झरीमा रुझ्दै केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)को कार्यालय अगाडि उभिएको तस्बिर राखेर चन्द्रदेव जोशीले ४ भदौमा सामाजिक सञ्जालमा लेखे, ‘भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिबद्धता कायम छ। म फरार छुइनँ।’
ललिता निवास जग्गा प्रकरणमा मुछिएका जोशीलाई कहिले सिआइबी त कहिले सञ्चार माध्यमले समेत ‘फरार’ घोषित गरिदिए। कतिसम्म भने सिआइबी कार्यालयमा आफैँ बयान लेउ भन्न पुगेका जोशीलाई अदालतमा समेत फरार सुचीमा राखेर पेश गरियो। जवाफमा उनले सामाजिक सञ्जालमा बारम्बार लेखे ‘म फरार छैन।’
८६ वर्षे चन्द्रदेव जोशी ६६ वर्षदेखि राजनीतिमा सक्रिय छन्। आधा शताब्दी भन्दा बढीको राजनीतिक जीवनमा उनी एकपटक मात्र राजकीय पदमा पुगे। उनी आफ्नो सम्पूर्ण राजनीतिक जीवनमा एकपटक मात्र मन्त्री भएका थिए। जीवनको उत्तरार्धमा हिडिरहेका जोशीका लागि त्यही मन्त्री पद साह्रै महङ्गो सावित भइरहेको छ।
मध्य बानेश्वरको आफ्नो घरमा बसेर जोशी ललिता निवास प्रकरणमा आफूलाई अभियुक्त बनाइएका समाचार टेलिभिजनमा हेरिरहन्छन्। टेलिभिजनका स्क्रिनमा देखिने आफ्नै तस्बिरले उनलाई आफू हिडेर आएको राजनीतिक बाटो सम्झाइदिन्छन्।
जोशीलाई राजनीतिको मार्गमा बीपी कोइरालाले छिराएका थिए। वि.सं. २०१४ सालमा बीपी कोइराला बैतडीको साईलेक आएका थिए। दार्चुलाबाट जोशी पनि कार्यक्रममा सहभागी हुन आइपुगे। भारतबाट एसएलसी पास गरेका जोशीलाई पनि कोइराला उपस्थित कार्यक्रममा भाषण गर्न भनियो। भारतमैं पढेका जोशीको नेपाली बोली प्रष्ट थिएन्। अनि उनले हिन्दीमै भाषण गरे।
‘महात्मा गान्धी, जवाहरलाल नेहरुको उदाहरण दिँदै नेपालमा प्रजातन्त्र, जनताका अधिकारका खातीर संघर्ष गर्नुपर्छ भनेर भाषण गरेको थिएँ,’ आफूूलाई राजनीतिको बाटोतिर सोझ्याउने ६६ वर्ष पुरानो सन्दर्भ उनको मनमा ताजै छ।
जोशीको भाषणबाट बीपी प्रभावित भएछन्। कार्यक्रम सकिएपछि बीपीले जोशीलाई भनेछन् ‘बहुत अच्छा बेटा, काठमाडौं आए तो मुलाकात करना।’
अनि जोशीले त्यही कार्यक्रम स्थलमै नेपाली काँग्रेसको सदस्यता लिए, ‘त्यतिखेर चौवन्नी सदस्य भन्ने हुन्थ्यो। चौवन्नी तिरेपछि सदस्य हुन पाइन्थ्यो।’ २०१५ को चुनावमा जोशी काँग्रेसका उम्मेद्वारलाई जिताउन सक्रियतापूर्वक लागे।
काँग्रेसमा सक्रिय रहेकै बेला उनी आफ्नै गाउँको शंकरपुर हाइस्कुलमा पढाउन थाले। त्यतिबेलासम्म उनले भारतबाट आइएस्सी पास गरिसकेका थिए। जीवन आनन्दपूर्वक चलेको थियो।
०१७ मा राजा महेन्द्रले संसद भंग गर्दै प्रधानमन्त्री बीपीलाई जेल हाले। काँग्रेससँग मिलेर बझाङ्गी राजा ओमजङ्ग सिहँ राजा महेन्द्रविरुद्ध सशस्त्र विद्रोह गर्न कस्सिए। ०१९ को असोजमा महेन्द्रविरुद्ध सशस्त्र विद्रोह गर्न भन्दै भारतबाट महाकाली नदी तरेर ओमजङ्गको टोली जोशीको गाउँ शंकरपुर आइपुग्यो।
‘हाम्रो स्कुलको वार्षिकोत्सव कार्यक्रम सकिएको साँझ २०/२५ जना साथमा लिएर ओमजङ्ग आइपुगे’ जोशी सम्झन्छन्, ‘उनीहरूलाई वास र खानपिनको व्यवस्था गर्यौं। बझाङ क्याप्चर गर्ने भए भनेर उनीहरूको स्वागत गर्यौं।’
ओमजङ्गले बझाङ आक्रमण गर्न पाएनन्। उनको टोली बैतडी हुँदै सेती नदी तरेर बझाङको सदरमुकाम चैनपुर नपुग्दै सेनाले पछ्याइहाल्यो। ११ असोज ०१९ मा ओमजङ्गसहित बझाङ आक्रमण गर्न हिडेका १६ जना मारिए।
ओमजङ्गलाई सघाएको निहुँमा तत्कालिन शाही सेनाले बझाङ, दार्चुला, बैतडी लगायत क्षेत्रका गाउँलेमाथि दमन यातनाको कहर बर्सायो। ‘पञ्चायती सरकारले चारैतिर मिलिट्री अप्रेशन चलायो, गाउँ–गाउँमा सैनिक पस्यो’ जोशी भन्छन्, ‘हामीलाई स्कुलमै बाँधेर भकुर्यो।’
त्यसबेला शंकरपुर स्कुलमा पढाउन भनेर भारतबाट झिकाइएका रामदत्त तिवारी नामका शिक्षक थिए। सेनाले जोशीसँंगै तिवारीलाई पनि बाँधेर पिट्न थालेपछि उनले रुँदै ज्यान बचाइदिन आफूलाई आग्रह गरेको दृश्य जोशीको सम्झनामा अहिले पनि तरोताजा छ।
‘हातखुट्टा बाँधिएका उनले मलाई हेर्दै भनेका थिए ‘चन्द्रदेव मुझे मारने से रोको, मेरा एक ही लड्का हैं’, जोशी सम्झिन्छन्।
सेनाको यातनाबाट उम्किएर तिवारी र जोशी दुवै भारत पसे। ‘रातारात भागेर पिथौरागढ पुगेँ’, ६० वर्ष अगाडिको घटना सम्झिंदै पूर्वमन्त्री जोशी भन्छन्, ‘दोहोर्याएर आएको शाही फौजले मलाई फेला नपारेपछि मेरी आमा, हजुरआमा सबैलाई यातना दिएछ।’
जोशीले भारतको पिथौरागढ पुगेर नेपाली काँग्रेसका नेताहरु भेटे। पिथौरागढमै द्वारिकादेवी ठकुरानीसँग जोशीको भेट भयो।
सुदुरपश्चिममा सशस्त्र विद्रोहको जिम्मा लिएका नेताहरुसँग भारतमा भेटेपछि जोशी रिसाए। ‘तपाईंहरु हामीलाई गाउँमा सशस्त्र विद्रोह भन्दै खटाउने तर, सहयोग नगर्ने भन्दै म काँग्रेसका नेताहरुसँग रिसाए,’ जोशीले जोसिदैं भने। विस्तारै काँग्रेससँग जोशीको मोहभङ्ग भयो।
‘मैले आफ्नो जीवन दार्चुलाका लागि भनेर समर्पित गरिसकेको थिएँ,’ जोशी पछुतो माने झैं गर्छन्, ‘ओमजङ्ग घटनाले मेरो बाटो मोड्यो।’
जोशी भागेर भारत पुग्दासम्म उनलाई पञ्चायत सरकारले ‘अत’ अर्थात् ‘अराष्ट्रिय तत्व’ घोषणा गरिसकेको थियो। तैपनि उनी हिम्मत गरेर काठमाडौं आए। भारतको लखनउ, गोरखपुर, मुजफ्फरपुर, रक्सौल हुँदै ७ दिनको यात्रा गरेर जोशी काठमाडौं आईपुगेका थिए।
‘काठमाडौं पुग्दा मेरो खल्तिमा ५० रुपैयाँ थियो।’ आश्रयको खोजीमा जोशी डा. केआई सिंहकहाँ पुगे।
आश्रय खोज्दै केआई सिंहको घरमा पुगेका जोशीलाई केआई सिंहसँग पनि निराश भए। ‘तिमीहरु सब नपुंसक हौ भन्दै सिंहले हकारे।’ त्यसपछि जोशी सुदुरपश्चिमकै एकजना साथीकहाँ गए। ‘अत’ घोषित भएका जोशी काठमाडौंमा अनेक साथीभाइको कोठामा पाहुना बनेर बसे।
पाहुना लाग्दालाग्दै एकदिन जोशी पकनाजोलमा रहेका एकजना साथीकहाँ पुगे। उसले जोशीलाई साझा बसमा कण्डक्टरको जागिर गर्ने सल्लाह दियो। साझा यातायातले भर्खरै (०१९) मा ४ वटा नयाँ बस थपेको थियो। ती बसका लागि कण्डक्टर चाहिएको थियो। कण्डक्टर हुन योग्यता तोकिएको थियो – ७ कक्षा पास।
यता जोशी थिए आइएस्सी पास।
पेटको सवाल थियो। जोशी गए साझा यातायातको कार्यालयमा। एसएलसी ‘फर्स्ट डिभिजन’मा उर्तिण भएको मार्कसिट देखेपछि साझा यातायातका तत्कालिन निर्देशक शिवराज श्रेष्ठले सोधे, ‘फर्स्ट डिभिजनमा पास भएको मान्छे किन कण्डक्टर हुन आएको ?’ जोशीले आफ्नो आईएस्सीको योग्यताबारे श्रेष्ठलाई भनेकै थिएनन्।
‘दार्चुलाबाट आएको, काठमाडौंमा खान, बस्न मुस्किल भयो। सर्टिफिकेटले खान दिएन,’ जोशीले श्रेष्ठलाई जवाफ फर्काए।
जोशीले एक महिना कण्डक्टरको तालिम लिए र साझा यातायातको कण्डक्टर भए। १२० रुपैयाँ तलब थियो। हप्ताको सातै दिन बस चल्थ्यो, बसको ढोकामा उभिएर जोशी पनि पुग्थे – महाराजगंञ्ज, चाबहिल, थानकोट, पाटन, लगनखेल। ‘१९२ नम्बरको बस थियो मैले कण्डक्टरी गरेको,’ जोशी सुनाउँछन्। बस कण्डक्टर हुँदा नै उनले नेपाली बोली सिके। ‘त्यतिखेरै हो मैले नेपाली राम्रोसंग बोल्न सिकेको,’ त्यसो त अहिले पनि हिन्दी र डोट्याली भाषाको लवज जोशीको बोलीबाट छुटेको छैन्।
करिब २ वर्ष कण्डक्टरका रुपमा काम गरेपछि साझा यातायातले जोशीलाई क्यास काउण्टरमा राख्यो। साझा यातायातमा कण्डक्टर र लेखा कर्मचारीका रुपमा काम गरिरहँदा नै जोशीले विदेशमा छात्रवृतिमा अध्ययनका लागि भनेर फारम भर्ना सुरु गरे। ‘तर, मलाई कतै पनि छनौट गरेनन्,’ पञ्चायतमा सरकारी काम आफ्नो पक्षमा पार्न पञ्चायतका जनवर्गीय संगठनमा आवद्ध हुनुपर्थ्यो। नभए यस्ता संगठनले सिफारिस गरिदिनुपर्थ्यो।
नचाहाँदा–नचाहाँदै पनि जोशीका साथीले एकदिन जोशीको नाममा पञ्चायती युवक संगठनको सदस्यता र सिफारिसपत्र थमाए। त्यो पत्र देखाएर उनले म्यानमारमा कृषि विज्ञान पढ्न छात्रवृत्तिमा पढ्न जान पाउने भए। ‘तर, त्यहीबेला म्यानमारमा विद्रोह भयो। नयाँ आएको सरकारले बर्मेली भाषा नजान्नेहरुलाई आफ्नो देशमा पढ्न नदिने भन्यो,’ जोशी विदेश पढ्ने सपनामा बिराम लाग्यो।
छात्रवृत्ति पाएर पनि पढ्न जान नपाएपछि एकदिन जोशीले ‘सिकायत दर्ज’ गराए। तत्कालिन मन्त्रिपरिषद अध्यक्ष डा. तुलसी गिरको कार्यकक्ष अगाडि एउटा सिकायत पुस्तिका (गुनासो पेटिका) हुन्थ्यो। ‘मैले त्यही सिकायत पुस्तिकामा आफूले छात्रवृति पाएर पनि पढ्न जान नपाएको भन्दै ८ पेजको सिकायत लेखें,’ जोशी भन्छन्।
जोशीको सिकायतको सुनुवाइ भयो। शिक्षा मन्त्रालयले बोलायो र उनलाई तत्कालीन सोभियत संघ (रुस) पठाउने भयो, ‘मेकानिकल इन्जिनियर’ पढ्न्।
जोशी पढ्ने जोश लिएर रुस पुगे। उता पुगेपछि स्वास्थ्य परिक्षण गराउनुपर्थ्यो। स्वास्थ्य परिक्षणमा टिबी देखिएपछि सोभियत सरकारले जोशीलाई नेपाल फिर्ता पठाउने भयो। ‘मलाई टिबि (क्षयरोग) देखियो,’ जोशीले हार माने, ‘मेरो हातमा नेपाल फिर्ता हुने टिकट थमाए। त्यसपछि त मलाई आत्महत्या गर्छु जस्तो सोच आयो।’
जोशीसँगै गएका साथीहरु र त्यहाँ रहेका नेपालीले अनेक प्रयत्न गरेर जोशीलाई रुसबाट फिर्ता नहुने वातावरण मिलाए। क्षयरोगको उपचारका लागि भनेर जोशीलाई एक स्यानोटोरियममा राखियो।
‘अस्पतालको बेडमा सेतो तन्ना थियो। मेरो हेरचाह गर्ने नर्सले मलाई कापी र कलम ल्याइदिन्थिन्। एकदिन मसी तन्नामा पोखियो,’ जोशी भन्छन्, ‘मसी पोखिएपछि ती नर्सले मलाई सरकारी सम्पत्ति , जनताको सम्पत्तीमाथि यसरी हेलचेक्र्याई गर्नु हुँदैन भनेर सम्झाइन्।’
अनि जोशीले ‘मेरो चादरमा लागेको दाग’ शिर्षक राखेर कविता लेखे। कविता लेखनमा समेत सक्रिय जोशीलाई उनका साथीहरु ‘चन्दा’ भनेर पुकार्छन्। उनी पनि कवितामा आफ्नो नाम ‘चन्दा’ नै लेख्छन्।
अस्पतालमा रहँदाबस्दा जोशीले साम्यवादी साहित्यका किताब पढ्ने मौका पाए। मार्क्स , लेनिन, स्टालिनका किताब पढे। अस्पतालबाट बाहिरिएपछि पनि जोशीले वामपन्थी पुस्तकहरु पढे। ‘ती किताब पढेपछि मलाई लाग्यो हामीले खोजेको समाज, हामीले चाहेको व्यवस्था त कम्युनिज्ममा रहेछ,’ जोशी गर्वसाथ भन्छन्, ‘अनि म कम्युनिष्ट भएँ।’
जोशीले आफूले आफूलाई कम्युनिष्ट ठानेपनि उनको साथमा रहेका नेपाली विद्यार्थीहरुले भने उनलाई काँग्रेस नै ठान्थे। कतिपयले त उनलाई पञ्चायती ठान्थे।
त्यसपछि जोशीले आफ्नो साथमा गएका अच्युतानन्द भण्डारी, लोहितराज उपाध्याय, दिनेश उपाध्याय, देवी थापालाई साथमा लिएर एउटा घोषणापत्र तयार पारे। ‘मानिस भएर जिन्दगीमा केही न केही राम्रो काम गर्नुपर्छ। देशको उन्नतिका लागि हामी सँगसँगै मिलेर काम गर्नुपर्छ भन्दै एउटा सानो घोषणापत्र तयार गरियो। हामीले त्यसमा दस्तखत गर्यौँ,’ जोशीले सोभियत संघबाटै नेपालका लागि क्रान्तिको खाका तयार पारे।
वामपन्थीहरुको सङ्गतमा रमाउँदै गएका जोशीको भेट एकदिन नेपाल कम्युनिष्ट पार्टीका नेताहरु मध्येका एक कमर शाहसँग भयो। ‘मैले कमर शाहलाई आफ्नो सबै इतिहास बताएपछि उहाँले म कम्युनिष्ट नै भएको पत्याउनुभयो,’ जोशी भन्छन्, ‘त्यसपछि उहाँले मलाई एउटा पार्कमा लगेर कम्युनिष्ट पार्टीको सदस्यता दिनुभयो। एउटा प्रतिज्ञापत्रमा दस्तखत गराउनुभयो।’ यसपछि त जोशी औपचारिक रुपमै कम्युनिष्ट भए।
कम्युनिष्ट पार्टीको सदस्यता लिएकै दिन जोशीले ‘जीवनको बाटो मोडियो’ शिर्षक राखेर कविता लेखे। सदस्यता लिइसकेपछि कम्युनिष्ट दर्शनको अध्ययन गर्ने जोशीको गति बढ्यो।
यता नेपालमा भने कम्युनिष्टको टुटफुटको शृङ्खला तिव्र थियो। केशरजंग रायमाझी समूहमा रहेको जोशीले ०२४ मा भएको रायमाझी समूहको महाधिवेशनमा सोभियत संघबाटै रायमाझीको विरोधमा २२ पृष्ठको दस्तावेज पठाए।
रुसबाट मेकानिकल इन्जिनियर पढेर ०२७ सालमा नेपाल फर्किए जोशी। नेपाल आएपछि उनी रायमाझी समुहमै सक्रिय रहे। पछि रायमाझी ‘दरबारपरस्त’ हुँदै गएको उनलाई चित्त बुझेन र विष्णुबहादुर मानन्धर समूहमा सक्रिय भए। ०३७ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा उभिएका जोशी विद्यार्थी र युवा विभागको इन्चार्ज थिए।
०३८ सालमा काठमाडौंको कमलपोखरीमा बसेको बैठकले रायमाझीलाई पार्टीबाट हटाउँदै मानन्धरलाई महासविच बनायो। ‘आफूसँग सैद्धान्तिक ज्ञान छैन भन्दै मानन्धरजी महासचिव हुन मानिरहनु भएको थिएन, मैले नै जोडबल गरेपछि उहाँलाई महासचिव बनाइयो,’ जोशी सम्झिन्छन्।
मानन्धर समूह पनि ०४० मा विभाजित भयो। यो समूहबाट कृष्णराज बर्मा छुट्टिए। जोशी भने मानन्धर समूहमै रहे।
०७४ मा भएको तीन तहको चुनावमा नेकपा संयुक्तबाट गणेश शाहको टोली नेकपा माओवादी केन्द्रसँग एकता गर्यो। तर, माओवादीसँग कुरा नमिलेको भन्दै ०७६ मा जोशीले नेकपा संयुक्त फेरि ब्यूँताए। यसरी ब्यूँतिएको नेकपा संयुक्तको नेतृत्व गरे जोशीले। जोशी अहिले पनि नेकपा संयुक्तको अध्यक्ष छन्। ०७९ मा भएको चुनावमा जोशी नेतृत्वको नेकपा संयुक्तले हृदयेश त्रिपाठीको जनता प्रगतिशिल पार्टीसँग चुनावी तालमेल गरेको थियो।
रुसबाट फर्किएपछि काठमाडौंमा पार्टीको कामसँगै जोशी जागिर पनि गर्न थाले। ‘परिवार पाल्न जागिर त गर्नैपर्ने थियो,’ जोशीले नेशलन ट्रेडिङ लिमिटेडमा डेलिभरी ब्वाईको जागिर पाए। सरकारी जागिरे जोशी दिनभर सरकारी काममा हुन्थे भने राती पार्टीको काममा सक्रिय हुन्थे। ‘पार्टीमा मेरो नाम कमल प्रधान थियो,’ जोशी सम्झिन्छन्।
जागिरबाट हुने आम्दानीले परिवार पाल्न मुस्किल भएपछि जोशीले आफ्ना साथीहरुसँग मिलेर तीनकुनेमा गाडी मर्मत गर्ने वर्कशप सुरु गरे। ‘त्यसबेला किर्तिनिधि विष्ट प्रधानमन्त्री थिए। उनले युवाहरुलाई उद्यम गर्न ५० हजार ऋण दिने भए, अनि हामीले तीनकुनेमा एउटा वर्कशप चलायौँ।’
‘केही समय पछि मधुकर शमसेर राणा नेशनल ट्रेडिङको हाकिम भएर आए। उनले मेरो काम देखेका रहेछन्, मलाई फेरि जागिर खान बोलाए,’ जोशी ८ सय रुपैयाँ मासिक तलब पाउनेगरी फेरि जागिर गर्न गए। ट्रेडिङको परिक्षा पास गरेर जोशी स्थायी जागिरे भए।
दिनभर मेकानिकल इन्जिनियरको काम रातभर पार्टीको काममा खटिन थाले जोशी। ०४२ सालमा काँग्रेस लगायतका दलहरुले सत्याग्रह आन्दोलन चलाए। बिष्णुबहादुर मानन्धर समूहमा रहेका जोशीको पार्टी सत्याग्रहमा सामेल भएन।
सत्याग्रहलाई जोशीको पार्टीले एकता आन्दोलनका रुपमा मनाउने निधो गर्यो। तर, पनि सत्याग्रह आन्दोलनमा जोशी जेल परे। ४ असार ०४२ मा जोशी जेलबाट छुटे। जेलबाट छुटेपछि जोशीले ‘एकता आन्दोलन’को तयारी थाले। दिउँसो जागिरमा गएर उनी रातभरी ‘एकता आन्दोलन’का लागि योजना बनाउन खटिए।
५ असारको रातभर जोशी आन्दोलनको योजना बनाउन बैठकमा खटिएका थिए। ‘६ असार बिहान अफिस गए। रातभरीको अनिदोले निन्द्रा लाग्यो,’ जोशी कार्यालयबाट दिउँसै बिदा मागेर घर आए।
‘घर आएर निदाएको थिएँ। साँझ ५ बजेतिर भोजराज जोशी भन्ने साथी आएर मलाई बिउँझायो,’ जोशी सम्झिन्छन्, ‘दाज्यू, काठमाडौंभरी बम पड्केको छ।’
जोशीले कुरा बुझिहाले रामराजा प्रसाद सिंह, खेमराज भट्ट ‘मायालु’ लगायतको टोलीले बम पड्काएको। ६ असार ०४२ मा नारायणहिटी दरबारको मूल ढोका, राष्ट्रिय पञ्चायतको ढोका, अन्नपूर्ण होटल लगायतका ठाउँम बम पड्काइयो। यो घटनामा ५ जनाको मृत्यु भयो।
साँझ ७ बजेतिर जोशीको घरमा प्रहरीको दस्ता आईपुग्यो। पक्राउपुर्जी बिनै जोशीलाई पक्राउ गरेर लगियो। ‘मेरो कापीकिताब, दस्तावेज सबै लगेर गए,’ जोशी सुनाउँछन्।
पक्राउ गरेको राती ११ बजेदेखि जोशीलाइ केरकारी गर्न थालियो।
‘बम पड्काएको हो कि होइन ?’ बयान लिने प्रहरी सोध्थे।
‘होइन, म त्यसमा सामेल छैन।’ जोशी जवाफ दिन्थे।
यो क्रम राती तीन बजेसम्म चल्यो।
अन्तमा हैरान भएपछि जोशीले भने, ‘म होइन भनिरहेको छु, तपाईंलाई हो भन्ने लाग्छ भने कारबाही गर्नुहोस्।’
‘लौ बम पड्काएको स्वीकार्यो,’ प्रहरी खुसी भए।
अनि जोशीलाई थुनामा पठाइयो।
जोशीको परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हाले। तर, प्रहरीले जोशीलाई सुरक्षाको कारण देखाउँदै अदालतमा उपस्थित गराउन मानेन। उनी ११ महिना जेल बसे।
‘ती ११ महिनामा साथीहरुले मेरो परिवार पाले, छोराछोरीको फिस तिरिदिए,’ जोशी उनीहरुप्रति कृतज्ञ सुनिन्छन्। जोशीका जेठा छोरा अरुणदेव जोशी भन्छन्, ‘अरविन्द रिमाल खानेकुरा लिएर हामीलाई भेट्न आउनुहुन्थ्यो। जीवनमा पहिलो पटक ‘कन्डेन्स्ड मिल्क’ रिमालले नै खुवाएका हुन् मलाई।’
बम काण्डमा मुछिएसँगै जोशीको सरकारी जागिर खोसियो। ११ महिना पछि जेलमुक्त भएलगत्तै जोशीलाई पोलिटब्युरो सदस्य बनाउँदै पार्टीले दार्चुला पठायो। मानन्धर समूहले पञ्चायती निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। नेकपा मालेले पनि त्यसपटक निर्वाचन उपयोगको नीति लिएको थियो। ‘प्रतिबन्धित कम्युनिष्ट पार्टीको उम्मेद्धवार,’ ‘कम्युनिष्ट पार्टीको उम्मेद्वार’ जोशीले आफ्नो चुनावी पर्चामा लेखे।
‘राजालाई मार्न खोज्ने मान्छे भनेर मेरो बद्नाम गरेका थिए चुनावमा,’ जोशीले चुनाव हारे। पञ्चायतको जगजगीमा पञ्चायत विरोधी कम्युनिष्टले चुनाव जित्ने कल्पना गर्नु पनि दुस्साहस थियो।
चुनाव हारेर फर्किएपछि जोशी फेरि जागिरको खोजिमा भौंतारिए। ‘कतैकेही नभएपछि म मोतिलाल दुगडकहाँ जागिर माग्न गएँ,’ जोशी भन्छन्। आफ्नो सबै पृष्ठभूमि सुनाएपछि दुगडले भनेछन्, ‘मेरो अफिसमा, मेरा कर्मचारीबीच राजनीति नगर्नुहोस्। काम गर्न आउनुहोस्।’
जोशी २५ सय रुपैयाँ तलबमा दुगडकहाँ जागिरे भए। दुगडले भारतबाट ल्याउने निशान गाडिको इञ्जिनियर डिर्पाटमेन्टको जनरल म्यानेजर भएर जोशीले ७ वर्ष जागिर गरे। त्यही जागिर गरिरहँदा जोशीले घरमै कुखुरा फार्म सुरु गरे।
जागिर र राजनीति सँगसँगै चलाईरहेका जोशीको दलले ०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ ५ सिट जित्यो। जोशी नेतृत्वको नेकपा संयुक्तले नै पहिलोपटक तेस्रो लिंगी समुदायबाट सुनिलबाबु पन्तलाई संविधानसभामा समावेश गरायो। नाई पेशा अपनाउने पहिलो महिला रामशिला ठाकुरलाई सभासद बनायो।
जोशी पनि संविधानसभामा सभासद भए। नेकपा संयुक्तलाई ०६४ देखि संविधानसभा विघटन नहुँदासम्म बनेका तीन वटा सरकारले सरकारमा सामेल हुन बारम्बार आग्रह गरेका थिए। ‘विभिन्न समयमा सरकारलाई समर्थन दिएपनि हामी सरकारमा सामेल भएका थिएनौं,’ जोशी भन्छन्।
१२ भदौ ०६८ मा बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो। ‘सरकार बनेकै दिनदेखि भट्टराईले हामीलाई सरकारमा सामेल हुन अनुरोध गरेका थिए,’ तर, जोशीले सरकारमा सामेल हुन आलटाल गरिरहे।
संविधानसभाको आयु नथप्न सर्वोच्च अदालतले आदेश दिइसकेको थियो। भट्टराईले मन्त्रीहरु हेरफेर गरे। संविधानसभाको आयु समाप्त हुन १२ दिन मात्र बाँकी थियो। भट्टराईले फेरि बोलाए जोशीलाई, ‘पहिलो संविधानसभाले नै संविधान बनाउँछ र त्यसमा सरकारको तर्फबाट हस्ताक्षर गर्न पाईन्छ भन्ने लागेर भट्टराई नेतृत्वको मन्त्रिमण्डलमा सामेल भए।’ ३ जेठमा जोशी भूमिसुधार तथा व्यवस्था मन्त्री भए।
१४ जेठ राती संविधानसभाको आयु सकियो। ‘मैले तत्काल त्यसको विरोध गरेर सरकार छाड्न खोजेको थिएँ,’ जोशी भन्छन्, ‘भट्टराईले तपाईंको राष्ट्रपतिसँग निकट सम्बन्ध छ। यस्तो सङ्कटका बेला देशलाई जोगाउनुपर्छ भनेपछि सरकारमै बसिरहें।’
सर्वोच्चको फैसला कार्यान्वयन गर्दा भ्रष्टाचार मुद्धा !
बालुवाटारको २९९ रोपनी ९ आना जग्गा र त्यहाँ निर्मित दरबार ‘ललिता निवास’को जग्गामा भएको हिनामिना नै ‘ललिता निवास’ प्रकरण हो।
राणा प्रधानमन्त्री भीमशमशेरको नाममा रहेको यो जग्गा उनले आफ्ना छोरा हिरण्यशमशेरलाई अंश दिए। हिरण्यशमशेरबाट उनका छोरा सुवर्णशमशेरमा हक हस्तान्तरण भयो।
०१७ मा राजा महेन्द्रले शासनसत्ता हत्याएपछि ०१८ मा उनले सुवर्णशमसेरको सर्वस्वहरण गरे। महेन्द्र नेतृत्वको सरकारले ०१८ सालमा जग्गा प्राप्ति ऐन जारी गर्दै मुआब्जा दिएर ललिता निवाससहित ६ वटा दरबार ०२१ सालमा अधिग्रहण गर्यो। यस क्रममा सरकारले ललिता निवासको २ सय ८४ रोपनी १४ आना जग्गा पनि अधिग्रहण गर्यो।
सरकारले अधिग्रहण गरेपछि ललिता निवासको भवनमा नेपाल राष्ट्र बैंक बस्यो। ललिता निवासले चर्चेको जग्गामा हालको प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश निवास बनाइयो।
सुवर्ण शमसेरका छोरा कनक शमसेरले आफूलाई बस्न ठाउँ नभएको भन्दै राजा विरेन्द्रकहाँ निवेदन हाले। त्यसपछि विरेन्द्रले ०२१ मा अधिग्रहण गर्दाको मुल्यमा तिराएर कनक शमशेरलाई २७ जेठ ०३६मा ललिता निवासको ८ रोपनी जग्गा ४५ हजार रुपैयाँमा दिए।
ललिता निवासको जग्गामा बनेको प्रधानमन्त्री निवास अगाडिबाट बाटो, पर्खाल बनाएपछि ललिता निवासको २७२ रोपनी १५ आना जग्गा बाँकी रह्योे। त्यसमध्ये ६० रोपनी जग्गा नेपाल राष्ट्र बैंकले लिएपछि बाँकी रहेको २१२ रोपनी १५ आना जग्गा समरजंग कम्पनीका नाममा दर्ता भयो ।
कृष्णप्रसाद भट्टराईको नेतृत्वमा ०४७ मा बनेको अन्तरिम सरकारले १४ जेठ ०४७ मा प्रजातान्त्रिक आन्दोलनमा लागेका कारण पञ्चायतकालमा जफत भएको राजनीतिक व्यक्तिको सम्पत्ति फिर्ता गर्ने निर्णय गर्यो।
यही निर्णयका आधारमा डिल्लीबजार मालपोत कार्यालयले २५ कार्त्तिक र २३ पुस ०४९ मा ११२ रोपनी ४ आना जग्गा राणा परिवारका नाममा दर्ता गरिदियो ।
त्यसपछि नै उक्त जमिनमा जग्गा दलालहरुको आखाँ परेको थियो। समरजंग कम्पनीको नाममा गइसकेको ललिता निवसाको जग्गामा खेती गरेर कुत बुझाउने किसानलाई प्रयोग गर्दै ललिता निवासको जग्गा टिकिन्छा गुठीको रहेको भन्दै नक्कली मोही खडा गरियो।
ललिता निवासको मामिला चार पटक अदालत पुगेको देखिन्छ । आफूले पाएको जग्गामा भूमिसुधार कार्यालयले मोही कायम गरिदिएको भन्दै राणा परिवार २०५६ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनमा गएको थियो । पुनरावेदनले समेत मोहीकै पक्षमा फैसला सुनाइदियो ।
ललिता निवासको जग्गामा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो। १८ असार ०६० मा आयोगले उजुरी तामेलीमा राख्यो। उजुरी तामेलीमा राखेपछि फेरि उजुरी पर्यो।
त्यसपछि आयोगले ९ जेठ ०६३ मा व्यक्तिका नाममा गएको ललिता निवासको जग्गा रोक्का गर्यो र २० जेठ ०६४ मा व्यक्तिका नाममा गएको ललिता निवासको जग्गा सरकारका नाममा ल्याउने निर्णय गर्यो।
आयोगको यो निर्णय विरुद्ध जग्गावालहरु सर्वोच्च अदालत पुगे। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश बलराम केसी र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासले ३० फागुन ०६४ मा अख्तियारको निर्णय बदर गर्दै जग्गा व्यक्तिको नाममा हुने फैसला गर्यो।
सर्वोच्चले फैसला गरेपछि यो जग्गा व्यक्तिका नाममा ल्याउने काम अगाडि बढ्न सकेको थिएन। तर, यस विषयको फाइल भने भूमिव्यवस्था मन्त्रालयमा थियो।
ललिता निवासको जग्गा टिकिन्छा गुठीका नाममा ल्याउन भनेर तयार पारिएको फाइल पहिले नै मन्त्रीपरिषद्मा पुगेको थियो। ‘त्यो फाइल मन्त्रीपरिषदबाट त्यतिखेर एउटा टिप्पणी सहित फर्किएको थियो,’ जोशी सुनाउँछन्। टिप्पणीमा लेखिएको थियो ‘प्राविधिक कारणले यो फाइल फिर्ता पठाइएको र पछि आवश्यक परेमा विभागीय मन्त्रीको स्विकृति सहित मन्त्रिपरिषदमा पेश गर्ने।’
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले ५ असार ०६८ मा ललिता निवासको जग्गा पशुपति टिकिन्छा गुठीका मोहीहरुको हुने भन्दै आफूले गरेको फैसला कार्यान्वयन गर्नू भनेर भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई पत्र पठायो।
यसको जवाफ नपाएपछि २८ जेठ ०६९ मा फैसला कार्यान्वयन निर्देशनालयले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई फेरि पत्र पठायो। यो पत्रमा निर्देशनालयले सर्वोच्चको आदेश यथाशिघ्र कार्यान्वयन गरेर आफूलाई जानकारी गराउनु भन्यो।
‘पत्र पाइसकेपछि मैले तत्कालीन सचिव दिनेश अधिकारीलाई सोधेँ,’ जोशी सुनाउँछन्, ‘उनले पनि यस्तो फाइल मन्त्रालयमा छ भने।’ त्यसपछि जोशी नेतृत्वको मन्त्रालयले गुठी संस्थानसँग यस विषयमा थप जानकारी लियो। ‘गुठी संस्थानले पनि सर्वोच्चको आदेश अनुसार काम गर्नुपर्ने राय दियो,’ जोशी भन्छन्।
त्यसपछि जोशीले ८ साउन ०६९ मा सर्वोच्चको फैसला कार्यान्वयन गर्दै आफ्नो मन्त्रालयमा रहेको फाइल सर्वोच्चको आदेशानुसार गर्नुपर्ने भन्दै मन्त्रिपरिषदमा फाइल पेश गरे।
‘पहिले नै मन्त्रालयमा रहेको फाइलमा सचिवको टिप्पणी सदर गर्दै फाइल मन्त्रिपरिषदमा पेश गरेँ। त्यसपछि त मैले राजीनामा दिइहालेँ,’ जोशीले ४ असोज ०६९ मा मन्त्री पदबाट राजीनामा दिए। ‘मैले त्यो फाइलमा न केही थपेँ, न केही घटाएँ। त्यसमा जे जस्तो थियो त्यसैलाई सर्वोच्चको आदेश कार्यान्वयन गराउन मन्त्रिपरिषदमा पेश गरिएको हो,’ जोशी भन्छन्।
उनले राजीनामा दिएको १४ दिनपछि १८ असोज ०६९ मा मन्त्रिपरिषदले ललिता निवासको ३ रोपनी जग्गा टिकिन्छा गुठीको नाममा कायम गर्ने निर्णय गर्यो।
५ माघ ०६९ मा मालपोत कार्यालयले ललिता निवासको तीन रोपनी १२ आना जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गरिदियो।
निर्णयगर्दा मन्त्रीपदमा नरहेपनि फाइल मन्त्रीपरिषदमा पेश गरेको भन्दै जोशीलाई ०७६ मा ७ करोड रुपैयाँ बराबरको विगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा हाल्यो।
अख्तियारले हालेको मुद्धामा सबै प्रतिवादीहरु धरौटीसहित रिहा हुँदा जोशी एक जना मात्र थिए जो साधारण तारखेमा रिहा भए। तर, विशेष अदालतले म्याद गुज्रिसकेको भन्दै ललिता निवासको जग्गा प्रकरणको मुद्धा खारेज गर्यो।
अहिले केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेर फेरि यो मुद्धालाई काठमाडौं जिल्ला अदालतमा पुर्याएको छ। यसपटक भने ६३ करोड १० लाख रुपैँया बिगो दाबी गर्दै जोशीलाई प्रतिवादी बनाएइएको छ।
तर, जोशी भन्छन्, ‘मैले त सर्वोच्च अदालतको आदेश मानेको हुँ। सर्वोच्चको आदेश मान्दिन भन्न पाईदैन। त्यसमाथि सर्वोच्चले फैसला कार्यान्वयन गर भनेर पत्र नै पठाएको थियो।’ सर्वोच्चको आदेश नमान्दा मानहानीको मुद्धा लाग्ने डर थियो।
मन्त्रीपद छाडेको ११ वर्षपछि पनि त्यो फाइलले आफूलाई पच्छ्याइरहन्छ भनेर उनले कल्पना समेत गरेका थिएनन्। ०७६ मा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सघाएको भन्दै आफू विरुद्ध मुद्धा परेपछि मात्र उनले त्यो फाइलको प्रसङ्ग सम्झिए।
यसपटक सरकारी वकिल कार्यालयले ललिता निवास हडप्ने मुख्य व्यक्ति जोशी नै हुन् भनेजसरी निर्णय प्रक्रियामा सामेल भनेर आरोपितहरु मध्ये सबैभन्दा धेरै ६३ करोड विगो दाबी गरेर मुद्धा दायर गरेको छ। जसले जे भनेपनि जोशी भने प्रष्ट छन्, ‘मैले सर्वोच्चको आदेश मानेको हुँ। त्यस बाहेक मैले यो विषयबाट कुनै लाभ लिएको छैन।’ सर्वोच्च अदालतको आदेश पालना गर्दै जोशीले मन्त्रीपरिषदमा पठाएको फाइलले ललिता निवासको सबै जग्गा होइन ३ रोपनी १२ आना जग्गा व्यक्तिको नाममा गएको हो।
८६ वर्षे वयोवृद्ध जोशी यसपटक अदालतमा आफै बहस गर्नेछन्। उनी आफैं उभिएर अदालतलाई आफ्नो निर्दोषिताको प्रमाण पेश गर्नेछन्। अघिल्लो पटक पनि उनले आफैं बहस गर्ने योजना बनाएका थिए। तर, त्यतिखेर उनले बहस गर्नुपर्ने अवस्था आइलागेन। ‘यसपटक त म आफै बोल्छु,’ चस्मा सफा गर्दै जोशीले भने, ‘६३ हजार रुपैयाँ पनि साथमा नभएको मलाई ६३ करोडको बिगो हालेछन्।’
कथम् कदािचत मुद्धा हारेमा यति धेरै बिगो रकम कसरी भर्ने होला भन्ने पीर छ। उनी सुस्केरा काढ्छन्। छेउमै बसेका जोशीका छोरा अरुणदेव सान्त्वना दिन्छन्, ‘जितिन्छ, किन चिन्ता गर्नुहुन्छ।’
‘अदालत हो, जित हार त ५०/५० प्रतिशत हो,’ जोशीको चित्त बुझ्दैन, ‘मैले जीवनभर एक आना पनि सरकारी सम्पत्ति हिनामिना गरिनँ। अहिले मर्ने बेलामा यत्रो दाग लाग्यो।’
जोशीलाई आफ्नो भन्दा पीर त आफ्नो परिवारको छ। छेउमै बसेका छोरा, नातीलाई देखाउँदै जोशी भन्छन्, ‘यिनीहरुका लागि मैले जीवनभर केही राम्रो गर्न सकिनँ। म मरिहालें भने त यो मुद्धाले यिनलाई पनि पिर्ने भयो। यिनीहरुलाई पनि असर गर्ने भयो।’
जोशी आफ्नो देहान्त अगावै मुद्धाको छिनोफानो भइदिए हुन्थ्यो भनी कामना गर्छन्, ‘जीवनभर भ्रष्टाचारको विरोधमा लडेको म यो दाग बोकेर मर्न चाहन्नँ।’