Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालमा पुँजीवादको चरित्र

घनश्याम भूसाल घनश्याम भूसाल
कार्तिक २६, २०७५
- अर्थतन्त्र, उद्योग, रिडर्स डिस्कोर्स, विमर्शका लागि, विषय प्रवेश, समाचार, सेवा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सन्दर्भ/महत्व 

    पछिल्ला वर्षहरुमा नेपालको मार्क्सवादी साहित्यमा, कम्युनिष्ट पार्टीहरुमा समेत, सामन्तवाद र पुँजीवादसम्बन्धी केही हदसम्म बहस–छलफल भएका छन्। यसै क्रममा नेकपा एमालेका आठौँ महाधिवेशनमा पेश गरिएको एउटा अलग दस्तावेजमा उल्लेख गरिएका सामाजिक चरित्र, क्रान्तिको चरित्र र कार्यभारजस्ता मुख्य सैद्धान्तिक निष्कर्षहरु त्यसै पार्टीको नवौँ महाधिवेशनले पारित गरेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले सन्दर्भ र कारणहरुको ब्याख्या नगरिकनै भए पनि त्यस पार्टीको हेटौँडा महाधिवेशनबाट ‘नेपाली समाज पहिलेजस्तो अर्धसामन्ती–अर्धऔपनिवेशिक रहेन’ भन्ने निष्कर्ष निकालेको छ। यसै क्रममा नेकपा (संयुक्त)ले पनि नेपालको लोकतान्त्रिक क्रान्ति सम्पन्न भएको र नेपाली समाज पुँजीवादमा रुपान्तरित भएको निष्कर्ष निकालेको छ। यसरी कम्युनिष्ट आन्दोलनको मुख्य धारामा हाम्रो समाजको मूल चरित्र पुँजीवादी हो भन्ने निष्कर्ष स्थापित भएको छ।

    २००६ सालमा पार्टी गठन हुँदा नेपाल सामन्ती र पुँजीवादी दोहोरो शोषण भएको समाजका रुपमा व्याख्या गरिएको थियो (पुष्पलालले गर्नु भएको यो विश्लेषण मूलतः माओका रचनाबाट प्रभावित थियो)। पछि त्यही अवधारणालाई नेपाल अर्धसामन्ती–अर्धऔपनिवेशिक मुलुक हो भनेर सूत्रीकरण गरियो। समाज अर्धसामन्ती–अर्धऔपनिवेशिक भएको हुँदा नेपाली क्रान्तिको चरित्र नयाँ खालको पुँजीवादी जनवादी हुन्छ भन्ने मुख्य सैद्धान्तिक विश्लेषणका आधारमा अन्य सिद्धान्तहरु अगाडि सारियो । त्यही क्रान्तिलाई कसैले नयाँ जनवादी, कसैले लोकजनवादी, कसैले राष्ट्रिय जनवादी र कसैले जनताको बहुदलीय जनवादी भने। नेकपा एमालेको आठौँ महाधिवेशनमा अगाडि सारिएको दस्तावेजको मुख्य विषय यसप्रकार छ: अहिलेको नेपाल अर्धसामन्ती–अर्धऔपनिवेशिक होइन बरु यो पुँजीवादी हो; हामीकहाँ पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भैसकेको छ; अब नेपालको कम्युनिष्ट आन्दोलनको ध्येय समाजवाद हो; तर राष्ट्रिय पुँजीको विकास नभैकन समाजवाद सम्भव नहुने र नेपालको पुँजीवादीकरणको मुख्य चरित्र दलाल भएको हुँदा हाम्रो कार्यभार राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु हो। नवौँ महाधिवेशनले नेपाली समाजको चरित्र पुँजीवादी हो, जनवादी क्रान्ति सम्पन्न भयो, अबको कार्यभार राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु हो भन्ने निष्कर्षलाई ग्रहण गर्यो तर राष्ट्रिय पुँजीको विकास गर्नु भनेको के हो ? अर्थात् ‘राष्ट्रिय पुँजीको विकास गर्ने’ किन भन्नु परेको हो ? अर्थात् ‘पुँजीको विकास गर्ने’ मात्रै भनिएको भए के हुन्थ्यो ? अर्थात् अब राष्ट्रिय पुँजीको विकास गर्ने हो भने अहिलेको पुँजीको चरित्र कस्तो छ त ? जस्ता प्रश्नमा प्रवेश गरेन । यो सानोतिनो अस्पष्टता होइन बरु आधारभूत विषयमा रहेको सैद्धान्तिक अस्पष्टता हो। यो अस्पष्टताले भविष्यमा ठूला राजनीतिक र साङ्गठानिक विचलनहरु ल्याउँछन्। अहिलेको पुँजीको चरित्र राष्ट्रिय छैन भन्ने बुझाइका आधारमा त्यो लेखिएको हो भने त्यसको चरित्र कस्तो हो त भन्ने प्रश्न स्वतः आउँछ। यदि पुँजीको चरित्रका बारेमा छलफल नै गर्नु पर्दैन भन्ने हो भने अहिलेकै पुँजीवादी प्रक्रियाबाट समाजवाद आउँछ भन्ने अर्थ हुन्छ। तसर्थ, नेपाली समाजको चरित्रबारे अरु कम्युनिष्ट पार्टीहरुभन्दा वस्तुगत निष्कर्षमा पुगेको नेकपा एमाले वा पुग्दै गरेका नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तजस्ता पार्टीहरुका लागि यो अध्ययनको महत्व/आवश्यकता छ।

    अहिलेको नेपाल अर्धसामन्ती–अर्धऔपनिवेशिक होइन बरु यो पुँजीवादी हो; हामीकहाँ पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भैसकेको छ; अब नेपालको कम्युनिष्ट आन्दोलनको ध्येय समाजवाद हो; तर राष्ट्रिय पुँजीको विकास नभैकन समाजवाद सम्भव नहुने र नेपालको पुँजीवादीकरणको मुख्य चरित्र दलाल भएको हुँदा हाम्रो कार्यभार राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु हो।

    नेपाली समाज अर्धसामन्ती–अर्धऔपनिवेशिक हो भन्ने निष्कर्षमा अझै पनि रहिरहेका कम्युनिष्ट पार्टीहरुको व्याख्याअनुसार नेपाली समाजको पुँजीवादीकरण साम्राज्यवाद तथा भारतीय बिस्तारवादद्वारा नियन्त्रित छ । यहाँको सामन्तवादसँग त्यसको लगनगाँठो जोडिएको हुँदा नेपाल अर्धसामन्ती–अर्धऔपनिवेशिक हो । नेपालको पुँजीवाद विदेशी पुँजीले बनेको हो, त्यसले नेपाली समाजलाई जतिजति पुँजीवादीकरण गर्दैछ त्यही अनुपातमा नेपाललाई उपनिवेश बनाउँदैछ भन्ने विश्लेषण कम्युनिष्ट पार्टीको गठन भएदेखि अहिलेसम्म स्थापित छ । कहिँ साम्राज्यवादी पुँजी, कहिँ एकाधिकारवादी वा बिस्तारवादी वा नोकरशाही वा दलाल पुँजी वा औपनिवेशिक पुँजी जे भनिए पनि ती सबैको अर्थ एउटै हो । तर समाजको गतिशीलता, पुँजीवादीकरणको प्रक्रिया, पुँजीको चरित्रजस्ता प्रश्नको यथेष्ठ र वैज्ञानिक उत्तर खोेज्नेतर्फ ती पार्टीहरु, नेता वा तिनीसँग सम्बद्ध बौद्धिक हौँ भन्नेहरुको ध्यान गएको छैन। वस्तुतः अहिले पनि मुख्य सैद्धान्तिक प्रश्नमा समेत जसले जे भने पनि हुने अराजक अवस्था छ। पर्याप्त अध्ययनविना नै पार्टीका सैद्धान्तिक घोषणाहरु तयार गरिएका छन् । जस्तो कि नेकपा मशाल, नेकपा माले, नेकपा माओवादी क्रान्तिकारीले नेपाली समाज अर्धसामन्ती–अर्धऔपनिवेशिक भन्छन् । तर सैद्धान्तिक र ऐतिहासिक हिसाबले त्यसको पुष्टी हुने गरी कसैले व्याख्या गर्दैन । सामन्तवाद, पुँजीवाद, उपनिवेशजस्ता अवधारणाको परिभाषासमेत नगरिकन यत्रतत्र प्रयोग गरिन्छन् । तिनका दस्तावेजहरु प्रायः कुनै धार्मिक सम्प्रदायका अनुष्ठान विधिजस्ता छन्, मानौँ ती उनीहरुका निजी मामिला हुन् । ती दस्तावेज समाजको वास्तविक जीवनसँग सम्बन्धित छन् कि छैनन् वा तिनका दस्तावेजको महत्व पार्टीभित्र पाठ गराउने र कार्यकर्ताले ‘विश्वास गर्ने’ बाहेक अरु कुरामा छ या छैन भन्ने बारेमा पनि कसैले चासो राख्दैन। धेरैजसो दस्तावेजको मूल्य असाध्यै देखावटी हुन्छ, सामान्यतया ती पढिँदैन। तिनका सैद्धान्तिक निष्कर्ष र तिनको राजनीतिक तथा साङ्गठानिक दिशा र गतिविधिमा कुनै सङ्गति देखिँदैन।

    त्यस्तै, नेपाल मजदुर किसान पार्टीले एकातिर वर्तमान नेपालको राज्यलाई ‘पुँजीवादी’ भन्छ भने अर्कोतिर ‘सामन्तवाद, संशोधनवाद, अराजकतावाद, नवउदारवाद र साम्राज्यवाद’ का विरुद्ध ‘जनताको प्रजातन्त्र स्थापना गर्नु पार्टीको तत्कालको उद्देश्य हो’ भन्छ। वर्तमान राज्य पुँजीवादी हो भनेर मान्ने हो भने अबको सङ्घर्ष सामन्तवादका विरुद्ध हुनै सक्दैन, आज सामन्तवादका विरुद्ध सङ्घर्ष गर्नु पर्ने अवस्था छ भने समाज र राज्य पुँजीवादी हुनै सक्दैन । यी विषय ऐतिहासिक भौतिकवादका कखरा हुन्। तर नेपालमा यतिविधि असैद्धान्तिक विचारलाई झण्डा बनाएर पनि हामीले कम्युनिष्ट पार्टी चलाइरहेका छौँ ! अर्को उदाहरण, अहिले भर्खर जन्मेको नेकपा माओवादीलाई लिउँ, त्यसले नेपालको वर्तमान राज्यलाई ‘दलाल पुँजीवादी संसदीय राज्यव्यवस्था’ भनेर नामाकरण गरेको छ। त्यसको ठाउँमा ‘वैज्ञानिक समाजवाद स्थापना गर्न सङ्घर्ष सञ्चालन’ गर्ने उद्देश्यको घोषणा पनि गरेको छ। तर पार्टीको आर्थिक कार्यक्रममा ‘दलाल पुँजीलाई निरुत्साहित गर्दै…त्यसको ठाउँमा राष्ट्रिय पुँजीपतिलाई सहयोग पुगाउने कार्यक्रम सञ्चालन गरिनेछ’ भनेर लेखिएको छ । उद्देश्य र कार्यक्रमको यतिविघ्न असङ्गति बोकेर पनि हामी कम्युनिष्ट पार्टी नै चलाइरहेका छौँ ! दलाल पुँजीवादका विरुद्ध राष्ट्रिय पुँजीपति वर्गलाई सहयोग गर्ने कार्यक्रम आफैमा समाजवादी कार्यक्रम हुन सक्दैन, यो पनि मार्केवाद वा ऐतिहासिक भौतिकवादको कखराकै कुरा हो । यदि राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमले समाजवादको तयारी गर्छ भनेर मान्ने हो भने त्यो नेकपा एमालेको कार्यक्रम हो, त्यसैका लागि अर्को पार्टी आवश्यक नै छैन । उदेकलाग्ने अर्को तथ्य के छ भने त्यस पार्टीले दलाल पुँजीको व्याख्यामा एउटा लाइनसम्म पनि लेखेको छैन । यी त असङ्गतिका केही उदाहरण मात्रै हुन् । सङ्क्षेपमा, अहिले यी कम्युनिष्ट पार्टीमा पुँजीवादको चरित्र सम्बन्धी मोटामोटी अध्ययनसमेत भएका छैनन् । नेकपा मसाल, नेकपा माले, नेमकिपा, नेकपा माओवादी जस्ता पार्टीहरु ठूला सैद्धान्तिक जडताबाट मुक्त हुन चाहान्छन् भने यो छलफल तिनीहरुका लागि पनि महत्वको/आवश्यक हुनेछ ।

    २०७२ सालमा जारी भएको नेपालको संविधानले राज्यको उद्देश्य समाजवाद हो भनेर किटान गरेको छ । सबै राजनीतिक पार्टीले त्यसलाई स्वीकार गरेका छन् । एक्काइसौँ शताब्दीको आरम्भमा नेपालजस्तो मुलुकका सबै राजनीतिक पार्टीहरुले समाजवादलाई कबोल गर्नु कम्ती महत्वपूर्ण छैन । तर संविधानमा कबोल गरेर मात्रै समाजवाद लागू हुने कुरा होइन, त्यसका लागि त्यही स्तरमा अध्ययन–छलफल चलाउनु पर्छ र अनेकौँ कार्यभारहरु निर्धारण गर्नु पर्छ । ती कार्यभारमध्ये आर्थिक कार्यभार सबैभन्दा मुख्य हुन्छ । त्यसैले आजको समाज, पुँजीवाद र यसको चरित्रको समझदारी जुनसुकै जिम्मेवार नेपाली राजनीतिक व्यक्तिका लागि आवश्यक वा महत्वको कुरा हुनेछ ।

    नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो भन्ने सैद्धान्तिक निष्कर्ष स्थापित हुँदै गएपछि समाजको समृद्धि तथा आर्थिक विकासको चर्चा ह्वात्तै बढेको छ र अहिले ‘समृद्धि’ सबैभन्दा लोकप्रिय विषयहरुमध्ये एउटा बनेको छ। 

    नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो भन्ने सैद्धान्तिक निष्कर्ष स्थापित हुँदै गएपछि समाजको समृद्धि तथा आर्थिक विकासको चर्चा ह्वात्तै बढेको छ र अहिले ‘समृद्धि’ सबैभन्दा लोकप्रिय विषयहरुमध्ये एउटा बनेको छ। समाजमा आफ्नो हैसियत देखाउन चाहने सबैले समृद्धिका विषयमा चर्चा गर्ने होडवाजी चलाइरहेका छन् । समाजमा समृद्धिको भोक जागी सकेको छ त्यसैले त्यसको बजार राम्रो छ । सञ्चार माध्यमहरुमा मलुकलाई समृद्ध बनाउने नेता र संस्थाको खोजी भैरहेको देखिन्छ । त्यही मौकामा व्यक्ति र संस्थाहरुले आफुलाई समृद्धिका नयाँ–नयाँ देवदूतजस्तै देखाउन थालेका छन् । तर समृद्धिका लागि मूलभूत अर्थराजनीतिक समस्या वा चुनौती के हुन् भन्ने विषयमा भने आवश्यक छलफलसमेत भएको छैन । तसर्थ नेपालको आर्थिक विकासको बाटोका बारेमा चासो राख्ने सबैका लागि आज हामी बाँचिरहेको सामाजिक–आर्थिक भूमि कसरी बनेको छ भन्ने विषयको आधारभूत जानकारी, कम्तीमा वर्तमान नेपालको सामाजिक पुँजीको चरित्रको जानकारी आवश्यक हुनेछ ।

    पुँजीको चरित्र: मार्क्सको पद्धतिका दुई अवधारणा

    पुँजीको अध्यययन गर्ने क्रममा मार्क्सले अनेकौँ रुपका पुँजी उल्लेख गरेका छन् जस्तै–द्रव्य पुँजी, उत्पादक पुँजी, औद्योगिक पुँजी, माल पुँजी, व्यापारिक पुँजी, बैँक पुँजी आदि । त्यसमध्ये, पुँजीवादी व्यवस्थाको अध्ययनका लागि, औद्योगिक पुँजी आधारभूत महत्वको विषय हो । सामान्यतया के भन्न सकिन्छ भने मार्क्सले व्याख्या गरेको पुँजी मूलतः औद्योगिक नै हो । उनले आफ्नो प्रसिद्ध ग्रन्थ ‘पुँजी’ का सबै खण्डमा त्यसकै वरिपरि व्याख्या गरेका छन्। हामीले यस रचनामा नेपालको वर्तमान पुँजीवादको मूलभूत चरित्रको अध्ययन गर्न मार्क्सका साधारण तथा बिस्तारित पुनरुत्पादन र औद्योगिक पुँजीको परिपथ सम्बन्धी व्याख्यालाई आधार बनाएका छौँ। पुँजीको साधारण र बिस्तारित पुनरुत्पादनको विश्लेषणले अर्थतन्त्रका समस्याको जरोमा पुग्न सजिलो बनाउने छ भने औद्योगिक पुँजी सम्बन्धी मार्क्सको व्याख्याले हाम्रो मुलुकको पुँजीको चरित्र पहिचान गर्न सजिलो बनाउने छ।

    पुँजीवादी व्यवस्थाको अध्ययनका लागि, औद्योगिक पुँजी आधारभूत महत्वको विषय हो । सामान्यतया के भन्न सकिन्छ भने मार्क्सले व्याख्या गरेको पुँजी मूलतः औद्योगिक नै हो । उनले आफ्नो प्रसिद्ध ग्रन्थ ‘पुँजी’ का सबै खण्डमा त्यसकै वरिपरि व्याख्या गरेका छन्। 

    क.पुँजीको साधारण र बिस्तारित पुनरुत्पादन
    पुँजी उत्पादन प्रक्रियाका दुइवटा चरण हुन्छन्– साधारण पुनरुत्पादन र बिस्तारित उत्पादन ।
    पुँजीले उत्पादनको हरेक चरणमा एउटा निश्चित परिमाणमा नाफा कमाउँछ तर अर्को चरणको उत्पादनभन्दा अगाडि नै त्यो नाफाको सबै अंश आफ्नो उपभोग र ज्याला आदिमा खर्च हुन्छ र त्यही प्रक्रिया दोहोरिइ रहन्छ भने त्यसलाई मार्क्सले साधारण पुनरुत्पादन भन्छन्।

    यस अन्तर्गत हरेक पटक उत्पादन त हुन्छ तर निजी उपभोगमै सकिन्छ, पुनः लगानी गर्दा पनि त्यही परिमाणमै लगानी गर्नुपर्ने हुन्छ। जस्तै, एउटा पुँजीपतिले रु १००० लगानी गरेर एउटा उद्यम शुरु गर्यो र अन्त्यमा रु ५०० उत्पादन गर्यो, त्यसरी उसको लगानीको मूल्य रु १५०० भयो । त्यसमध्ये रु १५० उसले श्रमिकलाई ज्याला दियो र लगानीको व्याज सहित रु ३५० आफ्नो निजी उपभोगका लागि खर्च गर्यो (अर्को अर्थमा नाफा पुरै खर्च गर्यो) भने उसँग फेरि रु १००० नै बाँकी रहन्छ । उसले फेरि त्यो रु १००० लगानी गरेर उत्पादन गर्छ र रु १५०० पुर्याउँछ । अर्को पटक पनि रु १५० ज्याला र रु ३५० आफ्नो निजी उपभोगका लागि खर्च गर्छ । यहि क्रम पाँच वर्ष चलिरह्यो भने के देखिन्छ भने उसँग अझै पनि रु १००० बाँकी नै छ । झट्ट हेर्दा के देखिन्छ भने उसलाई केही पनि नाफा भएकै छैन किनकि उसँग आरम्भमा जुन पुँजी थियो त्यही नै बाँकी छ । तर त्यसको वास्तविकता अर्कै हुन्छ। पाँच वर्षपछि पनि उसँग रु १००० बाँकी नै छ, त्यस बाहेक उसले रु ७५० श्रमिकलाई ज्याला दिएको हुन्छ र रु १७५० निजी उपभोगमा खर्च गरिसकेको हुन्छ । अर्थात् उसको रु १००० बाँकी नै रहँदा पनि पाँच वर्षमा ज्याला र निजी उपभोगमा रु २५०० खर्च भैसकेको थियो । उसँग नाफा बाँकी नरहे पनि ज्याला र निजी उपभोगमा खर्च भएको रु २५०० बढी उत्पादन हो । यसरी नाफा भैरहेको हुन्छ तर पुँजीको मात्रा बढ्दैन भने त्यो साधारण पुनरुत्पादन हुन्छ । यसलाई आधुनिक व्यवस्थापनको भाषामा ‘न नाफा न घाटाको अवस्था’ भनिन्छ।

    अर्कोतर्फ, बिस्तारित पुनरुत्पादनमा चाहिँ उत्पादनको हरेक चरणमा पुँजीको उत्पादन बढी हुँदै जान्छ। मानौँ त्यही व्यक्तिले आफुसँग भएको रु १००० फरक परिवेशमा लगानी गर्यो र अन्त्यमा रु ५०० उत्पादन गर्‍यो। त्यसमध्ये रु १५० ज्याला दियो, रु २५० निजी उपभोगमा खर्च गर्यो भने उसँग अब रु ११०० बाँकी भयो। माथि भनिएको साधारण पुनरुत्पादनको क्रममा उसँग हरेक नयाँ चरणको लगानीका लागि रु १००० मात्रै हुन्थ्यो भने अब पहिलेको रु १००० मा १०० थपियो। अर्थात्, पहिलो वर्ष रु १०० (१० प्रतिशत) बढी नाफा भयो । अब हरेक वर्षको नाफामा १० प्रतिशत नाफा जोडिँदै जान्छ र पाँच वर्षको अन्त्यमा उसँग जम्मा रु १६१० हुन्छ । यसरी पाँच वर्षमा उसले आफ्नो शुरुको लगानी (रु १०००) व्यवसायबाट झिकेर पनि अब त्यही व्यवसायबाट आर्जन गरेको पुँजी रु ६१० रहन्छ । यस्तो प्रक्रियालाई मार्क्सले बिस्तारित पुनरुत्पादन भनेका छन् ।

    ख.औद्योगिक पुँजी

    मार्क्सको विश्लेषणअनुसार औद्योगिक पुँजी भनेको द्रव्य पुँजी, उत्पादक पुँजी र माल पुँजीको समष्टी हो। यो द्रव्य पुँजी, उत्पादक पुँजी र माल पुँजीको निरन्तर चलिरहने चक्रका रुपमा रहन्छ। कुनै पुँजीपतिसँग रहेको द्रव्य उसले नाफा कमाउने उद्देश्यले कच्चा पदार्थ र श्रमशक्तिको खरिदमा लगाउँछ भने त्यो लगानी द्रव्य पुँजी हुन्छ । त्यसपछि त्यो लगानी उत्पादन प्रक्रियामा रहन्छ जसलाई मार्क्स उत्पादक पुँजी भन्छन्। उत्पादन प्रक्रियाको अन्त्यमा पुँजीपतिको लगानी मालका रुपमा तयार हुन्छ, त्यो माल पुँजी हो। माल बिक्री गरेपछि पुँजीपतिले फेरि द्रव्य नै प्राप्त गर्छ । यसरी प्राप्त हुने द्रव्य पहिलेको द्रव्य पुँजीभन्दा बढी हुन्छ । उत्पादनको प्रक्रियामा पुँजी यसरी हिँड्छ र विभिन्न परिचय धारण गर्छ, जारी रहन्छ। यसलाई उदाहरणका साथ छलफल गरौँ:

    हाम्रो अध्ययनका लागि द्र : द्रव्य, मा : माल, श्र : श्रम, उ सा : उत्पादनका साधन, उ : उत्पादन हुन् ।
    यस हिसाबले औद्योगिक पुँजी निर्माणको बाटो र प्रक्रिया यस्तो हुन्छ:

    द्र –मा <श्र उ सा ….उ.. माΔ – द्रΔ

    अर्थात् औद्योगिक पुँजीको मूलबाटो तीनवटा चरणबाट गुज्रिन्छ:
    पहिलो चरणमा पुँजीपति खरिदारका रुपमा माल किन्नका लागि बजारमा जान्छ, उसको द्रव्य मालमा बदलिन्छ (द्र– मा), यो द्रव्य पुँजीको हो ।
    दोश्रो चरणमा पुँजीपतिले श्रम बजारबाट श्रमशक्ति र माल बजारबाट उत्पादनका साधन किन्छ र उत्पादनमा लगाउँछ, (मा <श्र उ सा ….उ.. ) यो उत्पादक पुँजीको चरण हो, र तेश्रो चरणमा पुँजीपति फेरि बजारमा जान्छ तर अहिले बिक्रेताका रुपमा जान्छ, (माΔ – द्रΔ) यो माल पुँजीको चरण हो।

    पुँजीका यी प्रत्येक चरणका हिसाबले तिनीहरुको आआफ्नै चक्र हुन्छ । जस्तै द्रव्य पुँजीलाई पुँजीको परिचलनको आरम्भ मान्ने हो भने त्यो द्र –मा ?श्र, उ सा ….उ.. माΔ – द्रΔ हुन्छ । द्रव्य पुँजी उत्पादक पुँजी र माल पुँजीका रुपमा रुपान्तरित भएर फेरि द्रव्य मै रुपान्तरित हुनु नै द्रव्य पुँजीको बाटो हो । द्रव्य पुँजी पहिलेभन्दा बढी भएर आउनका लागि उत्पादक र माल पुँजीका रुपमा परिवर्तित हुँदै आउनु पर्छ । उत्पादक पुँजीका रुपमा पनि पुँजीको चक्र उ…मा–द्र– …उ हुन्छ अर्थात् उ बाट शुरु हुन्छ र उ मै अन्त्य हुन्छ। </strong> किनकि उत्पादक पुँजीले आफुलाई माल र द्रव्यका रुपमा परिवर्तित गरेर मात्रै अझ बढी उत्पादनको लागि आफुलाई तयार गर्छ । त्यही कुरा माल पुँजीमा पनि लागु हुन्छ अर्थात् द्रव्य र उत्पादक पुँजीका रुपमा मालले आफुलाई रुपान्तरण गरेपछि बढी मालका रुपमा आफुलाई अगाडि ल्याउँछ ।

    पुँजीका तीनवटा चरण वा रुप (द्रव्यरुप, उत्पादक र मालरुप) मध्ये द्रव्य पुँजीको मालमा रुपान्तरण वा माल पुँजीको द्रव्य पुँजीमा रुपान्तरण हुँदा तिनीहरुको रुपमा मात्रै परिवर्तन हुन्छ । जस्तै द्रव्य मालमा फेरिनु र माल द्रव्यमा फेरिनु तिनीहरुको विनिमय मात्रै हो । तर उत्पादक पुँजीको चरण भने ती दुवैभन्दा फरक छ । यस चरणमा उत्पादनका साधन र श्रमशक्तिको संसर्गबाट पहिलेभन्दा बढी माल उत्पादन हुन्छ । त्यही बढी माल बढी द्रव्यका रुपमा बिक्री हुन्छ । सङ्क्षेपमा भन्ने हो भने मूल्य उत्पादनको वास्तविक चरण यहि हो । यदि श्रमशक्ति स्वयं मालका रुपमा उपभुक्त हुँदैनथ्यो भने बढी मालका रुपमा देखा पर्दैनथ्यो । बढी माल नभएपछि बढी द्रव्यको कुरै हुँदैनथ्यो र पुँजी उत्पादनको कुरै हुँदैनथ्यो । त्यस हिसाबले यो चरण नै वास्तविक पुँजी उत्पादनको चरण हो । तर बुझ्नु पर्ने कुरा के हो भने उत्पादक पुँजीको चरण सार्थक हुनका लागि त्यसले माल र द्रव्य पुँजीको रुपमा भ्रमण गर्नै पर्छ । उत्पादक पुँजीको रुप लिनुभन्दा पहिले द्रव्यका रुपमा पुँजीले उत्पादनका साधन र श्रमशक्तिको खरिद गर्नु पर्छ। जब मालका रुपमा तयार हुन्छ त्यसले फेरि द्रव्य पुँजीका रुपमा रुपान्तरित हुनु पर्छ र फेरि अर्को चरणको उत्पादन शुरु हुन्छ । यसरी हेर्दा द्रव्य पुँजी र माल पुँजीका रुपमा पुँजीको गति भ्रमण वा यात्राका रुपमा हुन्छ। अर्थात् पुँजी परिचलनको बाटोबाट तिनीहरु गुज्रिन्छन्, हिँड्छन् मात्रै । तर उत्पादक पुँजीका रुपमा मूल्यले आफैलाई बिस्तार गर्छ, आत्म बिस्तार हुन्छ अर्थात् वास्तविक पुँजीको बिस्तार हुन्छ ।

    झट्ट हेर्दा पहिलेभन्दा बढी नाफाका रुपमा बढी द्रव्य आएको देखिन्छ र के भ्रम पर्छ भने द्रव्य स्वयं नै बढेर आउँछ। त्यस्तै माल पुँजी पनि बढेको देखिन्छ । तर माल पुँजीका रुपमा हामीसँग जुन उपयोग मूल्य हुन्छ द्रव्यका रुपमा त्यही नै विनिमय मूल्य हो । माललाई द्रव्यमा विनिमय गर्दा वा द्रव्यलाई मालमा विनिमय गर्दा त्यसमा कुनै नयाँ चीज थपिएको हुँदैन । यदि थपिएर आउँछ भने त्यो उत्पादक पुँजीको चरणमा मात्रै थपिएर आउँछ । त्यस्तै द्रव्य पुँजी जब मालका रुपमा देखा पर्छ त्यसबेला उत्पादनका साधन र श्रमशक्तिका रुपमा द्रव्यको रुपान्तरण मात्रै हुन्छ। त्यो आफैमा मूल्यको बिस्तार होइन । संक्षेपमा, मूल्यको बिस्तार केवल उत्पादक पुँजीको चरणमा हुन्छ जहाँ श्रमशक्ति माल मूल्यका रुपमा वा उपयोग मूल्यका रुपमा थपिन्छ र द्रव्य पुँजीका रुपमा विनिमयका लागि बजार जान्छ । यसरी मूल्यले आफैलाई बिस्तार गर्ने चरित्र भएको हुँदा उत्पादक पुँजीको चरण नै पुँजी निर्माणको वास्तविक चरण हो ।

    श्रमशक्ति मालमा रुपान्तरण हुने क्षण उत्पादन प्रक्रियामा सबैभन्दा महत्वपूर्ण क्षण हो । यस हिसाबले पुँजीवादी उत्पादनको सार उत्पादक पुँजीको चरण हो । किनकि यस प्रक्रियामा मात्रै श्रमिकको श्रमबाट अतिरिक्त मूल्यको सिर्जना हुन्छ र पुँजी निर्माणको बृद्धिको ग्यारण्टी हुन्छ । श्रमिकको श्रमशक्ति र उत्पादनका साधनको संसर्गले मूल्य जन्मिने भौतिक अवस्था बन्छ, श्रम सार्थक बन्ने परिस्थिति बन्छ। 

    श्रमशक्ति मालमा रुपान्तरण हुने क्षण उत्पादन प्रक्रियामा सबैभन्दा महत्वपूर्ण क्षण हो । यस हिसाबले पुँजीवादी उत्पादनको सार उत्पादक पुँजीको चरण हो । किनकि यस प्रक्रियामा मात्रै श्रमिकको श्रमबाट अतिरिक्त मूल्यको सिर्जना हुन्छ र पुँजी निर्माणको बृद्धिको ग्यारण्टी हुन्छ । श्रमिकको श्रमशक्ति र उत्पादनका साधनको संसर्गले मूल्य जन्मिने भौतिक अवस्था बन्छ, श्रम सार्थक बन्ने परिस्थिति बन्छ। तात्विक रुपमा हेर्दा श्रमिक र पुँजीपति दुवै मालिक नै हुन् । श्रमिक श्रमशक्तिको मालिक हो भने र पुँजीपति उत्पादनका साधनको मालिक हो । तर पुँजीपति उत्पादनका साधनको मालिक हुने र उत्पादनका साधन विना श्रमशक्ति सार्थक नहुने हुुँदा उत्पादनका साधानको अभावमा श्रमिक आफ्नै मालसँग वियुक्त हुन्छ, अलगावमा रहन्छ । अर्को शब्दमा भन्ने हो भने श्रमिक स्वयं श्रमशक्तिका रुपमा मालको मालिक हो तर श्रम शक्तिका रुपमा उसको माल (श्रम) सार्थक हुनका लागि ऊ स्वयं श्रमको विक्रेताका रुपमा पुँजीपतिलाई आफ्नो श्रम बेच्नु पर्छ, पुँजीपतिको उत्पादनका साधनमा श्रम लगाउनु पर्छ। त्यसरी श्रमिक नै बेशी मूल्यको श्रोत हुनका लागि जुन भौतिक परिस्थिति आवश्यक पर्छ उत्पादनका साधनले त्यस परिस्थितिको निर्माण गर्छ । त्यस्तो भौतिक परिस्थिति भनेको श्रमशक्तिको खरिदकर्ता र विक्रेता (श्रमिक) भेट हुने परिस्थिति हो। यसरी श्रमशक्तिको क्रेता र विक्रेताका रुपमा क्रमशः पुँजीपति र मजदुर वर्ग सहअस्तित्वमा आउँछन्।

    पुँजीको अनुत्पादक वा दलाल चरित्र

    माथि भनिएझैँ, मार्क्सले औद्योगिक पुँजीका तीन चरणको व्याख्या गरे । त्यस अनुसार एउटालाई उनले द्रव्य पुँजी भने, दोश्रोलाई उत्पादक पुँजी भने र तेश्रोलाई माल पुँजी भने । उनले दोश्रोलाई उत्पादक पुँजी भन्नुको कारण के थियो भने त्यो चरणनै वास्तविक पुँजी उत्पादनको चरण हुन्छ। पहिलो र दोश्रो चरणमा पुँजी डुल्छ मात्रै, त्यहाँ केही पनि थपिन्न । तर ती दुई चरणले पुँजीलाई उत्पादक बन्ने अवस्था तयार गर्छन् त्यसैले ती दुई चरण पनि पुँजीको उत्पादनका लागि आवश्यक चरण हुन्, औद्योगिक पुँजीका आवश्यक सहयोगी चरण हुन् भन्ने उनको व्याख्या थियो। किनकि, मार्क्स व्याख्या गर्छन्, उत्पादक पुँजी पनि द्रव्य र माल पुँजीको बाटो भएरै अगाडि बढ्छ । यसैलाई उदाहरणका रुपमा हेरौँ, यदि द्रव्यलाई मालमा रुपान्तरण गरेर त्यो माललाई फेरि द्रव्यमा रुपान्तरण गर्ने कुनै माल व्यापारी छ भने त्यस व्यापारीले लगाउने पुँजी कुनै न कुनै औद्योगिक पुँजीपति कहाँ पुगेर उत्पादक पुँजी बन्नेछ । त्यस्तै द्रव्यलाई ब्याजमा लगाएर बढी द्रव्य प्राप्त गर्ने कुनै ऋणदाता छ भने उसले दिएको द्रव्य पनि कुनै न कुनै पुँजीपति कहाँ पुगेर उत्पादक पुँजीको रुप धारण गर्नेछ । त्यस अर्थमा व्यापारिक पुँजी वा ब्याजी पुँजी पनि उत्पादक पुँजीको सहयोगी नै हुन्छन् भन्ने मार्क्सको व्याख्या हो । सङ्क्षेपमा, पुँजीको चरित्र नै अनुत्पादक बन्छ भन्ने बारेमा मार्क्सले चर्चा गरेनन् तर अनुत्पादक चरण हुन्छ भन्ने व्याख्या गरे।

    पुँजीको केन्द्रिकरण, अझ खासगरी ब्याङ्क पुँजी र औद्योगिक पुँजीको सम्मिलनले वित्तिय पुँजीको विकास हुन्छ भन्ने विषयमा अष्ट्रियाली–जर्मन अर्थशास्त्री रुडोल्फ हिल्फर्डिङ्ले विषद व्याख्या गरे ( हिल्फर्डिङ्, वित्तिय पुँजी: पुँजीवादी विकासको अन्तिम अवस्थाको एक अध्ययन) । उनले त्यस्तो एकाधिकारी साम्राज्यवादी पुँजीले अन्य साना पुँजीमाथि कस्तो प्रभाव पार्छ भन्ने विषयमा गरेको शोधलाई आधार बनाएर लेनिनले तात्कालिन पुँजीवादको युद्धोन्मादी चरित्रको चरित्रको चर्चा गर्दै त्यसले कसरी युद्ध निम्त्याउँछ भन्ने विषयमा जोड दिए। सङ्क्षेपमा, एकाधिकारको लागि लुछाचुँडी साम्राज्यवादको मुख्य चरित्र हो भन्ने कुरामा उनको जोड थियो (लेनिन, साम्राज्यवाद: पुँजीवादको चरम अवस्था)। तर पुँजी स्वयंको चरित्र खास अवस्थामा उत्पादकभन्दा अनुत्पादक हुन सक्छ भन्ने विषयमा लेनिनसमेत प्रवेश गरेनन्, बरु उक्त निष्कर्षमा चीनियाँ कम्युनिष्टहरु नै छिटो पुगे।

    माओले दलाल पुँजीपतिलाई एउटा प्रतिक्रियावादी वर्गको रुपमा उल्लेख गरे। त्यस बेला पश्चिमका पुँजीपतिहरुले उपनिवेशहरुमा ब्यापार प्रवन्ध गर्न र आवश्यक प्रशासनिक काम गर्न आफ्ना प्रतिनिधि राख्थे । ती प्रतिनिधिहरुलाई Comprador (दलाल) भनिन्थ्यो । साम्राज्यका पक्षमा काम गर्ने विचौलियाहरु क्रमशः ती मुलुकमा ठूला व्यापारी बन्दै गए । त्यो व्यापारिक वर्गले साम्राज्यवादी बजार बिस्तार गर्न र उपनिवेशको औद्योगिकरणलाई रोक्न सघाउने भएकाले त्यस्तो पुँजीको चरित्र प्रतिक्रियावादी हुन्छ भन्ने व्याख्या माओत्सेतुङ् र चिनियाँ कम्युनिष्ट पार्टीले गरे। त्यसपछि यो अवधारणा विश्वका कम्युनिष्ट पार्टीहरुको सङ्गठन Communist International मार्फत् विश्वव्यापी भयो र कम्युनिष्ट पार्टीका दस्तावेजमा सबै खालका विदेशी लगानी वा पुँजीलाई दलाल पुँजी भन्न थालियो।

    त्यो व्यापारिक वर्गले साम्राज्यवादी बजार बिस्तार गर्न र उपनिवेशको औद्योगिकरणलाई रोक्न सघाउने भएकाले त्यस्तो पुँजीको चरित्र प्रतिक्रियावादी हुन्छ भन्ने व्याख्या माओत्सेतुङ् र चिनियाँ कम्युनिष्ट पार्टीले गरे । त्यसपछि यो अवधारणा विश्वका कम्युनिष्ट पार्टीहरुको सङ्गठन Communist International मार्फत् विश्वव्यापी भयो र कम्युनिष्ट पार्टीका दस्तावेजमा सबै खालका विदेशी लगानी वा पुँजीलाई दलाल पुँजी भन्न थालियो। 

    आर्थिक विकासका पछिल्ला अनुभव र अर्थशास्त्रीय अवधारणाहरुका आधारमा प्रसिद्ध राजनीतिक अर्थशास्त्री समिर अमिनले दलाल पुँजीको परिभाषा निम्नानुसार गरेका छन्: ‘पुँजीपति वर्गले आफुलाई न्यूनतम स्वतन्त्रताका साथ उत्पादक शक्तिको विकास गर्न सक्ने प्रभावशाली राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न उसले उत्पादन शक्ति अर्थात् कृषि–उद्योग सम्बन्धको राष्ट्रिय पुनरुत्पादन र पुँजी सङ्कलनको परिपथमा नियन्त्रण गर्नै पर्छ, यदि त्यसो गर्न सक्दैन भने त्यो दलाल बन्छ र उसबाट अपेक्षा गरिएको ऐतिहासिक भूमिका पूरा हुँदैन ।’

    आउनुहोस्, मार्क्सको विश्लेषण पद्धतिकै आधारमा माओ र समिर अमिनका परिभाषामाथि छलफल गरौँ:
    वास्तविक पुँजी कुनै न कुनै रुपमा उत्पादक पुँजीको चरणबाट गुज्रिन्छ त्यसैले पुँजीको मूल चरित्र औद्योगिक हुन्छ भन्ने मार्क्सको विश्लेषण थियो भन्ने कुरा हामीलाई थाहा छ । दोश्रो, उत्पादक पुँजीको चरणमा मात्रै नयाँ मूल्य थपिन्छ अर्थात् वास्तविक उत्पादनको काम हुन्छ । तेश्रो, हामीलाई यो पनि थाहा छ कि उनले त्यो औद्योगिक पुँजी द्रव्य पुँजी, उत्पादक पुँजी र माल पुँजीका रुपमा भ्रमण गर्छ जुन चरणमा नयाँ मूल्य थपिँदैन अर्थात् त्यस चरणमा उत्पादन हुँदैन भन्ने व्याख्या गरेका छन् । यी सबैलाई एकै ठाउँमा राखेर हेर्दा हामी के निष्कर्षमा पुग्छौँ भने औद्योगिक पुँजीको मुख्य उद्भव उत्पादक पुँजीको चरणमा हुन्छ अन्य दुई चरणमा उत्पादन हुँदैन । त्यस अर्थमा व्यापारी पुँजी र व्याजी पुँजी आफैमा उत्पादक होइनन् । त्यस अर्थमा ती दुइवटा चरण उत्पादन नहुने चरण हुन्, ती चरण पुँजीको डुल्ने चरण हुन् । उत्पादक पुँजीको चरण बाहेक अन्य चरण पुँजी डुल्ने चरण भएकोले ती सबै चरणको पुँजीलाई हामीले ‘डुलुवा पुँजी’ भन्न पनि सक्छौँ ।

    पुँजीको अनुत्पादक वा ‘डुलुवा’ चरित्रलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ:

    पुँजी परिचलनका तीन चरणमध्ये पहिलो चरणमा द्र–मा हुन्छ अर्थात् द्रव्य पुँजी मालमा रुपान्तरित हुन्छ। मार्क्सले व्याख्या गरेको प्रक्रिया अनुसार उक्त माल उत्पादक प्रक्रियामा जान्छ र त्यहाँ रहुन्जेल त्यो उत्पादक पुँजीका रुपमा रहन्छ र फेरि माल पुँजीमा रुपान्तरित हुनु पर्ने हो । तर पुँजी त्यो बाटो नहिँडेर अर्कै बाटो हिँड्न सक्छ । द्रव्य पुँजीले उत्पादक पुँजीको बाटो नहिँडेर सोझै माल पुँजीको बाटो समाउन सक्छ अर्थात् द्र–मा, मा–द्र हुन्छ । पुँजीपतिले आफ्नो द्रव्यलाई मालमा रुपान्तरित गर्छ र फेरि माल बेचेर पहिलेभन्दा बढी द्रव्य प्राप्त गर्छ वा द्र लाई मालमार्फत् द्रΔ बनाउँछ। यो प्रक्रिया समग्रमा द्र –मा – द्रΔ¬ हुन्छ । माथि भनिएको पुँजीको तेश्रो चरण पनि अर्थात् मा– द्र पनि फेरि द्रΔ–माΔ हुँदै बढ्दै जान सक्छ । यो चाहिँ पहिलो चरणकै पुनरुक्ति जस्तो हुन्छ । यस्तो पुँजीलाई हामीले ब्यापारिक पुँजी भन्छौँ । जस्तो कि कुनै व्यापारीले माल खरिद गर्छ र फेरि बिक्री गर्छ । एक अवस्थामा उ क्रेता हुन्छ भने अर्को अवस्थामा विक्रेता हुन्छ । उसको पुँजीको परिचलन द्र–मा–द्रΔ हुँदै बढ्दै जान्छ । व्यापारीको कोणबाट हेर्दा यहाँ उत्पादक अवस्थामा नगैकन द्रव्य पुँजी र माल पुँजी बढीरहेको हुन्छ।

    जस्तै: कुनै व्यापारीले कुनै कारखानाबाट माल किनेर ल्यायो र उपभोक्तालाई बेच्यो र फेरि फेरि त्यही क्रम दोह¥याई रह्यो भने व्यापारीको कोणबाट हेर्दा द्र–मा– द्रΔ–माΔ हुँदै जान्छ । यसैलाई अर्को तरिकाले पनि हेर्न सकिन्छ: यदि कुनै मालको बिक्रीको श्रृङ्खला लामो छ र औद्योगिक पुँजीपतिले भन्दा ब्यापारिक पुँजीपतिले नाफा बढी लिन्छन् भने सामाजिक पुँजीको त्यो चरित्र अनुत्पादक हुन्छ । जस्तै, क ख ग घ ङ मध्ये क उत्पादक हो, ङ उपभोक्ता हो र ख ग घ चाहिँ ब्यापारी हुन् भने त्यस्तो अवस्थामा नाफाको अंश उत्पादकभन्दा व्यापारीहरु कहाँ पुग्न सक्छ । त्यस अवस्थामा सामाजिक पुँजीको बढी हिस्सा अनुत्पादक क्षेत्रमा जान्छ। त्यस्तै, द्रव्यको लगानी मात्रै गरेर (ऋण दिएर) पनि पुँजीपतिले द्र – द्रΔ बनाउन सक्छ ।

    उदाहरणका रुपमा हेरौँ:
    प्रथमतः द्रव्यको कुनै मालिक क ले अर्को मूल्य उत्पादन गर्न चाहाने व्यक्ति ख लाई ऋणका रुपमा द्रव्य दिन्छ। त्यसबाट ख ले उत्पादक प्रक्रियामा लगानी गर्छ, माल तयार गर्छ र बजारमा बिक्री गरेर द्रव्य प्राप्त गर्छ, बढी द्रव्य प्राप्त गर्छ । यसरी प्राप्त भएको बढी द्रव्यमध्ये एउटा हिस्सा आफुले राखेर क लाई ब्याज सहित भुक्तानी गर्छ । यसरी क सँग भएको द्रव्यले उत्पादन प्रक्रियामा भाग लिँदैन बरु ख कहाँ पुगेपछि मात्रै त्यो उत्पादक प्रक्रियामा जान्छ । यसरी क ले उत्पादन प्रक्रियामा नगैकन नाफा खान्छ । वस्तुतः उसले त्यो द्रव्यको कूतका रुपमा प्राप्त गर्छ। ब्याज वास्तविक नाफाको एक अंश मात्रै हो । किनकि मालको मूल्यमा ब्याजले तात्विक फरक पार्दैन बरु ती दुवैले उत्पादक र ऋणदाताले नाफा बाँडेर लिन्छन् । ब्याङ्क पुँजीले यसरी काम गर्छ।

    पुँजीलाई राष्ट्रिय सीमाभित्र राखेर छलफल गर्दा यी उदाहरणहरु अझ प्रष्ट हुन्छ । कुनै एउटा मुलुकको औद्योगिक पुँजीले अर्को मुलुकमा केवल व्यापारिक पुँजीलाई बढाउने काममा सहयोग गर्न सक्छ । खासगरी पराश्रित अर्थतन्त्र भएका मुलुकमा अर्को मुलुकको माल ल्याएर बिक्री गर्ने र नाफा गर्ने पुँजीको चरित्र त्यस्तो हुन सक्छ । विश्वव्यापी खुला बजार बनेको अहिलेको दुनियाँमा कुनै एउटा क मुलुकको उत्पादन ख ले खरिद गर्छ भने ख को उत्पादन पनि क ले खरिद गर्छ । ती दुवै मुलुकले आफ्नो मुलुकमा उत्पादन गर्ने पुँजीको चरित्र उत्पादक हुन्छ भने त्यही उत्पादनले अर्को मुलुकमा अनुत्पादक पुँजीको काम गर्छ । नेपाल र भारतीय वा नेपाल र चिनियाँ मालको बजार दुवै मुलुक बनेका छन्।

    यो अवस्थामा नेपालमा उत्पादन भएर चीनमा बिक्री हुने मालले नेपालमा उत्पादक पुँजीको भूमिका खेल्छ भने त्यही मालले चीनमा अनुत्पादक वा व्यापारीक पुँजीको काम गर्छ । यसरी एउटा मुलुकको सबै पुँजी उत्पादक र अर्को मुलुकको सबै पुँजी अनुत्पादक हुँदैन । यस्तो अवस्थामा पुँजीको चरित्रको व्याख्या गर्दा कूल सामाजिक पुँजी अर्थात् राष्ट्रिय पुँजीको मुख्य चरित्रको व्याख्या गर्नु पर्छ। यसरी हेर्दा यदि कूल पुँजी मध्ये ठूलो हिस्सा आफ्नै मुलुकमा उत्पादक पुँजीको अवस्थामा पुग्छ भने त्यो मुलुकको पुँजीको मुख्य चरित्र उत्पादक वा औद्योगिक हो भन्नु पर्छ,यदि कूल पुँजीको मुख्य हिस्सा केवल द्रव्य–माल–द्रव्यको बाटो वा द्रव्य–द्रव्यको बाटो हिँड्छ भने त्यो मुलुकको पुँजीको मुख्य चरित्र अनुत्पादक भन्नु पर्ने हुन्छ । औद्योगिक पुँजीपतिको भागमा बढी नाफा पर्न जाँदा उत्पादक शक्तिको विकास तीव्र हुन्थ्यो भने अनुत्पादक पुँजीपतिको हातमा बढी नाफा जाँदा त्यो सम्भावना हुँदैन।

    यदि कूल पुँजीको मुख्य हिस्सा केवल द्रव्य–माल–द्रव्यको बाटो वा द्रव्य–द्रव्यको बाटो हिँड्छ भने त्यो मुलुकको पुँजीको मुख्य चरित्र अनुत्पादक भन्नु पर्ने हुन्छ । औद्योगिक पुँजीपतिकोrच भागमा बढी नाफा पर्न जाँदा उत्पादक शक्तिको विकास तीव्र हुन्थ्यो भने अनुत्पादक पुँजीपतिको हातमा बढी नाफा जाँदा त्यो सम्भावना हुँदैन। 

    माओत्सेतुङ्ले उल्लेख गरेको दलाल पुँजीपतिको पुँजीले चीनमा औद्योगिक पुँजीको भन्दा अनुत्पादक वा डुलुवा पुँजीको काम गथ्र्यो, उत्पादक शक्तिको विकास गर्दैनथ्यो त्यस अर्थमा उनले गरेको व्याख्या वस्तुगत थियो । समिर अमिनको परिभाषाले लगानी कुन मुलुकबाट भयो भन्ने कुरामा भन्दा उद्योगले कृषिलाई निरन्तर औद्योगिकरण गर्छ कि गर्दैन भन्ने कुरामा ध्यान दिन्छ, यदि त्यसो गर्दैन भने त्यसको चरित्र दलाल हुन्छ भन्छ । हामीले पनि आजको अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा सबै विदेशी पुँजी दलाल भनेर दुत्कार्नु उपयुक्त हुँदैन बरु त्यसले उत्पादक शक्तिको विकास गर्छ कि गर्दैन भन्ने कुरामा ध्यान दिनु पर्छ । सङ्क्षेपमा, व्यापारी पुँजी वा ब्याजी पुँजी (ब्याङ्क पुँजी) आफैमा दलाल वा राष्ट्रिय हुँदैन बरु त्यो पुँजीले उत्पादक पुँजीलाई सहयोग गर्छ भने त्यो औद्योगिक वा उत्पादक वा उद्यमशील पुँजी हो यदि त्यसो गर्दैन भने त्यो अनुत्पादक, दलाल वा डुलुवा पुँजी हो।

    नेपालको अर्थव्यवस्था: केही तथ्य र प्रवृत्ति:

     सन् १९६५ मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ६५ प्रतिशत थियो र कृषिमा आधारित जनङ्ख्या ८१ प्रतिशत थियो । त्यसको ५० वर्षपछि २०१५ मा कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान घटेर ३३ प्रतिशतमा आउँदा कृषिमा आधारित जनसङ्ख्या केवल १५ प्रतिशतले घटेर ६६ प्रतिशतमा आएको छ।

     अर्कातिर त्यही ५० वर्षको अवधिमा कूल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान ३ प्रतिशतबाट जम्मा ६ प्रतिशत पुगेको छ । त्यो पनि गएको २५ वर्षदेखि ६ प्रतिशतमै सीमित छ । कूल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान र निर्माण क्षेत्र (खासगरी हाउजिङ्) को योगदान करिब बराबर छ (क्रमशः रु ४३ अर्ब ३२ करोड र ४१ अर्ब ६६ करोड) । अर्कातिर सेवा क्षेत्रका सबैभन्दा महत्वपूर्ण मानिएका होटल तथा रेष्टुरेण्टको जम्मा योगदान १२ अर्ब १८ करोडमात्रै छ।

     व्यापार सन्तुलनको चित्र उस्तै निराशाजनक छ । सन् १९६५ मा हाम्रो जम्मा निर्यात ४३ करोड ५० लाख रु थियो भने आयात ७८ करोड थियो अर्थात् ३४ करोड व्यापार घाटा थियो जुन जम्मा निर्यातको ७९ प्रतिशत हुन्छ । सन् १९९० मा त्यो घाटा १०६ प्रतिशत पुग्यो अर्थात् निर्यात करिब ११ अरब रु पुग्दा आयात २२ अरबभन्दा बढी भयो।

     अझ नराम्रो चित्र के छ भने त्यसपछिका २५ वर्षमा ब्यापार निर्यात करिब साढे दुइ खर्ब रुपियाँ पुग्दा आयात ८ खर्ब ८३ अर्ब पुग्यो, अर्थात् जम्मा निर्यातको २५७ प्रतिशत व्यापार घाटा पुग्यो । त्यति बढी व्यापार घाटा भएको अवस्थामा कूल गार्हस्थ उत्पादनमा व्यापारको योगदान (कूल आयात र निर्यातको योगदान) जम्मा ५३ प्रतिशत छ । यो विश्वव्यापीकरणको समयमा पनि अर्थतन्त्रमा व्यापारको यति सानो योगदान रहनु उदारवादका प्रवक्ताहरुका लागि चुनौतीको विषय हुनु पर्ने हो।

     श्रमशक्तिको पलायन जुन अनुपातमा बढ्दैछ र हाम्रो अर्थतन्त्रमा जसरी विप्रेषणको मात्रा बढ्दैछ त्यो आफैमा चिन्ताजनक छ । सन् २००९/१० देखि २०१३/१४ सम्म ५ वर्षमा बीस लाखभन्दा बढी नेपालीहरु कामका लागि विदेशिएका छन् । राष्ट्रिय जीवनस्तर सर्वेक्षणका अनुसार अहिले जम्मा ५६ प्रतिशत घरधुरीबाट एक वा बढी सदस्य वैदेशिक रोजगारीमा गएका छन् र हाम्रो राष्ट्रिय आयमा ३२ प्रतिशत भन्दा बढी विप्रेषणको योगदान छ । तर त्यसको केवल २ प्रतिशतमात्रै पुँजीगत खर्च हुने गरेको छ । अर्को निराशापूर्ण तथ्य के छ भने वैदेशिक रोजगारीमा जानेहरु मध्ये ७४ प्रतिशत अदक्ष, २५ प्रतिशत अर्धदक्ष र १ प्रतिशतमात्रै दक्ष छन्।

     अर्कातर्फ, सन्दर्भबस भन्ने हो भने, हाम्रो वरिपरि अजङ्गका परिवर्तनहरु भएका छन् । सन् १९६० मा नेपालको प्रतिव्यक्ति आय २६७ डलर हुँदा भारतको ३१७ र चीनको १८९ मात्रै थियो । त्यसको तीस वर्षपछि १९९० मा नेपालको प्रतिव्यक्ति आय ३५७ पुग्यो जबकि भारतको ५५९ र चीनको ७२६ डलर पुग्यो । सन् २०१५ मा नेपालको प्रतिव्यक्ति आय ६९० हुँदा भारत र चीनको क्रमशः १८०५ र ६४१६ डलर पुगेको थियो । यी तथ्यकै आधारमा गरिएको प्रक्षेपणअनुसार सन् २०२५ मा नेपाल १६२८ लडरमै रहँदा भारत ४२६३ र चीन १५१४५ डलर प्रतिव्यक्ति आयमा पुग्दैछन् । यसले हाम्रो र हाम्रा छिमेकीहरुको उत्पादक शक्तिको विकासको अवस्थालाई बताउँछ।

     राष्ट्रिय उत्पादनमा कृषिको योगदान निरन्तर र तीव्ररुपमा घट्नु तर कृषिमा आधारित श्रमशक्ति असाध्यै कममात्रै घट्नु; उत्पादक पुँजीको विकासको सबैभन्दा मुख्य सूचक औद्योगिक क्षेत्रको योगदान गएको ५० वर्षमा ३ प्रतिशतमात्रै बढ्नु, गएको २५ वर्षमा त्यो ज्यूँका त्यूँ रहनु; सेवाका पनि बढी उत्पादक क्षेत्रमाभन्दा अनुत्पादक क्षेत्रमै वृद्धि देखिनु; व्यापार घाटाको दर निरन्तर बढिरहनु; उत्पादक श्रम विदेशिनेक्रम बढ्दै जानु र अर्थतन्त्रमा विप्रेषणको मात्रा बढ्दै जानु तर त्यसको पनि उत्पादक खर्च नगन्य हुनुजस्ता प्रवृत्तिले हाम्रो राष्ट्रिय पुँजीको अनुत्पादक र साधारण पुनरुत्पादनमुखी (गुजारामुखी) अवस्थालाई नै बताउँछन् । माथि उल्लेख गरिएका उत्पादक र अनुत्पादक पुँजी तथा साधारण र बिस्तारित पुनरुत्पादनका सैद्धान्तिक ढाँचामा उपरोक्त तथ्याङ्कहरुलाई राखेर हाम्रो पुँजीको मुख्य चरित्र निरुपण गर्दा निम्न निष्कर्ष निस्कन्छन् ः एक, उत्पादक पुँजीको विकासको तुलनामा अनुत्पादक पुँजीको विकास भएको छ, दुई– उत्पादक पुँजीको बिस्तारित पुनरुत्पादन भएन त्यसका तुलनामा साधारण पुनरुत्पादनको दर नै कायम रह्यो ।

     उद्यमशीलताको निरन्तर विकास नगर्ने वा औद्योगिक पुँजीको विकासलाई अवरुद्ध गर्ने पुँजीलाई ‘वित्तीय पुँजी’, ‘क्रोनी पुँजीवाद’, ‘कूतखोर पुँजीवाद’ (चभलतष्भच अबउष्तबष्किm) आदि नाम दिने गरिएको छ । तर ‘वित्तिय पुँजी’ ले यसको उत्पादक शक्तिलाई क्षय गर्ने चरित्रलाई बताउँदैन । ‘क्रोनी पुँजीवाद’ ले मूलतः नातेदारी र आफन्तवादलाई जोड दिन्छ । ‘क्यासिनो पुँजीवाद’ ले अर्थतन्त्रका खासखास अवस्थामा पुँजीपतिको जुवाडे चरित्रलाई बढी चित्रण गर्छ । ‘एकाधिकार पुँजीवाद’ ले स्वामित्वको रुपमा बढी जोड दिन्छ । वस्तुतः अनुत्पादक पुँजीको श्रोत श्रमशक्तिको विकास नगर्ने पुँजी हो । त्यसैले त्यसको आधारभूत चरित्र अनुत्पादक नै हो । व्यापारमा आधारित नाफा, व्याज वा सूदमा आधारित नाफा, राजनीतिक पार्टीका आडमा नेता–कार्यकर्ताहरुले प्राप्त गर्ने सम्पत्ति, कर्मचारीले कमाउने सम्पत्ति, नातेदारीका आधारमा थुपार्ने सम्पत्ति मूलतः विचौलियाको भूमिकामा प्राप्त गर्ने नाफा हो । सम्पत्ति थुपार्ने यी सबै तरिकाहरुलाई, मार्क्सको उत्पादक पुँजीसम्बन्धी व्याख्या, चिनियाँ प्रयोगको ऐतिहासिकता र समिर अमिनको परिभाषा समेतका आधारमा नेपालको पुँजीवादलाई अनुत्पादक वा दलाल नै भन्न सकिन्छ।

     के कुरा भनिरहनु पर्दैन भने पुँजीवादको बिस्तार हुँदै जाँदा कृषिमा आधारित श्रमको मात्रा घट्दै जान्छ । पुँजीको चरित्र उत्पादक हुँदा जुन अनुपातमा कृषिश्रम विस्थापित हुँदै जान्छ त्यसै अनुपातमा औद्योगिक श्रम बढ्छ, उत्पादन बढ्छ । तर उत्पादक पुँजीको अभावमा जनसङ्ख्या विस्थापित हुँदै जान्छ तर उत्पादन बढ्दैन । जीवनको बजारीकरण जसरी दिनदिनै बढिरहेको हुन्छ त्यसलाई कृषिले थेग्न सक्दैन र जनसङ्ख्या नै विस्थापित हुनु पर्छ । वर्षभरी काम गरेर खान नपुग्ने वा मुस्किलले खानमात्रै पुग्ने भएपछि आधारभूत आवश्यकता पूरा गरेर बचत गर्ने र त्यस्तो बचतबाट पुँजी निर्माण गर्ने सम्भावना भएन । हाम्रो गरिबीलाई पनि यसरी नै हेर्नु पर्छ । परम्परागत कृषि श्रमलाई उद्यममा ल्याउन नसक्ने पुँजी दलाल हो भन्ने कुरा माथि नै चर्चा गरिएको छ । त्यसैले हाम्रो गरिबीको मुख्य कारण पनि दलाल पुँजी हो।

      दलाल पुँजी मूलतः विनिमयमा अर्थात् ब्यापारमा आधारित हुन्छ । हाम्रो जस्तो मुलुकमा यस्तो पुँजीले सस्तो श्रम र कच्चा पदार्थ निर्यात गर्छ र बनिबनाउ सामानहरु आयात गर्छ । यसरी त्यो पुँजीले हाम्रो उत्पादक शक्तिको विकासलाई कुण्ठित पार्न नै योगदान गर्छ । हाम्रो उत्पादक शक्ति जति पछौटे हुन्छ उसको जीवन यापनको अवस्था कमजोर हुन्छ त्यसरी दलाल पुँजीले श्रमलाई कृषिबाट उखेल्छ तर उद्यममा जान दिँदैन । वैदेशिक रोजगारीमा जाने हाम्रो श्रम शक्तिलाई यसरी नै हेर्नु पर्छ । त्यस्तै, हाम्रो निरन्तर बढ्दो ब्यापार घाटा र आर्थिक पराधीनताको कारण पनि दलाल पुँजीको प्रधान्यता हो भन्ने कुरा प्रष्ट छ ।

    दलाल पुँजी मूलतः विनिमयमा अर्थात् ब्यापारमा आधारित हुन्छ । हाम्रो जस्तो मुलुकमा यस्तो पुँजीले सस्तो श्रम र कच्चा पदार्थ निर्यात गर्छ र बनिबनाउ सामानहरु आयात गर्छ । यसरी त्यो पुँजीले हाम्रो उत्पादक शक्तिको विकासलाई कुण्ठित पार्न नै योगदान गर्छ ।

     बैदेशिक रोजगारीमा गएको श्रमशक्ति मूलतः उद्यमसँग गाँसिएको छ तर त्यस्तो श्रमले त्यहीँकै उत्पादक शक्तिको विकासमा जति योगदान गर्छ त्यति यहाँको उत्पादक शक्तिको विकासमा गर्दैन, अतिरिक्त नाफा त्यही मुलुकमा रहन्छ । किनकि उत्पादक शक्तिको विकासका दौरानमा श्रमिकले अरु बढी श्रमिक, पुँजीले बढी पुँजी र उद्यमले अरु उद्यम जन्माउँदै जान्छ । वैदेशिक रोजगारीमा गएको हाम्रो श्रमशक्तिले त्यहीँको श्रम, पुँजी र उद्यमको विकासमा सघाउँछ । त्यस्तै, हाम्रो सस्तो कच्चा पदार्थले पनि उतैको उत्पादक शक्तिको विकासमा सहयोग गर्छ।

     दलाल पुँजीको विकासले मानिसलाई परम्परागत कृषिबाट उखेल्छ, पुराना सामाजिक सम्बन्धहरुबाट पनि स्वतन्त्र बनाउँछ । तर त्यो श्रमशक्ति उद्यममा जान नपाएपछि राजनीतिक अस्थिरताका लागि कारण बन्छ । हामीले २०४६ सालको क्रान्ति, काङ्ग्रेस, एमाले र माओवादीको राजनीतिक उतार–चढाव र अहिलेको गणतन्त्रलाई समेत यो अर्थराजनीतिक सन्दर्भमा हेर्नु पर्छ।

     लामो समयदेखि दलाल पुँजीको उत्पादन–पुनरुत्पादनले राज्यलाई र क्रमशः समाजलाई पनि प्रभावित पार्दै लान्छ र दलाल अर्थराजनीतिक सामाजिक परिस्थिति बन्दै जान्छ । चुनावमा टिकट पाउने–जित्ने, कर्मचारीतन्त्रको सञ्चालन, संवैधानिक निकायहरुमा नियुक्ति, ऐन–कानूनहरुको निर्माण आदिद्वारा राज्य नै दलाल पुँजीको प्रभावमा पर्दै जान्छ र त्यो क्रमशः समाजको साँस्कृतिक तथा मनोवैज्ञानिक क्षेत्रमा सर्दै जान्छ । अहिले हाम्रो परिस्थितिलाई पनि यसरी नै हेर्नु वस्तुगत हुनेछ।

    नयाँ जनवाद, जनताको बहुदलीय जनवाद, जनताको प्रजातन्त्र, राष्ट्रिय पुँजीको विकास, समाजवाद वा वैज्ञानिक समाजवाद वा समृद्धिजस्ता उद्देश्य भएका पार्टी, नेता वा बुद्धिजीवीहरुले नेपाली अर्थव्यवस्थालाई कसरी साधारण पुनरुत्पादनबाट कसरी बिस्तारित पुनरुत्पादनमा लैजाने हो ? त्यसका लागि अहिलेको अनुत्पादक वा दलाल पुँजीको समस्यालाई कसरी समाधान गर्ने हो ? त्यसका लागि अहिलेका सिद्धान्त, सङ्गठन र सङ्घर्षका रुपहरु कस्तो हुनु पर्छ ? उत्पादनका क्षेत्रमा हाम्रै छिमेकमा घटिरहेका विश्व ऐतिहासिक घटना र त्यसले बनेको वर्तमान भूअर्थ–राजनीतिक परिस्थितिलाई ती पार्टीहरुले कसरी सम्बोधन गर्ने हो ? जस्ता प्रश्नहरुको वस्तुगत उत्तर दिनु पर्छ।

     तर यसको अर्थ हाम्रो अर्थतन्त्रको सम्पूर्ण चरित्र दलाल हो भन्ने होइन। अहिले केही क्षेत्रमा भएको व्यवसायिक कृषि, धर्मराएकै भए पनि औद्योगिक क्षेत्र , पर्यटन, उर्जा आदि क्षेत्रमा भएको पुँजी अर्थात् जुन पुँजीले उत्पादक शक्तिको विकास गर्छ त्यस्तो पुँजी राष्ट्रिय पुँजी, उत्पादक पुँजी हो । कुरा कतिमात्रै हो भने उत्पादक वा राष्ट्रिय पुँजी कमजोर छ दलाल पुँजी बलियो छ।

     अन्त्यमा,
    नयाँ जनवाद, जनताको बहुदलीय जनवाद, जनताको प्रजातन्त्र, राष्ट्रिय पुँजीको विकास, समाजवाद वा वैज्ञानिक समाजवाद वा समृद्धिजस्ता उद्देश्य भएका पार्टी, नेता वा बुद्धिजीवीहरुले नेपाली अर्थव्यवस्थालाई कसरी साधारण पुनरुत्पादनबाट कसरी बिस्तारित पुनरुत्पादनमा लैजाने हो ? त्यसका लागि अहिलेको अनुत्पादक वा दलाल पुँजीको समस्यालाई कसरी समाधान गर्ने हो ? त्यसका लागि अहिलेका सिद्धान्त, सङ्गठन र सङ्घर्षका रुपहरु कस्तो हुनु पर्छ ? उत्पादनका क्षेत्रमा हाम्रै छिमेकमा घटिरहेका विश्व ऐतिहासिक घटना र त्यसले बनेको वर्तमान भूअर्थ–राजनीतिक परिस्थितिलाई ती पार्टीहरुले कसरी सम्बोधन गर्ने हो ? जस्ता प्रश्नहरुको वस्तुगत उत्तर दिनु पर्छ। ती प्रश्नको वस्तुगत उत्तर बिना खोलिने पार्टी र गरिने गतिविधिले केवल सामाजिक शक्तिको क्षतिलाई बढाउँछन् । अर्कोतिर, ती प्रश्नको वस्तुगत उत्तर खोज्ने सार्थक प्रयत्न गर्ने हो भने नेपालमा एकिकृत कम्युनिष्ट पार्टीको निर्माण र समाजवादका लागि सार्थक योगदानका असाधारण सम्भावना छन्।

     फेरि अन्त्यमा, मार्क्सको एउटा उक्ति:
    …अतीत सम्बन्धी आफ्ना सम्पूर्ण अन्धविश्वासबाट मुक्त नहुँदासम्म क्रान्ति स्वयं शुरु हुन सक्दैन …पहिलेका क्रान्तिमा नारा अघि–अघि र अन्तरवस्तु पछि–पछि हुन्थे, आजको क्रान्तिमा अन्तरवस्तु अघि–अघि र नारा पछि–पछि हुन्छन्…
    –कार्ल मार्क्स

    (‘नेपाल अध्ययन केन्द्र’द्वारा प्रकाशित पुस्तक ‘नेपाल: पुँजीवाद र विकास’मा समाहित मुख्य आलेख।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.