संसदीय राजनीतिमा पार्टीहरूको चुनावी नतिजा तलमाथि हुनु स्वभाविक नै हो। तर यो स्थानीय निर्वाचन अबिघ नेकपा एमालेले आफू पहिलो पार्टी हुने दाबी गरेअनुसारको परिणाम आएन। यसका विभिन्न कारण छन्। हुनत एमालेले अघि सारेका एजेण्डाहरूलाई जनताले समीक्षा गर्नुको नतिजा पनि हुनसक्छ यो परिणाम। यसका साथै हामीले यो बीचमा झेलेका विभिन्न प्राविधिक समस्या र पाँचदलीय गठबन्धन पनि यो नतिजाका कारकहरू हुन्।
एकातिर कम्युनिष्ट पार्टीहरू विघटन हुनु र अर्कोतर्फ सत्तामा रहेका पाँच दलले गठबन्धन बनाएर अघि बढ्दै गरेको यो माहोलका बीचमा पनि एमालेले लोकप्रिय मत पाएको छ भने उ दोस्रो पार्टीको रुपमा स्थापित भयो। अप्ठ्यारो अवस्थाका बीच पनि एमाले पार्टी नै जनताका लागि भरपर्दो र ससक्त पार्टी हो भन्ने कुरा स्थापित भएको छ।
फरक ढंगले जानुको अर्थ छैन
कार्यव्यवस्ततालगायत विभिन्न कारणले पार्टीभित्र निर्वाचन परिणामका बारेमा औपचारिक समीक्षा हुन सकेको छैन। यसो भन्दैमा समीक्षा नै नभएको चाहिँ होइन। पार्टीले अनौचारिक समीक्षाका साथै आगामी निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श भने गरिरहेको छ। मलाई लाग्छ, एमालेले औपचारिक रुपमै निर्वाचनको समीक्षा गर्दै थप योजना तथा कार्यभार तय गर्दै अगाडि बढ्ने छ।
यसअघि एमालेको नेतृत्वमा माओवादी केन्द्रसँग एकता भएर नेकपा बनेको थियो। तर यसलाई जोगाउन नेतृत्व सफल भएन। यो एकतालाई जोगाउन नेताहरू जुनखालको सक्रिय, क्रियाशील र चिन्तित हुनुपर्ने थियो, त्यो अनुसार हुन सकेनन्। त्यसैले हामी चुक्यौँ, शिर्षस्थ नेतृत्व चुके।
नेकपा विभाजनपछि कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि अथक प्रयासहरू हुनुपथ्र्यो, तर हुन सकेन। त्यसैले फेरि पनि कम्युनिष्ट आन्दोलको एकताबद्ध प्रयास र यो आन्दोलनले प्राप्त गरेका उपलब्धिको रक्षाका लागि देशमा कम्युनिष्टहरूलाई एकै ठाउँमा ल्याउने दायित्व एमालेको हो। यसबाट यो पार्टी पर हट्न सक्दैन। त्यसको लागि हामी प्रयत्नशील छौँ। तर एमाले मात्रै प्रयत्नशील भएर पुग्दैन। देशका सबै कम्युनिष्ट पार्टीहरूले एकताबद्ध कम्युनिष्ट आन्दोलन बनाउनुपर्ने आधारभूत सत्यलाई मनन गर्न आवश्यक छ। र, ठूलो पार्टीको हिसाबले नेकपा एमालेले नेतृत्व गर्नुपर्छ। यो दायित्वबाट एमाले विमूख हुनुहुँदैन।
सबै कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू कम्युनिष्ट एकताको कुरामा चिन्तनशील छन्। सबै कार्यकर्ता र जनताले पनि कम्युनिष्ट एकता चाहेका छन्। एजेण्डा, विचार र स्कुललिङ एउटै भएका पार्टीहरू फरक–फरक ढंगले जानुको कुनै अर्थ छैन। यसले क्षतिमात्रै व्यहोर्छ। नेपालमा वामपन्थीमाथि जनताको विश्वासलाई अझै मजबुत बनाउने हो भने फेरिपनि सबै वामपन्थी पार्टीहरू एकठाउँमा आएर आफ्नो दायित्व बोकेर अगाडि बढ्नुको विकल्प छैन।
कमीकमजोरी सच्याऔँ
नेकपा एमाले सांगठनिक रुपमा मजबूत संस्था भएका हिसाबले नेकपाको विभाजनमा यसको कुनै कमजोरी छैन भन्ने पक्षमा म छैन। तर, अरु नेतृत्वको पनि कमजोरी नभएको होइन। त्यसैले चेतनशील भएर आफ्ना कमीकमजोरीहरूको समीक्षा गर्दै त्यसलाई आगामी दिनमा नदोहोरिने गरी सच्याएर एकताबद्ध कम्युनिष्ट आन्दोलन र जनताको विश्वासलाई जगाइराख्न सक्नुपर्छ। त्यसैले यसको नेतृत्व पनि नेकपा एमालेले नै गर्नुपर्छ।
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा संसद विघटनको घट्नामात्रै मात्रै होइन, अरु धेरै कमीकमजोरीहरू पनि भएका छन्। जीवन्त आन्दोलन, जीवन्त पार्टी र जीवन्त समाजमा सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन्। कम्युनिष्टहरू एकठाउँमा बसेर विगतमा भएका कमीकमजोरीहरूको समीक्षा गर्ने विन्दुमा वाम राजनीतिक दलहरू आउनुपर्छ। त्यसमा पनि खासगरी एमाले र माओवादी केन्द्र त्यो विन्दुमा उभिनका लागि तयार रहनुपर्छ। त्यसपछि संसद विघटन र पार्टी विभाजनका विषयमा खुलस्त छलफल गर्दै भविष्यमा त्यस्ता गल्ति नदोहोर्याउने गरी एउटा ‘कोड अफ कन्डक्ट’ बनाएर अगाडि बढ्नुपर्छ।
यसो गरियो भने फेरि पनि नेपालमा कम्युनिष्ट आन्दोलनको भविष्य निश्चित गर्न सकिन्छ। होइन भने आगामी दिनमा नेपालको राजनीतिमा देखा पर्ने चुनौतीहरूलाई हामी सामना गर्नसक्ने स्थितिमा पनि हुँदैनौँ। अब आगामी संघीय तथा प्रादेशिक चुनावमा एकै ठाउँ भएर अघि बढ्न सकियो भने कम्युनिष्ट आन्दोलनको एउटा सुगम बाटो तय गर्न सक्छौँ। होइन भने हामी खतराको डिलमै पुग्ने कुरा सबैले बुझेका छन्। जसलाई कसैले रोक्न सक्दैन। नेपालको कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याउन भूमिका खेलेका नेताहरू फेरि एकपटक एकै ठाउँ एउटा ऐतिहासिक र धरातलीय यथार्थको आधारमा अगाडि बढ्न सक्ने हो भने कम्युनिष्ट पार्टीहरू फेरि नेपालीको भरोसाको केन्द्रको रुपमा स्थापित हुन सक्छन्।
कम्युनिष्टहरूको दायित्व
खासगरी सामाजिक न्यायको क्षेत्रमा जनतालाई महशुस हुनेगरी जुन ढंगले योगदान गर्नुपर्ने हो, त्यति गर्न हामी कम्युनिष्ट तथा हाम्रा कम्युनिष्ट पार्टीहरूले चुकिरहेका छौँ। नेकपाले सत्ता सञ्चालन गरेका बेला जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र मानवअधिकारको क्षेत्रमा परिवर्तन ल्याउन सक्नुपथ्र्यो। तर त्यो निश्चित गर्न नसक्दा र विभिन्न राजनीतिक कारणले ठूलो दुर्घटना निम्तियो। त्यसैले कम्युनिष्ट आन्दोलनप्रति जनताको मन एक किसिमले भाँचिएको अवस्था छ। मेरो विचारमा नेकपामा दुर्घटना हुनुका राजनीतिक कारणसँगै जनताको अपेक्षालाई पूरा गर्न नसक्नु पनि अर्को कारण हो।
हामी नाङ्ले पसल थापेजस्तै स–साना टुक्रे पार्टी खोलेर तिनको अध्यक्ष बन्ने होडमा लाग्यौँ, तर हामी हिँड्नुपर्ने भनेको संविधानले ग्यारेन्टी गरेको समाजवादउन्मुख अर्थव्यवस्थातर्फ हो। र, यतिखेर हामीले नेपालको विद्यमान दलाल पूँजीवादलाई परास्त गर्नुछ। र, सो दायित्व कम्युनिष्ट पार्टीहरूकै हो। यसरी कम्युनिष्टहरू छरिएर रहँदा समाजवाद उन्मुख राजनीतिक व्यवस्था स्थापना गर्ने दायित्व पुरा गर्न सकिँदैन। जहाँसम्म संसद बिघटनको कुरा छ, एउटा संस्था र समाजको एउटा अंगको हैसियतमा कहिलेकाहीँ कमीकमजोरीहरू हुनसक्छन्, तर यो पार्टीले एकचोटी कमजोरी गर्यो भन्दैमा सधैँ त्यसले कमजोरी गर्छ भन्ने ठान्नु हुँदैन।
चुनावमा गठबन्धन ?
कम्युनिष्ट पार्टीहरू आगामी दिनमा मिलेर जानुपर्छ तर तत्कालै नेकपालाई ब्यूँझाउने कुरा सम्भव छैन। अब कम्युनिष्टहरूको एकीकरणका लागि नयाँ शिराबाट छलफल हुन सक्छ। त्यसका लागि नेतृत्व नयाँ वा पुरानो भन्ने हुँदैन। नेतृत्वको कुरा गर्दा अचेल पुस्तान्तरणको समेत कुरा आउने गरेको छ तर समय सापेक्ष चल्नसक्ने नेतृत्वलाई उमेरले छेक्दैन। यदि कुनै नेताले समयको मागलाई सम्बोधन गर्न सक्दैन भने उ १९ वर्षको उमेरको भएपनि त्यस्तो नेतृत्वको काम छैन।
अहिले ‘पुराना नेताले गर्न सकेनन्’ भन्ने खालका नैराश्यता फैलाइएको छ। यही बीचमा भएको स्थानीय चुनाबमा केही मुख्य शहरमा स्वतन्त्र उम्मेद्वारहरूको उत्साहपूर्ण जित पनि देखियो। यसलाई पनि हामीले मसिनो ढंगले विश्लेषण गर्न आवश्यक छ। स्वतन्त्रहरूको यो जितबाट आत्तिएर वा यसबाट डराएर होइन, यसलाई मनैदेखि स्वागत गर्दै मसिनो अध्ययन गर्ने दायित्व पनि नेकपा एमालेको हो। आज घटनाको परिणामलाई आधार मानेर राजनीतिलाई अगाडि बढाउन खोजिन्छ। तर घटनाको परिणामलाई होइन, घटनाको पृष्ठभूमिलाई राजनीतिक, आर्थिक र वैचारिक रुपमा विश्लेषण गरेर मात्रै राजनीतिलाई अगाडि बढाउन सकिन्छ। घटनाको परिणामलाई मात्रै हेरेर स्वतन्त्र उम्मेद्वार आवश्यकता हो भन्न सकिँदैन।
अहिले देखिएको माहोल घटनाका परिणामलाई आधार मानेर र निराशाका पोका बोकेर नै बनेको हो। यसबाट फेरि सिंगो समाजलाई नै निराश बनाउने खतरा हुन्छ। त्यसैले स्वतन्त्र राजनीति गर्नेहरूलाई मेरो आग्रह छ–राजनीतिमा सामेल भइरहँदा हाम्रो राजनीतिको भूगोल, अर्थराजनीति, राजनीतिक मूल्यका सैद्धान्तिक पक्ष र परिवर्तनका मूल एजेण्डामा प्रष्ट भएर आउनुहोला। त्यसो गर्नसक्दा मात्रै समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
र, लोकतन्त्रिक व्यवस्थामा तपाईँ हामीले चाहेको सामाजिक परिवर्तन गर्ने भरपर्दो साधन नै राजनीतिक दल हो। त्यसैले, आफ्नो राजनीतिक विचार मिल्नेहरूसँग त्यही ढंगले सहकार्य र एकताबद्ध हुँदै राजनीतिक दलमै आवद्ध हुन आवश्यक छ।
एमाले नेता डा. सुरेन्द्र मानन्धरसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।
भिडियो –