Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीले एमाले सिध्याउँदैछन्, हामी त्यसो हुन दिन्नौं: भूसाल

घनश्याम भूसाल घनश्याम भूसाल
चैत्र १, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पछिल्ला साढे तीन वर्षमा हाम्रो बीचमा दुईवटा ठूला शक्तिहरू, दुईवटा ठूला पार्टीहरू एक ठाउँमा आए, गठबन्धन गरे । त्यो गठबन्धनको समाचार डढेलोझैं होइन, विद्युत गतिमा फैलियो । यसले असाधारण आशा, विश्वास र सपना सृजना गर्‍यो ।

    म आफैं धेरै उद्वेलित थिएँ र कतिभन्दा कैयन गुणा उद्वेलित मान्छेहरू देख्थेँ । कम्युनिस्ट पार्टीमा लागेका, कम्युनिस्टलाई भोट हालेका, कम्युनिस्टलाई माया गर्नेहरूमा असाधारण विश्वास सृजना गर्‍यो । बौद्धिक जगतमा पनि समाजवाद भनेको छलफल गर्ने विषयमात्र होइन, साँच्चै सम्भव, असाध्यै वास्तविक वस्तुगत कुरा हो भन्ने मनोविज्ञान देशभित्र तथा बाहिर पनि बन्यो ।

    ओलीको व्यक्तित्व र कालो बादल

    भारतीय नाकाबन्दीका बेला खेलेको भूमिका, लिएका अडानका कारण कमरेड केपी शर्मा ओलीको व्यक्तित्व बढेकै थियो । हामीले गठबन्धन गरेपछि त्यसको चुलीमा बसेका ओलीजीको पनि ‘पपुलारिटी’ असाधारण बढेर गयो । त्यसमाथि हामीले अर्को एउटा राम्रो काम गर्‍यौं, पार्टी एकता । चुनावी गठबन्धनलाई हामीले सिमेन्टेड गरिदियौं ।

    यसरी छ देखि दश महिनामा भएका असाधारण कामको प्रभाव सम्भवतः अरू एक वर्षसम्म रह्यो होला । संसदभित्र भने खुस्किसकेको थियो । किनभने पहिलो बजेट आएपछि त्यो मैले देख्दैनथेँ । त्यो समाजवादी आन्दोलन, त्यो समाजवादी सम्भावना, त्यो समाजवादी सपनाको प्रधानमन्त्री र अर्थमन्त्रीले ल्याउने बजेट थिएन भन्ने संसदमा देखिएको थियो । तैपनि संसदभन्दा बाहिर यसको प्रभाव खास कमी भएको थिएन ।

    आज के भयो भनेर हेर्दा त्यो गठबन्धन रहेन, त्यो बहुमत रहेन । गठबन्धन र बहुमत टुक्रिसकेपछि, अझ संविधानमाथि नै हामी आफैंले आक्रमण गरेपछि त्यो विश्वासमाथि असाधारण कालो बादल मडारिएको छ । यस्तो डरलाग्दो प्रश्न खडा भएको छ, जसको उत्तर हामीले र हाम्रो सन्तानहरूले दिनुपर्ने छ । या त हामीले नै दिनुपर्नेछ, हामीले यसलाई सच्याउनुपर्नेछ ।

    नभए वाम आन्दोलनको भविष्यका सन्ताहरूले पनि पटक–पटक यो प्रश्नको परीक्षामा उनीहरूले हाजिर हुनुपर्नेछ, यति सम्भावनाहरू हुँदाहुँदै तिमीहरू किन चुक्यौ हँ ? किनभने हामीसँग त्यो बहुमत छैन, त्यो गठबन्धन छैन । सेटिङका भरमा संसदमाथि गैरसंवैधानिक तरिकाले आक्रमण भयो । सेटिङमा भरमा हो भन्ने एक हिसाबले प्रमाणित किन छ भने एकजना मन्त्रीले भनिसक्नुभएको छ, तीनजना भइदिएर त हो नि नत्र‘।

    ओलीजीको संगठनात्मक सिद्धान्त भनेको आफू बहुमतमा नभएको न पार्टी हुन्छ, न कमिटी हुन्छ । यो पनि बडा एकदम सम्प्रेषित बडा सजिलो गरी बुझिने सिद्धान्त छ । जुन कमिटीमा आफु अल्पमतमा छु, त्यो कमिटी, कमिटी होइन । अर्थात् संसद पुनर्स्थापनाको पक्षमा तीनजना न्यायाधीश नपुगेको भए के हुन्थ्यो भन्ने उहाँले बोली सक्नुभयो । सेटिङका भरमा एउटा डेमोक्रेटिक संस्था, जसमार्फत् समाजवाद ल्याउँछौं भनेर हामीले सैद्धान्तिक रूपमा भरोशा गरेका थियौं । त्यही संस्थामाथि उहाँले आक्रमण गर्नुभयो ।

    वामपन्थीको सरकार बनाउन चाहँदैनन् ओली ?

    आजभोलि देख्दैछु, सरकार टिकाउन उहाँले ‘जसपा’लाई गुहार्नुभयो । संविधान संशोधनका लागि तयार हुनभएको छ, जुन मुद्दा आफैंमा विवादित छ । जसपालाई प्रधानमन्त्री पनि दिन तयार छु भनेर भन्नुभयोजस्ता कुरा बाहिर आए । यसले के बुझिन्छ भने सत्ता टिकाउन उहाँलाई गाह्रो हुँदैछ, प्रधानमन्त्री रहिरहन अब गाह्रो छ । मैले भन्न खोजेको– गठबन्धनमात्र बचाउँदा पनि कम्युनिस्ट पार्टीको सरकार बच्न सक्ने ठाउँमा उहाँले जसपासँग मिल्ने, अर्काको पार्टी फोडेर भएपनि प्रधानमन्त्रीमा टिकिरहने, तर वामपन्थीको सरकारचाहिँ बनाउन तयार नहुने देखिन्छ ।

    आफ्नै टिमको ओली कमरेडले विश्वास गरेको मान्छे प्रधानमन्त्री बनाऊँ, वामपन्थी सरकार बनाऊँ भन्ने प्रस्ताव इन्कार गर्नुको अर्थ अब एक दुई दिनमा उहाँ सरकारबाट हिँड्नुहुन्छ । यसको अर्थ बहुमत हिँड्यो, पार्टी एकता हिँड्यो, सरकार पनि हिँड्छ । जसरी साइकल सिक्दा ड्याम्म पल्टियो भने जुरुक्क उठेर आफूलाई घाउ लागेको छ–छैन हेर्दैन । अरूले हेरिराखेको छ कि भनेर यताउता हेर्छ । त्यसरी हामी पनि भुईंमा पछारिँदा धुलो टकटकाउन नसक्नेजस्तो भएका छौं । हामीभित्र के भयौं भन्नुभन्दा पनि दुनियाँले के भन्ने होलान् भनेर दुनियाँलाई हेर्नुपर्ने ठाउँमा आइपुग्यौं ।

    केहीदिन पहिले काठमाडौंमा एउटा जुलुस निकालिएको थियो । जुलसमा सहभागी राता टोपी लगाएका युवाहरूले लगाएको नारा थियो– ‘आई एम विथ केपी बा !’, ‘आई लभ यू केपी बा’ ।

    सामान्यतः कुनै ८४ वर्ष पुगेको मान्छे, जसको रथारोहण गर्ने प्रचलन पनि हुन्छ । उनका नातिहरूले त्यसो भनेको भए सांस्कृतिक कुरा हुन्थ्यो, अरूअरू हुन्थे होलान् । कुनै घोषित व्यक्तिवादी पार्टीले गरेको भए वा कम्युनिस्ट पार्टीभन्दा बाहिरका मानिसहरूको नाममा यस्तो भएको भए त्यसमाथि अलग्गै छलफल गथ्र्यौं होला । तर कम्युनिस्ट पार्टीको नाममा ‘आई लभ यू केपी बा !’ को जुन नारा लाग्यो, कम्युनिस्ट आन्दोलन र हामीले बनाएको संस्कृतिमा असाधारण स्खलनको यो चित्रले मलाई अहिले पनि उत्तिकै घोचिरा’ख्या छ ।

    कहिलेकाहीँ मान्छेहरू उत्तेजित भएर पनि यस्तो गर्छन् । ठूलो युद्ध जितेको बेलामा यस्ता नाराहरू लाग्ने गरेका छन् । हामीकहाँ त्यो अवस्था पनि होइन । आफैं भित्रको विवादबाट मच्चिएर कम्युनिस्ट पार्टीका मान्छेले त्यस्तो नारा लगाइराखेका छन् । स्वयंम लिडर पनि आफूभन्दा ठूला–ठूला पुत्लाहरू बनाउँछ, देशभर खेतखेतमा फालेर हिँड्छ । तत्काल कति जितियो–जितिएन ? भोट कति पाइयो–पाइएन भन्नेभन्दा पनि यो सांस्कृतिक अधोपतनको मूल्य हामीलाई चर्को पर्नेवाला छ भन्ने मलाई लाग्छ ।

    अहिलेको स्थिति किन आयो ?

    मैले धेरैपटक भनेको छु– नवौं महाधिवेशनअघि एउटा दुर्घटना थियो । जुन दुर्घटनाले ओली कमरेडलाई नेतामा ल्याइदियो । यसो भनिरहँदा कमरेड ओलीप्रति मेरो कुनै व्यक्तिगत वैरभाव छैन । मेरा तमाम असहमति बाबजुद उहाँले नै अनुरोध गरेर मन्त्रीपरिषदमा गएँ । त्यतिखेर पनि मैले मेरा असहमति राखेको हुँ, अहिले पनि समाजको माक्र्सवादी विश्लेषण गर्न सकूँ भन्ने मेरो प्रयत्न छ र म त्यो इमान राख्छु भन्ने लाग्छ ।

    त्यो सारा इमानका साथ भन्छु, कमरेड ओली वैचारिक रूपले धेरै पर पुगिसक्नुभएको छ । वैचारिक रूपले उहाँ कम्युनिस्ट समाजवादी हुनुहुन्छ भन्नका लागि धेरैपटक सोच्नुपर्छ । किनभने कुनै व्यक्ति कम्युनिस्ट हो भने सामाजिकता र सामूहिकतालाई स्वीकार गर्छ । यति पनि गर्दैन भने त्यसले त्यतापट्टी आँखा लगाउन पनि सक्दैन । वैचारिक तहमा हेर्दा ओलीजीको सबै कुराको केन्द्र ‘म’ छ । सबैको म, पृथ्वीको म, अन्तरिक्षको म, वैज्ञानिकको म, ज्ञानको म, सूचनाको म, प्रवृधिको म, सत्ताको म, सारा चीजको म । उहाँको विचारधारा पनि म विचारधारा हो ।

    विचारधारा भनेको तपाईं उभिनुहुन्छ भन्ने हो । सामाजिक हिसावले दलित र गैरदलित छन् भने तपाईं कहाँ उभिनुहुन्छ ? हामीले ‘महिला’ ‘पुरुष’ तपाईं कसको पक्षमा उभिनुहुन्छ ? धनी र गरिब छन् भने तिनीहरूमध्ये तपाईं कसलाई चुन्नुहुन्छ ? यसलाई दर्शनमा न्याय र अन्यायको सिद्धान्त भन्न सक्नुहुन्छ । वैचारिक भनेको तपाईं उभिने ठाउँ हो । ओलीजीको उभिने ठाउँ त्यो समाजमा नै छैन भनेपछि समाजका श्रमजीवि, पछाडि परेका–पारिएका, इतिहासका तमाम चिजसँग त उहाँलाई कुनै मतलव नै छैन ।

    कहिलेकाहीँ मानिसहरूलाई के भ्रम पर्छ भने उहाँलाई इतिहासको भयंकर ज्ञान रहेछ । इतिहासका केही सूचना जानकारीहरू त्यो हाजिरीजवाफमा भन्नका लागि दुई चारवटा कुरा भन्नु र इतिहासबोध हुनु फरक कुरा हो । इतिहासबोध हुनु भनेको त्यो ऐतिहासिक भौतिकवादी हुनु हो । त्यो भनेको कुन ऐतिहासिक कालको कुरा हामी गर्दैछौं, कुन ऐतिहासिक समाजको कुरा गर्दैछौं भन्ने हो ।

    अन्तरविरोधहरू हेर्ने हो, त्यहाँको समाजलाई हेर्ने हो, त्यसलाई बाटो देखाउने कुरा हो । यसरी हेर्दा ओली कमरेडको वैचारिकता, विचारधारा ऐतिहासिकता खोज्दा सबै कुराको ‘म’ले जवाफ दिन्छ । त्यो नारा ‘आई लभ यू केपी बा’ र उहाँको ‘म’ को बडो तारतम्य मिलेको छ । त्यसकारण म सम्पूर्ण सम्मानका साथ भन्छु, केपी कमरेडमा वैचारिक नै समस्या छ ।

    ‘म र मेरो सत्ता’ ओलीको विचारधारा

    त्यसपछि माक्र्सवादी कम्युनिस्ट पार्टीले हेर्ने सिद्धान्तको प्रश्न हो । सिद्धान्तको प्रश्न भनेको वैचारिक हिसाबले आफू उभिने ठाउँ बताउन हुन्छ, त्यहाँ समस्या समाधान गर्न तपाईंले लक्ष्य निर्धारण गर्नुहुन्छ र बाटो बताउनुहुन्छ । कमरेड ओलीको हकमा जब वैचारिक रूपमा समस्या छ भने स्वतः सिद्धान्तमा समस्या हुने भयो । यो समस्या छ भनेको ‘म र मेरो सत्ता’ उहाँको विचारधारा हो ।

    त्यो नै लक्ष्य हो, त्यो नै बाटो हो । डा. विजय पौडेलले धेरै भन्नुहुन्छ, ‘उहाँ (ओली)ले के हो बाटोभन्दा जता भत्कियो त्यतै दैलो । के हो सिद्धान्तभन्दा जसरी पावर पाइन्छ त्यही हो सिद्धान्त । किन धेरै मान्छेले उहाँको कुरा बुझ्छन् भने त्यो सजिलो छ । उहाँले आफ्नो कुरा सम्प्रेषण गर्न किन सक्नुहुन्छ, अरूले किन गर्न सक्दैनन् भन्दा अरूले तर्क, प्रणाली सारा हिसाब–किताब गर्नुपर्छ । उहाँलाई यो सबै कुरा केही छैन ।

    के उहाँले कहिल्यै समाजवादको कुरा गर्नुभएको छ ? समाजवाद कसरी आउँछ भनेर ख्याख्या गर्नुभएको छ ? रणनीतिक, कार्यनीतिहरूको कुरा गर्नुभएको छ ? वर्गहरूको कुुरा गर्नुभएको छ ? वर्ग सम्बन्धहरूको कुरा गर्नुभएको छ ? अन्तर्विरोधहरूको कुरा गर्नुभएको छ ? कसैले सुन्या छ, आजसम्म कहीँ सुन्या छैन । त्यसैले गर्दा बडा सजिलो छ, बडा सम्प्रेष्य छ, जता भत्कियो त्यतै दैलो उहाँको सिद्धान्त हो ।’

    जो आफ्ना होइनन्, ती सबै शत्रु

    तपाईंहरूसँग लुकाएर के भन्नु र ? उहाँको राजनीतिको शुत्र के हो भन्दा जो आफ्ना होइनन्, ती सबै शत्रु हुन् । आफ्ना भनेको शक्ति आफूमा केन्द्रीत गर्न सहयोगी छन् । म विचारधारा, जता भत्कियो त्यतै दैलो सिद्धान्त । यसलाई बिना प्रश्न सघाउने जति आफ्ना । म मेरा सहकर्मी कमरेडहरू र पढे–लेखेका सबैलाई भन्दैछु, जसले ओलीजीमाथि प्रश्न गर्छ, त्यसले सामान्य मानवीय मर्यादा पाउँछ ओलीसँग?

    कसैले पाउँदैन । कसैले पाएको छ ? म सबैलाई सोध्न चाहन्छु । मानवीय मर्यादाको कुरा गर्दैछु, यो भनेको तिमी मान्छे, म मान्छे एकै हौं भन्ने मर्यादा हो । यो कसैले पाउँछ रु पाउँदैन । म विनम्रतापूर्वक अनुरोध गर्दछु, मेरो दाबी खण्डित होस् । तर मेरो दाबी छ– उहाँको राजनीति भनेको जसले म र मेरो सत्ताको समर्थन गर्छ, तिनीहरू मित्र हुन् । जसले त्यसमाथि प्रश्न गर्छ, ती सबै शत्रु हुन् । जसले प्रश्न गर्छ, त्यो त्यहाँ रहँदैन ।

    मनमनै मैले प्रश्न गर्‍या छु भनेर कसैले भन्छ भने त्यो बेग्लै कुरा भयो, तर समाजले सुनिने–बुझिने गरी कसैले प्रश्न गर्न सक्छ ? सक्दैन । यो उहाँको राजनीति हो । विचार म र मेरो सत्ता । सिद्धान्त, जता भत्कियो त्यतै दैलो । राजनीति, म र मेरो सत्ताका सेवक आफ्ना । जो छैन, तिनीहरू विरोधी ।

    अब अन्तिममा संगठनको कुरा गर्दा मैले ओली कमरेडलाई व्यक्तिगत रूपमा २०३६ सालमा सुनेको हुँ। त्यतिखेर ‘मुक्ति मोर्चा’ भन्ने मालेको एउटा राजनीतिक पत्रिका निक्लन्थ्यो । त्यही पत्रिकाको गद्दाको भित्री पानामा लेखेको थियो, ‘हाम्रा राजवन्दीहरू मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, खड्गप्रसाद ओली जेलमा छन् ।’ २०४२र०४३ सालतिर म भैरहवा जेलमा थिएँ, उहाँ पोखरा जेलमा हुनुहुन्थ्यो । हामीले चिठीहरू लेख्थ्यौं । म जेलबाट छुटेपछि उहाँलाई भेट्न पोखरा गएको थिएँ । सम्भवतः त्यही वर्ष वा अर्को वर्ष उहाँ छुट्नुभयो । त्यसपछाडि म उहाँलाई जान्दछु ।

    अहिलेसम्मको राजनीतिक जीवनमा हेर्दा उहाँको संगठनको सिद्धान्त के हो ? हामीले जनवादी केन्द्रीयता भन्छौं, ओलीजीको फरक छ । ओलीजीको संगठनात्मक सिद्धान्त भनेको आफू बहुमतमा नभएको न पार्टी हुन्छ, न कमिटी हुन्छ । यो पनि बडा एकदम सम्प्रेषित बडा सजिलो गरी बुझिने सिद्धान्त छ । जुन कमिटीमा आफु अल्पमतमा छु, त्यो कमिटी, कमिटी होइन ।

    कुनै कमिटी नमान्ने नेता

    विगत हेर्‍यौं, उहाँ स्थायी कमिटी मान्नुभएन, अर्को कुनै कमिटी मान्नुभएन । अल्पमतमा पर्छु भन्ने देखेपछि संसद नै हिँडाइदिनुभयो । ओलीजीबारे जे बढ्ता बोलिराख्या छु, मलाई आलोचनात्मक रुपमा हेर्नुस् । किनकी मैले गलत भन्दैछु भने यो घोर अनैतिक हुन्छ । मैले समाजलाई गलत सिकाउने प्रयत्न गरेको ठहर्छ । त्यसो गर्दा म दोषी ठहरिनुपर्छ भन्ने मलाई लाग्छ ।

    उहाँ लोकतान्त्रिक प्रजातान्त्रीकरण भनेर हिँड्नुभाथ्यो । जनकपुर सम्मेलनमा त्यसको व्याख्या बहुपद राखेपछि प्रजातान्त्रीकरण हुन्छ भन्ने थियो । बहुपदीय बनाउँदा उहाँ हार्नुभयो । हारेपछि पद नपाई भएन । आठौं महाधिवेशनपछि तेस्रो पद नदिई उहाँले कहिले केन्द्रीय समिति चल्न नदिने, अरू कमिटी चल्न नदिने गरेर हैरान पारेपछि म नै बढी डराएको हुँ । किनभने हाम्रो पार्टीभित्र अरू विवादहरू थिए । संविधान निर्माणका ठूला विवादहरू थिए, चुनाव आउनेवाला थियो, त्यो बेलामा पार्टी उहाँले चल्न दिनुभएन ।

    र, त्यो बेलामा राष्ट्रिय परिषदको बैठक गर्नुपर्ने अवस्था आएपछि मैले नै बढ्ता जोड गरेर उहाँलाई तेस्रो पद दियौं । भनेको बहुपदीय बनाएर पनि हामीले सुख पाएनौं । यो त मैले देखेको छु, बेहारेको छु, हेरेको छु । म आँखोदेखा कुराहरू बताउँदैछु । त्यसपछाडि उहाँ (ओली)का ‘नोट अफ डिसेन्ट’ कस्तोमा भयो, कस्तामा भएनन् ? पार्टीको अध्यक्षलाई केके सम्म भन्नुभयो ? म अहिले पनि सम्झिन्छु ।

    विद्या (भण्डारी) कमरेडको के रोल थियो म अहिले भन्न चाहन्नँ किनभने उहाँ राष्ट्रपति हुनुहुन्छ । त्यो गरिमामाथि प्रश्न गर्न पनि चाहन्नँ । नवौं महाधिवेशनको डकुमेन्टमा पनि के लेखिएको छ भन्ने उहाँलाई थाहा थिएन । गलत लेखिएको छ लाग्या थियो, त्यही कारण जमेर लाग्नुभयो, तर रोक्न नसक्ने देखेपछि एक हिसाबले छोडिदिनुभयो । किनभने त्यो विचारलाई अत्यधिक बहुमतले पारित गर्छ भन्ने देखियो । त्यो विचारमात्र होइन, सैद्धान्तिक कार्यदिशा थियो भन्छु मचाहिँ । सैद्धान्तिक कार्यदिशा यो पारित हुने नै भयो भनेपछि उहाँले छोडिदिनुभयो । महाधिवेशनको उद्घाटन सत्रमा ओली कमरेडले भनेकै के छ भने, ‘खै म त बिरामी थिएँ । दस्तावेजमा पनि के लेख्या छ कुन्नि, राम्रै लेख्नुभएको होला ।’

    माओवादी-केन्द्रलाई सत्तोसराप

    उहाँ अध्यक्ष भएर आउनुभयो । त्यसपछाडि एमाले कसरी चलाउनुभयो हामीले हेरेकै छौं । हामी आफैं कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा छौं । सैद्धान्तिक रूपमा हेटौंडा कंग्रेसमा जे आयो, आठौं महाधिवेशनमा जे राख्यौं, नवौं महाधिवेशनले जे गर्‍यो, त्यस आधारमा सैद्धान्तिक रूपमा अलग–अलग रहनुपर्ने कारण थिएन । तर यसलाई व्याख्या गर्न जरुरी छ । यसको राजनीतिक र सांगठनिक व्याख्या गर्नुपर्छ भनेर माक्र्स २०० औं शतवार्षिकी मनाएर पूर्व–पश्चिम दौडियौं । उहाँ चाहिँ माओवादी केन्द्रलाई सत्तोसराप गरेर हिड्नुभयो ।

    गाली गरेर मर्थे भने संसारभरका सबै माओवादी मर्ने गरी गाली गर्नुहुन्थ्यो । तर अचानक गठबन्धनको कुरा ल्याउनुभयो । हामीलाई लागेकै हो, जल्दाबाजी भयो । चुनावमा भोट पाउन, मन्त्री– प्रधानमन्त्री बन्नका लागि मात्रै गरियो । तैपनि जे भयो भयो, अब यसलाई पूरा गर्नुपर्छ भनेर मैले लेखेकै छु । त्यो गठबन्धनलाई समर्थन गर्‍यौं । पछि विवाद हुँदा एमाले, एमालेको डकुमेण्ट, जबज जे भनियो, यो सबै छोडेर रातारात एकता गर्नुभयो । त्यो पनि छापामार शैलीमा हामीलाई नबताइकन । पहिला संयोजन समिति बनाएर हाम्रोतर्फ चार जना र उताबाट तीनजना ल्याएर । फेरि दुई जनामा शक्ति केन्द्रीत गरियो ।

    बिचारधारा म र मेरो सत्ता । सिद्धान्त जता भत्कियो त्यतै दैलो । राजनीति मेरो सत्ताका समर्थक मेरा मित्र, जसको ससमर्थ छैनन, सबै विरोधी । संगठनात्मक सिद्धान्त, म बहुमतमा नभएको कमिटी, कमिटी हुँदैन । यसले वाम गठबन्धन र पार्टी एकताले जगाएको आशा, सपना एकदम भयंकर आधीँहुरीले सखाप पारेको बस्ती जस्तो भयो ।

    अब के गर्ने ?

    प्राक्टिकल्ली २८ फागुन, शुक्रबार बैठक बस्नुभयो रे । ठीकै छ, इमानका साथ केपी गुटको बैठक बस्यो भन्ने कुरा राम्रै हुन्थ्यो । हामीले यो अभ्यास नगरेको पनि होइन, त्यसो हुनाले धेरै ठूलो कचिङ्गल गर्न पर्दैन किनभने हामी अलग–अलग टेबुल राखेर एकातिर केपी गुटका मान्छेले फारम भर, एकातिर माधव गुटका मान्छेले फारम भर भनेरै आएका हौं ।

    अब त्यसो गर्ने–नगर्ने सोच्ने कुरा हो । यद्यपि उहाँले केपी गुटको बैठक राख्नुभयो । बैठक बस्यो र केपी गुटको घोषणा वा ‘वालुवाटार घोषणा’ भनेरै गर्नुभएको भए ठीकै थियो । तर उहाँहरूले नेपाल कम्युनिस्ट पार्टी एमालेको निर्णय भनेर जसरी प्रेस वक्तव्य जारी गर्नुभयो, यसले समस्या सृजना गरेको छ ।

    जसले ओलीजीमाथि प्रश्न गर्छ, त्यसले सामान्य मानवीय मर्यादा पाउँछ ओलीसँग रु कसैले पाउँदैन । कसैले पाएको छ रु म सबैलाई सोध्न चाहन्छु । मानवीय मर्यादाको कुरा गर्दैछु, यो भनेको तिमी मान्छे, म मान्छे एकै हौं भन्ने मर्यादा हो । यो कसैले पाउँछ रु पाउँदैन । म विनम्रतापूर्वक अनुरोध गर्दछु, मेरो दाबी खण्डित होस् ।

    उहाँले जे भयो–भयो, अब अगाडि बढौं । इतिहासको समीक्षा गरौंला । समीक्षा गर्न भ्याइन्न भने पनि अगाडि बढौं भनेर वामपन्थीको सरकार टिकाउनमात्रै ध्यान दिएको भएदेखि धेरै रिकभर हुन्थ्यो वा रिकभर गर्ने बाटो खुल्थ्यो । त्यो सब छोडेर उहाँले जे गर्दै हुनुहुन्छ, यसले यो बीचमा हामीले आर्जेको गठबन्धन थियो, पार्टीको एकता थियो ।

    त्यसका जगमा हामीले सृजना गरेको असाधारण विश्वास, सपनाहरू थिए, सबै चौपट भयो । सरकार पनि हिँड्दैछ । बाँकी त्यो ठूला दुखले आज्र्याको नेकपा एमाले भन्ने थियो, जसका लागि उहाँ जेल १४ वर्ष बस्नुभयो, मोहनचन्द्र अधिकारीहरू १७ वर्ष बस्नुभयो, बेदुराम भुसाल ११ वर्ष बस्नुभयो । थुप्रै साथीहरूले जेल नेल भोगे, पार्टीका काममा हिँड्दै गर्दा लापत्ता भएकाहरू साथीहरूको हाडखोर धेरपछि फेला पर्यो ।

    अण्डरवल्र्ड

    यो अकथनीय दुःख–व्यथा, आँसु, पीडा, रोदन, क्रन्दन सम्झेर अब ढिलो भए अगाडि जाऔं भन्नेतर्फ उहाँले कमसेकम १०र१५ प्रतिशत तत्तपरता देखाइदिएको भए, हामीबाट अरू केही तत्परता माग गर्नुभएको भए न्यायोचित त हुँदैनथ्यो, तर लौ है भन्ने एउटा सन्दर्भ रहन्थ्यो होला । तर यति दुश्कर्महरू गरिसकेपछि पार्टी फुटाउन खुलामखुला शानका साथ मैदानमा आउनुभएको, अरूलाई लल्कार्दै हुनुहुन्छ । व्यक्तिगत रूपमा मलाई यो बडा डरलाग्दो लागेको छ । यो फिल्महरू देखाइने अण्डरवल्र्डका घटनाहरू जस छन्, वास्तविक दुनियाँमा मैले देखेकै छैन र कल्पना पनि गर्न सक्दिनँ ।

    यो बेलामा के गर्ने होला त ? माक्र्सवादी भएर हेर्दा सत्यानाशै भयो भने पनि त्यो बिन्दुबाट सृजनातिर लाग्ने होला । पुर्खाले सिकाएको यही हो, माक्र्सवादले व्यवस्थित गरेर ल्याएको ज्ञान यही हो । त्यसैले यो वित्याँसमा पनि, यो अँध्यारोमा पनि पर कहीँ क्षितिजमा केही चिज छ । टाढा आकाश जुध्ने ठाउँमा कुनै उज्यालो छ भनेर हेर्दा अदालतको निर्णयले पूर्ववत अवस्थामा गयौं । त्यो भनेको २०७५ जेठ २ गते हो । राजनीतिक, सैद्धान्तिक, नैतिक रूपले जेठ २ गतेमा जान हुन्छ कि हुन्न भन्ने प्रश्न लरोतरो होइन । तैपनि जेठ २ गते पुगौं र त्यो बिन्दुमा गएर यो प्रश्नमाथि छलफल गरौं ।

    अदालतको निर्णय मान्ने हो भने पनि त्यही हो । २ गतेको नेकपा एमालेको त्यो सम्पूर्ण संरचना, त्यसमा पदाधिकारीहरू तलसम्म माथिदेखि, जनसंगठन, पार्टी यो सबै ठाउमा त्यहि ठाउँमा उभिने र अगाडि फर्किने, अगाडि बढ्ने । त्यहाँबाट हाम्रो पार्टी जीवन सुरु गर्ने र पार्टी जोगाउन लाग्ने हो । तर कमरेड ओलीजी यसलाई भत्काउन लागिसक्नुभयो । किनकि स्थायी कमिटीमा उहाँको बहुमत छैन, पोलिटब्युरोमा उहाँको बहुमत छैन । म दावाका साथ भन्छु, केन्द्रीय कमिटीमा पनि बहुमत पुग्दैन ।

    त्यसैले सबै कुरा छोडेर हामीले लैजाने त्यहि ठाउँमा हो, सबै छलफल गर्ने पनि त्यहीँ गएर हो तपाईं सहजै प्रश्न सोध्नुहुन्छ– त्यहाँ पुग्छ त ? एकता–एकता भनेर हिँड्नेहरूले फेरि त्यो पनि देख्या छौँ त ? मलाई लाग्छ, उहाँले मान्नुहुन्न । तर मान्न बाध्य पार्नुपर्छ । उहाँले गुटको बैठकलाई एमालेको बैठक भन्नुभयो, वक्तव्यै जारी गर्नुभयो । अब हामीले २०७५ जेठ २ मा टेकेर आफूलाई संगठित गर्नुपर्छ । दुनियाँलाई बताउनुपर्छ, हरेकलाई सोध्नुपर्छ– के हाम्रो गल्ती थियो ? हाम्रा एजेण्डा गलत थिए ? हामी उभिएको धर्ती गलत थियो ? थिएन ।

    यो दुःख बिसाउनुपर्छ

    ‘केपी बा आई लभ यू’ भन्ने साथीहरूलाई पनि बताउनुपर्छ, व्यक्तिका पछाडि लागेर सति जाने होइन, दुनियाँ अझै फराकिलो छ, पार्टी फराकिलो छ । हामीले यो दुःख बिसाउनुपर्छ । त्यसका लागि हामीले ४ र ५ गते राष्ट्रिय कार्यक्रता भेला बोलाएका छौं । त्यहाँ जेठ २ मा लैजाने तरिकाहरूबारे छलफल गर्छौं । यो गर्नेबित्तिकै हुन्छ त रु हुँदैन । हामीले कहिलेसम्म यो गर्छौंभन्दा जहिलेसम्म कमरेड ओलीको विचारधारा, सिद्धान्त, राजनीति, संगठन सिद्धान्तबाट नेकपा एमालेलाई मुक्त गर्दैनौं, तबसम्म हामी त्यसलाई लिएर जान्छौं ।

    त्यसको अर्थ हामीले २ जेठ २०७५ मा पार्टी, विभाग र जनसंगठनमा हामी जहाँ थियौं, त्यहिँ रहन्छौं । समानान्तर कमिटी बनाउने भनेर पत्रकारहरूले लेखिदिनुभएको छ, होइन हामीले जेठ २ गतेको कमिटीहरू सुरु गर्ने हो । त्यसक्रममा आवश्यक पर्दा गठन–पुर्नगठन हुँदै जान्छ । तर ओलीजीले अहिलेजस्तो गर्ने होइन ।

    यो निकै गाह्रो काम हो किनकि उहाँले आफ्नो लागे–पुगेसम्म भत्काइसक्नुभएको छ । कम्युनिस्ट आन्दोलन नै बिगारिसक्नुभएको छ । त्यसैले यो अलि लामो लडाईं हुन सक्छ, तर संसद विघटन पछिको हेर्दा जति मान्छेहरूले बुझ्दै गएका छन्, यस हिसाबले म आशावादी छु ।आज वा भोलि वा पर्सि नहोला । एक हप्ता, दुई हप्ता, वा तीन हप्तामा नहोला, तर केही महिनामा हामी यसलाई स्थापित गर्छौं कि कमरेड केपी ओली यत्रो वैभवपूर्ण आन्दोलनको नेतृत्व गर्न लायक हुनुहुन्नथ्यो, उहाँलाई त्यहाँ पुर्‍याउनु हाम्रो त्रुटी थियो ।

    यसर्थ आजको प्रश्न, नेकपा एमालेको जीवनरक्षा हो । कमरेड ओलीले एमालेको जीवन अन्त्य गर्दै हुनुहुन्छ । हामी नेकपा एमालेको जीवन अन्त्य हुन दिन्नौं ।

    (आईसीडी स्कुल फर मार्क्सिजमले शनिबार आयोजना गरेको जुम संवादमा एमाले उपमहासचिव भुसालले राखेको विचारको सम्पादित अंश, अनलाइनखबरबाट ।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.