Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दास भएर बस्नुभन्दा मर्नु ठीक भन्ने ठानेर भनेर म भूमिगत भएँ

गौरा प्रसाईँसँग कुराकानी-१

गौरा प्रसाईँ गौरा प्रसाईँ
बैशाख १०, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मेरो जन्म वि.सं. २०१३ साल फागुन २१ गते तेर्हथुमको आठराईमा भएको हो। म ६ वर्षको हुँदा हाम्रो परिवार झापा झरेको हो। मलाई सानै बेलादेखि पढ्नुपर्छ भन्ने लाग्थ्यो। हामी सानो छँदा धुलोपाटीमा माटो पिसेर राख्थ्यौँ र त्यसमा खरीले लेख्ने गथ्र्यौँ। मैले त्यसैगरी कखरा सिकेँ। ओढारमा पण्डितका छोरीहरू खेल्दै गर्दा म त्यहाँ पुग्थेँ र उनीहरूसँगै पढ्ने गर्थे।

    आमाले पनि दिनभरी एक्लै बस्नुभन्दा साथीसँग जाओस् भनेर मलाई पण्डितकहाँ पठाइदिनु हुन्थ्यो। आमाले पढ्ने उद्देश्यले पठाउनुभएको चाहिँ होइन, मैले मैरै इच्छाले पढेँ। पहाडमा हुँदा त्यसरी गुफामा बसेर पढेँ भने झापा गएपछि २०२४ तिर मेरो औपचारिक शिक्षा सुरु भयो। म त्यतिबेला ११ वर्षकी थिएँ।

    बुवाको आँटले पढ्न पाएँ

    त्यसबेला छोरीलाई स्कुल पठाउने चलन एकदम कम थियो। धेरै सम्पन्न परिवारका छोरीहरू मात्रै स्कुल जाने गर्थे। मैले चाहिँ मेरो बुवाको दृढ इच्छाका कारण स्कुल जाने मौका पाएँ। मेरो बुवा सधैँ एउटै कुरा गरिरहनुहुन्थ्यो, ‘मेरी एउटी छोरीलाई जसरी पनि पढाउँछु। यसलाई पढाएँ भने यसले समाजमा उभिएर खान सक्छे। यदि पढाइनँ भने यो छिटै मर्छे।’ समाजमा जुध्नका लागि सक्षम बनाउन शिक्षाका आवश्यकता पर्छ भन्ने कुरा मेरो बुवाले बुझ्नुभएको थियो। बुवा दशवटा करङ बन्धकी राखेर भएपनि छोरीलाई मेट्रिक पास गराउँछु भन्नुहुन्थ्यो। मैले त्यसरी पढेको हुँ।

    उहाँले परिवारका अरु सदस्यलाई पनि छोरी पढाउने विषयमा कसैले विरोध गर्न पाउँदैन भन्नुभएको थियो। ठूलो दाजु र भाउजुसँग पनि अलिअलि कुरा राख्नुभएको थियो तर कसैले पनि मानेका थिएनन्। भाउजुले मलाई एकदमै माया गर्नुहुन्थ्यो। तर उहाँमा आफूले त पढिएन भने नन्दले किन पढ्नुपर्‍यो भन्ने भावना थियो। अशिक्षाकै कारण उहाँले त्यस्तो सोच्नुभएको हो। मेरो साइँला दाजु चाहिँ मलाई पढाउनुपर्छ भन्ने सोचमा हुनुहुन्थ्यो। माइला दाजु त बाहिरै बस्नुहुन्थ्यो। मेरो बुवा धेरै धार्मिक ग्रन्थहरू अध्ययन गर्ने गर्नुहुन्थ्यो।

    पहिलोपटक स्कुल जाँदाको एउटा रोचक सम्झना छ। मैले दौरा सुरुवाल लगाएकी थिएँ। ढुंग्री, मारवाडी, चाँदीको सिक्काको माला र कल्ली लगायतका गरगहना पनि लाउने गर्थेँ। बच्चामा त्यस्तै लगाउने चलन थियो। मेरो भेष नौलो भएका कारण मलाई सबै साथीहरूले जिस्क्याउने गर्थे। साथीहरूले मेरो कपाल समाएर तान्ने, ‘हिमालचुली’ भन्ने र ‘बालुवामा राखेर पूजा गरेको जस्तो गरी’ जिस्क्याउँथे।

    साथीहरूको त्यस्तो व्यवहारका कारण मलाई स्कुल जानै मन लागेन। स्कुल जान्नँ भनेर घरमा रोएर बसेँ। बुवाले स्कुल किन नजाने भनेर सोध्नुभयो र मैले सबै कुरा बताएँ। त्यसको भोलिपल्टै बुवाले मलाई एउटा जामा किनेर ल्याइदिनुभयो र म त्यही जामा लगाएर स्कुल जान थाले। गएको एक महिनामै दिएको जाँचमा म प्रथम भएर कक्षा एकमा गएँ। मेरो आमालाई त छोरी पढाउनुहुन्न नै भन्ने थियो। छोरी पढाएर के गर्ने भन्ने गर्नुहुन्थ्यो उहाँ। सुरुसुरुमा त स्कुलमा पढ्ने छोरीहरू एकदमै कम हुन्थे पढ्ने। पछि चाहिँ स्कुल पढ्ने छोरीहरूको संख्या ह्वात्तै बढ्यो। गुरुहरूले अभिभावकलाई छोरीलाई पढाउनका लागि हौसला दिने गर्नुहुन्थ्यो।

    शिला धान खोजेर खर्च जुटाउथेँ

    म पढाईमा तेज थिएँ। शिक्षकले एकचोटी भनेका कुरा फेरि सोध्नु पर्दैनथियो। म कक्षा १ बाट प्रथम भएर दुईमा गएँ। दुईबाट फड्केर चार र चारबाट पाँचमा गएँ। त्यसबाट पनि फड्केर ७ मा गएँ। मेरो साइँला दाजु पदमप्रसाद प्रसाईंको पनि पढाई मेरै जस्तै तेज थियो। दाई माथिल्लो कक्षामा र म तल्लो कक्षामा थिएँ। हाम्रो पढाई देखेर धेरैले भन्ने गर्थे, ‘यिनीहरूलाई पढाईमा पछि पार्ने मान्छे आउन कि यिनीहरू मर्नुपर्छ कि सर्नुपर्छ।’

    मेरो पढाईमा बुवाले अरुसँग लुकेर–छलेर भएपनि सहयोग गर्नुभएको थियो। छोरी भएको नाताले घरका धेरै कामहरू आफैँ गर्नुपथ्र्यो। घाँसदाउरा गर्न जानुपथ्र्यो। भोक लाग्यो भन्न पाइँदैन थियो। थाकेँ भन्न पाइँदैन थियो। छोराहरूले पनि काम त गर्थे तर उनीहरू केही समय आराम गर्न पाउँथे।

    राति बसेर पढ्नका लागि बत्ति बाल्दा मट्टितेलको धेरै खर्च हुन्थ्यो। त्यसका लागि शिला धान खोजेर बेच्थ्यौँ र त्यसबाट आएको पैसाले मट्टितेल किन्थ्यौँ। म कहिले बिहान उठेर त कहिले साँझपख शिला धान खोज्न जान्थेँ। शिला धान बेचेर आएको पैसा नपुग्दा बुवाले थपिदिनुहुन्थ्यो। रातभरी बत्ति बालेको छ भनेर अरुले कराउँथे। त्यसैले चारैतिरबाट कपडाले छेकेर कसैले थाहा नपाउने गरी पढ्थेँ। त्यसरी पढ्दा धुवाँ खाइने, आफू कालो हुने र त्यसबाट आफूलाई असर पर्ने गथ्र्यो।

    गाउँका अरुले त प्रसाईंकी छोरी पढाएर नाक काट्ने भए, इज्जत जाने भयो, पोइला जाने जातलाई पढाएर के गर्नु, अर्काको सम्पत्तिलाई बढाएर फलाएर, फुलाएर, के काम भन्ने जस्ता टिप्पणी गर्थेँ। कुरा काट्नेदेखि लिएर नपढाउन दबाब दिनेसम्मका काम भयो।
    तर बुवाको साथ भएकाले उनीहरूले दिएको दबाबले मलाई कहिल्यै छोएन। त्यस्तो दबाब र अभावका बीचपनि धेरै दुःख र संघर्ष गरेर पढेँ। बिहान ८ बजे हिँडेर १० बजे स्कुल पुग्थ्यौँ। अहिलेको जस्तो प्रशस्त खान पाउने परिस्थिति थिएन। कहिले जाउलो खाएर हिँड्थ्यौँ, कहिले भोकै त कहिले भुटेको मकै झोलामा हालेर स्कुल जान्थ्यौँ।

    हामीसँग पढ्नलाई किताब हुन्थेन, हामी पढेको स्कुलमा अलिअलि पैसा तिर्नु पथ्र्यो। पढ्ने खर्च जुटाउन बुवाले भित्रभित्रै सहयोग गर्नुहुन्थ्यो। किनभने हाम्रो परिवार आर्थिक हिसाबले सक्षम थिएन। अरुहरूले बालाई टिका लगाएर दिएका पैसा बचाएर राख्ने गर्नुहुन्थ्यो। मैले धेरैजसो अरुले आधा लेखेर फालेका कपि बटुलेर ल्याउथेँ र खाली पन्नाहरूको कपी तयार गथेँँ। भाइका लागि पनि त्यसैगरी तयार गरिदिन्थेँ।

    गरामनीको स्कुलमा फि तिर्नुपर्ने भएकाले हामी त्यहाँबाट घैलाडुब्बा पढ्न जाने भयौँ। हामी हल्दीबारी बस्थ्यौँ। त्यहाँबाट घैलाडुब्बामा निःशुल्क पढाउँछ भनेर साइँलो दाजु र म त्यहाँ गयौँ। पछि गरामुनीको स्कुलमा बैठक बसेछ र हामीलाई निःशुल्क पढाउने र किताब कपी दिने निर्णय भएछ। हामी जेहेन्दार विद्यार्थी भएकाले अन्त पठाउनुहुँदैन भन्ने शिक्षकहरूको निचोड थियो। त्यसकारण ६ महिनापछि हामी फेरि गरामनीकै स्कुलमा फर्कियौँ। त्यतिबेला म ७ कक्षामा पढ्थेँ।

    अध्याँरो

    म सानै हुँदा महिलाहरूको अवस्था कहालीलाग्दो थियो। एउटै शब्दमा भन्नुपर्दा दिन नै अध्याँरो थियो। सुर्य झुिल्कन्थ्यो तर महिलाहरूको जीवनमा उज्यालो आउँदैन थियो। दिन र रात हुन्थ्यो तर महिलाहरूले ‘दिन’ को महशुस गर्दैन थिए। महिलाहरूले घाँस, दाउरा, पानी पँधेरोदेखि लिएर सारा काम गर्नुपर्ने बाध्यता थियो। त्यसमाथि श्रीमान र सासुससुराबाट कुटाई खाने गर्थे। किन कुट्छन् भन्ने मलाई उतिखेर थाहा हुन्थेन।

    महिलामाथि गाउँका जमिन्दारहरूबाट पनि अत्यन्तै ठूलो पीडा हुन्थ्यो। यदि कसैका घरमा राम्री अनुहारकी बुहारी बिहे गरेर ल्याएका छन् भने भोलिपल्टै गाउँका जमिन्दारले त्यो बुहारी लिएर जाने घट्नासमेत हुन्थे। उनीहरूका विरुद्ध कोही बोल्न पाउँदैन थिए। त्यसो भएपछि केटी कसरी फर्किन्थे र? कति महिलाहरू मारिन्थे त कतिले आत्महत्या गर्थे।

    थोरैले मात्रै प्रहरीमा उजुरी दिन्थे तर सुनुवाई हुँदैन थियो। किनभने ती प्रहरीलाई पनि तिनै जमिन्दारहरूले पोसेका हुन्थे। राज्य पनि तानाशाही किसिमले चलेको थियो। पञ्चायती निरंकुशता थियो। जनतालाई बोल्ने र लेख्ने स्वतन्त्रता थिएन। महिलाहरूलाई त झन् छँदै थिएन। महिलाहरू त्यतिबेला दोस्रो दर्जा भन्दा पनि तल्लो दर्जाका थिए।

    यस्तो भयावह स्थिति थियो कि कतिबेला कसले तानेर लाने हो भन्ने डर भइरहन्थ्यो। कहाँ कसका घरमा परिने पनि निश्चित हुँदैन थियो। बिहा गरेर जाँदा पनि सामन्तका दबाबमा परिन्थ्यो। तिन/चारवटा श्रीमति भएका व्यक्तिसँग सौता बनेर विवाह गर्न दबाब दिइन्थ्यो।

    गरीबमाथि जमिन्दारहरूको दमन अत्यासलाग्दो थियो। जमिन्दारले भनेको कसैले मानेन भने उनीहरूका घरमा तोडफोड गर्ने, आगो लगाउने, बालीनाली सखाप पार्ने र तहसनहस गर्ने गरिन्थ्यो। कतिपय मान्छेहरू जमिन्दारको अत्याचारबाट बाँच्नका लागि छोरी दिन पनि तयार हुन्थे। त्यसैले जसरी पनि महिलाहरूले नै पीडा भोग्नुपथ्र्यो।

    त्यो बेला धनी र गरीबबीचको खाडल अत्यन्तै ठूलो थियो। गरीबले धनीकहाँ गएर ज्याला– मजदुरी गर्नुपर्ने, अर्काको खेती गरेर खानुपर्ने र गरीबले ठाडो शिर गरेर हिँड्नै नपाउने अवस्था थियो। एकातिर राज्यको निरंकुशता र अर्कोतिर गाउँका सामन्तहरूको दबदबा सर्वत्र थियो।

    कम्युनिष्ट आन्दोलनको यात्रा

    म २०२७ सालमा ७ कक्षा पढ्दै गर्दा राजनीतिक गतिविधिमा सहभागी भएको हुँ। राजनीतिक नेताहरू लुकीलुकी विद्यार्थीहरूसँग सम्पर्क गर्ने र जाने/आउने मात्रै गर्थे। साथीहरूका चिठी लिने र दिने गर्थे। उतिखेर राजनीतिमा लागेका धेरै साथीहरू पुरुष नै हुन्थे। त्यसैले खुलेर राजनीति गर्न महिलालाई भने अप्ठ्यारो हुन्थ्यो।

    लुकीलुकी साथीहरूका चिठी आदनप्रदान गर्दा कसैले थाहा पाएर घरमा सुनाइदिएछन् र ‘यो पोइल हिँड्न लागी’ भनेर मेरो घरमा बबाल पनि भएको थियो। कहिलेकाहीँ त थाहा पाउँछन् भनेर चिठी चपाएर निल्थेँ म। ठाउँठाउँमा भेला र जमघट हुने गथ्र्यो उतिखेर। र, हामीले ‘झम्पल’ नामक पत्रिका निकाल्थ्यौँ, पत्रिकामा कविता लेख्ने गथ्र्यौँ र अरु सहयोग पनि गथ्यौँ। तर चारैतिरबाट प्रहरीहरूको निगरानी छँदै थियो।

    विद्यार्थीहरूको उतिखेर खासगरी दुईवटा समूह थियो। एउटा क्रान्तिकारी विद्यार्थीहरूको समूह र अर्को राजावादी÷मण्डलेहरूको समूह। मण्डलेहरू पञ्चायत व्यवस्थाका समर्थक थिए। त्यहाँ भिडन्त प्रायः हुन्थ्यो। हामीले केही सानोतिनो सभा गर्न थाल्यौँ भने हामीसँग मण्डलेहरू भिडन्त गर्न आउँथे।

    विद्यार्थी आन्दोलनमा लाग्न म हाम्रा गुरु नेत्र घिमिरेबाट प्रेरित भएको हुँ। उहाँ हाम्रो हेडमास्टर हुनुहुन्थ्यो। क्लास सकिएपछि उहाँले हामी केही विद्यार्थीलाई बटुलेर माक्र्सवादबारे पढाउनुहुन्थ्यो। कहिलेकाहीँ उहाँ हिलैहिलो भएर पनि कक्षामा आउनुहुन्थ्यो। केही साथीहरूले किन यो अवस्थामा आउनुभयो भनेर सोध्थे। उहाँ भन्नुहुन्थ्यो, ‘म किसानको छोरो हुँ। बिहानभरी खेतमा काम गर्नुपर्छ। मेरो जागिरले मात्रै मलाई पुग्दैन। मैले मेरा बुवा आमालाई सहयोग गर्नुपर्छ। फेरि यहाँ तिमीहरूलाई पढाउन पनि टाइममा आउनुपर्ने हुन्छ।’ उहाँको यस्ता कुराबाट पनि हामी प्रभावित भयौँ। राजनीतिमा विस्तारै लाग्नुपर्छ भनेर उहाँले हामीलाई उत्साहित बनाउनु हुन्थ्यो।

    पहिलोपटक केपी ओली चिनेँ

    विद्यार्थी आन्दोलनमै लागेका बेला हामी घैलाडुब्बामा आन्दोलन गर्न भनेर गयौँ। अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता खड्ग पकवालको नेतृत्वमा त्यहाँ गएका थियौँ। उतिखेर हाम्रा नेता उहाँहरू नै हो जस्तो लाग्थ्यो। मैले उल्लेख गरिसके कि हामी कुनै कार्यक्रममा जाँदा मण्डलेहरू हाम्रो कार्यक्रममा हस्तक्षेप गर्न आउँथे। नेताहरूले हामीलाई मण्डलेहरूदेखि भाग्नु हुन्न, लड्नुपर्छ भनेर हौस्याउँथे।

    हामी खुकुरीसहित हुर्रिएर अगाडि बढ्यौँ। मण्डलेहरूको समूह हामीलाई आक्रमण गर्न आउँदै थियो। जब दुई समूहको झम्काभेट भयो, हाम्रो समूहको नेतृत्व गरेका केपी ओली टाप कसे र झडपमा कार्यकर्ता मात्रै पर्‍यौँ। मैले त्यतिबेलै पहिलोपटक केपी ओलीको प्रवृत्ति देखेको हुँ। नेताहरू नै भागेपछि हाम्रो विचल्ली भयो। हामीमध्ये कतिपय गिरफ्तारीमा परे र कतिका हातखुट्टा भाँच्चिए।

    पछि मलाई निलम उप्रेती सरले त्यहाँबाट निकालेर घैलाडुब्बा स्कुलमा लगेर राख्नुभयो। मेरो सुरक्षाका लागि उहाँले स्कुलमा लगेर राख्नुभएको थियो। अरु साथीहरूलाई पनि बचाएर त्यहाँ राख्नुभएको कुरा पछि थाहा पाएँ। म रातभरी त्यहीँ बसे र भोलिपल्ट दाईको जिम्मामा छोड्नुभयो।

    म अहिले सम्झिन्छु, नेतृत्वको प्रवृत्ति त त्यतिबेलैदेखि बिग्रिएको रहेछ। तर कसैले चिन्न सकेनन्। आज त्यस्तो मान्छेलाई हामीले पार्टी र देशको बागडोर जिम्मा लगायौँ। फलस्वरुपः देशलाई तहसनहस पार्ने, ढाँट्ने, छल्ने र बंग्याउने काम भयो। अहिले मलाई पछुतो लागिरहेको छ। उहाँको त्यति बेलैको प्रवृत्ति अहिले मौलाएको हो। आज तिनै नेताबाट देश र जनता निम्ति बलिदान गर्नुपर्छ भन्ने भावनाबाट च्यूत भएर देशलाई यस्तो नरकतिर धकेल्ने काम भएको छ।

    भूमिगत यात्रा

    म कक्षा ८ मा पढ्दै विद्यार्थी आन्दोलनमा सहभागी हुँदै थिएँ। घरमा दुईजना सौतामाथि मेरो विवाह गरिदिने योजना बन्यो। खासगरी मेरो जेठो मामा, उहाँ महासामन्त र जमिन्दार हुनुहुन्थ्यो, उहाँको दबाबमा विवाह गर्न खोजियो। त्यस्तो ठाउँमा बिहे गरेर गई कसैको दास भएर बस्नु भन्दा बरु एकैचोटी मरिएला भनेर भूमिगत हुने सोंचमा पुगेँ।

    हामीले स्कुलकै सातजना विद्यार्थीहरूको एउटा कमिटी बनाएका थियौँ। एक एरिया, एक युनिट, एक स्क्वायड भनेर तीनवटा नियममा हामीले संगठन चलाइका थियौँ। मैले हाम्रो कमिटीमा मेरो स्थितिसँगै म भूमिगत हुने कुरा बताएँ। अरु साथीहरू पनि मसँगै भूमिगत हुन तयार हुनुभयो।

    त्यतिबेला म १४ वर्षकी थिएँ। म सानी भएपनि मलाई सबैले मान्थे। पढ्नमा तेज, गीत गाउने, कविता पनि लेख्ने र सबैसँग घुलमिल हुने स्वभाव भएकाले साना ठूला सबैको माया पाएको थिएँ। त्यसैले होला, अरु साथीहरू पनि मसँगै भूमिगत हुन तयार हुनुभयो।
    आफूभन्दा सिनियरलाई एकपटक सोध्ने कि भन्ने पनि लागेको थियो। तर कुरा खुल्ला भन्ने डरले उहाँहरूलाई नसोधी भूमिगत हुने निर्णय लिएँ। मेरा साथीहरू भक्ति आचार्य, सरस्वती न्यौपाने, सावित्री न्यौपाने, सरस्वती बस्नेत र सिता खड्का गरी हामी ६/७ जना स्कुलबाटै हिँड्ने तयारी गर्‍यौँ।

    अरु साथीहरूका घरमा थाहा पाएछन् र उहाँलाई लिएर गए। अन्तिममा बच्यौँ सिता खड्का र म। मेरो पनि साइँला दाजुले पनि थाहा पाउनुभएको थियो, देख्नुपनि भयो। तर उहाँले मलाई जान दिनुभयो। यो बेला मलाई रोक्नुहुन्न भन्ने भावना उहाँमा थियो। हिँड्ने तयारी गरेका बेला हामी सबैले पोस्टर लेखेका थियौँ। अरु साथीहरूलाई घरकाले लगेपछि हामी दुईवटी अन्तै गयौँ र राति दुई÷अढाई बजेतिर स्कुलमा आयौँ। र, ती सबै पोस्टर भित्तामा टास्यौँ।

    ‘तानाशाही पञ्चायती व्यवस्था मुर्दावाद,’ ‘यसलाई ढाल्छौँ ढाल्छौँ,’ ‘एकदिन कम्युनिष्ट पार्टीको उदय हुन्छ,’ जस्ता नारा लेखेर टाँसेका थियौँ। त्यतिबेला हामीलाई गस्ति गर्ने प्रहरीले फेला पारेको थियो। प्रहरी आएको थाहा पाएपछि हामी तुफान धानबारीतिर कुद्यौँ। पछाडि पछाडि गोली चल्दैथियो। हामी त्यहाँबाट भाग्न सफल भयौँ। त्यहाँबाट भागेर हामी राति नै चारपाने पुग्यौँ। त्यहाँ पुगेर साथी मुना सिटौलाको घरमा दुईदिन बस्यौँ। त्यहाँ उनले राख्न सक्ने स्थिति भएन। मंसिर महिनाको चिसो र भोको अवस्था भएका कराण होला, मेरी साथी सीता विरामी भइन्।

    त्यसपछि हामी घैलाडुब्बातिर लाग्यौँ। जहाँ जे पाइन्छ त्यही खाने, बरु काम गर्ने भनेर हिँड्यौँ। हिँड्दै गयौँ। लिला कट्टेलको घर बाटोमै पथ्र्यो। लिला कट्टेल पार्टीमै काम गर्नुहुन्थ्यो। उहाँ भूमिगत नै भइसक्नुभएको थियो। हामीलाई उहाँको घरपरिवारले घरमा बोलाएर राखे। त्यहाँ हामीले परिवारजनलाई हामी भूमिगत हुने कुरा सुनायौँ। उहाँहरूले हामीलाई अहिले भूमिगत हुने बेला नभएको र विद्यार्थी भएरै सहयोग गर्न सुझाव दिनुभयो। मैले भनेँ, ‘म बरु मर्न तयार छु तर घर जान्नँ।’

    मेरो घर फकिर्ने स्थिति थिएन। किनभने मलाई थाहा थियो कि घरमा मलाई कुटीकुटी मार्थे। बुवाको पनि मनस्थिति परिवर्तन भइसकेको थियो। एकातर्फ बिहेको कारणले बद्नाम भइसकेको थियो भने अर्कोतर्फ म घर छोडेर हिँडिसकेको थिएँ। मैले जिद्दि गरेपछि सितालाई चाहिँ सम्झाई बुझाई गरेर घर फर्काए। म भने भूमिगत नै भएँ ।

    यो पनि पढ्नुहोस्-

    (नेकपा एमालेको केन्द्रीय सदस्य प्रसाईँसँग नेपाल रिडर्सका लागि मेनुका बस्नेतले गरेको कुराकानीमा आधारित।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      गौरा प्रसाईँ

      गौरा प्रसाईँ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.