Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेकपा एमाले पछारिएकै होः अब उठ्छ

दलाल पूँजिवाद र अर्थतन्त्रको यो चरित्रले राजनीतिलाई कब्जामा लिन्छ। त्यसपछि उसले संसद किन्छ संसद किनेपछि सरकार किन्छ। सरकार किनेपछि न्यायालय किन्छ। र, यसरी राज्य त पर्दा पछाडिबाट अर्कैले चलाइरहेको हुन्छ।

घनश्याम भूसाल घनश्याम भूसाल
अशोज १, २०७८
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कम समयमा पनि हामीले धेरै काम गर्नुपर्ने छ। हाम्रा पुर्खाहरूको हजारौं बर्षको अनुभवहरूले हामीलाई ‘आफ्ठ्यारोमा नआत्तिन र सफ्ठ्यारोमा नमात्तिन’ दिएको शिक्षालाई आत्मसात गर्दै जिम्मेवारी पूर्वक धेरै काम गर्नुपर्ने छ। एउटा जिम्मेवार (पदमा पुगेको होइन) पार्टीले हरेक पटक यो कुरालाई ख्याल गर्नुपर्छ। एउटा जिम्मेवार पार्टीले राष्ट्रको प्रतिनिधित्व गर्छ, जसको बारेमा म केहीबेरमा चर्चा गर्नेछु। जिम्मेवार पार्टी यतिसम्म होसियार हुनुपर्छ कि आँखा झिमिक्क पार्ने समयमा पनि उ असचेत हुन मिल्दैन।

    त्यसमाथि आज हामी हाम्रो राजनीतिक जीवनमा जे बेहोर्दैछौं यस हिसाबले हामीले अझ बढी जिम्मेवारीका साथ विचार गर्नुपर्छ। नेकपा एमालेले अझ बढी जिम्मेवारीपूर्वक छलफल गर्नुपर्ने आजको तथ्य हो। म यसमा एउटा ऐतिहासिक सन्दर्भ जोड्छुः– नेपालले गएको ७० बर्षमा मूलतः एउटा कुरा खोज्यो, त्यो हो लोकतान्त्रिक स्थिरताका विकास।

    हामीले मुलुकलाई बचायौं
    यो मुलुक, यसको एकता, सम्पूर्ण नेपालीको एकता र राष्ट्रिय एकताका साथ समृद्धिको बाटोतर्फ जाने र न्याय तथा समानताका साथ अगाडि बढ्ने संकल्प नै मुलुकको संकल्प हो। गएको ७० बर्ष, जसलाई हामी आधुनिक राजनीतिको इतिहास भन्छौं, यो इतिहासभरी हामी र हाम्रा अग्रजहरूले गरेको संकल्प यही हो। तर दुर्भाग्य! यति गौरवपूर्ण इतिहासभित्र केही नकरात्मक पाटाहरू छन्। राष्ट्रिय रुपमा हामीले अलिकति सामना गर्दै आएका, पटकपटक सामना गर्दै आएका र हामीले पटकपटक सामना गर्न नसकेका केही पाटाहरू छन्।

    मैले लोकतान्त्रिक स्थिरताको कुरा गरेको छु। हामीले लोकतन्त्र र स्थिरता एकैचोटी खोजेका हौं। वि.सं. २००७ मा आएको ‘लोकतन्त्र’लाई अस्थिरताका शक्तिहरूले स्थिर हुन दिएनन्। ०१७ सालमा राजाले स्थिरताको नाममा पञ्चायत व्यवस्था ल्याए। राजाको व्यवस्था तथाकथित स्थायित्वका लागि थियो, तर लोकतन्त्रको अपहरण भयो। ०४७ सालमा सारा जनता उठेर हामीले पञ्चायती शासनलाई भत्कायौं, लोकतन्त्र ल्यायौं। तर लोकतन्त्र ल्याएको केही समयमैं फेरि अस्थिरताका शक्तिहरू सलबलाए।

    मैले पटकपटक भन्ने गरेको छु, ०४७ सालको प्रजातन्त्रले अकालमै मृत्युवरण गर्नुपर्‍यो। त्यसको अभ्यास राम्ररी हुन पाएन। स्थिरताका शक्तिहरूले त्यसलाई बीचबाटै हिंडाइदिए। त्यो अस्थिरताभित्र डरलाग्दो अस्थिरता थियो र वास्तवमा हामीले धेरै मुस्किलले मुलुकको राष्ट्रिय एकता बचायौं। अरु धेरै मुलुकहरू जस्तो हामी पनि बर्बादीतर्फ जाँदैथियौं। करीबकरीब डिलतर्फ जाँदैथियो र हामीले त्यसलाई बँचायौं।

    एमालेः राष्ट्रिय शक्ति
    हामीले ०७२ सालमा संविधान बनायौं र नेपालमा राजनीतिक अधिकार र कर्तव्यहरूको बाँडफाँडको आधारभूत मुद्दा टुंग्यायौं। यो हाम्रो लागि एउटा महत्वपूर्ण कदम हो। धेरै अन्तरविरोधपूर्ण मुद्दाहरूको असाध्यै सन्तुलित दस्तावेजका रुपमा यो संविधान आयो। तर संविधान आफैंले केही गर्ने होइन, त्यसलाई बोक्ने एउटा बलियो शक्ति चाहिन्थ्यो। नेपालको सन्दर्भमा यो शक्ति लोकतन्त्रको पक्षमा, जनपक्षीय न्याय तथा समानताको पक्षमा र खासगरी श्रमजीवि वर्गको पक्षमा हुनुपर्थ्यो।

    ०७४ सालको निर्वाचनले त्यो संविधान बोक्ने एउटा पात्र निर्माण गर्‍यो। नेकपा एमाले र नेकपा माओवादी मुलुकलाई मिलेर फेरि अस्थिरतातर्फ जान्छ कि भन्ने शंकाबाट मुक्त गर्‍यौं। तर त्यसयताका परिस्थितिमा धेरै परिवर्तहरू आए। हामीसँग एकता भएको माओवादी केन्द्रसँग विभाजित हुनुपर्‍यो र अन्ततः नेकपा एमाले विभाजित हुन पुग्यो।

    अब यहाँ प्रश्न उठ्छ। ०७२ सालमा संविधान बन्नु, ०७४ सालमा दुईवटा पार्टी गठबन्धन भएर एकता हुनु र त्यसपछि लोकतान्त्रिक स्थिरताका साथ मुलुक समाजवादतर्फ जान्छ भन्ने कुराको सैद्धान्तिक प्रत्याभूति हुनु जस्ता उपलब्धिहरूमाथि आज फेरि खेलबाड हो वा होइन? अब हामी यसको गहिरो र फराकिलो समीक्षा, दूरदृष्टि र जिम्मेवारीका साथ हिड्नुपर्ने छ।

    हाम्रो आन्दोलनका हिसावले भन्ने हो भने हामी धेरै अफ्ठ्यारोमा छौं। हामी जसरी खस्केका छौं त्यो अनुसार हेर्ने हो नेकपा एमाले “चाइनिज ग्लास” जस्तो फुटेर सय टुक्रा हुन्थ्यो। तर यो लाखौं मानिसको रगत र पसिनाको जगमा बसेको र असाध्यै तापक्रममा खारिएको फौँलादी हुनाले त्यो चोटीबाट खस्दापनि नेकपा एमाले मुलुकको सवर्था ठूलो र प्रभावकारी भूमिका खेल्ने ठाउँमा छ। नेकपा एमाले कमरेड पुष्पलाल र मदन भण्डारी जस्ता क्रान्तिकारी विचारकहरू र आन्दोलनमा सारा समर्पित गरेर पनि केही नपाएका ती गुमनाम लाखाैं नेता र कार्यकर्ताले योगदान दिएको पार्टी हो। त्यसैले हामी जति ठूलो चोटीबाट पछारिए पनि आत्तिनु हुँदैन। आज पनि नेकपा एमाले सबैभन्दा ठूलो पार्टी हो। सबैभन्दा ठूलो राष्ट्रिय शक्ति हो।

    राष्ट्रिय शक्ति हुनुको धेरै ठूलो अर्थ छ। यो सोचेर हामी मात्तिनु पनि हुँदैन। कुनै हिसाबले पनि हामीलाई मात्तिने छुट छैन। त्यसैले यो इतिहास, वर्तमान र भबिष्यको जिम्मेवारीका साथ हामीले आफ्नो बाटो तय गर्नुपर्ने छ।

    पार्टी बलियो बनाउने तरिका
    हामी राष्ट्र र राष्ट्रको विकासको कुरा गर्छौं। मैले धेरै पटक भन्ने गरेको छु, सबै कुरा हटाइदिने हो भने राष्ट्र भनेको अमुर्त हुन्छ। हिजो मूर्त राष्ट्र कहाँ हुन्थ्यो? हाम्रो सभ्याता, संस्कृति, इतिहास दुःख, सुख, आँसु, पसिना, रगत, कथा गाथा यी सारा कुराको प्रतिनिधि को थियो? त्यो प्रतिनिधि राजा थियो, राजतन्त्र थियो, राजसंस्था थियो। तर त्यो स्वयम् संस्था जनताको श्रम चुस्ने र जुकाले जस्तो टाँसिएर रगत चुस्ने एउटा परजीवी जस्तो बन्दै गएपछि त्यसलाई फाल्नुपर्ने थियो र हामीले फाल्यौं।

    राष्ट्रको प्रतिनिधित्व गर्ने त्यो खाली ठाउँ अनेक खालका जनस्तरका संगठन तथा संस्थाहरूले पूर्ति गर्छन्। हिजो जसरी राजसंस्थाले राष्ट्रको प्रतिनिधित्व गर्थ्यो। आज यो काम राजनीतिक पार्टीहरूले गर्छन्।

    कहिलेकाँही भोट दिएको पार्टीको नेतालाई रिझाएर केही सिफारिश लिएको, जागिर लिएको, ठेक्का पट्टा लिएको वा यस्तै केही काम मात्रै देख्छौं। सामान्य पत्रपत्रिकामा कहिलेकाहीँ यस्तो पनि देखिन्छ। तर राजनीतिक पार्टी राम्रो हुनु भनेको राज्य पनि बलियो हुनु हो।

    विभिन्न जातजाति, पूर्व देखि पश्चिमका भेषभूषा, भाषा, लिङ्ग र वर्गका तमाम मानिसहरू भएको देशमा ती सबैको प्रतिनिधि संस्थाहरू पनि धेरै छन्। त्यसमध्ये सबैभन्दा बढी प्रभावकारी संस्था पार्टी हुन्छ। लोकतन्त्रमा राष्ट्रको प्रतिनिधित्व सबैभन्दा बढी राजनीतिक पार्टीहरूले गर्छन्।

    नेकपा एमाले मुलुकको सर्वथा प्रभावकारी, सर्वथा बढी योगदान गरेको तथा न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा सबैभन्दा बढी योगदान गरेको पार्टी भएकाले यो पार्टीमा आज राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी वोध हुनुपर्छ। अब हामी बलियो हुनका लागि न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा अझै योगदान गर्नुपर्छ। बलियो हुनका लागि यो भन्दा कुनै तरिका छैन।

    नेकपा एमाले इतिहासमा पनि न्याय, समानता र लोकतन्त्रमा योगदान गरेर ठूलो भएको पार्टी हो। यदि हामीले यो दायित्व बिर्सियौं भने इतिहासले हामीमाथि पनि प्रश्न गर्छ। इतिहासले हामीलाई पनि इजलासमा उभ्याउँछ। एमालेले स्वयम् आफैंभित्र पनि हरखबत न्याय र समानता कायम गर्न सकेन र २१ औं शताब्दीको मान्यताका साथ लोकतान्त्रिक हुन सकेन भने यसले बाहिरको जिम्मेवारी पुरा गर्न सक्दैन।

    हामीले कहिलेकाहीँ पार्टीभित्रको लोकतन्त्र,अधिकार र कर्तव्यको कुरा गर्दा व्यक्तिको मात्रै कुरा गरेका छौं कि जस्तो लाग्छ। तर कुरा त्यस्तो होइन। यहाँभित्र ४ लाख मानिसका न्याय, समानता र यिनको लोकतान्त्रिक अधिकारलाई व्यवस्थित गर्न हामीले जति अभ्यास गर्छौं यो मुलुकका लागि एमालेले त्यो भन्दा बढी योगदान गर्न सक्छ।

    गणतन्त्रको कुरा
    लोकतन्त्रको सन्दर्भमा कुरा गर्दा गौतम बुद्धको एउटा मार्मिक प्रसङ्ग अर्थपूर्ण छ। मगधमा अजात शत्रु नामका एक राजा थिए। उनी भयंकर शक्तिशाली थिए। त्यतिखेरको उद्योग वाणिज्य र कृषिमा भएको प्रगतिका कारण मगध राज्य सम्पन्न हुँदै गएको थियो। राजा अजात शत्रुले नजिकैको एउटा पिछडिएको र गरीब गणराज्य बज्जीकामा आक्रमण गर्ने योजना बनाए। त्यही बेला गौतम बुद्ध त्यहाँ पुगे। राजाले आक्रमणबारे मत बुझ्न आफ्नो मन्त्रीलाई गौतम बुद्धकहाँ पठाए।

    गौतम बुद्धकहाँ मन्त्री पुगे र आफ्नो राज्यको योजनाका बारेमा सुनाए। गौतम बुद्धले आफ्ना नजिक बसेका प्रिय चेला आनन्दलाई सोधे, ‘ए आनन्द, मैले सुने अनुसार बज्जीका त बहुत संगठित छ हैन?’
    ‘हो बहुत संगठित छ, भगवान।’
    ‘आज पनि त्यस्तै छलफल गर्छन्?
    ‘हो त्यस्तै छलफल गर्छन्।’
    ‘त्यहाँ कोही सानो ठुलो हुँदैन?’
    ‘केही हुँदैन, त्यहाँ सानो ठूलो कोही हुँदैन। महिला पुरुष सबै उत्तिकै समान छन्। गणराज्य भनेको कोही पनि सानो हुँदैन, कोही पनि ठूलो हुँदैन। त्यसले गर्दा बज्जिका अहिले पनि त्यस्तै छ।’

    अनि भगवान बुद्धले मन्त्रीलाई हेरेर भने, ‘तिमीहरूले बज्जिहरूमाथि आक्रमण गर्ने दुस्साहस गर्‍यौ भने तिमीहरुको सत्यानाश हुनेछ। कुनै पनि हिसाबले त्यतातिर सोच्दै नसोच्‍नू।’

    यसको अर्थ बुद्धकै पालादेखि गणराज्य वा गणतन्त्र वा लोकतन्त्रले कसरी ठूला शक्तिहरूलाई झुकाइदिन्छ भन्ने कुरा प्रष्ट छ ।

    नेपालको सन्दर्भमा ठूलो शक्ति नेकपा एमालेले लोकतन्त्रलाई अभ्यास गर्दा ०७४ मा हामीले सफलता पायौं भने पार्टीभित्र न्याय र समानतालाई कायम राखिरह्यौं र अझ सुदृढ गर्दै लग्यौं भने हामीले त्यो वर्चश्व फर्काएरै छाड्नेछौं। हामी अब त्यसरी अघि बढ्नुपर्छ।

    दलाल पूँजीवाद र युवा
    हामी समृद्ध हुन चाहान्छौं। कृषिमा टाँसिएको, खेती गरेर पनि खान नपाएको, अर्थ बेरोजगार भएको, भोकभोकै बसेको, कहिले खाएको कहिले नाखएको, कहिले सुतेको कहिले नसुतेको यो ठूलो जनसंख्यालाई गुजारामुखी अर्थतन्त्रबाट मुक्त गर्नका लागि उद्योगलाई पनि हामीले सँगसँगै लैजानुपर्छ। परम्परागत कृषि र उद्योगमाथि हस्तक्षेप गर्नुपर्छ ताकी युवाहरूले देशभित्रै काम पाउनेछन्। यो विकासको मुख्य र जनता केन्द्रित बाटो हो।

    विकासको कुरा गर्दा कहिलेकाहीँ हामी बाटो, ठूलो सिमेन्टको रोड, नहरको कुरा गर्छौं र मान्छे बिर्सिन्छौं। नेकपा एमालेको विकास जनता केन्द्रित छ। मुलुकको आजको सन्दर्भमा नेकपा एमाले सबैभन्दा बढी श्रमजीविहरूको पक्षमा छ। यसर्थमा ठूलो संख्यालाई गरीबीबाट मुक्त गर्न चाहान्छ।

    सँगसँगै हामी शिक्षा र स्वास्थ्यमा बढी जोड गर्छौं। यसरी सम्भवत अबको ५–१० वर्ष कृषि, उद्योग, शिक्षा र स्वास्थ्यमा जोड दिने योजनामा निरन्तर लागिरहनुपर्ने छ। यसो गर्दा हामीले बेलाबेलामा केही समस्याहरूको सामना गर्नुपर्ने हुन्छ, गरेका पनि छौं। हाम्रो जस्तो समस्या अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका देशहरूमा पनि छन्। हामीले त हाम्रो लोकतान्त्रिक अधिकार आफैं लडेर ल्याएका छौं।

    यो संसदिय व्यवस्थामा जसले बढी भोट पाउँछ त्यसले जित्छ भन्ने मान्यता अन्तर्गत जसरी पनि भोट पाउनुपर्छ भन्ने हिसाबले सम्पूर्ण चुनाव प्रक्रिया ध्वस्त हुन्छ र दलाल पूँजीवादले कब्जा गरिदिन्छ। हाम्रो लागि यो एउटा समस्या हो। दोस्रो समस्या, स्वयम् दलाल पूँजीवाद भनेको रोजगारी सिर्जना नगर्ने तर नाफा कमाइरहने पूँजीवादको चरित्र हो। त्यस्तो पूँजीवादले नाफा कमाइरहन्छ। तिनको नाफा बर्षेनी बढीरहन्छ। त्यसले उद्यम खोल्दैन, उद्यम नखोलेपछि रोजगारी खुल्दैन, रोजगारी नखुलेपछि कृषिमा गाँसिएका हाम्रा युवाले जागिर पाउँदैनन् र खाडीतिर दगुर्छन्।

    यो डरलाग्दो समस्या हो। हामीकहाँ मात्रै होइन, संसारभरी कै डरलाग्दो समस्या हो। लोकतन्त्रलाई बलियो बनाएर समाजवादतर्फ जाने हाम्रो बाटोमा दलाल पूँजीवादले अफ्ठ्यारो खडा गर्दैछ। एक त नीतिगत रुपमा अर्थतन्त्रको चरित्रको कारणले पनि समस्या गर्छ। यसले पार्टीभित्रपनि प्रभाव पार्छ। पार्टीमा तलदेखि माथिको निकायमा हेर्ने हो भने एक किसिमको तह बनेको छ। अर्थतन्त्रमा हुने समस्याले गाउँ कमिटीमा हुनेको अवस्था ठिक्क, त्यसभन्दा माथि हुने अलि धनी, त्यो भन्दा माथि हुने अलि बढी धनी हुनेगरीको तह निर्माण गरेको हुन्छ।

    दलाल पूँजिवाद र अर्थतन्त्रको यो चरित्रले राजनीतिलाई कब्जामा लिन्छ। त्यसपछि उसले संसद किन्छ संसद किनेपछि सरकार किन्छ। सरकार किनेपछि न्यायालय किन्छ। र, यसरी राज्य त पर्दा पछाडिबाट अर्कैले चलाइरहेको हुन्छ। जनता तिरिरहेका हुन्छन्, मेहनत गरिरहेका हुन्छन्, जिन्दावाद/मूर्दावाद गरिरहेका हुन्छन्। तर देशको विकास हुँदैन, जनताको मेहनतको फल माथिल्लो तप्काले मात्रै खान्छ।

    यसर्थ हामी लड्ने भनेको दलाल पूँजीवादविरुद्ध हो। पार्टीभित्र र बाहिर हामी दलाल पूँजीवादविरुद्ध लड्नुपर्छ। यो काम काँग्रेसले गर्नुपर्छ। माधव नेपाल कमरेडको पार्टीले गरे पनि हुन्थ्यो। तर आजको दिनमा यदि नेकपा एमालेले यो काम गरेन भने अरु कसैले गरेर यो काम हुँदैन। अरु कसैले गरेर यो पूरा हुँदैन।

    यसका लागि एमालेले नै लड्नुपर्थ्यो। तर नेकपा एमाले आज जिम्मेवार भइदिएन र जिम्मेवारीका साथ भूमिका खेल्नुपर्ने शक्तिमा भइदिएन। यो म दाबीका साथ भन्न सक्छु। नेकपा एमाले कुनै हिसाबले आफ्ना नीतिहरूबाट पथभ्रष्ट भइदियो भने यो मुलुकको भाग्य के हुन्छ ? किन यस कुराबारे राजनीतिशास्त्री,अर्थशास्त्री र समाजशास्त्रीहरूले बहस गरेनन्छ? मिडियामा यसबारे किन छलफल भएको छैन? अब छलफल होस्।

    बाँचेका मान्छेको दायित्व
    मैले पटक–पटक भन्ने गरेको छु सामाजिक र साँस्कृतिक रुपले तलसम्म जरा गाडिसकेको यो पार्टी जसको लोकतान्त्रिक न्याय र समानताको आन्दोलनको इतिहास छ र यो पार्टीको अभावको पूर्ति अरु कुनै पार्टीले गर्न सक्दैन। यसले गर्दा न्याय र समानतामा योगदान गर्न सक्ने नेकपा एमालेको निर्माण गर्नु हामी बाँचेका मान्छेहरूको दायित्व हो।

    आफ्नो–आफ्नो पिँढीले आफ्नोआफ्नो काम गर्छ। नेकपा एमालेलाई बलियो बनाउन आज न्याय, समानता र लोकतन्त्रको आन्दोलनमा लागेर बाँचेको पिँढीले गर्नुपर्ने हो। यो कुरा एमालेभित्र र विभाजित हुने नेतृत्वका कमरेडहरुलाई हामीले बुझाउन सकेनौं। उहाँहरु आफैले नबुझेको पनि होइन भन्ने लाग्छ। तर किन उहाँहरुले बुझे जस्तो गरिदिनुभएन? वा किन बुझिदिनुभएन?

    नेकपा एमाले विभाजित भएको अवस्था छ। तर मैले सुरुमा भनेजस्तो लोकतान्त्रिक स्थिरताका साथ विकास गर्ने आकांक्षाका हिसाबले अघि बढ्ने कुरा विभाजनमा जाने कमरेडहरुले बुझ्नुपर्थ्यो । योबीचमा कसले कति गल्ति गरे, हामी समीक्षा गर्ने छौं। यसमा अन्यथा नलिइदिनु होला, हामी यो बीचमा भाँडिएका हौं।

    अब फेरि हामी घाइते भएका छौं। अब हामीले ठण्डा दिमागले सोचौं। म बाट के कमी भएको थियो र अर्कोबाट के कमी भएको थियो यी सबै प्रश्नलाई एकै ठाउँमा ल्याऔं। “म मुलुक र जनताको इच्छा विपरित जान्नँ” भनेर खाएको कसमको कम्तिमा इमान राखौं। यसो गर्‍यौं भने गल्ति कस्को भनेर दुधको दुध पानीको पानी हुन्छ।

    व्यक्तिको कुरा नगरौं। समूह र पार्टीको कुरा गर्ने हो भने हामी र उहाँहरू सबैले बुझ्नुहुन्छ। अहिले तत्काल केही समय बुझ्नुभएन पनि अब आउने विधान महधिवेशनबाट समेटिएर अगाडि बढ्नेगरी आउनका लागि हामी विभाजित भएर जाने कमरेडहरूलाई बुझाउने छौं। यसरी अगाडि बढ्नका लागि हामीले अलि परसम्म सोच्नुपर्छ। हाम्रो बोली, वचन र व्यवहार त्यही अनुसार हुनुपर्छ। हामीले गाली गर्न, रिस गर्न र प्रतिस्पर्धा गर्न लायक कोही पनि छैन। यदि हामीभित्र केही कमजोरी र समस्या छन् भने हामी आफैंभित्रै हेर्छौं र हामी भित्रैका कमजोरी सुधार्छौं, अगाडि बढ्छौं।

    त्यसलै म फेरि दोहोर्‍याउँछु, यो नेकपा एमाले पछारिएको मात्र हो। अब उठ्छ, धुलो टकटक्याउँछ र अगाडि बढ्छ।

    रुपन्देहीमा आयोजित नेकपा एमालेको बृहत कार्यकर्ता भेलामा एमाले उपमहासचिव घनश्याम भूसालले गरेको सम्बोधनको सम्पादित अंश।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.