विश्वबन्धु भण्डारी तनहुँ मात्र नभएर गण्डकीका पुराना कम्युनिष्ट नेता हुन्। सरकारी कर्मचारी, शिक्षक र पत्रकार हुँदै राजनीतिमा लागेका भण्डारी तत्कालिन नेकपाका जिल्ला सदस्य हुँदै पछि नेकपा मानन्धर समुहका केन्द्रीय नेता बनेका थिए। २०४७ देखि नेकपा एमालेमा आवद्ध भएर सक्रिय रहेका भण्डारीको हालै प्रकाशित फर्केर हेर्दा संस्मरणात्मक कृतिबाट हामीले एउटा कालखण्डमा उनले कसरी कम्युनिष्ट आन्दोलनमा भूमिका खेलेका थिए र कस्तो अनूभूति गरेका थिए भन्ने अंश साभार गरेर यहाँ प्रकाशित गरेका छौं। नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासको एउटा पाटो बारे बुझ्न हाम्रा पाठकहरुलाई यसले मद्धत गर्ने हामीले विश्वास गरेका छौं।
तनहुँ जिल्ला कमिटीमा जिम्मेवारी
भर्खर एस.एल.सी दिएपछि मेरो फुर्सदिलो समय थियो। आर्थिक अभावका कारणले कक्षा नौमा पढ्दै गर्दादेखि नै वि.सं.२०२५ साल वैशाखबाट हुलाकमा अस्थायी बहिदार जागिर सुरु भएकामा छ महिनापछि लोकसेवा आयोगबाट स्थायी भई एक वर्षभित्रै मेरो मुखियाको जागिर सुरु भएको थियो। दशदेखि पाँचको समयबाहेक जहाँ पुगे पनि सकिन्थ्यो। वि.सं.२०२७ सालको फागुन चैत्रसम्म यसरी नै बित्यो। वि.सं.२०२८ सालपछि त राजनीतिमा लागेको भन्ने आशङ्कामा प्रशासनले दुःख दिने काम सुरु भयो। त्यसमा पनि कम्युनिस्ट पार्टी भनेपछि प्रशासनको निगरानी क्रमशः बढ्दै गयो। करिब दुई वर्षको अवधिमा पोखरा हुँदै लमजुङको विकट गाउँ गौडा हुलाक सरुवा भयो। त्यसपछि नै बाध्य भएर जागिर पनि छाड्नु पर्यो।
ता वि.सं.२०२७ सालको चैत्रतिर एम.एस.थापा (प्र.अ.गा.फ.मा.वि.) ले गणपतिटारमा बोलाएर कपीको पानामा लेखेको एउटा पत्र दिए। पत्रमा नेपाल कम्युनिस्ट पार्टीको गण्डकी अञ्चल कमिटीले तनहुँ जिल्लामा पार्टी कमिटी पुनर्गठन गरेको र जिल्ला कमिटीमा पीताम्बर रानाभाट, विश्वबन्धु भण्डारी, टङ्कप्रसाद चापागाईसमेतको नाम समावेश गरेको पत्रमा लेखिएको थियो। मौखिक रूपमा प्र.अ. थापाले पत्र लिएर टङ्कसमेतलाई लिई राम्जाकोटमा पीताम्बरलाई भेटी बैठक सम्पन्न गरेर अञ्चल कमिटीमा रिपोर्ट बुझाउनु भन्ने निर्देशन दिए। ढोरफिर्दीको (हालः शुक्लागण्डकी) छाब्दी भक्कलमा पढाउने किचनासका टङ्कप्रसाद चापागाईसमेत भई हामी राम्जाकोट गयौँ। भिर्काेटका डम्बरबहादुर वि.क., राम्जाकोटकै खुमबहादुर रानाभाट र च्याचुलका तेजबहादुर वि.क.समेतलाई राम्जाकोटमा भेला गरी पीताम्बर रानाभाटको अध्यक्षतामा जिल्ला कमिटीको बैठक सम्पन्न भयो। सचिवको जिम्मेवारी पनि पीताम्बर रानाभाटलाई नै तोकियो।
वि.सं. २०१७ सालको संसद् विघटन र पार्टी प्रतिबन्धपछि सम्पर्क सूत्र टुटेका पार्टीका पुराना छरिएर रहेका व्यक्ति र स्कुल कलेज पढ्दै गरेका वामपन्थी प्रभावमा आएका व्यक्तिहरूसँग सम्पर्क सूत्र खोज्दै पार्टी सङ्गठन बिस्तार गर्ने कामको थालनी भयो। यसै क्रममा बन्दीपुर, डुम्रे, मिर्लुङमा लालबहादुर अधिकारी, शमशेरबहादुर भण्डारी, पुर्काेटका बलराम ढकाल, मिर्लुङ बयापानीबाट चितवन बसाइँ सरिसकेका गुणबहादुर घलेका भतिजा तुलबहादुर गुरुङ आदिलाई घर घरमा पुगेर भेट्ने काम भयो। चन्द्रावतीभन्दा थोरै माथि हाल एमालेमा सङ्गठित सुशीलचन्द्र भण्डारीका बुबा शमशेरबहादुर भण्डारीलाई उनको घरमा गएर, रात त्यहीँ बसेर भोलिपल्ट उनलाई लिएर बयापानी पुर्काेटलगायतका गाउँमा हामीहरू साथीहरू भेट्न पुगेका थियौँ। फर्केर आउँदा टुहुरे पसलमा त्यहाँ हुलाकको मुखिया पदमा कार्यरत ढोर मलायगिरी निवासी गिमबहादुर ढुङ्गाना, चन्द्रावतीका शिक्षक छविचन्द्र ढकाल, मुक्तिनाथ खनाल र खगेन्द्र सङ्ग्रौलालगायतलाई भेटेर फक्र्यौँँ। यसै क्रममा साभुङ हटियाका तुलसीप्रसाद श्रेष्ठ, ढोरफिर्दीका तोपबहादुर महतलगायतसँग पनि पुरानो सम्पर्क सूत्र खोज्ने क्रममा भेटघाट भएको हो। तुलसीप्रसाद श्रेष्ठ पञ्चायत प्रवेश गरिसकेकाले गोप्य रूपमा कुराकानी हुन्थ्यो तर पार्टीतर्फ भने सक्रियता थिएन।
तुलसीप्रसादले नै वामपन्थी कार्यकर्ता कीर्तिबहादुर थापालाई पनि पञ्चायतमा प्रवेश गराएर उपप्रधानपञ्च बनाएपछि हाम्रो सम्पर्क केही वर्ष टाढिन गयो। ढोरफिर्दीका टोपबहादुर महतले उनको घरमा जाँदा वि.सं.२०१५ सालमा पार्टी सदस्यता पाएको पुरानो सदस्यता कार्ड देखाएर ‘पुरानो हँ’ भन्दै रवाफ देखाउने काम गरे। बाहिर हामीलाई उनीबाट असहयोग भने भएन। यस अगाडि वि.सं.२०२४ सालको फागुन महिनामा किचनासबाट भक्कलमा आएर अनौपचारिक रूपमा विद्यार्थी जम्मा गरी शिक्षकको काम गर्दै आएका टङ्कप्रसाद चापागाई (हाल गैँडाकोट निवासी) ले शुक्लागण्डकी नगरपालिका वडा नं.–१० भक्कल गाउँमा रातको समयमा त्यहाँका तिलकराम पौडेल, विष्णुप्रसाद पौडेल, नाम सम्झना भएन, एकजना माइला सार्की र एकजना भुजेल थरका साथीलगायत मसमेत पाँच जना साथीलाई जम्मा गरेर पार्टी प्रवेश गराएका थिए, यसर्थ वि.सं.२०२४ सालमा मैले नेकपामा सङ्गठित राजनीतिक यात्रा सुरु गरेको हो। अग्रजहरूबाट एकदेव आलेको नाम धेरै ठाउँमा सुनेको थिएँ। एक पटक एम.एस. थापाले एकदेव आलेको परिवारमा उनकी विधवा धर्मपत्नीलाई नियमित आर्थिक सहयोग गर्ने गण्डकी अञ्चल कमिटीको निर्णय भएको छ भन्दै रु. ३००/– मलाई दिएर पुर्याउन जान भने। थापाले दिएको ठेगानाअनुसार आलेकै सहकर्मी दमौली बेनीपाटनका तिलबहादुर सार्कीलाई भेटी बेनीपाटनबाट मानुङको पूर्वी मोहडाको उकालो चढेर मानुङको थाप्लो हुँदै आलेका घरमा पुगेर उनकी विधवा धर्मपत्नीलाई पार्टीले पठाएको भनी रु. ३००/– तिलबहादुर सार्कीकै रोहबरमा बुझाइदिएँ। मैले यस्तो सहयोग नियमित आउँछ पनि भनेँ तर नियमित हुन सकेन।
गुरिल्ला तालिमः लडाकु कार्यकर्ता निर्माण गर्ने भन्दै तत्कालीन हाम्रा नेता एम.एस. थापाले गाउँफर्काेदय मा.वि.को पूर्वतर्फ तलको खाली टारमा पन्ध्र जनाको जत्थालाई तालिम दिन सुरु गरे। तालिममा किचनासदेखि यता पोखरासम्मका पन्ध्र जनाको टिम तयार भयो। बेलुकी खाना खाइसकेपछि बगरमा दुई घण्टाको तालिम कष्टपूर्ण नै थियो। तालिममा थोत्रा दुईओटा भरुवा बन्दुक पनि थिए। बाँकी रामसिङका काँचा लठ्ठी नमुना बन्दुकका रूपमा बोकेर परेड सुरु भयो। परेडमा किचनासका रामचन्द्र चापागाई (हाल बुटवल), किचनासकै दीपक अधिकारी (हाल पूर्वीनवलपुरको बेलढिया), कास्कीबाट अर्घौँका सुरथबहादुर खत्री, रामबहादुर प्यासिंह लेवा, राईपुर गहतेका रामप्रसाद भट्टराई, तालबेँसीका सूर्यप्रसाद पराजुलीलगायत सहभागी थियौँ।
त्यो गुरिल्ला तालिम हरिनास सम्मेलन अघिको हो। बिस दिनसम्म कष्टपूर्ण तालिम थियो त्यो। अहिले भए तालिमको उद्घाटन र समापनका लागि नेताहरू हेलिकप्टर चढेर आउँथे। त्यो कष्टपूर्ण जीवनयात्राको सङ्घर्षले नै निरङ्कुश पञ्चायती शासनका विरुद्ध हाम्रा ती प्रत्येक कदम कोशेढुङ्गासरह थिए।
पुष्पलालसँगको पहिलो भेट
पुष्पलाललाई मैले पहिलो पटक दरभङ्गामा भेटेको थिएँ। वि.सं.२०२८ साल कार्तिक महिनामा पोखराबाट पार्टी केन्द्रीय मन्त्रीपरिषद् सदस्य (पोलिटब्युरो) चित्रबहादुर गुरुङको चिठी लिएर म काठमाडौँ हुँदै दरभङ्गा पुगेको थिएँ। चित्रबहादुरले पुष्पलाललाई चिठी लेख्दा गण्डकी अञ्चल सदस्य लेखनाथ शर्मा पनि सँगै थिए। पृथ्वी राजमार्गमा वि.सं.२०२७ सालको माघ फागुनताका भर्खर कोशी अञ्चल यातायातले बस सेवा सञ्चालन गरेको थियो। पोखराबाट काठमाडौँका लागि १८ रुपैयाँ १८ पैसा भाडा दर भएकामा विद्यार्थी कन्सेक्सनमा १४ रुपैयाँमा काठमाडौँ जान पाइन्थ्यो। काठमाडौँमा एक रात बास बसेर भोलिपल्ट कालीमाटीबाट वीरगञ्जतर्फ जाने खाली ट्रकमा तीन रुपैयाँमा पछाडि उभिएर त्रिभुवन राजपथको बाटो (बाइरोड) वीरगञ्ज पुगेर पारिपट्टि रक्सोलबाट रेल चढेर म दरभङ्गा पुगेँ। दरभङ्गाको नेपाल कम्युनिस्ट पार्टीको पूर्वाञ्चल सम्पर्क अफिस भगवान्दास मोहल्लामा रोहित (नारायणमान बिजुक्छे) र रौतहटका किसान नेता हरिहरसँग भेट भयो। त्यहाँ तीन जनाले सँगै खाना खायौँ। भोलिपल्ट दरभङ्गा सहरभित्रै सिपीआइएम भवनको भुइँतलामा पराल बिछ्याएर भेलाका सहभागी बस्ने व्यवस्था मिलाइएको रहेछ। हलभित्र प्रवेश गर्दा १२/१५ जना साथीहरू नेपालका विभिन्न जिल्लाबाट पुगिसकेका थिए। एकै छिनमा प्रतिनिधिहरू आउने क्रमसँगै एकजना खादी रङको कमिज, ऊनीको टोपी लगाएको, हातमा ब्याग भिरेको, गोरो र भरोस लाग्दो व्यक्तित्वको प्रवेशसँगै उनलाई सबैले माहिला दाइ भनेर अभिवादन गरे। म पनि नजिक गएर अभिवादन गरेँ अनि पोखराबाट जमदार चित्रबहादुर गुरुङले पठाएको चिठी हातमा थमाएँ। उनी नै थिए पुष्पलाल। पुष्पलालले चिठी खोली सकेर ‘भरे तपाईं मसँगै बस्ने’ भने।
कार्यक्रम सुरु भयो। भेलालाई पुष्पलालले लामो सम्बोधन गरेका थिए। बेलुकी कार्यक्रम सकेर त्यहीँको खानापछि बाहिर निस्केर रिक्सामा बाटो लागियो। हामी बास बस्न गएको घर पुष्पलालका दरभङ्गाका सुपरिचित मित्र डा.भि.एन.सिंहको घर रहेछ। भित्र अलग अलग कोठामा बिस्तरा थियो। राति आराम गरेर भोलिपल्ट फेरि कार्यक्रममै हाजिर हुन पुगियो। कार्यक्रम सकेपछि रोहित र हरिहरसँगै दरभङ्गाको भगवान्दास मोहल्लामा एक रात बिताएर म पुनः काठमाडौँ हुँदै पोखरा फिर्ता आएँ। त्यहाँ रोहितले आफूहरू विद्यार्थी प्रतिनिधि भएर चीन गएको र चीनको विकास र त्यहाँको शिष्टाचार आदि विषयमा पनि सुनाएका थिए।
दरभङ्गा अस्पतालमा दुई वर्ष अगाडि वि.सं.२०२६ साल माघ १२ गते एकदेव आलेको निधन भैसकेको थियो। त्यहाँ रोहितले क्रान्तिकारी नेता आलेका विविध पक्षका बारेमा जानकारी गराएका थिए। घरि घरि रोहितबाट पुष्पलालले भनेको भन्दैमा सबै कुरा विश्वास गर्न हुँदैन भन्दा त्यति बेला उदाहरणका रूपमा होला भन्ने लागेको थियो। अन्ततः पुष्पलालसँग विद्रोह गरेर रोहित अलग भए भन्ने त्यसको १/२ वर्षभित्रै हल्ला आयो। रोहितको सोभियत सामाजिक साम्राज्यवाद, खोटा विचार जस्ता दस्तावेजहरू मार्फत पुष्पलाल र संस्थापनसँगका असहमतिका कुराहरू बाहिर आउन थाल्यो। यता भक्तपुरमा रोहितको नेतृत्वमा मजदुर किसान पार्टीको नामबाट छुट्टै समूहको अस्तित्व पनि बाहिर आउन सुरु भयो। बिस्तारै जनमत सङ्ग्रहपछि भक्तपुर नगरपालिका मजदुर किसान पार्टीको अघोषित कब्जामा पुग्यो। राष्ट्रिय पञ्चायतको निर्वाचनमा कर्णप्रसाद हेजुले त्यहाँको राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव जिते। त्यसपछि राष्ट्रिय पञ्चायतमा रोहितको नेतृत्व ने.म.कि.पा.को आवाज सदनमा गुन्जिन थाल्यो। पछि कर्णप्रसाद हेजु भक्तपुरकै एउटा जुलुसको घेराबन्दीको झडपमा मारिए।
हरिनास सम्मेलनपछि अञ्चल कमिटीमा
कम्युनिस्टको आरोपमा गाउँफर्कोदय मा.वि.का एम.एस. थापा, शालिग्राम पौडेल विष्ण्ाप्रसाद आचार्यलगायत वामपन्थी पृष्ठभूमिका शिक्षकहरू स्कुलबाटै निष्कासन भए। एम.एस. थापाले पार्टीका संस्थापक पुष्पलालसँग असन्तुष्टि व्यक्त गर्ने र बाहुन र नेवारले क्रान्ति गर्दैन भन्दै गैह्र माक्र्सवादी कुतर्क निकाल्न पनि थालेका थिए। यसै क्रममा आठ दश पन्नाको एउटा रिपोर्ट तयार भयो। उक्त रिर्पाेटमा भएका अरू धेरै कुराहरू मलाई सम्झना छैन तर उक्त रिपोर्टमा सेक्सचिल्ली जस्तो अति कायर, डन क्वुजेज जस्तो कृत्रिम बहादुरले पार्टी हाँकेर मुलुकको क्रान्तिको नेतृत्व गर्न सम्भव छैन भन्ने हरफ लेखिएको थियो। यस अगाडि वि.सं.२०२९ साल भदौमा गण्डकी अञ्चलस्तरीय सम्मेलन स्याङ्जाको हरिनास जङ्गल नजिकै कुरुम्फा भन्ने गाउँमा पार्टीकै साथीहरू कर्मबन्धु र बद्री शर्माको घरमा आयोजना भएको थियो। कर्मबन्धु पेसाले इन्जिनियर थिए। त्यो समयमा उनी त्रिशुलीतिर कार्यरत भएको भन्ने थाहा थियो। बद्री चिन्नेबास गाउँ पञ्चायतका उपप्रधानपञ्च भएकाले उनले हामीलाई सम्मेलन गर्ने घर धन्सारमा चाँजोपाँजो मिलाइदिने र आफू स्याङ्जा र ज्याग्दीतिरै बसेर सम्भावित खतराको निगरानी गर्ने कार्य गरेका थिए। उनी आफू भने सम्मेलनमा आएनन्। त्यो सम्मेलनमा कास्कीबाट लेखनाथ शर्मा, सुरथबहादुर के.सी., तनहुँ ऋषिङ क्षेत्रबाट डम्बरबहादुर वि.क. र च्याचुलका तेजबहुर वि.क. सहभागी भएका थिए।
ढोरफिर्दीबाट ज्ञानबहादुर बानियाँ, चुहुनेमुढा बायडाँडाबाट छायादत्त वाग्लेसमेत हामी मग्याम चिसापानी, प्यार्सिङ हुँदै ढुङ्गे ठाँटी गृहकोटबाट अगाडि बढ्दै गर्दा झमक्कै साँझ पर्यो। कुरुम्फा माथिको हरिनास जङ्गलको बाटैमा समीको रुख भएको चौतारीमा हामी पुग्यौँ। अब कता लाग्ने ? अन्धकार र झमझम असारे झरी थियो। छायादत्तसँग स्याखु र ज्ञानबहादुरसँग एउटा छाता थियो। हामीलाई बाटो पत्ता लगाउन गाह्रो पर्यो। हामीलाई गाइड गर्ने रामबहादुर भण्डारी अगाडि नै सम्मेलन स्थल पुगेकाले त्यो चौतारीबाट अगाडि बढ्ने उपाय भएन। समीको रुखमुनि एउटा स्याखु र छाताले ओतिएर हामीले रात बितायौँ। उज्यालो भएपछि देखियो, हामी जता गइरहेका थियौँ चार कदम अगाडि गएको भए छाँगाबाट खसिने रहेछ। सही बाटो पाँच सात कदम अगाडि गएर दाहिनेतर्फ मोडिनु पर्ने रहेछ, भोलिपल्ट मात्र थाहा भयो। उज्यालो भएपछि बिस मिनेट हिँडेर कार्यक्रम स्थल कर्मबन्धुको घरमा पुगियो। एम.एस. थापा, लेखनाथ, रामचन्द्र चापागाई, दीपक अधिकारीलगायतका प्रतिनिधि साथीहरू सबै पुगिसकेका रहेछन्। बिहानको खानाका रूपमा त्यहीँका साथीहरूले बैठक बस्ने धनसारको भुँइतलामा ताउलोमा दाल, भात र तरकारी पकाएका थिए। खानापछि करिब ११ बजेबाट सम्मेलन विधिवत सुरु भयो। भोलिपल्ट बिहान तीन बजेतिर ज्याग्दी चिन्नेबाससम्म स्याङ्जाबाट प्रहरी टोली आएको हल्ला आइपुग्यो।
बेलुकाको ताउलोमा बचेको खाना रुमालमा पोको पार्दै गोज्रेघारीको बाटो हामी उकालो लाग्यौँ। झरीमा हरिनासको जङ्गलमा जुका लाग्ने कुरा सामान्य भयो। गृहकोट हटिया नपुग्दै उज्यालो भयो। फर्कँदा यताबाट गएका चार जना लेखनाथ, डम्बरबहादुर, तेजबहादुर र म बुचा भानुमतीको बाटो फर्कियौँ। सम्मेलनले सचिवमा एम.एस. थापा, सदस्यहरूमा लेखनाथ शर्मा, रामचन्द्र चापागाई, विश्वबन्धु भण्डारी, दीपक अधिकारी, डम्बरबहादुर वि.क., सुरथबहादुर के.सी.लगायत रहेको कमिटी चयन गरेको थियो। सम्मेलनबाट फर्केको हप्ता दिनपछि पोखरा पार्दीमा चित्रबहादुर गुरुङको घरमा अञ्चल कमिटीको पहिलो बैठक सम्पन्न भयो। बैठकले टेक अर्गनाइजेसन भन्ने एम.एस. थापा, रामचन्द्र चापागाई, दीपक अधिकारी, सुरथबहादुर के.सी. रहेको गोप्य कमिटी पनि गठन गरेको थियो। टेक अर्गनाइजेसनले कति र के के काम गर्यो छुट्टै विवेचनाको विषय हुन सक्छ। एमए (मनि एक्सन) को कुरा पनि त्यति बेला भित्रभित्रै तरङ्गित हुँदै थियो। त्यति बेला नै गुल्मी अर्घाखाँचीतिर हरेबरे काण्डपछि केशरमणि पोख्रेललगायतका साथीहरू पक्राउ परिसकेका थिए।
एक पटक पर्वत कार्कीनेटामा बाबुराम पौडेलको घरमा बैठक बसेर साँझ परेपछि एम.एस. थापा र म पोखरातिर हिँड्यौ। आँधीखोलैखोला दामाचउरको बाटो भालुपहरा मुनिबाट सिद्धार्थ राजमार्गमा आइपुग्दा करिब रातको १२ बज्यो। रोडको किनारमा एउटा खाली कटेरमा ढोकाजस्तो एउटा फराकिलो टिनको पलेटो रहेछ। हिँड्न नसक्ने भएपछि हामी त्यो पलेटो बिच्छ्याएर सुत्यौँ। एम.एस. थापा मोटो मानिस, पल्टने बित्तिकै निदाएर घुर्न थाले। मलाई डर लाग्यो। सुनसान ठाउँ त्यति बेला रोडमा रातको समयमा पनि गाडी चल्दैनथ्यो। मलाई निद्राभन्दा पनि डर लाग्यो। रातभर निदाइनँ। उज्यालो भएपछि स्याङ्जातिरबाट एउटा बस आयो। हामी बस चढेर पोखरा उत्रियौँ।
पार्टीमा बिस्तारै विवादहरू झ्याङ्गिन थाल्यो। एम.एस. थापालाई पोखरामा पक्राउ गरेर नुवाकोट जेल पठाइयो। सदरमुकाम स्याङ्जामा झरे पनि कारागार पुरानो सदरमुकाम नुवाकोटमै थियो। एक दिन भिमादमा तिहारको भाइटीका लगाएर पोखरा हुँदै म उनलाई जेलमा भेटे्न सर्केटारीबाट पैदल हिँडेर नुवाकोट पनि पुगेको थिएँ। जेलको थुनामा स्याङ्जाका केही दादाहरू रहेछन्। दिदीबहिनीहरूले बन्दी जीवन बिताइरहेका दाजुभाइलाई टीका लगाएर रमाइलो गर्दै खाना खाँदै गरेको र टपरीमा सेलरोटीलगायत विविध प्रकारका नेवारी परिकारका खानाहरू खाइरहेको रमाइलो दृश्य पनि जेलको प्राङ्गणमा देख्न पाइयो।
गुदरी काण्डले खैलाबैला
गाउँ गाउँमा पुगेर पार्टी सङ्गठन बिस्तार अभियान चलिरहेको थियो। वि.सं.२०२८ सालको जाडो महिना थियो। घारी तालबेँसीमा साथीहरू जम्मा हुने कुरा थियो। तालबेँसीकै शालिकराम सिग्देल, लीलानाथ रिमाल र सूर्यप्रसाद पराजुलीलगायतले हामीलाई त्यहाँ बोलाएका थिए। बेलुकी साँझ परेपछि गा.फ.मा.वि.का शिक्षक एवम् लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल र म भएर त्यता लाग्याँै। तालबँेसीको गुदरी भन्ने बगरमा रहेको खाली गोठमा आठ–दश जना साथीहरू भेला भएका रहेछन्। चारैतिर अन्धकार थियो। बत्ती बाल्ने, हल्ला गर्ने कुरै थिएन। भेला अत्यन्त गोप्य रूपमा आयोजना भएको थियो। सामान्य प्रशिक्षणपछि हामीसँग रहेको हातैले लेखेर लगेको पार्टी सदस्यता फारम भटाभट साथीहरूलाई भर्न लगाइयो। अँध्यारामा सामान्य टर्च लाइटको सहयोगमा काम भइरहेको थियो। अचानक एक जना मानिस समूहबाट उठेर बाहिर भागेको शङ्का लाग्यो। नभन्दै उनी खाली फारम लिएर भागेको कुरा पनि पत्ता लाग्यो। हामी बाँकी साथीहरूको फारम सङ्कलन गरेर गणपति टारतिर आयौँ।
भोलिपल्ट हल्ला फैलियो। कम्युनिस्ट पार्टीको आवेदन फाराम दुलेगौँडामा मेडिकल सञ्चालन गरेर बस्ने धनेश्वर शर्माको हातमा बिहानै पुगेछ। फाराम शालिग्राम पौडेलको हस्ताक्षर मध्येको परेछ। धनेश्वर यता गाउँफर्कोदय माध्यमिक विद्यालयका सञ्चालन समितिका अध्यक्ष पनि थिए। अब पर्यो फसाद। बेलुकीपख प्रधानाध्यापक एम.एस. थापा, शिक्षक शालिग्राम पौडेल र मसमेतलाई दुलेगौँडामा झिकाउने काम भयो। त्यसपछि धनेश्वरको रोहवरमा छलफल सुरु भयो। उसै त धनेश्वरको चर्को स्वर, हामीलाई थर्काउन सुरु गरे। अन्त्यमा एम.एस. थापाको चतुर्याइँले शालिग्राम पौडेललाई स्कुलको शिक्षक पदबाट राजीनामा लेखेर सञ्चालक समितिका अध्यक्ष शर्मालाई बुझाउने काम गर्न लगाइयो। त्यो राजीनामा तुरुन्तै कारवाही गर्नु भनी तोक आदेशसहित प्रधानाध्यापक थापाको हातमा दिएपछि त्यो पार्टी सदस्यताको फारम पनि फिर्ता माग्दा शर्माले थापाकै हातमा दिए। त्यसलाई त्यहीँ सलाई कोरेर धनेश्वरकै अगाडि प्रमाण धुल्याउने काम भयो। शालिग्रामको राजीनामा पत्र थापाको हातमा आयो।
हामी ढोरफिर्दीतिर फिर्ता आयौँ। अलि वर आइपुगेर पुगेर शालिग्रामको राजीनामा पत्र हामी सबैको रोहवरमा च्यातेर धुल्याइदिएपछि अवैधानिक कागज पनि नष्ट भयो। राजीनामा पनि फासफुस भयो। भोलिपल्टदेखि नै शालिग्रामको जागिर यथावत् चल्यो। त्यसको चौबिस घण्टा नबित्दै गुदरी काण्डको हल्ला सकियो। त्यति बेला एम.एस. थापाको व्यक्तित्वले धनेश्वरको फुर्तिलाई सन्तुलनमा राख्न गाह्रो परेन। नेपाल कम्युनिस्ट पार्टीको सदस्यता फारम लिएर भाग्ने उदण्ड भगौडा पुजारीका छोरा कि नाति भन्ने सुनियो। उनको नाम भीमबहादुर थियो। त्यसपछि उनीसँग कतै जम्काभेट भएको सम्झना छैन। डा. धनेश्वर शर्मा ढोरक्षेत्रका त्यो समयमा निकै गण्यमान्य र जुझारु व्यक्ति थिए। वि.सं.२०२४/०२५ सालतिर बन्दीपुरबाट सदरमुकाम दमौली स्थानान्नतरण गर्ने क्रममा धनेश्वर शर्मा जिल्ला पञ्चायतका सदस्य थिए। सदरमुकाम सार्ने काण्डमा बन्दीपुरेको निकै ठुलो प्रतिरोध भयो। प्रतिरोधको झडपमा धनेश्वरलाई टाउकामा चोट लागेर घाइते भएको र त्यहाँको अवस्था अवलोकन गर्न तत्कालीन युवराज वीरेन्द्र हेलिकोप्टरमा बन्दीपुर आएको र धनेश्वरलाई उपचारका लागि सँगै हेलिकोप्टरमा जान युवराजले आग्रह गर्दा उनले ‘पर्दैन सरकार ! धनेश्वर स्वयम् डाक्टर हो, म आफ्नो उपचार आफैँ गर्छु’ भनेर नगएको कुरा त्यति बेला हल्ला फैलिएको थियो।
दुईचार दिनपछि संयोगले म खैरेनीटार पुगेको थिएँ। हातमा लठ्ठी टेकेर सेतो पट्टी टाउकामा बाँधेर लामो लामो कदममा आउँदै गरेका उनीसँग जम्काभेट भयो। मैले विनयको स्वरमा ‘घाउ ठुलै छ बुबा ?’ भन्दा ‘ठुलै छ, हाने बजियाहरूले’ भनेर उत्तर फर्काउर्दै उनी अगाडि बढे। उनका छोरा त्रिलोक रिमाल मसँगै एउटै कक्षामा थिए। उता स्कुलका पनि अध्यक्ष शर्मासँग राम्रै चिनजानी थियो। उनै धनेश्वर वि.सं. २०४० सालतिर हाम्रा नेता नन्दमोहन भट्टराई, गा.फ.मा.वि.का पूर्व प्र.अ. घनश्याम घिमिरेलगायतको पहलमा नेकपा मानन्धर समूहमा सामेल भई एउटै पार्टीमा काम गर्ने अवसर पनि समय र परिस्थितिले जुरायो।
ढोर क्षेत्रका हक्की, हठी एवम् निडर नेताका रूपमा धनेश्वरको पहिचान थियो। वि.सं.२०१५ सालमा राजा महेन्द्रको पश्चिमाञ्चल भ्रमणका क्रममा गाछेपानीमा राजाको घोडा (बग्गी) समातेर राजासँग कुरा गरेका थिए। त्यहाँ दोहोरो संवादमा राजा महेन्द्रले ‘खै धनेश्वर तिमी माथि आउन सकेनौ’ भनेछन्। भ्रमणपछि राजाले गण्डकी अञ्चलको बडाहाकिममा नियुक्ति गर्ने प्रस्ताव आउँदा ‘धनेश्वरलाई बडाहाकिम हुन सुहाउँदैन, म बडाहाकिम भएपछि मेरो श्रीमती बडाहाकिमनी हुन पर्यो। त्यसपछि मेरो खेत बाँझो रहन्छ’ भन्ने प्रत्युत्तर साथ बडाहाकिम अस्वीकार गरेको विषय पनि त्यति बेला पछिसम्म चर्चित बनेको थियो।
ढोर र दुरुङचुङ क्षेत्रमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण पछिको चुनावमा जिल्ला पञ्चायत सदस्यमा हारेपछि कुनै गुट र उपगुटमा नलाग्ने स्वभावका धनेश्वर विरक्तिएर राजनीति छाडेको घोषणा गर्दै दुलेगौँडामा नयाँ घर बनाएर आफ्नै निजी मेडिकल सञ्चालन गरेर बसेका थिए। संयोगले वि.सं. २०४० सालतिर हामीसँग पार्टीमा सामेल भएपछि उनको घरमा बैठक बस्न सजिलो पनि भयो। विष्णुबहादुर मानन्धर र नीलाम्वर आचार्यलगायत नेताहरू आउँदा त्यहाँ पटक पटक भेला आयोजना भएको थियो। ढोरतिर एउटा प्रचलित भनाई पनि थियो ‘धनेश्वर न्याय’ उनको अगाडि न्याय माग्न जो अगाडि पुग्यो उसैले न्याय पाउँथ्यो।
त्यति बेला पार्टी सङ्गठन गर्ने नाममा भिड जम्मा गर्ने जस्तोे गलत कामले परिणाम प्रत्युत्पादक भएको हो भन्ने गुदरी काण्डलाई अहिले मैले फर्केर हेर्दा महसुस गरेको छु।
चुवा काण्डको सनसनी
लुम्बिनीमा हरेबरे काण्डको सनसनी थियो। पार्टी कार्यकर्ताहरूको धरपकड र भागाभाग थियो। केशरमणि पोख्रेल गिरफतार भई जेलमा थिए। एक पटक चित्रबहादुर गुरुङ र म वि.सं. २०३५ असोज १ गते दरभङ्गा जाने क्रममा सेन्टर जेलको गेटमा केशरमणि पोख्रेलसँग भेट पनि भएको थियो। यता गण्डकी अञ्चलको हरिनास सम्मेलनको लगत्तै नवगठित अञ्चल कमिटीको बैठक पोखरा पार्दीमा चित्रबहादुर गुरुङको घरमा रहेको एम.एस. थापाको डेरामा चलिरहेको थियो। नेता एम.एस थापाले इसारा गरेर रामचन्द्र चापागाई, दीपक अधिकारी, सुरथबहादुर खत्री र मलाई बाहिर बोलाए। त्यहाँ उभिएर नै थापा र रामचन्द्र चापागाईले एकैचोटी टेक अर्गनाइजेसनका लागि नाम प्रस्ताव गरे। मलाई साक्षी राखेर एम.एस. थापा, चापागाई, अधिकारी र सुरथबहादुर खत्रीसमेतको कमिटी घोषणा भयो। बैठकपछि एक डेढ महिनाभित्रै पर्वतको कुस्मा नजिकै चुवा काण्डको घटना घट्यो। त्यसको तयारी थापा र चापागाई मिलेर भित्रभित्रै भइरहेको रहेछ। घटना घटेको लगतै चापागाई र दीपक अधिकारीले मलाई भेटेर नालीबेली बताएका थिए।
पोखराबाट पर्वत स्थित खड्गबहादुर गुरुङको घर दुर्लुङ पुगेर रिपोर्ट ल्याउने कमिटीको निर्देशन मलाई भयो। सोअनुसार म पर्वतका लागि प्रस्थान गरेँ। पोखराबाट आँधीखोला निस्केर कार्कीनेटा हुँदै वीरेठाँटीबाट माथि दुर्लुङ भन्ने गाउँमा खड्गबहादुर गुरुङको घरमा पुग्दा झमक्क साँझ परिसकेको थियो। त्यहाँको गुरुङ परिवार र छरछिमेकमा त्रास र आन्तरिक सन्नाटा थियो। भोलिपल्ट बिहान म सदरमुकाम कुस्माको जिल्ला प्रशासन कार्यालयमा कार्यरत ज्याग्दी बलिकोट निवासी मेरा आफ्नै भिनाजु ओमकार लम्सालको कोठामा पुगँे। भिनाजुलाई बाग्लुङमा साथी भेटेर आएको बहाना सुनाएँ। कोठामा खाना पकाउँदै गरेका भिनाजुले खाना खाएर जान भन्नुभयो। उहाँको कुरा काट्ने कुरै थिएन, किनकि हाम्रो घरमा बलिकोटे ओमकार भिनाजु भनेपछि कडा स्वभावका भन्ने छाप परेको थियो। त्यसैले उहाँले भनेको मान्नै पर्यो। मैले चामल थपिसकेँ, बस, भन्नुभयो। उता जिल्ला प्रशासन कार्यालयबाट घरी घरी यति जना पक्राउ परे, उति जना पक्राउ परे, थप खोजी भएको रिपोर्ट तारन्तार आइरहेको थियो। नजानिँदो पाराले मैले भिनाजुसँग सोधेँ, ‘के भएको हो’ भनेर। भिनाजुले कड्किँदै ‘चुवा भन्ने गाउँमा कम्युनिस्टहरूले दुईओटा घरमा रातमा बन्दुक पड्काउँदै डकैत गरेर भागेछन्। केही मानिस प्रहरी पक्राउमा परेका छन् भने केही अनुसन्धानका लागि समातिएका पनि छन्’ भन्नुभयो। मलाई पनि हतार छ, चाँडो अफिस जानु छ भन्दै गर्दा मेरा मनभित्र छेपारा नाचेको थियो त्यही पनि प्रशासनको मुख्य मान्छेको सालो, त्यसमा पनि पाहुना, म सुरक्षित नै छु भनेर ढुक्कमा थिएँ। भिनाजुले घिउ र भात खुवाउनु भयो।
त्यसपछि भिनाजुसँग छुटेपछि म पोखरातिर छाटिएँ। बेलुकाको चार नबज्दै, म स्याङ्जाको नाउँडाँडा हुँदै पोखरा आइपुगेँ। पोखरा बिरौटामा बसबाट ओर्लिएपछि मेरो नाकबाट रगत बग्यो। धोइपखाली गरेर म अगाडि बढँे। पर्वत दुर्लुङका खड्गबहादुर गुरुङ प्रधानपञ्च भए पनि विद्रोही स्वभावका थिए। उनैका भाइ क्षेत्रबहादुर गुरुङ पर्वत जिल्ला पञ्चायतमा सोही कालखण्डमा सभापति हुँदै पछि राष्ट्रिय पञ्चायत सदस्य र मन्त्री पनि भए। पर्वतका कहलिएका पञ्च निर्दलवादी नेता क्षेत्रबहादुर गुरुङ र दाजु खड्गबहादुर गुरुङ राजनीतिका फरक धारमा थिए। चुवा काण्डपछि खड्गबहादुर गुरुङ र ग्याँदीचौरका भूपेन्द्र सिंहले मुद्दा मामिला, जेल नेल, प्रवाससमेत गरी निकै हन्डर खाएका थिए। पोखरा आइसकेपछि एम.एस. थापालाई बस चढाएर मुग्लिङसम्म पुगेर काठमाडौँ पठाएपछि म घर आएँ। चुवा काण्डपछि नै एम.एस. थापा पोखरामा र रामचन्द्र चापागाई भैरहवामा प्रक्राउ परे। उनीहरूले झन्डै दुई वर्ष राजकाज मुद्दा खेप्नु पर्यो। वि.सं.२०३८ सालतिर टीकापुर महाधिवेशनपछि पार्टी कामको सिलसिलामा रामचन्द्रसँगै म पनि गिरफ्तार भई भैरहवा प्रहरी खोरमा सात दिन बिताएपछि तत्कालीन डि.एस.पी. अच्युतकृष्ण खरेलले तपार्इं छुट्न चाहनुहुन्छ भने तपाईंलाई छाडिदिन्छु तर त्यस अगाडि नजिकैको दुर्गा मन्दिरमा गएर भगवतीको प्रसादस्वरूप दर्शन गरेर टीका लगाउनुस् तब मात्र म तपार्इं निर्दोष भनेर पत्याउँला भनेपछि मलाई कागज गर्न पनि नपर्ने, सबैले आस्था गरेको भगवतीको दर्शन गरेर छुटकारा पाइने भएकाले सजिलै भयो।
प्रहरी हिरासतबाट छुटेपछि म सुनौली नजिकै रामचन्द्रको डेरामा पुगेँ। डेरामा मेरो झोला थियो। झ्याल खुल्ला रहेछ, एउटा लट्ठीले झोला झ्यालको नजिक ल्याएर एक एक गर्दै कपडा र सामग्री निकालेपछि झोला पनि निस्कयो। त्यसपछि म पोखरातिर टाप ठोकेँ। यस अगाडि वि.सं.२०३६ साल कार्तिकमा हामी नेकपा मानन्धर समूहमा प्रवेश गरे लगत्तै भारतको मुजफरपुरमा वि.सं.२०३८ को अन्त्यतिर पार्टीको महाधिवेशन आयोजना भएको थियो। सोही महाधिवेशनले रामचन्द्र चापागाई र मलाई केन्द्रीय कमिटीमा निर्वाचित गरेको हो। जनकपुरका युवा नेता एवम् जिल्ला कमिटी सचिव टीका पोख्रेलको क्यान्सर रोगबाट निधन भएकाले उनकै नामबाट प्रवासमा आयोजित महाधिवेशनलाई टीकापुर महाधिवेशन नामकरण गरिएको थियो। महाधिवेशन पूर्व नै केन्द्रीय कमिटीको बैठकले दक्षिणपन्थी एवम् राजावादी डा. केशरजंग रायमाझीलाई विष्णुबहादुरको नेतृत्वमा पार्टीबाट निष्कासनपछि नै पुष्पलाल समूह छाडेर म, रामचन्द्र चापागाई, दीपक अधिकारी, ठाकुर शर्मा, भक्तिप्रसाद शर्मा, लोकेन्द्र शर्मालगायतका साथीहरू मानन्धर समूहमा प्रवेश गरेका थियौँ।
प्रसङ्ग चुवा काण्डतिरैः पर्वत जिल्लाको कुस्मा नजिकै चुवा भने गाउँमा भएको मनियाक्सनको नामको डकैत काण्ड पार्टी सङ्गठनका लागि प्रत्युत्पादक नै थियो। लुम्बिनीको हरेबरे (केशरमणिको नेतृत्व) घटना, चितवनको जुगेडी (सर्वहारावादी श्रमिक सङ्गठनका नेता रूपलाल विश्वकर्माको नेतृत्वमा घटेको) घटनापछि वि.सं.२०२९ सालको चैत महिनातिर चुवा काण्ड घटेको थियो। चुवा काण्डपछि गण्डकीमा पार्टी सङ्गठनमा नकारात्मक प्रभाव पर्न गएको थियो। पार्टीका लागि एम.ए. भनिए पनि त्यस्तो काण्डबाट प्राप्त धनदौलत क–कसले हात पारे, पार्टीमा औपचारिक जानकारी पनि भएन, त्यसैले उपलब्धि हुने कुरै थिएन। पार्टी केन्द्रमा पुष्पलाललाई यसबारे के रिपोटिङ भयो तथ्य रूपमा मलाई जानकारी भएन।
– केशरीडाँडामा भएको तनहुँ जिल्ला अधिवेशन एक अर्को प्रसङ्गमा उल्लेख छ। म गण्डकी अञ्चल कमिटी सदस्य हरिनास सम्मेलनबाट नै छानिएकाले तनहुँ र कास्की जिल्लामा सङ्गठन निर्माणमा मेरो जिम्मेवारी तोकिएको थियो। बहुदलको प्रचार प्रसारका क्रममा पार्टी सङ्गठनलाई सक्रिय पार्न सम्मेलन, अधिवेशन गर्नुपर्ने दायित्व पार्टीभित्र थियो। पोखराका साथीहरू नन्दमोहन भट्टराई, उमाकान्त लामिछाने, (त्यति बेला टेकनाथ बराल भारत प्रवासमा निर्वासित थिए) लेखनाथ शर्मा, क्षेत्रबहादुर कुँवर, सुरथबहार केसी, सुन्दरमणि पराजुली, कुसुमकेशव पराजुली, अर्जुन नेपालीलगायतका साथीहरूसँगको निर्णयले गैह्रापाटन पराजुली परिवारको घरको माथिल्लो तलामा कास्की अधिवेशन सम्पन्न भयो। अधिवेशनमा माथि उल्लिखित साथीहरूका साथै महिन्द्र कतिला, नन्दु श्रेष्ठलगायत पनि सहभागी थिए। विशेष गरेर वि.सं.२०३० सालपछि वि.सं.२०३६ सालको जनमत सङ्ग्रहमा पोखरामा हाम्रा गोप्य बैठकहरू गर्ने पार्दी चित्र बहादुरको घर, बैदाम नुवाराथोक टेकनाथ बरालको घर अखडा नै थिए। त्यो सम्मेलनका लागि म आफैँले सङ्गठनात्मक प्रतिवेदन पनि तयार पारेको थिएँ।
– कम्युनिस्ट राजनीतिमा संलग्न भएको आरोपमा गाउँफर्कोदय मा.वि.मा कार्यरत एम.एस. थापा, शालिग्राम पौडेल, विष्णुप्रसाद आचार्यलगायत वामपन्थी पृष्ठभूमिका शिक्षकहरूलाई शिक्षकबाट निष्कासन गरिएपछि शालिग्राम पौडेल कृषि विकास बैङ्कको जागिरतिर, विष्णुप्रसाद आचार्य अन्नपूर्ण नि.मा.वि. सिक्लेसमा शिक्षककै रूपमा र एम.एस. थापा पोखरामा कानुन व्यवसायमा लागेको र यो पङ्क्तिकार विश्वबन्धु भण्डारी पनि शिक्षण कार्यमा संलग्न भएको अर्काे प्रसङ्गमा आइसकेको छ।
फुट, विभाजन र पुष्पलालको निधन
पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा ‘मुक्ति मोर्चा’ समूहबाट मोदनाथ प्रश्रित, जीवराज आश्रित, युद्धप्रसाद मिश्रलगायतले मोर्चा नै कब्जा गरेर अलग भएको कुरा पनि इतिहासमा एउटा ऐतिहासिक घटना थियो। मुक्ति मोर्चा समूह पुष्पलालबाट अलग हुने क्रममा एउटा कार्टुन मुक्ति मोर्चाको आवरणमा प्रकाशित थियो। वि.सं.२०३३ सालमा नेपाली काङ्ग्रेसका नेता वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउँदा एउटा जुत्ता बनारसमा छोडेको सङ्केत गर्दै छुटेको जुत्ता पुष्पलालले बोकेर आएको सङ्केत गर्दै ‘कहाँ गयौ, यति लामो माया प्रीति छाडेर’ भन्ने व्यङ्ग्य चित्र पनि प्रकाशित भएको थियो। यो इतिहासले बिर्सेको कुरा हो। त्यस्तै युद्धप्रसाद मिश्रले तत्कालीन झापाली समूहलाई अँगाल्दै कविता लेखेका थिए।
कविताको हरफमा ‘क्रान्ति नै गर्नु छ यदि भने लौ फर्क झापातिर’ भन्ने लाइन अहिले पनि मेरो सम्झनामा ताजै छ। यसरी पुष्पलालसँग अलग हुने क्रममा यस्तै अनेकाँै प्रचारहरू हुने गरेका थिए। हुन त यसअगाडि वि.सं.२०२८ सालदेखि नै पूर्व कोशी समूह पनि पुष्पलालसित विमति राख्दै आएको थियो। मोहनविक्रम र निर्मल लामाहरू पनि पुष्पलालसँग अलग भइसकेका थिए। मोहनविक्रमको नेतृत्वमा ने.क.पा. मसाल वि.सं.२०३१ सालमा विधिवत् चौथो महाधिवेशनका नामबाट अलग पार्टी घोषित भइसकेको थियो। यता बिस्तारै झापालीहरूको आकर्षण बढ्दै गएको थियो। त्यो आकर्षणको माहोलमा वि.सं.२०३५ साल पुस ११ गते माओ जयन्तीको अवसर पारेर नेकपा माले गठन भएको कुरा पनि इतिहासले पुष्टि गरिसकेको छ।
वि.सं. २०३४ सालतिर ‘पुष्पलालसँग नौओटा असहमति’ भन्दै उल्लिखित बुँदाहरूको टिपोट रहेको कपी पोखरामा एम.एस. थापासँग रहेछ, जुन जीवराज आश्रितमार्फत प्राप्त भएको थियो। टिपोटमा पुष्पलालले नौ वर्षसम्म पार्टीको महाधिवेशन नबोलाएको, लामो समयसम्म केन्द्रीय कमिटीको बैठक सञ्चालन नभएको, पार्टीलाई क्रान्तिकारीभन्दा पनि सम्झौतावादी दृष्टिकोणबाट अगाडि बढाउने र काङ्ग्रेसको पुच्छर भएको जस्ता आरोप उक्त टिपोटमा थिए। लगत्तै पोखरामा जीवराज आश्रितसँग मेरो भेट भयो। राति राति पोखराका मासबार, फुस्रेखोला आदि दुई, तीन ठाउँमा बैठक भेला गर्दै तनहुँको ढोरफिर्दीमा समेत एउटा सानो भेला आयोजना गरिएको थियो। जीवराज आश्रित भूमिगत रूपमै पोखरातिर लागे। म तनहुँमै बसँे। त्यसपछि जीवराज आश्रितसँग लामो समय भेट भएन। एक्कासि वि.सं.२०४६ सालको आन्दोलन सुरु हुनुभन्दा अगाडि माघ महिनामा म गिरफ्तार नहुँदै महेन्द्रपुलको एउटा कर्नरमा जम्का भेट भएको थियो।
चालिसको दशक आसपासमा पुष्पलाललाई छाड्ने र अलग समूह निर्माण गर्ने क्रम बढ्दै थियो। वि.सं.२०३५ सालको असार महिनामा हामी दधिराज सुवेदी (हाल भिमाद नगरपालिकाका मेयर) र म नौलो लहर सामूहिक सङ्कलन पत्रिका छपाउन बनारस पुग्यौँ। त्यति बेला पुष्पलाललाई बिरामी भई उपचारका लागि दिल्ली लगिसकेको रहेछ। यस अगाडि दरभङ्गादेखि बनारसमा पुष्पलालसँग पटक पटक मेरो भेटघाट हुने गरेको थियो। अफसोस, त्यो पटक भेट हुन सकेन। ‘नौलो लहर’ पत्रिका छापेर हामी नेपाल फर्कियौँ। पत्रिका छपाइमा पुष्पलालसँगै बसेका तिलक पराजुलीले नजिकबाट सहयोग गरेका थिए। नेता बलराम उपाध्यायसँग भेटघाट र पार्टीका प्रशिक्षणहरू पनि हामीले लिँदै आएका थियौँ। त्यति बेला गोपीरमण उपाध्याय पनि बनारसको पार्टी हेडक्वाटरमै बसेर संस्कृत विषयमा विद्यावारिधिको शोध गर्दै थिए। अन्ततः वि.सं.२०३५ साल साउन महिनामा पुष्पलालको उपचारका लागि पोखरामा सहयोग जुटाएर रामचन्द्र चापागाई र म बनारस जाने तयारी गर्दै थियाँै। वि.सं.२०३५ साल साउन ७ गते बेलुकी बि.बि.सी.बाट नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको उपचारका क्रममा गोविन्द बल्लभ हस्पिटल, दिल्ली, भारतमा निधन भयो भन्ने समाचार प्रसारण भयो। त्यसपछि माहोल बदलियो। त्यसको हप्ता दिनभित्रै रामचन्द्र चापागाई र म बनारस पुग्यौँ। रामबहादुर भण्डारी हामीभन्दा अगाडि नै पुगिसकेका थिए।
पुष्पलालको अस्तुसम्म पनि नेपाल ल्याउन पञ्चायती सरकारले अनुमति दिएको थिएन। भूमिगत रूपमा पुष्पलालको अस्तु पशुपतिमा विर्सजन गर्नका लागि रामचन्द्र चापागाई, रामबहादुर भण्डारी र मलाई बलराम उपाध्यायले जिम्मा लगाए। साथसाथै असोज ६ गतेका दिन अथवा २२ सेप्टेम्बरमा पार्टी स्थापनाको सन्दर्भ पारेर दरभङ्गामा सङ्कटकालीन सम्मेलन आयोजना गर्नेसमेत निर्णय भएको कुरा सुनाउँदै वि.सं.२०३५ साल असोज ६ गतेका लागि पोखराबाट नेता चित्रबहादुर गुरुङलाई दरभङ्गा लिएर आउने जिम्मा पनि उपाध्यायले मलाई दिए। यता अस्तु विसर्जनको काम पशुपतिमा सकेर रामबहादुर भण्डारी र रामचन्द्र चापागाई गण्डकीमा आए र म अगाडि नै गोरखपुरको बाटो यता आइसकेको थिएँ। गण्डकीका विभिन्न ठाउँमा श्रद्धाञ्जली बैठक भेला सम्पन्न भए। श्रद्धाञ्जली सभाकै क्रममा भिमादको जिदी खोलाको किनारमा हालको जनज्योति विद्यालय नजिकै पनि श्रद्धाञ्जली सभा भिमादका साथीहरूको सहभागितामा सम्पन्न भएको थियो।
वि.सं.२०३५ असोज ६ गते आउनुभन्दा हप्तादिन अगाडि नै नेता चित्रबहादुर गुरुङ र म काठमाडौँ पुगेर त्यहाँ हिक्मतसिंह भण्डारी, सिद्धिलाल सिंह, हिरण्यलाल श्रेष्ठ, केशरमणि पोखरेल (सेन्ट्रल जेल) लगायत पुराना पाका नेताहरूसँग भेटेर हामी दुवै जना बाइरोडको बाटो वीरगञ्ज हुँदै दरभङ्गा पुग्यौँ। वि.सं.२०३५ साल असोज ६ गते दरभङ्गाको हमराज होटलको हलमा पार्टीको सङ्कटकालीन सम्मेलन पार्टीका वयोवृद्ध नेता चित्रबहादुर गुरुङको अध्यक्षतामा आयोजना भयो। सम्मेलनमा बलराम उपाध्यायले पुष्पलालद्वारा लिखित वि.सं.२०२५ सालको तेस्रो सम्मेलनद्वारा पारित नयाँ जनवादी कार्यक्रमको महङ्खवबारे सबिस्तार प्रस्तुत गरेको विषय अहिले पनि मेरो सम्झनामा रहेको छ। दरभङ्गाको सङ्कटकालीन सम्मेलनले सहाना प्रधान, तिलक पराजुली–पर्वत, रामचन्द्र चापागाई–स्याङ्जा, मोहन चापागाई (पछि नेपाली काङ्ग्रेसमा प्रवेश गरेर राष्ट्रिय सभा सदस्य) लगायतलाई केन्द्रीय कमिटीमा चयन गरेको थियो। सहाना प्रधान सम्मेलनमा उपस्थित नभए पनि पुष्पलाललाई अन्तिम श्रद्धाञ्जली दिँदा तपाईंको अभिभारा पूरा गर्ने छु भनेको वचनलाई उद्धृत गर्दै अनुपस्थित रहे पनि सम्मेलनद्वारा गठित केन्द्रीय कमिटीमा मनोनित गर्न प्रस्ताव आयो। कमिटीले सर्वसम्मतिले चयन गरेको थियोे। उक्त सम्मेलनले चित्रबहादुर गुरुङ अध्यक्ष, नेता बलराम उपाध्याय प्रवक्ता चयन गरेको थियो।