ग्याँसलाइटिङ शब्द प्याट्रिक ह्यामिल्टनले सन् १९३८ मा लेखेको नाटकबाट आएको हो। सन् १९४४ मा यसमाथि फिल्म पनि बनेको थियो। यो कहानीमा एक विवाहित जोडीको मुख्य भूमिका छ। जसमा श्रीमान आफ्नी श्रीमतीलाई उनको मानसिक सन्तुलन ठीक नभएको महशुस गराउन खोज्छन्। यसो गर्नका लागि उनले आफ्नो वातावरणमा स-साना बदलाव ल्याउने कोशिस गरिरहेका हुन्छन्। जस्तैः ग्याँसलाइटको उज्यालोलाई तेज बनाउने र धमिलो बनाउने काम गरिरहन्छन् र यसबाट श्रीमतीले गर्ने प्रतिक्रियालाई नकार्छन्। परिणाम स्वरुप श्रीमती बिस्तारै आफ्ना विचार, अनुभूति, निर्णय, मान्यताहरू र आफ्नो आन्तरिक विमर्शका हरेक विन्दुलाई लिएर संशयमा पर्न थाल्छिन्।
ग्याँसलाइटिङको सिधा अर्थ कसैमाथि मनोवैज्ञानिक रुपले ‘म्यानुपुलेट’ गर्नु हो। कुनै व्यक्तिलाई उसले सोचिरहेको वा महशुस गरिरहेको कुरा बिल्कु ल गलत हो भनेर सोच्न बाध्य गराउने काम ग्याँसलाइटिङ हो। हामीले आफ्ना कतिपय सम्बन्धहरूमा त्यस्ता केही व्यक्तिहरूको सामना गरिरहेका हुन्छौं जो हाम्रो भावनालाई पूरै नकार्छ र हाम्रा फैसलामाथि सवाल उठाउँछ। यो क्रमको हद त्यहाँसम्म पुग्छ, जहाँ पीडित व्यक्ति आफ्नै कुरालाई लिएर सही वा गलतको संशयमा पर्छ र आफ्ना कुरा व्यक्त गर्ने आत्मविश्वास गुमाउँछ।
शोषण र मनोविज्ञान
ग्याँसलाइटिङमा सामाजिक संरचना र योसँगै जोडिएर आउने पहिचानको अहम भूमिका हुन्छ। जस्तैः यसलाई लैंगिक विभेदमा जोडेर हेर्ने हो भने लैंगिक रुपमा समाजको माथिल्लो श्रेणीमा रहेको व्यक्ति अर्को लिंगको व्यक्तिमाथि हावी हुन्छ। खासगरी महिलाहरू आफ्नो स्वतन्त्रता, लैंगिक भूमिका, स्वविवेकको प्रयोग लगायतमा ग्याँसलाइटिङको शिकार भइरहेका हुन्छन्। त्यसैले समाज, सामाजिक संरचना र तल्लो तहका व्यक्तिमाथि भइरहेको शोषणका बारेमा अध्ययन गर्नेले ग्याँसलाइटिङलाई पनि बुझ्नुपर्ने हुन्छ।
इतिहास, समाज, साहित्य, सिनेमा, भाषा, संस्कृति, मूल्य र मान्यता लगायत विभिन्न संरचनाहरू पुरुषलाई केन्द्रमा राखेर बनेका छन्। पुरुष केन्द्रित सोच र मान्यताबाट अलग भएर वा यसलाई चुनौती दिएर यदि कुनै महिला व्यक्तिगत वा सामूहिक रुपबाट कुनै अनुभव गर्छिन् भने उनका अनुभवहरूलाई ‘मनगढन्ते’ भनिदिनु वा त्यसलाई ‘ओभर थिंकिङ’ ठानेर नकार्नु आम कुरा हो। यो ग्याँसलाइटिङको एउटा रुप हो।
यदि कसैमाथि लगातार ग्याँसलाइटिङ हुन्छ भने उसले आफ्नो व्यक्तिगत अनुभवहरूमाथि नै शंका गर्न थाल्छ। र, आफ्ना अनुभवका आधारमा बनाइएका राय र लिइएका फैसलामाथि उ अडिग हुन सक्दैन। निजी सम्बन्ध, खासगरी श्रीमान–श्रीमतीको सम्बन्धमा हिंस्रकमाथि प्रश्न उठाउन र बिरोध जनाउन नसक्ने मात्रै होइन, आफूमाथि हिंसा भइरहेको छ भन्ने कुरामा समेत आशंका पैदा हुनेगर्छ। निजी सम्बन्धमा शक्ति असमानता जस्तैः कुनै निर्णय लिनमा एक साथीको प्रभाव बढी हुनुमा ग्याँसलाइटिङले काम गरिरहेको हुन्छ। एक व्यक्ति दोस्रो व्यक्तिको दृष्टिकोण र विचारलाई आफू अनुकूल ढाल्छ चाहन्छ, ताकि उसलाई कुनै तरिकाको बिरोधको सामना गर्नु नपरोस्।
जुनसुकै अन्यायका विरुद्ध बोल्नुपर्छ। तर कतिपय अवस्था यस्तो हुन्छ, जहाँ अन्यायमा परेको व्यक्तिले आफूमाथिको अन्यायलाई पहिचान गर्न सकेको हुँदैन। जन्मजात भोग्दै आएको विभेदलाई महशुस गर्नुअघि उसमाथिको अन्यायलाई नै न्यायोचित ठहर्याउने जालझेलपूर्ण भाष्यहरू हामीकहाँ प्रशस्त छन्। ग्याँसलाइटर(ग्याँसलाइटिङ गर्ने व्यक्ति)ले बारम्बार यस्ता भाष्यको प्रयोग गर्छ र पीडितलाई आफ्नै प्रश्नमाथि शंका गर्ने बनाइदिन्छ। बेलायतकी मानसिक स्वास्थ्य कार्यकर्ता चे हिप भन्छिन्, “ग्याँसलाइटिङले विषको काम गरिरहेको हुन्छ। यसमा पीडितले आफैंमाथि शंका गरेको हुन्छ र आफ्नै वास्तविक धारणामाथि अविश्वास गरेको हुन्छ। ग्याँसलाइटिङ त्यस्तो व्यक्तिमाथि लक्षित गर्ने एउटा शानदार तरिका हो, जो पहिलेदेखि नै शक्ति असन्तुलनका कारण पीडित छ।”
सन् २०१६ मा सिटल विश्वविद्यालयका एञ्जेलिक डेविस र रोज अन्स्र्टले आफ्नो अध्ययनमा ‘नश्लीय ग्याँसलाइटिङ’ शब्दको प्रयोग गरेका थिए। उनीहरूका अनुसार नश्लीय ग्याँसलाइटिङ भनेको यदि कुनै व्यक्ति वा समूहले नश्लवाद वा जातिवादको सवाल उठाउँछ वा त्यसमाथि आक्रोश पोख्छ भने उसलाई ‘ओभरथिंकिङ’ गरेको भन्नु वा कुनै सामाजिक कारण खोज्नुको सट्टा आवाज उठाउनेलाई नै समस्या ठान्नु हो।
ग्याँसलाइटिङ र आलोचना
आलोचनामा तपाईं व्यक्तिका साथ असहमति जताउनुहुन्छ, आफ्नो विचार राख्नुहुन्छ, तर सँगैको व्यक्तिको विचारलाई तपाईं निराधार बताउँदै उनका अनुभवहरूलाई भ्रम मान्नुहुन्न। आलोचना दुईतर्फी संवाद हो। आलोचनामा आलोचक सँगैको व्यक्तिको आलोचना मान्न या नमान्न वा उसमाथि विचार गर्नका लागि स्पेस दिइन्छ। ग्याँसलाइटिङमा एक व्यक्तिले अर्को व्यक्तिको कुरालाई नकार्दै आफ्नै मात्र कुरालाई संवादको आधार र निष्कर्ष मान्छ। ग्याँसलाइटिङले शोषित मानसिक स्वास्थ्य र आत्मविश्वासमाथि नराम्रो प्रभाव पार्नेगर्छ। शोषित आफ्नो मानसिक स्वास्थ्यलाई लिएर शोषकलाई जिम्मेवार ठान्दैन। शोषित उसलाई शोषक व्यक्तिले उसलाई सही बाटो देखाउन चाहेको भ्रममा हुन्छ। उ आफ्नो शोषकमाथि यति निर्भर हुन्छ कि उ ग्याँसलाइटिङको घेराबाट बाहिर निस्किने आवश्यकताको महशुस नै गर्दैन।
ग्याँसलाइटिङबाट बाहिर निकाल्नका लागि शोषितले पहिले आफूसँग बारम्बार भइरहेका घटनालाई रेखांकित गर्नुपर्छ र ग्याँसलाइटिङ गर्ने व्यक्तिको नियतलाई बुझ्न जरुरी छ। धेरै मानिसले घरदेखि कार्यस्थलसम्म यस्तो कार्यको सामना गर्नुपरिरहेको छ। यसलाई सामना गर्नु भनेको अन्नतः पीडितले आफ्नो व्यक्तित्व गुमाउनु नै हो। आफ्ना अनुभवहरूमाथि विश्वास गर्नु र सामाजिक पृष्ठभूमिमा आफ्नो स्थान र शोषकको स्थानलाई पहिचान गर्नु अत्यन्तै जरुरी हुन्छ।
(एजेन्सीहरूको सहयोगमा)