Thursday, March 4, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home विमर्शका लागि

हामीलाई मुर्दा शान्ति चाहिएको हो कि सामाजिक न्याय ?

by सञ्जीव उप्रेती
February 20, 2021
- विमर्शका लागि
हामीलाई मुर्दा शान्ति चाहिएको हो कि सामाजिक न्याय ?
Share on FacebookShare on TwitterEmail

समाजमा धेरै समयअघि देखि सबै खालका प्रतिगमनहरू विद्यमान थिए तर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनले हामीलाई झक्झकायो । हाम्रो प्रारम्भ विन्दु त्यो हुन पुग्यो । तर यही नै अन्तिम विन्दु भने होइन । अहिले त हामीले जारी गरेको नागरिक घोषणापत्रमा संसद पुनर्गठनको कुरै गरेका छैनौँ । भन्नाले संसद पुर्नस्थापनामात्रै महत्वपूर्ण कुरा होइन । संसद विघटन भएसँगै लोकतन्त्र कमजोर भयो र सामाजिक न्याय कमजोर भयो भन्ने हाम्रो बुझाई हो । दलित, महिला र जनजाति लगायतका मुद्दाहरु उठेका थिए, ६२/६३ को आन्दोलनमा । संसद विघटनपछि यी मुद्धा पाखा लाग्दै गए । त्यसको विरोधमा हामी नागरिक आन्दोलनमा सक्रिय भएका हौं ।

‘शान्ति’ रोज्ने कि आन्दोलन?

सामाजिक न्यायको कुरा गर्दा आफ्नै लिंग, आफ्नै जात, आफ्नै वर्गका लागि मात्रै सोचेर हुँदैन । हामीले त सबैका लागि सोच्नुप-यो । केही मान्छेहरू जसलाई प्रशस्त लाभांश उपलब्ध छ, उहाँहरूलाई त के हुन्छ र ? सबैकुरा पुगीरहेकै छ। खान र लाउन पुगेकै छ । अत्याधुनिक हस्पिटलमा जान्छन्, बच्चाहरूलाई महंगो स्कुलमा पढाइरहेकै छन् । उहाँहरूलाई त यस्ता आन्दोलनहरू किन गर्नुप-यो र ? यस्ता आन्दोलनहरूले त उहाँहरू आफ्नो शान्ति विथोलिन्छ भन्ठान्नुहुन्छ । तर हामीले के सोच्नुप¥यो भने तानाशाही देशहरूमा पनि शान्ति हुन्छ ।
हामीलाई कुनै मुर्दा शान्ति चाहिएको हो कि सामाजिक न्यायसहितको शान्ति चाहिएको हो ? मेरा मित्र नारायण वाग्लेको शब्द उधारो लिनुपर्दा हाम्रो राजनीतिक र सामाजिक सतहहरूमा धाँजैधाँजा परेको छ । समाजमा कोही मान्छे एकदमै तल छन्, कोही माथि धेरै माथि छन् । दलित र महिलाहरूलाई दबाएर राखिएको छ । कस्तो अचम्मको कुरा, अहिले पनि ४० वर्ष भन्दा मुनि उमेरका महिला विदेश जानुपर्दा श्रीमानको अनुमति लिनुपर्ने अरे ! यस्तो प्रतिगामी सोँच छ समाजमा । अब त्यस्तो व्यवस्था स्विकार गरेर हामी चुप लागेर बसिरहँदा एक खालको शान्ति त हुन्छ तर त्यस्तो शान्ति हामीले चाहेको होइन । हामीले त न्याय पनि चाहेका छौँ । त्यो खालको मुर्दा शान्तिको आवश्यक छैन ।

समाजमा धाँजैधाँजा परेको छ, हाम्रो समाजमा पहिलेदेखि नै धेरै समस्या छन् । त्यसलाई फेर्न खोज्दाखेरी अलिकति त विथोलिन्छ । त्यसपछि बन्ने जुन बाटो हुन्छ, जुन बाटोमा हामी अघि बढ्छौँ, त्यो बाटो न्यायको बाटो हुन्छ । यो युद्ध हाम्रो पुस्ताको लागि मात्रै होइन, आउने पुस्ताका लागि पनि हो । हामीले लड्नैपर्ने हुन्छ ।

‘आदर्श समाज’ 

हामीले एक खालको आदर्श बोकेर लड्ने हो तर ठ्याक्कै आदर्श समाज त कहीँपनि छैन । किनभने मानव सभ्यता नै विकासको चरणमा छ । हामी अहिले मानव सभ्यताको कुरा गछौँ । मानव–मानव बराबर छौँ भन्छौँ । दलितलाई काट्दा पनि रगत आउँछ, पुरुषलाई काट्दा पनि रगत आउँछ र महिलालाई काट्दा पनि रगत आउँछ भन्छौं । हामी सबै बराबर त हौं नि भन्छौँ । बराबर भए त हुन्थ्यो तर बराबर चाहिँ छैन । समस्या त्यहाँ हो । अहिले पनि लाखौं दलितहरूका हातमा सम्पत्ति छैन । नारीहरु तल परेका छन् ।

भनेपछि, यस्तो अवस्थामा त हामीले न्यायका लागि लडिरहनुप¥यो । जहाँसम्म आदर्शको कुरा छ, आदर्श त अहिले उपलब्ध नहुन सक्छ । तर त्यस्तो आदर्शलाई हामीले बिर्सियौँ भने हाम्रो वर्तमानमा झनै समस्याहरू बढ्दै जानेछन् । कम्तिमा आदर्शलाई दिमागमा राख्यौँ भने पनि त्यसले हाम्रो वर्तमानका सामाजिक र राजनीतिक अभ्यासहरुलाई असर पार्छ र हामी अलिकति बढी उदारवादी हुन्छौँ । त्यस्तो समाज अहिलेभन्दा बढी न्यायपूर्ण हुन्छ जस्तो लाग्छ ।

हामीले आदर्शलाई पूरै बिर्सियौँ र व्यवहारिक मात्रै हौँ भन्न थाल्यौं भने नेताहरु पनि कुन क्षेत्रबाट आफूलाई भोट आउँछ भन्नेतिर लाग्छन् । त्यो त व्यवहारिक कुरा हो नि त ! व्यवहारिक मात्रै भयौँ भने के हुन्छ ? समाजमा अन्याय बढ्दै जान्छ । केही मान्छेलाई त त्यसले फाइदा हुन्छ । जसले प्रशस्त्र संरचनागत लाभांश पाएको छ, उसलाई त लाभैलाभ हुन्छ । अनेक सामाजिक कारणले गर्दा उनीहरू संरचनाको टुप्पोमा पहिले नै पुगेका हुन्छन् : जस्तो कि पुरुष भएको कारण, जातको कारण, लिंगको कारण । तर लोकतन्त्रलाई मान्ने, सामाजिक न्यायलाई मान्नेहरूले ठान्नुपर्छ : मलाई मात्र संरचनाको लाभांश उपलब्ध भएर त भएन, सबैजनालाई हुनुप-यो।

त्यो पनि आदर्शकै कुरा हो । असल समाजका लागि केही मान्छेहरु आदर्शवादी हुनैपर्छ जस्तो लाग्छ । अहिले समाजवादको सबैभन्दा राम्रो अभ्यास स्क्यान्डिनेभियन देशहरू स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क लगायतका देशहरुमा अलिकति भएको देखिन्छ । त्यहाँ धनीहरूलाई बढी कर छ तर शिक्षा, स्वास्थ्य लगायत सुविधाहरू निशुल्क उपलव्ध छ । ती देशलाई आदर्शवाद उन्मुख समाज भन्न मिल्छ । छनलाई त्यहाँ पनि समस्याहरू छन् । त्यहाँको समाजमा पनि केही न केही रुपममा पितृसत्ता अझै पनि छ । अलिअलि समस्या छन् । तर पनि तुलनात्मक रुपले हेर्दा अलिक राम्रो समाज छ त्यहाँ ।

चरा हेर्न छाडेर आन्दोलनमा

हामी आन्दोलनमा रहरले आएको होइन । हाम्रो समाजमा सबैलाई बराबर भएको भए वा जात व्यवस्था नै नभएको भए, हाम्रो संरचनामा पितृसत्ता नभएको भए हामी आन्दोलनमा आउनुपर्थेन होला । दलितहरूमाथि विभेद हुने थिएन होला, महिलाहरूको बारेमा अध्यागमनको कानून आउँदैन थियो होला । यो संरचना नै त्यस्तो भो । अब त्यसलाई हामीले बदल्न चाह्यौँ भने पुरानो संरचना विथोल्ने सडकमा आउने, आन्दोलन गर्ने र नारा लगाउने त भइ नै हाल्छ नि ! समाज ठीकठाक थियो भने त हामी सडकमा आउँदैनथ्यौं होला ।

तर परिवर्तनका मुद्धा उठाउँदा समाजमा विग्रह हुन्छ भनेर हामी चुप लाग्यौँ भने त समाज यथास्थितिमा रहने भयो, परिवर्तन नै नहुने भयो । न्यायको मागका लागि आखिर सडकमा आउनैपर्छ । चाहेर वा रहर लागेर आएका होइनौँ । यो नागरिक आन्दोलनमा हिँड्नुभन्दा पहिले, म त चरा हेरेर, रमाएर दिन बिताउँथें । अहिले त एउटा पनि चरा हेर्न पाएको छैन, घरमा आउनेबाहेक । मलाई त फेरि चरा हेर्न बनजंग जान पाए हुन्थ्योजस्तो लाग्छ । जंगलमा एक्लै हिँड्दा मलाई आनन्द आउँछ । यो आन्दोलनले त मेरो शान्ति पनि बिथोलियो । तर कहिलेकाहीँ न्याय, आदर्श र लोकतन्त्रका लागि मान्छेले आफ्नो शान्तिलाई स्याक्रिफाइस गरेर भएपनि न्यायको पक्षमा उभिनुपर्छ जस्तोलाग्छ मलाई ।

‘योग्यता’ कसरी प्राप्त हुन्छ?

कतिपय मान्छेहरू भन्छन् : सबै व्यक्तिको आआफ्नै मेरिट(योग्यता) हुन्छ । मेरिट अनुसार नै मान्छेले पैसा कमाउने हो । मेरिट अनुसारले नै मान्छे माथि पुग्ने हो । अरुले किन टाउको दुखाउने भन्ने उनीहरूको तर्क हुनेगर्छ । मैले बारम्बार संरचनात्मक लाभांश भन्ने शब्द प्रयोग गर्दै आएको छु । जस्तै : म पुरुष भएर जन्मिएँ, पितृसत्तात्मक समाज छ । पुरुष भएर जन्मिन मैले कुनै मेहेनत गर्नुपरेन । जन्मै पुरुष हुनुको फाइदा मैले पाएँ । म एउटा उच्च मध्यम परिवारमा जन्मेँ । त्यसका लागि त मैले कुनै मेहेनत गर्नुपरेन। जात पनि बाहुन भएर जन्मेँ, त्यसको पनि मलाई अतिरिक्त लाभांश प्राप्त भयो ।

यदि म दलित भएको भए, नारी भएको भए वा कमजोर वा श्रमिक वर्गमा जन्मेको भए अहिले मैले जीवनमा जेजे गरेँ, पढ्ने र लेख्ने काम गरेँ । त्यो सबै सहजै सम्भव हुन्थ्यो होला ? मैले त धेरै गाह्रो देखेको छु । मैले यो कुरा बारम्बार भनेको छु । इमान्दारीपूर्वक भनेको छु । मलाई के लागेको छ भने र म के निश्कर्षमा पुगेको छु भने अहिलेको मेरो हैसियत मेरो मात्रै योग्यताका कारण मैले प्राप्त गरेको हुँदै होइन।

मैले आफ्नो साथीहरु भेट्दा वा कुनै गाउँमा जाँदा देखेको छु कि म भन्दा धेरै प्रतिभाशाली मान्छेहरु छन् यो देशमा । यो पक्का हो । जसले मैले जति नै लाभांश पाएको भए, म जहाँसम्म पुगेँ, उनीहरू मभन्दा माथि पुग्थे । तर व्यक्तिगत योग्यताकै कारणले मात्र मैल आफ्नो पहिचान बनाएको होइन । म मान्छु : मलाई आफैं लाभांशहरू उपलब्ध भएको थियो । त्यसले गर्दा मैले जे-जे गरँे र गर्न सकेँ, त्यसमा मेरो व्यक्तिगत प्रयास, मेहनतका साथै सामाजिक लाभांस पनि कारक हो ।

अधिकार र लाभांश

तर त्यस्तो लाभांश त सबैले पाउनुप-यो नि ! नत्र त लोकतन्त्र र सामाजिक न्यायको कुरा गर्न छाडौं । जन्मैदेखि निश्चित लाभांश प्राप्त पाउने मान्छे समाजको हाइरार्कीमा माथि पुग्छ र हामी भनिदिन्छौँ कि यो उसको मेरिटको कारणले गर्दा भएको हो । उसले परिश्रम पनि गर्न त ग-यो होला । तर व्यक्तिगत योग्यताले मात्रै सफल, योग्य वा काविल हुने होइन । त्यसका पछाडि थुप्रै सामाजिक र सांस्कृति कुरा पनि हुन्छन् ।

कुनै एउटा दलित छ, उ एकदमै प्रतिभाशाली छ । मेहेनत पनि एकदमै गर्छ । एउटी मधेशी दलित नारी छिन्, एकदमै प्रतिभाशाली छिन्, एकदमै मेहेनती पनि छिन् तर उनलाई त हाम्रो समाजमा माथि उठ्न धेरै गाह्रो हुन्छ । त्यो योग्यताको कुरा पनि हो । तर वैयक्तिक योग्यताको कुरा मात्रै पनि होइन । यसर्थ, मान्छेलाई विभिन्न किसिमका संरचनागत लाभांशहरु उपलब्ध हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ ।
हाम्रो नागरिक आन्दोलनको लक्ष्य के हो भने सबै मान्छेमा एउटा नैसर्गिक प्रतिभा हुन्छ । र, मेरो बटमलाइन के हो भने हामी यस्तो समाज चाहन्छौं, जहाँ हरेक व्यक्तिसँग हुनै नैसर्गिक प्रतिभालाई सबैभन्दा पहिला पहिचान गर्ने र त्यसलाई पूरा गर्ने वातावरण र मौका उसले पाउनुपर्छ ।

वर्ग र जातका कुरा

वर्ग पनि ठूलो कुरा हो । कोही मान्छे बाहुनक्षेत्रि छ तर एकदमै गरिब छ भने बाहुन भएकैले पनि उसलाई लाभांश उपलब्ध हुन्छ। ठूलो जात भएकाले सर्वत्र सम्मानको अवसर र भाषाकै कारण पनि काम गर्न सहज । तर वर्गको कारणले गर्दा उसलाई लाभांश उपलब्ध भएन । कर्णालीमा एकदमै भोको र गरिब बाहुन छ । त्यहीँ अर्को एकदमै भोको र गरिब दलित पनि छ। त्यस्तोमा हामीले काठमाडौँको दलित र कर्णालीको बाहुनलाई तुलना गर्नु हुँदैन । त्यो गलत तुलना हुन्छ । तुलना नै गर्ने हो भने कर्णालीकै दलित र कर्णालीकै बाहुनबीच तुलना गरेर हेर्नुपर्छ । त्यहाँबाट वर्गका कारण मात्रै होइन, जातका कारण पनि मान्छे विभेदमा परेको हुन्छ भन्ने निष्कर्स निस्कन्छ ।

कर्णालीको बाहुन पनि गरिब छ, उसले पनि दुःख पाएको छ । वर्गको हिसाबले उसलाई कुनै लाभांश छैन । तर जातको हिसाबले कर्णालीकै दलितसँग तुलना गर्दा केही न केही लाभांश उसले प्राप्त गरेको हुन्छ । उसले पनि त्यहाँको दलितमाथि थिचोमिचो गरिरहेको हुनसक्छ । समाजमा दलितको भन्दा बाहुनको सम्मान बढी हुन्छ । छुवाछुत नहुने भएकाले बाहुनलाई जेसुकै काम गर्न सहज हुन्छ । अर्को बाहुनको तुलनामा उ पक्कै गरिब छ । तर त्यहीँको दलित पनि गरिब छ भने त्यो दलितको तुलनामा जातको आधारमा त्यो बाहुनलाई केही न केही फाइदा हुन्छ । उसको हैसियत दलितभन्दा माथि नै हुन्छ । उसले त्यहाँको दलितमाथि थिचोमिचो गर्न पनि सक्छ ।

सबैभन्दा पिँधमा को छ?

दलित महिला र दलिथ पुरुषबीच पनि फरक पर्न सक्छ । त्यो मात्रै होइन, मधेशी दलितभन्दा पहाडे दलितको हैसियत अलि माथि छ । दलितभित्रै हेर्ने हो भने पनि दलित महिलाको तुलनामा दलित पुरुषलाई केही न केही लाभांश प्राप्त हुन्छ । लिंगको लाभांश उपलब्ध भएको हुन्छ । जातको लाभांश त बराबर भयो दुबै दलितलाई । कोही दलित महिला छिन्, आँखा पनि नदेख्ने छिन् भने उनलाई झन् गाह्रो भयो । भनेपछि संरचनागत लाभांशका विभिन्न तहहरु छन् ।

एउटा काल्पनिक केस कल्पना गरौँ। एउटी मधेशी दलित महिला जो दुरदारजमा बस्छिन्, उनी चरम गरिब छिन् र त्यसमाथि लेस्वियन पनि छिन् अनि आँखा पनि देख्न सक्दिनन् भनेपछि उनलाई त कुनैपनि लाभांश उपलब्ध भएन । उनको तुलनामा सबैलाई केही न केही लाभांश उपलब्ध भएकै हुन्छ । मलाई के लाग्छ भने जसलाई जति बढी संरचनात्मक लाभांश उपलब्ध भएको छ, उ/उनी नै यसको बारेमा बढी जिम्मेवार हुनुपर्छ । मैले मात्र लाभांश पाएर भएन । समाजमा सबैले लाभांश पाउनुप-यो । त्यो खालको समाज कसरी बनाउने हो? त्यतातिर हामी कसरी जाने भनेर अब लाग्नुपर्छ जस्तो लाग्छ । म त्यही कारणले यो आन्दोलनमा आएको हुँ।

हामीले भनेजस्तो समाज बनाउनका लागि राज्यको आमूल पुर्नसंरचना गर्नैपर्छ । ६२/६३को आन्दोलनले त्यस्तो आमूल पुर्नसंरचनाका लागि केही बाटोहरू खोल्यो । ६२/६३ को जनआन्दोलनले जुन म्यान्डेट दिएको थियो, अहिलेलाई हामी त्यो त पूरा गरौँ न। हामी संघीयताको चरणमा आयौँ तर संघीयताको अभ्यास नै राम्रो भएको छैन । डोजर चलाउने, वडाध्यक्ष वा उसकै मान्छेले डोजर किन्ने खालको संघीयता हामीले अभ्यास गरिरहेका छौँ ।

संसद विघटन र अन्य पश्चगमन

अहिले विकासका कुरा गरिन्छ, हाम्रो विकास भनेको भ्यु टावरहरू बनाउने हो ? भएका सबै सम्पदाहरू मास्ने हो ? दलित र महिलाहरूलाई हामीले जति अधिकारहरू दिने भनेका थियौँ, त्यो पनि नदिने हो ? यसर्थ, यी मुद्धाहरूमा हामी छलफल गरौँ न । त्यति गरिसकेपछि हामीले गर्न खोजेको पुर्नर्संरचनाा एउटा चरणमा पुग्छ । त्यसपछि हामी अर्को छलाङ पनि लगाउने कोशिस गछौँ ।
प्रतिनिधि सभा विघटनको मुद्धाले हामीलाई झक्झकायो ।

थप अरु पनि पश्चगमन हुन सक्छ भनेर हामी झक्झकियौँ । नागरिक आन्दोलनको प्रारम्भिक बैठकदेखि नै हामीले यो कुरा गरेका छौं । हाम्रो प्रारम्भ विन्दु प्रतिनिधि सभा विघटनको विरोधबाट भयो, तर हाम्रो अन्तिम विन्दु यो होइन । संसद विघटनको मात्रै हाम्रो कुरो हुँदै होइन । न्याय र समताका विषयहरू पनि बिघटनमा पर्लान् भनेर हामी आन्दोलनमा आएका हौं ।

हाम्रो आन्दोलन नयाँ ढंगले र निरन्तर लानेतर्फ अघि बढेका छौँ । त्यो कसरी गर्ने भन्नेबारे भने हामी अझै प्रष्ट छैनौँ । आन्दोलन लगातार गरिरहनुका समस्या त छन् । किनकि हामी कुनै राजनीतिक पार्टी वा गैरसरकारी संघसंस्था पनि होइनौं । हाम्रो कुनै सम्पत्ति र तलब पनि हुँदैन, हामीसँग कुनै मुद्राकोष पनि छैन । हामीले सडकबाट मात्रै कोष उठाउने हो । त्यसबारे हामी एकदमै प्रष्ट छौँ । केही समयपछि जति हाम्रो हिसाबकिताव छ, त्यो सबै इन्टरनेटमा राख्ने पक्षमा छौँ ।

किनभने जनतालाई थाह हुनुप-यो नि त उहाँहरूले दिएका पैसा कसरी प्रयोग भएको छ भनेर। यस्तो अवस्थामा हामी निरन्तर कसरी लागिरहन सक्छौँ भन्ने समस्या छदै छ अहिले । त्यो सोचिरहेका छौँ तर त्यसको कुनै निर्णय गरिएको छैन । मलाई के लाग्छ भने हामी कुनै न रूपमा आन्दोलनमा लाग्न चाहिँ लागिरहनुपर्छ ।

किनभने, अग्रगमन र प्रतिगमन भनेको दुईवटै साथसाथै चलिरहने हो । हामी नागरिकहरू चुप लागेर बस्यौँ भने फेरि प्रतिगमन हावी हुन थालिहाल्छ । कति मान्छेहरूले पुरानै व्यवस्था अनुसार खाइपाई आएका अधिकारहरू हुन्छन्, अहिले यसो हेर्दा उहाँहरू उदारवादको अभिनय गरेर अगाडि आउनुहुन्छ तर प्रतिगमन त मनमै छ । भनेपछि प्रतिगमनको प्रक्रिया फेरि सुरु हुन्छ ।

भिडियो-

 

(डा. उप्रेतीसँग नेपाल रिडर्सका लागि प्रकाश अजातले गरेको कुराकानीमा आधारित ।)

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
सञ्जीव उप्रेती

सञ्जीव उप्रेती

Discussion about this post

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ४ (चिली)

2 years ago

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

3 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.