पार्टीभित्र लामो उतारचढावपछि अन्ततः नेकपा एमाले विभाजित भएको छ। नेता माधवकुमार नेपालले नेकपा (एकिकृत समाजवादी) गठन गरेपछि दुई समूहबीच अहिले एकअर्कामा आरोप–प्रत्यारोप चलिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीले पुष ५ मा पहिलोपटक संसद विघटन गरेदेखि नै नेपाल समूहमा रहेर संघर्ष गर्दै आएको एउटा पंक्ति भने विभाजनमा नगएपछि यो समूहलाई विभिन्न आरोपहरू लगाइएका छन्। तर यो समूह भने अहिलेपनि पार्टी एकताको प्रयास भइरहेको दावी गरिरहेको छ। यसै सन्दर्भमा नेकपा एमालेका नेता ठाकुर गैरेसँग प्रकाश अजातले गरेको कुराकानी :
तपाईंहरूका अनेकौं प्रयासका बावजुद् नेकपा एमाले टुक्रिएको छ। यसमा को जिम्मेवार छ ?
नेकपा एमाले औपचारिक हिसाबले विभाजित भएको छ। हामीले विभाजन रोक्नका लागि गरेका सबै प्रयत्नहरु असफल भयो र अन्ततः पार्टी विभाजनसम्म पुग्यो। पार्टीभित्रको अन्तरसंघर्षलाई वैधानिक, राजनीतिक र दार्शनिक हिसाबले समाधान गर्न नसक्नु वा त्यसलाई पार्टीको वैचारिक अथवा औपचारिक ढंगले व्यवस्थित गर्ने विषयमा उचित ध्यान नपुग्नु नै पार्टी विभाजनको मुख्य कारण हो।
अन्तर्संघर्षकाबीच चुनाव वा शान्तिपूर्ण प्रतिश्पर्धाको माध्यमबाट कम्युनिष्ट पार्टी करिब दुई तिहाई बहुमतमा आइपुग्ने कुरा संसारमा विरलै हुने घटना मध्ये एउटा हो। कम्युनिष्ट पार्टीको यो सफलता संसारका प्रतिक्रियावादी शक्ति, साम्राज्यवादी शक्ति र दलाल पुँजीवादी प्रवृत्तिका लागि अत्यन्त चुनौतीको विषय बनेको थियो।
त्यसकारण स्वभाविक रुपले नेकपाले प्राप्त गरेको सफलतालाई ५ वर्ष टिक्न नदिनका लागि र यसलाई असफल सावित गर्नका लागि उनीहरुले भरमग्धुर प्रयत्न गर्नु र त्यसका लागि अवसर खोज्नुका साथै उनीहरू यो परिस्थितिको पर्खाईमा थिए। दुर्भाग्य ! हामीले पार्टी विचारको प्रधानता, विधान, संस्थागत र सामूहिकताबाट चल्नुपर्ने कुरालाई हामीले व्यवस्थित गर्न सकेनौं, जसले गर्दा हाम्रो घर झगडाभित्र ती प्रतिक्रियावादी शक्ति, साम्राज्यवादी शक्ति र दलाल पुँजीवादी प्रवृत्तिले खेल्ने अवसर पाए भन्ने अर्थमा म बुझ्छु।
आफ्नो आन्तरिक कमजोरी चाहिँ पार्टी फुट्नुको कारण होइन? पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारणले नै यो परिस्थिति आएको होइन र?
गत फागुन २३ गतेको अदालतको फैसलापछि अब नेकपा एमाले पुनर्जिर्वित भयो र हामी एमालेमा रहेर काम गर्ने भन्ने हामी सबैको अपेक्षा थियो। त्यसअघि अलग–अलग धारमा उभिएकाहरू पनि एमालेमा रहेर अघि बढ्ने कुरा सबैले गरेकै थिए। तपाईलाई स्मरण छ कि कमरेड माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरू फागुन २३ गतेको फैसलापछि २४ गते पेरिसडाँडामा पूर्व माओवादीका नेतासँग हात मिलाएर अब आ–आफ्नो पार्टी बनाऔँ भनेर फर्किका हुन्।
हामी एमालेमा रहेर अब एमालेको विधान अनुसार चल्ने परिस्थिति बनिसकेको थियो। तर विडम्बना ! फागुन २८ गते बेलुका एउटा वक्तव्य सार्वजनिक भयो र त्यो वक्तव्यबाट नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसेको र त्यसले आयोजक कमिटी बनाएको, पदाधिकारी खारेज गरेको र विधान संशोधन गरेको लगायत निर्णय भएको जानकारी गरायो। त्यस निर्णयले २३ गतेको फैसलापछि एक ठाउँ रहेर क्रियाशील हुने उद्देश्यका साथ केन्द्रीय कमिटीको प्रतिक्षामा रहेका हामी सबैलाई निराश बनायो र सबैलाई पुरानै पोजिसनमा फर्किन बाध्य पा-यो।
पार्टीभित्रको हाम्रो अन्तरसंघर्ष विभाजनका लागि होइन, न यो नेकपा एमालेका विरुद्ध नै हो। यो त नेकपा एमालेलाई विचार प्रधान र विधिसम्मत् बनाउन तथा नेकपा एमालेलाई संस्थागत र समूहिक नेतृत्वमा चल्ने पार्टीको रुपमा स्थापित गर्नका लागि नै थियो।
तर यो बीचमा विकसित भएका अरु घटनाहरूले हामीभित्रको एउटा टिमलाई विभाजन रोज्न बाध्य बनायो। र, विभाजनको पक्षमा नरहेको अर्को एउटा पंक्ति अहिले १० बुंदे सहमतिमा रहेर एकताबद्ध गर्ने परिस्थितिमा आइपुगेका छौँ। तर यही बीचमा एउटा दुःखद घटना भयो, एमाले विभाजन भयो। यसको अर्थ अब कहिले पनि एकता हुँदैन भन्ने चाहिँ होइन, फेरि एकताबद्ध कम्युनिष्ट पार्टी बनाउन हामी नयाँ शिराबाट लाग्नुपर्छ।
तपाईंहरु १० बुँदेलाई आधार मानेर एक हुनुपर्छ भनेर भनिरहनुभएको छ। जो विभाजनमा जानुभएको छ उहाँलाई पनि त्यही सहमतिमा टेकेर एकतामा आउन भनिरहनुभएको छ। तर उहाँहरूले त तपाईंहरूलाई अवसरवादी र मध्यपन्थी भएको आरोप लगाइरहेका छन् नि?
उहाँहरूले सार्वजनिक रुपमा व्यक्तिलाई किटान् गरेर वा कुनै तरिकाले जे बोल्नुभएको छ, त्यसतर्फ जान चाहन्नँ। जुन दिन औपचारिक रुपले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुग्यो। त्यसको ठिक एक हप्ता अगाडि बसेको केन्द्रीय कमिटीको बैठक, त्यसको अघिल्लो दिनको स्थायी कमिटी, र त्यही बीचमा केन्द्रीय कमिटीको वक्तव्य सार्वजनिक गर्नुभन्दा पहिला बसेको स्थयी कमिटी बैठकको औपचारिक निर्णय विभाजनमा जाने भन्ने थिएन। ती त्यो बैठकको निर्णय १० बुंदेलाई आधार बनाएर एकतामै जानुपर्छ भन्ने थियो।
त्यो बैठकको अध्यक्षता स्वयम् माधवकुमार नेपालले गर्नुभएको थियो र अहिले अर्को पार्टी निर्माणको अभियानमा लाग्नुभएका सबै नेताहरू त्यसमा उपस्थित हुनुहुन्थ्यो। अब त्यो निर्णयलाई ठिक भन्ने वा कसैले अन्तरवार्तामा भनेको कुरालाई ठिक भन्ने? यदि मलाई सोध्नुहुन्छ भने म बैठकको निर्णयलाई नै मान्छु।
त्यसो भए उहाँहरु अचानक विभाजन भएर नयाँ पार्टी बनाउनका लागि किन बाध्य हुनुभयो? अध्यक्षको दबाबले गर्दा वा अरु कुनै कारण छन् ?
कारण म बताउन सक्दिनँ, तर म यति भन्छु कि केन्द्रीय कमिटीको निर्णय विभाजन थिएन। पार्टी दर्ता गर्ने दिन बिहान र त्यो भन्दा अघिल्लो दिन समेत हामी ३६/३७ जना केन्द्रीय कमिटी सदस्य र सांसदहरूले कमरेड माधवकुमार नेपाललाई बोलाएर सामूहिक रुपले भनेका थियौँ कि तपाईंले विष पिएर पनि पार्टी विभाजन रोक्नु पर्छ र एकतामा सामेल हुनुपर्छ। किनकि १० बुंदे सहमती माधव कमरेडको सहमतिमा तयार भएको र सहमति मै हस्ताक्षर भएको प्रतिवेदन हो।
तपाईंहरूलाई मध्यपन्थीका रूपमा चित्रण गरिएको छ, के तपाईहरू सूर्य चिन्ह हेरेर अथवा भोली चुनावमा हारिएला कि भन्ने डरले मात्रै एमालेमै रहनुभएको हो ?
अहिले व्यक्तिगत रूपले मन परेन भन्दैमा आफूले गरेको विभाजन सही हो भन्ने कुरा नै उपयुक्त थियो भन्ने पुष्टी गर्ने उद्देश्यले केही शब्द प्रयोग गर्ने एउटा पक्ष होला। म त्यसको टिप्पणी गर्न चाहन्नँ। हामी एकताको पक्षमा खडा हुनुमा महत्वपूर्ण कारणहरू छन्। नेपालमा कम्युनिष्ट माथि विगत लामो समयदेखि लागेको गम्भीर आरोप थियोः कम्युनिष्टहरू फुट्न जान्दछन्, मिल्न जान्दैनन्। जब एमाले र माओवादी केन्द्रको बीचमा एकता भयो, सिंगो देशले खुशी व्यक्त गरेर भन्यो कि नेपालका कम्युनिष्ट विभाजन भएर होइन कि एकबताबद्ध भएर बस्न पनि सक्छन्।
वास्तवमा यो एकताले सकरात्मक सन्देश दिएको थियो। हामीले त्यसैको आधारमा साझा घोषणापत्र बनायौं, साझा सउम्मेद्वार बनायौं र चुनाव जित्यौं। तर चुनावमा करिब दुई तिहाई मत प्राप्त गरिसकेपछि जनताले दिएको विश्वासलाई हामीले बचाउन सकेनौँ।
जनताले दिएको विश्वासलाई हामीले थप विश्वासमा बदल्न सकेनौँ, त्यो हाम्रो कमजोरीको पाटो हो। के यसको अर्थ एकता गर्नु गलत थियो? किमार्थ होइन। त्यसैले अहिले नेकपा एमालेभित्रको अन्तरसंघर्षलाई विभाजन हुन जान नदिने, एकताबद्ध गर्ने र नेकपा एमालेको एकता कायम राखेर निर्वाचनभन्दा पहिला पुनः माओवादी केन्द्रलाई सँगै एकता गर्नुपर्छ भन्ने हाम्रो अभियान थियो।
एकताका लागि २/४ वर्ष सँगै लाग्यौं भने पनि हामी चुनावमा सहकार्य गरेर जाने परिस्थिति बनाउनुपर्छ भन्ने दृष्टिकोण नै हामी एकतामा लाग्नुको उद्देश्य थियो। के त्यो उद्देश्य गलत हो? म फेरिपनि भन्न चाहन्छु, त्यो उद्देश्य गलत होइन। र, त्यो दिशामा जान जरुरी छ। यदि हामीले नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, अखण्डता र स्वभिमानलाई बलियो बनाउने, हाम्रो लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउने र हाम्रो संविधानको रक्षा तथा त्यसको कार्यन्वयनको सुनिश्चितता गर्ने हो भने हामी एक भएर जानैपर्छ।
यदि हामी गरी खाने वर्ग, सर्वहारा, श्रमजिवी, शोषण र उत्पीडनमा परेका जाति, जनजाति र महिलाका नाममा हेपिएकाहरूको प्रतिनिधि हौं भनेर गर्व गर्छौ भने त्यो वर्गको, त्यो समुदायको प्रतिनिधित्व गर्नेहरु विभाजित हुने कुराले उनीहरुको रक्षा र हित हुन सक्दैन।
त्यसैले कम्युनिष्ट आन्दोलनको एकता, रक्षा, यसको सदृढिकरण, यसलाई सैद्धान्तिक र वैचारिक बनाउँदै दलाल पुँजीवादकाविरुद्ध लड्दै, समाजवाद हासिल गर्ने दिशातर्फ अगाडि बढेको पार्टी निर्माण गर्ने कुराले मात्रै त्यो उद्देश्य पूरा हुन सक्छ। अहिलेको विभाजनले हाम्रो उद्देश्यलाई कमजोर बनाउँछ।
यसले त गरिखाने वर्ग तथा शोषण र उत्पीडनमा परेका मान्छेलाई कमजोर बनाएको छ र दलाल पुँजीपति वर्गलाई बलियो बनाएको छ, सम्राज्यवादीलाई उत्साहित बनाएको छ र प्रतिक्रियावादीले दिपावली गरिरहेका छन्। के यसबाट हामी सन्तुष्ट हुन सक्छौँ? किमार्थ सक्दैनौँ। त्यसकारण हामीले लिएको उद्देश्य र हामीले गरेको प्रयत्न सबैभन्दा उचित प्रयत्न थियो भन्ने मेरो दाबी हो।
तपाईंहरूमाथि अर्को पनि गम्भीर आरोप छ। अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेर संविधानमाथि नै प्रहार गर्नुभएको थियो। त्यसलाई सर्वोच्चले सच्याएपनि उहाँले भने अझै पनि आफ्नो कदमको प्रतिरक्षा नै गरिरहनुभएको छ। अहिले तपाईहरूलाई सोधिँदैछ, ‘के प्रतिगमन परास्त भयो?’ यसमा के भन्नुहुन्छ?
मैले अघि पनि भनेँ, फागुन २८ गते नेकपा एमालेको आन्तरिक जीवनमा जुन घटना भयो, त्यो गलत भयो। त्यसलाई करेक्सन गरेर २०७५ जेठ २ मा फर्किनुपर्छ भन्ने कुरा हामीले उठाएका हौँ। यो कुरामा सहमति भएको छ, त्यसलाई १० बुंदेबाट ग्यारेन्टी भएको हो। यदि हामीले २०७५ जेठ २ मा फर्किनुपर्छ भनेर उठाएको माग नै गलत हो भने तपाईंले भनेको आरोप सत्य हुन सक्ला।
अर्को कुरा, हामीले प्रतिनिधि सभा विघटन असंवैधानिक र गलत भयो भन्यौं। दुवै वटा विघटनलाई सर्वोच्च अदालतले यो संवैधानिक छैन भनेर करेक्सन गरिसक्यो। दुईवटै पक्षले सर्वोच्चको फैसला मान्छु भनेर त्यसको कार्यान्वयनमा गइसकेको अवस्था छ।
कमरेड माधव नेपालले केन्द्रीय कमिटीको तर्फबाट ६ बुंदे एकताको प्रस्तावका रुपमा उहाँले हस्ताक्षर गरेर अध्यक्षलाई पठाउनुभएको थियो। त्यो ६ बुंदे सहमति नै १० बुंदे मार्फत ग्यारेन्टी भएको छ। हामीले जे माग राख्यौँ र जे कुरा संवैधानिक कानुनी रुपले उठायौँ त्यो सर्वोच्चबाट हल भयो।
पार्टीको आन्तरिक जीवनका हिसाबले हामीले जुन ६ बुँदे समस्या उठाएका थियौँ, त्यो ६ बुँदे समस्यामाथि एउटा समझदारी भयो, १० बुँदेका रूपमा। र, त्यो समझदारी स्वयं माधव कमरेडको अनुमतिमा कार्यदलका नेताहरूले हस्ताक्षर गर्नुभयो। यति हुँदाहुँदै पनि पार्टी विभाजन गरेर अर्को पार्टी बनाउनुपर्ने कारण के हो?
संविधानमाथि जुन प्रहार भयो, उहाँले त कहिलेपनि समीक्षा वा आत्मालोचना गर्नुभएको छैन। यसका बारेमा पार्टीभित्र कहिँ छलफल गरौँ भनेर केपी शर्मा ओली तयार हुनुहुन्न भनेर उहाँहरूले भनिरहनुभएको छ नि ?
माधव कमरेडले पेश गर्नुभएको ६ बुँदेलाई पल्टाएर हेर्नुभयो भने पार्टीभित्र उत्पन्न जे समस्या छन्, यसका कारणहरू के हुन्, यो कसका कारणले भयो, के कारणले भयो भन्ने विषय उपयुक्त समयमा उपयुक्त ढंगले समीक्षा गर्न तयार हुनपर्छ भन्ने कुरा नै त्यहाँ उल्लेख छ।
१० बुँदेमाथि पनि हामीले उपयुक्त समयमा समीक्षा गर्नेछौँ भनिएको छ। त्यो समीक्षा हुन्छ, गर्नुपर्छ। कतिपय देशमा भएका ठूल्ठूला घटनाहरूको पनि तत्कालै समीक्षा भएका छैनन्। २०५४ सालमा पार्टी विभाजनको मुख्य कारण महाकाली सन्धी राष्ट्रघाति हो कि राष्ट्रवादी हो भन्ने विषयमा हामी एक भएर समीक्षा नै भएको छैन।
१० बुँदे बनाउने प्रक्रियामा फाल्गुण २३ पछि भएका सबै निर्णयहरू बदरभागी छन् भन्ने कुरा उल्लेख गरिएको छ। दोस्रो, यो बीचमा भएका यी समस्याहरूको उपयुक्त समयमा समीक्षा गरिनुपर्दछ भन्ने कुरा माग गरिएको छ। समीक्षा गर्ने कुरा १० बुँदेमा भनिएको छ। त्यसका लागि त हामी सबै एकै ठाउँमा हुनुपर्छ, अनिमात्र समीक्षा गर्न सकिन्छ। अलग अलग बसेर समीक्षा हुन्छ? नयाँ पार्टी गठन गरेर समीक्षा हुन्छ? हुँदैन।
हाम्रो यो अन्तर्संघर्ष विभाजनको उदेश्यका साथ सुरु भएको थिएन। करेक्सनको उदेश्यका साथ अन्तर्संघर्ष सुरु गरिएको थियो र अहिले पनि हाम्रो अन्र्तसंघर्ष जारी नै छ। दोस्रो कुरा, हामीले जे मागहरू उठाएका थियौँ, त्यो मागहरू १० बुँदेमा सम्बोधन भएको छ।
तेस्रो कुराचाहिँ, नयाँ पार्टी बनाइरहँदा आज हामीले अंगिकार गर्ने सिद्धान्त, विचार, राजनीति, लक्ष्य, उदेश्य र कार्यक्रम के के हुन् ?
आज नेकपा एमालेले आफ्नो नवौँ महाधिवेशनमा पास गरेर बोकेको चीजभन्दा पृथक हामीले गर्न सक्ने अवस्था छ कि छैन वा त्यो गरेर जाने हो कि होइन? जाने कहा हो? वैज्ञानिक समाजवादमा। बाटो के हो? शान्तिपूर्ण प्रतिस्पर्धा। सिद्धान्त के हो? जनताको बहुदलीय जनवाद। मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद। तस्वीरचाहिँ पुष्पलाल, मदन र मनमोेहनको एउटै फोटो बोक्ने हो।
यो उदेश्यका साथ अलगअलग पार्टीको जरुरी हो कि यहीँभित्र बसेर पश्चमगविरुद्ध साझा भिड्ने हो? यो पार्टीलाई रुपान्तरण गर्ने र बलियो बनाउने कुरा हो। यही पार्टीमा बसेर यसलाई विचारप्रधान बनाउने र रुपान्तरण गर्ने कुरा हो। पार्टीलाई संस्थागत र सामूहिक बनाउने कुरा प्रमुख हो।
यदि पार्टी २०७५ जेठ २ अगाडि पुग्ने हो भने माओवादीबाट आएका नेताहरू चाहिँ कसरी समेटिन पुगे?
त्यसका तीन पक्ष छन्। एउटा, २०७५ जेठ ३ गते बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसेर औपचारिक रूपले हामीले नेकपा एमाले नामको हाम्रो पार्टीलाई बिघटन गरेको निर्णय गर्दछौँ भनेर माइन्युटमा हस्ताक्षर गरेका थियौं। पछि अदालतले फैसलाले जेठ २ को नेकपा एमालेलाई पुनर्जीवित ग¥यो। त्यसकारण अदालतको फैसलावमोजिम नेकपा एमालेको जेठ २, २०७५ को केन्द्रिय कमिटीको बैठक बस्छ। त्यो नै नेकपा एमालेको केन्द्रीय कमिटी हो।
दोस्रोपाटो, २०७५ जेठ ३ गते नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्यो र अर्कोतर्फ नेकपा माओवादीको केन्द्रिय कमिटीको बैठक बस्यो। दुई वटैले आ–आफ्ना पार्टी कमिटीलाई विघटन गर्ने निर्णय गरेका थिए। र, माओवादी केन्द्रबाट २ सय जना, एमालेबाट पुरानो २ सय ३ र त्यसमा ३८ जना थपेर एमालेको २४१ जना गरी एकिकृत भएको पार्टी नेकपामा ४४१ जनाको केन्द्रीय कमिटी बन्ने भन्ने निर्णय भयो।
एमालेका तर्फबाट माधव कमरेड र केपी ओलीको सहमति मै ३८ जना थपिएको थियो। यो सहमति उहाँहरूले पढेर सुनाउनुभयो र हामीले तालि बजायौँ। त्यतिखेर बैठकहरू पाँच मिनेटमा सकिन्थे, पार्टी बिघटन गर्ने बैठक पनि पाँच मिनेटमा सकियो। हामीले ३८ जना मनोनित गरेर पार्टीको केन्द्रीय कमिटी सदस्य २४१ बनाएर पार्टीको विघटन गर्यौँ। र, २४१ र २०० मिसिएर फेरि हामी एउटै बैठक बसेर नेकपा बनाएको घोषणा गर्यौं। हामीले जनताको बहुदलीय जनवाद र एक्काईँसौ शताव्दीको जनवादलाई थाति राख्दै समाजवाद उन्मुख जनताको जनवादलाई कार्यक्रम भन्ने र कार्यदिशा बनाउने र अघि बढ्ने निर्णय ग-यौं।
अब आज ती थपिएका ३८ जनालाई लाई तिमीहरू केन्द्रीय कमिटीका सदस्य होइनौ भन्न त मिलेन। ती सदस्य केपी ओली र माधवकुमार नेपालकै सहमतिमा थपिएका हुन्। अब माओवादीबाट आएर नेकपा एमाले भएकालाई केन्द्रीय सदस्य हौँ भन्न सक्ने तर एमालेकै मान्छे वा हामी आफैँले थपेका मान्छेलाई तिमीहरू एमालेका मान्छे होइनौँ भन्न त नैतिक रुपले मिलेन।
पार्टी एकता प्रक्रियाको क्रममा थपिएका नेकपा एमालेका नेताहरूलाई केन्द्रीय कमिटीको रूपमा स्वीकार गर्ने भन्ने कुरा नै यो दस बुँदेको व्याख्या हो। र, यसको मूल जग भनेको जेठ २ को नेकपा एमालेको २०३ जनाको केन्द्रीय कमिटी हो। त्यसमा माओवादीबाट आएका २३ जना र एकता प्रक्रियाका क्रममा थपिएका ३८ जना नेकपा एमालेका नेताहरूसहितको २६४ जनाको केन्द्रीय कमिटी हुनेछ भन्ने कुरा यसको व्याख्या हो। हामीले अर्को पार्टीका नेतालाई हाम्रो पार्टीमा नआउनु र आएका मान्छेलाई फर्केर जाऊ भन्नु जायज हुँदैन।
१० बुँदेको अर्को स्पिरिट के हो भने हिजो नेकपा हुँदाखेरी केन्द्रीय कमिटीदेखि लिएर जिल्ला, गाउँपालिका र वडा तहसम्म कमिटीमा बसेका माओवादी केन्द्रका नेताले एमालेले बोकेर हिँडेको राजनीति बोकेर हिँड्न तयार छु भन्यो भने उसलाई ढोका थुन्ने कि सामेल गरेर जाने? उनलाई पनि समेल गरेरै जानुपर्छ। त्यसका लागि अदालतको फैसला टेकेर जानुपर्ने हुन्छ।
हिजो प्रगिमनविरोधी आन्दोलनमा जसरी प्रस्तुत हुनुभएको थियो, त्यो कारणले गर्दा ओली समूहसँग व्यक्तिगत सम्बन्धमा पनि मनमुटावको स्थिति छ, भोलि तपाईहरूलाई त्यही आधारमा ‘कर्नर’मा पारिँदैन भन्ने के ग्यारेन्टी छ ?
ग्यारेन्टी छैन। त्यस्ता उद्देश्य राख्ने मान्छेहरू पनि होलान्। हामी विभाजित हुनुहुँदैन थियो। विभाजित हुने कुरा गलत हो, अब विभाजन भएको झोंकमा एकले अर्कोलाई भए नभएको जार्गनहरू प्रयोग गरेर कसैले कसैलाई आरोपित गर्नु र त्यो आरोप प्रत्यारोपको बाटोमा हिँड्नुले कसैलाई फाइदा गर्दैन।
म त्यो बाटोमा नहिँडौँ भनेर अपिल गर्छु। स्मरण रहोस्, ५४ सालमा पार्टी विभाजन भएपछि देशभरबाट हजारौं गाडीहरु रिजर्भ गरेर नेता तथा कार्यकर्ताहरू काठमाडौं आए। टुँडिखेलमा ठूलो आमसभा भयो। त्यहाँ ‘नेपालको नम्बर १ भ्रष्टाचारी बामदेव गौतम हो’ भनेर घोषणा गरियो। त्यत्रो खर्च गरेर काठमाडौं आएका नेता कर्याकर्ताहरू फर्किने बेला निराश भए।
४ वर्ष पछि यो पार्टीको नेता फेरि बामदेव गौतम हुनुभयो। भ्रष्टाचारी घोषणा गर्ने र आरोप खेप्ने सबै एकैठाउँमा आएर हातेमालो गरे। हामी एमाले हुँदै नेकपामा आइपुग्यौं। अहिले फेरि एमालेमै छौं। फेरि कता लाग्ने हो ठेगान छैन। त्यसले गर्दा तथ्यमा आधारित नभईकन एउटाले अर्कोलाई प्रोभोक गर्ने हिसाबले र साथीहरू बीचमा सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्ने हिसाबले प्रस्तुती हुने छैन।
हामी विभाजन भएका छौँ, यो गलत भएको छ। त्यसलाई कसरी करेक्सन गर्ने भनेर फेरि हामी सही बाटोमा आउने हो भन्ने कुरा हाम्रो चिन्ता र चासोको विषय बन्नुपर्छ। त्यसका लागि हामीले मेहेनत गर्नुपर्छ। यो विभाजित भएको दुईवटा धारको मात्रै एकताको कुरा होइन। माओवादी केन्द्रसँगको एकता, अरु कम्युनिष्ट पार्टीको बीच पनि एकताको पक्षमा हामी उभिनु पर्छ।
दक्षिणपन्थी राजनीतिक विचार बोक्ने, प्रतिक्रियावादी कित्ताको विचार बोक्ने, यहाँसम्म कि नेपाली कांग्रेससँगको बामपन्थी र कम्युनिष्टसँगको सहकार्य पनि कतिदिन चल्छ? त्यसले देशको प्रगतिशील आन्दोलनलाई के फाइदा गर्छ? केही सिट जीत हारको कुरा होला, तर त्यसले हाम्रो आन्दोलनलाई के योगदान गर्छ? त्यसले क्षति मात्र गर्छ, योगदान गर्दैन।
त्यसैले फेरिपनि नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाका लागि नेकपा एमालेको एकता जरुरी थियो। अहिले हाम्रो इच्छा पूरा हुन सकेन। हाम्रो इच्छा पूरा गर्ने बाटो भनेको हाम्रो योगदान नै हो। जनआकांक्षा पूरा गर्नका लागि हाम्रो योगदान हुनुपर्छ। देशको सम्पूर्ण बामपन्थी शक्तिको एकता नै नेपालको श्रमजिवी, सर्वहारा र शोषणमा परेकाहरुको हित नै आजको आवश्यकता हो।
दलाल पुँजीवादले नेपाल र नेपालका पार्टीभित्र जसरी जरा गाडेको छ, त्यसलाई उखेलेर फाल्ने हाम्रो उद्देश्य पूरा नहुन्जेल न राष्ट्रियता बलियो हुन्छ, न लोकतन्त्र, गणतन्त्र र संविधान बलियो हुन्छ, न त हामीले वैज्ञानिक समाजवादको दिशा नै पकड्न सक्छौँ।
त्यसकारणले समाजवादको दिशामा अघि बढ्नका लागि दलाल पुँजीवादलाई विस्थापित गर्नुपर्छ। राष्ट्रिय पुँजीको विकास गर्नका लागि सामाजवादका आधार तयार गर्दै दलाल पुँजीवादको जरा उखेलेर फाल्ने अभियानमा एकताबद्ध भएर अगाडि बढौँ। म यही अपिल गर्न चाहन्छु।
भिडियोमा हेर्नुहोस् –









