Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

इजरायल–प्यालेस्टाइन युद्धका मुख्य कारणहरू

दुई पक्षबीच लामो समयदेखिको द्धन्द्धको समाधानका लागि टु स्टेट सोलुसन अर्थात दुईवटा देश बनाउने उपाय हुनसक्छ। तर त्यो सम्भव देखिएन। त्यसलाई प्यालेस्टाइनीहरूले नै मानेनन्। उनीहरूले नमानेपछि इजरायलले पेल्दै लगेर अधीनस्थ भूमिमा बस्ती बसाउँदै गयो। अर्को उपाय छ, वान स्टेट सोलुसन अर्थात समग्र ठाउँ समेटेर एउटै देश बनाउने र त्यसलाई कुनै एउटा नाम दिने। जस्तैः इजरानटाइन नाम दिन सकिन्छ।

विन्देश दाहाल विन्देश दाहाल
जेष्ठ १४, २०७८
- विमर्शका लागि
A A
0
गत मे १२ मा गाजा शहरस्थित अल सुरुक टावरमा गरिएको इजरायली आक्रमण। तस्वीरः स्ट्रेट टाइम्स

गत मे १२ मा गाजा शहरस्थित अल सुरुक टावरमा गरिएको इजरायली आक्रमण। तस्वीरः स्ट्रेट टाइम्स

  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    इजरायल र प्यालेस्टाइनबीच गत शुक्रबार युद्धविराम भएको छ। ११ दिनम्म चलेको युद्धाका कारण प्यालेस्टाइनतर्फ २०० भन्दा बढीको मृत्यु भयो भने १२ इजरायलीको मृत्यु भयो। यस युद्धका पछाडि धेरै कारणहरू छन्। भूमिमाथिको स्वामित्वका साथै राजनीनिक तथा धार्मिक कारण पनि छन्।

    शेख जर्राहमाथिको विवाद

    विन्देश दाहाल

    पूर्वी जेरुसलेममा शेख जर्राह भन्ने ठाउँमा प्यालेस्टाइनीका १४ वटा घर छन्, जसमा ३०० जनाजति बस्छन्। जेरुसलेम भनेको प्यालेस्टाइनले आफ्नो राजधानी बनाउन पाउनुपर्छ भनेर माग गरेको ठाउँ हो। तर इजरायलले यसो गर्न दिइरहेको छैन। त्यही ठाउँको शेख जर्राहमा रहेका ती घरहरू रहेको भूमिमाथि इजरालयले करिब डेढ सय वर्षदेखि आफ्नो स्वामित्वको दाबी गर्दै आएको छ।

    इजरायलीहरूले त्यस भूमिबाट प्यालेस्टाइनीहरूलाई हटाउनुपर्छ भनेर इजरायलको सर्वोच्च अदालतमा मुद्दा पनि हालेका छन्। ११ दिनसम्म चलेको युद्धको कारणले फैसलाको मिति सरेको छ। यही अगस्ट १ बाट तिनीहरूलाई त्यहाँबाट हटाउन खोजिँदैछ। इजरायल–प्यालेस्टाइनबीच युद्धको पछिल्लो एउटा कारण यही भूमिसम्बन्धी विवाद हो। यही विवादका क्रममा प्यालेस्टाइनका तर्फबाट हमासले रकेट आक्रमण सुरु ग-यो।

    त्यसपछि इजरायलले पनि हमासको आक्रमणलाई रोक्ने र प्रत्याक्रमण गर्ने काम ग-यो। यही क्रममा इजरायलले हमासका मान्छेहरू बसेको ठाउँलाई लक्षित गरेर आक्रमण गरेको देखियो। त्यसक्रममा निर्दोस नागरिकहरू मारिए। प्यालेस्टाइनतर्फ २०० भन्दा बढी मारिए भने इजरायलका १२ जना सर्वसाधारणको मृत्यु भयो।

    सैनिकहरु बसेको ठाउँमा त प्यालेस्टाइनतर्फको हमास नामक विद्राही समूहले आक्रमण गर्नै सकेन। किनभने इजरायलमा एउटा आइरन डोम भन्ने प्रतिरक्षात्मक प्रणाली छ, जुन अमेरिकाको सहयोगमा बनाइएको हो। त्यसले क्षेप्यास्त्र बीचैमा, आकाशैमा रोकिदिने काम गर्छ। जसका कारण हमासले प्रहार गरेको क्षेप्यास्त्र सबै जमिनमा आइपुग्न पाउँदैन। सोही कारण इजरायलमा प्राय : कम क्षति हुनेगर्छ।

    उग्रवादीलाई खुशी बनाउन युद्ध

    इजरायल–प्यालेस्टाइन युद्धको राजनीतिक कारण पनि छ। इजरायलमा कुनैपनि दलको स्पष्ट बहुमत नभएका कारण पछिल्लो दुई वर्षमा मात्रै ४ पटक निर्वाचन भयो। अहिलेसम्म पनि कुनै पार्टीले बहुमत ल्याउन सकेकेको छैन। बेन्जामिन नेतान्याहुको लिकुड भन्ने पार्टी, जुन कन्जरभेटिभ पार्टी हो, त्यसले बहुमत ल्याउनका लागि अहिले उग्र दक्षिणपन्थी यहुदीहरूका दलको सहयोग खोजिरहेको छ।

    उग्रवादी यहुदीहरू प्यालेस्टाइनीलाई इजरायलको भूमिमा राख्नै नहुने मान्यता राख्छन्। प्यालेस्टाइनीहरू इजरायलबाट अरु कुनै अरबी देशमा जाउन् भन्ने धारणा राख्छन् उनीहरू। प्यालेस्टाइन समेत रहेको सम्पूर्ण भूभाग अर्थात जोर्डन नदीको पश्चिमी किनारदेखि भूमध्यसागरसम्मको सबै क्षेत्र इजरायलको हो भन्ने उनीहरूको दाबी छ।

    नेतान्याहुको पार्टीलाई सरकार बनाउनका लागि ती उग्रवादी दलहरूसँग साझेदारी गर्नुपरेकाले पनि तिनलाई खुशी बनाउन उनले यो युद्ध चर्काएका हुन् ।

    प्यालेस्टाइनको राजनीति पनि कारक

    अर्को कारण चाहिँ प्यालेस्टाइनतिरको राजनीति पनि हो। खासमा प्यालेस्टाइन भन्ने वस्तुगत देश नै छैन। इजरायललाई चाहिँ राष्ट्रसंघले मान्यता दिएको छ। प्यालेस्टाइनीहरू इजरायली भूमिको एकदम साँघुरो ठाउँमा बस्छन्। एउटा गाजा क्षेत्र र अर्को पश्चिम किनार अर्थात् वेस्ट ब्यांक क्षेत्रमा उनीहरू बस्छन्। प्यालेस्टाइनहरू बसेको गाजा क्षेत्र पहिले इजिप्टको अधिनमा थियो।

    सन् १९५७ को युद्धपछि इजरायलले इजिप्टलाई हराएर गाजा आफ्नो पारेको थियो। पछि सन् १९९४ मा आएर बल्ल इजरायलले प्यालेस्टाइनीहरूलाई त्यहाँ प्रशासन चलाउन दिएको हो। त्यहाँको जम्मा ३६५ वर्गकिलोमिटर क्षेत्रमा लगभग २० लाख प्यालेस्टाइनीहरू बस्छन्।

    गाजा क्षेत्रमा हमास भन्ने संगठनको अधिपत्य छ। त्यहाँ प्यालेस्टाइन प्रशासन छ, तर देश छैन। सन् १९९४ मा इजरायल र पिएलओबीच प्यालेस्टाइन प्रशासन बनाउने कुरामा सम्झौता भएको हो। हमासले गाजामा प्रशासन चलाउँछ भने पश्चिम किनारा, जुन जोर्डनको सीमानामा पर्छ, त्यहाँ फतह भन्ने संगठनले शासन चलाउँछ। पश्चिम किनारालाई इजरायलले सन् १९६७ देखि कब्जामा लिएको छ।

    इजरायलकै नीतिका कारणले गर्दा गाजामा बेरोजगारीको समस्या छ। त्यहाँ ४० प्रतिशत भन्दा बढी युवा बेरोजगार छन्। त्यसकारणले त्यहाँका युवाहरूमा चरम निराशा छ। उनीहरुमा आफ्नो स्वतन्त्र र सार्वभौम देश बन्न सकेन भन्ने आक्रोस पनि छँदैछ। हमासले राम्रो नेतृत्व नगरेको र इजरायलसँग शक्ति प्रदर्शन गर्न नसकेको ठान्ने युवाहरू पनि प्रशस्त छन्।

    त्यसकारण गाजामा हमासको लोकप्रियता घट्दै गरेको स्थिति छ। यी यावत कारणले हमास आफ्नो लोकप्रियता पुनः हासिल गर्न चाहन्छ र यसका लागि युद्ध गर्नुपर्ने स्थितिमा उ आइपुगेको हो। त्यसैले त अहिले युद्धविराम भइसकेपछि दुवै पक्षले आफूलाई विजयी भएको दाबी गरीरहेका छन्।

    हमासले नै युद्धविराम गरौँ भन्ने प्रस्ताव गरेको थियो। र, अरु विश्व शक्ति राष्ट्रले पनि दबाब दिएपछि इजरायल युद्धविराम गर्न सहमत भयो। तर, इजरायलमा उग्र दक्षिणपन्थीहरू भने युद्धविराम भएकोमा असन्तुष्ट छन्। यता हमासले युद्धविराम गर्न इजरायललाई बाध्य बनाउन सफल भएको दाबी गर्दै आफूलाई विजयी घोषणा गरिरहेको छ।

    धार्मिक कारण

    जेरुसलेममा अल अक्सा नामको मस्जिद छ। त्यो मस्जिद मुस्लिमहरूका लागि मक्का मदिनापछिको ठूलो धार्मिक स्थल हो। मुस्लिम धर्मगुरु प्रोफेट मोहम्मद मक्का मदिनाबाट बुराक भन्ने घोडा चढेर अल अक्सा मस्जिदमा गएको र त्यहाँबाट सिधै स्वर्ग पुगेर अल्लाहसँग भेट भएको भन्ने मुस्लिमहरूको विश्वास छ। यस मान्यताका कारण अल अक्सालाई उनीहरू पवित्र मान्छन्।

    त्यो मस्जिद टेम्पल माउन्ट भन्ने यहुदीहरूको प्रार्थना स्थलमाथि बनाइएको हो। त्यसकारण रमजानका समयमा यहुदीहरुले मुसलमानलाई त्यहाँ प्रार्थना गर्न बाधा गरेपछि प्यालेस्टाइनीहरूमा पछिल्लो पटक आक्रोश पैदा भएको हो। युद्धको अर्को एउटा कारण यो पनि हो।

    भूमि अलग गराउने प्रस्ताव नमान्दा…

    प्यालेन्टाइनी नेतासँग भन्दा पनि त्यहाँका जनताप्रति हाम्रो र विश्व समुदायको सहानुभूति छ र हुनुपर्छ। किनभने यो झगडामा जनताको कुनै दोष छैन। दोष त नेताहरूको हो। सन् १९४८ मा इजरायल बन्नु अगाडि त्यहाँ ब्रिटिसले उपनिवेश चलाउँथ्यो। भारत र पाकिस्तानलाई टुक्राएजस्तै इजरायल र प्यालेस्टाइनको भूमि अलग गराउने भनेर अंग्रेजका एक अफिसरले प्रस्ताव गरेका थिए। तर प्यालेस्टाइन पक्षले त्यो कुरा मानेन।

    त्यतिबेला प्यालेस्टाइनीहरू यहुदीहरूको कुनैपनि देश बन्नु हुँदैन भन्ने अडानमा थिए। इजरायलले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको घोषणा गरेलगत्तै सन् १९४८ मा अरब मुलुकहरू र इजरायलबीच युद्ध भयो। पछि १९६७ मा अरब मुलुकहरूसँग भएको युद्धमा पनि इजरायल विजयी भयो। वास्तवमा प्यालेस्टाइनका नेताहरूले प्रत्येक पटक इजरायलसँग सम्झौता गर्ने अवसर गुमाएको देखिन्छ। जसका कारण आज प्यालेस्टाइनका जनताले दुःख पाए। यसमा प्यालेस्टाइनी नेताहरूको पनि गल्ति देखिन्छ।

    प्यालेस्टाइनीहरूले त्यतिखेर दुईवटा देशको अस्तित्वलाई स्विकार गरेको थिए भने आज यस्तो अवस्था नआउन सक्थ्यो। शान्ति सम्झौतापछि पनि इजरायलीहरू अलिकति लचिलो हुन खाजेका थिए। सन् १९९४ मा ओस्लोमा इजरायल र पिएलओ, (प्यालेस्टाइन लिवरेशन ओर्गनाइजेशन)बीच प्यालेस्टाइनीहरूलाई बढी स्वायत्तता दिलाउने विषयमा सम्झौता भएको थियो तर दुई देश बन्ने कुरामा सहमति भएन ।

    त्यस सम्झौतापछि इजरायलका तत्कालिन प्रधानमन्त्री यित्जाक रबिनको हत्या भयो। त्यहाँका उग्र दक्षिणपन्थीहरूले उनको हत्या गरेका हुन्। शान्ति सम्झौतामा जान इजरायलले कोशिस गरेको थियो। तर प्यालेस्टाइनका नेताहरू कठोर बनेकाले देश बन्न पाएन।
    बोल्न पनि पाउँदैनन् प्यालेस्टाइनीहरू

    विश्वको सहानुभूति चाहिँ प्यालेस्टाइनतिरै छ। किनकी उनीहरू इजरायलमा दोस्रो दर्जाका नागरिक भएर बसेका छन्। प्यालेस्टाइनीहरू एक ठाउँबाट अर्को ठाउँमा जान पाउँदैनन्, बोल्ने कुरा र उनीहरूका सामाजिक सञ्जालका गतिविधिमा पनि मनिटरिङ गरिन्छ। र, शेख जर्राहको त्यो विवादित भूमिमा त्यहाँ रहेका बाहेक, अरु कुनै प्यालेस्टाइनीहरूलाई जान दिइँदैन।

    यहुदी विरोधीहरूको उग्रवादी समूह पनि छन् र यहुदी भन्ने जातको सत्यनाश गर्नुपर्छ भन्ने मान्यता राख्छन् ति। कुरानमा यहुदीलाई सत्यनाश गर्नुपर्छ र यो संसार रहेसम्म यिनीहरुसँग संघर्ष जारी राख्नुपर्छ भनेर उल्लेख गरिएको छ भन्छन् उनीहरू। उनीहरू इजरायलको नक्सा नै नामेट पार्नुपर्छ भन्छन्।

    उता, इजरायलीहरूले प्यालेस्टाइनीहरूलाई अमानवीय व्यवहार गर्ने, धार्मिक स्थलमा जान नदिने र धार्मिक स्थललाई अपवित्र बनाइदिने जस्ता काम गरेका कारण दुवैतर्फ आक्रोश र घृणाको स्थिति भयो। योसँगै राजनीतिक र धार्मिक कारणले पनि पछिल्लो युद्धले जन्म लियो।

    समाधान के ?

    दुई पक्षबीच लामो समयदेखिको द्धन्द्धको समाधानका लागि टु स्टेट सोलुसन अर्थात दुईवटा देश बनाउने उपाय हुनसक्छ। तर त्यो सम्भव देखिएन। त्यसलाई प्यालेस्टाइनीहरूले नै मानेनन्। उनीहरूले नमानेपछि इजरायलले पेल्दै लगेर अधीनस्थ भूमिमा बस्ती बसाउँदै गयो।
    अर्को उपाय छ, वान स्टेट सोलुसन अर्थात समग्र ठाउँ समेटेर एउटै देश बनाउने र त्यसलाई कुनै एउटा नाम दिने। जस्तैः इजरानटाइन नाम दिन सकिन्छ।

    जोर्डन नदीदेखि भूमध्य सागरसम्मको भाग र दक्षिणमा इजिप्टदेखि उत्तरमा लेबननसम्मको भाग सम्पूर्ण एउटै मुलुक बनाउने, जसमा दुईवटा राष्ट्रियता होस्। र, त्यसमा संघियता लागु होस्, जसमा सबैको समान अधिकार हुन्छ। कतिपयले यो एउटा समाधानको बाटो सुझाएका छन्।

    तर यसका लागि इजरायलीहरू र प्यालेस्टाइनीहरू दुवै मान्दैनन्। जस्तैः इजरायलीहरू ९३ लाख जति छन् भने सानो ठाउँमा बसेका प्यालेस्टाइनीहरू ५२ लाख जति छन्। समग्र इजरायलको क्षेत्र नक्सामा हेर्दा बेइजिंग शहरभन्दा थोरै ठूलो मात्रै छ।

    समग्र एउटा देश बन्दा इजरायलीहरूले प्यालेस्टाइनीहरूलाई दोस्रो दर्जाको नागरिक बनाएर राख्छन् भन्ने डर प्यालेस्टाइनीहरूलाई छ। इजरायलीहरू पनि दुई राष्ट्रियता सहितको एक मुलुकमा आफूहरूलाई कतै प्यालेस्टाइनीहरूले अरब मुलुकहरूको सहयोग लिएर दोस्रो दर्जाको नागरिक बनाएर राख्ने त होइनन् भन्ने त्रास पाल्छन्। त्यसमाथि इजरायलीहरूले पहिले नै यहुदी राज्यका रूपमा इजरायलको कल्पना गरेको भएर यसमा प्यालेस्टाइनीहरूको मुस्लिम धर्मलाई समेत समेट्ने सोच इजरायलको देखिँदैन।

    तर अहिले विश्वको दृष्टिकोण बदलिएको जस्तो देखिन्छ। पहिला इजरायलको विरोध गर्ने बित्तिकै यहुदीलाई सिध्याउन खोजेको वा हिटलरको जस्तो सोच राख्न खोजेको भन्ने न्यारेटिभ हुन्थ्यो भने अहिले इजरायलको विरोध गर्नु भनेको यहुदीको विरोध गर्नु होइन भन्ने सोचको विकास भएको छ।

    केहीदिन अघि मात्रै अमेरिकी पराराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन प्यालेस्टाइनको अधिनस्थ भएको ठाउँ रमल्लाह गएका बेला उनले प्यालेस्टाइनलाई सहयोग गर्ने बताएका छन्। प्यालेस्टाइनप्रति अमेरिकाको त्यस्तो अभिव्यक्ति आउनु भनेको महत्वपूर्ण कुरा हो। किनभने अमेरिकाले पहिले पहिले प्यालेस्टाइनलाई त्यति धेरै सहयोग गर्दैन थियो। अहिले सहयोग गर्छु भन्नुले प्यालेस्टाइनप्रतिको दृष्टिकोण थोरै परिवर्तन हुँदै गएको बुझ्न सकिन्छ।

    र, प्यालेस्टाइनका जनता शन्तिकै पक्षमा छन्। किनकि यो द्वन्द्ले उनीहरूमा पीडा छ। उनीहरूले कुनैपनि किसिमको स्वतन्त्रता पाएका छैनन्। धार्मिक रुपमा दमन गरिन्छ। तर तिनको त्यो भावनालाई सम्बोधन गर्न खोजिरहेको छ, हमासले।

    इजरायलको द्धन्द्ध पूरै अरबसँग

    हमासलाई इरानले हतियार उपलब्ध गराउँछ। किनभने इरानले इजरायललाई मन पराउँदैन। इजरायलाई नक्साबाटै हटाउनुपर्छ भन्ने इरानको पनि मान्यता छ।

    तर उसले हमासलाई सिधै हतियार बेच्न पाउँदैन। किनभने कतिपयले हमासलाई आतंकवादी घोषणा गरेका छन्। त्यसैले लुकीछिपी इजिप्टको बाटोबाट इरानले प्यालेस्टाइनलाई हतियार पठाउँछ। इजरायलाई अमेरिकाले हतियार दिन्छ र इजरायलको आफ्नै हतियारको स्रोत पनि बलियो छ। त्यसले गर्दा इजरायल सैन्य रूपमा बलियो छ। त्यसैले उसको यो द्वन्द्व प्यालेस्टाइनसँग भन्दा पनि सम्पूर्ण अरबसँग जस्तो देखिन्छ।

    तर गत साल ट्रम्पको पालामा अमेरिकाको मध्यस्थतामा युएइ र बहराइनले इजरायलसँगको शन्ति सम्झौतामा हस्ताक्षर गरे। र, पछि गल्फका अन्य देशहरूपनि मिल्न थाले।

    प्यालेस्टाइन पनि इजरायलसँग सँधै दुस्मनी राखेर आफ्नो हित हुँदै भन्नेमा स्पष्ट छ। प्यालेस्टाइन आफ्ना जनताको पनि समस्या समाधान पनि होस् भन्ने चाहन्छ। तर उग्रवादीहरूका कारण दुवै पक्ष लचिलो हुन नसकेको स्थिति देखिन्छ। दुवैतर्फका उग्रवादीहरूका कारण यो स्थिति आएको हो।

    अमेरिकाले चाहेमा द्वन्द्व समाधान हुन्छ

    कन्जरभेटिभहरू अलि कठोर हुन्छन्। इजरायलमा पहिले त लिवरलहरू नै हावी थिए। पूर्व प्रधानमन्त्री यित्जाक रबिन लिवरल थिए। तर उनको हत्या भयो। नेतान्याहु आफैं कन्जरभेटिभ हुन्। उग्र नभएपनि दक्षिणपन्थी हुन्। उनलाई चुनाव जित्न र आफ्नो सरकार बनाउनका लागि उग्र दक्षिणपन्थीसँग मोर्चाबन्दी गर्नुपर्ने छ।

    यता प्यालेस्टाइनमा हमासले र वेस्ट ब्यांकमा फतह भन्ने संगठन जनताप्रति त्यति उत्तरदायी छैनन्। आफूमात्रै मोजमस्ती गर्ने र जनताको बेवास्ता गर्ने चरित्र उनीहरूमा छ। त्यसले गर्दा प्यालेस्टाइनीहरूमा धेरै निराशा छ, जसबाट उग्रवादीहरूले फाइदा लिन खोजिरहेका छन्।

    दुई पक्षबीचको यो द्वन्द्वमा सबैभन्दा ठूलो हात अमेरिकाको छ। अमेरिकाले इजरायललाई अन्ध समर्थन नगर्ने र प्यालेस्टाइनका पक्षमा पनि सोच्ने हो भने यो समस्या एकछिनमा हल हुन्छ। यहाँ अरु मुलुकहरूको खासै महत्व छैन।

    अमेरिकाले हात झिक्ने बित्तिकै इजरायलले केही गर्ने सक्दैन। अमरिकाको सहानुभूति भएन भने इजरायल जस्तोसुकै सम्झौता पनि गर्न बाध्य हुन्छ। तर अमेरिका हात झिक्न तयार छैन। किनभने अमेरिकाभित्रै इजरायली लबी भन्ने समूह छ, जहाँ इजरायलप्रति नरम र अरबप्रति कठोर भावना राख्ने व्यक्तिहरूको अधिपत्य छ।

    रिपब्लिकन र डेमोक्रेटका सांसदहरू यस लबीको मुठीमा छन्, त्यसैले गर्दा पनि अमेरिका इजरायलको अन्ध समर्थक भएको हो। र, चाहेर पनि उसले यो समस्या हल गर्न सकिरहेको छैन।

    नेपाल रिडर्सले वैदेशिक मामलाका जानकार विन्देश दाहालसँग गरेको कुराकानीमा आधारित।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      विन्देश दाहाल

      विन्देश दाहाल

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.