Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पुँजीवादी संक्रमणको झाँकी :एउटा ठूलो पूँजीपतिले हमेसा अधिकाङ्स पूँजिपतिको घाँटी रेट्छ

टंक कार्की टंक कार्की
अशोज १९, २०७६
- विमर्शका लागि, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    समाजवाद र नेपालको भावी दिशा –२

    टंक कार्की नेपाल कम्युनिष्ट पार्टीको बुद्धिजीवी फाँटका सहइञ्चार्ज हुनुहुन्छ। नेपालको राजनैतीक आन्दोलनका एक चर्चित नेताका रुपमा स्थापित हुनुहुन्छ। उहाँले आजको संक्रमणकालीन अवस्थामा बहस चलाइनुपर्ने  समाजवाद र नेपालको भावी दिशा बारेमा उपलव्धीमूलक छलफल हुने अपेक्षाका साथ केही प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ। उहाँका प्रस्तावना चार वटा श्रृङ्खलामा हुनेछ। जसमध्यये अघिल्लो श्रृङ्खलामा वैज्ञानिक समाजवादको सैद्धान्तिक प्रस्तावनाको उद्भव कम्युनिष्ट पार्टीको घोषणापत्र र समाजवादको बढ्दो सान्दर्भिकताबारे छोटकरीमा चर्चा गर्नु भएको थियो । यसपटक उहाँले पूँजीवादको विगतदेखि हालसम्मको बेहालतको झाँकी प्रस्तुत गर्नु भएको छ (सम्पादक)।

    फ्रान्समा सामन्तवादको अन्त्य र पुँजीवादको प्रारम्भको सिलसिलाबारेमा एङ्गेल्सले एउटा रोचक झाँकी प्रस्तुत गरेका छन्। जव फ्रान्सको क्रान्तिमा उ बेलाका दार्सनिकहरुले भन्ने गरेको जस्तो विवेकपूर्ण राज्य र सद्भावपूर्ण (harmonious) समाज फलिभूत भयो। त्यसबेला नयाँ संस्थाहरु पुरानो व्यवस्थाको तुलनामा जतिसुकै विवेकपूर्ण भएपनि पूर्णतः विवेकपूर्ण चाहीं हुन सकेनन् ।विवेकको राज्य पूर्णतः नष्ट भयो। रुसोको सामाजिक सम्झौतामा निर्मित भनिएको राज्य अन्तत: आतङ्कको राज्यमा परिणत भयो र आफ्नो राजनीतिक योग्यतामा विश्वास गर्न छोडी सकेको पुँजीपति वर्गले यस आतङ्कबाट बच्न भ्रष्टाचारमा सहारा खोज्यो र अन्ततोगत्वा नेपोलियनको एकतन्त्रीय शासनको सहारा लिन पुग्यो। अपेक्षित शास्वत शान्ति आक्रामक युद्धहरुको अनन्त शृङ्खलामा परिणत भयो। सद्भावनायुक्त समाजको अवस्था पनि यस्तै रह्यो। सम्पूर्ण जनताको समृद्धि प्राप्त गर्नुपर्नेमा धनि र गरिवहरुका बीचको प्रतिपक्षता उग्र बन्न पुग्यो। सामन्ती बन्धनबाट वस्तुतः प्राप्त भईसकेको सम्पतिको स्वतन्त्रता ससाना उद्योगपति र किसानहरुको लागि ठुल्ठुला पुँजीपति र जमिन्दारहरुसँगको प्रतिस्पर्धामा थिचिएकाकोआफ्नो अल्प-सम्पति ठुल्ठुला स्वामीहरुलाई बेच्ने स्वतन्त्रता मात्रै ठहरियो। यसप्रकारले ससाना पुँजीपति र किसानको हकमा भने सम्पतिको स्वतन्त्रता भनेको सम्पतिबाट बन्चित हुने स्वतन्त्रता बन्नपुग्यो। पुँजीवादी आधारमा उद्योग धन्दाको विकासले श्रमजीवी जनताको दरिद्रता र दुर्गतिलाई समाजको अस्तित्वको कडी बनाईदियो। एकपछि अर्को वर्ष अपराधको संख्या बढ्दै गयो। पहिले सामन्ती व्यभिचारको नाङ्गोनाच देखिन्थ्यो भने अब त्यसको ठाउँमा पुँजीवादी व्यभिचार खुल्लम खुल्ला बढ्न थाल्यो। व्यापारमा जालझेल झन्झन्न बढ्न थाल्यो। वन्धुत्वको क्रान्तिकारी नारा प्रतिस्पर्धाको लडाईमा हुने छलकपट र घाँटी कोराकोरमा देखिन थाल्यो। सत्ता प्रयोगद्वारा गरिने दमनको ठाउँ भ्रष्टाचारले लियो। अब सामाजिक सत्ताको मूल हतियार तरबारको साटो पैसा बन्यो। सुहागरातको अधिकार सामन्ती मालिकहरुको हातबाट फुत्केर पुँजीवादी कारखाना मालिकहरुको हातमा पुग्यो र वेश्यावृत्ति अभुतपुर्व रुपमा बढ्यो।

    पूँजिवादको गतिशास्त्र र समाजवादको उदय
    पूँजीवादको आफ्नै गतिशास्त्र छ र त्यसको पतनका आधारहरु उसकै गर्भमा विकसित हुन्छन्। पूँजीवादी शोषणको आफ्नै  प्रक्रिया छ, त्यसको ऐतिहासिक विकासको प्रक्रियामा उत्घाटित हुने आफ्नै खालका अन्तरविरोध छन् र ती अन्तरविरोधको परिणामस्वरुप अन्ततः समाजवाद उत्सर्जन गर्दछन्। यसबारे मार्क्स स्वयं सविस्तार लेख्दछन्:
    “पुरानो (सामन्तवादी) सामाजिक संगठनको… विनास हुनु, उत्पादनका छितरिएका व्यक्तिगत साधनहरुको सामाजिक दृष्टिबाट संकेन्द्रित साधनमा रुपान्तरण हुनु, अर्थात धेरैजसो मानिसका स–साना सम्पत्ति थोरैजसो मानिसका अति विशाल सम्पत्तिमा बदलिनु, अधिकांश जनताको भूमि, जीवन निर्वाहको साधन तथा श्रमका साधनको अपहरण हुनु, आम जनताको यो भयानक तथा अत्यन्त कष्टदायक सम्पत्तिहरण पूँजीको इतिहासको भूमिका मात्रै हुन्छ। त्यसमा नानाभाँतिका बल प्रयोगका तरिका उपयोग गरिन्छन्।… प्रत्यक्ष उत्पादकहरुको सम्पत्तिहरण निर्मम ध्वंश लिप्साले र अत्यन्त जघन्य, अत्यन्त कुत्सित, क्षुद्रतम, निचतम तथा अत्यन्त गर्हित भावनाले अनुप्रेरित भएर गरिन्छ। आफ्नो श्रमबाट कमाइने निजी सम्पत्तिको ठाउँ… पूँजीवादी सम्पत्तिले लिन पुग्दछ…।”

    “…त्यस्तो किसिमको सम्पत्तिहरण स्वयं पूँजीवादी उत्पादनको अन्तरभूत नियम कार्यान्वयनमा ल्याउँदाको परिणाम स्वरुप हुने पूँजीको केन्द्रीकरणद्वारा सम्पन्न हुन्छ। एउटा पूँजीपतिले हमेसा धेरैजसो पूँजिपतिको घाँटी रेट्न पुग्दछ। त्यस किसिमको केन्द्रीयकरणका साथ–साथै या यो भनौं कि केही पूँजीपतिद्वारा धेरै पूँजीपतिको यस किसिमको सम्पत्तिहरणको साथसाथै, झन् झन् बढ्दो मात्रामा श्रम प्रक्रिया सहकारी स्वरुपमा विकसित हुँदै जान्छ, प्राविधिक विकासको निम्ति सचेतन ढंगबाट विज्ञानको अधिकाधिक प्रयोग गर्न थालिन्छ। भूमिलाई उत्तरोत्तर अधिक सुनियोजित ढंगले खनजोत गर्न थालिन्छ। श्रमका औजार केवल सामुहिक रुपमा मात्रै उपयोगमा ल्याउन सकिने गरी परिवर्तन गरिन्छन्, उत्पादनका साधनहरुलाई संयुक्त, सामाजिकृत श्रमका साधनको रुपमा उपयोग गरेर हरप्रकारका उत्पादनका साधनको मितव्ययिताका साथ प्रयोग गर्न थालिन्छ। सबै जनता विश्वव्यापी बजारको जालमा फस्न पुग्दछन् र यसर्थ पूँजीवादी शासनको स्वरुप झनझन अन्तराष्ट्रिय हुँदै जान्छ। रुपान्तरणको यस प्रक्रियामा उत्पन्न हुने सारा सुविधामा जबर्जस्त एकाधिकार कायम गर्ने ठूल–ठूला स्वामीहरु नै हुन्छन्। तिनिहरुको संख्या एकातिर निरन्तर घट्दै जान्छ भने अर्कातिर गरिबी, अत्याचार, गुलामी, पतन र शोषणमा पनि लगातार वृद्धि हुदै जान्छ। परन्तु यसका साथसाथै मजदुर वर्गको विद्रोह पनि झनझन बढदै जान्छ। यसको वर्ग संख्यामा निरन्तर वृद्धि हुन्छ र स्वयं पूँजीवादी उत्पादन प्रक्रियाको यन्त्र नै उसलाई अनुशासनवद्ध, एकजुट र संगठित गर्दछ। पूँजीको एकाधिकार यस सँगसँगै तथा यसै अन्तर्गत जन्मेको र हुर्केको उत्पादन प्रणालीकै निम्ति गलपासो हुन पुग्दछ। ‘उत्पादनका साधनको केन्द्रीयकरण तथा श्रमको सामाजिकीकरण अन्तमा एक यस्तो विन्दुमा पुग्दछन् जहाँ ती आफ्नो पूँजीवादी खोलमा कैद रहन सक्दैनन्। त्यस खोललाई च्यातचुत पारिने छ। पूँजीवादी निजी सम्पत्तिको मृत्युको घन्टि बज्न थाल्दछ। सम्पत्तिहरण गर्नेहरुको सम्पत्तिहरण हुन पुग्छ। …यो निषेधको निषेध हुन पुग्दछ।

    समाजवादमा सम्पत्तिहरण
    व्यक्तिगत श्रमबाट उत्पन्न हुने छितरिएको निजी सम्पत्तिको पूँजिवादी निजी सम्पत्तिमा रुपान्तरण हुने प्रक्रिया स्वभावतया पूँजिवादी निजी सम्पत्तिको सामाजिकृत सम्पत्तिमा रुपान्तरण हुने प्रक्रियाको तुलनामा धेरै बढी लामो, कठिन र हिंसात्मक हुन्छ, किनभने पूँजीवादी निजी सम्पत्ति त व्यवहारमा पहिले देखि नै समाजिकृत उत्पादनमा आधारित हुन्छ। पहिलो घटनामा जबर्जस्त अधिकार जमाउने केही सिमित व्यक्तिले आम जनताको सम्पत्तिहरण गरेका थिए भने अर्को घटनामा आम जनताले जबरजस्ती अधिकार जमाउने सिमित व्यक्तिको सम्पत्तिहरण गर्दछन्।” (मार्क्स, पूँजिवादी संचयको ऐतिहासिक प्रवृत्ति)

    यसरी सामाजिक उत्पादनको अन्तिम रुप पूँजीवादी उत्पादन सम्बन्धको पटाक्षेप हुन पुग्दछ र समाजवाद र त्यसको विकसित रुप साम्यवादमा टुँगिन्छ। तब भने ‘मानव समाजको प्राक् –इतिहासको अन्त्य हुन्छ।’ (मार्क्स : राजनैतिक अर्थशास्त्रको समिक्षाको एक प्रयास)

    कम्युनिष्ट समाजको उच्चतर चरणमा, श्रम विभाजन प्रति व्यक्तिको दासतापूर्ण अधिनता र त्यसका साथ साथै मानसिक तथा शारीरिक श्रमको अन्तरविरोध लोप भए पछि श्रम जीवनको एक साधन मात्र हुँदैन अपितु जीवनको सर्वोपरी आवश्यकता बन्न पुगेपछि, व्यक्तिको सर्वांगीण विकासका साथ साथै उत्पादक शक्ति पनि बढ्ने र सहकारी सम्पदा प्रचुर मात्रामा आफ्ना सबै मुहानबाट अधिक बेगका साथ प्रवाह हुन थालेपछि– यस पछि मात्रै पूँजीवादी अधिकारको संकीर्ण सिमालाई नाघ्न सकिने छ र समाजले आफ्नो ध्वजामा यी शब्द अंकित गर्नेछः प्रत्येकबाट उसको योग्यता अनुसार, प्रत्येकलाई उसको आवश्यकता अनुसार !” (मार्क्स : गोथा  कार्यक्रमको आलोचना)

    मार्क्सले पूँजीवाद उत्तर समाजलाई दुइ चरणमा विभाजन गरेका थिए– समाजवाद र कम्युनिज्म । समाजवाद पूँजीवाद र कम्युनिज्मको उच्चतर चरण बीचको संक्रमणकालिन चरण हो । यस चरणमा “आफु हुर्केको पुरानो (पूँजीवादी) समाजको जन्म चिह्न पनि अंकित भएको” हुन्छ। समाजवादमा कम्युनिज्मको उच्चतर चरणमा प्रवेश गर्नको निम्ति आवश्यक पर्ने आर्थिक, बौद्धिक तथा सांस्कृतिक शक्तिको विकासमा बढी मेहनत गर्नु पर्ने हुन्छ। उत्पादक शक्तिको तुलनात्मक अल्पविकास र तत्जनित उत्पादन सम्बन्धको आफ्नै सीमाले गर्दा वितरण प्रणाली भने मानिसको आवश्यकता अनुसार नभएर उसको कार्य सम्पादन अनुसार गर्नु पर्ने हुन्छ। मानसिक र शारीरिक श्रमको भेद कायमै रहन्छ। यस चरणमा श्रमको उपार्जन मध्येबाट उत्पादनका साधनको ह्रासको क्षतिपूर्ति गर्न चाहिने रकम, नयाँ उत्पादनका साधनको विकासमा चाहिने कोष र विभिन्न किसिमका बीमा भर्नाको निम्ति रकम छुट्याउनु पर्ने हुन्छ। त्यसैले समाजवादको सीमा भनेको ‘प्रत्येकबाट उसको क्षमता अनुसार र प्रत्येकलाई उसको काम अनुसार’ हो।

    पूँजीवादी शोषणको बर्बरतालाई हेरेर मार्क्सको निस्कर्ष थियो, “जब एक महान सामाजिक क्रान्तिले पूँजीवादी युगका परिणाममा, विश्व बजार र उत्पादनका आधुनिक शक्ति माथि निपूर्णता हासिल गर्दछ र तिनलाई सर्वाधिक प्रगतिशील मानिसहरुको नियन्त्रणमा ल्याउँछ तब मात्रै महाकालले झैं मृतकको खोपडीबाट अमृत पान गर्ने” पूँजीवादी परिपाटीबाट छुटकारा पाइने छ । (कार्ल मार्क्स, प्रथम भारतीय स्वतन्त्रता संग्राम १८५७–१८५९)

    पूँजीवादी सञ्चय
    पूँजिवादको सम्पूर्ण इतिहास भरिनै पूँजी सञ्चय दुई किसिमले हुने गरेको छ– (१) शोषण (appropriation), २, सम्पत्तिहरण (expropriation) :  पूँजिवादी उत्पादनको प्रक्रिया कार्यान्वयन हुनसाथै पूँजी विस्तारको क्रममा पूँजीपति वर्गले अतिरिक्त मुल्यको दोहनमार्फत शोषण गर्न थाल्दछन्। यो पुजिवादको सामान्य गति शास्त्र अन्तर्गत पर्ने शोषणको तरिका हो। तर समयक्रममा पूँजीपति वर्गले सम्पत्ति हरणको निर्मम तरिका पनि उपयोगमा ल्याउँछ। यो बलजफ्ती  ढँगले गरिने शोषण हो।मार्क्सले यसलाई आदिम पूँजि सञ्चय भनेका छन्। यस किसिमको सञ्चयको प्रक्रियामा पहिले उत्पादनका सारा साधन (असली उत्पादकहरु) बाट खोसिन्छ र पुरानो सामन्ती व्यवस्था अन्तर्गत तिनलाई जीवन निर्वाहका जे जति प्रत्याभूति प्राप्त भएका थिए ती सबैबाट बञ्चित गरिन्छन्। किसानहरुलाई भूमीलगायत आफ्ना उत्पादनका साधनहरुबाट बञ्चित गराए उनीहरुको सम्पत्ति हरण गर्ने र पुँजि सञ्चयकै प्रक्रियामा विभिन्न साना तथा मझौला उद्यम व्यवसायीहरुको सम्पत्ति हरण गर्ने र उपनिवेशको ब्रम्हलुट यसै कित्तामा पर्दछन्। ‘यस सम्पत्तिहरणको कहानी मानवजातिको इतिहासमा रक्तरञ्जित एवं आग्नेय अक्षरमा लेखिएको छ।’ (मार्क्स, पूँजी, पृ. ७–५१) यी दुवै तरिका पूँजीसञ्चयका ऐतिहासिक प्रक्रियामा सँग–सँगै प्रयोग भएका छन्।

    बढ्दो आर्थिक असमानता
    समस्त पूँजीवादी दुनियामा धनी र गरिब बीचको खाडल बढ्दो छ। गरिब खासगरी श्रमजीवी जनताको आय घट्दो छ, सिमित मानिसहरुको हातमा आय र सम्पत्ति थुप्रिदै गइरहेको छ। अमेरिकामा हालसालै इकोनोमि पोलिसी इन्स्टिच्युटले गरेको सर्वेक्षणले के देखाएको छ भने अमेरिकी पूर्णकालिक पुरुष श्रमिकको आय सन् १९७७ को तुलनामा सन् २०११ मा घटेको छ। त्यहाँ सन् १९८० देखि सन् १९१० को बीचमा सम्पत्तिमा भएको लाभ मध्ये ७४ प्रतिशत हिस्सा ५ प्रतिशत भाग्यमानी धनाढ्यहरुको हातमा पुगेको छ भने तल्लो कम आय भएका मानिसहरुको हिस्सा घटेको छ। (Michael Shuman, Marx Revenge : How Class Struggle is shaping the world, Time, March 25, 2013)  ऋणमा चुर्लुम्म डुबेका युरोपियन सरकारहरु भने लोक कल्याणकारी कार्यक्रमलाई छटनी गर्ने र सम्भ्रान्तहरुलाई खुसामद गर्न करका दरमा कटौती गर्न थालेकाछन्। तिनीहरु पूँजीवादी संकटको उपचार ‘झन् बढी पूँजीवाद’ मा देख्न पुगेका छन्। श्रमिकहरुको निम्ति भनिएर राखिएको सुरक्षा कवजलाई धमाधम उतार्ने र स्वदेशी बजारलाई झन्–झन् अपनियन्त्रण गर्नमा लागिपरेका छन्। यसो गरिनुलाई चिन्तकहरु ‘माथिबाट लादिएको वर्ग युद्ध’ को नामाकरण गर्न थालेका छन्। (Owen Jones, the British auffnor of Chavs: The Demonization of Working Chass)

    अमेरिका कै कुरा गर्ने हो भने सम्भ्रान्त ४०० परिवारले तल्लो ५० प्रतिशत जनसंख्याको जति सम्पत्ति कुम्ल्याएर राखेका छन्। ५० प्रतिशत गरिबहरुसँग मुलुकको कुल सम्पत्तिको २.५ प्रतिशत मात्रै सम्पत्ति छ। राष्ट्रिय आयमा सम्भ्रान्त १ प्रतिशतको हिस्सा सन् १९७८ को १७.६ प्रतिशतबाट सन् २०११ मा ३७.१ प्रतिशत पुगेको छ।

    आर्थिक विषमताको एक झलक :
    १.संसारका तीन शिर्षस्थ अरबपतिको अचल सम्पत्ति संसारका ६० करोड जनताको भन्दा बढी छ।

    २.विश्वव्यापी रुपमा, ७०,००० यस्ता मानिसहरु छन् जसको हातमा ३ करोड डलर भन्दा बढी वित्तिय पूँजी थुप्रेको छ। संसारका ५८७ अरबपतिमध्ये आधा अमेरिकी छन्। सन् २००३ मा मात्रै संयुक्त रुपमा तिनको सम्पत्ति ५०० अरब डलरले बढेको थियो। तिनको सम्पत्ति संसारका गरिबतम १७० मुलुकको कुल घरेलु उत्पादन (GDP) को योग बराबर थियो।

    ३. सन् २००४ मा ३६७ वटा माथिल्ला अमेरिकी कम्पनीका प्रमुख कार्यकारी अधिकारीको औसत आम्दानी अमेरिकी डलरमा १ करोड १८ लाख थियो। प्रमुख कार्यकारी र उत्पादक श्रमिक बीचको औसत आयको अनुपात सन् २००४ मा ४३१ः१, १९९० मा १०७ः१ र १९८२ मा ४२ः१ थियो।

    ४. विगत १५ वर्षमा सिईओ को तलब ३०० प्रतिशतले बढेको छ। जब कि त्यहीँ अवधिमा श्रमिकहरुको ज्याला भने ५ प्रतिशतले मात्रै बढेको छ (न्यूनतम ज्याला भने ६ प्रतिशतले गिरावट आएको छ)। यदि सिईओको बढेको तलब कै अनुपातमा ज्याला पनि बढेको भए सन् २००४ मा उत्पादक श्रमिकको औसत तलब अमेरिकी डलरमा २७,४६० को सट्टामा ११०,१२३ हुने थियो।

    ५.अमेरिकाको उपल्ला २० प्रतिशत घर धुरीले राष्ट्रको ८३ प्रतिशत सम्पत्तिमा नियन्त्रण गरेका छन्, जब कि तल्लो ८० प्रतिशत घरधुरीले खाली १७ प्रतिशत सम्पत्तिमा पहुँच कायम गर्न सकेका छन्।

    ६. सन् २००२ मा ३ करोड ४६ लाख अमेरिकी जनसंख्या अर्थात् कुल जनसंख्याको १२.१ प्रतिशत सरकारी गरिवीको रेखामुनी जीविकोपार्जन गर्दथे। समग्रमा, अमेरिकी अस्वेतहरुको गरिबी स्वेतहरुको तुलनामा दुई गुणा बढी थियो।

    ७. अफ्रिकाको उप–सहारा क्षेत्रको प्रतिव्यक्ति आय अमेरिकी डलरमा ४९० मात्रै थियो, जब कि युरोपका प्रति गाईको निम्ति भनेर छुट्याइएको अनुदान ९१३ अमेरिकी डलर थियो ।(Sourse: Paul D’ Amato, Why Marx still matters, from his book, Intrnational Socialist Review, Issue 50, November–December 2006)

    ८. आज दुनियाँ यहाँसम्म आइपुग्दा यति चरम विषमता र विरोधाभासयुक्त भएको छ कि जहाँ संसारका ८५ जना सर्वाधिक धनाढ्य व्यक्तिहरुको हातमा तीन अरब मानिसको जम्मा सम्पत्ति भन्दा बढी सम्पत्ति थुप्रिन पुगेको छ। (www.rollingstone.com/news/marx-was-right-five-surprising-ways-karl-marx-predicted-2014-20140130)

    पूँजीवादी संकट
    मार्क्सको विचार थियो, पूँजीवादी अर्थतन्त्रमा वस्तुको अति उत्पादन गर्ने मौलिक प्रवृत्ति हुन्छ, त्यसले अनिवार्य रुपमा आर्थिक विध्वंश निम्त्याउँछ। अतितमा अति उत्पादनले अर्थतन्त्रलाई गुल्जार गर्न मद्दत गरेको थियो, परन्तु पूँजीवादमा त्यसले विल्कुलै भिन्नै परिणाम ल्याउँछ। यस्तो किन हुन्छ भने पूँजीवाद मुनाफाको निम्ति मरिहत्ते गर्दछ जसले गर्दा वस्तुको प्रचुरता हुनु भनेको नकरात्मक प्रभाव निम्त्याउनु हो। त्यस अवस्थामा कम्पनीहरु मूल्य घटाउन थाल्दछन्, मूल्यको गिरावटले रोजगारी घटाउँछ जसले अन्ततः उपभोगमा कमी ल्याउँछ र यो चक्र त्यतिबेलासम्म चलिरहन्छ जतिबेला वस्तुको माग बढ्दैन।

    वर्तमान पूँजीवादी संकटले पुरै विश्वलाई आफ्नो लपेटामा पारेको छ। यो संकट भन्ने गरिए जस्तै न एकाध व्यक्तिहरुको लोभ या न त उचित प्रावधानको अभावबाट उत्पन्न विचलन नै हो। मार्क्सले व्याख्या गरेजस्तै यो संकट पुँजीवादी प्रणालीको गतिशास्त्रमा अन्तर स्वभावको परिणाम हो जसको जड नै मानवीय शोषणको मलजलमा हुर्केको छ। सारमा भने, यो पुँजीवाद कै प्रणालीगत संकट हो।

    पूँजीवाद वारम्वार विराट संकटमा फस्दै आएको छ। पहिलो पटक पूँजीवाद यस्तो संकटमा फसेको चाहीँ पेरिस कम्युनको लगत्तै पछि सन् १८७३ देखि सन् १८९६ को अवधिमा हो। यस संकटपछि प्रतिस्पर्धी पूँजीवादलार्ई पूँजीवादी साम्राज्यको रुप रेखा भित्र अन्तरराष्ट्रियकरण गरियो। यस संकटको सह-उत्पादन नै सम्राज्यवाद हो। त्यसबाट पहिलो विश्वयुद्ध र सोभियत संघको निर्माण भयो। दास्रो संकट सन् १९३० को दशकमा आएको ‘विराट मन्दी’ हो। यस संकटले पूँजीवादको अन्तरराष्ट्रियकरणको प्रवृत्तिमा लगाम लगायो, झण्डै त्यो बिनासको डिलमा पुगेको थियो। त्यसको सह-उत्पादन फाँसिवादको उदय र दोस्रो विश्वयुद्धको आयोजना भयो। दोस्रो विश्वयुद्धपछि एकातिर अमेरिकालाई त्यो प्रभुत्वशाली स्थान प्राप्त भयो जसले पूँजीलाई अन्तरराष्ट्रियकरण गराउने एजेन्डालाई पुनः व्युताउन पाउने भयो (र सफलता पनि प्राप्त गर्‍यो )। समाजवादी चीनको उदय पनि यही बेला भयो। धमाधम उपनिवेशको विघटनको प्रक्रियाले तीव्र रुप लियो । तेस्रो संकट सन् १९७० को दशकमा देखापर्‍यो। यो संकटले गर्दा पूँजीवादी मुनाफामा संकुचन आयो र किन्सियन उपचार निरस्त भयो। यस संकट पछि पूँजीवादले पूँजी सञ्चयको अर्को रणनीति अख्तियार गर्‍यो– ‘सामान्यकृत एकाधिकार’ को रणनीति। वित्तीय पूँजीको सञ्जाल संसारभरी बिछ्याइएको छ र त्यसलाई पूँजी सञ्चयको धारिलो अस्त्र बनाइएको छ। साम्राज्यवादी लगान असुल्न राजनीतिक सामाजिक प्रभावलाई पनि कसिलो बनाउँदै लगिएको छ। ती उपाय मार्फत यसले दुनियाभरको आधुनिक अर्थतन्त्रमाथि आफ्नो दादागिरी कायम गर्‍यो । त्यसले साना तथा मझौला उद्यम व्यवसायलाई समेत चौपट बनायो। किसानहरु समेत टाट पल्टिने अवस्थामा पुर्‍यायो।

    फेरि पनि सन् २००८ यता पूँजीवाद अर्को संकटमा फसेको छ। मार्क्सले पूँजीवादी संकटबारे छुट्टै र विस्तृत विवरण प्रस्तुत नगरेका भए पनि कम्युनिष्ट घोषणापत्र पूँजी र अतिरिक्त मूल्यको सिद्धान्तमा यसबारे चर्चा गरेका छन्।

    पूँजीवादी संकटबारे माक्र्सको विश्लेषण छ :
    “उत्पादन, विनिमय र सम्पत्ति सम्बन्धी आफ्ना पूँजीवादी सम्बन्धहरु सहितको आधुनिक पूँजीवादी समाजले उत्पादन र विनिमयका यस्ता भीमकाय साधनहरु तैयार गरेको छ कि त्यो एउटा यस्तो जादुगर जस्तो लाग्दछ जसले टुनामुनाद्वारा पाताल लोकका शक्तिहरुलाई जगाउन त सकेको छ परन्तु अब तिनलाई काबुमा ल्याउन असमर्थ छ। वाणिज्य संकट(को)… आवधिक पुनरावृत्तिले सम्पूर्ण पूँजीवादी समाजको अस्तित्वलाई झन झन बढी खतरामा पार्न थालेको छ। वाणिज्य संकटको बेलामा हरेक पल्ट बनिबनाउ वस्तुको मात्र होइन पुर्व निर्मित उत्पादक शक्तिहरुको समेत एक ठूलो हिस्सालाई तहस नहस पारिदिन्छ। संकट कालमा यस्तो महामारी फैलिन्छ जुन बितेका सबै युगमा उपहासजनक लाग्न सक्दछ। त्यो हो– अति उत्पादनको महामारी। (त्यतिबेला) समाजले आफुलाई अचानक बर्बरताको गर्तमा धकेलिएको पाउँछ। यस्तो लाग्छ, अनिकाल, विध्वंशका सर्वव्यापी युद्ध जस्ताले जीवन निर्वाहका सबै साधनको आपूर्तिबाट यसलाई सम्बन्धबिच्छेद गरिएको छ, उद्योग र वाणिज्य चौपट भएको छ। किन यस्तो हुन्छ? किनभने समाज सभ्यताको चरम चुलीमा पुगेको छ, जीवन निर्वाहका साधनहरुको छेलोखेलो भएको छ, उद्योग र वाणिज्य अजीर्ण हुन पुगेका छन्।” (मार्क्स एंगेल्स, कम्युनिष्ट पार्टीको घोषणापत्र)

    पूँजीवाद सामाजिक/मानवीय मुल्यका हिसाबले पनि अधम र निकृष्ट व्यवस्था हो। मार्क्सवादले त्यसलाई पनि पंजीकरण गरेको छ। यसले “निर्दयी ‘नगदानगत’को नग्न स्वार्थको व्यवहार बाहेक मानिसहरु बीच अरु कुनै सम्बन्ध बाँकी राखेन। उच्चतम धार्मिक भावनाको पबित्र त्रास, बिरोचित उत्साह र संकुचित भावुकतालाई यसले स्वार्थी हिसाबकिताबको बर्फिलो पानीमा डुबाइदियो। मानिसको व्यक्तिगत गुणलाई यसले निनिमय मुल्यमा परिणत गरिदियो र पहिलाका असंख्य प्रदत्त तथा आर्जित स्वतन्त्रताका ठाउँमा व्यापारको एउटै मात्र विवेकरहित स्वतन्त्रतालाई स्थापित गरिदियो। संक्षेपमा… यसले नग्न, निर्लज्ज, हाकाहाकी र पाशविक शोषण खडा गर्‍यो। ” (मार्क्स एंगेल्स, कम्युनिष्ट पार्टीको घोषणापत्र)

    १९ औं शताब्दीको अन्त्यमा आएर पूँजीवादले गुणात्मक रुपमा नै आफ्नो कर्वट बदल्यो। वाणिज्यवादी कालखण्डमा जस्तो वाणिज्य र उपनिवेशको बिस्तारबाट मात्रै पूँजीवादको सतत विकास न हुने ठानेर यसले कतिपय उत्पादनका क्षेत्रमा एकाधिकारको विकास गर्‍यो। यो एकाधिकारी पूँजीवाद थियो– पूँजीवादको साम्राज्यवादमा विकास थियो। यो पूँजीवादी उत्पादन पद्धति कै गुणात्मक रुपान्तरण थियो। यस पछि भने यसले पूर्ववर्ती शास्त्रीय, प्रतिष्पर्धात्मक तथा स्वतन्त्र पूँजीवादलाई सदा सर्वदाको निम्ति विदा गर्‍यो। अब भने सामन्तवादको अन्त्य गरेर उत्पादक शक्तिको विकासमा यसले योभन्दा अघि खेलेको प्रगतिशील भूमिकाको पनि अन्त्य भयो। साम्राज्यवादको आगमन सँगसँगै यत्रतत्र युद्ध र क्रान्तिका ज्वाला भड्किन थाले। रोजा लक्जम्बर्गले भने जस्तै साम्राज्यवादले आफु सँगसँगै झन झन बढी युद्ध र सामाजिक विष्फोटलाई पनि लिएर आयो। त्यसपछि भने माओले भने जस्तै ‘जनता क्रान्ति चाहने, राष्ट्र मुक्ति चाहने र राज्य स्वाधिनता चाहने’ प्रतिधारा पनि विकास भयो। क्रान्तिको एउटा लहर नै चल्यो, इरानमा सन् १९०५ मा, मेक्सिकोमा सन् १९१०–२० मा, चीनमा सन् १९११ मा र इजिप्टमा सन् १९१९ मा भएका क्रान्तिले सुरुमै साम्राज्यवादको उद्भवलाई जवाफ दियो । अन्ततः सोभियत संघ (सन् १९१७), चीन (सन् १९४९), भियतनाममा, क्युवामा जस्ता मुलुकले समाजवादको झन्डा नै उठाए। दुई–दुइटा विश्वयुद्ध भए। दोस्रो विश्वयुद्ध पछि एउटा विरोधाभास के देखिन्छ भने एकातिर औपनिवेसिक विगठनको प्रक्रिया तीव्र हुन्छ, त्यहाँ औद्योगिकीकरणले गति लिन्छ भने सँगसँगै यहीँ कालखण्डमा साम्राज्यवादले तुलनात्मक स्थिरता र प्रगति गर्न पनि भ्याउँछ। यति हुँदाहुँदै पनि त्यो आफ्नो शक्ति र निरिहताको सिकार पनि भएको छ। यसबारे उ बेलै भनिएको थियो, “उत्पादन, विनिमय र सम्पत्ति सम्बन्धी आफ्नो छुट्टै सम्बन्ध भएको आधुनिक पूँजीवादी समाजले उत्पादन र विनिमयका भीमकाय साधनलाई वशीभूत गरेको छ। यो एउटा यस्तो जादुगर जस्तो देखिन्छ जसले तन्त्रमन्त्रद्वारा पातालको शक्तिलाई त जगाएको छ तर त्यसलाई काबुमा राख्न चाहिँ ऊ असमर्थ छ।”(मार्क्स एंगेल्स, कम्युनिष्ट पार्टीको घोषणापत्र)

    विश्व अर्थतन्त्रमा प्रभुत्वशाली रहेको पूँजीवादमाथिको संकट जति गहिरिदै जान्छ त्यसले दुनियाभर नै श्रमिकहरुमाथि बेरोजगारी ऋण र संकुचित आयको बोझ पनि उही अनुपातमा बढ्दै जान्छ। पूँजीवाद भित्रभित्रै अन्यायपूर्ण र आत्मघाती हुन्छ भन्ने मार्क्सको आलोचनालाई उनका आलोचकले सित्तिमित्ति उडाए जस्तो सरल छैन। पूँजीवादी प्रणालीले अनिवार्य रुपमा विश्वको सम्पत्ति जति–जति केही मानिसहरुको हातमा संकेन्द्रित गराउँदै जान्छ त्यति–त्यति जनसाधारणलाई गरिबीको गर्तमा पनि धकेल्दै जान्छ र त्यसले आर्थिक संकट र धनी र गरिब बीचको मुठभेड पनि बढाउँदै लान्छ भन्ने मार्क्सवादी प्रस्थापना हो। पूँजीवादको निचताबारे मार्क्सले लेखेका छन् : ‘एउटा ध्रुवमा सम्पत्तिको सञ्चय हुनु भनेको अर्को ध्रुवमा अर्थात् खुद आफ्नै श्रमले पूँजीको रुपमा वस्तुको उत्पादन गर्ने वर्गको पक्षमा गरिबी, कष्टपूर्ण परिश्रम, …ह्रासता, अज्ञानता, पाशविकता तथा मानसिक पतनको सञ्चय पनि हुनु हो।’ (मार्क्स, पूँजी, भाग– १, हिन्दी संस्करण पृष्ट ७८) पूँजीवादले ‘निर्दयी नगदवाद’ को नग्न स्वार्थको व्यवहार बाहेक मानिसहरुबीच अरु कुनै सम्बन्ध बाँकी राखेको …. (मार्क्स, कम्युनिष्ट पार्टीको घोषणापत्र, नेपाली संस्करण, कृष्णप्रकाश श्रेष्ठद्वारा अनुवादित, पृष्ट २६) मा उच्चतम धार्मिक भावनाको पवित्र डर, विरोचित उत्साह र संकुचित भावुकतालाई स्वार्थी हिसाब–किताबको वर्फिलो पानीमा डुबाई दियो।’
    पूँजीवादी प्रणाली अन्तरगत मुनाफा वृद्धिको निम्ति आपसी होडले गर्दा प्रविधिमा परिष्कार र विकास गर्नु अनिवार्य हुन्छ। त्यसले एकातिर श्रमिकहरुलाई विस्थापित गरेर औद्योगिक जगेडा सेनाको आयतनलाई बढाउँछ भने अर्कोतिर उत्पादनमा असिम विस्तार गर्दछ। यी दुबै अवस्थामा एकातिर उत्पादनका साधन तथा उत्पादनको अधिकता र अर्कातिर जीविकाका साधनबाट बञ्चित बेरोजगारहरुको अधिकता। यही नै हो पूँजीवादी आर्थिक संकटको लक्षणिकता। समस्त (आर्थिक) वास्तविक संकटको आखिरी कारण जनसमुदायको गरिबी र सिमित मानिसहरुको हातमा पूँजी र सम्पत्तिको थुप्रो लाग्नु नै हो।

    यो पनि पढ्नुहोस् –

    समाजवाद र नेपालको भावी दिशा – १ : जेरोमी कोर्बिनहरु र फ्रान्सका पहेंलो भेष्टवालाहरुको संकेत : चलनचल्तीको पुँजीवाद कोरामिन नखुवाई चल्नेवाला छैन

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      टंक कार्की

      टंक कार्की

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.