नेपालको इतिहासमा हरेक व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा युवा तथा विद्यार्थीहरुले मुख्य भूमिका निर्वाह गरेका छन् । राणा शासनको विरोधदेखि २०६२/६३ सालको जनआन्दोलनसम्म युवा तथा विद्यार्थीहरुको भूमिकाको इतिहास साक्षी छ । हामी सँधै सरकारको प्रतिपक्षमा र जनता तथा राष्ट्रको पक्षमा निरन्तर सडक आन्दोलनमा छौँ र निरन्तर जागरण पैदा गरिरहेका छौँ ।
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जुन ढंगले असंवैधानिक बाटो अपनाएर प्रतिनिधि सभा विघटन गर्नुभयो, यसबाट हिजो हामीले रगत र पसिनासँग साटेर ल्याएको संविधानमाथि प्रहार भएको छ । त्यसैले हामी विद्यार्थीहरु, जो आलोचनात्मक चेत बोक्छौँ र राष्ट्रका लागि सदैव सडकमा उत्रिन्छौँ, हामी हाम्रो यो गर्विलो इतिहास र चरित्रलाई मर्न दिँदैनौँ । हामी यो प्रतिगमनको साक्षी र मतियार होइन, त्यसकारण प्रतिगमनविरुद्ध उत्रिन्छौँ ।
‘प्रहरीसँग पौँठेजोरी खेल्ने रहर होइन’
हामीले गरीरहेको आन्दोलन कहाँबाट र कसरी भयो भन्ने कुरा महत्वपूर्ण होइन । हाम्रो आन्दोलनको मुद्दा महत्वपूर्ण हो । यो आन्दोलन हाम्रो लागि मात्रै होइन । देश, जनता र देशलाई स्थिरतातिर लगेर समृद्ध नेपाल निर्माण गर्नका लागि हो । यसमा हामी सबै नेपालीहरु लाग्नुपर्छ ।
यो हाम्रो अन्तिम लडाईं हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउनका लागि र हामीले ल्याएको संविधानलाई अझ बलियो बनाएर यस अन्तरगत चल्ने प्रणाली विकास गर्नका लागि निरन्तर आन्दोलन जरुरी छ । त्यसकारण विद्यार्थीले मात्रै होइन, सम्पूर्ण जनता आन्दोलनलाई समर्थन गर्दै सडकमा ओर्लिनुपर्छ भनेर म यहीँबाट अनुरोध गर्न चाहन्छु ।
प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध हामीले बालुवाटार केन्द्रित आन्दोलन गरिकसकेका छौँ । सोमबार संसद भवन अगाडि निषेधित क्षेत्र तोडेर पनि आन्दोलन ग¥यौँ । त्यहाँ हाम्रो प्रहरीसँग झडप भयो र केही साथीहरु घाइते पनि हुनुभयो । प्रहरीसँग पौँठेजोरी खेल्ने हाम्रो रहर होइन । हाम्रो बाध्यता हो । प्रहरी हाम्रो साथी भनेर हामीले नारा लगाउँदै गर्दा, प्रहरीले जुन हस्तक्षेप र दमन गर्यो, हामी त्यसविरुद्ध ओर्लिरहेका छौँ । प्रहरीलाई पनि अनुरोध गर्न चाहन्छौँ कि हिजो ०६२/६३ को आन्दोलन त्यत्तिकै सफल भएको होइन ।
सबै तह तप्काका जनता र कर्मचारीहरुले सहयोग गरेका कारण २ सय ४० वर्ष पुरानो राजतन्त्र फाल्न सफल भएका हौँ ।
मुलुकलाई अहिले अँध्यारो र अस्थिरतातिर लगिँदैछ । त्यसकारणले पनि सबैखालको तह र तप्काका जनताहरु अहिलेको कू विरुद्ध उठ्नुपर्छ । प्रहरी हाम्रो दुश्मन होइन, प्रहरी हाम्रो साथी नै हो भनेर बुझ्छौँ । हाम्रो आन्दोलन प्रहरीविरुद्ध होइन कि कामचालाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कू विरुद्ध हो ।
‘हामी सदैव सरकारको प्रतिपक्षमा छौँ’
सुखको बाटो रोज्नका लागि केही दुःख गर्नुपर्छ । हिजो हाम्रा बुवा र हजुरबुवा पुस्ताले यही व्यवस्था परिवर्तन गर्न निरन्तर आन्दोलन गर्नुभयो । आज हामीपनि लडिरहेका छौँ । १६ वर्ष अघिको आन्दोलनमा ‘राजतन्त्र मुर्दावाद’ भनेर राजतन्त्रलाई उखेल्दै गर्दा र ज्ञानेन्द्र शाहलाई नागार्जुन पु¥याउँदा हामीलाई लागेको थियो, फेरि पनि शिरमा कफन बाँध्नु पर्दैन । फेरि पनि हामीले मुर्दावाद र जिन्दावादको नारा लगाएर सडकमा जानुपर्दैन भन्ने अपेक्षा थियो । तर विडम्बना भन्नुपर्छ, हामीले नै बनाएको प्रधानमन्त्रीले जनताको संविधानमाथि प्रहार गरेका छन् । यसलाई हामीले सामान्यरुपमा बुझ्नु हुँदैन । यो आन्दोलन हामीले निरन्तर उठाउनु जरुरी छ । यो आन्दोलनले यस्ता प्रवृत्ति र दुस्साहसलाई परास्त गर्न जरुरी छ ।
हामी कुनै नेताबाट उचािलएको वा कसैको निर्देशनमा अगाडि बढेको भन्ने कुरालाई म किमार्थ स्वीकार गर्दिन । इतिहासमा हेर्नुहुन्छ भने हामी हाम्रै सरकार र उसका कतिपय निर्णयविरुद्ध सडकमा उभिरह्यौँ र सडक आन्दोलनबाट सरकारलाई घुँडा टेकाउने काम पनि ग¥यौँ । हामी सरकारको पक्षमा होइन र सदैव सरकारको प्रतिपक्षमा रहेर ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो’ भनेर आलोचनात्मक चेत राख्ने विद्यार्थी हौँ । त्यसकारण सडकमा हामी छौँ ।
हामीमध्ये पनि केही साथीहरु छन्, जो संगठनको मूल चरित्रलाई भुलेर अहिले प्रतिगमनको मतियार बनिरहनुभएको छ । जसरी ऐन महर विद्यार्थीको हकहितमा बोल्नुपर्ने मूल उद्देश्यलाई लतार्दै अहिले केपी ओलीको प्रवक्ता र रक्षाकवचका रुपमा मात्रै उभिएका छन् । त्यसकारण उनले आफूलाई विद्यार्थी नेता भनेर जसरी परिचय दिइरहेका छन्, त्यो गलत छ । किनभने ऐन महरहरुले आफ्नो चरित्र र मूल उद्देश्य भुलेर प्रतिगमनको मतियार बन्ने बाटो रोजेका छने । हामी उनीहरुलाई विद्यार्थी नेता मान्दैनौँ । त्यसकारण, रञ्जित तामाङले नेतृत्व गरेको संगठनमा आवद्ध भएर हामी निरन्तर सडकमा छौँ र प्रतिगमनलाई मुर्दावाद भनिरहेका छौँ । त्यसकारण हामी सच्चा अनेरास्ववियु हौँ ।
‘फैसला कुरेर बस्दैनौँ’
अदालतलाई प्रभाव पार्नेगरी वा अदालतमाथि शंका व्यक्त गर्नेगरी हामीले यो आन्दोलन गरेको होइन । ओलीले पुष ५ मा गरेको कू विरुद्ध अहिले केपी ओली र उसका केही समूह बाहेक सबै शक्ति र दलहरु लागेका छन् । विचाराधिन मुद्दामा बोल्नुहुन्न भन्ने कुरा हामी मान्दैनौँ । तर त्यसको यसको अर्थ हामीले अदालतप्रति अविश्वास गरेको होइन । अदालतप्रति हाम्रो सम्मान छ । संविधान मै नभएको व्यवस्थामा टेकेर केपी ओलीले गरेको कू लाई समान्य नागरिकले पनि गलत भनेर बुझिरहेको अवस्थामा सर्वोच्च अदालतले हामीले सोचेको भन्दा फरक निर्णय गर्छ भन्ने लाग्दैन । यसको अर्थ सर्वोच्चले के निर्णय गर्छ भनेर हामी कुरेर बस्ने होइन ।
‘बा’ प्रवृत्तिको विरोध
हाम्रो उद्देश्य जनताको बीचमा ओलीको गलत कामका बिषयमा जागरण पैदा गर्नुपर्छ र दबाब दिनुपर्छ भन्ने हो । हाम्रो चरित्र पनि यही भएकाले हामी निरन्तर आन्दोलनमा छौँ । म फेरि पनि भन्छु, हामी विद्यार्थीहरुमा आलोचनात्मक चेत छ र अहिले प्रतिगमनविरुद्ध सडकमा छौँ । यदि यो अलोचनात्मक चेत नभएको भए आज हामी केपी ओलीको पछि हुन्थ्यौँ ।
त्यसकारण हामी व्यक्ति होइन, विधिलाई स्थापित गर्न लागिरहेका छौँ । नेतालाई होइन, नीतिलाई स्थापित गर्न लागिरहेका छौँ । हामी ‘बा’ प्रवृत्तिको विरुद्धमा छौँ । संगठन ठूलो कुरा हो, व्यक्ति होइन, भन्ने मूल्य र मान्यतालाई समातेर अघि बढिरहेका छौँ । त्यसकारण प्रधानमन्त्री प्रचण्ड वा माधव को बन्ने भन्ने विषय हाम्रो सरोकारको विषय होइन । मुद्दा प्रमुख हो ।
हामी मुद्दा र एजेण्डामा रहेर अघि बढिरहेको छौँ । यसकारण प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउनका लागि हामी यो आन्दोलनमा आएको आरोपलाई म अस्वीकार गर्छु । त्यसकारण संविधानप्रतिको आस्था र जनताले जुन ढंगले विश्वास गरेर दुई तिहाईको मत दिएर पठाएका थिए, त्यो विश्वास कायम राख्नका लागि हामी यो अन्दोलनमा छौँ ।
‘पुरुष प्रहरीसँग जुध्नुपरेको छ’
२०६२÷६३ मा कमरेड रामकुमारी झाँक्री लगायतले महिलाहरुले पनि आन्दोलनको नेतृत्व गर्न सक्छन् भन्ने कुराको उदाहरण प्रस्तुत गरिसक्नुभएको छ । धेरै महिला योद्धाहरु हुनुहुन्छ, जसले जनयुद्धमा पनि बच्चा बोकेर कमाण्डरको भूमिकामा युद्ध लडे । तर १६ वर्षअघि महिलालाई हेर्ने दृष्टिकोण जस्तो थियो, त्यो अझै परिवर्तन भएको छैन । अहिले पनि महिलाले आन्दोलनको नेतृत्व गर्न सक्दैनन् कि भनेर शंका व्यक्त गरिन्छ ।
आन्दोलनको नेतृत्व महिलाले गरिरँहदा ‘पोथी’ बासेको र अराजक बनेको आरोप लगाइन्छ । सिट्ठी बजाउने आन्दोलनमा ‘महिलाले सिट्ठी बजाउन सक्दैनन्’ भन्ने खालका कुरा पनि आए । समाजिक सञ्जालमा सचेत र जिम्मेवार युवाहरुबाटै यस्ता प्रतिक्रियाहरु आउने गरेका छन् । यो भालेवादी चिन्तन हो ।
आन्दोलन गर्न सजिलो छैन, चुनौतीपूर्ण छ । आन्दोलनका क्रममा हाम्रो लागि महिला प्रहरी नै हुँदैनन् । पुरुष प्रहरीसँग लडिरहनुपर्ने अवस्था छ । सोमबार हामी निषेधित क्षेत्रमा प्रदर्शन गर्न गएका बेला पुरुष प्रहरीले हामीलाई हस्तक्षेप ग¥यो । त्यतिबेला हामीले महिला प्रहरीको माग गरेका थियौँ । तर हामी प्रहरीसँग जुध्नुपरेको छ । एउटी महिलालाई समाजले हेर्ने दृष्टिकोणको सामना गर्नुपर्ने र आन्दोलनमा पुरुष प्रहरीसँग जुध्नुपर्ने बाध्यात्मक अवस्था छ । यसमा परिवर्तन हुन जरुरी छ ।
‘हस्तक्षेपकारी भूमिकामा आउनुपर्छ महिला’
दक्षिण एशियाको राजनीति हेर्दा नेपालको कानूनी व्यवस्था प्रगतिशील छ । निकै लामो संघर्षपछि प्राप्त भएको संविधानमा ३३ प्रतिशत महिला सहभागी हुनुपर्ने उल्लेख गरिएको छ। त्यसपछि स्थानीय तह लगायत राज्यका विभिन्न तहमा महिलाहरुको संख्या हेर्दा निराशाजनक छ जस्तो मलाई लाग्दैन । तर हामी संविधानको बल र कानूनमा टेकेरमात्रै नेतृत्वमा आयौँ । अब महिलाहरु हस्तक्षेपकारी भूमिकामा वा कार्यकारी पदहरुमा आउनुपर्छ ।
महिलाहरुलाई कठपुतलीका रुपमा मात्रै नेतृत्वमा अगाडि बढाइएको छ । महिला आफैं पनि कठपुतलीका रुपमा आइरहेका छन् कि ? भन्ने प्रश्न खडा भएको छ । किनकी कति महिलाहरुमा आफ्नो क्षमतामाथि विश्वास नगर्ने, अरुबाट निर्देशित हुने र अरुले भनेका कुराहरु सुनेर अघि बढ्ने समस्याहरु छन् । भालेवाद चिन्तनविरुद्ध लामो लडाईं हुन्छ । पितृसत्तात्मक समस्यालाई तोड्न हामीले चेतनालाई नै विकास गरेर अगाडि बढाउनुपर्छ । त्यसका निम्ति राज्य पनि अघि बढ्नुपर्छ ।
राजनीतिक दलहरुमा पनि विभेद छ । संविधानले ३३ प्रतिशत महिलाको सहभागिता भनिरहेका बेला हाम्रौ पार्टी लगायत अरुमा महिलाको सहभागिता कहाँनिर छ ? कुनैमा ७ र कुनैमा ९ प्रतिशत महिला सहभागिता छ । बढीमा २१ प्रतिशत महिला सहभागी छन् । महिला सहभागिता बढाउन राजनीतिक दलहरु सचेत हुनुपर्छ ।
महिलाहरु पनि दलहरुभित्रै हावी हुनुपर्छ । हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ । हामी महिलाहरु आन्दोलनमा सहभागी मात्रै हुने, ताली बजाउने र कार्यक्रमको शोभा बढाउने मात्रै भएर हुँदैन । जनयुद्ध र १९ दिने जनआन्दोलनमा थुप्रै महिलाहरु शहिद हुनुभएको छ । त्यसकारण हामीले योगदान दिनेमात्रै होइन कि हस्तक्षेप गरेर पनि नेतृत्वमा आउन हामी सक्षम छौँ र यो गर्नुपर्छ ।
राजनीति दलकै विभिन्न कार्यक्रमहरुमा महिला सहभागिता देखिन्छ, तर मञ्चमा महिलाहरु देखिदैनन् । मैले आफ्नै कार्यक्रममा पनि मञ्चमा महिला सहभागितको कुरा उठाएको छु । महिलालाई व्याज वितरण गर्न लगाउने मात्रै प्रवृत्ति छ । यस्ता कार्यक्रमहरु मैले बहिस्कार नै गर्ने गरेको छु । त्यसकारण पनि हामीले पार्टीभित्रै संघर्ष गर्न जरुरी छ ।
यो कुरा भनिरहँदा हामी आफैंले आफैंलाई विश्वास नगर्ने र अरुबाट मात्रै निर्देशित गर्ने हुनु हुँदैन । अब हामी त्यसरी अगाडि बढ्न सक्दैनौँ । राजनीतिक दलहरुले पनि महिलालाई प्रयोग मात्रै गर्ने होइन । महिलालाई देखाउन र समावेशी बनाउनका लागि मात्रै सहभागी गराउने होइन कि कसरी नेतृत्व दिन सकिन्छ भन्ने एजेण्डा र योजना बनाउनुपर्छ ।
अबको आन्दोलनहरुमा महिला वा पुरुषमात्रै होइन, समृद्धिको बाटोमा जानका लागि हामी सँगसँगै अगाडि बढ्नुपर्छ । यसरी अघि बढ्दा मात्रै हामी गन्तव्यमा पुग्न सक्छौँ र समाज परिवर्तन गर्न सक्छौँ ।
(नेपाल रिडर्सले नेता लामासँग गरेको कुराकानी ।)