देशमा प्रतिगमन भएको छ । यो प्रतिगमन टुलुटुलु हेर्न नसकेर यहाँ उपस्थिति हुनुभएका, हाम्रो आवाजमा आवाज र कदममा कदम मिलाउन आउनुभएका सम्पूर्णमा नमस्कार । आज म यहाँ उभिदै गर्दा, म एउटा व्यक्तिमात्रै उभिएको छैन । यो देशका सम्पूर्ण विद्यार्थीको प्रतिनिधि उभिरहेको छु । आज हामी वर्तमानको त्यो मोडमा आएर उभिएका छौँ, जहाँबाट देशको समृद्धिको मार्ग अन्धकारमय छ र हाम्रो भविष्यको मार्ग पनि त्यति उज्यालो छैन । आज देशको समृद्धिको मार्ग र विद्यार्थीको भविष्य प्रकाश पार्नका लागि हामी यहाँ आएका छौँ ।
‘म किन बेरोजगार भएँ ?’
हाम्रो देशमा आज जे भएको छ, त्यो हेरेर बसिरहन सकिने अवस्था छैन । शिक्षामा मौलाएको व्यपारीकरणको जति विरोध गरेपनि पुग्दैन । हाम्रो देशको शिक्षा पद्धतिले के उत्पादन गर्छ ? हामीले देखेका छौँ, हाम्रो देशको शिक्षा पद्धतिले पढेलेखेका बुख्याँचाहरू उत्पादन गर्छ । त्यो भन्दा बढी केही उत्पादन गर्दैन । हातमा मास्टर्सको सर्टिफिकेट बोकेका पढेलेखेका बेरोजगारहरू उत्पादन गर्छ । त्यस्ता युवाहरू सिरानीमा सर्टिफिकेट थन्क्याएर विदेशी मुलुक गएर काम गर्न बाध्य हुनुपर्छ ।
स्कुल पढ्दा मसँगै पढ्ने केटी साथीहरूको संख्या माथिल्लो कक्षामा पुगेसँगै घट्दै जान थाल्यो । एसएलसीसम्म पुग्दा आँकडा धेरै घट्यो । मास्टर्ससम्म पुग्दा मसँग स्कुल पढेका साथीहरूमध्ये म मात्रै थिएँ । त्यतिबेला मेरा साथीहरूको आम बुवाको तर्क थियो ‘छोरी पढाएर के हुन्छ ? बरु बिहे गरेर पठायो भने उसले घर गरेर त खान्छे ।’ त्यतिबेला मेरो बुवा आमालाई लागेको थियो कि आफ्नो छोरीलाई पढाउनुपर्छ र आत्मनिर्भर बनाउनुपर्छ । आज उहाँहरूकी छोरी विश्वविद्यालयको प्राङ्गणमा डबल डिग्रीको सर्टिफिकेट बोकेर विश्वविद्यालयसँग प्रश्न गरिरहेको छु ‘म किन बेरोजगार भएँ ?’ हाम्रो विश्वविद्यालयलाई प्रश्न गर्ने म एकजना मात्रे होइन । म जस्तै लाखौँ विद्यार्थीको भावना र भविष्यसँग खेलवाड गरिरहेको विश्वविद्यालय अब सुध्रिनुपर्छ ।
‘हामी प्रश्न बोकेर आएका छौँ’
विश्वविद्यालयमा निजीकरण भएको छ । हिजो विश्वविद्यालय कसले चलाउँथ्यो ? कसका छोराछोरीहरू पढ्थे ? राणाकालमा क्याम्पस र विद्यालयहरूमा पहुँच कसको थियो ? हुनेखानेका र शासकहरुको थियो । आज निजीकरणले गणतन्त्रमा पनि त्यहीँ परिपाटी निर्माण गरेको छ । आज पनि निजी क्षेत्रले गरिब जनताका छोराछोरीलाई शिक्षामा निषेध गरेको छ । आज हामी त्यहीँ निषेधविरुद्ध बोल्न यहाँ उपस्थित भएका छौँ । विश्वविद्यालयमा धेरै समस्याहरू छन् ।
हामीसँग कस्ता शिक्षकहरू छन् ? उनीहरुको योग्यता र दक्षता के हो ? त्यो विषयमा पनि प्रश्न गरौँ । किनभने आज हामी समाधान होइन, प्रश्न बोकेर आएका छौँ । हामी हाम्रा हरेक प्रश्नको जवाफ चाहन्छौँ । विश्वविद्यालय घुम्दै गर्दा वा एउटा विभागबाट अर्को विभाग जाँदै गर्दा एउटी केटीले दशचोटी सोच्नुपर्ने हुन्छ । झाडीमा अश्लिलता देखाइरहेका पुरुषहरूलाई देखेर विश्विद्यालयका छात्राहरूले दशचोटी सोच्नुपर्ने हुन्छ, हिँडु कि नहिँडु भनेर । विश्वविद्यालयलाई आफ्ना छात्राहरुको यो समस्या थाह छ कि छैन ? कि उनीहरू टुलुटुलु हेरेर बसिरहेका छन् ?
हाम्रो विश्वविद्यालयको भौतिक पुर्वाधारहरू हेरौँ, कक्षाकोठादेखि पुस्तकालयसम्म र प्रयोगशालादेखि शौचालयसम्म पुग्दा यो कुनै विश्वविद्यालय जस्तो लाग्दैन । यो त कुनै कारखाना जस्तो लाग्छ । जुन अस्तव्यस्त छ । हामी त्यो अस्तव्यस्तविरुद्ध बोलौँ । हामी हाम्रो आवाज बुलन्द पारौँ ।
‘हामी मात्र पढेर हुँदैन’
एकपटक हामी हाम्रो कार्यक्रम सकेर विश्वविद्यालयमा बसिरहेका थियौँ । एकजना साथी आउनुभयो । चिनेर बोल्न आउनुभएको होला भन्ठानेर मैले पुलुक्क हेरेँ । उहाँको काँधमा झोला र हातमा थर्मस् थियो । उहाँ चिया बेच्न आउनुभएको रहेछ । मैले उहाँलाई सोधेँ, हजुर के गर्नुहुन्छ ? उहाँले भन्नुभयो ‘म मास्टर्स गर्दैछु ।’
उहाँलाई देख्दा खुशी लाग्यो, दुःख पनि लाग्यो । खुशी यस अर्थमा लाग्यो कि मेरो देशको भविष्य बोकेको एकजना युवा कुनैपनि काम सानो भन्दैन । उ चिया बेचेर आफ्नो पकेट खर्च जुटाउन आएको छ । दुःख यस अर्थमा लाग्यो कि यो देशको बेरोजगार सिर्जना गर्ने सेमेस्टर सिस्टमले उनीहरूको पढाईलाई निषेध गरेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीबाट काठमाडौँ आउने युवाहरू जो बिहान पढेर दिउँसो जागिर खान्छन्, जो आफ्नो पकेट खर्चका लागि आफू मै निर्भर हुन्छन् ।
उनीहरूलाई निषेध गरेको शिक्षा प्रणाली प्रति मलाई लज्जाबोध भएर आयो । मलाई हिनताबोध भएर आयो । आज हामी ति साथीहरूको शिक्षामा पहुँचका विषयमा बोलौँ । हामी मात्र पढेर हुँदैन । सक्ने मान्छे मात्रै पढेर हुँदैन । जो यो देशमा बस्छ र जो यो देशको नागरिक छ उनीहरुलाई पनि विश्वविद्यालयको शिक्षामा अधिकार हुनुपर्छ । हामी त्यो अधिकारका बिषयमा बोलौँ ।
‘सिपमुलक शिक्षाका लागि बोलौँ’
हाम्रो समाज राम्रो चलिरहेको थियो । दमाई दाइ कपडा सिलाउनुहुन्थ्यो, कपडा डिजाइन गर्नुहुन्थ्यो, सार्की दाई जुत्ता बनाउनुहुन्थ्यो, कामी दाई फलामका हतियार बनाउनुहुन्थ्यो र कुमाल दाई माटाका भाँडा बनाउनुहुन्थ्यो । उहाँहरूलाई अछुत बनाइयो । समाजका इन्जिनियर, डिजाइनर र इन्भेन्टरहरु अछुत बनाइए र उहाँहरूको सिप विस्थापित भयो । हाम्रो देशमा विदेशी समानहरू भित्रिन थाले । त्यो दिनदेखि हाम्रो देशको सिपमुलक शिक्षामा प्रतिबन्ध लाग्यो । त्यो दिनदेखि हाम्रो देशको शिक्षामा प्रतिगमन सुरु भयो । हामी त्यो प्रतिगमनविरुद्ध बोलौँ । हामी सिपमुलक शिक्षाका निम्ति बोलौँ । हामी घोकाएर बुख्याँचा पैदा गर्ने शिक्षा प्रणालीविरुद्धको आवाज सशक्त पारौँ । आज हामी विश्वविद्यालयमा तमाम प्रश्नहरु लिएर आएका छौँ, हामीसँग जवाफ छैनन् । विश्वविद्यालयले हामीलाई जवाफ दिन सक्दैन भने हामी भोलि जवाफ लिएर आउनेछौँ । योजना लिएर आउनेछौँ ।
(बृहत् नागरिक समाजले गत सोमबार शैक्षिक प्रतिगनविरुद्ध आयोजना गरेको ‘मार्च टु टियू’मा विद्यार्थी तथा अभियन्ता एलिजा ढकालले दिएको मन्तव्य)