा छ। आज कुनै पनि समाजमा मानवता र स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने पूँजीपति र राज्यसँग संघर्ष गर्नसक्ने मजदुर वर्गको संगठनको शक्ति कति छ भन्नेमा भर पर्छ। स्वभाविक रूपमा मानिसहरू मजदुर संगठन विभेद र शोषणविरूद्ध उभिने अपेक्षा गर्छन्। मजदुर संगठन सामाजिक कल्याण लगायतका विषयको रक्षाका लागि खडा भइदेओस् भन्ने सोच्छन्। स्वतन्त्रता र सामाजिक कल्याण आज मजदुरको पहिचान बनेको छ। ठीक विपरित शोषण र विभेद बुर्जुवाको चिनारी भइसकेको छ। मेरो विचारमा २०औं शताब्दी मार्क्सवादको शताब्दी भएको छ। अर्थात्, पूँजीवादी विश्वबारे मार्क्सवादी अवधारणा लोकप्रीयताको शताब्दी भएको छ।

    त्यसैले, मार्क्सवादलाई पुनर्व्याख्या वा संशोधन गर्नुपर्ने कुनै कारण छैन। विश्वका पछिल्ला घटनाक्रमले मार्क्सवादी दर्शनको बैधतालाई थप पुष्टि गरेका छन्। मार्क्सवादबाट अलग हुने अहिलेको लहडसँग मार्क्सवादको सत्यता वा असत्यतासँग कुनै साइनो छैन। यो राजनीतिक घटनाक्रम हो। यस्तो छनोट राजनीतिक मात्रै हो, वैज्ञानिक होइन। सोभियत संघ विघटनको पछिल्लो घटनाक्रम देख्नेबित्तिकै एकाएक उनीहरूको हृदयमा प्रकाश छरिएको जस्तो देखिन्छ। वास्तवमा त्यस्तो भएकै होइन। यहाँ मार्क्सवादको सत्यता वा असत्यता भन्ने कुरा कतै जोडिएकै देखिँदैन। मेरो विचारमा मार्क्सवादमा संशोधन गर्नुपर्छ भन्नेहरू सबैभन्दा ठूला अवसरवादीहरू हुन्।

    सत्य के हो भने छद्म समाजवादी कित्ताको पतनको भरमा बुर्जुवा वर्गले मार्क्सवाद र समाजवादमाथि आक्रमण गरिरहेको छ। र, यसले समाजको प्रगतिशील समूहमाथि दबाव बनाइरहेको छ। दोस्रो विश्वयुद्धको बेलादेखि ७० को दशकको मध्यसम्म संशोधनवादी बुद्धिजीवीहरूको मार्क्सवादी बन्ने लहर चलेको थियो। त्यो लहर अहिले ठीक उल्टो भएको छ। यो लहर रोकिन समय लाग्छ। श्रमजीवी वर्गले बुर्जुवा वर्गविरूद्ध फेरि अर्को शक्तिशाली धक्का दिएपछि मात्रै मध्यमवर्गीय बुद्धिजीवीहरूले आफूलाई मार्क्सवादी दावी गर्नेछन्।

    मैले भन्नैपर्ने हुन्छ, विगतका यस्ता ‘मार्क्सवादी’मध्ये अधिकांश गैह्र–समाजवादी विद्रोहीहरू थिए। उनीहरू पूँजीवादविरोधी संघर्षबाट मार्क्सवादले आर्जन गरेको विश्वव्यापी मान्यतालाई प्रयोग गर्न मार्क्सवादी भएका थिए। राष्ट्रवादी, संशोधनवादी, तेस्रो विश्वको औद्यागिकरणका समर्थकहरू, राष्ट्रिय स्वाधिनताको वकालत गर्नेहरू, मनपरितन्त्रको विरोध गर्नेहरू, दबाइएका अल्पसंख्यकहरू र अन्य अधिकांश असन्तुष्टहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्ने माध्यम मार्क्सवादमा पाएका थिए। मार्क्सवादी हुने फेसन नै चलेको थियो। त्यसैले उनीहरू मार्क्सवादी भएका थिए। आज प्रजातन्त्र त्यस्तै भएको छ। त्यसैले सबै प्रजातन्त्रको वरिपरि झुम्मिएका छन्। आफ्ना फरक–फरक आकांक्षाहरूलाई प्रजातन्त्र र बजारले पुरा गरिदिन्छ भन्ने ठानिरहेका छन्। मेरा लागि मार्क्सवादबाट उनीहरू अलग्गिनु स्वभाविक हो। वास्तवमा यो राम्रो पनि हो। अब वास्तविक मार्क्सवादीहरूले नै सबै क्षेत्रमा काम गर्नुपर्ने भएको छ। यसले श्रमजीवी वर्गको स्वरूप र शक्ति तय गर्नेछ। अन्ततः मार्क्सवादी दृष्टिकोण अनुसारको साम्यवाद प्राप्तिलाई सहज बनाउने छ।

    आजको दिनसम्म आइपुग्दा मार्क्सवादले परिकल्पना गरे अनुसारको समाजवाद कहीँ पनि स्थापना भएको छैन। मार्क्सवादी र मजदुर वर्गको दृष्टिकोणबाट सोभियत संघलाई कुनै पनि अर्थमा समाजवादी भन्न सकिँदैन।

    राजनीतिक उपभोगका लागि मार्क्सवादको नाममा फैलाइएका अफवाहहरूबाट मुक्त मार्क्सवादमा कुनै संशोधन आवश्यक छैन। बरू मार्क्सवादीहरूले समाज विज्ञानका विभिन्न विधामा विश्लेषणात्मक र सैद्धान्तिक योगदान गर्नु जरूरी छ। वर्तमान समाजका विभिन्न मुद्धाहरूमा मार्क्सवादी दृष्टिकोण तय हुनसकेको छैन। वर्तमान विश्वमा भइरहेका प्रमुख घटनाक्रममा पनि हाम्रो दृष्टिकोण बनिरहेको छैन। विश्वदृष्टिकोण र समाज विज्ञानका सिद्धान्तमा एकरूपता ल्याउनु भनेको समाजको वास्तविकताबाट अलग्याएर मार्क्सवादी सिद्धान्त दोहोर्‍याउनु होइन। यसको अर्थ मार्क्सवादीका रूपमा आफ्नो युगको सैद्धान्तिक युद्धमा सरिक हुनु हो। समाजको ऐतिहासक परिवर्तन र वर्ग संघर्षसँगै आएका नयाँ समस्याको विश्लेषण गर्नु हो, दृष्टिकोण निर्माण गर्नु हो। मार्क्सवादको सत्यता र प्रष्ट दृष्टिकोणमा कुनै संशोधनको आवश्यकता छैन तर वर्तमान विश्व र विविध मुद्धामा मार्क्सवादी दृष्टिकोणको प्रयोग कसरी गर्ने भन्नेमा थप काम गर्नु आवश्यक छ।

    प्रश्नः  लेनिन र लेनिनवादबारे तपाईंको धारणा के छ त ? लेनिनवादको पुर्नमूल्यांकन गर्न आवश्यक छ कि छैन ? तपाईं अझै आफूलाई लेनिनवादी नै भन्नुहुन्छ ?

    हेक्मतः यी प्रश्नको जवाफ खोज्नुभन्दा पहिले कतिपय शब्दावलीलाई अझ राम्रोसँग परिभाषित गर्नु आवश्यक छ। लेनिनका दृष्टिकोणको सत्यता जाँच्ने र मार्क्सवादी दृष्टिकोणबाट उनका दृष्टिकोण र कामको मूल्यांकन गर्ने हो भने म प्रष्टरूपमा लेनिनवादी हुँ। उनका क्रान्तिकारी सोच र मजदुर वर्गको क्रान्तिका लागि उनले पुर्‍याएको योगदान हेर्ने हो भने म लेनिनवादी हुँ। मेरो विचारमा लेनिन मार्क्सवादी दृष्टिकोणलाई ठीकसँग बुझेका सच्चा मार्क्सवादी थिए। साथै, समाजवादी आन्दोलन हाँक्ने मजदुर वर्गका योग्य नेता पनि थिए। तर, तथाकथित कम्युनिष्ट आन्दोलनको इतिहासमा देखिएका खास प्रवृत्तिलाई मात्रै लेनिनवादको नाम दिइएको छ।

    स्टालिनको पालामा यो शब्दको प्रयोग सुरू गरियो। पछि यो समूह मूलधारको साम्यवादी आन्दोलनबाट छुट्टियो र मार्क्सवाद–लेनिनवादको प्रयोगमा जोड दियो। यसलाई तात्कालीक राजनीतिक परिस्थितिमा गैर–समाजवादी विवाद र आकांक्षा पुरा गर्ने माध्यमका रूपमा प्रयोग गरियो। यी कदमले लेनिनको इज्जतमा हिलो छ्याप्ने काम गरे। मैले बुझेको वास्तविक लेनिनवाद यी ‘लेनिनवादी’हरूले दाबी गर्ने लेनिनवाद भन्दा ठीक उल्टो छ। बुर्जुवा विश्लेषकहरुले सोभियत संघको सम्पूर्ण असफल अभ्यासलाई लेनिनसँग जोड्ने गरेका छन्। यसलाई लेनिनवादी विचारकै आलोकमा भएको भन्ने व्याख्या गरेका छन्। आज यो फेसन भएको छ।

    अक्टोबर क्रान्तिको समयमा स्वयं बुर्जुवाहरूले पनि लेनिनलाई स्वतन्त्र चिन्तक र समानतावादी क्रान्तिकारी व्यक्ति मानेका थिए। तर, सोभियत संघ, चीन र अल्बानीयाका शासक पार्टीको विचार र काम लेनिनवाद अनुसार भएन। सोभियत संघकै सामाजिक र राजनीतिक अभ्यासमा पनि लेनिनवाद कहिँकतै देखिएन। बरू उल्टै लेनिन र उनका विचारलाई गलत रूपमा व्याख्या र अभ्यास गरियो। लेनिन त समानता, स्वतन्त्रता र मानवताका लागि लडेका थिए। लेनिनको नाम जोडेर कुनै पनि बहानामा तानाशाही शासन, कर्मचारीतन्त्र, राष्ट्रिय उत्पीडन र खानाका लागि सर्वसाधारणले लामो लाइन बस्नुपर्ने अवस्थालाई पुष्टि गर्न मिल्दैनथ्यो।

    मार्क्सवादी विचारधारा र अभ्यासको दृष्टिकोणबाट लेनिन महान व्यक्ति हुन्। मेरो विचारमा ‘लेनिनवादी साम्राज्यवादी युगको मार्क्सवाद हो’ भन्नेजस्ता सुत्र अनावश्यक हुन्। कम्युनिष्ट आन्दोलनमा लेनिनको महत्व र उनको विशेष योगदान क्रान्तिकारी सिद्धान्तलाई क्रान्तिकारी अभ्याससँग जोड्नु हो। उनले व्यवहारिक भौतिकवादका रूपमा मार्क्सले अघि सारेको साम्यवादको अवधारणालाई मुर्त रूपमात्र दिएका हुन्। लेनिनको विशेष योगदान पुँजीवादी समाजमा मजदुर वर्गको क्रान्तिकारी इच्छाशक्तिलाई पहिचान गर्नु र समाजको वस्तुगत अवस्था अनुसार क्रान्तिका लागि मजदुर वर्गका प्रतिनिधिले खेल्न सक्ने भूमिकालाई स्वीकार गर्नु हो। उनले दोस्रो अन्तर्राष्ट्रियमा व्यापकता पाएको क्रमिक विकासवादी र निष्कृयतावादी दृष्टिकोणलाई वेवास्ता गरे। त्यसको ठाउँमा मार्क्सले परिकल्पना गरेजस्तै सक्रिय साम्यवादी आन्दोलनको दृष्टिकोण अघि सारे। साधारण भाषामा भन्नु पर्दा, लेनिनभन्दा अघि समाजवादी आन्दोलनले मार्क्सबाट सिकेको समाजवादको अपरिहार्यता र अनिवार्यता थियो। लेनिनले यही युगमा समाजवाद सम्भव छ भन्नेमा जोड दिए। इतिहास र ऐतिहासिक विकासक्रममा वर्गहरूले क्रान्तिका लागि निर्वाह गर्ने भूमिका सम्बन्धी उनको अवधारणा पूर्णतः मार्क्सवादी थियो। उनले यो काम कसरी गर्ने भन्ने परिभाषित गरे र मजदुर वर्गलाई संगठीत गरे। क्रान्तिको सक्रिय तत्वबारे पेटी–बुर्जुवा व्याख्याले अन्ततः समाजवादमा नियतीवादी, अभिजात वर्गीय वा षडयन्त्रको सिद्धान्तवाला दृष्टिकोण हावी गराउँछ। लेनिनको राजनीतिक दृष्टिकोणको सतही अध्ययन मात्रै गर्ने हो भने पनि उनी यस्ता दृष्टिकोणबाट मुक्त थिए भन्ने बुझिन्छ। किनभने, उनका लागि क्रान्तिकारी लडाईंको समाजिक र वर्गीय अर्थ थियो। साथै, वस्तुगत सामाजिक अवस्थामा वर्गहरूले खेल्ने भूमिकाबारे उनको बुझाइमा कहीँ पनि अमूर्तता छैन। यदि तपाईं समाजवादलाई सोख वा आदर्श नठानेर अत्यावश्क र व्यवहारिक रूपमा बुझ्नुहुन्छ भने, समाजवाद र मजदुरवर्गको क्रान्तिलाई वास्तविक रूपमा बुझ्न चाहनुहुन्छ भने, लेनिन राजनीतिक चिन्तक र नेताका रूपमा सदैव सिकाइ र प्रेरणाका स्रोत भइरहनेछन्।

    प्रश्नः अहिलेको समाजवाद विरोधी आक्रमणको मुख्य कडी आर्थिक पक्ष हो। सोभियत संघको पतनले पूँजीवाद र बजार नै मानव सभ्यताले ऐतिहासिक रूपमा आर्जन गरेको सबैभन्दा प्रभावकारी र व्यवहारिक आर्थिक प्रणाली हो भन्ने मान्यतालाई बल दिएको छ। एक मार्क्सवादीका रूपमा तपाईं यसलाई कसरी बुझ्नुहुन्छ ?

    हेक्मत: दुईवटा अलग अलग कुरालाई हामीले अलग्गै राखेर हेर्नुपर्छ। पूँजीवादका पूर्वीय र पश्चिमा मोडलबीचको तुलना एउटा विषय हो र पूँजीवादको आर्थिक र समाजिक विकल्पका रूपमा समाजवादसँगको तुलना अर्को विषय हो। आजको दिनसम्म आइपुग्दा मार्क्सवादले परिकल्पना गरे अनुसारको समाजवाद कहीँ पनि स्थापना भएको छैन। मार्क्सवादी र मजदुर वर्गको दृष्टिकोणबाट सोभियत संघलाई कुनै पनि अर्थमा समाजवादी भन्न सकिँदैन। पूँजीवाद र समाजवादको तुलनासम्बन्धी तपाईंको प्रश्नमा म पछि आउँछु। पहिले म पूर्व र पश्चिममा अभ्यास भएका पूँजीवादका फरक प्रणालीबारे प्रष्ट पार्न चाहन्छु।

    के बजार र प्रतिस्पर्धामा आधारित पूँजीवाद नै आजसम्मको सबैभन्दा उत्कृष्ट, सबैभन्दा प्रभावकारी र सबैभन्दा व्यहारिक आर्थिक प्रणाली हो त? यो प्रश्नको जवाफ दिनुअघि तपाईंले आर्थिक प्रणालीको उत्कृष्टता र प्रभावकारितालाई मापन गर्ने मापदण्ड बनाउनु जरूरी हुन्छ। यी शब्दहरू एकदमै सापेक्षिक हुन्छन्। कसैले कुनै आर्थिक प्रणालीबाट के अपेक्षा गरेको छ भन्ने आधारमा यसको मूल्यांकन पनि फरक हुनजान्छ। यो बुर्जुवा अर्थशास्त्रीहरूबीचमै मतभेद रहेको विषय हो। अर्थतन्त्रको भौतिक र प्राविधिक वृद्धि, सम्पत्ति र आय वितरण प्रणाली, औद्योगिक आधार, रोजगारीको स्तर, वस्तुको गुणस्तर, आत्मनिर्भरता वा विश्व बजारमा बलियो उपस्थिति आदि उत्पादन सम्बन्धलाई राम्रो वा खराब भनि परिभाषित गर्न बुर्जुवा अर्थशास्त्रीले प्रयोग गर्ने मापदण्ड हुन्। यी मापदण्डहरू कतिपय आफैंमा विरोधाभाषपूर्ण पनि छन्। यो विषयलाई लिएर बुर्जुवा अर्थशास्त्रीहरू आफैं विवादमा उत्रिएका छन्।

    पूँजीवाद नै सर्वोत्कृष्ट आर्थिक प्रणाली हो भन्ने दावी मानव इतिहासकै सबैभन्दा ठूलो झुट हो। यो प्रणालीमा रगत र फोहोर लत्पपतिएको छ। जहाँ करोडौं मानिससँग ओत लाग्ने छानो छैन, स्वास्थ्य उपचारमा पहुँच छैन, शिक्षा छैन, खुशी छैन र अझ उनीहरूसँग खाना पनि छैन, यी आवश्यकता पुरा गर्नसक्ने उत्पादनका साधन अलपत्र छोडिएका छन्। करोडौं मानिसहरूले यी उत्पादनका साधान प्रयोग गर्नसक्थे र यो अभाव पूर्ति गर्नसक्थे। यी मानिसहरूलाई कामबाट बञ्चित गरिएको छ।

    मुख्य प्रश्न, कुन समाज, कुन ऐतिहासिक कालखण्ड र कस्तो समस्याहरू भएको समाजका लागि ‘सबैभन्दा प्रभावकारी र सबैभन्दा व्यवहारिक’ आर्थिक प्रणाली हो भन्ने हो। यो खासगरी विकास अर्थशास्त्रको पूरानो समस्या हो। उदाहरणका लागि, अक्टोबर क्रान्तिपछि रसियाली पूँजीवाद र बुर्जुवाहरूका लागि खुला बजारमा आधारित प्रणाली उपयुक्त विकल्प थिएन। अल्पविकसित मुलुकको (जापानजस्ता मुलुकको पनि) इतिहासले आन्तरिक मजदुरको व्यवस्था र वस्तुका लागि बजारको प्रारम्भ गरे पनि, अथवा पूँजीवाद पूर्वका अवरोधहरू हटाएर औद्योगिकरणको आधार तयार पारे पनि बजार संयन्त्रमा माथिबाट हस्तक्षेप नगरी पूँजीवाद प्रभावकारी हुन्न भन्ने देखाइसकेको छ।

    पश्चिमा पूँजीवादी प्रणालीमै पनि बजार संयन्त्रमा राज्यको हस्तक्षेप अनिवार्य हुन्छ भन्ने प्रष्ट पार्ने विभिन्न उदाहरणहरू छन्। आर्थिक मन्दीबाट पार पाउन होस् वा प्रविधिको पुनसंरचना सुरू गर्न होस्, राज्यले हस्तक्षेप गरेकै हुन्छ। आज पनि प्रतिस्पर्धा र स्वतन्त्र बजारजस्ता शब्द पश्चिमा पूँजीवादको व्याख्या गर्नका लागि खास अवस्थामा बाहेक प्रयोग गर्न सकिने अवस्था छैन। किनभने राज्य र नीजी क्षेत्रको एकाधिकारले पूँजीको प्रवाहको संरचनामा निर्णायक प्रभाव राख्दछ र बजार मूल्य, उत्पादन संरचना, वृद्धिदर, रोजगारीको स्तर लगायत निर्धारण गर्दछ।

    पश्चिमा पूँजीवादका पक्षधरहरू त्यतिबेला ठीक हुन आउँछन्, जतिबेला उनीहरूले पूर्वीय भन्दा पश्चिमी पूँजीवाद तुलनात्मक रूपमा उपयुक्त छ भन्ने उद्‌घोष गर्छन्। पूँजीवादी समाजको आफ्नै परिकल्पनाका आधारमा होस् वा भौतिक मापदण्डहरूका आधारमा दुईवटा आर्थिक प्रणालीको प्रभावकारिताका आधारमा होस्, पश्चिमा पूँजीवाद उत्कृष्ट देखिन्छ। पुनर्संरचना गरिएको पूँजीवादी प्रणालीका रूपमा, सोभियत संघको आर्थिक प्रणालीले पूँजी संचयका लागि उपयुक्त र प्रभावकारी ढाँचा प्रदान गर्न सकेन। र, पूँजीमा आधारित उत्पादन प्रणालीभित्रका अन्तरविरोधहरु  कम गर्न पनि असफल भयो। यो प्रणालीको मुख्य विषेशता भनेको बजार संयन्त्रलाई प्रशासनिक प्रणालीद्वारा नियन्त्रित गर्ने प्रयास गर्नु थियो, जसलाई ‘योजना र बजारको विपरित’ भनी व्याख्या गरियो।

    कार्ल मार्क्स

    बजार संयन्त्रलाई विस्थापित गर्न नसकिने थिएन तर वस्तुको रूपमा श्रमिकको उत्पादन शक्ति, विभिन्न व्यक्ति र समाजका विभिन्न हिस्साबीच हुने विनिमय र वितरणमा आधारित मूल्य प्रणालीको अस्तित्व र पैसामा आधारित अर्थतन्त्र जस्ता पूँजीवादी अर्थतन्त्रका प्रमुख आधारहरू नै विस्थापित गरियो। पूँजीवादी प्रणालीलाई गम्भिरतासाथ अवरोध नगरी यो प्रणालीभित्रका सम्बन्धलाई कायम राखेर यी सम्बन्धले मूर्तता पाउने तथा एकअर्कासँग जोडिने माध्यमको रूपमा रहेको बजारलाई विस्थापन गर्नु सम्भव थिएन। तर, सोभियत संघमा यही भयो। बजारलाई योजनाले विस्थापन गरिएन तर बजारको कार्यलाई प्रशासनिक निर्णय लिने संस्थामा सार्ने काम मात्रै भयो। पूँजीवादमा, एकाधिकार वा प्रतिस्पर्धात्मक जस्तो भए पनि बजारले जटिल र विविध कार्य गरिरहेको हुन्छ। के र कसरी उत्पादन गर्ने, कस्तो उत्पादन प्रविधि अवलम्बन गर्ने, कति उपभोग गर्ने, कसले उपभोग गर्ने, स्रोत, उत्पादनका साधन र मजदुर कति क्षमतामा र कुन क्षेत्रमा प्रयोग गर्ने, कुन समयमा कुन वस्तुको मूल्य कति हुने भन्ने तमाम काम बजारले गरिरहेको हुन्छ। जनशक्तिदेखि उत्पादनका साधन र उपभोगसम्मका हरेक प्रश्नको जवाफ बजारले निर्धारण गर्दछ। उत्पादन र व्यवस्थापनको कस्तो प्रणाली अपनाउने, कुन आवश्यकता पूर्ति गर्ने र कुन आवश्यकतालाई वेवास्ता गर्ने, अर्थतन्त्रलाई कुन दिशामा अगाडि बढाउने, कुन–कुन उत्पादनका साधन र प्रविधिलाई प्रयोग गर्न छोड्ने भन्ने सबै कुरा बजारको हातमा हुन्छ। जब समाज उद्योग र उत्पादनका आधारमा विकसित हुँदै जान्छ र वस्तु एवम् आवश्यकतामा परिवर्तन आउँदै जान्छ, बजारको भूमिका पनि अझ जटिल हुँदै जान्छ। प्रशासनिक संयन्त्रलाई बजार संयन्त्रको भूमिका जिम्मा लगाउने र बजारलाई विस्थापन गर्ने हो भने ढिलोचाँडो पूँजीवादको अवसान हुनु अनिवार्य हुन्छ।

    लामो समय सोभियत संघले बेरोजगारी र समय–समयमा आउने आर्थिक संकटबाट यहाँको प्रणाली मुक्त रहेको दाबी गर्‍यो। तर, पूँजीवादमा यस्ता आवधिक संकट, बेरोजगारी, आर्थिक मन्दी तथा उछाल आधारभूत आर्थिक अन्तरविरोधलाई समायोजन गर्ने बजारका संयन्त्र हुन्। यी संयन्त्रले उत्पादक शक्तिको विकाससँग पूँजीलाई समायोजन गर्ने काम गर्छन्। यी संयन्त्रको सहयोगमा पुँजीको पुनर्संरचना हुन्छ र उत्पादक शक्तिको गुणात्मक र मात्रात्मक विकाससँग समन्वय हुन्छ। ऐतिहासक रूपमा, शोषण र वर्गमा आधारित भएपनि ती उत्पादन सम्बन्धले उत्पादनको बढोत्तरी, प्रविधिको विकास र आर्थिक आवश्यकता पुर्ति गरेको नै देखिन्छ। यसैकारण सोभियत संघ एउटा निश्चित समयमा आफ्नो अवसानमा पुगेको हो। सोभियत अनुभवले पुँजीवादी प्रणालीमा आर्थिक सन्तुलन र आर्थिक समिकरणको नियमनका लागि बजार आफैंमा सबैभन्दा प्रभावशाली माध्यम हो भन्ने देखाउँछ। केही अवस्थामा बजारलाई विस्थापन गरेर यसको काम प्रशासनिक निर्णय प्रणालीको जिम्मा दिने छोटो बाटो त हुनसक्छ तर पुँजीवादी समाजको प्राविधिक विकास र उत्पादक तथा उपभोक्ताको आवश्यकतामा आउने परिवर्तनसँगै यो प्रणालीले काम गर्न सक्दैन।

    आज बजारले सोभियत आर्थिक प्रणालीसँग बदला लिइरहेको छ। पहिले संकटको अनुपस्थिति, नदेखिएको बेरोजगारी, कम मूल्य, सहुलियत पाएका उद्योग लगायतको ठाउँमा अचानक आम बेरोजगारी, चुलिँदो मुद्रास्फिति र बन्द उद्योगले लिएका छन्। सोभियत संघलाई यो अवस्थामा ल्याइपुर्‍याउन बजारबारे जे तर्क गरिएका थिए, तिनीहरूले खेलेको ठीक विपरित भूमिका जिम्मेवार छ। सुरूमा सोभियत संघसँग मजदुर वर्गको क्रान्तिको विरासत थियो। यसैकारण शक्तिको परिचालन विचारधारात्मक तथा राजनीतिक रूपमा गरियो। परिणामस्वरूप सुरूवाती वर्षमा उद्योगको विकास र आर्थिक पूर्वाधार निर्माणमा यहाँको आर्थिक प्रणाली प्रभावकारी देखियो। जबसम्म आर्थिक वृद्धि श्रम शक्तिको रोजगारी र निरपेक्ष अतिरिक्त मुल्यमा निर्भर थियो, ग्रामिण क्षेत्रबाट मजदुर आपूर्ति भइरहेको थियो, तबसम्म यो प्रणालीका समस्याहरू सतहमा देखिएका थिएनन्। तर, जब उत्पादन पद्धतिमा सुधार गरेर सापेक्ष अतिरिक्त मूल्यको उत्पादन आवश्यक भयो, जब उत्पादन र उपभोग दुवैमा सामाजिक आवश्यकता विविध हुँदै गयो, जब वस्तुको गुणस्तरले महत्व पाउन थाल्यो, तब यो प्रणालीका घातक समस्याहरू सतहमा आए। अन्तिम दुई दशकमा सोभियत संघ प्राविधिक क्रान्ति ल्याउन असफल भयो। यो प्रणाली उन्नत औद्योगिक समाजका विविधतापूर्ण आवश्यकता पूर्ति गर्न असमर्थ भयो। त्यसैले, पूँजी परिचालनको दृष्टिकोणबाट यो प्रणाली अनुपयुक्त देखियो। अर्कातिर बजारको केन्द्रीय भूमिकामा आधारित पश्चिमा पुँजीवादी प्रणाली अझै पनि प्रभावकारी छ। साथै, सोभियत प्रणालीको विकल्प जस्तो पनि देखिएको छ।

    सोभियत प्रणालीमा सामाजिक कल्याण तथा आर्थिक सुरक्षा राम्रो थियो, वर्गीय खाडल साँघुरो थियो भन्नेजस्ता तर्क आउनसक्छन्। पश्चिमा बुर्जुवाको दृष्टिकोणमा आर्थिक न्याय समाज कति राम्रो वा नराम्रो छ भनेर छुट्याउने मापदण्ड होइन। सामाजिक प्रजातन्त्रवादी तथा यस नजिकका वामपन्थी बुर्जुवाहरूले यसलाई उनीहरूको आर्थिक प्रणालीमा समावेश गरेका छन्। उनीहरूले आफ्नो उद्योग र सभ्यताको केन्द्रमा गरिबहरूले विद्रोह नगरिदिउन् भनेर यसलाई समावेश गरेका हुन्। नाफामा परिवर्तन आउन थालेसँगै उनीहरूले यसलाई छोड्नेछन्।

    साम्यवादी र मजदुरका रूपमा हामीसँग आफ्नै वैकल्पिक आर्थिक न्याय छ। पहिलो, हामी आर्थिक न्यायमा आधारित त्यस्तो प्रणाली बनाउने छौं जसले सधैं यस्तो न्यायको पुनरूत्पादन गरिरहन्छ र आर्थिक न्यायकै आधारमा विकसित पनि हुँदै जान्छ। यो श्रमिकले ठूलो मूल्य चुकाएपछि सुरूका चालिस वर्ष तथाकथित न्यायको सान्त्वना दिने र त्यसपछि चरम गरिबी र बेरोजगारीमा पुर्‍याउने प्रणाली होइन। चालिस वर्षपछि आर्थिक, राजनीतिक र विचारधारात्मक रूपमा प्रतिक्रियावादीहरूको दयामा भर पर्नुपर्ने स्थिति निम्त्याउने प्रणाली पनि होइन। दोस्रो, हामी आर्थिक बृद्धि, प्रविधिको विकास, उत्पादन क्षमताको विकास, उपभोगको स्तरमा बढोत्तरी, मानवीय कल्याण र फुर्सदलाई मानव समाजको लागि आवश्यक र अत्यन्तै महत्वपूर्ण मान्छौं। मानवीय चाहानाहरूको विभाजन हाम्रा लागि समाधान होइन। कुनै पनि प्रकारको अभावको बोझ सबैले समानरूपमा बेहोर्नु पर्छ, तर समाजवाद आफैंमा चाहिँ मानवीय क्षमताको विकास गराउने अर्थशास्त्र हो। प्रत्येक व्यक्तिको बढ्दो भौतिक र बौद्धिक आवश्यकता पुरा गर्ने अर्थशास्त्र हो।

    यो समाजको सबैभन्दा घिन लाग्दो पक्ष त यो धर्तीमा बसोबास गर्ने बहुसंख्यक मानिसले आफ्नो शारीरिक र बौद्धिक शक्ति सिमित मानिसको फाइदाका लागि प्रयोग गर्नुपरेको छ। मानवीय क्षमतालाई पूँजीबाट नाफा आर्जन गर्नमा केन्द्रित गरिएको छ। र, यो नै सबै असमानता र क्षयको जड हो।

    अब तपाईंको प्रश्नको दोस्रो पाटोमा जाऔं। पूँजीवाद, त्यसमा पनि अझ ‘विजयी’ पश्चिमा प्रणाली आजसम्म अस्तित्वमा रहेको सबैभन्दा उत्कृष्ट, सबैभन्दा प्रभावकारी र सबैभन्दा व्यवहारिक प्रणाली हो भन्ने दाबीबारे हामी के भन्न सक्छौं ? वास्तवमा मानवताका लागि यो भन्दा राम्रो आर्थिक प्रणाली यही शताब्दीमा सम्भव थियो। यदि पुरानो प्रणालीले आफूलाई साम, दाम, दण्ड, भेदसहित रक्षा गर्नेतिर नलागेको भए, हत्या, यातना, धम्की र धोखाधडीमा नलागेको भए,  हामी अहिले समाजवादी समाजमा बाँचिरहेका हुनेथियौं। वर्तमान प्रणालीभन्दा असल समाजवादी प्रणाली राम्रोसँग परिभाषित छ र यसका लागि दशौं लाख मानिस लडेका छन्, अझै लडिरहने छन्।

    पूँजीवाद नै सर्वोत्कृष्ट आर्थिक प्रणाली हो भन्ने दाबी मानव इतिहासकै सबैभन्दा ठूलो झुट हो। यो प्रणालीमा रगत र फोहोर लत्पपतिएको छ। जहाँ करोडौं मानिससँग ओत लाग्ने छानो छैन, स्वास्थ्य उपचारमा पहुँच छैन, शिक्षा छैन, खुशी छैन र अझ उनीहरूसँग खाना पनि छैन, यी आवश्यकता पुरा गर्नसक्ने उत्पादनका साधन अलपत्र छोडिएका छन्। करोडौं मानिसहरूले यी उत्पादनका साधन प्रयोग गर्नसक्थे र यो अभाव पूर्ति गर्नसक्थे। यी मानिसहरूलाई कामबाट बञ्चित गरिएको छ।

    उद्योगमा काम गर्न सक्ने प्रहरीहरूलाई मजदुरमाथि गोली चलाउन तैनाथ गरिएको छ। पश्चिमी सभ्यताको केन्द्रमा तेल उत्पादन गर्न खोज्ने खानी मजदुरमाथि कुटपिट गरिन्छ र जेल हालिन्छ। युरोपेली खाद्य भण्डारमा घिउ र गहुँ सडिरहेको छ तर नजिकैका अरू मुलुकमा मानिसहरू भोकमरीका कारण मरिरहेका छन्। अझ हामीले तेस्रो विश्वका मुलुकबारे त कुरै गर्नु परेन।

    संयुक्त राज्य अमेरिकामै तीन करोड मानिस गरिबीको रेखाभन्दा मुनि बाँचिरहेका छन्, एक करोड बालबालिकाको स्वास्थ्य बीमा छैन, सुकुम्बासीहरू न्युयोर्कदेखि लस एन्जलससम्मै छन्। संसारभरि बाँच्नकै लागि माहिलाहरू यौनकर्मी बन्न बाध्य छन्। लागु औषध उत्पादन र तस्करी धन कमाउने सान्दार माध्यम बनेको छ। बेलायतीहरू यति उदार छन् कि घरबारविहीनहरू चिसोबाट जोगिन सकुन् भनेर सब–वे राती पनि खुला छोडिदिन्छन्। महिलालाई घरेलु काममा नजोती र शोषण नगरी यो अर्थप्रणाली टिक्न सक्दैन। यसले बालबालिकालाई काममा लगाउँछ र वयस्कलाई बेरोजगार राख्छ। यो प्रणालीमा मानिसको हत्या नगरी, घाइते नबनाई वा मानसिक रूपमा थकित नपारी उत्पादन नै हुँदैन। पृथ्वीका बहुसंख्यक मानिसको अमानवीयकरण नगरी यो प्रणाली चल्न सक्दैन तर उनीहरूकै आधारभूत आवश्यकता वेवास्ता गर्छ।

    यो समाजको सबैभन्दा घिनलाग्दो पक्ष त यो धर्तीमा बसोबास गर्ने बहुसंख्यक मानिसले आफ्नो शारीरिक र बौद्धिक शक्ति सिमित मानिसको फाइदाका लागि प्रयोग गर्नुपरेको छ। मानवीय क्षमतालाई पूँजीबाट नाफा आर्जन गर्नमा केन्द्रित गरिएको छ। र, यो नै सबै असमानता र क्षयको जड हो।

    ज्यालामा आधारित मजदुर, पूँजीपति र श्रमिकमा समाजको विभाजन, ज्याला दिने र लिनेबीचको विभाजन, उत्पादनमा केन्द्रीत हुनुपर्ने कामलाई पेशामा गरिएको घटुवा, जीविका चलाउनका निम्ति कमाउनु पर्ने बाध्यता यो प्रणालीलाई सत्यनाश पार्ने कारणहरू हुन्। यो प्रणालीलाई उत्कृष्ट र सबैभन्दा व्यवहारिक भन्नु आफ्नो दानवीयतालाई पुष्टि गर्नु हो।

    विशेषगरी जब मार्क्सले पूँजीवादको व्यवस्थित आलोचना गरे तब मानव जातिले यो भन्दा राम्रो आर्थिक र सामाजिक प्रणालीको आवश्यकता महशुस गरिसकेको थियो। साथै, यस्तो प्रणालीको आधार समेत तयार गरिसकेको छः यस्तो समाज जुन मानिसको सम्पूर्ण स्वतन्त्रता र समानतामा आधारित हुनेछ, यस्तो समाज जुन मानवीय आवश्यकता पुरा गर्न सामूहिक सिर्जनात्मक प्रयत्नमा आधारित हुनेछ, यस्तो समाज जहाँ उत्पादनका साधनमाथि सबै मानिसको सामूहिक स्वामित्व हुनेछ। संसार यस्तो समुदाय हुनेछ जहाँ वर्ग विभाजन र विभेद हुनेछैन। जहाँ देश र राज्यसत्ता हुनेछैन। पूँजीवाद आफैंले यस्तो समाजका लागि भौतिक पूर्वशर्तहरू तयार गरिसकेको छ।

    प्रश्नः पश्चिमा बुर्जुवा टिप्पणीकारहरूले, खासगरी पूर्वी ब्लकको पतनको सन्दर्भमा वैयक्तिकता तथा अर्थतन्त्र र राजनीतिमा व्यक्तिको प्रधानताको मुद्धा उठाउने गरेका छन्। उनीहरूले सोभियत–ढाँचाको अर्थतन्त्रमा मात्रै नभएर विगतका दुई वा तीन दशकमा राज्यको सक्रिय भूमिकामा आधारित सामाजिक कल्याणकारी अर्थतन्त्र भएका सबै देशमा आर्थिक उदासिनता तथा प्रविधिको विकासमा गतिहिनता आउनुको कारण राज्यको बढ्दो जिम्मेवारी र व्यक्तिगत अभिप्रेरणा तथा प्रतिस्पर्धाको अभाव भएको तर्क गरेका छन्। उनीहरूले व्यक्तिवाद तथा प्रतिस्पर्धा पूँजीवादी समाजको मेरूदण्ड मात्रै नभएर मानिसको आर्थिक क्रियाकलापको अभिन्न र विस्थापन गर्न नसकिने तत्व भएको दाबी गरेका छन्। समाजवादमाथि व्यक्तिलाई भन्दा समाजलाई प्राथमिकता दिएको, व्यक्तिलाई निश्चित मानकमा ल्याउन खोजेको तथा उनीहरूको वैयक्तिकतालाई सिमित गरेको आरोप लगाएका छन्। यिनीहरू कसरी पूर्वी ब्लकको आर्थिक पतनका लागि जिम्मेवार छन् ? र, समाजवाद र व्यक्तिगत स्वतन्त्रताको सम्बन्धलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ ?

    हेक्मत: पहिले त हामीले बुर्जुवा विचारधारामा व्यक्ति र वैयक्तिकता के हो भन्ने प्रष्ट हुनुपर्ने हुन्छ। उनीहरूका लागि व्यक्ति भनेको मानव होइन, न त व्यक्तिको प्रधानतालाई मानवको प्रधानताका रूपमा नै बुझिन्छ। पूँजीवादी समाज र बुर्जुवा विचारधारामा मानिस र मानिसको वैयक्तिक पहिचान फरक–फरक कुरा हुन्। मानिसको पृथक व्यक्तित्व र वैयक्तिक पहिचानका सबै गुणहरू उनीहरूका लागि फरक–फरक हुन्। यसैले भौतिक, आर्थिक, बौद्धिक, सांस्कृतिक र राजनीतिक रूपमा उनीहरूका लागि व्यक्ति पहिचानविहिन हुन्छ। यस्तो समाजमा हरेक व्यक्तिको एकअर्कासँग द्वन्द्व हुन्छ तर व्यक्तिको पहिचान र विशेषताको महत्व हुँदैन। उनीहरू निश्चित आर्थिक सम्बन्धलाई अघि बढाउने माध्यम मात्रै हुन्छन्। मानिसहरूबीचको सम्बन्ध वस्तुहरूबीचको सम्बन्धको एउटा पक्ष वा स्वरूप मात्रै हुन्छ। व्यक्तिको विशेषताको परिभाषा तय गर्ने पहिलो तत्व वस्तुसँग उसको सम्बन्ध हो। साथै, वस्तुको उत्पादन तथा विनिमयसँग उसको आधारमा व्यक्तिको विशेषता परिभाषित हुन्छ। व्यक्ति उसको आर्थिक अवस्थालाई प्रतिनिधित्व गर्ने जीवित एकाइ मात्रै हुन्छ। मजदुर श्रमशक्तिलाई वस्तुका रूपमा बिक्री गर्ने व्यक्ति हुन्छ, पूँजीपति पूँजीको मालिक हुन्छ। वस्तु-बजारमा निश्चित क्रय शक्ति भएको व्यक्ति उपभोक्ता हुन्छ। पूँजीवादमा मानिसको पहिचान यिनै क्षमतामा निर्भर हुन्छ र यसैगरी चिनिन्छ। जब बुर्जुवा चिन्तक व्यक्तिको प्रधानताबारे कुरा गरिरहेको हुन्छ, वास्तवमा उसले मानिसको प्रधानताको कुरा गरेकै हुँदैन। बरू प्रत्येक मानिसमा भएको मानवीय गुणलाई अलग गर्ने कुरा गरिरहेको हुन्छ। आर्थिक सम्बन्धमा उसलाई पूँजिपति, मजदुर वा उपभोक्ताको रूपमा जोड्ने कुरा गरिरहेको हुन्छ। बुर्जुवाहरूका लागि व्यक्तिको प्रधानताको अर्थ वस्तुको प्रधानता हो। बजार र विनिमय मूल्यको प्रधानता हो। जस्तै, प्रत्येक व्यक्तिको पृथक पहिचान र व्यक्तित्वको स्थान विभिन्न वस्तुको विनिमयले लिएको हुन्छ। ऊ त्यो वस्तुको विनिमय मूल्यका लागि अन्य व्यक्तिसँग द्वन्द्वमा उत्रिन्छ।

    पूँजीवादमा मानिसलाई व्यक्तिका रूपमा सिमित गर्नु आवश्यक मात्रै हुँदैन, अनिवार्य पनि हुन्छ। त्यहाँ व्यक्तिले मानवीय दृष्टिकोणलाई छोडेर आफ्नो आर्थिक स्तर अनुसारको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। मजदुरले आफ्नो श्रमशक्ति बिक्री गरी वस्तु उत्पादन गर्नुपर्ने हुन्छ। त्यसपछि पूँजीपतिले पूँजी केन्द्रीकरणमा ध्यान दिन्छ। मजदुरले अर्को श्रमशक्तिको बिक्रेतासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। पुँजीपतिले आफ्नो अतिरिक्त मूल्य बढाउन श्रमिकको उत्पादकत्व र उत्पादन प्रविधिमा निरन्तर सुधार ल्याउनुपर्छ। उसले निश्चित समयमा पुराना श्रमिकलाई बिदा गरेर नयाँ मजदुर ल्याउनुपर्ने हुन्छ। यदि सबैले आ-आफ्नो भूमिका ठीकसँगले निर्वाह नगर्ने हो भने पूँजीवाद प्रभावित हुन्छ।

    भयानक परिणामहरू निम्त्याउने आर्थिक संकट र तीब्र आर्थिक मन्दी पूँजीवादमा स्वभाविक हुन्, जसले पूँजीको केन्द्रीकरण र प्रविधिको विकासका लागि अवसर प्रदान गर्छन्। पूँजीवादले यसैगरी आफ्नो पुनर्संरचना गरिरहन्छ।

    राजनीतिक रूपमा पनि यस्तै नै हुन्छ। संसदीय प्रणालीको आधार व्यक्तिवाद हो। जहाँ कुनै समय भोट हाल्नका लागि सम्पत्ति हुनुपर्ने, श्वेत पुरूष हुनुपर्ने पूर्वशर्तहरू थिए। वर्षौंको संघर्षपछि अहिले अवस्था बदलिएको छ, संसदको निर्वाचनमा हरेक व्यक्तिले एक भोट हाल्न पाउँछ। मतदान गरिसकेपछि मानिसहरू घर फर्कन्छन् र कागजी रूपमा विजेता घोषित व्यक्तिले उनीहरूको प्रतिनिधित्व गर्दै नीति निर्माणको जिम्मा लिन्छ। यो प्रणालीमा प्रत्येक व्यक्तिको एक भोट हुन्छ, तर मानवीय आवश्यकता र प्राथमिकताको मूल्यांकन र त्यसलाई पुरा गर्ने अवसरका रूपमा उक्त व्यक्तिको कुनै मानवीय भूमिका हुँदैन। स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म मानिसहरू स्वयम्‌को स्थायी हस्तक्षेप हुने र निर्णय प्रक्रियामा उनीहरूको निरन्तर उपस्थिति रहने प्रणाली संसदीय व्यवस्थामा ‘प्रजातन्त्र’ नै हुँदैन। बुर्जुवा प्रणालीमा व्यक्तिको राजनीतिक अवधारणा आर्थिक अवधाराणाकै सिधा अनुकरण हो।

    अब सोभियत संघ सम्बन्धी तपाईंको प्रश्नमा जाऔं। सोभियत अर्थतन्त्र मानवताको प्रधानतामा आधारित अर्थतन्त्र थिएन। यो व्यवस्थामा बजार संयन्त्रमाथि प्रशासनिक व्यवस्थाको व्यापक नियन्त्रणका कारण व्यक्तिको भूमिका सिमित बनेको थियो। यद्यपि, सोभियत संघमा व्यक्तिवाद र वैयक्तिक स्वतन्त्रता उल्लंघन भएको भन्ने पश्चिमाहरूको टिप्पणी पूँजीको व्यक्तिगत स्वामित्वमाथि लगाइएको प्रतिबन्धसँगको असन्तुष्टि मात्रै हो। औद्योगिक घरानाहरूले पूँजीसम्बन्धी तर्कमा असहमत भएका होइनन्, तर यसबारे प्रशासन संयन्त्रले गरेको निर्णय स्वीकार गर्न नसकेका मात्रै हुन्। अर्को शब्दमा भन्नुपर्दा, पूँजीमाथि व्यक्तिगत र नीजी स्वामित्वको अभाव भयो।

    दोस्रो, राजनीतिक रूपमा पूर्णतः स्वचालित प्रशासनिक व्यवस्थाको विपरित सोभियत मजदुरहरू व्यक्तिगतरूपमा श्रमको बिक्रेता हुन सकेनन्, र अरू मजदुरहरूसँग प्रतिस्पर्धा गर्नु परेन। बजारले जस्तै यहाँको प्रशासन संयन्त्रले पूँजीलाई धेरै नाफामुलक क्षेत्रतिर निर्देशित गर्ने प्रयत्न गर्‍यो र श्रमको मूल्यलाई सकेसम्म न्यून राख्न प्रयत्न गर्‍यो। यो पूँजीको स्वतन्त्र प्रतिस्पर्धालाई विस्थापन गर्नसक्ने विकल्प थिएन र प्रतिस्पर्धात्मक श्रमबजारमा पूँजी र श्रमको विकल्प पनि थिएन। व्यक्तिको प्रधानता भन्ने नारा सोभियत संघको प्रशासनिक मोडलविरूद्धको नारा थियो, जसमा सोभियत मोडलले विरोध जनाएको थियो। यो नारा पूँजीको व्यक्तिगत स्वमित्व, मजदुरहरूबीचको बढ्दो आर्थिक प्रतिस्पर्धा र स्वचालित श्रम बजारको पक्षमा थियो। मैले अघि भनेजस्तै प्रशासनिक व्यवस्था बजारको जटिल र विविध कामको आंकलन गर्न असफल भयो। खासगरी पश्चिमा औद्योगिक मुलुकहरूमा भइरहेको प्राविधिक क्रान्तिलाई भित्र्याउन सोभियत अर्थतन्त्र असफल रह्यो।

    मेरो विचारमा पनि वैयक्तिकता र वस्तुको बिक्रेताहरूबीचको स्वतन्त्र प्रतिस्पर्धा पूँजीवादी अर्थतन्त्रबाट छुट्याउनै नसकिने पक्ष हो। साथै, प्रविधिको विकासका लागि अपरिहार्य संयन्त्र पनि हो। पूँजीवादको निरन्तरताका लागि बुर्जुवाहरूले जटिल समय तर नियमित रूपमा स्वतन्त्र प्रतिस्पर्धा र वैयक्तिकतालाई नियन्त्रण गरिरहेका हुन्छन्। आर्थिक र गैर–आर्थिक रूपमा राज्यसत्ता र प्रशासनिक संस्थामार्फत हस्तक्षेप गरिरहेका हुन्छन्। भयानक परिणामहरू निम्त्याउने आर्थिक संकट र तीब्र आर्थिक मन्दी पूँजीवादमा स्वभाविक हुन्, जसले पूँजीको केन्द्रीकरण र प्रविधिको विकासका लागि अवसर प्रदान गर्छन्। पूँजीवादले यसैगरी आफ्नो पुनर्संरचना गरिरहन्छ।

    बुर्जुवाहरूले यस्तो संकटलाई सधैं आफ्नो नियन्त्रणमा राख्नुपर्ने र राजनीतिक रूपमा मजदुर वर्गको सम्भावित संघर्षबाट पूँजीवादलाई जोगाउनु पर्ने चुनौती हुन्छ। त्यसैले, बुर्जवा पार्टी र राज्यसत्ताले अर्थतन्त्रमा पटक–पटक हस्तक्षेप गर्छ र बजार संयन्त्रमाथि केही नियन्त्रण कायम गर्छ। सन् १९८० को दशकमा थ्याचरवाद र मौद्रिक नीतिमार्फत अर्थतन्त्रको नियन्त्रण गर्ने सिद्धान्त राज्यको हस्तक्षेप र आर्थिक विकासमा राज्यको लगानीमा जोड दिने शक्तिशाली किनसियनवादी परम्परा र समाजिक प्रजातन्त्रवादी नीतिहरूको विरूद्धमा ल्याइएको थियो। आज यही प्रवृत्तिमाथि पनि पुनर्विचार भइरहेको महशुस गर्न सकिन्छ।

    जे भए पनि, पूँजीवादमा प्रविधिको विकासका लागि प्रतिस्पर्धा र बजारको केन्द्रीय भूमिका हुन्छ भन्नुको अर्थ पूँजीवादको दीर्घ जीवन र वृद्धि सम्पूर्ण प्रतिस्पर्धा र खुला बजारले मात्रै सम्भव तुल्याउँछ भन्ने होइन। बुर्जुवाहरूले पनि पूँजीवादको दीर्घ जीवन र वृद्धि, खुला बजार र सम्पूर्ण प्रतिस्पर्धामा खोजिरहेका छैनन्। नव–दक्षिणपन्थीहरूले वकालत गर्ने खुला बजार र सम्पूर्ण प्रतिस्पर्धा तथा अतिआर्थिक व्यक्तिवाद योजनाबद्ध र प्रतिस्पर्धामुक्त पूँजीवादजत्तिकै आधारहीन र वास्तविकताभन्दा बाहिर छन्।

    समाजवाद र व्यक्तिवाद तथा समाजवाद र मानिसको सम्बन्धबारे धेरै भन्न सकिन्छ। पूँजीवादमा मानिसको अमानवीयकरणको सबैभन्दा महत्वपूर्ण आलोचक आजका दिनसम्म कार्ल मार्क्स नै हुन्। पूँजीवादमा हुने वस्तुप्रतिको आशक्तिमाथिको बहसको अन्तर्य पूँजीवादी समाजको अर्थिक व्यवस्था र वस्तु उत्पादन तथा विनिमयको मानवीय अन्तरसम्बन्धमा हुने रूपान्तरणले कसरी व्यक्तिको मानवीय पहिचानलाई वेवास्ता गर्छ भन्ने देखाउनु हो। समाजवादको उद्देश्य मानिसको यो गुमेको पहिचान फर्काउनु हो। ‘प्रत्येकबाट क्षमताअनुसार र प्रत्येकलाई आवश्यकता अनुसार’ भन्ने नाराको अर्थ समाजको भौतिक जीवनमा प्रत्येक व्यक्तिको आफ्नो पहिचान कायम गर्ने अधिकारको पूर्णतः पहिचान र ग्यारेन्टी गर्नु भन्ने हो।

    पूँजीवादी समाजमा त अझ कुन वर्गको मानिसले कस्तो जीवन बाँच्ने भनेर योजना नै बनाइएको हुन्छ। हामीले के खाने, के लगाउने, कहाँ बस्ने, केबाट खुशी हुने, केबाट डराउने, हाम्रो सपना र दुस्वप्न के हुने भन्ने सबै निर्धारण गरिएको हुन्छ। पूँजीवादले पहिले व्यक्तिको मानवीय पहिचान खोस्छ र हाम्रो निधारमा टाँसिएको आर्थिक मानकका आधारमा अर्को ढंगले परिभाषित गर्छ।

    पूँजीवादी समाजमा मानिस आर्थिक कानुनको दास बनेको हुन्छ। यी आर्थिक कानुनले यसको आर्थिक नियति, चिन्तनको स्वतन्त्रता, तर्कशीलता र मूल्यांकन पनि निर्धारण गर्दछ। मैले अघि भनेजस्तै बुर्जवाहरूका लागि व्यक्ति भनेको मानवीय पहिचान खोसिएको मानिस हो। स्वयम‌्बाट अलग्गिएको, आफ्नो पृथक गुण र विशेषता लुटिएको व्यक्ति हो। एउटा मानिस जसलाई आर्थिक सम्बन्ध र उत्पादन सम्बन्धका आधारमा जीवित माध्यमको एक एकाइमा रूपान्तरण गरिएको हुन्छ। कुनै वस्तुको बिक्रेता वा खरिदकर्तामा सिमित गरिएको हुन्छ। पूँजीवादी समाजमा व्यक्तिलाई यसैगरी यी मानकका आधारमा परिभाषित गरिन्छ। श्रमको आर्थिक विभाजनले निर्धारण गरेको साँचोमा ढालिन्छ। यो व्यवस्थामा मानिस भनेको जीवनप्रतिको व्यक्तिगत दृष्टिकोण, विशेष मनोविज्ञान, उद्‍वेग र संवेदनाहरू भएको व्यक्ति होइन। यहाँ मानिस भनेको त खास आर्थिक जिम्मेवारी बोकेको जीवित एकाइ मात्रै हो। हामी त निर्जिव वस्तुहरू विनिमयको जीवित माध्यम मात्रै हौं। हाम्रो आत्मीय व्यक्तिगत र संवेगात्मक सम्बन्ध पनि एकअर्काको यी विशेषताका आधारमा कसरी पहिचान गर्छौं भन्नेमा निर्भर हुन्छः हाम्रो पेशा के हो, हाम्रो क्रयशक्ति कति छ, हामी कुन वर्गमा पर्छौं आदि। आर्थिक अवस्था र वस्तुसँगको सम्बन्धका आधारमा हाम्रो वर्गीकरण र मूल्यांकन हुन्छ।

    पूँजीवादी समाजमा त अझ कुन वर्गको मानिसले कस्तो जीवन बाँच्ने भनेर योजना नै बनाइएको हुन्छ। हामीले के खाने, के लगाउने, कहाँ बस्ने, केबाट खुशी हुने, केबाट डराउने, हाम्रो सपना र दुस्वप्न के हुने भन्ने सबै निर्धारण गरिएको हुन्छ। पूँजीवादले पहिले व्यक्तिको मानवीय पहिचान खोस्छ र हाम्रो निधारमा टाँसिएको आर्थिक मानकका आधारमा अर्को ढंगले परिभाषित गर्छ।

    ठीक विपरित, समाजवादमा मानिसले उनीहरूको आर्थिक जीवनमा नियन्त्रण गर्न सक्छन्। उनीहरू आर्थिक कानुनका जञ्जीरबाट मुक्त हुन्छन् र आफ्नो आर्थिक गतिविधिलाई आफैं परिभाषित गर्न स्वतन्त्र हुन्छन्। यस्तो निर्णय बजार, पूँजीको सञ्चय वा अतिरिक्त मूल्यले होइन, व्यक्ति आफैंले गर्न पाउँछ। पूँजीवादी आर्थिक कानुनबाट सम्पूर्ण समाजको मुक्ति व्यक्तिको स्वतन्त्रता र उसको गुमेको मानवीयता तथा पृथक मानवीय पहिचान फिर्ताका लागि अनिवार्य शर्त हो।

    पूँजीवादमा बढाइचढाइ गरिएको व्यक्ति वास्तवमा मानिसको अलगावको प्रशंसा हो। यसरी अलग्गिएको मानिस अनिश्चयको शिकार भएको हुन्छ र पूँजीको आर्थिक आवश्यकता अनुसार परिचालन गर्न सहज बनेको हुन्छ। बुर्जुवाहरूले वैयक्तिकता र व्यक्तिगत स्वतन्त्रता कतिबेला सम्झिन्छन् ? जब कुनै पनि स्वरूपको आर्थिक योजनाले बजार संयन्त्रलाई प्रभावित गर्न खोज्छ र अतिरिक्त–आर्थिक समाजिक प्राथमिकतालाई समावेश गर्छ, त्यसलाई बिथोल्नु पर्दा सम्झिन्छन्। राष्ट्रिय जनस्वास्थ्य प्रणालीमाथि आक्रमण गर्नुपर्दा सम्झिन्छन्। राज्यबाट सञ्चालित शिक्षा प्रणालीको विरोध गर्नुपर्दा सम्झिन्छन्। बालशिक्षा, समाजिक कल्याणका योजना, बेरोजगारी बीमा लगायतमा आक्रमण गर्नुपर्दा सम्झिन्छन्। ट्रेड युनियन र मजदुर संगठनको खारेजीको माग गर्नुपर्दा सम्झिन्छन्, जुन संगठनले केही हदसम्म भए पनि मजदुरहरूलाई संगठित गरिरहेका हुन्छन् र श्रमको बिक्रिका लागि व्यक्ति–व्यक्तिबीच हुने प्रतिस्पर्धा नियन्त्रण गरिरहेका हुन्छन्। साथै, ज्यालामा हुने शोषण केही हदसम्म भए पनि कम गर्न तथा मजदुरका लागि काम गर्ने अवस्था निर्माणका लागि आवाज उठाइरहेका हुन्छन्।  उनीहरूले वैयक्तिकता र व्यक्तिगत स्वतन्त्रता त्यतिबेला सम्झिन्छन्, जब मजदुर वा अरू मानिसले आफ्नो मानवीय गुण प्रयोग गर्ने प्रयत्न गर्छन् र मानवीयता सिद्धान्त वा आवश्यकताका आधारमा आर्थिक निर्णय गर्छन्। पूँजीवादमा व्यक्तिको प्रधानताको कुरा आजलाई यति नै गरौं।

    समाजवादको आधार सामूहिक र व्यक्तिगत दुवै रूपका मानिस हुन्। समाजवाद मानिसको सचेत इच्छा पुनर्स्थापना गर्ने आन्दोलन हो। व्यक्तिलाई आर्थिक आवश्यकता र पूर्वनिर्धारित उत्पादन सम्बन्धको दासत्वबाट मुक्ति दिलाउने आन्दोलन हो। यो वर्ग र मानिसको वर्गीकरण निमिट्यान्न पार्ने आन्दोलन हो। र, व्यक्तिको विकासको लागि यी सबै अनिवार्य शर्त हुन्।

    प्रश्नः समाजवादी समाजमा व्यक्तिगत प्रतिस्पर्धा र प्रोत्साहनको विकल्प के हुन्छ ? समाजवादी समाजले उत्पादन पद्धतिको निरन्तर विकास, वस्तुको बढ्दो विविधता र गुणस्तर, प्रविधिको आविष्कार र विकास जस्ता पूँजीवादी समाजमा भइरहेका कुराहरू कसरी सुनिश्चित गर्छ ? उत्पादनको विकास र यसमा सम्पूर्ण मानव समाजको स्थायी नियन्त्रण कायम गर्न कस्ता संयन्त्रहरू अपनाउँछ ?

    हेक्मतः प्रविधिको आविष्कार र परिष्कार पूँजीवादको उत्पादन होइन। पूँजीवादी व्यवस्थामा मानिसको जीवनस्तर निरन्तर वृद्धि गर्नका लागि निश्चित ढाँचाको संगठन तयार गरिएको हुन्छ। यस्तो उत्पादन पद्धतिमा व्यक्तिगत प्रतिस्पर्धा र प्रोत्साहनबाट प्राविधिक विकासको उद्भव भएको होइन। प्राविधिक विकास त सामाजिक पूँजीलाई बजारमा रहेका व्यापारिक प्रतिष्ठान र व्यक्तिमा रूपान्तरण गर्ने दबाव निर्माण गर्ने र व्यक्तिलाई परिचालित गराउने माध्यम मात्रै हो। स्थीर पूँजीको वृद्धी र नाफामा आउने गिरावट रोक्नका लागि श्रमको उत्पादकत्व तथा अतिरिक्त मूल्यको निरन्तर वृद्धी आवश्यक हुन्छ। प्रविधिमा परिष्कार ल्याउन नसक्ने पूँजी प्रतिष्पर्धाबाट बाहिरिन्छ। यही कुरा उत्पादनका साधनका उत्पादकहरूसँग पनि जोडिन्छ, अर्थात् यहाँ पनि प्रविधिमा परिष्कार ल्याउन नसक्ने उत्पादकहरू प्रतिष्पर्धाबाट बाहिरिन्छन्। यसरी पूँजीले विज्ञान, वैज्ञानिक जिज्ञासा र आविष्कारलाई बजारका माध्यमबाट संगठित गरेको हुन्छ।

    भ्लादिमिर इल्यिच लेनिन

    मानव जाति सदैव उत्पादनका साधनबारेको ज्ञान, त्यसको परिष्कार र जीवनस्तरमा विकासका लागि लालयित हुन्छ। तर, पूँजीवादले समाजलाई नाफा र पूँजी केन्द्रीकरणका लागि मात्रै संगठित गर्दछ। पहिलेका व्यवस्थाको तुलनामा पूँजीवादले व्यापक रूपमा वैज्ञानिक र प्राविधिक गतिविधि बढाएकोमा कुनै शंका छैन। तर, प्राविधिक विकासको वास्तविक स्रोत र यी पूँजीवादी गतिविधिसँग हामी झुक्किनु हुँदैन। व्यक्तिगत भौतिक प्रोत्साहन र व्यापारिक प्रतिष्ठानबीच हुने प्रतिस्पर्धा नै मानिसको वैज्ञानिक जिज्ञासा र प्राविधिक आविष्कारका जननी होइनन्। यी त विज्ञान र प्रविधि सम्बन्धी मानवीय गतिविधिका खास स्वरूपमात्रै हुन्, जहाँ पूँजी समायोजन हुन सक्छ।

    प्रविधिको विकास त्यहाँ केन्द्रीत छ, जहाँ पूँजीले मुनाफा आर्जन गर्नसक्छ र बुर्जुवाको राजनीतिक शक्तिका लागि आवश्यक हुन्छ। युद्धप्रविधिमा भएको डरलाग्दो विकाससँगै औषधीविज्ञान तथा जनस्वास्थ्य, शिक्षा, आवास र कृषिजस्ता क्षेत्रमा रहेको प्रविधिको पछौटेपन हाम्रै सामुन्ने छ। संसारका बहुसंख्यक मानिस प्रविधिमा भएको यो विकासबाट बञ्चित छन्।

    अन्य आर्थिक व्यवस्थामा जस्तै पूँजीवादमा पनि आवश्यकता नै आविष्कारको जननी हो। यो व्यवस्थामा बजारले मानवीय आवश्यकता के हो र ती आवश्यकता पूर्ति गर्ने वस्तुको माग कस्तो हुने भन्ने निर्धारण गर्छ। यी वस्तु उत्पादनका लागि लगानी गरिएको पूँजीले नाफा कमाउँछ। पूँजीवादको यही समिकरणका आधारमा वैज्ञानिक र विशेषज्ञहरूले आफ्नो अनुसन्धान अघि बढाउँछन्। यही समिकरणका आधारमा समाजमा उपलब्ध स्रोतलाई कति मात्रामा विज्ञानका लागि छुट्याउने, कुन वैज्ञानिक अनुसन्धान रोक्ने, विज्ञानलाई कसरी विकसित गर्ने र विज्ञानका आविष्कारलाई कसरी प्रयोगमा ल्याउने, विज्ञानको कुन क्षेत्रलाई कति प्राथमिकता दिने भन्ने निर्धारण हुन्छ। अर्कातिर समाजवादमा बजार, प्रतिस्पर्धा र व्यक्तिहरूको आकांक्षाको प्रधानता हुँदैन। तर, मानिसहरूको वैज्ञानिक उत्सुकता, आविष्कारको प्रेरणा र जीवनस्तरमा सुधार भने हुन्छ।

    महत्वपूर्ण प्रश्न बजारको अनुपस्थितिमा समाजको वैज्ञानिक र प्राविधिक आवश्यकता पहिचान गर्ने संयन्त्र के हुन्छ भन्ने हो। वैज्ञानिक र प्राविधिक कर्मका लागि प्राथमिकता निर्धारण र स्रोतको विनियोजन कसरी हुन्छ भन्ने हो। मेरो विचारमा यी मार्क्सवादीहरूले अनुसन्धान गर्नुपर्ने महत्वपूर्ण विषय हुन्। म अहिले नै यसको ठ्याक्कै जवाफ दिन तयार छैन तर संक्षेपमा केही ढाँचा भने प्रस्तुत गर्न चाहन्छु।

    सर्वप्रथम, समाजवादी समाज खुला र सुसूचित समाज हो। समाजवादमा संसारभरिका मानिसहरूको आवश्यकता र समस्या के हो भन्ने सधैंभरी नियमितरूपमा सूचित भइरहेको हुन्छ।  पूँजीवादमा बजारले मागको अस्तित्व र ती आवश्यकता पूर्ति गर्ने वस्तुको उत्पादन मार्फत नाफा आर्जन गर्ने अवसरबारे पूँजीलाई सूचित गर्दछ। समाजवादमा नागरिक र नागरिक संगठनले निरन्तर एकअर्कालाई आर्थिक, समाजिक र मानवीय आवश्यकताका साथै विभिन्न क्षेत्रका वैज्ञानिक तथा प्राविधिक विकासको आवश्यकताबारे जानकारी गराउँछन्। अहिलेकै प्रविधिलाई हेर्ने हो भने पनि सूचना आदानप्रदान गर्ने यस्तो संगठन सम्भव छ। अहिले नै सम्भव छ।

    अर्को कुरा, समाजवादी समाजमा आजभन्दा धेरै माथिल्लो स्तरमा मानिसहरूले वैज्ञानिक ज्ञान पाउने छन्। शिक्षा र वैज्ञानिक गतिविधिमा सहभागिता कुनै खास सामाजिक समूहको विशेषाधिकार हुनेछैन, हरेक व्यक्तिको नैसर्गिक अधिकार हुनेछ। कुनै समय विशेषाधिकार रहेको शिक्षा आज हरेकको नैसर्गिक अधिकार मानिएजस्तै हुनेछ। आज पनि हामी देख्न सक्छौं, कम्तिमा विकसित मुलुकमा कम्प्युटरको प्रयोगमात्रै नभएर यसका जटिल र विशेष ‘एप्लिकेसन’ एकदमै साधारण बन्दै गएका छन्। तर, यो कुरा सामान्य वैज्ञानिक क्षमताको विकास र वैज्ञानिक कार्यमा सबैको पहुँच सुनिश्चित गर्ने समाजवादको क्षमताको तुलनामा एकदमै नगन्य हो।

    यहाँ आवश्यकता पहिचान गरेर त्यसलाई सन्तुष्ट गरेपनि मानिसहरू वास्तवमै सन्तुष्ट भने भएका हुँदैनन् भन्ने तर्क आउन सक्छ। व्यक्तिगत हितको उत्प्रेरणा नहुँदा मानिसलाई वैज्ञानिक र प्राविधिक गतिविधिमा केले आकृष्ट गर्छ? यहाँ हामीले मानिसको बौद्धिक गुणबारे विचार गर्नुपर्छ र ती गुण सामाजिक सम्बन्धसँग कसरी सम्बन्धित हुन्छन् भन्ने हेर्नुपर्छ। मानव र मानवीय उत्प्रेरणाबारे पूँजीवादले सिर्जना गरेको रूढ धारणा समाजवादी संगठनको प्रस्थानबिन्दु हुनसक्दैन। पूँजीवाद व्यक्तिगत आकांक्षा र प्रतिस्पर्धाको भरमा खडा भएको छ। अर्थतन्त्रलाई चलायमान राख्न मानिसको यो गुणलाई प्रवर्द्धन गरेको छ र मानिसहरूलाई यसैगरी प्रशिक्षित गरेको छ। समाजवादको आधार भने मानिसमा भएको मानवीय गुण र समाजिक प्रवृत्ति हो। पूँजीवादले थोपरेको बौद्धिक र साँस्कृतिक पूर्वाग्रहबाट बाहिर ननिस्किएसम्म समाजवादको आदर्श र वैज्ञानिक प्रयत्नलाई महशुस गर्न सकिँदैन।

    म यहाँ मानिसको प्राकृतिक गुणबारे धेरै बहस गर्न चाहन्नँ। व्यक्तिगत रूपमा मलाई मानिस प्रतिस्पर्धा र व्यक्तिगत आकांक्षाभन्दा मानवीय र समाजिक गुणबाट भरपुर हुन्छ भन्ने लाग्छ। मानिसको यो गुण पूँजीवादको पछौटे र वर्गीय पूर्वाग्रहयुक्त समाजमा पनि पटक–पटक प्रकट भएको छ। जब मानिसलाई सामान्य अवस्थामा भन्दा बढी योगदान गर्नका लागि आह्वान गरिन्छ, सामुहिक हितका लागि तत्पर हुने मानिसको यो महान गुण सदैव प्रकट हुन्छ। अरू व्यवस्थाले जस्तै समाजवादले पनि मानिसलाई यो व्यवस्था अनुकुल बनाउँदै जान्छ। आर्थिक र वैज्ञानिक गतिविधि सबैको हितका लागि हुन्छ भन्ने कुराले मानिसलाई स्वतः उत्प्रेरित गर्छ भन्ने कल्पना गर्न गाह्रो छैन। सबै मानिसको जीवनस्तर माथि उकास्न सामूहिक प्रयत्नका लागि मानिस सधैं तत्पर रहन्छ।

    यहाँ मैले अर्को बुँदा जोड्नुपर्ने हुन्छ। पूँजीवाद औद्योगिक क्रान्तिको जगमा उत्पन्न भएको थियो र यसले यसअघिका आर्थिक व्यवस्थाको तुलनामा अद्‍भूत प्राविधिक परिवर्तन ल्याएको थियो। तर, यो विकासको बिचमा मानव समाजलाई आवश्यक प्रविधिको विकास अवरूद्ध गर्न पूँजीले खलेको भूमिका अहिले पनि स्पष्ट छ। प्रविधिको विकास त्यहाँ केन्द्रीत छ, जहाँ पूँजीले मुनाफा आर्जन गर्नसक्छ र बुर्जुवाको राजनीतिक शक्तिका लागि आवश्यक हुन्छ। युद्धप्रविधिमा भएको डरलाग्दो विकाससँगै औषधीविज्ञान तथा जनस्वास्थ्य, शिक्षा, आवास र कृषिजस्ता क्षेत्रमा रहेको प्रविधिको पछौटेपन हाम्रै सामुन्ने छ। संसारका बहुसंख्यक मानिस प्रविधिमा भएको यो विकासबाट बञ्चित छन्। समाजवादको प्रविधिक स्वरूप पूँजीवादमा भन्दा फरक हुनेछ किनभने मानिसको जीवनस्तर विकासका लागि समाजमा आधारित प्राविधिक प्राथमिकता नाफाका लागि निर्धारित प्राथमिकता भन्दा भिन्न हुनेछन्।

    प्रश्नः २०औं शताब्दीका अन्तिम वर्षहरूलाई साम्यवादीहरूले शताब्दीका सुरूवाती वर्षहरूजस्तै सर्वहारा क्रान्तिको युग भनेका थिए। तर, यी वर्षहरूमा समाजवाद अप्राप्य आदर्शको रूपमा देखियो। एक मार्क्सवादीका रूपमा तपाईं यसलाई कसरी व्याख्या गर्नुहुन्छ ? सर्वहारा क्रान्ति र समाजवादी समाजको पूर्णताका लागि तपाईंको ‘भिजन’ के हो ?

    हेक्मत: साम्यवाद उपयुक्त आर्थिक व्यवस्था भएका कारण वा मानवीय आदर्श भएका कारण प्राप्त हुनुपर्छ भन्ने होइन। यो त मानवीय आवश्यकताका कारणले प्राप्त हुने हो। समाजवादी र साम्यवादी आन्दोलनको इतिहासमा मार्क्सको योगदान साम्यवादको आवश्यकतालाई पूँजीवादी समाजमा अस्तित्वमा रहेको ज्यालामा निर्भर मजदुर वर्गको संघर्षसँग तर्कसंगत रूपमा जोड्नु हो। समाजवादको विजय अझै पनि मजदुर वर्गको संघर्षको परिणामका रूपमा मात्रै हुन्छ।

    समाजवाद प्राप्त नहुनुमा सोभियत संघमा १९२० को दशकको उत्तरार्धमा भएको घटनाक्रमका कारण समाजमा आएको परिवर्तन जिम्मेवार छ। रसियाली क्रान्तिका परिणामहरू यसमा निर्णायक छन्। अक्टोबर क्रान्ति समाजवादका लागि भएको मजदुर क्रान्ति थियो। यो क्रान्तिको नेतृत्व गर्ने बोल्सेभिकवादले मुलभूत समाजवादी विशेषतासँगै मजदुर वर्गको सिद्धान्त र अन्तर्राष्ट्रियतावादको प्रतिनिधित्व गरेको थियो। यो क्रान्तिको राजनीतिक विजयसँगै दोस्रो अन्तर्राष्ट्रियको अनुभव विपरित रूपमा सोभियत संघमा कम्युनिष्ट ध्रुवीकरण भयो। संसारभरिका साम्यवादी आन्दोलन, पार्टीहरू र साम्यवादी अभ्यास यो शिविरसँग सम्बन्धित भए। सोभियत राज्य र अन्तर्राष्ट्रियको निर्माण मजदुर वर्गको विशेषता अनुसारको समाजवादी आन्दोलनको दृष्टिकोणमा आधारित थियो। यो क्रान्तिको सफलता यो शताब्दीमा मजदुर वर्गको आन्दोलनका लागि उच्चतम साम्यवादी प्राप्ति थियो।

    चिनियाँ साम्यवादी आन्दोलन राष्ट्रवादीहरूको पारदर्शी खोल थियो। यो कृषिप्रधान मुलुकको अवस्था, विशेषगरी साम्राज्यवादको प्रभुत्व भएका मुलुकमा लोकप्रीय भएको वामपन्थी सैन्य गतिविधि, वामपन्थी विद्यार्थी आन्दोलन र वामपन्थी उदारवाद बिस्तार आदिले नववामपन्थी धारमार्फत पाएको अभिव्यक्ति थियो। पश्चिमी युरोपमा बढेको ट्रटस्कीपन्थको प्रभाव, युरोसाम्यवादीको उदय आदि सबैले गैरमजदुर वर्गको अर्ध–समाजवादी आन्दोलनको प्रतिनिधित्व गर्छन्।

    दुर्भाग्यवश, मैले अघि भनेजस्तै यो ध्रुव मजदुर र कम्युनिष्ट ध्रुव रहन सकेन। सोभियत संघले अवलम्बन गर्नुपर्ने आर्थिक पद्धतिको बहस श्रमिक वर्गको साम्यवादका नाममा राष्ट्रवादी दृष्टिकोण र राजनीति हाबी भयो। समाजवाद निर्माणका नाममा योजनाबद्ध राज्य–पूँजीवादको एकीकरण गरियो र मजदुर वर्गको साम्यवादलाई कमजोर पारियो। त्यसपछि एकपछि अर्को गर्दै मजदुर र साम्यवादलाई सबै मोर्चामा पछाडि धकेल्ने काम भयो। मजुदर क्रान्तिको गौरवबाट समाजवादी बुर्जुवा समूहले अनुचित फाइदा उठायो। जसले संसारभरिकै मजदुर वर्गको संघर्षलाई दशकौंसम्म नराम्ररी प्रभावित पार्‍यो। साम्यवादको आधिकारिक धारका रूपमा बुर्जुवा सोभियत संघको स्थापनासँगै मजदुर वर्गको समाजवाद सिमान्तकृत भयो। तथाकथित कम्युनिष्ट आन्दोलनमा बुर्जुवा समाजवादको यो प्रभुत्वलाई मजदुर तथा समाजवादी परम्परामा विकसित कुनै पनि पार्टीले चुनौती दिन सकेन।

    सोभियत संघको पतनपछि सडकमा फालिएको हँसिया हथौडाको चिन्ह

    गैर-मजदुर समाजवाद सधैं सामान्य समाजवादी परम्परा र वामपन्थी आलोचनामार्फत जिवन्त रहँदै आएको छ। सोभियत अभ्यासभन्दा पहिले यो प्रवृत्ति कहिले मजदुर वर्गको समाजवादको किनारामा त कहिले उनीहरूसँगको द्वन्द्वमा हुन्थ्यो। हामीलाई थाहा छ, मार्क्स र एंगेल्सले ‘कम्युनिष्ट’ शब्द छनोट गर्नुको अर्थ हामी मजदुर वर्गको विषेश समाजवादको पक्षमा छौं भन्ने प्रष्ट पार्नुथियो। तर, सोभियत अभ्यासपछि गैर-मजदुर वर्गको समाजवादले निर्णायक महत्व पायो। यता साम्यवादी धार समाजवाद प्राप्तिका लागि पर्याप्त प्रभावसमेत बनाउन नसक्ने अवस्थामा आइपुग्यो।

    मेरो विचारमा २० को दशकयता साम्यवादी आन्दोलनले पुर्णरूपमा बाटो बिराएको छ। अहिले एकातिर पूँजीवाद, अर्कातिर सोभियत संघको समस्या मजदुर वर्ग र साम्यवादी आन्दोलनका केन्द्रीय समस्या हुन्। समाजवादले आफ्नो आदर्श अनुसारको विजय अहिलेसम्म हासिल गरेको छैन। समाजवादतर्फ अग्रसर हुन सक्षम एकमात्र आन्दोलन पनि ‘राष्ट्रियकरण’का कारण छिन्नभिन्न र असफल हुनपुग्यो। रसियाली मजदुर क्रान्ति यसैमा समाहित हुन पुग्यो। मजदुर वर्गको समाजवादी आन्दोलन अझै यो पराजयबाट तंग्रिसकेको छैन।

    सोभियत अनुभवको कुरा गरिरहँदा मैले कुनै एउटा मुलुकको मात्रै कुरा गरिरहेको छु भन्ने अर्थ लाग्ला। चिनियाँ साम्यवादी आन्दोलन राष्ट्रवादीहरूको पारदर्शी खोल थियो। यो कृषिप्रधान मुलुकको अवस्था, विशेषगरी साम्राज्यवादको प्रभुत्व भएका मुलुकमा लोकप्रीय भएको वामपन्थी सैन्य गतिविधि, वामपन्थी विद्यार्थी आन्दोलन र वामपन्थी उदारवाद बिस्तार आदिले नववामपन्थी धारमार्फत पाएको अभिव्यक्ति थियो। पश्चिमी युरोपमा बढेको ट्रटस्कीपन्थको प्रभाव, युरोसाम्यवादीको उदय आदि सबैले गैर-मजदुर वर्गको अर्ध–समाजवादी आन्दोलनको प्रतिनिधित्व गर्छन्। यीमध्ये कतिपय सोभियत संघमा भएको मजदुर क्रान्तिको पराजयका उपज थिए। यदि सोभियत संघको पराजित इतिहास नभएको भए मजदुर वर्गको समाजवाद सक्रियताका साथ खडा हुनसक्थ्यो। यसले निरन्तरता पाउन सक्थ्यो र मार्क्सवादी तथा समाजवादी संघर्षको विश्वासिलो मूलधारका रूपमा आफ्नो स्थान बलियो बनाउन सक्थ्यो।

    मार्क्स र साम्यवादी आन्दोलनको नाम जोडेर प्रकट भएका गैर–मजदुर छद्‍म समाजवादी आन्दोलनले वास्तविक साम्यवादी समाजको आधार कमजोर पारेका छन्। यसको पहिलो पीडित मार्क्सवादी विचारधारा र पूँजीवादको मार्क्सवादी आलोचना बनेको छ। उनीहरूले यसको शक्तिशाली र तीक्ष्ण विषयवस्तुलाई रित्याइदिएका छन्। उनीहरूले मार्क्सवादले गरेको पूँजीवादको गम्भीर आलोचनालाई सुधारवादी मात्रै होइन, प्रतिक्रियावादी र अराजकतावादी विचारले प्रतिस्थापन गरेका छन्। मार्क्सको सत्यको खोजी र उनको महत्वपूर्ण वैज्ञानिक पद्धतिलाई नष्ट गरियो, मार्क्सवादलाई मध्यमवर्गीय समाजको तुच्छ र सांसारिक अभिव्यक्तिका लागि प्रयोग हुने श्लोकहरूमा रूपान्तरण गरियो।

    मार्क्सवाद बुर्जुवा लोकतन्त्रप्रति आलोचनात्मक छ, राष्ट्रवादको विरोधी हो, आर्थिक क्रान्ति केन्द्रीय विषय हो, ज्यालादारी मजदुरी अन्त्यको पक्षमा छ, राष्ट्रिय संस्कृति र जातीय पहिचानको निमित्त चिन्तित छैन, धर्मको विरोधी हो। आज जब हामी यी कुरा गर्छौं, तब मानिसहरूलाई नयाँ कुरा गरेझैं लाग्छ। समाजवाद र साम्यवादका नाममा छद्‍म समाजवादी र गैरसर्वहारा वर्गको मजदुर विरोधी विचारको प्रभुत्वका कारण मजदुरहरू ट्रेड युनियनवादमा सिमित भएका छन्। अझ सामाजिक प्रजातन्त्रवादीको अधिनमा पुगेका छन् भने शासक वर्गको वामपन्थी संगठनका रूपमा समेत काम गरिरहेका छन्। उनीहरूले सोभियत संघमा जस्तो मजदुर वर्गका नेताको हत्या त गरेका छैनन् तर मजदुर र साम्यवादी आन्दोलनबीचको सम्बन्ध टुटाउने काम भने गरेका छन्।

    सोभियत संघ, चीन र अल्बानियाको उदाहरण दिएर बन्द, तानाशाही र गतिहीन समाजका रूपमा मजदुर वर्गको समाजवादलाई चित्रित गर्ने अवस्था उनीहरूले सिर्जना गरे। यतिमात्रै होइन, पश्चिमा र साम्राज्यवादी प्रभुत्वका दुवै समाजमा वामपन्थ र साम्यवादका नाममा ठूलो हल्लाखल्ला गरेपनि अर्थहिन प्रतिपक्षी बौद्धिकका रूपमा उनीहरू देखिए। परिणामस्वरूप साम्यवादी आन्दोलनबाट मजदुरलाई अलग्याउने र मजदुर वर्गभित्रैका साम्यवादीहरूलाई चुप लगाउने काम गरे। पूँजीवादी विश्व युद्धमाझ पनि दृढताका साथ खडा भएको मजदुर वर्गको साम्यवादी आन्दोलन जारशाही रसिया र जर्मनीमा क्रान्ति गर्न सफल थियो। तर, त्यसपछि बर्षौं आलोचक र प्रतिपक्षी भूमिकामा सिमित भयो। यी शिविरहरूको पतन तथा गैर–मजदुर वर्ग र बौद्धिकहरूमा मार्क्सवाद र साम्यवादी आन्दोलनप्रतिको आकर्षण सक्किएपछि यो चक्र अब पुरा भएको छ।

    त्यसैले, जब तपाईं मलाई यो शताब्दीमा समाजवाद र साम्यवाद किन विजयी भएन भन्ने प्रश्न गर्नुहुन्छ भने मेरो प्रतिप्रश्न हुनेछ, तपाईं कुन समाजवाद विजयी हुने कुरा गर्दै हुनुहुन्छ? हाम्रो समाजवाद अर्थात् मजदुर वर्गको समाजवाद सोभियत संघको राष्ट्रवादी धारबाट प्रताडित भयो र लामो समयसम्म समाजमा परिवर्तन ल्याउन असफल भयो। यसले आफ्नो वर्गीय शक्ति ट्रेड युनियनवादमा गुमायो, सामाजिक प्रजातन्त्रवाद र वामपन्थी सुधारवादमा गुमायो। वर्तमान समाजमा समाजवादी आन्दोलन छद्‍म–समाजवादी अपव्याख्यामुनि थिचियो। हामी आज यो अनुभवबाट उठेर धुलो टक्टक्याउने र आफूलाई तंग्र्याउने प्रयास गरिरहेका छौं। र, मजदुर वर्ग र समाजवादमाथि भएका नयाँ आक्रमणको जवाफ दिने प्रयास गरिरहेका छौं।

    कतिपय तथाकथित कम्युनिष्ट र समाजवादी पार्टीका लागि राजनीतिक शक्ति आर्जनका लागि संघर्ष गर्ने मुख्य क्षेत्र संसदीय व्यवस्था बनेको छ। संसदीय संघर्ष क्रान्तिकारी संघर्षजस्तो वर्तमान व्यवस्थाको अस्वीकार र आलोचनामा आधारित हुँदैन, बरू त्यो व्यवस्थाका सकारात्मक पक्षहरूलाई अघि बढाउने किसिमको हुन्छ। क्रान्ति र सुधारबीचको मुख्य फरक नै यही हो।

    अब म एउटा बुँदा थप्छु। म ऐतिहासिक प्रक्रियाका कारण साम्यवादको विजय अवश्यम्भावी छ भन्ने विचार राख्ने कम्युनिष्ट होइन। समाजवादको प्राप्ति वर्गसंघर्षको परिणाम हो। र, यो संघर्षको अघि जितको सम्भावना जति छ, पराजयको सम्भावना पनि त्यति नै छ। यो संघर्षको परिणाम साम्यवाद र स्वतन्त्र मानव समाज नभएर अहिलेसम्म हाम्रो पुस्ताले अनुभव नगरेको पूँजीवादी बर्बरता पनि हुनसक्छ। तथ्यहरूका आधारमा विचार गर्दा समाजवादी आन्दोलनको एउटा चक्र पुरा भएको छ। आर्थिक क्षेत्रमा मजदुरहरूले अत्यधिक शक्ति हासिल गरिरहेका छन्। त्यसैले, म समाजवादको भविष्यप्रति आशावादी छु। अहिले पनि हरेक सामाजिक मुद्धा कम्युनिष्टहरूको समाजवादी अभ्यास र कम्युनिष्ट आन्दोलनकै वरिपरि अल्झिरहेको छ।

    प्रश्नः समाजवादको अभ्यास भएको उदाहरण र समाजवादी समाजको सकारात्मक रूपमा परिभाषित स्वरूपको अभावमा साम्यवादीहरू मूलतः उनीहरूको प्रतिपक्षी भूमिकाका माध्यमबाट परिचित छन्। तपाईंलाई समाजवादी दृष्टिकोणलाई अझ ठोस् शब्दहरूमा व्याख्या गर्नुपर्ने आवश्यकता कत्तिको देख्नुहुन्छ ? समाजवादी समाजको आर्थिक र राजनीतिक संगठनको अझ व्यवहारिक स्वरूपबारे विस्तारित व्याख्या आवश्यक छैन ?

    हेक्मत: तपाईंले यो प्रश्न कुनै मार्क्सवादीलाई २०औं शताब्दीको सुरूवातमा सोध्नुभएको भए उसले यस्तो परिकल्पना गर्ने र खाका बनाउने काम हामी कम्युनिष्टको होइन, हाम्रो काम त वर्तमान व्यवस्थाको विरूद्ध क्रान्तिलाई संगठित गर्ने पो हो त भन्ने जवाफ दिनसक्थ्यो। हाम्रो लक्ष्य प्रष्ट छ र मजदुर क्रान्तिको प्रक्रियाले त्यसलाई कार्यान्वयन गर्ने व्यवहारिक संरचना आफैं बनाउँछ भन्ने हुनसक्थ्यो। आधारभूत रूपमा यो जवाफ आज पनि सही छ। तर, ठीक रूपमा होस् वा गलत रूपमा होस्, आज धेरै मानिसहरूलाई समाजवादको वास्तविक र सकारात्मक मोडलको आवश्यकता महशुस भएको छ।

    पहिलो कुरा त सोभियत वा चिनियाँ मोडललाई मार्क्सवाद अनुसारको समाजवाद होइन भनिसकेपछि एउटा कम्युनिष्टले वास्तविक समाजवादको विकल्प पनि अघि सार्नुपर्ने हुन्छ। यसको आवश्यकता यसैकारण महशुस भएको हो भन्ने लाग्छ। तर, यसको अर्को पक्ष, खासगरी पश्चिमा मुलुकका वामपन्थीहरूको राजनीतिक संघर्ष संसदीय व्यवस्थामा समाहित भएका कारण पनि यस्तो आवश्यकता महशुस भएको हो। कतिपय तथाकथित कम्युनिष्ट र समाजवादी पार्टीका लागि राजनीतिक शक्ति आर्जनका लागि संघर्ष गर्ने मुख्य क्षेत्र संसदीय व्यवस्था बनेको छ। संसदीय संघर्ष क्रान्तिकारी संघर्षजस्तो वर्तमान व्यवस्थाको अस्वीकार र आलोचनामा आधारित हुँदैन, बरू त्यो व्यवस्थाका सकारात्मक पक्षहरूलाई अघि बढाउने किसिमको हुन्छ। क्रान्ति र सुधारबीचको मुख्य फरक नै यही हो।

    सुधारका लागि प्रष्ट खाका जरूरी हुन्छ भने क्रान्ति वर्तमान परिस्थितिविरूद्धको आन्दोलन हो जसले आफ्ना नियम र सिद्धान्त पनि बनाउँदै जान्छ। वर्तमान परिस्थितिलाई भत्काउने क्रममा त्यसको विकल्पमा आफ्नो लक्ष्य अनुसारको व्यवहारिक स्वरूप तय गर्दै जान्छ। सुधारवादी आन्दोलन भने संसदीय निर्वाचन प्रणालीभित्रै प्रष्ट सुधारको खाकासहित चुनाव जित्ने प्रयासमा हुन्छ। पूँजीवादकै विकास पनि पहिले प्रष्ट खाका बनाएर भएको होइन नि। यो त त्यसअघिको व्यवस्थाको आलोचना र राजनीतिक र आर्थिक स्वतन्त्रताको राजनीतिक नाराका भरमा भएको हो।

    त्यसैले, मेरो विचारमा समाजवादको प्रष्ट र प्राप्त गर्न सकिने राजनीतिक आर्थिक खाका ल्याउनुपर्छ भन्ने कुरा बढाइचढाइ गरिएको कुरा हो। आफ्नो वर्गको क्रान्तिकारी शक्तिलाई परिचालन गर्न साम्यवादी आन्दोलनले मजदुर वर्गको आलोचनात्मक दृष्टिकोणलाई तिखार्दै लैजानुपर्छ। साथै, आफ्नो आदर्श र आफूले वकालत गरिरहेको समाजको बारेमा सामान्य सिद्धान्त र खाका पनि अगाडि सार्दै जानुपर्छ। वर्तमान सक्रिय संघर्षहरूलाई अघि बढाउन सुधारका प्रष्ट र व्यवहारिक खाका पनि बनाउँदै जानुपर्छ।

    अहिले दुईवटा काम गर्नुपर्दछ। पहिलो, समाजवादी लक्ष्यलाई अझ प्रष्ट पार्दै जानुपर्छ। दोस्रो, त्यसको व्यवहारिक कार्यान्वयनको सम्भाव्यतालाई पनि देखाउँदै जानुपर्छ। बुर्जुवा स्वामित्वको अन्त्य भनेको राज्यको स्वामित्व स्थापना होइन भन्ने प्रष्ट पार्नुपर्छ र उत्पादनका साधनमाथि मानिसहरूको सामूहिक स्वामित्वको संगठनको व्यहारिकता पनि देखाउनु पर्छ। अथवा, समाजवाद भनेको पैसा र ज्यालादारी मजदुर नभएको आर्थिक व्यवस्था हो भन्नेमा जोड दिँदै श्रमशक्तिलाई वस्तु नबनाई उत्पादनलाई कसरी संगठीत गर्न सकिन्छ भन्ने बुझाउनुपर्छ। तर, समाजवादी समाजको उत्पादन र प्रशासनको बिस्तारित खाका तयार पार्न भने सकिँदैन। समाजवादी समाजमा अर्थतन्त्र, उत्पादन र प्रशासन व्यवस्था ऐतिहासिक प्रक्रियाले परिस्थिति अनुसार तय गर्छ।

    जोसेफ स्टालिन

    हाम्रो काम बिस्तारित खाका दिने होइन, बरू समाजवादी समाज वर्तमान व्यवस्थाभन्दा कसरी फरक हुन्छ भनेर प्रष्ट पार्ने हो। उदाहरणका लागि, वर्गीय समाजमा राज्यको भूमिका प्रष्ट पार्दै मजदुर क्रान्तिपछि वर्गविहिन समाजको भौतिक परिस्थितिअनुसार राज्य कसरी अनावश्यक हुन्छ भन्ने बुझाउनुपर्छ र राज्यको विनिर्माण प्रक्रिया कस्तो हुन्छ भन्ने देखाउनुपर्छ। तर, एकपछि अर्को गर्दै राज्यका विभिन्न विभागहरूलाई र राज्यलाई कसरी ध्वस्त पारिन्छ भन्ने प्रष्ट कार्यक्रमसहितको ब्रोसर बनाउने होइन।

    प्रश्नः सोभियत संघ र पूर्वी ब्लकको पतनलाई साम्यवादको अवश्यम्भावी परिणाम भन्दै साम्यवादलाई सर्वसत्तावाद र राजनीतिक स्वतन्त्रता नभएको व्यवस्थाको रूपमा टिप्पणी गरिएको छ। प्रशासनमा आम मानिसको सहभागिताको एकमात्र व्यहारिक माध्यम संसदीय व्यवस्था र पश्चिमाहरूले अंगिकार गरेको बहुलवादी व्यवस्था हो भन्ने निष्कर्ष पनि निकालिएको छ। यसबारे तपाईंको टिप्पणी के छ ? साथै, आजको जटिल समाज अनुसार समाजलाई परिचालन गर्ने संयन्त्रमा आम मानिसको सहभागिताका लागि कम्युनिष्टले दिने विकल्प के हो, त्यो परिषदमा आधारित प्रजातन्त्र हो ? समाजवादको राजनीतिक व्यवस्था एक-पार्टी प्रणाली हो ?

    हेक्मतः पहिलो कुरा त सोभियत संघ र पूर्वी ब्लकको आर्थिक व्यवस्थाभित्रको राजनीतिक र वैधानिक संरचना र समाजवाद, साम्यवाद तथा मार्क्सवादबीच कुनै सम्बन्ध छैन। यो कुनै पनि हिसाबमा सन् १९१७ को मजदुर क्रान्तिको बिस्तार थिएन। यतिमात्रै होइन, यो व्यवस्थाले क्रान्तिले प्राप्त गरेको राजनीतिक स्वतन्त्रता र अधिकारलाई खोसेर क्रान्तिका राजनीतिक उपलब्धिलाई समाप्त पार्ने काम गर्‍यो।

    दोस्रो, संसदीय व्यवस्था धनाढ्यहरूको शासनको एउटा स्वरूप मात्रै हो। जवाफदेहिताविहिन राजनीतिक, आर्थिक र सैन्य अभिजातहरूले ती देशका दशौं लाख मानिसलाई संसदको निर्णय प्रक्रियाबाट बाहिर राखेका हुन्छन्। त्यसैले, संसद समाजका मुद्धामा आम मानिसको सहभागिता सुनिश्चित गर्ने संस्था होइन। प्रत्येक चार वा पाँच वर्षमा उनीहरूले रंगीन पोष्टर, प्रचारवाजी र प्रतिबद्धताहरूमार्फत मानिसको ध्यान खिच्छन्, त्यसपछि आफ्नै व्यवसायमा फर्किन्छन्। उनीहरूको दाबीलाई विश्वास गर्ने हो भने यो एक दशकमा पश्चिममा उनीहरू आफैंले सामाजिक कल्याणका कार्यक्रमलाई मानिसहरूबाट खोसेको, उनीहरूलाई रोजगारीबाट बञ्चित गरेको र उनीहरूको अधिकार खोसेको यस्तो अनौठो परिस्थिति देख्नुपर्थ्यो त? बेलायतीहरूले संसारभरका प्रत्येक मानिसमाथि कर किन थोपर्थे? अमेरिकीहरूले खाडीमा युद्ध गर्नका लागि कहिल्यै मतदान गरे? त्यहाँ आफ्नो जीवन बलिदान गर्न र पैसा खर्च गर्ने निर्णय गर्नका लागि उनीहरूले मतदान गरेका हुन्? यो त ठट्टा हो। संसदीय व्यवस्थामा केही वर्षको अन्तरालमा मानिसहरूले आफूमाथि शासन गर्नका लागि शाशक वर्गको यो वा त्यो समूहलाई पठाउँछन्।

    पक्कै पनि, केही सैन्य जर्नेलको तानाशाही शाशन वा ‘पुलिस स्टेट’को तुलनामा यो राम्रो व्यवस्था हो। तर, मानिसको प्रत्यक्ष सहभागिता रहने व्यवस्था भन्नुचाहिँ धेरै परको कुरा भयो। तेस्रो, सैन्य तानाशाह वा ‘पुलिस स्टेट’ भएको अवस्थामा संसदीय व्यवस्था पूँजीवादको स्वभाविक आवश्यकता थियो। अहिले संसारभर पूँजीवाद छ। धैरै देशहरूमा संसदीय वा आवधिक निर्वाचनबाट बनेका सरकार छन्। त्यसैले, कानुन र विधि निर्माण उनीहरूका लागि सहज छ। जसले पूँजीवादमा राजनीतिको कुरा गर्छ, उसले मार्कोस, शाह, फ्र्यांको, पिनोचेत, खामेनी, सद्दाम हुसेन, पापा डक र बेबी डक, जनरल एभ्रिन, हिटलर र मुसोलिनीलाई पनि सम्झिनुपर्छ। उनीहरू यही समाजकै उत्पादन हुन्। बुर्जुवा बहुलवाद उनीहरूको आर्थिक र सामाजिक अवस्थाको स्थिरतामा निर्भर हुन्छ। जब यो स्थिरतामाथि चुनौती आउँछ, उनीहरूले संसद भंग गर्छन्, प्रतिपक्षी दलहरूमाथि प्रतिबन्ध लगाउँछन् र दक्षिणपन्थी तानशाही शाशन सुरू गर्छन्।

    पूँजी प्रवाह र श्रमको वैश्विकरण प्रकृयाले आर्थिकरूपमा राष्ट्रिय सीमालाई कमजोर बनाएको छ भने अर्कातिर पूँजीवादको अस्थिरता र पूँजीको अभावले पूँजीपति वर्गका विभिन्न समूहको राजनीतिक र आर्थिक रणनीतिका रूपमा राष्ट्रवादलाई जीवन्त बनाइरहेको छ। यस्तो भएन भने पनि अहिलेसम्मको विकासक्रमले पूँजीवादका लागि राष्ट्रिय पहिचान र राष्ट्रवाद दुवै जरूरी छ भन्ने प्रष्ट छ। त्यसैले, कुनै पनि प्रकारको एकता नयाँ रेखांकन भन्दा बढी केही होइन। पूँजीवादभित्र वैश्विकरणको बलियो आवश्यकता विद्यमान भएता पनि मानसिहरूलाई राष्ट्रवाद र राष्ट्रिय पहिचानबाट मुक्त गर्ने काम भने अन्तर्राष्ट्रियतावाद र मजदुर क्रान्तिले मात्रै गर्न सक्छ।

    अब अर्को प्रश्नमा जाऔं, के समाजवाद एक–पार्टी प्रणाली हो? मजदुर क्रान्तिको गन्तव्य साम्यवादमा राजनीतिक संस्थाको रूपमा राज्यको अस्तित्व हुँदैन। तर, संक्रमणकालमा मजदुर वर्गले शक्ति हातमा लिएको बेला एक प्रकारको राज्य आवश्यक हुन्छ। आधारभूत रूपमा मजुदरहरूको राज्य भनेको पार्टी राज्य होइन, यो मजदुरहरूको संस्थामा आधारित राज्य हो। यो मजदुर वर्गको कम्युनिष्ट पार्टीको राज्य होइन, बरू आम मजदुर र नागरिकहरूको परिषद् र संस्थाहरूबाट निर्देशित शाशन व्यवस्था हो। प्रत्यक्ष प्रजातन्त्रमा आधारित परिषद् र अन्य संस्थाहरूले निर्देशित गरेअनुसारका नीति र कार्यक्रम भएका पार्टीहरू हुनु भने स्वभाविक हो। मजदुर वर्गको कम्युनिष्ट पार्टीको बलियो उपस्थिति पार्टीले आफैंलाई मजदुर वर्गको संगठनका रूपमा स्थापना गर्नु र मजदुर वर्गका प्रभावशाली नेताको परिणाम हो। मजदुर राज्य एक पार्टी प्रणालीमा आधारित शासन होइन तर पार्टीहरूले राज्यशक्ति हातमा लिने व्यवस्था पनि होइन। मेरो व्यक्तिगत दृष्टिकोणमा मजदुर वर्गको राज्य खास विचारधाराको राज्य पनि होइन। स्वतन्त्र समाजलाई कुनै आधिकारिक विचारधाराको आवश्यकता नै हुँदैन। कम्युनिष्टहरूको काम समाजको स्व–चेतनाका आधारमा मार्क्सवाद र कम्युनिष्ट दृष्टिकोण प्रचार गर्ने र लोकप्रीय बनाउने हो। जनताको प्रत्यक्ष प्रजातन्त्र वा परिषदमा आधारित प्रजातन्त्रलाई समाप्त पारेर सत्ताच्युत वर्गको शक्ति फर्काउन खोज्ने पार्टीहरूको स्वतन्त्रता हुने कि नहुने भन्ने जनताका परिषदले त्यसैबेला निर्णय गर्ने कुरा हो। यी पार्टीका गतिविधिलाई स्वतन्त्र छोड्ने कि प्रतिबन्धित गर्ने भन्ने निर्णय उनीहरूलाई समाप्त पार्न जे गर्दा प्रभावकारी हुन्छ, त्यही गर्ने हो।

    परिषद् प्रणालीले आजको जटिल समाजमा काम गर्न सक्छ? मेरो विचारमा स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म जनताको प्रत्यक्ष सहभागितामा आधारित परिषद् प्रणाली सम्भव छ। जसले राजनीतिक, आर्थिक र प्रशासनिक निर्णय प्रक्रियामा जनताको निरन्तर सहभागिता सुनिश्चित गर्छ। संसदीय व्यवस्थामा राजनीति र प्रशासन आम मानिसको पहुँचभन्दा बाहिर हुन्छ। परिषद् प्रणालीमा प्रत्येक परिषदसँग आफ्नो क्षेत्रमा काम गर्ने शक्ति हुन्छ, र यस्तो शक्ति समानुपातिक रूपमा प्रदान गरिएको हुन्छ। तल्लो तहका परिषदहरूको प्रतिनिधित्वका आधारमा हरेक माथिल्लो परिषद् गठन गरिएको हुन्छ। स्थानीय स्तरमा गठन भएका सबैभन्दा तल्लो तहका परिषददेखि राष्ट्रिय स्तरमा बनेको सबैभन्दा माथिल्लो तहको परिषदले सबै तहमा जनता र उनीहरूका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्छ। र, आफूले छनोट गरेका प्रतिनिधिमाथि पनि नियन्त्रण गर्नसक्छ। संसदीय व्यवस्था बुर्जुवा कुलीनतन्त्रको धुवाँको पर्दा हो भने परिषद् व्यवस्था जनताको सहभागिताको प्रत्यक्ष माध्यम हो।

    प्रश्नः पूर्वी ब्लकको पतनले पार्टी गतिविधिबारे वामपन्थीहरूलाई झस्काएको छ। आज विघटन भइरहेका वा साम्यवादसँग आफ्नो सम्बन्ध तोडिरहेका सोभियत समर्थक पार्टीहरूबाहेक कट्टर वामपन्थी पार्टीहरूले अहिलेको समयमा पार्टी काम गर्न सकिन्छ भन्ने ठानिरहेका छैनन्। उनीहरूले सैद्धान्तिक काममा जोड दिइरहेका छन् र केही पार्टी गतिविधि गरे पनि आन्दोलनलाई थाँती राखिरहेका छन्। यसमा तपाईंको विचार के छ ? तपाईंले पहिलेभन्दा व्यवस्थित रूपमा काम गर्ने भन्दै  मार्क्सवादी र मजदुर वर्गको नयाँ पार्टी गठन गर्नुभएको छ। अहिलेको अवस्थामा मजदुर–कम्युनिष्ट पार्टी बनाउँदा अविश्वासको सामना गर्नुपर्छ र अझ हाँस्यास्पद समेत देखिन्छ भन्ने लाग्दैन ?

    हेक्मत: तपाईंले सधैं समाजवादप्रति अविश्वास गर्ने र समाजवादी संगठन विरोधी विचार बोक्ने मान्छे भेट्नुहन्छ। बुर्जुवा समाजमा समाजवाद र मजदुरहरूको तिरस्कारलाई सधैं पुरस्कृत गरिएको छ। आज झन् धेरै मानिस सञ्चारमाध्यममा, विश्वविद्यालयमा र विभिन्न राजनीतिक र प्रचारका संस्थामार्फत यो काममा लागेका छन्। त्यो हाम्रो सरोकारको विषय होइन। तर, समाजवादका लागि गरिने संघर्षमा विश्वास राख्ने कट्टर वामपन्थी र वास्तविक समाजवादी अभियन्ताहरूले वर्तमान समयलाई पार्टी काम गर्न नसकिने ‘युग’का रूपमा लिएका छैनन्। यसबारे म थप प्रष्ट पार्छु।

    मेरो विचारमा पनि मार्क्सवादी सैद्धान्तिक काम र मजदुर वर्गको आन्दोलनमा संग्लन कम्युनिष्टहरूका लागि धेरै महत्वपूर्ण छ। म मार्क्सवादी र मजदुर वर्गमा जोड दिन्छु किनभने कतिपय वामपन्थी सैद्धान्तिक काम र रोकिएको आन्दोलनसँग यी शब्दका विशेष अर्थ छैन्। कतिपय बेला साँस्कृतिक अभियान, अल्पसंख्यक र पर्यावरण आन्दोलनमा सहभागिता, कुनै शाशन व्यवस्थाको निश्चित पक्षलाई थप लोकतान्त्रिक बनाउने लगायतका विषयहरू पनि यससँग जोडिने गर्छ। मेरो विचारमा वामपन्थीहरू यी सबै गतिविधिमा सक्रियताका साथ सहभागी हुनुपर्छ तर यी सैद्धान्तिक काम र कम्युनिष्टहरूले गर्ने खास गतिविधि होइनन्। अझ, पार्टी काम नगर्नु त झन् ठूलो गल्ती हो। विभिन्न समूह, केन्द्र, स्कुल र राजनीतिक व्यक्तित्वहरू राजनीतिक दलका विकल्प होइनन्।

    मिखाइल गोर्बाचोभ

    मजदुर वर्गको कम्युनिष्ट पार्टीले शासक वर्गको विरूद्ध वैकल्पिक वर्गलाई परिचालन गर्छ, विभिन्न मोर्चामा काम गर्ने पार्टीहरूलाई एकताबद्ध गर्छ, कम्युनिष्ट संघर्षलाई पूर्णरूपको आन्दोलनमा रूपान्तरण गर्छ। जसले पूँजीवादी शासनलाई चुनौति दिन्छ। यस्तो पार्टीको अभावमा समाजवादी केन्द्र र समूहरूले गरेको प्रयास दीर्घकलिन् प्रभाव बनाउन असफल हुन्छ। मजदुर वर्गको राजनीतिक पार्टीको अभावमा अलग समूह र केन्द्रहरूबाट गरिने समाजवादी प्रयत्न प्रतिबद्ध र आलोचनात्मक रहिरहँदैन। त्यो बुर्जुवा समाजमा समाहित हुन्छ। आज संसारभरी समाजवादी समूह, केन्द्र तथा व्यक्तिहरू छन्, जो वैकल्पिक गतिविधिमा विभिन्न क्षेत्रबाट लागिरहेका छन्। र, पछि स्थापित परम्परामा समाहित भएका छन्। वर्ग संघर्षप्रति मजदुर वर्गको दृष्टिकोण समाजमा कट्टर कार्य हो। र, सबैभन्दा पहिला यसका लागि मजदुर वर्गको कम्युनिष्ट पार्टी हुनु अनिवार्य छ।

    आज पार्टी कामप्रति देखिएको अनिच्छा बुर्जुवाहरूले कम्युनिष्ट र विशेषगरी संगठित कम्युनिष्टमाथि गरेको व्यापक दमनको परिणाम हो। जब साम्यवादी आन्दोलनलाई गैरकानुनी बनाइयो र कम्युनिष्टहरूलाई सताइयो, कम्युनिष्ट पार्टीले यसका सदस्यहरू गुमाउन पुग्यो। कतिपय बेला विघटन पनि भयो। यो जसले पनि देख्नसक्छ। आज पश्चिमा मुलुकमा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध त छैन तर बर्जुवाहरूको व्यापक प्रचार अभियान, मजदुर वर्गविरूद्धको आर्थिक युद्ध र आम बेरोजगारीले पनि यही प्रभाव निम्त्याएको छ। यस्तो अवस्थामा धेरैले समाजवादी संगठनको सदस्यता त्याग्छन्। त्यसैले अहिले पार्टी काम गर्ने अवस्था छैन भन्ने सिद्धान्तसँग म सहमत छैन। के बुर्जुवाहरूले कम्युनिष्ट आन्दोलन र मजदुर वर्गमाथिको यस्तो दबाव अन्त्य गरेपछि पार्टी काम फेरि सुरू गर्ने हो त? मलाई लाग्छ यो अनिच्छा संक्रमणकालको मात्रै हो। केही वर्षभित्रैमा फ्रान्स, जर्मनी, रसिया र संयुक्त राज्य अमेरिकामैं पनि यो बौद्धिक अलमलको अवस्था अन्त्य हुनेछ।

    प्रश्नः पश्चिमी समाजमा हामी गम्भीर प्रतिक्रियात्मक प्रवृत्ति देखिरहेका छौं। कल्याणकारी राज्यका अन्तिम अवयवहरू पनि समाप्त पारिँदै छ। व्यक्तिप्रति समाजिक कल्याण र आर्थिक सुरक्षाका लागि समाजको उत्तरदायित्वमाथि पनि प्रश्न उठाइँदै छ। राष्ट्रवाद, फासीवाद र धार्मिक प्रवृत्ति बढ्दो छ। समानान्तर रूपमा नाटकिय नैतिक पतन पनि हामी देख्न सक्छौं। पश्चिमाहरूको सैन्य आक्रमणको अनुमति, आम गरिबी र बेरोजगारीको औचित्य पुष्टि गर्ने प्रयास, धार्मिक र जातिय रोमाञ्चकतावाद, राज्यको नीतिसँग खुला रूपमा जोडिएको भ्रष्ट पत्रकारिता, आदि यसका उदाहरणहरू हुन्। यसको अन्त्य कहाँ पुगेर हुन्छ?  यो पश्चगमन कहाँ पुगेर रोकिन्छ भन्ने तपाईंलाई लाग्छ?  के यो निश्चित समयमा पार पाइने घटनाक्रम मात्रै हो? 

    हेक्मत: मेरो विचारमा समाजवादी र मजदुर वर्गको अन्तिम विश्लेषणले नै यो प्रकृया कहाँ पुगेर अन्त्य हुन्छ भन्ने निर्धारण गर्छ। बुर्जुवाहरूका सबै गुटहरू यसरी अगाडि बढ्न चाहँदैनन्। उनीहरू अतिप्रतिक्रियावादी राजनीतिक उपरीसंरचना निर्माण गर्न चाहँदैनन्। उदाहरणका लागि पश्चिमका बुर्जुवाहरू नै अति दक्षिणपन्थीले वकालत गरिरहेको नश्लवाद र फासीवादको पक्षमा छैनन्। तर बुर्जुवा समाज जति अघि बढ्दै जान्छ, दक्षिणपन्थले त्यति नै शक्ति आर्जन गर्दै जान्छ। यदि यो प्रकृयालाई सन्तुलन गर्न बुर्जुवाहरूकै हातमा छोडिदिने हो भने पनि मानिसहरू झन् सताइनेछन् र अनेक युद्ध तथा रक्तपात हुनेछ। अहिले बढिरहेका फासीवाद, नश्लवाद, सैन्यवाद र धार्मिक प्रवृत्तिहरू केन्द्रमा हुनेछन् र अनुदारपन्थी गुटहरू शाशक वर्गमा हाबी हुनेछन्। र, उनीहरूको उपयोगिता सकिएपछिमात्रै यसबाट मुक्ति मिल्नेछ। उनीहरूले आज यी प्रवृत्तिलाई खुला छोडिरहेका छन्। उनीहरूले आमुल परिवर्तनका लागि भएका प्रयत्न तथा न्याय र स्वतन्त्रताका लागि भएका संघर्षलाई दबाउने छन्। साथै, नयाँ विश्व व्यवस्थाका निम्ति आफ्नै दक्षिणपन्थी कानुन र नियमहरू स्थापित गर्नेछन्। सायद ग्यास च्याम्बरहरू वा विध्वंसात्मक युद्धको मुखमा पुगेर मात्रै यो प्रकृयालाई उनीहरूले रोक्नेछन्। यदी अहिलेको प्रतिक्रियावादी उत्तेजना यस्तै अवस्थामा पुगेन भने पनि अहिले बाँचिरहेको पुस्ताका लागि नयाँ सन्तुलन निर्माणको बाटो अझ कठिन र कष्टप्रद हुने छ।

    समाजवादी शक्ति र मजदुर वर्गले यो प्रकृया रोक्नुपर्छ र रोक्नसक्छन्। आज पश्चिमा राष्ट्रको राजनीतिक वातावरणमा अशान्ति छाइरहेको छ। यसविरूद्ध फासिवाद तथा प्रतिक्रियावादको उदय भइरहेको छ। यी मुलुकहरू सन् ८० को दशकको राजनीतिक नैराश्यताबाट बाहिर निस्किँदैछन्। समाज फेरि राजनीतिकरण र ध्रुविकरणतर्फ अघि बढेको छ। मलाई लाग्छ, यसले पश्चिमा जतगतमा मजदुर वर्गको समाजवादी हस्तक्षेपका लागि नयाँ वामपन्थी शक्तिहरूको बाटो खुला गर्नेछ।

    मलाई वर्तमान युग राष्ट्रवादको युग हो भन्ने लाग्दैन, न त यसको अवनतिको युग नै हो। पूँजीवादले निम्त्याएका आजका समस्याहरूको कुनै विशेष समाधान राष्ट्रवादसँग छैन। पूँजीवादमा राज्यको कार्य बदलिँदै गएको छ तर यसमा राष्ट्रवादको कुनै भूमिका छैन।

    यी प्रवृत्ति र अति दक्षिणपन्थी प्रवृत्ति रोक्नु ‘कल्याणकारी पूँजीवाद’लाई ध्वस्त पार्ने प्रयत्नलाई रोक्नुभन्दा सहज हुनेछ। सन् ६० को दशक र ७० को दशकको सुरूवातताका ल्याइएका आर्थिका कार्यक्रमहरूमाथि बुर्जुवा आक्रमण राजनीतिक पक्षभन्दा अझै बढी रूढ र निराशाजनक थिए। यसमा बुर्जुवा समाजकै विभिन्न पक्षहरूको व्यापक सहमति थियो। स्वभाविक रूपमा यस्तो आर्थिक आक्रमणले समाजको आत्मचेतनामा र व्यक्तिको भूमिकालाई आधारभूत रूपमा प्रभावित पार्छ। अन्त्यमा, आफ्नो श्रम बिक्रि गरेर बाँच्ने औसत व्यक्तिको अधिकार, स्वाभिमान र मूल्य अझै कम हुनेछ, र आजभन्दा अझै बढी बञ्चित हुनेछ। जनस्वास्थ्यको नीजिकरण र स्वास्थ्य उपचारको खर्च ‘उपभोक्ता’को थाप्लोमा हाल्ने उनीहरूको आर्थिक नीति थियो। स्वास्थ्य उपचारको अधिकार सम्पत्ति र आम्दानीका आधारमा निर्धारण गरिएको थियो। शिक्षा र मनोरञ्जनको क्षेत्रको पनि अवस्था यही छ। दक्षिणपन्थीहरूको अतिवाद भन्दा यी विचारधारात्मक, राजनीतिक र वैधानिक प्रतिगमनविरूद्ध संघर्ष गर्नु कठिन हुन्छ।

    प्रश्नः तपाईंलाई फासीवाद र नश्लवाद आज पश्चिमा समाजको मुख्य चुनौती हो भन्ने लाग्दैन?

    हेक्मत:  नाजी जर्मनीको पुनःसक्रियकरण साधारण मामला होइन। वामपन्थी र मध्यपन्थी शक्तिहरूले यसको सशक्त प्रतिकार गर्नेछन्। जर्मनी, फ्रान्स वा केही पूर्व सोभियत गणतन्त्रहरूमा दक्षिणपन्थको विकासका लागि बलियो आधार प्राप्त हुनेछ, यही कुरा बेलायत र अमेरिकामा कम हुनसक्छ। पश्चिमी युरोपमा बलियो शक्ति हुन फासीवादले कही भौतिक बाधा र राजनीतिक प्रतिवादमाथि विजय पाउनुपर्ने हुन्छ। मजदुर वर्ग र समाजवादी शक्तिको राजनीतिक परिचालन भइरहेको अहिलेको अवस्थामा ती शक्तिहरू अघि बढ्न सक्छन् जस्तो मलाई लाग्छ। तर, फासीवाद र नश्लवादविरूद्ध मजदुर वर्ग र समाजवादी शक्तिको परिचालनका लागि धेरै काम गर्नु भने आवश्यक हुन्छ।

    ती देशहरूको राजनीतिमा संगठीत र सक्रिय शक्तिका रूपमा फासीवादीहरूले आफ्नो स्थान बनाउनेछन् र उनीहरू अझै शक्तिशाली तथा अति दक्षिणपन्थी हुँदै जानेछन्। तर, बुर्जुवाहरूमाझ उनीहरू प्रभुत्वशाली र निर्णायक शक्ति हुन्छन् भन्ने मलाई लाग्दैन। नश्लवादको सन्दर्भमा भने यो प्रश्न निकै जटिल छ। यी मुलुकहरूमा नश्लवादले गहिरो गरी जरा गाडेको र संस्थागत भएको छ। बुर्जुवाहरूले आधिकारिक रूपमा आलोचना गरे पनि यी पक्षहरूले भविष्यमा नश्लवाद बढ्ने देखाउँछ। उदाहरणका लागि, एकिकृत युरोपको अवधारणा कथित तेस्रो विश्वका मानिसहरूविरूद्ध सञ्चालित छ। युरोपेली पहिचान ब्रिटिस वा जर्मनको राष्ट्रिय पहिचानमा मात्रै आधारित छैन, एसियाली वा अफ्रिकी पहिचानको विरोधमा पनि आधारित छ। युरोपेली एकताको नश्लवादी रंग विभिन्न ठाउँमा पटकपटक प्रकट भएको छ, आप्रवाशन र शरणार्थी सम्बन्धि साझा नीति तय गर्ने कुरामा होस् वा युरोपेली सँस्कृति वा विशेषतालाई परिभाषित गर्ने कुरामा होस्। युरोपमा रहेको बेरोजगारी र गरिबीको स्तर, कतिपय एसियाली र अफ्रिकी मुलुकमा देखिएको आर्थिक समस्या र राजनीतिक निराशा र बढ्दो युरोपतिरको आप्रवासनले नश्लवादी उक्साहट र उत्तेजना निम्त्याउने देखिन्छ। यसलाई बुर्जुवाहरूले सहजै व्यवस्थापन गर्न सक्नेछैनन्। यीमध्ये अधिकांश देशमा फासीवादीलाई शक्तिमा आउनबाट रोक्ने कानुनहरू बनाइने छन्। यस्ता कानुनहरूले सोचेभन्दा उल्टो रूपमा आप्रवासीको अवस्था झन कठीन बनाउने छन्।

    प्रश्नः विगत केही वर्षहरूका घटनाक्रमले दुईवटा प्रवृत्ति देखाएका छन्। एकातिर, राष्ट्रवादी आन्दोलन बढेको र पूर्वी युरोपमा द्वन्द्व बढ्दै गएको देखिन्छ। अर्कातिर, पश्चिमी युरोप राष्ट्रिय सीमाहरूलाई कमजोर बनाउने र एकीकृत युरोप बनाउने प्रयास गरिरहेको देखिन्छ। यसमध्ये कुन प्रवृत्ति भविष्यमा स्थापित हुने देख्नुहुन्छ?

    हेक्मत: मेरो विचारमा दुवै प्रवृत्ति स्थापित हुने छैनन्। पूर्वी युरोपमा आज देखिएको राष्ट्रवादी उभार पूर्वी ब्लकको विघटनको कारण हो, आफ्नै कारणले होइन। त्यसैले त्यहाँ आज देखिएको राष्ट्रवादी उभार अन्तर्राष्ट्रिय प्रवृत्तिका रूपमा स्थापित हुन सक्दैन। साथै, एकीकृत युरोपको योजनाले राष्ट्रवादी उभारमा रोक लगाउँछ भन्नेमा पनि शंका छ। पश्चिमी युरोपले आर्थिक क्षेत्रमा जापान र अमेरिकासँगको प्रतिस्पर्धाका कारण एकीकृत आन्तरिक बजार निर्माण गर्ने प्रयत्न गरेको हो तर राष्ट्रिय पहिचानबाट क्षेत्रीय पहिचानतिरको संक्रमणका लागि होइन। सोभियत संघ आफैंमा लामो समय एकीकृत समूह थियो, जहाँ एउटै मुद्रा, एउटै सेना र केन्द्रीकृत आर्थिक व्यवस्थापन थियो। तर, अहिले यो क्षेत्र राष्ट्रवादी आन्दोलनको केन्द्र बनेको छ।

    मन्सुर हेक्मत

    औसत अवलोकनकर्ताले पनि एकीकृत युरोपको योजना सदस्य राष्ट्रहरूको राष्ट्रिय भावनालाई अवमूल्यन नगरी गैरयुरोपेली पहिचान विरूद्ध युरोपेली पहिचान निर्माणको योजना हो भन्ने बुझ्नसक्छ। अहिले राष्ट्रहरूबीचको गठबन्धन बनाएर आर्थिक र राजनीतिक समूहको निर्माण भइरहेको हो। पुराना व्यवस्थालाई विस्थापन गर्दै बनाइएका यस्ता गठबन्धनले अझ बढि द्वन्द्व सिर्जना गर्नेछन्।

    पूँजी प्रवाह र श्रमको वैश्विकरण प्रकृयाले आर्थिकरूपमा राष्ट्रिय सीमालाई कमजोर बनाएको छ भने अर्कातिर पूँजीवादको अस्थिरता र पूँजीको अभावले पूँजीपति वर्गका विभिन्न समूहको राजनीतिक र आर्थिक रणनीतिका रूपमा राष्ट्रवादलाई जीवन्त बनाइरहेको छ। यस्तो भएन भने पनि अहिलेसम्मको विकासक्रमले पूँजीवादका लागि राष्ट्रिय पहिचान र राष्ट्रवाद दुवै जरूरी छ भन्ने प्रष्ट छ। त्यसैले, कुनै पनि प्रकारको एकता नयाँ रेखांकन भन्दा बढी केही होइन। पूँजीवादभित्र वैश्विकरणको बलियो आवश्यकता विद्यमान भएता पनि मानसिहरूलाई राष्ट्रवाद र राष्ट्रिय पहिचानबाट मुक्त गर्ने काम भने अन्तर्राष्ट्रियतावाद र मजदुर क्रान्तिले मात्रै गर्न सक्छ।

    मलाई वर्तमान युग राष्ट्रवादको युग हो भन्ने लाग्दैन, न त यसको अवनतिको युग नै हो। पूँजीवादले निम्त्याएका आजका समस्याहरूको कुनै विशेष समाधान राष्ट्रवादसँग छैन। पूँजीवादमा राज्यको कार्य बदलिँदै गएको छ तर यसमा राष्ट्रवादको कुनै भूमिका छैन।

    प्रश्नः बुर्जुवाहरूले राष्ट्रवाददेखि धर्मसम्मको, फासीवाद र नश्लवादको आफ्नै आर्थिक, राजनीतिक र साँस्कृतिक विकल्पहरू प्रस्तुत गरिरहँदा मजदुर वर्ग आर्थिक मोर्चामा मात्रै प्रतिरोध गरिरहेको देखिन्छ। यो पश्चिममा मात्रै होइन, राजनीतिक रूपमा तात्तिएको पूर्वमा पनि यस्तै देखिन्छ। बढ्दो गरिबीले मजदुरहरूलाई आर्थिक संघर्षमा सिमित गरिरहेको छ। यो ध्यान दिनु पर्ने पक्ष होइन ? तपाईंको विचारमा यसबाट पार पाउने बाटो के हो ?

    हेक्मत: मलाई पनि यो हामीले ध्यान दिनुपर्ने सत्य हो भन्ने लाग्छ। मजदुर वर्गको राजनीतिक अभिव्यक्ति आर्थिक संघर्षको निरन्तरतामात्रै हुन सक्दैन। जानसांख्यिक अर्थको ‘मजदुर’हरूले राजनीतिमा कुनै हस्तक्षेप गर्न सकेका छैनन्। मजदुरहरू मजदुर वर्गका पार्टी मार्फत सुधारवादी होस् वा क्रान्तिकारी, राजनीतिक संघर्षमा सहभागी हुन्छन्। आज यो वा त्यो रूपमा सबै संगठन र राजनीतिक परम्पराले समाजमा मजदुरको हस्तक्षेपको माध्यमका रूपमा काम गरिरहेका छन्। समाजिक प्रजातन्त्र वा साम्यवादी आन्दोलनका विभिन्न धारहरूले समाजलाई आधारभूत रूपमा प्रभावित गरेका छन्।

    मजदुरहरूले राजनीतिक पार्टीबीना प्रदर्शनमा उत्रिने र आर्थिकबाहेकका अन्य क्षेत्रमा पनि हस्तक्षेप गरून् भन्नु अराजनीतिक र अमुर्त अपेक्षा हुन्छ। सामाजिक प्रजातन्त्रवादीहरू पनि आफूलाई मजदुर संगठनहरूको आन्दोलनको रूपमा अभिव्यक्त गर्न चाहन्छ भन्ने मलाई लाग्दैन। उनीहरू व्यापक अर्थमा मजदुरहरूलाई छाडेर मध्यम वर्गिय सामाजिक समूहमा केन्द्रीत भएका छन्। सामाजिक प्रजातन्त्रसँग प्रष्ट सामाजिक र आर्थिक कार्यक्रम पनि छैन। त्यसैले, सबैकुरा मजदुर वर्गको साम्यवादी आन्दोलनमा नै निर्भर रहन्छ।

    अहिलेको कम्युनिष्टविरोधी दमनलाई रोक्न र वर्गका रूपमा मजदुरहरूलाई व्यापक रूपमा संगठित गर्ने र राजनीतिक संघर्षमा उत्रिने मजदुर वर्गको कम्युनिष्ट पार्टी गठन हुनु जरूरी छ। यस्ता पार्टीको अभावमा मजदुरहरूले साधारण आर्थिक उपलब्धि रक्षा गर्न सके पनि हामी अझै मजदुर विरोधी विचारधारा र राजनीतिक सन्तुलनमा फस्दै जान्छौं। हामी प्रवेश गरिरहेको नयाँ कालखण्डमा मजदुर वर्गको प्रदर्शन र गतिविधिको कमी हुने छैन। तर, यी संघर्षको उपलब्धि र समाजमा मजदुरहरूको अवस्था, शक्ति र स्वाभिमानमा यसको प्रभाव अर्कै सवाल हो। यसका लागि समाजमा र मजदुरहरूको आन्दोलन भित्रै एउटा सक्रिय कम्युनिष्ट आन्दोलनको आवश्यकता हुन्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: पूँजीवादमन्सुर हेक्मतमार्क्सवादसमाजवाद
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Comments 1

      1. Jayesh says:
        3 years पहिले

        पहिले त म यो अनुवादको आकार देखेर छक्क परेको थिएँ । यति गहन विषयलाई नेपाली भाषामा उल्था गर्न सक्ने विद्वान हाम्रै देशमा रहेछन भन्ने लागाथ्यो । पछि पढ्दै जाँदा मन्सुर हेक्मतले पनि यस्तो मुर्ख कुरा गरेका होइनन् होला भन्ने शंकका लागेर ओरिजिनल टेकस्टसँग दाँजेर हेरेँ । धेरैजसो ठाउँमा अर्थको अनर्थ हुने गरी उल्था गरिएको रहेछ । उदाहरणका लागि ओरिजिनलमा भएको यो
        Technical innovation and improvement in product quality is not an invention of capitalism, just as little as production of people’s essentials is a capitalist invention.
        लाई कसरी उल्था गरिएको छ आफैं हेरौं । यस्तो हल्का काम नगरौं यसले माक्सवादीहरुलाई झन हल्लुँड बनाउँछ ।

        Reply

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.