Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फर्केर हेर्दा वामआन्दोलन र नेताहरु – अमिक शेरचन

कैयौँ कम्युनिष्ट नेताहरू पञ्चायती व्यवस्थामा सामेल भए, कम्युनिष्ट आन्दोलनबाट विचलित भए, पञ्चायतका विभिन्न ओहदाहरूमा बसे, तिनलाई चाहिँ केही नभन्ने तर पुष्पलाललाई चाहिँ गद्दार भन्ने?

nepal_readers nepal_readers
बैशाख २७, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मेरो जन्म म्याग्दी जिल्लाको ओखरबोटमा वि.सं. १९९९ सालमा सम्पन्न परिवारमा भएको हो। नागरिकतामा भने एक वर्ष कम छ। मेरा पुर्खा मुस्ताङ थाकखोलाको बुर्जुङकोटबाट तामा खानी चलाउने काम लिएर ओखरबोट झरेका रहेछन् र बुबा पनि त्यहीँ जन्मिनुभएको रहेछ। मेरा बुवा ००७ सालको राणाविरोधी आन्दोलनमा लाग्नुभएको थियो। म्याग्दीमा राणाकालमा कुनै पनि विद्यालय खोल्न स्वीकृति नदिएका कारणले आफ्नै क्षमता र स्रोतबाट विभिन्न ठाउँबाट शिक्षक झिकाएर आफैंले घरमा पढाउने कामको संयोजन मेरा बुबाले गर्नुभएको थियो। ००७ सालपछि बुबा आफैंले म्याग्दीमा प्राथमिक विद्यालयको स्वीकृति लिनुभएको थियो। त्यहाँ अनौपचारिक र औपचारिक दुवै शिक्षाको सुरुआत गराउने हाम्रो परिवार नै हो।

    दुनियाँमा जहाँ पनि, अझ नेपालको सन्दर्भमा छोराको चाहना बढ्ता हुन्छ। तर, छोरी नजन्मिएकाले नै मेरो परिवारमा १० छोरोका जन्म भएको हो। ११ औँ सन्तानका रुपमा बहिनीको जन्म भएपछि घरमा ठूलै उत्सव मनाइएको थियो। म तेस्रो नम्बरको छोरा हुँ।

    पढाइकै सिलसिलामा म बुटवल झरेँ। बुटवलको हाई स्कुलमा अध्ययन गर्नुअघि ००७ सालतिरै बुबाहरूले राणाविरोधी संघर्ष गर्दा राजतन्त्र जान्छ, प्रजातन्त्र आउँछ, फेरि प्रजातन्त्र पनि गएपछि समाजवाद आउँछ, त्यसले मात्र सबैको हित गर्दै सबैको सम्मान हुने कम्युनिज्म ल्याउँछ भनेको सुनेका थिएँ।

    त्यसबाट मलाई कम्युनिज्म भनेको के रहेछ भन्ने जिज्ञासा जगायो। त्यसबेला म १० वर्षजतिको थिएँ। पछि मैले यो क्रान्ति सफल नभई छोड्दैन भन्न थालेको थाहा पाएँ। त्यही सिलसिलामा रुसी क्रान्ति सफल भएको थाहा पाएको थिएँ। तसर्थ मैले बीचको अस्थायी व्यवस्थामा किन लाग्नु, जब त्यही चीज आउँछ भने त्यसैमा पो लाग्ने हो त भन्ने विचार गरेँ। त्यस्तो राम्रो सिद्धान्त कहाँ होला र त्यसलाई कसरी भेट्ने होला भन्ने चिन्ता मलाई भइरहन्थ्यो।

    मेरी आमा असाध्यै सामाजिक भावनाकी हुनुहुन्थ्यो। उहाँ तल्लो र माथिल्लो जात भन्नुहुन्नथ्यो, बरु उनीहरूको सेवा गर्न पाउँदा गौरव बोध गर्नुहुन्थ्यो। दलित जातिका महिला सुत्केरी हुँदा आमा आफैं गएर सुरक्षित सुत्केरी गराउन पहल गर्नुहुन्थ्यो। जाति हिसाबले सबैजना बराबर रहेको बुझेपछि किन व्यर्थमा विभिन्न जाति भएको होला भन्ने चिन्ता मलाई लाग्थ्यो। आमा उमादेवीको सामाजिक सेवा, बुबा बडीबहादुरको राजनीतिक चेतना र ठूलो दाइ धनबहादुरको कांग्रेसीहरूसँग सरसंगतबाट म राजनीतिर्फ आकिर्षत भएको हुँ।

    जेलमा फायर गर्ने एकदेवबारे सुनेर म प्रभावित भएँ
    म बुटवल आउँदा थाहा पाएँ – त्यहीँका शिक्षक र केही विद्यार्थी साथीहरू पार्टीमा संलग्न हुनुहुँदो रहेछ। उहाँहरूसँग हुर्कदै जाने सिलसिलामा म पार्टीप्रति आकर्षित भएँ र विद्यार्थी राजनीतिमा संलग्न भएँ। मलाई त्यहाँ स्थानीय रुपमा सरस्वती शेरचन, सूर्यलाल श्रेष्ठसँग सम्पर्क गराइयो। उहाँहरू त्यतिबेलाको कम्युनिष्ट पार्टीका नेताकै रुपमा हुनुहुन्थ्यो। उहाँहरूले मेरो विवरण लिनुभयो। यो ०१६ सालको कुरा हो। ०१७ सालमा राजा महेन्द्रले नेपाली कांग्रेसको सरकार अपदस्थ गरिसकेपछि पाल्पा जेलमा एकदेव आलेलगायत धेरै नेताहरू थुनामा पर्नुभएको थियो। कमलराज रेग्मी पनि थुनामा हुनुहुन्थ्यो तर उहाँलाई भैरहवा जेलमा राखिएको थियो।

    पाल्पा जेल पूरै कब्जा गरेर माघ महिनामा एकदेव आलेको नेतृत्वमा जेल ब्रेक भएको हो। माघे संक्रान्ति मनाउने सिलसिलामा जेलभित्रै खसी काटेर जम्मैलाई भित्र बोलाएर खुवाइएछ। बाहिर आएर सबका बन्दुक खोसियो र प्रहरीलाई जेलभित्र थुनियो। त्यसपछि बाहिर आएर एक–एक गरी कैदीलाई मुक्त गर्दै सबैलाई अगाडि राखेर फायर गर्दै हिँड्ने महान् र वीर हुनुहुन्थ्यो, एकदेव आले। उहाँको वीरताबाट म अति प्रभावित भएँ। उहाँसँगै जेलमा नरहे पनि बुटवलको माथिल्लो जंगलबाटै उहाँहरू लस्कर लागेको, फायर गर्दै हिँडेको र गोरुसिंगेको जंगलबाट भारत प्रवेश गरेको भन्ने चर्चा थियो। फायर गर्दै आएको टोलीलाई भेटिन्छ कि भनेर हामीहरू दगुर्दै गयौँ तर भेट्न सकेनौँ त्यस घटनाबाट म अझ प्रभावित भएर यही पार्टीमा लाग्नुपर्छ भनेर निष्कर्ष पुगेँ।

    पार्टी सदस्य भएपछि तुलसीलालको पत्र
    मेरो पार्टीको सदस्यता निवेदन जेल ब्रेक हुनुअघि नै परेको थियो। तर संयोगवश त्यसलगत्तै ०१७ चैतमा सदस्यता पाएँ। सूर्यलाल श्रेष्ठ, सरस्वती शेरचनहरू त्यसबेला जिल्ला तथा उत्तर गण्डक क्षत्रीय कमिटीमा हुनुहुन्थ्यो। सरस्वती शेरचन बितिसक्नुभयो भने सूर्यलाल श्रेष्ठ हुनुहुन्छ। उहाँका छोरा यशोवर्ध्दन प्रधान डाक्टर छन्। मेरा सहपाठी ज्ञानबहादुर सेन, रत्न शेरचन, रामकृष्ण श्रेष्ठ लगायत हुनुहुन्थ्यो। उहाँहरू विद्यार्थी फेडेरेसनमा अबद्ध हुनुहुन्थ्यो। म सामान्य समर्थक थिएँ। अहिलेको अखिल पछि बनेको हो।

    त्यहाँ मुख्य नेतामा रामकृष्ण शेरचन हुनुहुन्थ्यो। उहाँ पार्टीको जिल्ला कमिटीको जिम्मेवार पदमा भित्री रुपमा हुनुहुँदो रहेछ। हामीलाई थाहा थिएन। उहाँले नै संगठित हुन प्रेरित गर्नुभएको थियो।

    २०१७ सालको काण्डपछि तुलसीलाल महामन्त्री हुनुहुन्थ्यो। उहाँले मेरो सदस्यता स्वीकृत भइसकेपछि जिल्ला अन्तरगत नै काम गर्नु भनेर वनारसस्थित हेडक्वार्टरबाट लिखित जिम्मेवारी दिनुभयो। त्यसबेला मैले लुम्बिनी अन्तरगत त्यही क्षेत्रमा रहेर काम गर्नु पर्थ्यो। साथमा शक्ति लम्सालका भाइ भवानी लम्साल हुनुहुन्थ्यो। मैले लुम्बिनीमा काम गर्दा कमलराज रेग्मीको कार्यशैली र प्रखर भाषणहरू सुन्ने मौका पाएँ। त्यसले पनि प्रभावित तुल्यायो। २०१५ सालको चुनावताका उहाँका भाषणहरू निकै प्रभावशाली थिए।

    म धेरै प्रभावित भएको चाहिँ एकदेव आलेबाट हो। उहाँकै कमाण्ड अन्तरगत काम गर्न भनेर मलाई तुलसीलाल अर्थात् सूर्यले चिट्ठी लेख्नुभएको थियो। पछि मेरो घर खानतलासी गर्दा ‘कुन बाटो?’ ‘मूल बाटो’ लगायतका धेरै दस्तावेजहरू कब्जामा परे। त्यो पत्र पनि त्यसैमा परेकाले मसँग अहिले छैन।

    २०१८ सालमा म चितवन आएँ। त्यतिबेलासम्म त्यहाँ बुबा र भाइहरूले जग्गाजमिन खरिद गरिसकेका थिए। म त पढ्दै थिएँ। बुबाले ट्याक्टर किन्ने कुरा गर्नुभयो। त्यो ट्याक्टर लिएर चितवन जानुपर्‍यो भनेपछि म चितवन गएको हुँ।

    चितवनबाट प्रवास
    ०१७ सालको ‘कु’पछि २०१८ सालमा नेपाली कांग्रेसले सशत्र संघर्ष आह्वान गर्‍यो र सबैभन्दा पहिले चितवनमा आक्रमण गरेर कब्जा गर्‍यो। त्यसबेला महेन्द्रले त्यहाँ सेना उतारे। त्यहाँ एउटा हवाई अड्डा थियो। ट्याक्टरले जोतेर त्यहाँ हवाईजहाज बस्न नसक्ने बनाइयो। त्यसपछि पैदलै गएर सेनाले आक्रमण गर्‍यो। र, नेपाली कांग्रेसले कब्जा गरेको चितवन शाही सेनाले कब्जामा लियो। त्यहाँ भेटिएका नेतामध्ये कैयौँलाई त्यही गोली हानेर हत्या गरियो। गेस्ट हाउस भन्ने एउटा पक्की घर थियो। त्यही घरको कोठामा लगेर गोली हानिएको थियो।

    ठूलो नरसंहारपछि कांग्रेस–कम्युनिष्ट सबैमाथि वारेन्ट जारी भयो। म त्यहाँ भूमिगत रुपले बसेको थिएँ। काम गर्ने सिलसिलामा गुणबहादुर गुरुङ, लक्ष्मीभक्त उपाध्याय, नन्दलाल सुबेदारलगायतसँग सम्पर्क भएको थियो। गौरीभक्त प्रधान पनि हुनुहुन्थ्यो। उहाँसँग पनि मेरो मोटामोटी सम्पर्क हुन थालेको थियो। त्यही बेलामा भागाभाग चलेपछि सबै अलग–अलग भयौँ। म दिव्यनगर गाउँमा थिएँ। कांग्रेसका मुख्य नेता हरिप्रसाद गुरुङ त्यहीँका थिए। त्यसकारण पनि त्यहाँ बढी खोजबिन भयो। त्यसपछि म भारततिर लागेँ।

    तेस्रो महाधिवेशनमा स्वयम्‌सेवक
    त्यसबेला गारेखपुरमा सब–हेडक्वार्टर थियो। त्यसको इन्चार्ज एकदेव नै हुनुहुन्थ्यो। तेस्रो महाधिवेशनबाट पूण्यप्रताप राणा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो। उहाँ पनि चितवनकै हुनुहुन्थ्यो। उहाँहरूको मातहतमा काम गर्ने अवसर मलाई गोरखपुरमा प्राप्त भयो। त्यसपछि बेला–बेलामा भूमिगत रुपले नेपाल आउने–जाने हुन्थ्यो।

    यही दौरान तेस्रो महाधिवेशन भयो। म त्यसमा स्वयम्‌सेवकका रुपमा सहभागी भएँ। भर्खरको मलाई त्यहाँको छलफलले निराश बनायो। एकले अर्काको विरोधै विरोध गर्ने श्रृखंला नै चल्दो रहेछ, मलाई बडो विचित्र लाग्यो। त्यसअघि दरभंगा प्लेनम भएको थियो। त्यसमा संविधानसभा पक्षधरहरूको अत्याधिक मत भएर एउटा विचार बनेको थियो। त्यो प्रस्ताव मोहनविक्रम सिंहले तयार पार्नुभएको थियो। तर, महाधिवेशनको तयारीका लागि उहाँ नेपाल आउँदा पक्राउ परेकाले महाधिवेशनमा मोहनचन्द्र अधिकारीले मोहनविक्रमको प्रतिनिधित्व गर्दै प्रस्ताव राख्नुभयो। तर, चित्तबुझ्दो व्याख्या गर्न सक्नुभएन। त्यसले गर्दा पारित हुनुपर्ने दस्तावज पारित हुन सकेन।

    दरभंगा प्लेनमबाट पारित भएको दस्तावेज त्यहाँ पारित नहुने कुरै थिएन। अन्ततः राष्ट्रिय प्रजातन्त्र पक्षधर र नयाँ जनवाद पक्षधरबीच टक्कर भयो। राष्ट्रिय प्रजातन्त्रका पक्षमा मत आयो। भरतमोहन अधिकारी, भरतराज जोशी, सिद्धिलाल सिंहजस्ता स्थापित नेताहरू राष्ट्रिय प्रजातन्त्रका लाइनका पक्षमा लागेपछि तुलसीलालको मत पारित भयो। त्यो भनेको रसियाली लाइन थियो, जुन खु्रस्चेभ आइसकेपछि अगडि आएको थियो। हामीलाई त्यो लाइन गलत छ भन्ने लागको थियो।

    पुष्पलाल र तुलसीलालमा मतभेद
    पैसाको अभाव थियो। पार्टीका मान्छे बिरामी भइरहन्थे। वनारस बस्नुपर्दा दुरावस्था थियो। काइँलाबालाई क्षयरोग लागेको थियो। उहाँ उपचार गर्ने पैसा नभएर भौँतारिरहनुभएको थियो। यस्ता धेरै दृश्य त्यतिबेला देखिन्थे। सोवियत संघको कम्युनिष्ट पार्टीले अलिकति पैसा पठाउँदो रहेछ। त्यो पैसा भारतमा पठाएपछि डाँगेजी मार्फत नेपाल कम्युनिष्ट पार्टीलाई १० हजार भारु आउने रहेछ। त्यो रकम कसरी बाँड्ने र के गर्ने भन्ने विषयमै झगडा परेछ। हुँदाहुँदै पछि तुलसीलालले आफ्ना पक्षका मान्छेलाई मात्र पैसा बाँड्ने र पुष्पलालतिरका मान्छे भोकभोकै मर्ने स्थिति हुन थाल्यो।

    व्यवहारिक दृष्टिकोणले पनि दुई जनाबीच मतभेद चर्कदै गयो। ०२१ सालमा आइपुग्दा पार्टी निकै नराम्रो अवस्थामा पुग्यो। पुष्पलालले ‘जनवादी केन्द्रियताको रक्षा गर’ भन्ने नारा अगाडि सार्नुभयो। तुलसीलाले मनोमानी गरेको उहाँको ठहर थियो। हामी पनि पुष्पलालसँगै गोलबन्द भयौँ। त्यसपछि ‘नेपालीपत्र’ प्रकाशन गर्ने, त्यसमा हामी पुष्पलालका लेख–रचना राख्ने र नेपालमा ल्याउने काम गथ्र्यौँ।

    त्यस अभियानले नेपालभरका युवा विद्यार्थीलाई जागृत गरेको थियो। “जनवादी केन्द्रीयताको रक्षा गर्दै नौलो जानवादी क्रान्तिमा अघि बढ” भन्ने नारा गुन्जायमान भयो।

    त्यसले विखण्डित भएका विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई बिस्तारै संगठित गर्दै थियो। शिक्षकहरू पनि त्यही अभियानमा संगठित भइरहेका थिए। त्यसले धेरै राम्रो प्रभाव पारेको थियो। म चितवनमै आएर काम गर्न थालेको थिएँ। त्यहीबीचमा पुष्पलालले दरभंगामा बोलाउनुभयो। मदनमोहन जोशी, गुणबहादुर गुरुङलगायत १० जना गयौँ। पुष्पलालले ‘एउटा सम्मेलन गर्नुपर्‍यो, पार्टी घोषणा गर्नुपर्‍यो र जनवादी केन्द्रीयता स्थापनागर्नुपर्‍यो’ भन्नुभयो।

    त्यहीँबाट मेरो अलि मतभेद सुरु भयो। पुष्पलाल ‘पञ्चायतविरुद्ध हामी एक्लैले संघर्ष गर्न सक्दैनौँ तसर्थ कांग्रेसँग मिलेर कार्यगत एकता गरेर मात्र अघि बढ्नुपर्छ’ भनेर जहिले पनि उही कुरा दोहोर्‌याउनुहुन्थ्यो। तर, व्यवहारमा भने सधैँ कांग्रेसँग दुस्मनी हुन्थ्यो। मिल्दै नमिल्ने अव्यवहारिक कुरा किन गरिरहनुहुन्छ भनेर हामी सोध्थ्यौँ। त्यसमा मलाई चित्त बुझिरहेको थिएन।

    पुष्पलालसँग अलग
    हामी ‘गोरखपुर सम्मेलन ०२५’ नगरौँ भन्ने पक्षमा थियौँ। मनमोहन अधिकारी निर्मल लामा, मोहनविक्रम सिंहलगायत अधिकांश नेता ‘जेलमा भएका बेला सम्मेलन होइन, भेला मात्र गरौँ’ भन्ने मेरो आग्रह थियो। तर, उहाँले मान्नुभएन।

    हामीलाई पनि त्यसका लागि खबर आएको थियो। चितवनबाट लक्ष्मीभक्तजीहरू जानुभयो भने म, नन्दलाल गुरुङलगायत गएनौँ। त्यसपछि स्वतः अलग भयौँ। बीचको अवधि (२०२६–२०२८)मा हामीले छुट्टै कमिटी बनायौँ। एकीकृत पार्टी निर्माण गर्नुपर्छ भन्ने हाम्रो भनाइ थियो। गोरखपुर सम्मेलनले तुलसीलाललाई हटाएर पुष्पलाललाई महासचिव बनायो।

    म त्यो सम्मेलनताका बाग्लुङतिर थिएँ। अलग भइसकेपछि हामीहरू तटस्थ बस्न थाल्यौँ। त्यो खेमामा अघिकांश चितवनका युवा साथीहरू लाग्नुभएको थियो। आनन्ददेव भट्ट, डा. मथुराप्रसाद श्रेष्ठहरू पनि त्यही खेमामा थिए। तटस्थ बस्नेको अर्थ पुष्पलालको पनि विरोध नगर्ने, तुलसीलालको पनि विरोध नगर्ने र सबैको पार्टी निर्माण गर्नुपर्छ भन्ने थियो। विचार आदान–प्रदान र कुराकानी थाल्यौँ। २०२८ सालतिर केन्द्रीय न्युक्लियस गठन भयो। न्युक्लियसमा पुष्पलाल, मनमोहन, मोहनविक्रम, निर्मल लामा, जयगोविन्द साह, शम्भुराम श्रेष्ठ लगायत पुराना र वरिष्ठ नेताहरू हुनुहुन्थ्यो।

    पुष्पलालको पार्टी पुनःगठनको घोषणा
    छलफलकै दौरान नेताहरू फेरि एक ठाउँमा बस्न सकेनन्। पुष्पलालले आफ्नै नेतृत्वमा छुट्टै पार्टी सञ्चालन गर्ने घोषणा गर्नुभयो। त्यसरी अरुले पनि कोसी प्रान्तीय समूह, तुलसीलाल समूहजस्ता खडा गरे। सबै आ–आफ्नो समूहमा फर्किसकेपछि मोहनविक्रमले चाहिँ चौथो महाधिवेशन गर्ने सोच राख्नुभयो। म पनि मोहनविक्रम र निर्मल लामासँगै लागेँ। चौथो महिावधेशन भयो र त्यसले एउटा खालको लाइन लियो। ७५ वटै जिल्लामा सबैभन्दा शक्तिशाली पार्टीका रुपामा हाम्रो पार्टी देखापर्‍यो। त्यसले ०३६ सालको जनमतसंग्रहमा सबैभन्दा ठूलो भूमिका निर्वाह गर्‍यो। त्यतिबेला सीपी मैनालीको नेतृत्वमा भर्खर नेकपा (माले) बनेको थियो। त्यसको खासै प्रभाव थिएन। पूर्वका केही ठाउँमा मात्र उनीहरू सक्रिय थिए।

    लामा र मोहनविक्रमबीच द्वन्द्व
    ०३६ सालको जनमतसंग्रहका बेला हामीबीचमै विवाद भयो। निर्मल लामाले घोषणा स्वीकार गर्न पाँच पूवसर्त राख्नुपर्छ भन्ने विचार राख्नुभयो भने मोहनविक्रमले जनमतसंग्रहमा भाग लिनु दक्षिणपन्थी नीति हो भन्ने धारणा राख्नुभयो। अन्त्यमा ‘त्यसो हो भने म राजीनामा दिन्छु’ भनेर निर्मल लामाले महामन्त्रीको पदबाट राजीनामा दिनुभयो।

    ०३६ सालको जसंघर्ष देखेपछि निर्मल लामाले नेपालमा अब जनविद्रोहको माध्यमबाट मात्रै केन्द्रीय सत्ता कब्जा सम्भव छ, दीर्घकालीन जनसंघर्षबाट सम्भव छैन भनेर घोषणा गर्नुभयो। उता, मोहनविक्रमचाहिँ जनविद्रोहको लाइन नै दक्षिणपन्थी हो भन्नेमा पुग्नुभयो। विवादपछि भक्तबहादुर श्रेष्ठलाई महामन्त्री बनाइयो। जनमतसंग्रहको बहिष्कार गर्ने भनेर उहाँले निर्णय गर्नुभयो। बहिष्कारका लागि हामी हिँड्यौँ। हामीले बहिष्कार गर्दा पूर्वपञ्चहरू खुसी हुँदै स्याबासी दिन्थे र भन्थे–‘क्रान्तिकारी कम्युनिष्टहरूले जनमतसंहग्रह स्वीकार गर्नु त कांग्रेसजस्तै हो।

    कम्युनिष्टहरूले बहिष्कार गरे भने पञ्चायतले स्वतः जित्छ भन्ने उनीहरूको सोचाइ रहेछ। पञ्चायतविरोधी दुई शक्तिमध्ये एउटाले भाग लिँदा र अर्कोले बहिष्कार गर्दा पञ्चायत पक्षधर मत बढी हुन्छ भन्ने उनीहरूको विश्लेषण गलत थिएन। त्यही भएर हामीलाई पञ्चहरूले धाप मार्थे। यो गलत लाइन हो भनेर संघर्ष सुरु भयो। तर, मतदान गर्नु दुई महिनाअघि भाग लिनुपर्छ भनेर मोहनविक्रमहरू आउनुभयो।

    निर्मल लामाले सर्त राखेकामा विरोध गर्ने उहाँहरू बिनासर्त अकस्मात जनमत संग्रहमा भाग लिने निर्णयमा पुगेपछि हामी आश्चर्यमा पर्‍यौं बिनासर्त भाग लिने लाइन फेरि क्रान्तिकारी भयो। तर, सर्त राख्दा दक्षिणपन्थी भइयो। लामाले राष्ट्रिय पञ्चायतदेखि अन्य तल्ला निकायसँग सम्पूर्ण राजनीतिक बन्दीहरूको रिहाई, १८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार, अन्तरिम सरकार गठनजस्ता न्यायिक माग राख्नुभएको थियो।

    ती सर्तहरूमा लडेको भए जनताको मत बहुदलवादीतर्फ जान्थ्यो। प्राविधकि कारणवश झीनो मतले पञ्चायतले जित्यो। त्यसबेला त्यस्तो शक्तिशाली चौथो महाधिवेशनले सबै सर्त पूरा गराउन आन्दोलनमा उत्रिएर पछि चुनावमा भाग लिएको भए पञ्चायती व्यवस्था ०३६ सालमै समाप्त हुने थियो।

    त्यतिबेलासम्म म जिल्ला सचिव भइसकेको थिएँ। त्यसपछि मैले क्षेत्रीय ब्युरो अन्तरगत काम गरेँ। ०३६ सालमा लामाले सेक्रेटरियट भेला गर्नुभयो। त्यस भेलामा उहाँले जनक्रान्तिको दिशा अघि सार्नुभयो। त्यसमा ‘नेपालको जनसंघर्षको अनुभवले सत्ता हात पार्न जनविद्रोहको एक मात्र बाटो सम्भव छ’ भन्ने लाइन ल्याउनुभयो।

    ०३६ सालमा भक्तबहादुर श्रेष्ठ महामन्त्री रहँदा अयोध्यापुरीमा एउटा प्लेनम भयो। त्यसमा मैले सैनिक कार्यदिशाको प्रस्ताव लगेँ। त्यसबेला निर्मल लामाले राखेको लाइन नै प्रवर्ध्दन गर्ने खालको मेरो कार्यदिशा थियो। मैले पनि जनविद्रोहको लाइन नै अघि सारेको थिएँ।
    यसका पछिाड केही कारण थिए। ०३६ सालको संघर्ष मैले प्रत्यक्ष धेरै ठाउँमा नेतृत्व गरेको थिएँ। त्यसकारण ‘जनविद्रोहले मात्र’ पनि सम्भव हुँदैन भन्ने मेरो ठहर थियो। जनता निहत्था हुन्छन्, राज्यसँग हतियार हुन्छ, त्यसकारण जनविद्रोहलाई नै अघि बढाउँदै जाँदा त्यो जनविद्रोहलाई सशस्त्र विद्रोहमा जोड्नुपर्छ भनेर ‘सशस्त्र जनविद्रोह’ मेरो लाइन थियो।

    तलबाटै पहिले नै हतियार उठाएर कब्जा गर्नुचाहिँ दीर्घकालिन जनयुद्धको बाटो हो। वैधानिक संघर्ष गर्दै अघि बढेपछि अन्त्यमा चरम उत्कर्षमा पुगिन्छ। दबाउन नसक्ने स्थितिमा पुगेपछि जब सत्ताले दमन गर्न खोज्छ, त्यसबेला जनताले उसले प्रयोग गरेको हतियार कब्जा गर्छन् र त्यसकै विरुद्ध त्यही बन्दुक तेर्स्याउने गर्छन्। यसरी सशस्त्र जनविद्रोह सफल हुन्छ। त्यसो भएकाले कार्यकर्तालाइ सैनिकसम्बन्धी ज्ञान र हितयारको तालिम दिनुपर्छ, जसले उत्कर्षमा पुग्ने बेलामा दमन गर्न आइलागेको बन्दुक खोस्दै हान्दै गर्छन्। मेरो दस्तावजेको सार यही थियो।

    दस्तावेज पेस हुनुअघि नै धेरैले हस्ताक्षर गरिदए। म त्यसबेला निकै लोकप्रिय थिएँ। मेरोबारेमा देशभरित्र नै एक खालको चर्चा थियो। तर, म केन्द्रमा भने पुगिसकेको थिइनँ।

    विचार राख्दा कारबाहीको धम्की
    विभिन्न क्षेत्रीय ब्युरोका सदस्य, इन्चार्ज र सेक्रेटरीले पनि मैले दस्तावेज देखाएपछि पढे। हामी पनि समर्थन गछौँ भन्दै सही गरिदिए। म त प्रस्तावक थिए। प्रचण्डले पनि सही गर्नुभयो। उहाँ पनि क्षेत्रीय ब्युरोमा हुनुहुन्थ्यो। सबैले सही गरेपछि मलाई गुटबन्दी गरेको आरोप लाग्यो। मोहनविक्रमले ‘पेस गरेमा कारबाही हुन्छ, प्रस्ताव स्थगित गरेमा केही हुँदैन’ भन्नुभयो। ‘मलाई कारबाही गर्नुस् तर पेश गर्न दिनुस्’ भनेर मैले आग्रह गरेँ। फेरि उहाँले ‘तिमीलाई मात्र होइन, सही गर्नेजति सबैलाई कारबाही हुन्छ’ भन्नुभयो। देशभरबाट आएका सबै सक्रिय योद्धाहरूलाई कारबाही गर्नु राम्रो हुँदैन भन्ने लाग्यो।

    पार्टीमा जनवाद होइन, मोहनविक्रमको अधिनायकवाद देखियो। अन्ततः म उक्त प्रस्ताव फिर्ता लिन बाध्य भएँ। त्यो प्रस्ताव छलफल हुन पाएन। त्यो नीति पारित भएको भए ०४६ सालको संघर्षबाटै राजतन्त्र फाल्न सकिन्थ्यो।

    लामालाई साधारण सदस्यबाटै निलम्बन
    विभाजन, फुट, मतभेद र लाइन संघर्ष हुँदाहुँदै ०४० सालमा पार्टी विभाजन भयो। पञ्चायती व्यवस्थालाई क्रान्तिकारी शक्तिले उपयोग गर्नुपर्छ भन्ने लामाको प्रस्ताव थियो। ‘खालि भूमिगत बासिरहेर मात्र हुन्न, कहिले संघर्ष गर्ने? तसर्थ, बोल्सेभिक पार्टीले रुसको ड्युमालाई जसरी क्रान्तिकारी उपयोग गरेको थियो, त्यसै गर्नुपर्छ’ भन्ने लामाजीको तर्क थियो। उहाँले ‘सुँगुरको खोरभित्र पसेर पनि क्रान्तिकारी शक्तिले क्रान्तिको रक्षा गर्छन् भन्ने उदाहरण दिनुपर्छ’ भन्नुभयो। तर, उहाँको प्रस्तावलाई दक्षिणपन्थी’ भनियो।

    लामाजी र मोनविक्रमजीका तर्फबाट अलग्गै दस्तावेज लेखियो। लामाजीको दस्तावेज तयार भएपछि केन्द्रीय कमिटीमा पेस गरेर ठाउँ–ठाउँमा लिएर हिँड्नुभयो। मोहनविक्रमहरूले ढिला गर्नुभयो। लामाजीका पक्षमा जनमत बढ्यो। कार्यकर्ताले उहाँको प्रतिवेदनलाई ठीक, व्यवहारिक र क्रान्तिकारी विचार बोकेको भन्न थाले। महािधवेशनमा लामाको लाइनले नै जित्छ भन्ने लागेपछि कारबाहीको कुरा उठ्यो। आफ्ना दस्तावेजका बारेका स्पष्ट गर्न ठाउँ–ठाउँमा भेलाहरू भए।

    भेलामा ‘बहुमत भनेको कर्कलोको पातको पानीको फोका हो’ भनेर टिप्पणी गरेको आरोप लगाएर केही आफ्नै मान्छेबाट उजुरी गर्न लगाएर लामाजीमाथि कारबाही भयो। कारबाही गरेपछि महाधिवेशन कसरी हुनु? हामी पूरै त्यसकाविरुद्धमा लाग्यौँ। उहाँहरूले गोरखपुरमा सम्मेलन गर्नुभयो। यताबाट त्यसमा पनि हामीले नै साथीहरू पठायौँ। सम्मेलनमा हामी धेरैलाइ उहाँहरूले कारबाही गर्नुभएछ।

    कारबाहीमा परेकाजति सबैलाई मैले चितवन बोलाएँ। चितवनको मेरै गाउँमा देशभरिका लामाजीको लाइनलाई समर्थन गर्नेहरू बस्यौँ। त्यहाँबाट ‘पार्टी फुटको घोषणा गर्नुहुन्न, दुईवटा पार्टी बनाउ हुन्न’ भन्ने निर्णय गर्‍यौँ। सहमति कायम गर्‍यौँ। श्याम श्रेष्ठ र अर्को एक जनालाई गोरखपुर पठाएर हामीले ‘पार्टी नुफुटाउनुस, पार्टी फुटको दिशामा जानुहुन्न, सम्मेलन दुई दिन रोकियो भने हामी सबै सामेल हुन्छौँ र त्यहाँ आफ्ना मतभेद र अन्तरविरोधसहित पार्टी एकतालाई ‘संघर्ष र एकता’को नीति अनुरुप लैजानुपर्छ’ भन्ने खबर पठायौँ त्यहाँ गएपछि त झन निर्मल लामाजी समेतलाई पार्टी सदस्यबाटै निष्कासन गरिएछ।

    केन्द्रमा पुगेँ
    देशैभरि कार्यकर्ता भेला डाक्ने निर्णय भयो। चितवनमा मैरै पहलमा राष्ट्रिय कार्यकर्ता भेला डाक्यौँ। भेलाले सम्मेलन आयोजक कमिटी गठन गर्‍यो र ०४० मा म पहिलोपटक केन्द्रीय कमिटीमा पुगेँ। हामीले चौथो महाधिवेशन कायम राख्यौँ भने उहाँहरूले नेकपा(मसाल) नाम राख्नुभयो। त्यस मसालभित्र पनि मोहनविक्रमजी एकातिर र मोहन वैद्यजी अर्कोतिर देखिनुभयो। पातलो मसाल र मोटो मशाल गरी दुई टुक्रा भयो।

    ०४६ सालको जनसंघर्षसम्ममा हामी त्यही चौथो महाधिवेशन अन्तरगत काम गर्दै आयौँ। ०४५ सालमा म पोलिटब्युरो सदस्य भएँ। निर्मल लामाजीले अगाडि नै मलाई प्रस्ताव गर्नुभएको हो तर मैले नै अस्वीकार गरेको थिएँ। पछि जनमोर्चाको केन्द्रीय अधयक्ष भएर पनि काम गरेँ।

    वाचस्पतिलाई रोक्यौँ

    नेकपा (मशाल) मा ०४५ सालमा वैद्यजी महामन्त्री भएका बेला सेक्टर काण्ड भयो। त्यो काण्ड असफल भएपछि उहाँले आत्मालोचित भएर राजीनामा दिनुभयो र प्रचण्डजीलाई महामन्त्री बनाउनुभयो। त्यसपछि त्यहाँ चुनावमा भाग लिने जस्ता कुरामा बहसहरू चले। विवाद बढेपछि वाचस्पति देवकोटालगायतका साथीहरू असन्तुष्ट हुनुहुँदो रहेछ। उहाँहरूले हामी (चौम) सँग आएर अगाडि नै एकता गर्न प्रस्ताव राख्नु भएको थियो। मैले र लामाजीले नै ‘सिंगै पार्टीको एकता गर्ने कुरा आइसकेपछि किन तपाईहरू अलग्गै आउनुहुन्छ’ भनेर रोक्यौँ। नत्र ठूलो संख्यामा मशालवालाहरूसँग त्यतिबेलै एकता हुने थियो।

    प्रचण्डले एकता प्रस्ताव पठाएपछि छलफल भयो र एकता पनि भयो। त्यसपछि ०४८ को चुनावमा भाग लिनेमा फेरि विवाद भयो। अन्ततः रामबहादुर थापाले निर्णायक मत दिएकाले भाग लिने पक्षमा बहुमत पुग्यो भाग लियौँ। संयुक्त जनमोर्चा नेपालका नामबाट हामीले नौ सिट जित्यौँ र दुईजना राष्ट्रियसभा सदस्य बनायौँ।

    पुष्पलाललाई ६ हजार रुपियाँ पठाएँ

    एकपटक म बनारस गएको थिएँ। बीपी (बिश्वेश्वर कोइराला) सारनाथमा बस्नुहुन्थ्यो। पुष्पलालले आज बीपीलाई भेट्न जाऔँ न त भन्नुभयो। हामी हिँड्दै सारनाथ पुग्यौँ। त्यहाँ शैलजा आचार्यसँगै हुनुहुन्थ्यो। त्यसबेला पुष्पलालले ‘हामी संयुक्त रुपले जाऔँ र संयुक्त आन्दोलन गरौँ’ भनेर कुरा राख्नुभयो। यो २०३० सालतिरको कुरा हुनुपर्छ।

    म बाहिरै बसेको थिएँ। पुष्पलालले छुट्टै कुरा गर्नुभयो। पुष्पलालजीका अनुसार बीपीले उक्त प्रस्ताव मान्नुभएन। ‘नेपालका कम्युनिष्टहरूसँग मिलेर जाँदा मलाई गाह्रो हुन्छ, जानु त पर्ने हो तर सोचौँ, पर्खनुस्’ भन्नुभएछ।

    त्यसपछि हामी फर्क्यौं। डुंगामा नदीपारि गएका थियौँ। त्यहाँ जयगोविन्द साह, अयोध्याप्रसाद लगायत दुई–तीन जनासँगै हुनुहुन्थ्यो। हामीलाई तराईका नेता भने चिनाइएको थियो। पुष्पलालले उहाँहरूलाई देखाएर मसँग उनीहरू किसानको नेता भएको जानकारी दिनुभयो। ‘नेपालमा कृषि क्रान्ति नगरी हुँदैन, तसर्थ किसान आन्दोलन चलाउनुपर्छ, त्यसका लागि आर्थिक समस्या परिरहेको छ’ भन्नुभयो।। आन्दोलनका लागि आर्थिक व्यवस्थापनको जिम्मेवारी लिएर नेपाल जान र त्यहाँबाट सहयोग जुटाउने अभियान थाल्न पुष्पलालले आग्रह गर्नुभयो।

    पुष्पलालकै आग्रहअनुसार म नेपाल फर्किएँ। त्यस जमानामा मैले ६ हजार रुपियाँ पठाउन सकेँ, जुन निकै ठूलो रकम थियो। एक सय रुपियाँ लिएर वनारस गयो भने सबै खर्च कटाएर नेपाल आउँदा समेत अझै बाँकी रहन्थ्यो। दुई आनामा जत्ति पनि रोटी, दाल, भात, तरकारी खान पाइन्थ्यो।

    गाईको मासु खाँदा वाकवाकी
    ०२३/०२४ सालतिरको कुरा हुनुपर्छ। दरभंगामा प्रशिक्षण कार्यक्रम राखिएकोले आउनुपर्‍यो भन्ने खबर आयो, गएँ। दरभंगामा हामीलाई लिन साथीहरू रिक्सा लिएर आए। एकैचोटी खाना खुवाएर ल्याउन भनेर सरासर होटल लागियो। त्याँ ठूल्ठूलो चोक्टाको मासु र रोटी खायौँ। रस भएको साह्रै स्वादिलो मासु रहेछ। तर, त्यो त गाईको मासु परेछ। ती जम्मै कमरेडहरू मुस्लिम रहेछन्। होटल पनि मुस्लिमका, रिक्सावाल पनि मुस्लिम नै। त्यहाँको स्थानीय पार्टीसँग कमरेड पुष्पलालको अत्यन्तै निकटता थियो।
    पुष्पलालले सोध्नुभयो– ‘मासु मिठो लाग्यो त कमरेड?’ ।

    मैले भनेँ –‘असाध्यै मिठो रहेछ, पहाडको खसी हो कि के हो?’
    पुष्पलालले भन्नुभयो–‘मिठो हुने नै भयो नि भर्खर–भर्खरकी कोरली हो नि!’
    कोरली भनेको त बाच्छी रहेछ। दुई जना साथीहरू त ‘हत्तेरी !’ भन्दै वाकवाक गर्न थाले।

    अर्को पनि त्यस्तै घटना छ।

    ‘चौथो महाधिवेशन’ बनिसकेपछि निर्मल लामाको नेतृत्वमा दार्जीलिङमा एउटा सम्मेलनको आयोजना भयो। त्यसमा साथीहरूलाई हरेक छाक मासु खुवाइयो। चिया बगानका मजुदरहरूले हामीलाई खाने, बस्ने व्यवस्था मिलाएका थिए। हामीले सम्मेलनमा भाग लिइरहेका थियौँ। मासु असाध्यै स्वादिलो थियो। चार दिनसम्म सम्मेलन भयो। पाँचौँ दिन सहर घुम्न जाने कुरा भयो। लामा–लामा काठे घरका टहरा रहेछन् हरेक टहरामा मासु देखिन्थ्यो। त्यो त गाई काटेर झुन्ड्याइएको रहेछ। हामीलाई खुवाइएको मासु त्यस्तै रहेछ।

    निर्मल लामाले ‘हाम्रो पहाडका खसी भनेका त यही हो’ भनेर बताइदिनुभयो। दुईतीन जना बाहुन कमरेडहरू थिए। उनीहले वाकवाक गरेर खपिनसक्नुभयो। तर, पचाइसकेपछि के आउनु वाकवाक? मलाई पनि कस्तो–कस्तो लाग्यो। हामी पनि गाईको मासु नखाने जातका पयौँ।

    सिकारको बाहानामा सेल्टर
    ‘चौथो महाधिवेशन’ पार्टीमा मैले सशस्त्र संघर्ष गर्नका लागि सशस्त्र शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेको कुरा माथि आइसकेको छ। लौ त त्यसो भए तालिम गराउनुपर्‍यो भन्ने कुरा उठ्यो। मेरै जिम्मामा तालिम गर्नुपर्ने भयो। म तालिम गराउन सुुरक्षित स्थलको खोजी गर्न थालेँ। चित्रबादुर केसी र मलाई पार्टीले खटाएपछि हामी त्यसको खोजीमा लाग्यौँ। म जन्मेको ग्याग्दीको ओखरबोट गएर बस्यौँ। अरु एक दिन पश्चिम गएपछि सोलेडाँडा आउँछ। सोलेको लेक काटेपछि लाम्मेला भन्ने ठाउँ आउँछ। त्यही गएर बस्यौँ।

    ठाउँ हेर्न केही न केही बहाना चाहियो। त्यत्तिकै गएर हेर्दा मान्छेहरूले नौला मान्छे किन आए भनेर चाल पाउने भए। पञ्चायतको जगजगी थियो। जतापनि पञ्चहरूका सिआईडी हुन्थे। त्यहाँ मेरा एकजना भिनाजु नाता पर्ने हुनुहुन्थ्यो। उहाँलाई लिएर ‘आज सिकार खेल्न जाउँ’ भनेँ। त्यसपछि दुईवटा बन्दुक लिएर हामी जंगल गयौँ। चित्रबहादुर जी पनि सँगसँगै जानुभयो। त्यहाँबाट चार घन्टाको उकालो चढेर एउटा ठूलो लेकको जंगलमा पुग्यौँ। हाम्रो उद्देश्य चाहिँ त्यो जंगल तालिमका लागि उपयुक्त छ कि छैन भनेर अवलोकन गर्नु थियो।

    नजिक गाउँ थिएन। त्यहाँ गएर बन्दुक पड्काए पनि कसैले सुन्दैन थियो। यता आएपनि गाउँ चार–पाँच घन्टा लाग्छ। उता गए पनि चार–पाँच घन्टाको बाटो छ। ठाउँ उपयुक्त रहेछ भन्ने निष्कर्षमा चित्रबहादुर जी पनि पुग्नुभयो। तालिम दिने सेल्टर अत्यन्त उपयुक्त हुन सक्ने हाम्रो ठहर रह्यो। त्यो महत्वपूर्ण राजनीतिक उद्देयसहित भएको भ्रमण भएकाले मैले यसलाई बिर्सन सकेको छैन।

    दुःखै दुःखको बाटो
    मेरा लागि सबैभन्दा आदरणीय र प्रभावित पार्न सक्ने नेता कमरेड पुष्पलाल हुनुहुन्छ। त्यस्तै अर्का एक जना क्रान्तिकारी र साह्रै ठूलो नेताका रुपमा मैले एकदेव आलेलाई मान्छु। यी दुई नेतालाई म कहिल्यै बिर्सन सक्दिनँ। यस्तै आदर्श नेताका रुपमा निर्मल लामालाई पनि मान्छु। धेरै नेताहरूसँग काम गर्दै उहाँहरूलाई आदर्श मान्दै म यो अवस्थामा आइपुगेको छु। त्यस क्रममा कैयौँ दिन, कैयौँ रात जंगलमा बिताएको छु। बोरा पनि नपाएर खाली पिढीँमा सुतेको छु। गिठ्ठा, भ्याकुर खाएर पनि हिँडेको छु। भूमिगतकालमा धेरै ठाउँमा बनावटी साइनो लगाउँदै म उनीहरूको घरमा बसेको छु।

    त्यो गर्दा कैयौँ ठाउँमा चोयाको डोको बुनेको छु। त्यही क्रममा नाम्लो र स्याखु(घामपानीमा ओढ्ने एक प्रकारको घुम) पनि बुन्न सिकेँ। पहाडका प्रायः सबै जिल्लामा म पुगेको छु।

    आफ्नो कार्यदिशा नसमात्दा दुःख
    राजनीतिक घटनाक्रममध्ये म ०३६ सालमा सबैभन्दा दुःखी भएँ। जनमतसंग्रह गर्न मञ्जुर गराएर त्यतिबेलाको विद्यार्थी आन्दोलनले पञ्चायतलाई घुँडा टेकाएको थियो। पञ्चायतको विरुद्ध पाँच पूर्वसर्त राखेर आन्दोलन उठाउँदै अगाडि गएको भए ०४६ सालको स्थिति ०३६ सालमै आउँथ्यो। ०४६ सालमै ०६२/०६३ को स्थिति आउँथ्यो।

    ०३७ सालमा मैले पार्टीभित्र सशस्त्र संघर्षसम्बन्धी दस्तावेज पेस गरेको थिएँ। त्यो दस्तावेजलाई पारित गरेर सोही अनुरुपको कार्यदिशा पार्टीले अगाडि बढाउन नीति अगाडि बढाउने सन्दर्भमा तत्कालीन नेताहरूले दूरदर्शिता देखाउन सक्नुभएन। आफ्नो विरुद्धमा वातावरण बन्छ अथवा आफू बाहेक अरु स्थापित नहुन् भन्ने सोच र पूर्वाग्रह नै त्यतिबेलाको बाधक हो।

    साह्रै सर्वहारा जीवनशैली

    मैले काम गर्दा एक जना लालसिंह जी भन्ने केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो। त्यस्तै पी आर. राई. पनि हुनुहुन्थ्यो। उहाँसँग काम गर्दा आत्मीयता महशुस हुन्थ्यो। यद्यपि उहाँहरू मभन्दा अलिक वरिष्ठ हुनुहुन्थ्यो। तर, उहाँहबाट आत्मीयता र सद्भाव पाउँथेँ।
    मुख्य नेतामध्ये पुष्पलाल सधैँ साधारण देखिनुहुन्थ्यो। उहाँ सधैँ पाइजामा र कमिज लगाएर बस्नुहुन्थ्यो। आफैं खाना बनाउने, खाने, भाँडा माझ्ने गर्नुहुन्थ्यो। त्यत्रो संस्थापक नेता भएर पनि उहाँमा आफू संस्थापक नेता भन्ने घमण्ड र अभिमान कहिल्यै भएन। मैले ०१८ सालबाट उहाँलाई नजिकैबाट चिनेको हुँ। त्यसपछि आठ वर्ष लगातार अत्यन्तै नजिक भएर काम गर्ने अवसर पाएँ। त्यसपछि पनि पटक–पटक भेट भयो। उहाँको देहान्त हुनुअघि हामी गइरहन्थ्यौँ, भेटिरहन्थ्यौँ।

    दिल्ली र वनारस गएर पनि मैले भेटेँ। उहाँमा सर्वहाराको सरलपन झल्कन्थ्यो। मान्छेले यहाँ सर्वहाराकरणको असाध्यै नक्कली अभिनय गर्छन्। ‘भएको सम्पत्ति पार्टीलाई जिम्मा दिएपछि सर्वहारा भइन्छ’ भनेर भाषण ठोक्छन् तर, हिँड्दा ५०–६० लाख रुपियाँको मोटर चढेर हिँड्छन्। त्यस्ता नक्कली सर्वहाराकरण होइन, असली सर्वहाराकरण थियो उहाँमा। उहाँको बसाई, लवाई, खवाई, स्वभाव, व्यवहार, बुझाइ सबै सर्वहाराकणको दिशामा थियो।

    कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख संस्थापक मात्र होइन, नेपालको राजनीति र जनवादी क्रान्तिलाई अगाडि बढाउने कुरामा पहिलो प्रवर्तक र नेता हो। उहाँ कहिल्यै पद र प्रतिष्ठासँग लोभ राख्नुहुन्नथ्यो। उहाँलाई बिटुल्याउन अनेक प्रयत्न भयो। सायद सहाना दिदीमार्फत पनि धेरैपटक प्रस्ताव गएको भन्ने मैले सुनेको हुँ। पुष्पलाललाई नेपालमा आएर मन्त्री खान अनेक प्रकारका लोभ–लालच देखाइयो। उहाँबाट मैले सिकेका यिनै कुरा हुन्।

    उहाँमा जडता फिटिक्कै थिएन। उहाँ गतिशील नेता हुनुहुन्थ्यो। वर्गीय रुपमा हेर्दा नेपाली कांग्रेस धनी र सामन्त वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो। ऊसँग सीधा–सीधा मुठभेड हुनुपर्ने हो नि तर कांग्रेस लगायत सबै राजनीतिक दलहरूसँग संयुक्त मोर्चा निर्माण गरेर अघि बढ्नुपर्छ भन्ने उहाँको विचार थियो।

    थरीथरीका नेताका अलग्गै विशेषता
    मोहनविक्रम सिंह लोभलालच देखाउने र अरुले उक्साएको भरमा उक्सिने नेता होइन। यो उहाँको असाध्यै राम्रो पक्ष हो। पार्टीको पदमा लगातार रहेपनि त्यसभन्दा बाहिर सत्ताको लोभमा उहाँ कहिल्यै लहसिनुभएन। सत्तावाला वा प्रतिक्रियावादीहरूले कैयौँ प्रस्ताव ल्याए पनि उहाँले स्वीकार गर्नुभएन।

    निर्मल लामाचाहिँ असल मान्छे हुनुहुन्थ्यो। कहिल्यै झूट नबोल्ने र षड्यन्त्र गर्न नजान्ने उहाँको स्वभाव थियो। ‘जे भन्यो, त्यही गर्नू र जे गर्‍यो त्यही भन्नू’ नै उहाँको महानता हो। तत्कालीन राज्य व्यवस्थाबाट लामाजीलाई जस्तो पदको ‘अफर’ अरु कुनै नेतालाई आएन होला।
    तुलसीलाललाई हामी कमरेड सूर्य भन्थ्यौँ। उहाँ वनारसमा हुँदा एकदमै साधारण र सरल जीवनशैलीमा रामाउनुहुन्थ्यो।

    उहाँमा तडकभडकको कुनै अवशेष पनि पाइएन तर तुलसीलाललाई बिगार्ने केही नेताहरू हुनुहुन्थ्यो। अहिले कतिपय साथीहरू त जीवित पनि हुनुहुन्छ। किन हो किन, त्यतिबेला भरतराज जोशी, डिपीजीहरू असाध्यै चलाख र धूर्त। डीपीजीहरूको भनाइमा बहकिनु नै तुलसीलालको एउटा कमजोरी हो।

    गद्दार भन्नु महत्वाकांक्षा
    कम्युनिष्ट आन्दोलनको कालखण्डमा पुष्पलाललाई केही समय केही मान्छेहरूले गद्दार पनि भने। उहाँलाई गद्दार भन्नु असान्दर्भिक कुरा र उहाँप्रतिको अन्याय हो। तत्कालीन चौथो महाधिवेशन (चौम)भित्र मोहनविक्रमजीले ‘गद्दार पुष्पलाल’ भनेर एउटा किताब नै लेख्नुभयो। त्यसको विरुद्धमा निर्मल लामाजी निस्किनुभयो। र, हामी सबै यो दृष्टिकोण गलत हो भनेर लाग्यौँ।

    पुष्पलालजीलाई त्यसो भन्नुको पछाडि ठूला आशंका गर्नुपर्ने हुन्छ। पुरानो नेतृत्वलाई त्यसखाले आरोप लगाएर नधपाएसम्म नयाँ नेतृत्व स्थापित हुँदैन भन्ने मान्यताबाट त्यस्तो आरोप जन्मेको हो जस्तो लाग्छ। उहाँले कुनै गद्दारी गर्नुभएकै छैन। कसरी पुष्टि हुन्छ गद्दारी? उहाँले गद्दारी गरेर कहिल्यै पञ्चायतसँग झुक्नुभयो कि? गद्दार भन्नुको अर्थ त तत्कालीन पञ्चायती व्यवस्थासँग झुकेको हुनुपर्‍यो। ऊसँग भित्री साँठगाँठ गरेको हुनुपर्‍यो। वा उसले दिएको पद–प्रतिष्ठामा भुलेर गद्दारी गरेको हुनुपर्‍यो।

    कैयौँ कम्युनिष्ट नेताहरू पञ्चायती व्यवस्थामा सामेल भए, कम्युनिष्ट आन्दोलनबाट विचलित भए, पञ्चायतका विभिन्न ओहदाहरूमा बसे, तिनलाई चाहिँ केही नभन्ने तर पुष्पलाललाई चाहिँ गद्दार भन्ने?

    जो आजीवन विदेश बसेर आफ्नो घर–परिवार सबै त्यागेर पार्टीको जनवादी केन्द्रीयता बचाउने अभियानमा लाग्दै आयो, त्यस्तो व्यक्तिलाई के आधारमा तपाईहरूले गद्दारको पगरी दिनुभएको छ? भनेर प्रश्न गर्दा मोहविक्रमजीले ‘खास गरी यी लाइनका प्रश्नहरू हुन्’ भन्ने गर्नुहुन्थ्यो। नेपाली कांग्रेस भनेको हाम्रो एक नम्बरको दुश्मन, ऊसँग मिलेर जानुपर्छ भन्ने विचार गद्दारी नभए के हो? भन्ने प्रश्न पनि उठाइयो। तर, इतिहासले त्यस्ता तर्कहरू पुष्टि गरेन। दुवैपटक नेपाली कांग्रेसँग मिलेर मात्रै राजतन्त्रको अन्त्य गर्न सकियो भनेपछि पुष्पललाले लिएकै लाइन पुष्टि भयो।

    तसर्थ, पुष्पलाल गद्दार होइन, साँचो अर्थमा नेपालको कम्युनिष्ट आन्दोलनमा जनवादी क्रान्तिको पहिले प्रवर्तक र तारा हो।

    माओवादीसँगको एकता नारायणकाजीको महत्वकाङ्छा
    ०६४ सालमा चुनाव भयो, एकथरी नतिजा आइसक्यो। अब एकता गरेर के अर्थ? हामी क्रान्तिकारीहरूले क्रान्तिकारी मुद्दामा एकता गर्नुपर्ने हो। एउटा क्रान्तिकारी परिस्थिति गुमिसक्यो। अब चुनावमा आयौँ–आयौँ। अब हामीलाई त शान्ति प्रक्रिया र शन्तिपूर्ण तरिकाबाट परिवर्तन गर्नुपर्ने अथवा के–के गर्नुपर्ने, यो दिशामा मुलुक गइसक्यो। ठूलो पार्टी भएको नाताले, त्यो ठूलो पार्टीको एउटा सदस्य अथवा एउटा नेता बन्नका लागि एकता गर्ने हो कि मुद्दामा गर्ने? मुद्दा खोइ? मेरो भनाई यो रह्यो। मैले संविधान बन्यो भने त्यसपछि एकता गरौँला भनेँ।

    नारायणकाजीलाई एकैचोटी ठूलो पार्टीको महामन्त्री बन्न रहर लाग्यो। सानो र ६–७ जनाको नेता बन्नु बेकार हो भन्ने उहाँको धारणा रहेछ। त्यो कुरा मलाई के थाहा? उहाँ एकताको जोडमा गएको गयै गर्न थाल्नुभयो। मैले ‘प्रक्रिया, सिद्धान्त, व्यवहार र पद्धतिका प्रश्नहरूमा धेरै कुरा छलफल गर्न बाँकी छ, अहिले मिलेर भोलि चाँडै नै फुट्ने परिस्थिति नहोस्, त्यसकारण विचार गरेर मात्र एकता गरौँ’ भनेको थिएँ। मलाई नै नेता मान्ने साथीहरूले पनि ‘एकता गरौँ’ भन्न थाले। त्यसो भएपछि मैले पनि सहमति गर्नै पर्ने भयो। तर, मेरो भित्री इच्छा ‘एकता’ थिएन। त्यसैले म असहमतिका बीचमा सहमति गरेर एक ठाउँमा आएँ।

    ‘एकता’मा आइसकेपछि सबभन्दा बढी एकता गर्न जोड गर्नेहरू नै ‘बर्बाद भएछ’ भन्न थालेका छन्। उनीहरू अहिले भूमिका नै नपाएको गुनासो गर्दैछन्। यो कुरा त मैले उतिबैला नै भनेको थिएँ। त्यो ठूलो समुन्द्रभित्र गइसकेपछि के को भूमिका? एकता भइसकेपछि म पार्टी फुट्नु हुन्न भन्ने पक्षमा छु। जुट्नु हुँदैनथयो, जुटिसकेपछि अब फुट्नु हुँदैन भन्ने कुरामा म दृढ रुपमा लागिपरेको छु।

    (पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘फर्केर हेर्दा’ पुस्तकबाट साभार।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.