समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी समस्यालाई समाधान गर्न हामीलाई वैज्ञानिक तरिका, शिक्षा वा अनुभवसहितको ज्ञान/सीप आवश्यक पर्दछ। यसलाई अनुपालन गरेर नै गहिरो समस्याबाट गुज्रिरहेको छिमेकी मित्र राष्ट्र चीनले पछिल्ला ४ दशकमा गरेको अभूतपूर्व विकासले विश्वको ध्यान खिचेको छ। चीन आजको शक्तिशाली र विकसित चीन बन्नुमा एक प्रमुख कारण शिक्षा नै हो। शिक्षाबाटै आफ्ना समस्या समाधान गर्दै विश्वमा शैक्षिक, आर्थिक लगायत विकासको मोडलका रुपमा उभिदैँ गरेको चीनको प्राविधिक तथा व्यवसायिक शिक्षा प्रणाली र डबल हाइ लेभल योजना र यसको अनुभव नेपाल लगायत विकासशील राष्ट्रका लागि सिकाइ हुनसक्छ।
यसै सन्दर्भमा, चीनको चच्याङ क्षेत्रको निङ्पो शहरमा रहेको निङ्पो पोलिटेक्निक विश्वविद्यालय (Ningbo Polytechnic) (NBPT) प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा उच्च स्थान हासिल गरेको शैक्षिक संस्था हो। यस संस्थाले शिक्षाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ। दोहोरो उच्च-स्तरीय योजना (Double High‑level Plan) अन्तर्गत रहेको राष्ट्रिय स्तरमा मान्यताप्राप्त, उच्च‑गुणस्तरीय, र अन्तर्राष्ट्रियकरणमा अग्रगामी नमुना संस्था हो।
इन्जिनियरिङमा विद्यावारिधि र प्राध्यापक स्तर II, चाङ हुइपो (Zhang Huibo) निङ्पो पोलिटेक्निकका प्राध्यापक तथा पार्टी कमिटी सचिवको रूपमा कार्यरत छन्। उनले व्यावसायिक कलेजको राष्ट्रिय परिषद्को अध्यक्ष, चीन उच्च शिक्षा संघको व्यावसायिक शिक्षा शाखाको उपाध्यक्ष, बेल्ट एण्ड रोड उद्योग-शिक्षा एकीकरण गठबन्धनको अध्यक्ष, अन्तर्राष्ट्रिय आदानप्रदानको लागि छैटौं चीन शिक्षा संघको कार्यकारी परिषद् सदस्य र विगत ३० वर्षदेखी प्राध्यापनको अनुभव सम्हालिसकेका छन्।
उच्च व्यावसायिक शिक्षा व्यवस्थापन र व्यावसायिक शिक्षाको अन्तर्राष्ट्रियकरणमा उनको अनुसन्धान केन्द्रित छ। उनले १० भन्दा बढी प्रान्तीय/मन्त्रीस्तरीय अनुसन्धान परियोजनाहरूको नेतृत्व गरेका छन् र १०० भन्दा बढी शैक्षिक पत्रहरू अनुसन्धान प्रकाशित गरेका छन्। उल्लेखनीय रूपमा, उनी राष्ट्रिय शिक्षण स्रोत भण्डारको निर्देशकको रूपमा सेवा गर्छन्। प्रा. चाङ प्रान्तीय/नगरपालिका स्तरमा धेरै विज्ञान र प्रविधि प्रगति पुरस्कारहरू, साथै प्रान्तीय र राष्ट्रिय स्तरमा शिक्षण उपलब्धि पुरस्कारहरुले सम्मानित छन्।
उनै, प्राध्यापक चाङसँग चीनको प्राविधिक तथा व्यवसायिक शिक्षा, निङ्पो पोलिटेक्निक र डबल हाइ लेभल प्लान, चीनको आर्थिक, सामाजिक विकासमा प्राविधिक तथा व्यवसायिक शिक्षाको भूमिका, विकासशील राष्ट्रमा रहेको बेरोजगारीमा चीनको शिक्षा र अनुभवको योगदान के कसरी हुनसक्छ?, नेपाल र चीन सम्बन्धलाई प्राविधिक तथा व्यवसायिक शिक्षाले थप सुदृढ कसरी बनाउन सकिन्छ? प्राध्यापक चाङले आफ्नो जीवनकालमा देखेको चीनको विकास लगायतका अन्य जिज्ञासासहित महेश पाण्डेय र प्रतिमा सिलवालले दोभाषे यिलिनको सहयोगमा गरेको कुराकानी:
डबल हाइ लेभल प्लान भनेको के हो? चीनको प्राविधिक तथा व्यवसायिक शिक्षाले यो तहको सफलता हासिल गर्नुमा यो योजनाले के र कसरी भूमिका खेल्यो?
सबैभन्दा पहिले त डबल हाइ लेभल प्लानमा केन्द्रीत भएर तपाईंलाई केही भन्न चाहान्छु किनभने यसका बारेमा प्रष्ट नभई चीनको आजको शिक्षा र प्राविधिक तथा व्यवसायिक शिक्षा बुझ्न गाह्रो हुन्छ। म यसलाई प्रणालीगत रुपमा बुझाउन प्रयास गर्छु। चीनको प्राविधिक तथा व्यवसायिक शिक्षाको प्रक्रियालाई हेर्दा –
चीनको व्यावसायिक शिक्षाको इतिहास लामो छ। यो विकास भएको झण्डै २ दशक भन्दा बढी भइसकेको छ। यसको विकास चीनको अर्थतन्त्र उकास्नेसँग सम्बन्धित छ। वास्तवमा चीन सरकारले प्राविधिक र प्राविधिक तथा व्यवसायिक शिक्षामा आमूल सुधार ल्याउन र उद्यमहरुको विकास गर्ने उद्देश्यले यस परियोजनाको सुरुवात गरेको हो। सन् २००० ताका चीन सरकारले व्यावसायिक शिक्षाका लागि विद्यालयहरु स्थापना गर्न सुरु गर्यो। शिक्षाको गुणस्तर कसरी उकास्ने र लक्ष्य हासिल गर्ने भन्ने उद्देस्यले सन् २०००-२००६ सम्म आधारभूत काम भएको छ। शुरुमा सयवटा व्यावसायिक शिक्षा प्रदान गर्ने स्कुलहरुमा यो योजना लागू गरियो। त्यसबेला त्यसपछिको कदम के र केस्तो हुने भन्ने कसैलाई थाहा थिएन, यो हामी सबैका लागि नयाँ प्रयोग थियो। त्यो समय चीनका व्यावसायिक शिक्षालयहरुमध्ये सरकारले एक सय वटालाई छान्यो र एक प्रकारको परिक्षण गर्यो। उदाहरणका लागि हाम्रो विश्वविद्यालय निङ्पो पोलिटेक्निक ‘डिजाइन अपः ट्यालेन्ट ट्रेनिङ् प्रोगाम’ का लागि विशेष भनेर छानियो। र ती सय विद्यालयको सफलताले हामीलाई अन्य व्यवसायिक विद्यालयमा सुधार गर्नसक्ने आधार र आशा देखायो। सन् २००९ मा केन्द्र सरकारले थप १०० प्रमुख व्यवसायिक विद्यालयमा पुन: नयाँ परियोजना ल्यायो र ती सय प्रमुख व्यवसायिक विद्यालयले नयाँ मिशन र जिम्मेवारी पाए। यसमा मुख्य मिशन भनेको विद्यालय र उद्योगलाई जोड्नु र सहकार्य गर्नुथियो।
चीन सरकारले सन् २०१९ मा यत्तिकै डबल हाइ लेभल प्लान ल्याएको थिएन। यसका लागि सुरुमा उच्च गुणस्तरीय स्कुलहरुको निर्माण गर्ने सोच थियो। र पछि त्यसलाई डबल हाइ-लेभल प्लानका रुपमा विकास गरियो। २०१९ सम्ममा चीनमा व्यवसायिक स्कुलहरुको संख्या १ हजार ५ सय थियो। र यो डबल हाइ लेभल भनेको हाइ लेभल व्यवसायिक स्कुल र हाइ लेभल मेजर क्लस्टर हो।
वास्तवमा भन्ने हो भने व्यवसायिक कलेज निर्माणको प्रक्रियामा धेरै माइलस्टोनहरु छन्। प्रयोगात्मक तहदेखि केही प्रमुख व्यवसायिक विद्यालय र डबल हाइ लेभलसम्म। हामीलाई विश्वास छ कि हरेक नयाँ कार्यक्रमले प्राविधिक तथा व्यवसायिक शिक्षालाई थप उचाइमा पुर्याउन ईटा थपिरहेको छ र हामीलाई आशा छ कि नयाँनयाँ कार्यक्रमहरुले प्राविधिक तथा व्यवसायिक शिक्षाको विकासमा थप गति प्रदान गर्नेछ।
२०१९ मा यो डबल हाइ लेभल प्लान आउँदा १५ वर्षसम्मका लागि तय गरिएको थियो। र हरेक ५ वर्षमा यसको मूल्याङ्कन गर्ने भनिएको छ।
उदाहरणका लागि यदि कुनै विद्यालय डबल हाइ लेभल प्लान अन्तर्गत छ भने सो व्यवसायिक कार्यक्रमको ५ वर्षको अन्त्यमा मूल्याङ्कन गर्ने गरिन्छ। र लगातार २ पटक एउटा विद्यालय मूल्याङ्कनमा असफल देखियो भने सो विद्यालय यो योजनाबाट बाहिरिन्छ। र पुन: यस परियोजनामा आउन उसका लागि गाह्रो छ।
यो ५ वर्षेका लागि विभिन्न योजना बनाउन देखि यसलाई एकीकृत गर्न केन्द्र सरकारले नै सहयोग गरेको हुन्छ। सरकारले नै यो योजना ल्याउँदा २ कामहरु निश्चित गर्दछ।
पहिलो- विभिन्न योजना ल्याउन सरकारले नै आर्थिक सहयोग गर्छ। हरेक विद्यालयले यी योजनामा र बजेटका लागि आवेदन दिनसक्छन्। यदि उनीहरुको योग्यता पुग्छ भने उनीहरु योजना अन्तर्गत छानिन्छन् र संभाव्यता पनि बढ्छ। प्राविधिक तथा व्यवसायिक शिक्षालयका लागि यो एक सुवर्ण अवसर हो ।
दोस्रो हो – यदी एकपटक विद्यालय यो योजनाका लागि छानियो भने उसले स्थानीय सरकारबाट पनि थप अनुदान प्राप्त गर्छ। यसरी यो योजनामा स्थानीय सरकार पनि जोडिन्छ।
यस प्रकारको अभ्यास १५ वर्षसम्म चल्छ र यसरी हाम्रो प्राविधिक तथा व्यवसायिक शिक्षाले विकासमा मात्र नभई राष्ट्र निर्माण र आर्थिक विकासमा पनि टेवा पुर्याइरहेको छ।
वास्तवमा उच्च तहका प्राविधिक तथा व्यवसायिक शिक्षालयको विकास र परिवर्तन उद्योगमा भइरहेको र हुने परिवर्तन र विकासमा केन्द्रित छ । हाल चीनमा उच्च तहका प्राविधिक तथा व्यवसायिक शिक्षालयको संख्या १६ हजार भन्दा बढी छ।
हाम्रो केसमा निङ्पो पोलिटेक्निकलाई हेर्ने हो भने हामी पछिल्लो १५ वर्षदेखि यो योजना अन्तर्गत छौं। र हामी अझै पनि प्रथम श्रेणी हासिल गर्नका लागि महेनत गरिरहेका छौं। प्रथम तहमा उच्च तहको शिक्षण योजना तयार पार्ने। दोस्रो भनेको समाजका लागि उच्च तहको सूचना सामग्री बनाउने। तेस्रो उच्च तहको प्राविधिक विकास जसले स्थानीय उद्योगहरुको क्षमता बढाओस्। र चौथो भनेको हाम्रो पाठ्यक्रम र विषयवस्तुको अन्तर्राष्ट्रियकरण गर्ने। यी चार आधारस्तम्भले वा दृष्टिकोणबाट तपाईंले हाम्रो विश्वविद्यालय र कलेजबारे धारणा बनाउन सक्नुहुन्छ र हाम्रो सैद्धान्तिक र नीतिगत कुरा बुझ्न सहज हुनेछ।
निरन्तरता र इमान्दार मेहनतबिना कुनै स्कुलले यी आधारस्तम्भमा जीत हासिल गरि यो योजना हात पार्न निकै गाह्रो छ। चीनको आजको प्राविधिक तथा व्यवसायिक शिक्षाको बलियो जग यसरी बनेको छ। र यसले स्कुल र उद्योगबीच गहिरो सम्बन्ध र सहकार्यलाई पनि प्रवर्द्धन गरेको छ।
निङ्पो पोलिटेक्निक (एनबीपीटी)लाई लामो इतिहास रहेको आधुनिक औद्योगिकरणसँग जोड्ने लुवान वर्कसपका लागि के कुराले प्रेरित गर्यो र किन यो वर्कसप महत्वपूर्ण छ?
लुवान वर्कसपको कार्यक्रमको स्थापनालाई हेर्दा धेरै चीनिया विश्वविद्यालय र कलेजहरुले यस प्रकारको कार्यक्रम ल्याउन खोज्छन् तर उनीहरुमध्ये धेरै यसमा सफल हुन सकेका छैनन्। यस कार्यक्रमको स्थापनामा चीनियाँ राष्ट्रपति सी जिङ् फिनको पनि सक्रियता छ। उहाँले भनेजस्तै र यसको उद्देश्य भनेको विश्व समुदायको साझा भबिष्यमा आधारित छ। वास्तवमा १९८० र १९९० मा चीन तुलनात्मक रुपमा गरीब थियो। प्राविधिक तथा व्यवसायिक शिक्षा पनि चीनको आर्थिक विकासको एक प्रमुख पक्ष हो। जबजब मैले विकासशील राष्ट्रहरु हेर्छु उदाहरणका लागि कम्बोडिया र केन्या मलाई हाम्रा समस्याहरु र विकासको बाटो धेरै समान लाग्छ। त्यसैले चीनले यसमा केही अनुभव हासिल गरेको छ भने किन हामी यसलाई अन्य देशहरुसँग बाड्न सक्दैनौं र? वास्तवमा लुवान वर्कसप स्थापना र सिल्क रोड विभाग यसै सिद्धान्त (अनुभव र सहयोग आदानप्रदान) मा आधारित छन्। साथै हामी विश्वभरका प्राविधिक तथा व्यवसायिक शिक्षालयको एक समुदायका रुपमा विकास गरी सहकार्य गर्न इच्छुक छौं। हरेक देशले समाजका हरेक पक्षहरुको उच्च तहमा विकास गर्ने र समृद्ध बन्ने सपना बोकेको हुन्छ। वास्तवमा केही वर्षयता विश्वव्यापी सहकार्यमा हामीले यो र यस्ता कार्यक्रमहरु गरिरहेका छौं। प्राविधिक तथा व्यवसायिक शिक्षामा अझ बढी मरो रुची र ईच्छा भएकाले पनि यस्ता कार्यक्रमले यस क्षेत्रलाई बलियो बनाउने र विश्वव्यापी रुपमा काम गर्न सक्छ भन्ने लाग्छ।
तपाईंलाई थाहा नै होला चीन भू-भागले एकदमै ठूलो छ र केही वर्षअघिसम्म धेरै संख्यामा मानिसहरु गरीबीको रेखामुनी गुजारा गरिरहेका थिए। ग्रामिण भूभाग र अविकसित ठाउँहरुमा रहेका चीनियाँ नागरिकहरुको जीवन कसरी सुधार्ने भनेर काम गर्ने र सोच्ने दायित्व पनि प्राविधिक तथा व्यवसायिक शिक्षाको नै हो। यसका लागि व्यवासयिक शिक्षाको ठूलो योगदान छ त्यसैले प्राविधिक तथा व्यवसायिक शिक्षाले हामीले विकास मार्गमा डोर्याउने र जीवन समृद्ध बनाउन मद्दत गरेको रुपमा हेर्छौं।
कुनै ठाउँमा युवाहरुको संख्या बढी हुनु भनेको त्यो ठाउँको विकासका लागि अझ धेरै संभावना हुनु पनि हो। मलाई के लाग्छ भने कुनै पनि ठाउँ शहर वा देशको विकासका लागि सबैभन्दा मुख्य कुरा भनेको शिक्षा र मानव स्रोत साधन नै हो। मेरो विश्वास यो छ कि – विश्वका हरेक देशका युवाहरुको आजको आवश्यकता उच्च तहको गुणस्तरीय शिक्षा पाउनु हो। शिक्षाका आँखाबाट हेर्दा नेपाल र चीन परापूर्वकाल देखि नै राम्रो सम्बन्ध भएका छिमेकी मुलुक हुन्। मलाई विश्वास छ कि, यस क्षेत्रमा पनि सहकार्यका लागि हामीबीच प्रचुर संभावनाहरु छन्।
वास्तवमा ग्रामिण भूभागमा रहेका नागरिहरुलाई सहयोग गर्नु् हाम्रो दायित्व हो र हाम्रो मिशन पनि। विकसित ठाउँमा रहेका स्कुलहरुमा अविकसित भन्दा धेरै सुविधा छन्। यसमा हामीले कसैलाई केही दिने भन्दापनि विभिन्न क्षेत्रहरुबीच आपसी सहकार्य बढाउने हाम्रो योजना हो। वास्तवमा जब सहकार्यको कुरा आउँछ हामीले विभिन्न क्षेत्रहरुमा काम गरिरहेका छौं जस्तै: खुनमिङ् (वेस्ट अफ चाइना), सिन्जाङ्ग स्वायत्त प्रदेश, छिङ्न्खा प्रदेश। यस प्रक्रियामा हाम्रा शिक्षक प्राध्यापकहरुले पनि आफ्नो क्षमता अभिवृद्धि गरिरहेका छन्।
यदि हाम्रा शिक्षकहरुमा त्यस प्रकारको स्रोत र क्षमता हुन्छ भने हामीले किन यस प्रकारको शिक्षण अभ्यासलाई विश्वभर फैलाउन सक्दैनौं? मलाई विश्वास छ कि यो प्रक्रियामा निङ्पो पोलिटेक्निकले राम्रोसँग भूमिका निर्वाह गर्न सक्छ। यस प्रक्रियामा शिक्षकहरुले आफ्नो क्षमता अभिवृद्धि गर्दै उच्च मानक हासिल गरेका छन्। उनीहरु अन्तरसांस्कृतिक संवादका लागि पनि तयार छन्। हरेक देशसँग आफ्नो विशेषतायुक्त ज्ञान र सीप हुन्छ। त्यसैले हामीले हामीबीचको मिल्दोजुल्दो ज्ञान र विशेषताका कुरालाई ध्यान दिनुपर्छ।
छोटो समयमा चीनले गरेको आर्थिक विकासमा प्राविधिक तथा व्यवसायिक शिक्षाको भूमिका के हो? प्राविधिक तथा व्यवसायिक शिक्षाले कसरी र कस्तो सहयोग गर्यो?
प्राविधिक तथा व्यवसायिक शिक्षाले चीनको आर्थिक विकासमा ठूलो सहयोग गरेको छ। यसबारे मैले अध्ययन पनि गरेको छु। २०१७ मा केन्यामा सम्पन्न एक विश्वव्यापी समारोहमा सहभागि भएको थिए । थुप्रै देशहरुको सहभागिता रहेको सो सम्मेलनमा मैले चीनिया प्राविधिक तथा व्यवसायिक शिक्षाबारे एक रिपोर्ट प्रस्तुत गरेको थिए र मेरो रिपोर्टको शिर्षक थियो – ‘प्राविधिक तथा व्यवसायिक शिक्षा: सुधार र उदारीकरणको नीतिपछि चीनको आर्थिक विकासको अदृश्य हतियार’। यसको व्याख्या गर्नु पहिला एउटा तर्क के छ भने – सुधार र उदारीकरणको नीतिको सुरुवातका वर्षहरुमा पनि चीनका उद्योगहरु एकदमैं परम्परागत थिए। उत्पादन मानव श्रममा आधारित र समयक्रमसँगै आंशिक श्रम र मेसिनमा आधारित थिए। त्यसको अर्थ उद्यमलाई निकै धेरै मात्रामा श्रमशक्ति आवश्यक पर्दथ्यो। र मानव स्रोतको खर्च कम थियो। र यस्तो मानव स्रोत कहाँबाट आउँछ भन्दा प्राविधिक तथा व्यवसायिक शिक्षाबाट । माध्यमिक तहको प्राविधिक तथा व्यवसायिक शिक्षाको विकासको उच्च बिन्दुमा पुग्दा ११ हजार भन्दा केही बढी त्यस तहका शैक्षिक संस्थाहरु थिए। तर ती प्राविधिक तथा व्यवसायिक शिक्षालयबाट उत्पादन भएका विद्यार्थीहरुको गुणस्तरबाट विकसित उद्योगहरु सन्तुष्ट थिएनन्। उद्योगहरु र प्रविधि निरन्तर विकसित भइरहेकाले उच्च तहका दक्ष मानव स्रोत साधन तयार पार्न प्राविधिक तथा व्यवसायिक शिक्षालयहरु आवश्यक थियो। यसैकारण हाल उच्च तहका प्राविधिक तथा व्यवसायिक शिक्षालय भने निरन्तर बढीरहेका छन्। माध्यमिक तहको प्राविधिक तथा व्यवसायिक शिक्षालयहरु निरन्तर खुम्चिदैँ छन्। हाल ७००० को संख्यामा यस तहका संस्थाहरु छन् ।
वास्तवमा उच्च तहका प्राविधिक तथा व्यवसायिक शिक्षालयको विकास र परिवर्तन उद्योगमा भइरहेको र हुने परिवर्तन र विकासमा केन्द्रित छ । हाल चीनमा उच्च तहका प्राविधिक तथा व्यवसायिक शिक्षालयको संख्या १६ हजार भन्दा बढी छ। र यदि म गलत छैन भने यी संस्थाहरुमा अध्ययनरत विद्यार्थीको संख्या ३ करोड भन्दा बढी छ। यसको अर्थ हामीसँग ३ करोड बढी मानिसहरुले उच्च तहको प्राविधिक तथा व्यवसायिक शिक्षा लिनसक्ने शिक्षालय संरचनाहरु अहिले नै तयार छन्। पछिल्ला केही दशकहरुमा प्रविधिमा भइरहेको विकासले अझ धेरै उच्च गुणस्तरको मावन स्रोत साधनको खोजी भइरहेकोछ। यसैकारणले हामी हाइ लेभल प्राविधिक तथा व्यवसायिक शिक्षालाई विश्वविद्यालयमा लैजाने प्रक्रियामा छौं। विद्यार्थीहरुले प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ३ वर्ष पढ्नुपर्थ्यो तर अब हामीले यसलाई पनि ४ वर्षे बनाएका छौं र अब ४ वर्ष पढाइ हुन्छ। यो ४ वर्षे बनाउने भनेको १ वर्ष समय मात्रै थपेको होइन। यसमा विद्यार्थीहरुको चैतर्फी क्षमता अभिवृद्धि आवश्यक सीप विकास गर्ने गरी तयार पारिएको छ। तपाईंले यस प्रकारका शिक्षालयहरु चीनका हरेक प्रान्त र क्षेत्रहरुमा पाउँन सक्नुहुन्छ। अन्तत: तपाईंले स्थानीय उद्योग र उत्पादनसँगै स्थानीय उच्च तहको प्राविधिक तथा व्यवसायिक शिक्षालय पनि पाउनु हुनेछ।
नेपालमा अहिले कुल जनसंख्याको ४० प्रतिशत बढी संख्यामा युवाहरु छन् र उनीहरु रोजगारीको अवसरको खोजीमा छन्। यही समयमा चीनले मुख्य दुई समस्या भोगिरहेको छ- न्यून जन्मदर र जेष्ठ नागरिकको उच्च संख्या। यस सन्दर्भमा तपाईंले नेपाल र चीनबीच ज्ञान र सीपको आदानप्रदान सँगै यी दुवै देशका समस्या सम्बोधन गर्न प्राविधिक तथा व्यवसायिक शिक्षाविद्का नजरले के-कस्तो सहकार्यको संभावना देख्नुहुन्छ?
यो प्रश्नका लागि धेरै धेरै धन्यवाद! हो तपाईंले भनेजस्तै पछिल्ला केही वर्षमा चीनले न्यून जन्मदर र जेष्ठ नागरिकको उच्च संख्या भोगिरहेको छ। तर घट्दो जन्मदर केही क्षेत्रहरुमा मात्र छ स्यानजाङ् शहरमा अन्य विभिन्न क्षेत्रबाट मानिसहरु आएका छन्। र त्यहाँका मानिसहरुको उमेर औषतमा ३० वर्ष मात्र छ। कुनै ठाउँमा युवाहरुको संख्या बढी हुनु भनेको त्यो ठाउँको विकासका लागि अझ धेरै संभावना हुनु पनि हो। मलाई के लाग्छ भने कुनै पनि ठाउँ शहर वा देशको विकासका लागि सबैभन्दा मुख्य कुरा भनेको शिक्षा र मानव स्रोत साधन नै हो।
मलाई लाग्छ र मेरो विश्वास यो छ कि – विश्वका हरेक देशका युवाहरुको आजको आवश्यकता उच्च तहको गुणस्तरीय शिक्षा पाउनु हो। शिक्षाका आँखाबाट हेर्दा नेपाल र चीन परापूर्वकाल देखि नै राम्रो सम्बन्ध भएका छिमेकी मुलुक हुन्। मलाई विश्वास छ कि, यस क्षेत्रमा पनि सहकार्यका लागि हामीबीच प्रचुर संभावनाहरु छन्। हामीले यसअघि पनि निकै आधारभूत तहमा सहकार्यको यात्रा गरेका छौं। अब आगामी समयमा पनि सहकार्यका नयाँनयाँ कार्यक्रमहरु विकास गर्नेछौं। हाम्रा दुई देशबीचको समानताका आँखाले हेर्दा यदि कुनै कार्यक्रम चीनमा सफल हुन्छ भने मलाई लाग्छ सो कार्यक्रम नेपालमा पनि सफल हुने संभावना बढी छ।
शिक्षाले नै तपाईंलाई फरक किसिमले सोच्न र नयाँ ढंगले काम गर्न सघाउँछ। त्यसकारण मलाई लाग्छ कि नेपाल र चीनबीचको अन्तर्क्रिया र आदनप्रदानलाई गुणात्मक रुपमा बढाउन सक्छ र हाम्रो आपसी सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्छ।
उदाहरणका लागि अहिले हामी जहाँ बसेर कुरा गर्दैछौं यो निङ्पो शहर तुलनात्मक रुपमा चीनको विकसित शहर हो। यहाँका हरेक ९ जनामध्ये १ जनाको आफ्नै कम्पनी छ। र एकपटक तपाईं हामीले कसैको उद्योगमा काम गर्यौं र राम्रो अवसर खोज्दै गयौं भने त्यसको अर्को बाटो भनेको आफ्नै कम्पनी स्थापना गर्नु पनि हो। र यस निङ्पो शहरमा हेर्ने हो भने यो एक प्रकारले व्यवस्थित भइसकेको छ। यहाँ निकै धेरै रोजगारीमा अवसर छन्। लगभग यहाँ ९८ प्रतिशत मानिसहरुसँग रोजगारी छ। तर यस्तै सेवा सुविधा सबैतिर ग्रामिण भूभागमा छ भन्ने होइन र त्यसको मतलब गाउँतिर रहेका स्थानीय मानिसहरुले केही गरेका छैनन् वा उनीहरुसँग आम्दानीको स्रोत छैन भन्ने पनि होइन। उनीहरुले आफ्नो जीविकाका लागि केही न केही गर्दैछन्। उदाहरणका लागि यदि कसैले कुखुरा पालन गरेको छ भने अर्को कसैले त्यसलाई बेच्ने वा बजार लैजाने काम गरेको छ। यदि कसैले स्याउको बीरुवा रोपेर बसेको छ भने अर्को कसैले स्याउको प्रशोधन र अगाडीको प्रक्रियाका लागि काम गरिरहेको छ। इन्टरनेटको विकाससँग यसको सहायताले मानिसहरुलाई थप नयाँ नयाँ बाटो र तरिकाहरु खुल्ला गरिदिएको छ। यसबाट धेरै भन्दा धेरैले आफ्नै किसिमले नयाँ कम्पनि पनि सञ्चालन गरिरहेका छन्। यो सबैका पछाडी गुणस्तरीय शिक्षा नै छ। शिक्षाले नै तपाईंलाई फरक कसिमले सोच्न र नयाँ ढंगले काम गर्न सघाउँछ। त्यसकारण मलाई लाग्छ कि नेपाल र चीनबीचको अन्तर्क्रिया र आदनप्रदानलाई गुणात्मक रुपमा बढाउन सकिन्छ। यसो भएमा हाम्रो आपसी सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्छ।
चीनको विकासको चर्चा आज विश्वभर छ। यो सबै पछिल्ला ४ दशकमा सम्भव भयो। तपाईंले आफ्नो जीवनकालमा के-के देख्नु/भोग्नुभयो? बाल्यकालदेखि आजको उमेरसम्म तपाईंको अनुभव छोटकरीमा कसरी सम्झनुहुन्छ?
म सन् १९६६ मा जन्मिएको हुँ। अब म ६० वर्षको नजिक छु। वास्तवमा, म संयोगवश चीनमा अशान्तिको समयमा जन्मिएको हुँ। जब इतिहास अराजकतामा थियो। तपाईंले अनुमान गर्नसक्नुहुन्छ मैले र मेरो पुस्ताले धेरैथोक देखेको भोगेको छ। म भित्री मंगोलिया प्रान्तमा जन्मेको हुँ। त्यो चीनको उत्तरमा छ। म एउटा क्यान्टिलिभर शहरमा हुर्किए। मेरो परिवारमा हामी छ जना भाइबहिनी थियौं। यसबाट पनि तपाईं कल्पना गर्न सक्नुहुन्छ कि हामी एकदमै गरिब थियौं। सानोमा मलाई कुनै नयाँ लुगा लगाएको याद छैन। मेरो बाल्यकालमा म प्रायः पेटभर भात खान पाउँदैनथे, मासु त मैले निकै कम मात्रामा खान पाए। किनभने त्यतिबेला चीनले योजनाबद्ध अर्थतन्त्र स्थापना गरिरहेको थियो। त्यसैले प्रत्येक परिवारको आम्दानीको एक चौथाई खर्च खानामा हुनेगर्थ्यो । त्यतिबेला चीनको कुल जनसंख्या १ अर्बभन्दा बढी थियो, तर तीमध्ये ८० करोड किसान थिए, त्यसैले औद्योगिक क्षेत्र अविकसित थियो।
त्यसैले त्यस समयमा अधिकांश जस्तै हामी पनि एउटा सानो घरमा बस्थ्यौं। मानिसहरु एक तला मात्र भएको साना साना घरहरूमा बस्थे, अग्ला भवनहरू थिएनन्। तर त्यो अभावको अवस्थामा पनि मेरा आमाबाबुलाई शिक्षाले मात्रै हाम्रो दु:ख हट्छ भन्ने अनुभव भयो र उहाँहरूले हामीलाई पढ्न र शिक्षा लिन प्रेरित गर्नुभयो। शिक्षाको महत्व बुझाउनुभयो। म हुर्कदै गर्दा मैले शिक्षाको महत्व बुझेँ।
त्यसैले यस्तो अभावको अवस्थामा पनि म कलेज जान पाएँ। १९८० को दशकको मध्यतिर, म विश्वविद्यालयमा भर्ना भए। १९९० को दशकमा मैले मेरो मास्टर डिग्री सकें। र त्यसपछि मैले पीएचडी पनि गरें।
जब म सानो थिएँ, शिक्षा प्राप्त गर्नु एकदमै गाह्रो कुरा थियो। तर म हुर्कदै जाँदा, मैले सक्रिय रूपमा ज्ञान प्राप्त गर्नुको महत्त्वको बारेमा बुझे। म मेरो जीवनको पछिल्ला वर्षहरूमा चीनको दक्षिणतिर सरें। मेरो करियरको सुरुवाती वर्षहरूमा, म उद्योग र कारखानाहरूमा काम गर्थें। मैले गरिबी अनुभव गरेको छु, गरिबी भोगेको हुनाले म अहिले हामीसँग जे छ त्यसको साँच्चै कदर गर्छु।
मैले इन्टरप्राइज र कम्पनीहरूमा काम गरेको हुनाले, मलाई इन्टरप्राइजहरूमा प्रतिभाको आवश्यकताको बारेमा थाहा छ। त्यसैले शिक्षक पेशा सुरु गरेपछि यो विगत ३० वर्षमा मैले पैसाका लागि भन्दा पनि यस क्षेत्रमा रमाउँदै सिक्दै र सिकाउँदैछु। मैले यस क्षेत्रमा धेरै समय र ऊर्जा लगानी गरेको छु। यस क्षेत्रमा मैले राम्रो ज्याला पाउँछु भनेर होइन। मसँग यस क्षेत्रको विकासका लागि अझै त्यस्तै जोश, जाँगर लगाव छ।
यो समयसम्म मैले सिकेको मुख्य कुरा भनेको हामीले एकअर्कालाई सम्मान गर्नुपर्छ। जब कोही समस्यामा हुन्छ, तपाईंले अरूलाई मद्दत गर्नुपर्छ मद्दतका लागि हात बढाउनुपर्छ। अनि शिक्षाले मलाई सिकायो कि हामीले पारस्परिक सम्मान गर्नुपर्छ। यस्तो पारस्परिक सम्मान मानिसहरूबीच मात्र नभई देशहरू बीचको सम्बन्धमा पनि आवश्यक छ।
तपाईंले मबाटै सुन्न चाहनुभएजस्तै ४-५ दशकको लामो कथा वा मेरो अनुभव यहाँ सबै भन्न धेरै समय चाहिएला तर मैले केही सारसंक्षेपमा मात्र भने। विगत चार दशकमा मेरा व्यक्तिगत अनुभवहरू मैले धेरै अनुभव गरेको छु र त्यो धेरै लामो कथा छ।
यो समयसम्म मैले सिकेको मुख्य कुरा भनेको हामीले एकअर्कालाई सम्मान गर्नुपर्छ। जब कोही समस्यामा हुन्छ, तपाईंले अरूलाई मद्दत गर्नुपर्छ मद्दतका लागि हात बढाउनुपर्छ। अनि शिक्षाले मलाई सिकायो कि हामीले पारस्परिक सम्मान देखाउनुपर्छ। यो मानिसहरूबीच मात्र नभइ देशहरू बीचको सम्बन्धको कुरा गर्दा पनि पारस्परिक सम्मान आवश्यक छ ।
त्यसैले मैले हरेक विद्यार्थीलाई सधैं आफ्नो देशलाई कसरी माया गर्ने भनेर सिकाउँछु। जब हाम्रो विश्वविद्यालयमा कुनै नयाँ विदेशी विद्यार्थी आउँछन्, म उनीहरुलाई सधैं भन्छु कि तपाईंमा आफ्नो मित्रका लागि इमानदारिता र प्रेम दुवै हुनुपर्छ। यस ठाउँमा शिक्षा प्राप्त गरेपछि आफ्नो गाउँ परिवर्तन गर्न र काम गर्ने तरिकाबारे सोच्ने र काम गर्ने हो भने तपाईंले आफ्नो स्थानीय ठाउँमा पक्कै केही परिवर्तनहरू ल्याउन सक्नुहुन्छ। सायद, यसको अर्थ हो संसार अझ सामन्जस्यपूर्ण हुन सक्छ। मलाई लाग्छ शिक्षा प्राप्त गर्नुको महत्त्व नै यही हो। शिक्षाको माध्यमबाट नै संसारमा अझ बढी शान्ति कायम हुन सक्छ। सबैजना खुशी हुन सक्छन्। र शिक्षाको माध्यमबाट, सबैले आफ्नो जीवनको साँच्चै आनन्द लिन सक्छन्। के यो राम्रो होइन र?
अन्तिममा प्राविधिक तथा व्यवसायिक शिक्षा र निङ्पो पोलिटेक्निक विश्वविद्यालयका बारेमा भन्नैपर्ने कुरा –
हामीले व्यावसायिक शिक्षा सञ्चालन गर्न प्रारम्भिक सिद्धान्त पालना गर्नुपर्छ। सबै शिक्षालयहरु अझ जो व्यावसायिक कलेजका रुपमा छन् ती सेवाउन्मुख हुनुपर्छ ।
त्यसैले म जुन पदमा यस निङ्पो कलेमा छु मेरो पहिलो ध्यान र जिम्मेवारी नै यस विश्वविद्यालयलाई उच्च-स्तरीय र सेवा-उन्मुख विश्वविद्यालयको रूपमा स्थापित गर्नु हो। म यो कुरालाई ध्यानमा राखेर त्यसका लागि काम गरिरहेको हुन्छ।
यसलाई सजिलो गरी बुझ्न मैले यहाँ उल्लेख गरेको सेवालाई तीन फरक लेन्सबाट हेर्न र बुझ्न सक्छौं।
पहिलो सेवा भनेको – उद्योगको सम्पूर्ण आवश्यकताहरू पूरा गर्नु हो।
दोस्रो सेवा भनेको, व्यावसायिक शिक्षाको विकास आवश्यकताहरूलाई पुरा गर्नु हो।
र, तेस्रो सेवा भनेको राष्ट्रिय कूटनीतिको मिशनको सेवा गर्नु हो।
मेरो सूक्ष्म दृष्टिकोणबाट हेर्दा अवश्य पनि हामीलाई निश्चित रूपमा राम्रो क्षमतायुक्त विद्यार्थीहरू र प्राध्यापकहरू चाहिन्छ। त्यसैले समग्रमा हाम्रो विश्वविद्यालय मूल्यमान्यताहरूमा र हाम्रा कर्मचारी र विद्यार्थीहरूको सम्बन्ध र भावना पनि धेरै राम्रो छ। समग्रमा भन्दा गुणस्तरीय शिक्षासँगै पहिचान र एकताको भावनाले यस कलेजलाई थप उत्कृष्ट बनाएको छ।
तपाईंहरू दुई जना मलाई भेट्न र कुराकानी गर्न आउनु भएकोमा आज म धेरै खुशी छु। मलाई आशा छ कि यसले हाम्रो व्यावसायिक शिक्षालाई अझ केही हदसम्म फैलाउन मद्दत गर्नेछ। मलाई आशा छ कि निङ्पो पोलिटेक्निससँग सम्बन्धित कार्यक्रमबारे तपाईंका पाठक दर्शकले थाहा पाएर हामीसँग जोडिनुभए हामी भविष्यमा ज्ञान विकास र आदान प्रदानका लागि खुशी हुनेछौं । मलाई लाग्छ कि चीनको प्राविधिक तथा व्यवसायिक शिक्षाबारे बुझ्न यो कुराकानीले नेपालीजनमा पनि मद्दत पुग्नेछ। म यो पनि आशा गर्छु गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षाबारे हामीले साझा दृष्टिकोणसहित राम्रो योजनाको कल्पना गर्न सकौं।
राष्ट्रिय चिनियाँ व्यावसायिक कलेज संघको अध्यक्षका नाताले पनि हामी चीनका र अन्य देशका दाजुभाइ दिदीबहिनीहरूसँग जोडिनको लागि एउटा पुलमा छौं। हामी यस निङ्पो पोलिटेक्निकलमार्फत पुलको रूपमा काम गर्न इच्छुक छौं। हामी तपाईंको संस्था र यस निङ्पो प्राविधिक विश्वविद्यालयबीच मात्र होइन हाम्रा अरु साझेदार सदस्यहरूबीच पनि सहयोग आदानप्रदान गर्न सकियोस् भन्ने चाहन्छौं। तपाईंहरुसँग कुराकानी गर्न पाउँदा मलाई खुशी लाग्यो। यो अवसरका लागि धेरै धन्यवाद।
तस्बिर: महेश पाण्डेय/सियाङ जिन