Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दलाल पूँजिवाद टुप्पीसम्म पुगिसक्यो

घनश्याम भूसाल घनश्याम भूसाल
बैशाख १२, २०७८
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कम्युनिष्ट पार्टी स्थापना गर्ने संस्थापकहरू, कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने शहीदहरू र लाखौँ कार्यकर्ताहरू जो इतिहासमा सामान्यतः गुमनाम भए र उनीहरूले एउटै परिचय बनाए। कम्युनिष्ट आन्दोलनको निर्माताका रूपमा हजारौँ र लाखौहरूको एउटामात्रै परिचय भयो। अथवा एउटा मात्रै परिचयमा उनीहरू सबै समाहित भए र यति ठूलो आन्दोलन निर्माण गरे। कम्युनिष्ट आन्दोलनले नेपालको राजनीतिमा क्रमशः र पछिल्ला दिनमा अझ तीव्र असाधारण प्रभावहरू पार्‍यो। यस अवस्थामा ती संस्थापकहरू र यस आन्दोलनका समस्त शहीदहरूलाई सम्झन्छु, उहाँहरूलाई श्रद्धा गर्छु र ती अग्रजहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु।

    त्यो बेलामा कम्युनिष्ट पार्टीको स्थापना गर्ने काम आफैंमा एक अप्ठ्यारो थियो किनभने २००६ सालको नेपालको त्यो राजनीतिक, सामाजिक र आर्थिक अवस्थामा त्यत्रो चेतना, समाजवादको चेतना आफैँमा महत्वको विषय थियो। किनकि मानव जातिको सामाजिक राजनीतिक चेतनाको पछिल्लो रूप समाजवादी चेतना हो। त्यो चेतनाका साथ पार्टी स्थापना गर्ने कुरा आफैंमा धेरै महत्वपूर्ण त थियो नै, धेरै उन्नत चेतनाले मात्र गर्न सक्ने कुरा थियो त्यो।

    अरुको दुःख र समाजवादी चेतना
    कहिलेकाहीँ पूँजीवादका प्रचार, बाजागाजा, रङ्ग–रमाइलो र समाजवादी चेतनाविरुद्ध गरिएका प्रचारले समाजवादलाई अलि पुरानो र सढेगलेको देखाउने गरेका छन्। तर फेरि पनि इतिहासमा चेतनाका हिसाबले यो सबैभन्दा उन्नत चेतना हो। र, हरेक युगको हरेक असल मान्छे कुनै न कुनै हिसाबले समाजवादी थियो भन्ने लाग्छ। किनभने त्यस्ता मान्छेहरूले आफ्ना मात्रै कुरा गरेनन्। समग्र मनुष्य जातिको कुरा गरे। जसले मनुष्य जातिको सुखदुःखको कुरा गर्छ, मानिसका समस्याहरू मिलाउने कुरा गर्छ अथवा हरेक मनुष्य जातिका हरेक सदस्यहरूको सुख नै समस्त मानव जातिको सुख हो भन्ठान्छ। र, कसैको दुःखलाई समस्त मानव जातिकै दुःख हो भन्ठान्छ भने यो चेतना नै समाजवादी चेतना हो। त्यस अर्थमा, त्यो सर्वदा पवित्र र सबैभन्दा उन्नत चेतना हो।

    आज कम्युनिष्ट पार्टीभित्रको समस्याको कुरा गर्दा यो समस्या कम्युनिष्ट पार्टीका खास नेता, खास सदस्य, खास पदाधिकारीहरूको समस्या हो, यो केबल केही मान्छेहरूको झगडाको रुपमा चित्रित गरिएको छ। अहिले कमरेड ओलीको कुरा गर्दा, पार्टीभित्र छलफलको माग गर्नेहरू र विधिका कुरा गर्नेहरू नै उनका लागि समस्या भए। एकदम व्यक्तिको रूपमा हेर्दा कमरेड ओलीचाहिँ समस्या हो र उहाँका सबै कुरा छोडेर व्यक्ति मात्रै नहुँदा अहिलेका समस्याहरू समाधान हुन्थ्यो कि भन्ने कतिपय साथीहरूलाई लाग्न पनि सक्छ।

    समस्या

    कुरा त्यसो मात्रै होइन, अर्को तरिकाले हेर्दा यो कुरा पनि हो। ओलीजी किन समस्या हो वा हामी किन समस्या हौँ? अहिले पार्टीमा लोकतन्त्र चाहिन्छ भन्नेहरू किन समस्या हुन्? ‘मैले जे भन्छु त्यही पार्टीको लोकतन्त्र हो’ भन्ने कुरा किन समस्या हो? एक व्यक्तिको त्यस्तो दाबी किन समस्या हो? कमरेड ओलीका ती प्रवृत्तिहरू किन समस्या हुन्? र, यी सबै हाम्रा समस्या नै हुन्। अथवा हामीले समाधान गर्नुपर्ने प्रश्न हुन् भन्ने मलाई लाग्छ।

    अझ, यसलाई विस्तार गर्दै जाने हो भने अस्ति अदालतले एउटा निर्णय गर्‍यो। कम्युनिष्ट पार्टी, जो हिजो एकिकृत भएर ३ वर्ष चलिसकेको थियो, त्यो पार्टीको एकतालाई उसले अस्विकार गर्‍यो। त्यस अर्थमा त्यो वैधानिक र विधिपूर्वक भएन भनेर गठन भएर ३ वर्षसम्म चलेको हाम्रो कम्युनिष्ट पार्टीलाई पूर्ववत् अवस्थामा अदालतले फर्काइदियो। यो पनि एउटा हाम्रो हाम्रो राज्यको असाध्यै गहिरो समस्या पनि हो।

    बाहिरबाट हेर्दा त्यो त अदालतको निर्णय हो, मान्दिनुपर्छ भन्ने लागेको छ। यसको आलोचना गर्दै यसलाई मान्ने हो भन्ने लागेको छ। तर हाम्रो लोकतन्त्रका लागि अदालत, ती न्यायधिशहरू र तिनको यो फैसला भोलिका दिनमा यो धेरै ठूलो समस्या बन्ने छ। हाम्रो समग्र राजनीतिकै लागि यो आफैँमा चुनौती पनि हो। अहिले हेर्दाखेरी पार्टीमा धेरै समस्या छन्। ओलीजी महन्थ ठाकुरजीसँग कोल्याब्रेसन गर्दै हुनुहुन्छ। तर पार्टीभित्र आफैंसँग लडेका र आफूभन्दा एक हिसाबले सिनियर मान्छेलाई पार्टीबाट निकाल्दै हुनुहुन्छ। यस्ता विरोधाभासहरू किन हुन्छन्? यी पनि हाम्रै समस्याहरू हुन्।

    त्यस्तै, अहिले देशमा प्रमुख प्रतिपक्षी दल छ। तर प्रमुख प्रतिपक्षले केही संवैधानिक नियुक्तिमा भागबण्डा खोजेर हिँड्छ। यो चाहिँ लोकतन्त्रको समस्या हो। आजको राजनीतिको समस्या हो। यो पनि हाम्रो आफ्नो कम्युनिष्ट पार्टीकै पनि समस्या हो। यस्ता यी तमाम चिजहरू भित्रका, बाहिरका र आजका राजनीतिका सबै समस्याहरू हाम्रै समस्या हुन् भन्ने हिसाबले हामीले हेर्नुपर्छ भन्ने लाग्छ मलाई।

    हाम्रो राज्यको, सरकारको, राज्यका सबै अंगको, प्रतिपक्षको र अरु राजनीतिक पार्टीहरूको यी तमाम मामलाहरूलाई हामीले सबैलाई अलग–अलग समाधान गर्न र अलग–अलग विश्लेषण, अलग–अलग कारणहरू निकाल्न थाल्यौँ भने हामी गलत बाटोमा पुग्छौँ। हामी के बुझ्छौँ भने हरेक युगमा एउटा यस्तो खास समस्या हुन्छ, जसले अरु सबै सहायक समस्याहरूलाई निर्धारित गरेको वा प्रभावित पारेको हुन्छ। यो कुरा सामान्यतः समाज विज्ञानका जो सुकैलाई थाहा छ।

    समाज र संविधानको अन्तरविरोध

    आज नेकपा एमालेको प्रश्न, कम्युनिष्ट आन्दोलनको प्रश्न, राज्यको प्रश्न, राज्यका अंगहरूको प्रश्न, त्यसका प्रमुखहरूको प्रश्न, त्यसका सञ्चालनको प्रश्नलगायतका प्रश्नहरू किन आएको छ त? आजको प्रश्नलाई प्रथम दृष्टिमा हेर्दा हामीले जुन संविधान बनाएका छौँ, यो संविधान र यो संविधानले एउटा परिस्थिति सिर्जना गरेको छ। एउटा संरचना सिर्जना गरेको छ। एउटा राजनीतिक संकल्प सिर्जना गरेको छ। यो संविधानलाई हामी कहाँ लागू गर्छौँ? पक्कै पनि, यही समाजमा।

    तर यो समाजमा यो संविधान लागु गर्नका लागि त्यति सजिलो छैन। किनकि यो संविधान आफैँमा लोकतान्त्रिक, वामपन्थी र प्रगतिशील छ। र, ख्याल राख्नु पर्ने कुरा यो छ कि यो संविधान र हाम्रो समाज बाझिएको छ। यी दुबै मिलिरहेका छैनन्। यो समाजको प्रतिनिधित्व यहाँका राजनीतिक पार्टीहरूले गर्छन्। यसलाई संक्षेपीकरण गर्दा, नेपाली समाजको बर्चश्वशाली दलाल पूँजीवाद र यसले सिर्जना गरेको राजनीति र राजनीतिका पात्रहरू र यो संविधानका बीचमा गहिरो अन्तरविरोध छ।

    एकातरि संविधान छ, अर्कातिर यो समाज। समाजका प्रतिनिधिहरू राजनीतिक पात्रहरू हुन्। यो समाजको आर्थिक–सामाजिक व्यवस्था र राजनीतिक व्यवस्था एउटा त्यस्तो बनोट हो, जो हाम्रो अहिलेको संविधानसँग अन्तरविरोध राख्छ। यो संविधानले सम्पूर्ण नागरिकहरूको शिक्षाको ग्यारेन्टीको कुरा गर्छ, स्वास्थ्यको ग्यारन्टीको कुरा गर्छ। गुणस्तरीय शिक्षा र स्वास्थ्यको ग्यारेन्टीको कुरा गर्छ। कामको कुरा गर्छ, कामको ग्यारेन्टीको कुरा गर्छ। र, यसले हाम्रोजस्तो जातजाति, क्षेत्र, लिंग, वर्णका मान्छेहरूको अधिकारहरूको कुरा गर्छ।

    यदि यो संविधानलाई कार्यान्वयन गर्ने हो भने निस्सन्देह राष्ट्रिय एकताका साथ वैभवको सृष्टि गर्ने, त्यो वैभवलाई फेरि सबै जाति, जनजाति, भाषा, क्षेत्र, लिंग, वर्ण र वर्गका जनताको बीचमा समानतापूर्ण वितरणहरूको माग गर्छ। हामी समाजवादतिर जाने हो, समृद्धिका साथ समाजवादतिर जाने हो भन्नुको अर्थ अब हामीले उत्पादन गर्नुपर्ने छ। र, त्यो उत्पादनलाई बढीभन्दा बढी न्यायिक रूपमा वितरण गर्नुपर्ने छ। यदि त्यस्तो हो भने, त्यसले बनाउने कानुनहरू न्यायपूर्ण हुनुपर्नेछ, त्यसलाई बोक्ने राज्य न्यायपूर्ण हुनुपर्नेछ। र, त्यो बोक्ने राजनीतकि पार्टीहरू न्यायपूर्ण हुनुपर्नेछ। कार्यकर्ताहरू न्यायपूर्ण हुनुपर्र्नेछ। सम्पूर्ण राजनीति न्यायपूर्ण हुनुपर्नेछ।

    यहीँनिर समस्या छ। मुलुकले खोजेको त्यस्तो संविधान छ। प्रगतिशील, वामपन्थी र लोकतान्त्रिक संविधान छ। त्यतातिर जानका लागि समाज, समाजको यो दलाल पूँजीपति वर्ग, जो बर्चश्वशाली छ, त्यो वर्ग र त्यसले सिर्जना गरेका, निर्धारण गरेका र प्रभावित पारेका राजनीतिक पार्टीहरू र तिनले सिर्जना गरेका राजनीतिक परिस्थिति भने संविधानको अनुकूल छैन। यसैका बीचमा अन्तरविरोध छ ।

    बजरङ्ग दल

    हाम्रा पार्टीहरू र नेताहरूलाई हेर्दा, तिनले यो संविधानलाई बोक्छन् कि बोक्दैनन्? तिनका भाषणहरू हेर्नु्स्, तिनका निर्णयहरू हेर्नुस्, तिनका गतिविधि हेर्नुस्। तिनका सम्बन्ध र गन्तव्यहरूलाई हेर्नुस्। हामीले त्यत्रो क्रान्तिकारी संविधान बनाएको नेपाली राजनीति, अनि त्यसको अगुवा नेकपा एमाले। त्यसका अध्यक्ष केपी अहिले ओली राम र सीताको मूर्ति बनाएर, बोकेर, राजनीतिमा धर्मलाई समेत गिजोलेर, पार्टीलाई बजरंग दल बनाएर हिँड्न खोज्दैछन्। यस्तो परिस्थिति बन्दैछ किन बन्दैछ त?

    यो नै मूल प्रश्न हो अहिलको। व्यक्तिको विरोधको कुरा होइन। बरु विरोध गर्न लायक व्यक्ति जन्मिने कस्तो सामाजिक परिस्थिति हो यो? कस्तो सामाजिक र आर्थिक परिस्थितिले यस्ता व्यक्ति जन्माउँछ भन्ने कुरामा हाम्रो ध्यान राम्ररी गएन भने हामीले समस्याको जरोलाई राम्ररी पत्ता लगाउँदैनौ। त्यसलाई बुझदैनौँ र त्यसको समाधानतर्फ हाम्रा गतिविधिहरू लक्षित हुँदैनन्। त्यस हिसाबले हेर्दाखेरी चाहिँ आजको संकट दलाल पूँजीवादी सामाजिक–आर्थिक व्यवस्था हो। र, त्यो सामाजिक आर्थिक व्यवस्थाका प्रतिनिधिहरू यिनै राजनीतिक पार्टीहरू हुन्। तिनले बनाएको राजनीतिक परिस्थिति र यो संविधानमा उल्लेखित अधिकारहरूबीच प्रशस्त अन्तरविरोधहरू छन्। तिनै अन्तरविरोधहरू नै आजको संकट हो भन्ने लाग्छ।

    यहाँबाटै हामीले हाम्रा संकटहरूलाई नियाल्नुपर्छ। पार्टीभित्रका हाम्रा अन्तरविरोधहरूलाई हेर्नुपर्छ। पूँजीवाद जहिल्यै केन्द्रीकरणतर्फ अगाडि बढ्छ। बढीभन्दा बढी नाफाका लागि धेरै भन्दा धेरै पूँजी कमाउनु पर्छ र धेरै पूँजी कमाउनका लागि पूँजिवादले आफूलाई विस्तार गर्दै जानुपर्छ। केन्द्रिकृत गर्दै जानुपर्छ। जसरी दलाल पूँजीवादको त्यो प्रतिश्पर्धामा ठूलो दलाल पूँजीपति र तिनका संस्थाहरू बलिया बन्दै जान्छन्, तपार्इँ ठ्याक्कै तुलना गरेर हेर्नुस्, जुनजुन रूपमा दलाल पूँजीवादको प्रतिस्पर्धामा एउटा बर्चस्व स्थापित गर्ने घटना वा गठबन्धन बढ्दै जान्छन्, त्यतिखेर राज्यमा फेरि शक्तिको केन्द्रिकरण हुँदै जान्छ।

    शक्तिको केन्द्रीकरण

    नेपालको अहिलेकै राजनीतिमा हेर्नुहुन्छ भने अहिले प्रधानमन्त्री वा माथिका मान्छेलाई किन त्यति धेरै अधिकार चाहिन्छ? कि तिनले चाहेर वा सोचेर मात्रै हो? जो नेताहरू लोकतान्त्रिक थिए, तिनीहरूले नचाहेर लोकतान्त्रिक भएको र जो बढी निरंकुश छन्, तिनीहरूले चाहेर त्यस्तो भएको हो? त्यस्तो होइन। बरु दलाल पूँजीवादको केन्द्रिकरणको तुलनामा, त्यो अनुपातमा नै त्यही हिसाबले नै राजनीतिक सत्तामा पनि दलाल पूँजीवादको स्वार्थको रक्षा गरिन्छ, दलाल पूँजीवादको राजनीति पनि केन्द्रिकृत हुँदै जान्छ। र, त्यसको सत्ता पनि त्यति बढी केन्द्रिकृत हुँदै जान्छ।

    अहिलेको राज्यमा हुँदै गरेका एकिकरण र केन्द्रिकरणलाई, कार्यपालिकाले गरेका निर्णयलाई न्यायपालिकाले सघाउने र न्यायापालिका एउटा राजनीतिक संस्थाजस्तो देखएिको छ। राजनीतिक संस्थाहरू चाहिँ कानुनका कुरा गर्ने भएका छन्। यस्तो उल्टो र विरोधाभास किन देखिँदैछ? यसरी राजनीति केन्द्रिकृत हुँदै जाने, राज्यसत्ता केन्द्रिकृत हुँदै जाने, कार्यकारिणी केन्द्रिकृत हुँदै जाने र समग्र राज्य र राज्यका अंगमा यसका प्रभाव बढ्दै गएको देखिएको छ। यो एउटै हुन् कि जस्तो देखिएको छ।

    राज्यको राजनीतिमा भएका मात्रै कुरा होइन, अरु पार्टीहरूतर्फ पनि हेर्नुस्। अरु पार्टीहरूमा किन त्यस्ता विवादहरू छन् र त्यहाँभित्र पनि शक्तिको केन्द्रिकरण छ। र, माथि पुगेकाले विरोधी स्वरहरूलाई दबाउने र लोकतान्त्रिक स्वरहरूलाई दबाएर जाने अभ्यास भइरहेछ। प्रमुख प्रतिपक्ष र अरु दलहरूमा हेर्नु भयो भने त्यो देखिन्छ ।

    दलाल पूँजीवादको प्रतिस्पर्धा र त्यसको केन्द्रिकरण, राजनीतिमा यो आएको छ, राजनीतिक पार्टीहरूमा आएको छ। सरकार र राज्यसत्तामा यो प्रवेश गरेको छ। यो बनोट अहिले सर्वत्र बन्दैछ। हिजो ४७ सालपछि दलाल पूँजीवादमाथि संकट आएको थियो। दलाल पूँजीवादमाथि संकट आउनु भनेको उसले आफ्ना संकटहरू समाधान गर्न नसक्नु हो। दलाल पँुजीवादको प्रतिनिधित्व गर्ने राज्यले पनि समस्या समाधान गर्न सकेन।

    दलाल पूँजिवादको चुंगुल

    सोही कारणले गर्दा राजा आए। ज्ञानेन्द्र पनि त्यही क्रममा आएका हुन्। सामन्तवाद ल्याउन त्यो आएको थिएन। दलाल पूँजीवादकै संकट समाधान गर्न भनेर राजा आएका थिए। विभिन्न विद्रोहलाई दबाउन सकिन्छ भनेर पँुजीवादले त्यसलाई ल्याएको थियो। क्रान्तिकारी ज्वारभाटा र सामाजिक जागरणको ज्वारभाटा अगाडि आयो। जब सकेन तब दलाल पूँजिवाद हार्‍यो।

    ६२/६३ को आन्दोलनमा दलाल पूँजीपति वर्गको राजनीतिक व्यक्तित्व पराजित भयो र लामो राजनीतिक संकटमा त्यसले अनेक प्रयत्नहरू गर्‍यो। संविधानसभा विघटनदेखि लिएर अस्थिरताका रूपमा त्यो अभिव्यक्त भएको थियो। तर जनतामा भएको क्रान्तिकारी प्रभावले जित्यो र संविधान बन्यो। संविधान बनिसकेपछि अब एउटा शान्तिको अवस्था आयो र त्यो शान्तिको अवस्थामा दलाल पूँजीवादले आफ्ना राष्ट्रिय र अन्र्तरािष्टय जे–जे सम्बन्ध हुन्, तिनका तानाबानालाई कस्दै गयो। बुन्दै गयो र बलियो बनाउँदै गयो। र, क्रमशः हाम्रो राजनीति र राजनीतिक पार्टीहरूलाई फेरि आफ्नो कब्जामा लिँदै गयो।

    र, आज हाम्रो पार्टीभित्र रहेको विवादलाई, खासगरी नेकपा एमालेभित्र देखिएको विवादलाई यस रुपमा हामीले हेर्नुपर्छ। हिजो, क्रान्तिको बेलामा, क्रान्ति सम्पन्न भइसकेकपछि र त्यसपछिको प्रक्रियामा हामी तल वा माथि हुँदाखेरी हाम्रो गति र हाम्रा एजेण्डा कसरी अगाडि जाँदै थिए? पार्टी कसरी अगाडि जाँदै थियो? पार्टीले कसरी छलफल गर्दै थियो? ती एजेण्डाहरूमा हाम्रो पार्टी कसरी सहभागी हुँदै थियो? अग्रगमनका लागि पार्टी कसरी सहभागी हुँदै थियो?

    ती चरणहरूलाई हेर्नुहोस् र संविधान बनिसकेपछि हिजो हामीले प्राप्त गरेका ती राजनीतिक उपलब्धिलाई उल्ट्याउने गरी हाम्रो पार्टी आज फेरि किन समस्याग्रस्त बन्दै छ? हिजो एकचोटी रक्षात्मक भएको दलाल पूँजीवाद फेरि संगठित हुँदै आएको छ र एकपछि अर्को गरी हाम्रो राजनीति र हाम्रो पार्टीलाई पनि प्रभावित पार्दै लिएर गएको छ त्यसले। मैले भन्दै आएको छु, यसमाथि अझै छलफल हो्स्।

    आजको नेकपा एमालेको समस्या भनेको यो संविधान बोक्न सक्ने पार्टीको रूपमा यसलाई उभ्याउने हो कि वा राजनीतिमा हिजोको जुन सामाजिक र आर्थिक हितहरूको प्रतिनिधित्व गर्ने पुरातन शक्ति हुन्, तिनीहरूसँगै सहकार्य गरेर जाने हो? यही कुरा नै अहिलेको एमालेको भित्रको आधारभूत समस्या हो।

    यसमा हामीले अझै छलफल गर्न सकेनौँ। तथ्य यही हो कि होइन भन्ने बारेमा हामीले छलफल गर्ने, त्यसका चरित्रलाई दुनियाँ र हाम्रा जनताहरूकहाँ लैजाने, खासगरी श्रमजिवी वर्ग, बौद्धिक वर्ग र राष्ट्रिय पूँजीपति वर्गसम्मकहाँ समेत लिएर जाने काम भएन। तर राजनीतिक पार्टीले गर्नुपर्ने काम हो त्यो। र, त्यसरी ती समस्त जनवर्गलाई सुसंगठित गर्दै राष्ट्रिय पूँजीको दायरालाई हामीले बढाउनुपर्ने छ।

    त्यो दायरालाई विकास गर्दै र बढाउँदै लैजानुपर्ने छ। र, जति हामी पूँजिको दायरा बढाउँदै लान्छैँ, त्यसले सिर्जना गर्ने वैभवलाई समाजमा समानतापूर्ण वितरणको व्यवस्थाका साथ हामी अघि बढ्नुपर्ने हो। त्यसतर्फ हामी जानुपर्ने हो। हाम्रो काम हो त्यो। तर हामी त्यतापट्टि गइरहेका छैनौँ। नेकपा नै गठन गरिसकेपछि, त्यत्रो शक्तिको निर्माण गरिसकेपछि हामी कता लाग्यौँ? हामी त्यो बाटोतिर लागेनौँ।

    चुच्चे रेलको चकचक

    मैले भन्दै आएको छु, राष्ट्रिय पूँजीको निर्माण गर्ने र समस्त जनतालाई त्यसका वरिपरि गोलबन्द गर्ने र त्यसको वैभवलाई वितरण गर्दै क्रमशः अगाढि बढ्ने बाटोतिर हामी गएनौँ। बरु हामी आफैँले शिक्षा, स्वास्थ्य, बाटोघाटो र राज्यले दिनुपर्ने सेवासुविधाजस्ता तमाम कुरा र खासगरी रोजगारीको कुरालाई छोडेर ‘विकास भनेको चुच्चे रेल’ हो भन्ने दिशामा अघि बढ्यौँ। त्यसतर्फ हामीले बढ्ता जोड दियौँ र मान्छेको ध्यान त्यतापटि लग्यौँ।

    हाम्रो नागरिक बहसलाई चुच्चे रेल र भ्युटावरतर्फ लिएर गयौँ हामी। अहिले पनि रानीपोखरीको कुरा गरेर हामी विकास भयो भन्दैछौँ। यता, धरहरा बन्दैछ। वास्तवमा हाम्रो आवश्यकताका हिसाबले हामी जहाँ छौँ, जुन भूराजनीतिमा छौँ, हाम्रा दाहिने र देब्रेतिरठूला शक्तिहरू छन्, तिनीहरूले जसरी विकास गर्दैछन्, त्यस हिसाबले जाँदा त वास्तवमा धरहरा महानगरपालिकाको योजनाभित्र राखेर मेयरले गर्ने काम हो। धरहराको कुरा, रानीपोखरीका कुरा र तुइनका कुराहरू पालिकाले गर्ने कुरा हो।

    हाम्रो चासो समग्र जनसंख्यालाई उत्पादनमा लगाउने र रोजगारी सिर्जना गर्ने हो। रोजगारी सिर्जना गर्ने भनेको कृषिलाई आधुनिकिकरण गर्ने हो। त्यो भनेको त्यसलाई उद्योगसँग जोड्ने र यसरी कृषिबाट निस्केको श्रमलाई कृषिमा लैजाने र यसले उद्योग विस्तार गर्दै जाने कुरा हो। त्यसबाट राष्ट्रिय उद्योग र पूँजीवादको विकास हुन्छ। त्यो पूँजीलाई हामीले विभिन्न क्षेत्रमा वितरणको व्यवस्था गर्दै त्यो चक्रलाई अगाडि लैजानुपर्थ्यो। हामी त्यसतर्फ जानुपर्थ्यो। यतापटि हामी गएनौँ।

    विकासका परिभाषा वा एजेण्डालाई हामीले असाध्यै विरूप बनायौँ। ठूला ठेकेदारदेखि साना ठेकेदारहरूका स्वार्थमा संघ र प्रदेशदेखि लिएर स्थानीय तहसम्म ठेक्का खोल्ने, निर्माण र खरिदको ठेक्कातर्फ गयौँ। दलाल पूँजीपतिहरूको स्वार्थ र राज्यको दोहन गर्ने दलाल पूँजीपतिको स्वार्थमा राजनीति, राजनीतिका एजेण्डा र विकास एजेण्डालाई उस्तै उस्तै बनाउँदै लग्यौँ। र, उनीहरूकै चाहना अनुसार नै विकासको परिभाषा गर्दै गयौँ। हामी आज क्रमशः त्यसतर्फ भाँसिदै गइरहेका छौँ।

    संक्षेपमा भन्ने हो भने हामीले प्राप्त गरेको राजनीतिक गणतन्त्रलाई सामाजिक र आर्थिक तहसम्म तथा व्यक्तिगत जीवनसम्म हामीले लैजानुपर्ने थियो। यो बहस पार्टीको एजण्डा बन्नुपर्ने थियो। हरेक गाउँपालिकामा हाम्रो गणतन्त्र मान्छेका जिन्दगीमा पुग्यो कि पुगेन भन्ने कुरा त तलका कमिटीदेखि नै बहसको विषय बन्नुपर्ने थियो। तर त्यस्तो भएन।

    लोकतन्त्र र बेखबर कमिटी

    सारा कमिटीहरू अहिले पनि यो सबै कुराबाट एकदमै बेखबर छन्। बैठक बसेपनि माथिका, मूलतः सत्ताको वरिपरि, सत्ता प्राप्त गर्ने सम्भावनाका बारेमा बैठकहरू बसेका छन्। निर्णयहरू पनि तिनको वरीपरी मात्रै हुने गरेका छन्। किन यस्तो हुन्छ भने दलाल पूँजीवादका लागि लोकतन्त्र केबल उपयोग गर्ने साधन हो। उपयोगको विषय हो। दलाल पूँजीवादका लागि लोकतन्त्र चाहिन्छ। उसलाई डेमोक्रेसी (लोकतन्त्र) सजिलो हुन्छ। उसलाई लोकतनत्र नहुँदा पनि हुन्छ। राजाको अन्तरगत पनि थियो दलाल पूँजिवाद। तर दलाल पूँजीवादका मागहरू पूरा गर्न नसकेकै कारण हिजो सामन्तवादमा संकट आएका थिए। अनि त्यसपछि त्यसले लोकतन्त्र खोजेको थियो। तर दलाल पूँजिवादले औपचारिक तहसम्ममात्रै लोकतन्त्र राख्छ। यसलाई हामीले उत्तिकै बुझ्नुपर्छ।

    दलाल पूँजीवादले चाहने लोकतन्त्र एकचोटी पाँच वर्षमा उम्मेवद्वारी दिने पार्टी र बाह्रमासे चुनाव लड्ने कार्यकर्ता वा नेता। दलाल पूँजीवादका लागि चाहिने लोकतन्त्र यस्तो हो। चुनावमा जाने, पाँच वर्षमा एकचोटी भोट हाल्ने लोकतन्त्र र पाँच वर्षमा एकचोटी जत्ने र त्यसपछि हारे पनि अर्कोपटक जित्ने खालको चुनावको पद्धति र यसैलाई डेमोक्रेसी वा लोकतन्त्र भन्ने प्रणाली दलाल पूँजीवादलाई चाहिने प्रणाली हो।

    यस हिसाबले हेर्दा, हाम्रा गतिविधि र हाम्रो पार्टीले चुनावमा गरेको अभ्यास हेर्दा, हाम्रो परिणति र गन्तव्य निसन्देह दलाल पूँजीवादको चंगुलमा फस्नेबाहेक केही पनि हुँदैन। किनभने संसदीय लोकतन्त्रका जुन विकृतिहरू छन्, संसारका सबैतिर ती देखिन्छन्। युरोपमा पनि चर्चा हुन्छ्न, अरुतिर नि देखिन्छन्। अझ तेस्रो विश्व भनिने देशहरूको डेमोक्रेसीमा यो सबैले मान्छन्।

    यो फर्मल डेमोक्रेसी मात्रै भयो। पाँच वर्षमा एकचोटी भोट हाल्ने र त्यसपछि राजनीतिक रूपमा निस्क्रिय हुने र तिनका आर्थिक–सामाजिकलगायतका मुद्धाहरू पार्टीका एजेण्डा नबन्ने। जस्तो किः हाम्रो पार्टीको तल्ला तहहरूमा जानु हुन्छ भने त्यहाँ साँच्चिकै शिक्षा, स्वास्थ्य र रोजगारी एजेण्डा बनेका छन् त ? कहीँ–कहीँ त्यस्तो देखिन्छ। कुरा र भाषण देखिन्छन् तर खास राजनीतिक मुद्दा भनेको बाटो बनाउने, कान्ला भत्काउने र ठूलठूला निर्माणका कुरामा हुन्छन्। भ्युटावरको कुरा पनि यसरी नै आएको हो।

    त्यसो गर्दाखेरी हामी त्यतापटि गइरहेको छैनौँ। पार्टीमा कसरी दलाल पूँजीवादको एजेण्डा अनुसार काम गर्देछौँ भन्ने यसैबाट प्रष्टगरी देख्न सकिन्छ। आजको समस्या यही हो। यदि त्यसो हो भने अब बाटो के हो? एउटा, हामीले घोषणा गरेको समृद्धि र समाजवाद अथवा आजको संविधानको कार्यान्वयनका अभिभारा बोक्ने संगठन हाम्रो आवश्यकता हो। यो कसले गर्छ? अवश्य नै, त्यो समाजवादी पार्टीले नै गर्छ। आम रूपमा हाम्रो कोणबाट हेर्दा सामान्यतः कम्युनिष्ट पार्टीले मात्रै गर्छ। अरुले पनि गर्दा हुन्थ्यो। समाजवादको नाममा कांग्रेस वा अरु पार्टी पनि छन्। तिनले साँच्चिकै लागु गर्दैनन् किनभने तिनले समाजवाद करबलले भनेका भएपनि समाजवादलाई आफ्नो पार्टीको जीवन दर्शनका रूपमा तिनले स्विकार गरेका छैनन्।

    त्यसले गर्दा तिनीहरूले यो संविधानको कार्यान्वयनको अभिभारा लागु गर्न सक्दैनन्। त्यस अर्थमा हामीलाई कम्युनिष्ट पार्टी चाहिएको हो। नत्र हामी नभएपनि हुन्छ। यो संविधानलाई बोक्ने, अझ बढी गणतन्त्रलाई सामाजिक आर्थिक तहसम्म लैजाने कुरामा कम्युनिष्ट पार्टी चाहिएको हो। विचार र सिद्धान्तका हिसाबले त्यो समाजवादी पार्टी अथवा कम्युनिष्ट पार्टी नै हुन्छ। अरु सबै कुरा छोड्ने हो भने पनि समाजवादी पार्टी समाजको श्रमजिवीको पक्षमा उभिन्छ कि उभिदँैन भन्ने कुरा मुख्य हो। कता उभिन्छ भन्ने कुरा वैचारिक कुरा हो।

    त्यसका लागि त्यस अनुकूलको शिक्षा बनाउनुपर्छ कि बनाउनुहुन्न भन्ने कुरा दोस्रो कुरा हो। त्यसपछि राजनीतिको कुरा आउँछ। त्यसो हो भने आज त्यसतर्फ जाने शक्तिहरू, जो तुलनात्मक रूपले प्रगतिशील, लोकतान्त्रिक र बामपन्थी छन्, ती शक्तिलाई संगठित गर्नुपर्छ कि पर्दैन? त्यस विषयमा हामी अल्लि फराकिलो भएर सोच्नुपर्छ। लेनिनले प्रष्ट भन्नुभएको छ कि संगठनात्मक सिद्धान्त रुस र जर्मनीबीच नै फरक हुनसक्छ। तिनको जनवादी केन्द्रियताको अभ्यास अर्को हुनसक्छ।

    बालुवाटरको लस्कर

    आम रूपमा, राजतन्त्रले शासन गरेको मुलुकमा समाजवादले खास विशिष्ट कार्यान्वयनको शैली पनि माग गर्छ भन्ने उहाँले व्याख्या गर्नुभएको छ। त्यस हिसाबले हेर्दा हिजो हामीले व्यक्ति संगठनको मातहत हुन्छ, तल्ला संगठन माथिल्लो संगठनको मातहत हुन्छ, सबै संगठन कमिटीहरू केन्द्रीय कमिटीको मातहत हुन्छन् भन्ने ‘मातहत वाला’ जुन संगठनात्मक सिद्धान्त चलायौँ, यस्तो संगठनात्मक सिद्धान्त हुँदाखेरि दलाल पूँजिवादले सजिलोसँगै सबै मुद्धा र संरचना आफ्नो पक्षमा हाइज्याक गरिदिँदो रहेछ।

    पछिल्ला दिनमा त्यस्तै देखियो। किनभने श्रमजिवी वर्गको नाममा टिकट दिने कुरा हुँदा श्रमजिवी वर्गलाई के भनिँदो रहेछ भने ‘यो दलाल पूँजिपतिले सजिलो गरी तिमीहरूको काम गरिदिन्छ। तिमीहरूले भन्दा पनि सजिलो गरी काम गरिदिन्छ र तिम्रै हितमा काम गर्छ। चुनाबमा त तिमी हार्छौ, किनभने तिमीसँग पैसा छैन। तिमी हारेपछि त श्रमजिवी वर्गको त कुरै अघि बढ्ने भएन, क्रान्ति नै अघि बढेन।’ तिम्रो लागि जित्दिनका लागि अर्को दलाल पूँजिपतिलाई टिकट दिनुपर्यो भन्ने तर्कले मातहतवाल संरचना र सम्पूर्ण संरचना सजिलै उसले नै हाइज्याक गरिदिन सक्दो रहेछ।

    त्यसले गर्दा खेरी यो लेनिनवादी सिद्धान्तको जुन व्याख्या छ, यो व्याख्यामा हामीले अब अलि परिवर्तन गर्नुपर्छ। र, ती समस्त समाजवादीहरू, जो पार्टीका सदस्य छन्, उनीहरू वैचारिक हिसाबले स्पष्ट हुनुपर्छ। तर अहिले त बहस नै हुँदैन। अस्ति तीन सय जना पूँजिपतिहरू र शंकास्पद पूँजिपतिहरू लाम लागेर बालुवाटर प्रवेश गरे भन्ने सुनियो। त्यो समाचार मात्रै पनि कम्युनिष्ट पार्टीका लागि सुखद कुरा थिएन। त्यसो भन्दाभन्दै म के कुरामा प्रष्ट छु भने आजको युगमा, कम्युनिष्ट पार्टी पूँजिपतिको पनि हो। होइनचाहिँ म भन्दिनँ।

    तिनको पनि पार्टी हो भन्छु म। तर बालुवाटारमा कुनै किसानको भेला हुँदैन। कुनै मजदुरको भेला हुँदैन। पछाडि पारिएका जाति, जनजातिको त्यो सान र गौरवका साथ भेला हुँदैन। तर तीन सय जना पूँजिपतिहरू भने इज्जत, प्रतिष्ठा र सानका साथ बालुवाटार छिर्छन्। यस्तो तरिकाले हामी पार्टी निर्माण गर्छौँ र यो तरिकालाई बदल्न सक्दैनौँ भने दलाल पूँजिवादले अब केही पनि बाँकी राख्दैन।

    भोलि अरु कोहीलाई पनि यसले बाँकी राख्दैन। कोही बढ्तै कराए भने त्यसलाई अनेक आरोपहरू लगाइन्छ, त्यसलाई राज्यले थुनिदिन्छ। अनेक घटनाहरू घटाइदिन्छ। हामी पंचायतताक दक्षिण अमेरिकामा राज्यले अनेक खालका षड्यन्त्र र दमन गरेका कुरा सुन्थ्यौँ। त्यस्तो मुलुक पनि हुन्छ र, राज्यले त्यस्ता घृणित काम पनि गर्छ र भन्ने लाग्थ्यो। पछिपछि हाम्रै मुलुकमा पनि त्यस्ता घटनाहरू भए। त्यस्तो सबै काम दलाल पूँजिवादको राज्य संयन्त्रले गरिदिन्छ र त्यसले कम्युनिष्ट पार्टीलाई सत्यानास गरिदिन्छ।

    हाम्रो दायित्व

    हामीले वैचारिक रूपमा नै प्रष्ट हुनुपर्छ कि अब हाम्रो दायित्व के हो? हामी कता उभिने हो? श्रमजीविको पक्षमा, महिलाको पक्षमा, उत्पीडित, दलित र जनजातिका पक्षमा, पिछडिएका मधेसी र मुसलमानहरूका पक्षमा या अन्यत्र? हामी जनताका पक्षमा उभिन्छौँ कि उभिँदैनौँ? यसबारे हामी वैचारिक रूपले पहिले नै प्रष्ट हुनुपर्यो। त्यता जाने बाटोबारे प्रष्ट हुनुपर्यो। त्यसका लागि सहयोगी हुनेहरू कुन–कुन राजनीतिक शक्तिहरू हुन्? त्यसबारे प्रष्ट हुनुपर्यो।

    बेलोबला यो अवसरवादी राजनीति पनि फलिफाप किन हुन्छ, यो किन लोकप्रिय हुन्छ भन्नेबारे मैले अघि नै भनिसक्या छु। हिजो एउटा त्यस्तो बेला थियो, हामीले देखेको छौँ कि यो मुलुकको सबैभन्दा विपरित उभिएका कोही राजनीतिक पात्र थिए भने हाम्रा ओलीजी र महन्थ ठाकुर थिए। तर आज उहाँहरू सत्ताका लागि एकै ठाउँमा हुनुहुन्छ। कसको कारण ? यस पछाडिको राजनीतिक पृष्ठभूमि के हो? त्यसको सामाजिक र आर्थिक पृष्ठभूमि के हो? यो कोणबाट हेर्दा सबैकुरा देखिन्छ। यसर्थ, राजनीतिमा यो प्रश्न हुनुपर्छ। कोसँग एलायन्स हुन्छ र कोसँग हुँदैन? त्यसबारे हामी प्रष्ट हुनुपर्छ।

    राजनीतिमा स्थायी सत्रु हुन्न्?

    मदनजीले एउटा कुनै सन्दर्भमा भन्नुभएको थियो होला। उहाँले भन्नुभयो भन्दैमा, त्यसका नाममा मनपरी र अवसरवादी राजनीति गर्नेहरूले समाजवाद ल्याउनेवाल छैनन्। उनीहरू समाजवादतर्फ जाने छैनन्। तिनले समाजवादतर्फ मुलुकलाई लैजाँदैनन्। के साँच्चै राजनीतिमा स्थायी सत्रु र स्थायी मित्रु हुँदैनन्? जब सत्रु भनिएको पक्षको चरित्र चाहिँ स्थायी छ भने चाहिँ तपाईँ के गर्नुहुन्छ? स्वभावैले त्यतिखेरसम्म त नीति पनि स्थायी हुनुपर्ने हो। त्यसो नभनेर अवसरवादको ढोका नखोल्न हामीले आफ्नो पार्टीलाई राजनीतिक हिसाबले पनि बचाउनुपर्छ।

    अल्पमत अहिलेजस्तो नृशंस दलाल पूँजिवादमा मात्र हुन्छ। आफ्नै कमरेडलाई अनेक लान्छना लगाएर, निस्कासन गरेर अपमान गरेर लखेट्दा पनि हाँसेर बस्ने, यो खालको संगठन र त्यसको पछाडि पनि गौरव गाथा गर्ने र त्यसको पछाडि पनि मान्छे लाग्ने संगठन हून्छ? अब त्यस्तो हुँदैन। अब व्यक्तिले कमिटी वा संगठनको अंगको रूपमा काम गर्छ। अल्पमत बहुमतको अंगका रूपमा हुन्छ। बहुमतले अब अल्पमत पनि आफ्नो अंग भएको ठान्दै आफूलाई पूर्ण ठान्छ। तल्ला संगठनहरूले माथिल्ला संगठनका अंगका रूपमा काम गर्छन्।

    यसर्थ, प्रत्यक्ष रूपमा उनीहरूप्रति उत्तरदायी हुने खालको एउटा व्यवस्था बन्नुपर्छ र सम्पूर्ण कमिटी र पार्टी सदस्यहरू त्यो केन्द्रीय कमिटीको अंगका रूपमा रहन्छन्। हिजोको बेलायतको सामन्ती समाजमा सबैभन्दा माथि राजा हुन्थ्यो। त्यसपछि ठूला मौजावालहरू हुन्थे। त्यसपछाडि ससाना मौजावालहरू हुन्थे। तल गाउँका मौजावालहरू हुन्थे। तलचाहिँ कुत उठाउने मुनिबहरू हुन्छन्। अनि राजाको आदेश मुनिबहरुसम्म नियन्त्रित हुन्छ् र तिनले शासन गर्छन्। हाम्रा पार्टीहरू पनि त्यस्तै बनेका छन्। बन्न जाँदा रहेछन्। यो बाटोबाट जाँदा पुगिने त्यहीँ रहेछ।

    यस्तो प्रणालीमा कोही राम्रो मान्छे खोजेर हुँदोरहनेछ। त्यसले गर्दा यो बाटो पनि हामीले ठीक पार्नु पर्नेछ। अब यसैलाई म फेरि भन्छु। किनकि यसलाई अलि बढी जोड दिनुपर्ने ठान्दछु।अब व्यक्तिले कमिटीको अंगका रूपमा काम गर्छ। अल्पमत बहुमतको अंगका रूपमा काम गर्छ, मातहत होइन। तिनको सम्बन्ध त्यो अंगकै रूपमा हुन्छ। तल्ला संगठन माथिल्लो संगठनको अंगकै रूपमा काम गर्छन्। र, सम्पूर्ण कमिटी र केन्द्रीय सदस्यहरू केन्द्रीय कमिटीको अंगको रूपमा काम गर्छन् भन्ने कुरा नै हामीले स्थापित गरेर जानुपर्छ।

    यो मातहतवाला कुराअनुसार गएर हामीले दलाल पूँजिपतिहरूको मात्रै संगठन बनाउने हो? त्यसो गर्दा त त्यहाँ सबैभन्दा दृढ संकल्प, लाज, डर र घिन नभएको, जस्तोसुकै विधि विधान पनि तोड्न सक्ने मान्छेले जित्ने परिस्थिति बन्दो रहेछ। हिजै पनि त्यस्तो भएको छ। हिजोको सोभियत समाजमा स्टालिन त्यही कारण उदाउनु भएको हो। त्यो बेलामा उहाँले त्यस्तै काम गरेर आउनुभयो। अहिलेका हाम्रा पार्टीहरूमा पनि जसले विधिविधान भत्काउन सक्छ, उसले नै हालिमुहाली गर्ने अवस्था सिर्जना भएको छ। दलाल पूँजिवादी आर्थिक र सामाजिक आधारका आडमा उसले त्यसो गर्न सकेको हो।

    यसमाथि हामीले अब आधारभूत रूपमै पुनःविचार गर्नुपर्छ। पार्टीलाई अघि बढाएर लिएर जाने हो भने यसमाथि छलफल गर्नुपर्छ। नत्र पार्टीका लागि अर्को पार्टीको कुनै अर्थ हुँदैन। धेरै पहिलेदेखि एउटा कुरा भनिँदै आएको छ, मान्छेहरूले भन्दै आएका छन्, ‘एउटै एमाले ठीक छैन भन्ने हो भने अर्को एमाले चाहिँदैन।’ त्यसैले एउटा वा दुईवटा पार्टी होइन, कस्तो पार्टी बनाउने भन्ने कुरामा हामीले बहस गर्नुपर्छ।

    हामी त्यतातिर लाग्ने बेला भयो। अहिले धेरै ढिलो हुँदै गइराखेको छ । दलाल पूँजिवादले घाँटी घाँटीसम्म समातिसकेको छ । दलाल पूँजिवाद माथि टुप्पीसम्म पुगिसक्यो है भन्नेतर्फ सबैलाई सतर्क र सजग पार्न चाहन्छु। र, कस्तो हुन्छ त अबको नयाँ पार्टी? कस्तो हुन्छ त हाम्रो संविधानलाई बोक्ने र समाजवादतर्फ जाने पार्टी? हाम्रो संविधानलाई बोक्ने र समाजवादतर्फ जाने पार्टीबारे अब छलफल गर्नुपर्छ भन्ने लाग्छ। धन्यबाद लालसलाम।]

    कार्यक्रमको पुरा भिडियो हेर्नुहोस् –

    (नेपाल अध्ययन केन्द्रले गत शुक्रबार आयोजना गरेको जुम छलफलमा नेकपा उपमहासचिव भूसालले व्यक्त गरेको धारणाको सम्पादित अंश।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.