Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Saturday, April 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जनवादी क्रान्ति सकियोः अब समाजवादतिर

तर ठूल्ठूला नेताहरू हुँदै- नभएको सामन्ती सत्ताको विरुद्ध लड्ने कुरा गर्दैछन्। बहुदलीय जनवाद त्यही भन्छ, माओवादी जनयुद्ध त्यही भन्छ, २१ औँ शताब्दीको जनवाद त्यही भन्छ, यत्रा ठूला नेता त्यसो भन्दैछन्

घनश्याम भूसाल घनश्याम भूसाल
भदौ २१, २०७९
- रिडर्स डिस्कोर्स, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गएको ७० वर्षको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा हामीले भूमिगत, सडक र सरकारसम्मका अनेकौं अनुभव गरिसकेका छौं। हामीले एकल सरकार बनाएर हेर्‍यौं, प्रधानमन्त्री बनाएर हेर्‍यौं, संयुक्त सरकार बनाएर हेर्‍यौं, गएको ३०/३२ वर्षमा कम्युनिष्ट पार्टी सरकारमा छ, तरपनि छुवाछुत, भेदभाव र गरिबी छ। यी सबैलाई हेर्दा हामी सरकारमा गएर मात्र हुँदैन रहेछ। ती सरकारले केही गर्नुपर्थ्यो। त्यसैले अब कम्युनिष्ट पार्टीले केही गर्नुपर्थ्यो भन्ने कुराको साङ्गोपाङ्गो सैद्धान्तिक, ऐतिहासिक विश्लेषण गरेर हाम्रा कमीहरू भेट्टाउने र अगाडिको बाटो प्रशस्त गर्ने बाटो तोक्नै पर्छ।

    समाजवादउन्मुख बाटो खोज्न डराउनु पर्दैन
    कार्यक्रममा प्रस्तुत कार्यपत्रमा जसरी समाजवाद प्रयोगका अन्तर्राष्ट्रिय सन्दर्भ, सैद्धान्तिक सन्दर्भ लिएर आउनुभएको छ, यसमा अलिक डराउनुभएको छ कि भन्ने लाग्छ। किनभने अब हामी सोझै समाजवादका लागि केही गर्नुपर्छ। कसले गर्छ? कसरी आउँछ? बाटो के हो ? बुँदागत रुपमा भन्नुपर्ने ठाउँमा छौँ।

    अब हामीले नेपाली विशेषताको समाजवाद भन्न हुन्छ कि हुँदैन भनेर नै कमरेड डिपी ढकाल अलिक डराउनुभएको हो कि। जसले गर्दा धेरै लामो सन्दर्भ लेख्नुभएको छ। अब डर करिब सकियो। यो कुरा स्थापित नै भइसक्यो।

    म आफ्नै कुरा पनि सम्झिन्छु। नेपाल अब सामन्ति नेपाल होइन। न शास्त्रले न लोकले कसैले पनि यो कुरा पुष्टि गर्दैन कि नेपाल सामन्ती हो। अब यो पूँजीवादी हो। यस अर्थमा नेपालमा आफ्नो तरिकाले जनवादी क्रान्ति सम्पन्न भयो। जुन नयाँ जनवादी क्रान्ति भन्छौं वा जनताको बहुदलीय जनवादी क्रान्ति भन्छौं वा पूँजीवादी जनवादी क्रान्ति भन्छौं। त्यो क्रान्ति सकियो। पूँजीवाद आयो र नेपालमा जनवादी क्रान्ति सकियो। अब जाने समाजवादतिर हो। त्यो एकैचोटी हुँदैन। यदि समाजवादलाई तपाईंले निजी सम्पत्तिको उन्मूलनको अर्थमा मात्रै सोच्नु हुन्छ भने त्यो निकै लामो प्रक्रिया हो।

    यसर्थ अहिले यो आउँदैन। यो चरण–चरणमा आउँछ। आजको चरणमा हामी कसरी अगाडि जाने भन्ने बारेमा हामीले सोच्नुपर्छ। यस अर्थमा अबको बाटो सामाजवादी बाटो हो। नेपालमा जनवादी क्रान्ति सकियो भनेर मैले पहिलो पटक आठौँ महाधिवेशनका लागि प्रतिवेदन लेख्दा म साँच्चै डराएको थिएँ। धेरै डराएको थिएँ। क्रान्ति सकियो, ६ सालदेखि सुरु भएको नयाँ जनवादी क्रान्तिको चरण सकियो, अब अर्को चरण सुरु भयो है… भनेर लेख्दा म धेरै डराएको थिएँ। मलाई त्यसमा हिम्मत जुटाउन करिब ३ महिना लागेको थियो। किनभने शास्त्र र लोक हेर्दा त्यही पुष्टि हुन्छ। तर ठूल्ठूला नेताहरू हुँदै- नभएको सामन्ती सत्ताको विरुद्ध लड्ने कुरा गर्दैछन्। बहुदलीय जनवाद त्यही भन्छ, माओवादी जनयुद्ध त्यही भन्छ, २१ औँ शताब्दीको जनवाद त्यही भन्छ, यत्रा ठूला नेता त्यसो भन्दैछन् भने मैले यो प्रतिवेदन प्रस्तुत गर्दा के हालत हुन्छ? भन्ने कुरामा म साँच्चिकै त्रस्त थिएँ।

    आठौँ महाधिवेशनमा पेश गर्दा खासै धेरै प्रतिक्रिया आएनन्। अब विश्वस्त भइएको थियो कि एमालेभित्र यसमाथिको प्रतिक्रिया वा खण्डन आउँदै छैन। पछि बाबुराम भट्टराई मैले लेखेको किताब ‘आजको मार्क्सवाद तथा नेपाली क्रान्ति’को लोकार्पणमा आउनुभएको थियो, माओवादी केन्द्र त्यतिखेरसम्म विद्रोहकै कुरा गर्दैथियो, उहाँले त्यही दृष्टिकोणबाट कुरा गर्नुभयो। सामान्यतया मेरा निष्कर्षको उहाँले धेरै खण्डन गर्नुभएन, केही प्रश्न उठाउनुभयो, जुन प्रश्नहरू मैले त्यो किताबमै लेखिसकेको थिएँ। बाबुराम भट्टराई, ‘पोलिटिको – इकोनोमिक्स र्‍यासनल अफ पिपल्स् वार इन नेपाल’ लेख्ने मान्छेले खण्डन नगरेपछि अब यी कुरा करिब करिब स्थापित भए होलान् भन्ने लाग्यो। र, त्यो कार्यक्रमपछि पनि अलि हिम्मत आयो कि हामी ठीकै कुरा गर्दैछौँ।

    अलिकति डर बाँकी थियो, कमरेड प्रचण्डको। उहाँले हेटौडा सम्मेलनमा गएर एउटा प्रतिवेदन पेश गर्नुभयो र त्यसमा एक लाइन लेख्नुभयो कि …नेपाली समाज हिजोको जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेन… त्यसपछि डर सकियो। यो बीचको १५ वर्षमा हामीले धेरै छलफल गरिसकेका छौं।

    हामीले भनेर वा चाहेर वा भावनाको कुरा गरेर मात्रै हुँदैन। त्यसलाई विज्ञानले पुष्टि गर्नुपर्छ। दर्शनशास्त्रमा, मार्क्सका केही नोटहरू छन्, त्यो दार्शनिक रुपमा महत्वपूर्ण छ। खासगरी हेगेलसँगको बहसमा उहाँले लेख्नुभएको छ, ‘हेगेल गुरु तिमीले भनेका सबै राम्रा होलान्, तर ती असल हुन् भन्ने कुरा कहाँ पुष्टि हुन्छ? आकाशमा कि धर्तीमा? धर्तीमै गर्ने हो भने यही आउ। आकाशमै पुष्टि गर्ने हो भने संसारको दिनचर्याको, मानवजीवनसँग सरोकार राख्दैन है।’

    यस हिसाबले क्रान्ति भनेको मान्छेको जीवन बदल्ने कुरा हो। भावना र कल्पनामा मात्रै बहकिने होइन। क्रान्तिमा भावना हुन्छ, तर स्वयम् त्यो भावना जीवनसँग कतिको सम्बन्धित छ? भन्नेकुरा भन्न सकिएन भने क्रान्तिको अभिलाषा मात्रै हुन्छ। यसर्थमा यो कार्यपत्रका लेखकलाई म भन्छु कि यो लामो भूमिका नबाँध्नु होला। र ज्ञान केन्द्रका साथीहरूलाई यो शिर्षकमा बहस केही हप्ता बहस चलाउनुहोस्। अलि व्यवस्थित बहस चलाउनुहोस। त्यसो भएमा हामी अलि चाँडै निष्कर्षमा पुग्छौं होला।

    समाजवाद चरण चरणमा आउँछ
    नेपालमा समाजवाद चरण चरणमा आउँछ। जहीँ पनि त्यस्तै हो। हिजो सोभियत संघमा पनि त्यही हो। चीनमा त कति वटा चरण भइसके। हरेक महाधिवेशन एउटा चरण हुन्। सी जिनपिङको दुईवटा शताब्दी योजनामा, पहिलो १५ वर्षमा मध्यम समृद्ध चीन बनाउँछौँ र दोस्रो चरणमा हरेक हिसाबले समृद्ध समाजवाद बनाउँछौँ भनेका छन्। र चीनका सम्पूर्ण योजनाहरू यस हिसाबले केन्द्रित छन्।

    यसअनुसार अबको २८ वर्षपछि चीन समाजवादी हुन्छ भन्ने हो। चीनको जनवादी क्रान्ति सम्पन्न भइसकेको १०० वर्षपछि मात्रै त्यहाँ समाजवाद आउँदैछ। यो लामो व्यवहारिक कुरा हो, काल्पनिक कुरा होइन। चिनियाँले १९४९ मा क्रान्ति गरे। चीनमा करिब ७० वर्ष लाग्यो भने हामीले त विकास, प्रगति र समाजवाद भनेको यति सस्तो बनाइदियौं कि कुनै नेताले भाषण गर्ने बित्तिकै हाइहाल्छ भन्ने भ्रममा अहिले पनि फसिरहेंका छौँ। हाम्रो मार्क्सवाद र समाजवादले बढी भन्दा बढी व्यवहारिक, आज बाँचेको जीवनलाई छुने गरी व्याख्या गर्नुपर्छ जस्तो लाग्छ।

    यस हिसाबले यसको रुपरेखा मैले भन्दै आएको छु। त्यसमा कसैले विरोध गर्नुभएको छैन अहिलेसम्म। मैले पार्टीमा पनि भनेको छु, बाहिर पनि भनेको छु। दुर्भाग्य, यो ठीक हो भन्नेहरूको पनि या त समाजवादमा चासो छैन, या हामीलाई चासो भनेको चुनावमा मात्रै छ।  बुर्जुवा संसदवादमा हारियो भने जित्ने र जितेपछि फेरि अर्कोपटक जित्ने, यो गोलचक्करमा हामी फसेका छौं।

    हामीले पार्टी एकता गर्‍यौं। यो धेरै ठूलो कुरा हो। फेरि पार्टी विभाजित भयो, फेरि अर्को कोर्समा लागियो। कुरा यतिमात्रै होइन। नेपालमा समाजवाद, मार्क्सवाद, इतिहास र विकासको कुरा गर्ने हो भने हाम्रो एकताले एउटा असाधारण बाटो खोलेको थियो। त्यसबाट १० वर्ष वा १२ वर्ष लाग्थ्यो होला, हामीले धेरै ठूलो सामाजिक र आर्थिक फड्को मार्थ्यौं। यो विभाजन र विभाजनका दौरानमा को को पात्र संलग्न भए? त्यो समीक्षा हुँदै जाला तर ती पात्रले गरेका डरलाग्दो प्रतिक्रान्तिले आज त्यो सामाजिक र आर्थिक फड्को मार्ने सम्भावना झन् झन पर पर जाँदैछ।

    हामीले सिद्धान्ततः नेपाल पूँजीवादी समाज हो। तर यो समाजको मुख्य चरित्र दलाल पूँजीवाद छ भन्ने कुरा स्वीकार गरिसकेका छौं। यसको चरित्र भनेको नकमाइकन, उत्पादन नगरीकन बढ्ने पूँजी हो। त्यसको बाहुल्यता छ। पूँजी बढिरहन्छ तर रोजगारी र उद्यम बढ्दैन। उद्यम बिनाको पूँजी बढ्छ। केही मानिस रातारात पूँजीपति बनिरहेका छन्। पैसा कमाइरहेका छन्। चाहे त्यो आर्थिक संकटमा होस् वा जुनसुकै अवस्थामा होस्। उत्पादनशील लगानी नगरीकन अनुत्पादकमा लगानीबाट मात्रै पूँजीपतिको पूँजी बढिरहेको छ ।

    अहिले एमाले ‘सुखी नेपाली र समृद्ध नेपाल’ भन्दैछ, कमरेड प्रचण्डहरू ‘२१ औँ शताब्दीको जनवाद’ भन्दै हुनुहुन्छ। तर जे भनेपनि, हामी दलाल पूँजीवादसँग आफ्नो सम्बन्धलाई प्रष्ट नपारीकन अगाडि बढ्न सकिँदैन। अबको १०/१२ वर्षसम्म समाजवादको चुनौती यही हुनेछ।

    यसका लागि अर्को चुनौती छ, ‘बुर्जुवा संसदवाद’। मैले यो संसदीय व्यवस्थालाई हिँडाइदिउ, यो काम छैन पनि भनेको होइन। हामी जानुपर्ने यही वा अर्को तरिकाको संसदीय वा लोकतान्त्रिक बाटोबाटै हो। यसको मतलव यो मार्क्सवाद र लेनिनवाद विपरित होइन। माओका कुनै सिद्धान्तले यसको खण्डन गर्दैनन्।

    माओत्सेतुङले क्रान्ति कसरी गरिन्छ भनेर सन् १९३८ एउटा आर्टिकल लेख्नुभएको छ–”युद्ध र रणनीतिका समस्याहरू”। त्यसमा धेरै राम्रा विचार छन्। ‘राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ’ भन्ने वाक्य माओवादी साथीहरूले त्यहीँ लेखबाट लिनुभएको हो, जुन जनयुद्धमा जहीँकहीँ र ठाउँ-कुठाउँ सुनिन्थ्यो। त्यही वाक्य सुनाएर एमाले/मालेका साथीहरू माओवादीमा सामेल हुनुभयो।

    तर त्यही लेखमा ‘जहाँ प्रजातन्त्र छ त्यो ठाउँमा क्रान्तिको बाटो प्रजातान्त्रिक हुन्छ। जहाँ प्रजातन्त्र छैन, ती ठाउँमा क्रान्तिको बाटो हिंसात्मक हुनुबाहेक अर्को उपाय छैन..’ भन्ने माओत्सेतुङको निष्कर्ष छ। यो उनले भने भनेर होइन,  इतिहासका सबै घटनालाई सँगै राखेर हेर्नुहुन्छ वा मार्क्सको व्याख्यालाई हेर्नुहुन्छ भने त्यसमा व्याख्या छ क्रान्ति कसरी हुन्छ भन्ने कुराको। लेनिनले १९१९ देखि २२ सम्म लेख्नुभएका धेरै कुरामा यो भेटिन्छ। माओत्सेतुङले यसलाई अझै राम्रोगरी व्याख्या गर्नु भएकोछ।

    मार्क्सवादी परम्परा लोकतन्त्र विरोधी, निरङकुशता पक्षधर, सर्वसत्तावादी होइन। यो लोकतन्त्र पक्षधर हो। माओत्सेतुङको जुन कुरा काम लाग्दैन त्यो सिकेर होइन, हाम्रो जीवनमा उनका के काम लाग्छन् ती सिकेर अघि बढ्ने हो। सांस्कृतिक क्रान्ति सिक्ने होइन, राजनीतिक अर्थशास्त्रले के भन्छ भने सायद ६७ तिरको सांस्कृतिक क्रान्ति निरन्तर भएको भए चीन एउटै रहँदैन थियो। त्यो गरिबी र भोकमरीले सत्यानाश हुन्थ्यो। यस्ता कुरालाई अनदेखा गरेर हामी अगाडि बढ्न सक्दैनौं।

    समाजवाद–उन्मुख कार्यक्रमको रुपरेखा
    समाजवाद तर्फको कार्यक्रमको रुपरेखा के हुनसक्छ भन्ने सन्दर्भमा मैले गएको १५–२० वर्षदेखि भन्दै आएको कुरा नै यहाँ राख्छु।

    आज हामीलाई अगाडि बढ्न दलाल पूँजीवादले रोक्छ। यो एक लाइनमा भन्दा, अरब र मलेसियाबाट नेपालीका कामदार छोराछोरीको अन्तिम किस्ता बोकेर हाम्रो प्लेन जुनदिन हाम्रो विमानस्थलमा ल्यान्ड गर्छ, त्यही दिन समाजवादी क्रान्तिको पहिलो चरण पूरा हुन्छ। तुलनात्मक लाभको क्षेत्र हेरेर बाहिर गएका छन् भने बेग्लै कुरा हो, तर यहाँ रोजगारी नपाएर, भोकले लखेटेर, यहाँ जीवन धान्न नसकेर विदेशतिर लखेटिएका छोराछोरीहरुलाई यहीँ अब काम पाइन्छ, आफ्नै परिवारसँग अच्छाखासा जीवन जिउन सकिन्छ भनेर फर्किनेहरुको अन्तिम किस्ता फर्किंदा मात्रै हाम्रो समाजवादको पहिलो चरण पूरा हुनेछ। राम्ररी काम गर्ने हो भने यसका लागि १०/१२ वर्ष लाग्छ। यसको आर्थिक सार यही हो, अब यसैलाई व्याख्या गर्ने हो।

    यो कसरी पूरा हुनसक्छ भनेर कार्यक्रममा राख्ने हो। कार्यक्रम के हुन सक्छ, यसका साइन पोस्ट के के हुन्छन्

    सबैभन्दा पहिलो कुरा हो, कृषि। अहिले पनि ५५-६० प्रतिशत जनसंख्या कृषिमा छन्, जसले राष्ट्रिय अर्थतन्त्रमा २३ प्रतिशतमात्रै योगदान गरिरहेका छन्। कृषिका नाममा बदमासी गर्ने पूँजीपति पनि छन् भने तिनीहरु केही फाइदामा होलान्, तर अरुले सामान्य रुपमा आफ्नो श्रम र लगानी समेत उठाउन सक्दैनन्। तिनीहरु कठिन जीवनमा बाँचिरहेका छन्। त्यसैले पहिले कृषिका क्षेत्रमा क्रान्ति गरौँ।

    नारा के हुनसक्छ, कुनै पनि कृषिमा आठ घन्टा श्रम गर्ने कुनैपनि परिवारले आफूलाई खान, लाउन, बस्न र छोराछोरी पढाउन र औषधि गर्नसक्ने हैसियत उसको बनाउनुपर्छ। यो बनाउन सकिन्छ। यसका लागि राज्य नै लाग्नुपर्छ। कृषिको संरक्षण नगरी कहीँ पनि कृषिको विकास भएको छैन। यसो गरे मात्रै कृषिको व्यवसायीकरण, आधुनिकीकरण हुन्छ।

    दोस्रो कुरा हो, उद्योगको क्षेत्रमा। उत्पादनमूलक उद्योगलाई हामी जिम्मा लिन्छौं। र दुनियाँलाई भन्नुपर्छ, राष्ट्रिय पूँजीपति, जसले त्यहाँ लगानी गर्छन्, जसले रोजगारी सिर्जना गर्छन्, तिनीहरूलाई भनिदिनुपर्छ कि उत्पादनमूलक कुनै पनि उद्योग राज्यका कारण मर्दैन। एउटा उद्योग मर्नु भनेको ठूलो कुरा हो। त्यसले रोजगारी मर्छ। त्यस अनुरुप हामीले पूर्वाधार, पर्यटन र उर्जालाई व्यवस्थित गरेर जानुपर्छ।

    तेस्रो कुरा, शिक्षा र स्वास्थ्य सेवामा पहुँचः अनिवार्य तथा गुणस्तरीय शिक्षा र प्रेषणका आधारमा विशिष्टिकृत स्वास्थ्य सेवामा सबैको पहुँच हुने ग्यारेन्टी गर्नुपर्छ। त्यो काम गर्न हामीलाई १० वर्षजति लाग्छ। आजको भोलि एउटा स्टेटमेन्ट जारी गरेर वा चुनावमा घोषाणापत्र लेखेर मात्रै सम्भावना छैन। सम्पूर्ण सत्ता, राज्य र पार्टी सबै लागेर जाने हो भने मात्रै सम्भव छ। अहिले नै निजी शिक्षा उन्मूलन गर्न सकिँदैन, तर निजी स्तरका सबै सुविधा सार्वजनिक विद्यालयमा पुर्‍याउन चाहिँ सकिन्छ। वास्तविकता भनेको सम्पूर्ण शक्तिका साथ क्रान्तिकारी स्थिर कम्युनिष्ट सरकार भयो भने हामी १० वर्षमा निजी र सार्वजनिक विद्यालयको शिक्षाको स्तरलाई एकैखालको बनाउन सक्छौँ। गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पनि राज्यले जिम्मा लिन्छ। चारकोस हिँडेर आयौ भने सिटामोल पाउँछौँ भनेर राज्यले सुख पाउँदैन, प्राथमिक तहको स्वास्थ्यसेवामा घरगाउँमा नै पहुँच हुनुपर्छ। र ती भन्दा माथिका सेवाहरु प्रेषणका आधारमा घरगाउँ नजिकका केन्द्रमा सबैका लागि उपलव्ध र त्यसमा सहज पहुँच हुनुपर्छ।

    यो पनि  –

    कम्युनिष्ट पार्टीले माथिका कुरामा कवुल गर्नुपर्छ। १० वर्ष भित्रमा हामी आजको नेपाली मापदण्डको सुविधा जुम्लाको गाउँ र तराइको दलित बस्तीमा पनि हुन्छ भन्ने विश्वास दिलायौं भने समाजवादसम्बनधी धेरै ठूला भन्दा ठूला भाषण र  असाधारण भेला असाधारण प्रशिक्षण भन्दा त्यो ठूलो कुरा हुन्छ ।

    चौथो कुरा, मुलुकको अस्थिरता अन्त गर्न ‘शान्ति क्षेत्र’: अघि भनिएका कुरा गरिसकेपछि ख्याल गर्नुपर्ने कुरा, गएको ७० वर्षमा हाम्रो अस्थिरताको प्रकृतिलाई हटाउनका लागि राष्ट्रिय रुपमा संकल्प के गर्नुपर्छ भने ‘शान्ति क्षेत्र’को घोषणा गर्नुपर्छ। स्थायी तटस्थता वा हाम्रो अर्थमा ‘शान्ति क्षेत्र’ घोषणा गरेर जाऔँ। पहिले पनि १०० भन्दा बढी मुलुकले समर्थन गरेको, अमेरिकाले समर्थन गरेको र अब भारतले मात्रै समर्थन गर्न बाँकी रहेको यो कुरालाई उठाउन हामी अधिकार प्राप्त देश मानिन्छौं।

    यसरी कृषि, उद्योग, पूर्वाधार, पर्यटन र विदेश नीतिमा यी नीति बनाएर जाऔँ। यो आजको मार्गचित्र हो। यो भन्दा बाहेक केही हुन्छ भने छलफल गरौं। हाम्रो विकास कहिले रेलको कुरामा, कहिले पानीजहाजको कुरामा, भ्यूटावरतिर हामी जाने होइन।

    हाम्रो विकासमा मान्छे हुनुपर्‍यो, नेपाली हुनुपर्‍यो, नेपाली अवस्था हुनुपर्छ। यी सबै कुरा छोडेर हामी हाम्रो समाजवाद दिन सक्दैनौँ।

    समाजवादको मूलबाटोका बाधक र बाधाहरु
    दोस्रो चरणमा हामी हाम्रो भूमिलाई क्रमशः सार्वजनिक स्वामित्वको बनाउन सक्छौँ। अहिले नै सम्भव छैन। अरु कामबाट उत्पादन गरेर तपाईँ राम्रो जिन्दगी बनाउन सक्नुहुन्छ भन्ने कुराको ग्यरेन्टी नभएसम्म भूमिलाई राष्ट्रियकरण गर्ने कुरा लागु नहुने कुरा हो। यसो भन्नुभयो भने, जस्तोसुकै सत्ता पनि २४ घन्टाभित्र ढल्छ। त्यसले गर्दा हामी दोस्रो र तेस्रो चरणमा हामी क्रमश जान्छौँ। समग्रमा समाजवादको मूलभूत बाटो यही हो। यो भन्दा बाहेक केही छ भने छलफल गरौँ। म आह्वान गर्छु।

    समाजवादको कार्यक्रम बनाउन गाह्रो छैन। अहिलेका पार्टीलाई यो कार्यक्रम बनाउँ भन्यो भने गाह्रो छैन। तर कसले गर्छ भन्यो भने यो खुट्याउन गाह्रो छ। कर्ता को हो? व्यक्ति, कर्मचारी, विदेशी सहयोग वा के हो? त्यो कर्ता भनेको ‘पार्टी’ हो। तर कर्तासँग केही बाधक र बाधाहरु छन्।

    पहिलो हो –‘ट्रायल एण्ड एरर’को संसदवाद
    बुर्जुवा संसदवादले मान्छेलाई ‘ट्रायल एण्ड एरर’को यस्तो एउटा रणभुल्लमा हालिदिन्छ कि मान्छे केही गर्न सक्दैन। पद भएर पनि केही गर्नै सक्दैन। किनभने उसको हरबखतको चिन्ता भनेको चुनावदेखि चुनावसम्म हो। यो बाहेक अरु केही गर्न सक्दैन। यसको सिद्धान्त के हो भने समाजले असल मान्छे चुन्छ, धेरै मध्ये एउटा असल मान्छे चुन्छ भन्ने मात्रै यसको सिद्धान्त हो। असल चुनिएन भने अर्कोचोटी समाजले ठीक पार्छ। यसमा अनन्त सम्ममा ‘ट्रायल एण्ड एरर’ निरन्तर चलिरहन्छ।

    जीवनभर पैसा कमाउ र सांसद बन, यही प्रक्रिया चलिरहन्छ। विख्यात रसियन लेखक लियो तोल्सतोयको ‘एउटा मान्छेलाई कति जमिन चाहिन्छ’ भन्ने कथामा ‘पाहोम’ नामक प्रमुख पात्र छ। सूर्य उदाएदेखि अस्ताएसम्म उसले जति फेरो मार्छ त्यति नै माटो तेरो हुन्छ भनिन्छ। अन्तिम घडीसम्म पनि उनी दौडिरहन्छ । साँझ आँगनमा आइपुग्दा ऊ पछारिन्छ र मर्छ। क्रान्तिलाई यो बुर्जुवा संसदवादले ‘पाहोम’ जस्तै बनाइदिन्छ। हामी ‘पाहोम’होइनौँ, हामी सांसद हौँ, नेता हौँ। यसबाट कसरी निकाल्ने भन्दा एउटा स्पष्ट कार्यक्रम, माथि उल्लेख गरिएका १०/१२ वर्षमा गर्न सकिने कामहरू हुन्।

    दोस्रो हो – भ्रष्टाचार
    सुन्दा यी शब्द चर्को लाग्छ, घुस नखाने नेताहरु भएको पार्टी बनाउनु अनिवार्य छ। नेपालमा ३६ हजार जति त निर्वाचित हुने पद छन्, त्यसबाहेक अरु सुविधा, ठेक्कापट्टादेखि नियुक्तिलाई ब्रेक गर्नुपर्छ। यो काम पार्टीले गर्ने हो। आज बनाउने समाजवादी पार्टी कम्तिमा संगठित मान्छेले घुस खाँदैन। कुनै पार्टीले भन्न सकोस कि मेरो कुनै मान्छेले घुस खाँदैन, यसले ५० वर्षसम्म शासन गर्छ। यो सबै पार्टीका लागि लागु हुन्छ।

    दलाल पूँजीवादबाट मुक्त गर्ने पार्टीमा ठेक्का, खानी र बालुवाबाट, जंगलबाट, करबाट, अर्काको फाइल बोकेर बदमासी गरेर र हेराफेरी गरेर खाने मान्छे हुुनुहुदैंन। दलाल पूँजीवाद र त्यसका विचौलिया नभएको संगठन बनाउन सकियो भने १०–१२ वर्षमा समाजबादउन्मुख बाटोमा गरिने कामहरु सम्पन्न गरिन्छ नत्र भने १२ वर्षपछि पनि यही कुरा दोहोरिन्छ।

    तेस्रो हो – ‘नयाँवर्ग’ उत्पादन हुने पार्टीतन्त्र
    हामी यस्तो पार्टी बनाऔँ, त्यो पार्टी समानताको आधारमा होस् र त्यसले लोकतन्त्रलाई निश्चित गरेको होस्। त्यो पार्टीमा अध्यक्ष र सदस्यका बीचमा सरदार र फलोअर्सको जस्तो सम्बन्ध हुँदैन। पार्टीको अध्यक्षले आदेश दिने र अरुले त्यसैमा तामेल गर्ने खालको पार्टी लोकतान्त्रिक, सुधारवादी पार्टी होइन।

    हामी आर्थिक रुपमा, हाम्रो विदेशिएको युवाशक्तिको अन्तिम किस्ता नेपाल आउनु भन्नुको अर्थ उनीहरूले यही जागिर पाउनेछन्। र, यो सँगसँगै सरकारमा रहेको पार्टीले घुस नखाने भयो भने यो मुलुक अबको १० देखि १२ वर्षमा आफैले कमाएर खाने हुन्छ। उनीहरू आफ्नो कमाई खानेछन्, उत्पादक पूँजीको विकास हुनेछ, राष्ट्रिय पूँजीको विकास हुनेछ, समाजवादको तयारी हुनेछ। हाम्रो बाटो यो हो।

    यसका लागि हामी जडताबाट विमूख हुनुपर्दछ। जडता, संख्याका हिसाबले बढी छ। नेकपा एमाले भनिएकोमा पनि ठूलो जडता छ। कमरेड मदन भण्डारीले सबैथोक गरिसक्नुभयो, अब हामीले केही पनि गर्नुपर्दैन भन्ने जडता छ। सिद्धान्त, कार्यक्रम, नीति, विचार र संगठनको सबै उहाँले गरिदिनुभयो भन्ने जडता। यो किन भयो भने भण्डारीलाई विकास गर्ने कुरा हामीले छोडिसक्यौँ। उनलाई विकास गर्ने, उनलाई उद्यममा लगाउने  र नयाँ मदन निकाल्ने होइन। त्यही मदन भण्डारीलाई सुदका रुपमा हालेर कुत उठाउने जस्तो मात्रै देखिन्छ।

    सिद्धान्त, विचार र चिन्तन केही छैन। सबै संगठन भित्र भयंकर निरङ्कुशता हुँदा पनि मदन भण्डारीले गर्‍यो, जता फर्के पनि हामी मदन भण्डारीको लेवल लगाइदिन्छौँ। यो जडताबाट नेकपा एमाले निक्लनुपर्‍यो। र, माओवादी केन्द्र पनि जनयुद्धको धङधङीको जडताबाट निक्लनुपर्‍यो। अब अगाडि बढ्ने हो।

    यस सन्दर्भलाई बिट मार्दै म भन्छु कि अब  हाम्रो बाटो अनुसार कार्यक्रम बनाऔं। त्यो कार्यक्रम पुरा गर्न कवुलियतनामा गरौं। र हाम्रा बाटाका बाधाव्यवधानलाई हुत्याउँदै अगाडि बढौं।

    (काठमाडौंमा आइतबार आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भूसालले गर्नुभएको गोष्ठीको विषयसँग सम्बन्धित अंश यहाँ दिइएको छ। यसै टिप्पणीमा अन्य विषयमा व्यक्त विचार आगामि दिनमा क्रमशः प्रसार गरिनेछ।)

    यो पनि हेर्नुहोस् –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.