चिनियाँ लोकतन्त्रको विषय पूर्ण रूपमा चिनियाँ जनताको सवाल हो। हजारौँ माइल टाढाबाट अलग संस्कृति भएका चिनियाँहरूले तिनको देश कसरी चलाउनुपर्छ भन्ने विषयमा मैले व्याख्या गरिरहनु उचित हुँदैन। न ब्रिटिश जनताले आफ्नो राज्यमार्फत आफूमाथि कसरी शासन गर्नुपर्छ भन्ने कुरामा चीनले हुकुम चलाएको मलाई स्वीकार्य हुन्छ। यो अन्य देश र त्यहाँका जनताको आन्तरिक मामलामा गैरहस्तक्षेप या अहस्तक्षेपको सिद्धान्त हो। म आफैँ पनि पुरानो जमानाको व्यक्ति भएकाले होला, यस सिद्धान्तमा म अडिग छु। खासमा यो अवधारणा आफैँमा एक अन्तर्राष्ट्रिय कानून हो तर यसलाई कतिपय देशहरूले बेवास्ता गर्ने गरेका छन्।
घुमाउरो ढोका
पश्चिमा लोकतन्त्रका बारेमा बोल्न म सक्षम छु। म यसलाई ‘डमोक्रेसी’ होइन, ‘शेमोक्रेसी’ भन्छु। अमेरिकाको राष्ट्रपतिमा भिड्नकै लागि मात्र पनि तपाईँले एक अर्ब डलर जुटाउनुपर्ने हुन्छ। त्यसको अर्थ तपाईँले पहिलेदेखि नै अत्यधिक धनी र शक्तिशाली मानिसहरूबाट पैसा उठाउनुपर्छ। तपाईंले अमेरिकाको राजनीतिक प्रणालीलाई प्रभावकारी रूपमा नियन्त्रणमा राखेका निकाय र धनाढ्य तथा कुलिन वर्गलाई खुशी पार्नुपर्छ। त्यसो भए, के यो लोकतन्त्र हो? यदि त्यही लोकतन्त्र हो भने, त्यस्तो खालको व्यवस्था नै लोकतन्त्र हो भन्ने सर्कलबाट मलाई बाहिर राख्नुहोला। म लोकतन्त्रको यसखाले व्याख्याको समर्थक हुन सक्दिनँ।
यतिमात्र होइन। राजनीतिज्ञ र उनीहरूलाई चन्दा दिने धेरै कर्पोरेसनहरूबीचको ‘घुमाउरो ढोका’ अहिले ‘ऐना’जस्तै स्पष्ट छ। सरकारको एउटा मन्त्री सार्वजनिक सम्पत्तिका ठूला ठेक्काहरू प्राइवेट कर्पोरेशनहरूलाई दिन्छ। हाम्रा देशका राजनीतिक अफिसहरू भने अस्थायीझैँ छन्। यदि तपाईं पनि त्यो घुमाउरो ढोकामा हुनुहुन्छ भने धेरै चाँडै तपाईं ती कर्पोरेसनहरूले भुक्तान गर्ने व्यक्तिहरूको सूचीमा पर्नुहुनेछ, जसलाई तपाईंले ठूला र फाइदाजनक सार्वजनिक ठेक्का दिनुभएको छ। यदि यही व्यवस्था नै लोकतन्त्र हो भने मलाई त्यस सर्कलबाट बाहिर निकाल्नुहोला। म यस खालको लोकतन्त्रसँग कहिँ कतैबाट पनि जोडिन तयार छैन।
प्रचलित राजनीति, अर्थतन्त्र र सम्पूर्ण प्रणालीले एउटा ठूलो क्षेत्रमाथि जमाएको आधिपत्यले यस खालको लोकतन्त्रविरुद्ध लड्नका लागि आज धेरै कठिन छ। यस प्रणालीले टेलिभिजन नेटवर्क, रेडियो स्टेशन र प्रभावशाली पत्रपत्रिकालाई त नियन्त्रणमा राखेकै छन्, अब यसले इन्टरनेटलाई पनि नियन्त्रण गरेको छ। ट्विटरले भने त्यो प्लेटफर्ममा कुलिन वर्गको नियन्त्रणलाई कडा पारेको छ। यो एउटा ठूलो कदम हो। यस प्रणालीमा फेसबुक, गुगलजस्ता कम्पनिको प्रष्ट अधिनता पछिल्ला दिनमा स्पष्ट भएका छन्। वैकल्पिक दृष्टिकोणहरूलाई अल्गोरिदमको मार्फत गरिएको दमनले हामी (सर्वश्रेष्ठ लोकतन्त्र)को ढोंङ हौँ भन्ने प्रष्ट हुन्छ।
प्रक्रिया होइन, परिणाम हो
मेरा लागि लोकतन्त्र एउटा परिणाम हो। यसमा प्रक्रियाको महत्वपूर्ण भूमिका रहँदैन। लोकतन्त्रमा प्रक्रिया र नतिजा दुवै हुन्छ, तर प्रक्रियाभन्दा नतिजा बढी महत्वपूर्ण हुन्छ र हुनुपर्छ। प्रत्येक देशले उसँग कस्तो प्रणाली हुनुपर्छ भन्ने कुरा आफैँ निर्णय गर्नेछ, गर्न पाउनुपर्छ। बाँकीले टाढैबाट त्यस प्रणालीको नतिजा कस्तो छ भनेर जाँच्ने हो, जाँच्नुपर्छ। नतिजाको परिक्षणका लागि केही सवालहरूमा चिन्तन गर्नुपर्छः के त्यो देशका जनताको जीवन सहज छ? के उनीहरू लामो आयु बाँचिरहेका छन्? जनताले स्वस्थ जीवन बाँचेका छन्? के बालबालिकाहरूको जीवन उनका अभिभावकको तुलनामा राम्रो बनेको छ? समाजको आर्थिक, सामाजिक र सांस्कृतिक एकतामा प्रगति भएको छ कि छैन? के जनता पहिलेभन्दा बढी एकतावद्ध भएका छन्? यी सबै प्रश्नका उत्तर त्यस देशको लोकतन्त्रको नतिजाका मापक हुन्।
यदि चीनको सवालमा यी विषयहरूको परिक्षण गर्ने हो भने पश्चिमा देशहरूको तुलनामा चीनले धेरै भन्दा धेरै उपलब्धि हासिल गरिरहेको छ। यसैकारण पश्चिमाहरू चीनको विरोध गर्ने गर्छन्। यदि बोरिस यल्त्सिन रुसका राष्ट्रपति रहिरहेका थिए भने र यदि रुस भूूइँमै लडिरहेको थियो भने प्रत्येकले उसको तहसनहसबाट फाइदा लिने थिए। पश्चिमा राजनीतिक वृत्तमा रुसविरुद्धको भावना जागृत हुँदैन थियो। यदि चिनियाँ जनताको औसत आयु खस्किरहेको थियो, यदि शिशु मृत्युदर बढिरहेको थियो, चीनका जनताको स्वास्थ्य अवस्था खस्किएको थियो, चीनको अर्थतन्त्रको गति अहिलेको भन्दा विपरित दिशातर्फ गइरहेको थियो, चीन झनै गरीब हुँदै गएको थियो र चिनियाँ जनतामा भोकमरी छाएको थियो भने पनि पश्चिमा वृत्तमा चीनविरुद्धको भावना जागृत हुँदैन थियो।
तर पश्चिमाको चाहनाविपरित चीन र रुस अघि बढिरहेका छन्, त्यसैले पश्चिमाहरू यी देशहरुलाई घृणा गर्छन्। रुसले आफूलाई तल्लो तहबाट माथि उठाएकै कारण र राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई फेरि महान् बनाएकै कारण पश्चिमाहरू रुसलाई घृणा गर्छन्। चिनियाँ राष्ट्रपति सि र चिनियाँ नेतृत्वले आफ्ना जनताका लागि मात्रै राम्रो गरिरहेका छैनन्, विश्वका अन्य भागका मानिसलाई समेत सहयोग गरिरहेका छन्। त्यसकारण पश्चिमाहरू चीनलाई घृणा गर्छन्।
अर्को शब्दमा भन्नुपर्दा, एक चिनियाँ नेताको भनाइलाई लिऔँ, ‘बिरालो कालो छ कि सेतो छ, यसले कुनै फरक पार्दैन, उसले मुसा मार्छ कि मार्दैन, यस कुराले मात्र मुसा फरक पार्छ।’ म कुनै पनि प्रणालीलाई लोकतान्त्रिक भन्नुभन्दा पहिला त्यसको नतिजा हेर्न चाहन्छु। म मेरो वरिपरिको पश्चिमा वातावरणलाई नियाल्छु र मैले भन्नैपर्छ: नतिजा विल्कुलै उत्साहजनक छैन।
(बेलायत संसदका पूर्व सदस्य जर्ज ग्यालोवेसँग सि जियीले गरेको कुराकानीमा आधारित, सिजिटिएनबाट नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद।)
यो पनि पढ्नुहोस् –