समय बद्लिँदो छ र यो बदलावको गति झन् भन्दा झन् तिब्र हुँदै गइरहेको छ। यसले सूचना तथा सञ्चारको क्षेत्रमा अकल्पनीय परिवर्तन ल्याइरहेको छ। सामाजिक सञ्जाल, इन्टरनेट तथा स्मार्टफोनमा पहुँचका कारण आज देशभित्रका मात्रै होइन, विश्वको कुन कुनामा के भइरहेको छ भन्ने सूचना तुरून्त हाम्रो हातमा आइपुग्छ। सूचनाकै लागि पत्रिका, रेडियो वा टेलिभिजनको समाचार कुरेर बस्नुपर्ने दिन अब रहेन।
यो परिवर्तनले पत्रकारिता र आम-सञ्चार जगतलाई पनि बद्लिन बाध्य तुल्यायो। सामाजिक सञ्जालमा सूचना कसले छिटो सम्प्रेषित गरेर पाठकको ध्यान खिच्ने भन्ने प्रतिस्पर्धा सुरू भयो। यो बदलावले परम्परागत सञ्चारमाध्यमले ध्यान नदिने तर आम मानिसको चासोमा रहने धेरै विषयलाई समाचारको विषयवस्तु बनायो। सञ्चारमाध्यम र पत्रकारले धेरैभन्दा धेरै मानिसको ध्यान जाने विषयवस्तु खोजि गर्न थाले। पाठक वा दर्शकको रूचि पत्रकारिताको केन्द्रमा स्थापित भयो।
यसको अर्को पाटो पनि छ, यसले धेरै मानिसको ध्यान नतान्ने, सनसनीखेज नबन्ने विषयवस्तु सञ्चारमाध्यमको ध्यानबाट हराउँदै गएका छन्। अझ लामो समय र मेहनत लाग्ने विषयवस्तुमा खोज वा अध्ययन गरी रिपोर्टिङ गर्नुपर्ने विषयवस्तु किनारा लाग्दै गएका छन्। पत्रकारिताको प्रवृत्ति मूलतः सूचनाकारितामा बदलिँदै गएको छ। आर्थिक वा सामाजिक रूपमा सिमान्तकृत समुदायको आवाज हराउँदै गएको छ। नेपाल रिडर्स, नेपालको पत्रकारितामा छुट्दै गएको यो पाटो समात्ने गरी विस्तृत र गहन रिपोर्टिङमा केन्द्रीत हुने उद्देश्यले पुनः जुर्मुराएको छ।
आम मानिसका मुद्धा रिपोर्टिङमार्फत अगाडि ल्याएसँगै त्यससँग सम्बन्धित नीतिगत विषयमा बहस वा विमर्श जरूरी हुन्छ। समाजको विभिन्न तहमा देखिएका समस्या निराकरणमा सरकार र सरकारले लिने नीति कहीँ न कहीँ जिम्मेवार हुन्छ भन्ने हाम्रो ठम्याइ हो। र, एउटा लोकतान्त्रिक मुलुकमा सञ्चार माध्यमको भूमिका पनि उत्तिकै अपेक्षित हुन आउँछ। सनसनीखेज पत्रकारिताको विपरित गम्भीर र सघन विमर्श अगाडि बढाउने उद्देश्य नेपाल रिडर्सको छ।
यसैगरि, हाम्रो राजनीतिले २०६३ को आन्दोलनले स्थापित गरेको वैचारिकी गुमाउँदै गएको छ। क्रान्ति र परिवर्तनको नेतृत्व गरि आएका राजनीतिक दल र तिनको नेतृत्वले राज्य सञ्चालनका क्रममा देखाएको अवसरवादी चरित्र र सत्तास्वार्थका लागि समग्र नैतिक मुल्यप्रति देखाएको उदासिनताले समाजलाई जरैदेखि असन्तुष्ट बनाइदिएको छ। समाजमा क्षणिक आवेग र वदलाभावले विचारधारात्मक रुपमा समग्र अर्थराजनीति चिन्तनधाराका स्थापित मुल्यमाथि धावा बोल्न थालेको छ। समाज रुपान्तरणका दिर्घकालिन मुद्धाहरु लोकप्रियतावादी उन्मादको शिकार हुने जोखिम बढेको छ। यस क्षेत्रमा पनि गम्भिर बहस आवश्यक छ। समाचार र सूचनाका उत्तेजक र आक्रामक प्रस्तुतिले यस्ता बहसलाई समेत किनारामा धकेलेका छन्।
छोटकरीमा, अहिलेका मूलधारका सञ्चारमाध्यमबाट छुटेका समाचारलाई समाचार बनाउने र त्यसैमाथि गम्भीर विमर्शसमेत गर्ने उद्देश्यले हामीले काम सुरू गरेका छौं हाम्रा समाग्रीहरू पढेर तपाईंले दिनुहुने सकारात्मक सुझावले हामीलाई हौसला दिनेछ भने सिर्जनात्मक आलोचानले अझ सुदृढ बनाउने छ। त्यसैले, हामी सधैंभरी तपाईंको सहभागिताको अपेक्षा गर्छौं। हामीले यो सम्पादकीयमा उल्लेख गरेजस्ता विषयमा तपाईं कलम चलाउनुहुन्छ भने ती सामग्री हामीलाई पठाउनु होला। हाम्रा रिपोर्ट र विचारमुलक आलेखमाथि तपाईंका प्रतिक्रियाले यसलाई बहसको थलो बनाउन सहयोग पुग्नेछ। लेख, रचना र रिपोर्टका माध्यमबाट पनि तपाईं हामीसँग जोडिन सक्नुहुनेछ।