Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026
Thursday, June 25, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

समाजवादी शिविरभित्रको ‘उकुसमुकुस’

यो दलाल पुँजीवाद फेरिन्छ कि फेरिँदैन ? त्यो फेरिँदैन भने लेखेर राख्नुस् हामी फेरिन्छौं

घनश्याम भूसाल घनश्याम भूसाल
चैत्र २०, २०७७
- विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अचेल सबै ठाउँमा समाजवादको कुरा यसरी र यति धेरै व्यापक चल्दैछ, यसले भविष्यमा केही ठूला अन्तरविरोधहरु पनि सिर्जना गर्दैछ जस्तो लाग्छ । किनभने यसलाई हामीले राम्रोसँग भन्न र बताउन सकेनौं र समाजलाई त्यसतर्फ डोर्‍याउन सकेनौं भने यसले धेरै ठूलो अन्तरविरोध ल्याउँछ जस्तो मलाई लाग्छ । यसै पनि अहिले हेर्दा मनोवैज्ञानिक रुपले के हुँदैछ भने, पार्टी, नेताहरुलाई ‘समाजवाद कहाँ छ ?’ भनेर नाङगो मान्छेले बाटोमा आएर फ्याट्ट सोध्यो भने ‘समाजवाद संविधानमा छ, समाजवाद भनी त सकियो, यही हो समाजवाद !’ भनेर नेताहरु उम्कनुपर्ने स्थिति छ । त्यस्तो जवाफ आएपछि ‘तिम्रो समाजवाद यही हो ? यो त काँग्रेसमा पनि थियो, पञ्चायतमा पनि थियो, यही हो समाजवाद ?’ भनेर मानिसहरुले लाठी लिएर खडा हुने डर छ । हामीले संविधानतिर देखाउने र मान्छेहरु लाठी लिएर खडा हुने । भविष्यमा समाजवादका वरिपरी त्यस्तो अन्तरविरोध पनि म देख्छु ।

    चर्चाको हिसाबले समाजवाद असाध्यै लोकप्रिय कुरा छ । एउटा चिनियाँ दन्तेकथा नै छ । ‘चिनियाँहरु र चिनियाँ सभ्यतामा धेरै अगाडिबाट ड्रयागन असाध्यै प्रिय चिज हो । ड्रयागनको धेरैले पुजा गर्थे । एउटी युवतीले अझै धेरै ड्रयागन चाहान् । उनी सपना र विपनामा पनि ड्रयागन देख्थिन् । भित्तामा र कापीमा पनि उनी ड्रयागन बनाउँथिन् । जव साक्षात ड्रयागन अवतरित भए, त्यसपछि तिनी बेहोस भइन् ।’ त्यो डरलाग्दो कुरा हो ।

    समाजवादको रंगमञ्च

    हामीले नेपालमा सबैभन्दा धेरै समाजवादको नारा लगायौं । अब साँच्चै समाजवादको अलि संगठित प्रयत्न हुँदैछ भन्ने कुराले सायद हामी, खासगरी राजनीतिक क्षेत्रका संस्थापनहरु डराउँदै छौं कि ? वा समाजवादको यस्तो रंगमञ्च हेरौं, जहाँ हेर्दा त्यहाँ समाजवादसँग मान्छे डराइरहेको छ, भागिरहेको छ र भाग्नेहरुमध्ये सबभन्दा अगाडि नाम चलेको, सबभन्दा ठूलो पदमा पुगेको मान्छे छ । उसको पछाडि गच्छेअनुसार अरु स्ट्याण्डिङ कमिटीका हामी जस्ता मान्छे अर्को अर्को तलतिर भाग्दैछ भन्ने जस्तो रंगमञ्च देखिने हो कि ? खासगरी, आज समाजवादको हालत के छ भन्दा कम्युनिष्ट वा समाजवादी पार्टीमै त्यस्तो देखिँदैछ कि भन्ने मलाई लाग्छ ।

    अर्को तरिकाले भन्दा समाजवाद कस्तो हुन्छ भने ईश्वर जस्तो ! हाम्रा केही उपनिषेदहरुमा ईश्वरको चर्चा छ । कस्तो हुन्छ त ईश्वर ? अदृश्य, अगोचर, अस्पृश्य । छुन पनि सकिँदैन, देख्न पनि सकिँदैन, छाम्न पनि सकिँदैन तर सबै ठाउँमा छन् । सबै ठाउँमा छन् भनिन्छ तर न देखिन्छ न भेटिन्छ ! देशमा यत्रो समाजवादी पार्टी छ, हाम्रै पार्टीभित्र पनि समाजवादको बारेमा जर्वजस्त लामोसमयदेखि तपस्यारत मानिसहरु छन्, असाध्यै ठूलो जनमत छ । तर कहाँ छ समाजवाद ? भन्दा हामीले जहाँ जहाँ बताइरहेका छौं, मानिसले मानिरहेका छैनन्, विश्वास गरिरहेका छैनन् । यसो हो भने क्षितिजमा कहीँ समस्या छन्, समस्या आउँछन्, समस्या आउँदैछन् ।

    एकपछि अर्को प्रश्नहरु समाधान भएका छैनन् र प्रश्न गर्ने मानिसहरु बढ्दैछन् । माओत्सेतुङको जस्तो सरल भाषामा जटील चीजहरु लेख्ने भरतबाबु प्रसाईले लेख्नुहुन्थ्यो– ‘तपाईंको कसैले विरोध गर्छ । उसँग ठूलो बैंक व्यालेन्स, ठूलो जमीन्दारी, हिरामोती जवाहरात छ , गाडी घोडा छ र तपाईंको विरोध गर्दैछ भने नडराउनुस्, चिन्ता नगर्नुस् । तर केही पनि नभएको मान्छेले खेत खलियानबाट निक्लेर बाटोमा उभिएर औंला उठायो भने डराउनुस् है, डराउनुस् !’ त्यो समाधान पनि हो एक हिसाबले।

    निराशा, उद्वेलन, विरोध

    आज यत्रो अन्यौल छ सरकार र पार्टीका बारेमा । यत्रो सरकार आयो, पार्टी आयो, दुई तिहाइ आयो, संसारको इतिहासमा लोकतान्त्रिक तरिकाले, संसदीय तरिकाले यत्रो जनमत आजसम्म कम्युनिष्ट पार्टीमा सय वर्षको इतिहासमा कहीँ पनि आएको थिएन भनेर हामीले भन्यौं । अपेक्षाहरु स्वभावैले बढी थिए, ठूला थिए । त्यो पूरा नभएपछि मानिसहरुमा एक किसिमको आम विद्रोही, निराशा, उद्वेलन, विरोध र प्रश्नहरु छन् र यी तमाम एकसाथ खडा हुँदैछन् ।

    यसरी हेर्दा यो संकट हो । तर यो उकुसमुकुसले ठिकै कुरा फेला पार्छ र सही समाधान फेला पार्छ । इतिहासमा प्रश्नहरु उठ्ने, प्रश्नहरुले मान्छेहरुलाई भावनाको दुनियाँमा डोर्‍याउने तर त्यसले दैनदिन जीवनको आफ्नै वास्तविक समाधान नपाउने हो भने इतिहासमा राम्रो मात्रै भएको छैन । अहिले समाजवादी शिविरभित्रको यो उकुस–मुकुस अनियन्त्रित भइदियो भने… ! सोच्नुहोस्, यत्रो जनमत, इतिहासको यो बेलामा त्यो ठीक ठाउँमा जान सकेन भने हाम्रो सन्दर्भमा, नेपालको सन्दर्भमा एउटा असाध्यै ठूलो, डरलाग्दो दुर्घटना हुन्छ । किनभने मानिसहरु भावनामा आउँछन्, समाधान गर्न सक्दैनन् ।

    मैले पटक पटक भन्ने गर्छु एउटा गीत – हाम्रा बाले गर्देनन् बिहेपनि, भत्काइदिन्छु बाख्राको खोर पनि’ भनेजस्तै सारा यो जमात बाख्राको खोर भत्काउने गरी निस्कयो भने के हुन्छ देशमा ? यो असम्भव कुरा होइन । यो उकुसमुकुसलाई इतिहासका शिक्षाहरु र भविष्यका सम्भावनाहरुका अगाडि राखेर आजको हामी सबैले र खासगरेर नौजवानहरुले सोच्दा र सोच्ने प्रयत्न गर्दाखेरि धेरै चुनौती हुँदैनन्, हामी ठिकै ठाउँमा जान्छौं, त्यहाँ लैजान सकिन्छ भन्ने मलाई लाग्छ ।

    इतिहासको धेरै महत्वपूर्ण क्षण हो भने यो विषयमा त्यो गम्भिरताका साथ हाम्रा पार्टी र निर्णय हुने औपचारिक ठाउँहरुमा छलफल हुनुपर्ने हो । डेढ वर्ष भइसक्यो, त्यो नभएरै दुःख पायौं हामीले । त्यहाँ भएन भने, अब के गर्ने त ? यसको समाधान केही होइन । हामी जहाँ छौं, त्यहीँ शुरु गर्ने हो । यसको समाधान के हो ? यसमाथि उठेका प्रश्नहरुको समाधानकाको उत्तर खोज्नका लागि हामी जहाँजहाँ छौं, मञ्चहरुमा एउटा व्यापक राष्ट्रिय बहस सुरु गर्नुपर्छ ।

    चानचुने छैनन् आजका प्रश्न

    अहिले उठेका प्रश्न चानचुने छैन । हामीसँग कुनै मोडल पनि छैन । जेसुकै हुँदा पनि, जतिसुकै सुन्दर भएपनि सोभियत मोडल असफल भयो । प्रतिकृयावादी, साम्राज्यवादीहरु थिए होलान्, तर त्यो मात्रै कारण हो ? त्यो मात्रै कारण हो भने साम्राज्यवाद रहेसम्म क्रान्ति हुँदैन, क्रान्ति नहुँदासम्म साम्राज्यवाद रहने भयो । भनेपछि मान्छेको भाग्यमा, मानव जीवनमा साम्राज्यवादबाहेक अरु केही पनि लेखेको छैन भन्ने अर्थ लाग्छ ।

    त्यसो हुँदा त्यो मात्र कुरा थिएन । सोभियत क्रान्तिका बेला मानव दुनियाँमा हेपिएका, लखेटिएका, चाँडै मर्ने (रसियामा क्रान्ति हुँदा ३० वर्ष पनि थिएन सरदर आयु, त्यसमाथि गरिवहरुको सरदर आयु खोज्दा २० वर्ष हुन्थ्यो), २० वर्षपनि नबाँच्नेहरु, रोगले मरेका, पढ्न नपाएका, दलित अधोदलित जस्ता मान्छेहरुले शासन सत्ता गर्छन् भन्ने कुरा इतिहासमा स्थापित हुनु चानचुने कुरा थिएन । हामीले पढेर आयौं– यो चानेचुने कुरा होइन विश्व राजनीतिमा, विश्व राजनीतिको इतिहासमा । विश्व सभ्यताकै इतिहासमा भन्ने हो भनेपनि यो चानेचुने कुरा होइन । तर स्वयम् सोभियत संघको असफलता के हो त ? उत्तिकै ठुलो प्रश्न हो हाम्रा अगाडि । यी लगायत तमाम प्रश्नको उत्तर दिन सकेनौं भने यो दुई दिनको रामछाया हुन्छ ।

    त्यसकारण समाजवादबारे छलफल र बहसहरु भइरहुन्, जहाँसुकै गरौं हामीहरु, औपचारिक अनौपचारिक सबै फोरमहरुमा यो बहस चलाऔं, हामी समाधान निकाल्छौं । हाम्रो प्रतिवद्धता समाजवादतर्फै हो भन्ने कुरामा हामीले कम्मर कस्यौं भने यो असफल हुँदैन । किनभने, खोज्ने कुरामा, विज्ञानमा असफलता भन्ने कुरै हुँदैन । दश वर्ष लगाएर एउटा रिसर्च गरियो तर खोजेको कुरा पत्ता लागेन भने विज्ञानको इतिहासमा के थपिन्छ र के कुरा प्रमाणित हुन्छ भने ‘यसरी पत्ता लाग्दो रहेनछ ।’

    क्रान्ति जारी रहन्छ

    एजाज अहमद भन्ने भारतका मार्क्सवादी प्रोफेसरले सोभियत संघको पतनका बारेमा एउटा लामो व्याख्यान गर्नुभएको छ। उहाँ भन्नुहुन्छ– मान्छेहरुले भन्छन् कि क्रान्ति असफल भयो । सम्पूर्ण इतिहासलाई साक्षी राखेर म भन्छु क्रान्ति न सफल हुन्छ पूर्णतः, न असफल हुन्छ पूर्णत:, यो त जारी रहन्छ ।’

    आमरुपमा र ठूलो आँखाले हेर्ने हो भने क्रान्ति जारी रहने कुरा हो । आज बाँचेका मानिसले यो क्षणमा हामीले क्रान्तिका लागि के गर्ने हो भन्ने कुरा मात्रै हो । भोलिको कुरा पनि हामीले आजै फैसला गरिदिन थाल्यौं भने हामी स्टालिन हुन्छौं । ‘यी पछि आउने भाइछोराहरुले के गर्छन् गर्छन्, आजै सबै हामी नै गरिदिऊ’ भन्न थाल्यौं भने, हाम्रा आग्रह र विचारले पिढी दर पिढीलाई बाँध्ने कुरा गर्नु हुँदैन । आज हामी बाँचेको क्षणमा क्रान्तिका लागि के गर्न सक्छौं भन्ने कुरा मुख्य प्रश्न हो ।

    नेपालको सन्दर्भमा समाजवाद के हो भन्ने कुरामा छलफल नै नगरी समाजवादमा मात्रै भन्यौं भने त्यो अपूर्ण हुन्छ । त्यही भएरै नेपालको समाजवाद भनिएको हो भन्ने कुरा यसै बुझिन्छ । नेपालको सन्दर्भ के हो ? यसमाथि छलफल नगरिकन समाजवादमाथि छलफल गरियो भने टुंगोमा पुग्न सकिन्न । मैले हाम्रो प्रशिक्षणहरुमा भन्ने गरेको छुः कुनै एउटा देशव्यापी परीक्षामा पशुपति कुन दिशामा पर्छ ? भनेर सोधियो भने अव विद्यार्थीले के लेख्छन् ? तपाईं जहाँ हुनुहुन्छ त्यहाँबाट न पशुपति कता हुन्छ भन्ने भन्ने हो । इलामबाट लेखियो भने पश्चिम पर्दा हो, महाकालीबाट लेख्यो भने पुर्व पर्दो हो, एउटै उत्तर हुँदैन । यसर्थमा नेपालको सन्दर्भमा भनेर तपाईं हामी कहाँ खडा छौं र समाजवादतर्फको कुरा गर्दैछौं भन्ने नै हो ।

    यसर्थमा हामी कहाँ छौं ? मार्क्सवादी नजरले हेर्ने हो भने कुन सामाजिक, ऐतिहासिक परिस्थितिमा छौं भन्ने कुरा नै हो । ऐतिहासिक भौतिकवादका दुई चार अक्षर जानेका हामी सबैलाई थाहा छ कि त्यो ठाउँ र परिस्थिति के हो भन्दा हामी उभिएको ठाउँ भन्नुको अर्थ हामी उभिएको सामाजिक, ऐतिहासिक सन्दर्भ के हो भन्ने नै हो ।

    विपी र महेन्द्र

    पछिल्लो राजनीतिक इतिहासमा हामीले धेरै चर्चा पनि गरेका छौं । पछिल्लो कालमा २०१५ या २०१७ सालको काण्ड भनेको नयाँ आधुनिक दुनियाँ त बन्ने नै भयो । दोस्रो विश्वयुद्धपछि विश्वव्यापी रुपमा बढेको विकास, आधुनिकीकरणको जुन कुरा थियो, त्यसतर्फ संसार जाँदै थियो र त्यो कसले नेतृत्व गर्ने भन्ने एकखालको छिनाझप्टीमा राजा महेन्द्रले सामाजिक स्थिति बढी नपाकेको हुँदा अग्रता लिए। यो भन्नुको अर्थ विपी कोइराला समग्रतामा हेर्दा एउटा उदार लोकतान्त्रिक चरित्रको मान्छे हुनुहुन्थ्यो ।

    त्यो उदार लोकतान्त्रिक चरित्रलाई थेग्ने खालको पार्टी उहाँको थिएन । विपी उदार लोकतान्त्रिक चरित्रको राज्य चाहनुहुन्थ्यो तर उहाँको केन्द्रीय कमिटिका तमाम मानिस जमिनदार थिए । यसले गर्दा उहाँले जुन शक्ति प्राप्त गर्नुपर्ने थियो त्यो त्यहाँभित्र सम्भव थिएन । त्यो कमजोरीपछि काँग्रेसभित्र पनि जमिनदार थिए, राजा स्वयं जमिनदारका नेता थिए । यसले गर्दा त्यो सामाजिक परिस्थितिले उत्पन्न गर्ने शक्तिले राजा महेन्द्रलाई बलियो बनायो ।

    अरु छोडिदिनुहोस्, मैले त पटक पटक भन्ने गरेको छुः शुरुमा राजा महेन्द्रले नै बनाएको भुमिसुधार रिपोर्ट (२०१९ सालको टंकप्रसाद आचार्यको पालाको) हेर्ने हो भने त्यतिको रिपोर्ट अहिलेसम्म हामीले बनाएका छैनौं । त्यति क्रान्तिकारी देखिने त्यो रिपोर्ट उनले बनाए । तर त्यो लागू गर्ने त्यतिखेरकै जमीन्दारहरुको मुलुकमा थियो, त्यो साँच्चै लागू गर्ने हो भने तिनीहरु कांग्रेसतिर जालान् भन्ने डरले राजा महेन्द्र पछाडि हटे र जमिन्दारहरुले जे जे भन्छन् त्यहीअनुसारको भूमिसुधार लागू गरे । जसले गर्दा मुलुकमा राष्ट्रिय पुँजीको विकास हुने, आधुनिकरण, औद्योगिकीकरणतिर जाने प्रयत्न त्यहीँबाट सकिँदै आयो ।

    त्यसपछि दरवार सुखसयल र मोजमस्ती गर्नमा लाग्यो । हिजो बनाइएका सार्वजनिक संस्थाहरु र राज्यका अरु साधनस्रोतमाथि लुट्ने र खानेमा आफ्ना भाइभारदार पाल्ने र तिनैमार्फत् तलका जमीन्दारहरुलाई र भरखरै उठ्दै गरेका, त्यो राष्ट्रिय हो कि दलाल हो भन्ने समेत नछुट्टिइसकेका पुँजीपतिहरुलाई पोस्ने प्रक्रियामा दरवार गयो । अन्तिम समयसम्म आउँदा दरवार दलाल पुँजीपतिहरुको एउटा नेता भइसकेको थियो । पञ्चायती व्यवस्था त्यही दलाल पुँजीवादको राजनीतिक उपरी संरचना बनिसकेको थियो ।

    दलाल पुँजीपति र नेता

    राजनीतिक उपरीसंरचना यसै बन्दैन । सुरुमा पुँजीपतिहरुले आफ्नो काम मिलाउन एउटा फाइदाका लागि नेतालाई पैसा दिन्छ । नेता पनि जब आफ्नो भविष्य देख्दैन, अनि कमाइधमाइमा लाग्छ । क्रान्ति र समाजवादको भविष्य देखुन्जेल त्यतापट्टि लाग्छ, जव आफ्नै कमजोरीले त्यो आँखा बन्द हुँदै जान्छ र क्रान्तिको भविष्य उसका लागि धमिलो हुँदै जान्छ, अनि आफ्नो सात पुस्तालाई पुर्‍याउने चाँजोपाँजोमा लाग्छ । यसरी सुरुमा किस्ताबन्दीमा यो काम गरिदिएवापत यति पैसा भनेर खाँदै गरेको त्यो राजनीतिक पार्टीको नेता अव यति धेरै पैसावाला हुन्छ कि उ आफै अर्को दलाल पुँजीपति बन्छ, जसले घुस खुवाएको थियो त्यो भन्दा कम हुँदैन, उत्तिकै हुन्छ । यसरी त्यो दलाल पुँजीपति र यो नेता एउटै वर्गमा हुन्छ, उस्तै र बराबर हुन्छ ।

    अब यिनीहरु दुवै एक ठाउँमा आइसकेपछि क्रमशः अदालतलाई पनि आफ्नो ठाउँमा ल्याउँछन् । कसलाई राख्ने, कसलाई नराख्ने ? कहिलेसम्म राख्ने कहिलेसम्म नराख्ने ? तिनकै बीचमा पनि कहिले झगडा हुन्छ । जस्तो कि लोकमान सिंह कार्की प्रकरण । किन ल्याएका थिए लोकमानलाई कसैलाई थाहा छ ? कसले ल्याएका थिए, कसले पठाएका थिए, कसैलाई थाहा छ ?

    यो पनि थाहा छैन, किनभने यो दलाल पुँजीवादी सत्ताको स्थायित्वका लागि, त्यसको शान्तिको लागि, अमनचयनका लागि कस्तो न्यायाधीश, अख्तियार प्रमुख, पुलिस अफिसर ल्याउने हो, यसरी यी सवै कुरा त्यहाँ तय गर्छन् उनीहरुले । यस्तो एउटा गठबन्धन बनिदिन्छ, जसलाई हामी दलाल पुँजीवादी राज्य भन्छौं । पञ्चायतको अन्तिमतिर आउँदा पञ्चायत त्यतातर्फ त्यसरी रुपान्तरण भइसकेको थियो । हिजोको सामन्ती दरवारबाट त्यो दलाल पुँजीवादी दरवारमा बदलिसकेको थियो ।

    हामीले किन पञ्चायत फाल्यौं ? यसको अर्थराजनीति के छ, त्यतापट्टि नजाऊ, फालियो । किनभने यसले तलको आमरुपमा सामन्तवाद भत्किँदै गरेको सामन्तवादबाट निक्लँदै मान्छेहरुलाई सम्बोधन गर्न सक्दैन थियो । ती मान्छे नयाँ जिन्दगी खोजिरहेका थिए । नयाँ जिन्दगी खोज्दै गरेका लाखौं नौजवानहरुलाई यसले सन्तुष्ट पार्न सकेन, त्यसको विरुद्धमा तिनीहरु लागे। अनि त्यो शक्ति बन्यो र हामीले प्रजातन्त्र ल्यायौं ।

    प्रजातन्त्र र गणतन्त्र

    प्रजातन्त्र त आयो तर के भयोभन्दा हिजोको भन्दा बढी नेपाली काँग्रेसले बनाएको आर्थिक नीति, त्यस अनुकूल बनाइएका अरु सामाजिक नीतिहरुले त्यो दलाल पुँजीवादी गठबन्धनलाई अझ मजबुत बनायो । अरु केही बाँकी थियो भने पनि लाजसरम नलाग्ने गरी सवै कुरा हिँडाइदियो । बन्धनहरु चुडाल्दियो उसलाई फुक्काफाल बनाउनका लागि । हिजोका पञ्चहरुलाई अलि डर हुन्थ्यो होला तर काँग्रेसहरुलाई कुनै डर नहुने भयो । यसरी एउटा नयाँ मूल्य, दलाल पुँजीवादले निर्वस्त्र भएर आफ्नो सक्कली रुपमा आयो । त्यसले समस्या समाधान गर्न सकेन । यो बीचमा भएका अरु तमाम संघर्षहरुले के गरे, यसमा म गइनँ । तर यसले मुलकका समस्याहरुलाई सम्बोधन गर्न सक्दैनथियो र अन्ततः त्यो बीचमा व्यवस्था पनि गयो र हामीले गणतन्त्र ल्यायौं ।

    यो गणतन्त्रमा आज हामी छौं । यो गणतन्त्रको नेता आज कम्युनिष्ट पार्टी छ । नेपालको सन्दर्भ भनेको सम्भवतः यही हो । यसरी हेर्दा हाम्रो अर्थतन्त्र र यसको आधार दलाल पुँजीवादी छ । र, राज्यको मोटामोटी स्वरुप हामीले उस्ताउस्तै लिएका हौं । एकपटक पेरिस कम्युनको असफलतापछि मार्क्सले पेरिस कम्युनको शिक्षा के हो भन्दा ‘यो कुरा कम्युनले पुष्टि गरिसकेको छ कि पुरानो सत्ताको कुरा बनिबनाउ हुन्छ । पुरानो सत्तालाई बनिबनाउ लिएर नयाँ समाजवाद बन्न सक्दैन ।’ यो भनेर एउटा धेरै ठूलो शिक्षाको रुपमा उनले लेखेका छन् ।

    हामीले पुरानो व्यवस्थाको जुन मेसिनरी छ, कानुन छ, नियमहरु, तरिकाहरु छन् यो सवैलाई बदलेर आएका छौं कि त्यसलाई जस्ताको तस्तै ल्याएका छौं ? वास्तविकता के हो भने गणतन्त्र र केही औपचारिक रुपले अनुकूल हुने केही मुद्दाबाहेक अरु सामाजिक आर्थिक हिसावले, अर्थराजनीतिक हिसाबले हामीले जस्ताको तस्तै ग्रहण गरेका छौं । एकातिर दलाल पुँजीवादलाई जस्ताको तस्तै लिएर आएका छौं, अर्कोतिर हाम्रो नाम कम्युनिष्ट पार्टी छ । हाम्रो नाम कम्युनिष्ट पार्टी हो, जानुपर्ने समाजवादतिर छ, संविधानमा समाजवाद पनि लेखिएको छ तर हामी दलाल पुँजीवादी अर्थतन्त्रको वर्चश्व र प्रभुत्व भएको समाजमा छौं । प्रश्न के हो भने यो दलाल पुँजीवाद फेरिन्छ कि फेरिँदैन ? सबैलाई सवैले सोध्ने प्रश्न सम्भवतः यही होला ।

    विचित्रको रुप र रंगमञ्च

    समाजवादको कुरा गर्दा आजको युगीन प्रश्न भनेको यो दलाल पुँजीवाद फेरिन्छ कि फेरिँदैन ? त्यो फेरिँदैन भने लेखेर राख्नुस् हामी फेरिन्छौं । कोही समाजवादी हौं भन्ने हामी छौं भने हामी फेरिनेछौं वा हामी, हामी त्यस अनुकुल हुन्छौं । त्यसको डोकोमा हामी जान्छौं । उसले बोकेर हामीलाई कहाँ लैजाने हो ? बैतरणी तराउनुपर्ने वा कहाँ कहाँ तराउनुपर्ने हो उसले नै तराउँछ । उसकै जिम्मामा कम्युनिष्ट पार्टी, उसकै जिम्मामा समाजवाद । समाजवाद बोक्ने को हो भन्दा दलाल पुँजीवाद । दलाल पुँजीवादले बोक्ने, समाजवादतिर जाने ? यो विचित्रको रुप र रंगमञ्च आजको हो ।

    यसलाई समाधान गर्ने हो । यसलाई समाधान गर्नका लागि धेरै कुरा आएका छन् । धेरैले धेरै कुरा भनेका छन् । मलाई लाग्छः यो एउटा प्रणाली र व्यवस्था हो । यो व्यवस्था हो भने यसको विकल्पको व्यवस्था के हो त ? भन्ने बारेमा हाम्रो छलफल हुनुपर्‍यो । समाजवादमा जानका लागि कसैले कर्मचारीतन्त्र ठिक भएन भनेको छ, कसैले राम्रो पूर्वाधार भएन भनेका छ, अझै द्रूत गतिमा आर्थिक उत्पादन बढेन अनेकाअनेक कुरा गरेको छ । मलाई लाग्छ, यो सबै जेसुकै गरेपनि यो क्रान्ति अलमलिने कुरा मात्रै हो । आजको पहिलो कुरा, त्यो एउटा राजनीतिक व्यवस्थाको ठाउँमा वैकल्पिक राजनीतिक व्यवस्था तयार हुर्नुपर्छ । त्यो भनेको स्वयं पार्टीहरु समाजवादी छन् कि छैनन् भन्ने कुरा खोज्नुपर्छ । समाजवाद ल्याउने हो भने ल्याउने त कोही हुनुपर्ला नि । यो दार्शनिक प्रश्न पनि हो ।

    ल्याएर आउने हो भने कोही हुनुपर्छ कि पर्दैन ल्याउने ? त्यो पात्र हुनुपर्छ कि पर्दैन ? आजको सन्दर्भमा पात्र को हो ? यसो हेर्दा त्यो पात्र कम्युनिष्ट पार्टी नै हो । यत्तिका वर्षसम्म लडेर, समाजवादको झण्डा समाएर, त्यसको वरीपरी गोलबन्द भएको, गीत गाएको, नाचेको, नारा लगाएको, दुःख पाएको, जेल बसेको, मरेको, परिवारका ती तमाम मानिसहरु नेपालको आधुनिक इतिहासको समाजवादका लागि सबैभन्दा लडेर आएका मान्छेहरुको ठाउँ आज यही पार्टी हो । यसो हुँदा यहाँभन्दा बाहिर समाजवाद खोज्नु कल्पनाको कुरा हुनेछ । आज व्यवहारिक रुपले भन्ने हो भने समाजवादको खोजी कहाँबाट गर्नेभन्दा यही पार्टीबाट गर्ने हो ।

    तर यो बीचमा हामीले सरकारमा बस्न थालेको कति वर्ष भयो ? कम्युनिष्ट पार्टीका नाममा हामी सरकारमा गएको करिब ३० वर्ष भयो । तीस वर्ष कम्युनिष्ट पार्टी सरकारमा बसेको मुलुकमा आजपनि छुवाछुत छ । यस्ता अन्योल र विरोधाभासहरु कतिवटा छन् ? भन्नुको अर्थ एकातिर देशभरको सिंगो इतिहासमा समाजवाद, कम्युनिज्म, मार्क्सवाद भनेर क्रान्ति भनेर विद्रोह गरेर, जनताको अधिकार भनेर लागेका लाखौं मानिसहरु यसै वरीपरी छन् ।

    देउवा, ओली वा प्रचण्ड र घनश्याम उस्तै !

    तर लामो समयसम्म सत्ताको अभ्यासमा जाँदाखेरि त्यससँगको उठवसले गर्दा हाम्रो जीवन, खासगरी नेतृत्वको जीवन फेरिँदै फेरिँदै गएर नाम छोडिदिने हो भने अरु के हो के हो ? परको कुनै मुलुकको मान्छेले शेरबहादुर देउवा, खड्गप्रसाद ओली वा प्रचण्ड वा घनश्याम भुसालको इतिहास हेरेर देशको इतिहास हेर्‍यो भने पार्टीमा कुन धारको कुन नेता हो भनेर अन्यौलमा पर्ने, देख्न नसक्ने स्थिति बन्यो ।

    यसो गर्दा आजको समाजवादको प्राथमिक काम भनेको गणतन्त्रमा, लोकतन्त्रमा राम्रो राष्ट्र बनाउने हो भने राम्रो पार्टी त्यसको सर्त हो । लेनिनले ‘क्रान्ति गर्नु छ भने क्रान्तिकारी पार्टी चाहिन्छ’ भने जस्तै यदि राम्रो राष्ट्रको कुरा सोच्ने हो भने जोकोहीले त्यसको प्राथमिक शब्द राम्रो पार्टी भन्नुपर्छ । यसर्थमा त्यो पार्टी नै यस्तो एउटा समाजवादको भ्रुण बन्नुपर्‍यो, स्वयं पार्टीले समाजवादको अभ्यास गर्दै जान्छ, त्यसलाई फैलाउँदै जान्छ । जति फैलिँदै जान्छ, त्यति त्यो शक्तिशाली बन्दै जान्छ । जति शक्तिशाली बन्छ, त्यति त्यो विस्तार बन्दै जान्छ । यसको द्वन्द्वात्मकता भनेको त्यही हो ।

    पहिला यो सानो छ । समाजवादका आदर्शका कुराहरु यसले उठाउँछ । झण्डा उठाउँछ । यसका वरीपरी मान्छे जम्मा हुन्छन् । यसलाई बलियो बनाउँछन् र जब यो बलियो हुन्छ, यसका कार्यक्रम र नीतिहरुले अरु धेरै मानिसहरुलाई तिनका नजिक लिएर आउँछ र यो अझै बलियो बन्छ । यो जति बलियो बन्दै जान्छ, त्यति यसको प्रभाव फैलदै जान्छ । जति प्रभाव फैलिँदै जान्छ, त्यति यो बलियो हुँदै जान्छ । यसको बढ्ने द्वन्द्वात्मकता यही हो । आजको राजनीतिको सुक्ष्म तहमा हेर्‍यो भने अब यसको मूल प्रवाह, मूलप्रवृत्ति भनेको राजनीति गर्ने, टिकट लिने भएको देखिन्छ ।

    टिकट किन लिने भन्दा पैसा कमाउने । पैसा कमाएर के गर्ने भन्दा हिजोको भन्दा ठूलो पदमा फड्को मार्ने । ठूलो पदमा किन फड्को मार्नेभन्दा हिजोको भन्दा बढी पैसा कमाउने । यसरी यो दुस्चक्रमा फसेको छ । यो अर्कोतिरको द्वन्द्वात्मकता नै हो । धरै पैसा ठूलो पद, ठूलो पद धेरै पैसा । धेरै पद, धेरै पैसा । यसका वरीपरी दलाल पूँजीवादले हाम्रा पार्टीहरुलाई, हाम्रा पार्टीमार्फत् राज्यलाई, यहाँको सम्पूर्ण कानुन राजनीतिक व्यवस्थालाई दलाल पुँजीवादीकरण गर्दै छ कि छैन ? आज हेर्नुपर्ने प्रश्न सम्भवतः यो हो ।

    यो प्रश्नमा छलफल गर्ने हो भने बढीमा ६ महिनामा साँच्चै यो पार्टी समाजवादी बन्छ । एक हिसाबले अधारभूतरुपले समाजवादी पार्टी बन्छ, बनाउन सकिन्छ । तर त्यो कसरी बन्छ, कहाँबाट सुरु गर्ने भन्ने कुरा नै अन्योल छ । माथिबाटै हुनुपर्थ्यो, माथिबाट नभएपछि यो बहस हामी सवैले आआफ्नै ठाउँबाट सुरु गर्नुपर्छ ।

    आजको समाजवादी पार्टी कस्तो होला ?

    एउटा आधारभूत लाग्ने प्रश्न भन्छु– आजको समाजवादी पार्टी कस्तो होला ? मैले यो तत्कालीन नेकपा(एमाले)को आठौं महाधिवेशनमा पनि राखेका थिएँ । जुन हामीले समाजको, क्रान्तिको चरित्र बदलिएको स्थितिमा अबको पार्टी सदस्यले मार्क्सवाद–लेनिनवाद मान्छु, वर्ग शत्रुका विरुद्धमा लड्छु, रगत बगाउँछु, यो कसम खान्छु, गोपनीयता राख्छु, आदि इत्यादि भनेर उसले शपथ गरेजस्तै जस्तै त्यहाँ अरु कुरा पनि थपिनुपर्छ ।

    र, कमसेकम अबको पार्टीमा म पार्टी सदस्यता लिइरहेको यस घडीमा यो सपथ गर्दछु कि ‘म आफूले कमाएको बाहेक अर्काको सम्पत्तिमाथि कुनै नजर लगाउने छैन’ भनेर एउटा लाइन लेखियोस् । कमाउने कुरा यसो हेर्दा पुँजीवादी लाग्छ । तर कमाएर खाने कुरा, कमाउने भन्ने कुरा पनि तपाईंले आजको क्रान्तिको उद्देश्यका हिसाबले जोड्नु हुन्छ भने उत्पादक कमाइ कमाइ हो । भनेको तपाईंसँग पैसा छ भने तपाई रोजगारी दिने कुनै काम गर्नुहुन्छ र कमाएर खानुहुन्छ ।

    दोस्रो तपाईं हरेक सदस्य कमाएर खान्छ भन्ने ग्यारेन्टी गर्नुहुन्छ । कमाएको हरेक पैसा ट्याक्स तिर्छु । म मार्क्सवाद–लेलिनवाद मान्दै यो क्रान्तिको झण्डामुनि बसेर के कसम खान्छु भने ट्याक्स तिर्नेछु । वर्गशत्रुसँग लड्छु, आदि इत्यादि यी ठूला कुरा भए । यति त गरिदिनुहोस् कमसेकम कि कमाएर खान्छ र कमाएको हरेक पैसाको ट्याक्स तिर्छु ।

    तेस्रो मैले तिरेको ट्याक्स यो राज्यले गोलीगठ्ठा किनेर, विभिन्न काण्डहरु गरेर वा भत्ता बढाएर, आफ्ना सुविधा बढाएर, भ्रष्टाचार गरेर खाँदैछ कि मैले तिरेको ट्याक्स साँच्चै नै यो मुलुकका गरिब विपन्न, पछाडि परेको–पारिएका ती दलित, मधेसी, महिला, यिनको श्रीवृद्धिका लागि, कम्तिमा यिनको स्वाथ्य र शिक्षाका लागि लगाएको छ कि छैन भनेर म जतिखेर पनि भिजिल्यान्ट नै रहन्छु । म हरबखत सचेत रहन्छु ।

    यी तीनवटा कुरामात्रै त्यहाँ जोड्न सक्यौं भने धेरै ठूलो क्रान्ति हुन्छ भन्ने मलाई लागेको थियो त्यतिबेला । नवौं महाधिवेशनमा नेकपा एमालेमा करिव यो कुरा पास पनि भएको हो । तर केही भाइरस पस्यो या केही भयो, विधानमा त्यो छापिएर चाहिँ आएन । महाधिवेशनले पास गर्‍यो, छापिएर अर्कै आयो । यसलाई अहिलेको अर्थराजनीतिको आँखाले हेर्नुहुन्छ भने त्यसलाई कसले निकाल्यो होला ? म त यो एकदमै न्यूनतम कुरामात्रै गरिराखेको छु ।

    असमानतको गहिरो खाडल

    दुनियाँलाई थाहा आज अमेरिकाका १ प्रतिशत मानिससँग संसारका ९९ प्रतिशत मानिसको भन्दा बढी सम्पत्ति छ । अफ्रिकामा मानिस मरेका छन्, ल्याटिन अमेरिकामा मानिस मरेका छन् । एउटा पानीको बोतल नपाएर मानिस मरेका छन् । तर १ प्रतिशत अमेरिकीसँग ९९ प्रतिशतसँग मानिसको भन्दा बढी सम्पत्ति छ भन्नुको अर्थ वितरणको अवस्था साँच्चै राम्रो हुने भने आज समाजवादका लागि संसारमा प्रचुर उत्पादन छ, यो एउटा तथ्य हो ।

    यसै वास्तविकताभित्र हेर्नुहुन्छ भने आज कम्तीमा क्रान्तिकारी पार्टीले यो मात्रै गर्न सक्यो कि कमाएर मात्र खान सक्छ त्यसको सदस्यले । यो आज घोषणा गरेर आजै लागू हुँदैन । कमसेकम तीन वर्षभित्र हामी यहाँ जान सक्यौं भने धेरै हुन्छ । केन्द्रीय कमिटिको सदस्यले शिक्षा र स्वाथ्यमा लगानी नगर्ने, तीन वर्षपछाडि प्रदेश कमिटीकाले गर्ने छैनन् । क्रमशः यो बढ्दै जान्छ र हाम्रो तलकासम्मका कमिटिहरुले शिक्षा स्वाथ्यमा निजी लगानी गर्ने छैनन् । जग्गा दलाली गरेर बाँच्ने छैनन् । अनि बाहिरको सामग्री ल्याएर भन्सार ठग्ने तरिकाले यिनीहरुले काम गर्ने छैनन् । पूँजीपतिको फाइल बोकेर वा ढाक्रे बनेर खाने छैनन् । नेपालको स्थिति के हो भने एउटा ठूलो फाइल बोकेर ऊ व्यस्त छ र एकचोटी मात्रै काम भयो भने उसको परत्र सुध्रिन्छ । यसरी व्यस्त छ मानिसहरु ।

    समाजवादको पहिलो चरणमा काम अनुसारको माम हुन्छ । हामीमा कस्तो भयो भने दलाल पूँजीवादमा कति योगदान गरेको छ, त्यसअनुसार पार्टीमा मुल्यांकन हुने व्यवस्था आयो । तपाईं कुन स्तरमा रहने हो – प्रदेशमा, केन्द्रमा ? केन्द्रको पनि पदाधिकारी हुने हो ? पदाधिकारी पनि विधानमा नलेखेरै पनि अर्कै तरिकाले दुनियाँको साँध्ने । कुनैले बनाएको विधान पनि उनीको लागि अप्ठ्यारो हुने तरिकाले । जति दलाल पूँजीवादमा पहुँच छ त्यति नै बढी तपाईंको पद हो भने त्यतिकै तपाईं नेता हो भने… यही हो कि होइन, छलफल गरौं ।

    धेरै पटक मैले स्थायी समितिमा यो कुरा राखेको छु । कम्तिमा हाम्रो घर, घोडागाडी, श्रीसम्पत्ति जे छन् यसको श्रोत के हो? छानविन एकचोटी गरौं । यो सत्यनिरुपण र मेलमिलाप आयोगजस्तै आयोग बनाऔं । कमसे कम सबैको श्रीसम्पत्ति ट्याक्स वा यीनको सारा कुरा एक ठाउँमा आओस् । यसको सत्य निरुपण होस् । कसरी कमाएको रहेको छ, कसरी खाएको रहेछ ? एक चोटी यो निरुपण भइदियोस् ।

    साह्रै जटील रहेछ भने त्यसलाई कारबाही गरौंला, नत्र मेलमिलाप गरौंला । एक पटकका लागि मेलमिलाप नै गरौं । व्यावहारिक भएर हेर्दा क्रान्तिका लागि मेलमिलाप गरौं । यो विषय धेरै पटक त्यहाँ नचढेका कारण यो यहाँ भनेको हुँ ।

    यी विषयमा हामी छलफल गरौं । यो त मेरो प्रस्ताव हो । यो भन्दा राम्रा प्रस्तावहरु छलफल गर्दै जाँदा आउँछन् । मार्क्सले ‘थेसिस अन फायरवाख’ लेखेपछि मार्क्स भए भन्छन् सबैजनाले ।सन् १८४५ मा मार्क्सले सानासाना सुत्र लेखे । पछि एगेंल्सले त्यो फेला पारेर त्यसलाई प्रकाशित गरिदिए । त्यसमा एघार वटा सुत्र छन् । सबैभन्दा पछिल्लोचाहिँ हामी सबैलाई थाहा छ । ‘दार्शनिकहरुले संसारको अनेक हिसावले ब्याख्या गरे तर मुख्य त यसलाई बदल्नु हो ।’ यो एघारौं सूत्र हो ।

    समाजवाद र नक्कली समाजवाद 

    त्यो भन्दा अगाडि उनले अरु १० वटा सूत्र लेखेका छन् । हेगेलका लागि उनले के भन्छन् भने ‘हेगेल तिमीले चिन्तनको सत्यताको बारेमा यत्रो मेहनेत गर्‍यौं । तर हेगेल तिम्रो चिन्तन, त्यसको सत्यताको बारे यत्रो लेखेको मान्छे, त्यसलाई पुष्टि चाहिँ कहाँ गर्छौ ? पुष्टि धर्तीमा गर्छौ कि चिन्तनमै गर्छौ ?’ धेरै ठूलो प्रश्न छ । त्यो प्रश्नबाट मार्क्सले हेगेलबाट आफूलाई अलग पारे भन्ने छ । हो पनि त्यस्तो । दर्शनको इतिहासमा र स्वयं मार्क्सको इतिहासमा त्यस्तो देखिन्छ ।

    समाजवादको बारेमा ठ्याक्कै देखिने कुरा के हुन्छ भने आजको समाजवादी पहिलो कुरा त्यो भन्दा बढी हुन्छ, धेरै हुन्छ । अनेक कुरा होला तर प्राथमिक कुरा उसले कमाएर खान्छ । ट्याक्स तिर्छ, आफूले तिरेको ट्याक्स हाम्रो मुलुकको विभेद अन्याय र इतिहासको हामीसँगको जुन बोध छ, त्यसको हिसाव चुक्ता गर्नमा लगाउँछ कि लगाउँदैन भन्ने सदस्यता दिँदाको बखत हामीले त्यस्तो पार्टी बनायौं भने त्यसले समाजवाद ल्याउँछ । नत्र यो समाजवाद यत्तिकै रह्यो भने हेर्नुहोला हाम्रा लिडरहरुले के प्रस्ताव ल्याउँछन् भने यो समाजवादले हामीलाई अगाडि बढ्न अलिकति अप्ठ्योरो पार्‍यो, बढेन ।

    प्रमाण के पेश गर्छौं भन्दा संविधानमा समाजवाद लेख्यौं, दस्तावेजमा पनि समाजवाद लेख्यौं, तीन वर्ष, चार वर्ष भयो, मुलुक केही पनि बनेन । समस्या कहाँ रहेछ भन्दा त त्यही समाजवादमा रहेछ समस्या । त्यसले गर्दा अब योसँग हिसाव किताव चुक्ता गरौं भनेर यिनीहरुले ल्याउनेछन् । यस्तो भयो भने अथवा यही वा केही होला, तर विचार यही हो । आजको राजनीतिक नेतृत्वको मूलदिशा समाजवादविरोधी छ ।

    म त्यही पार्टीको स्टान्डिङ कमिटीको सदस्य हुँ । मैले व्यक्तिगत रुपमा कसैलाई गाली गरेको छैन, त्यसैले कारबाही नगर्ला । तर मैले मार्क्सको सन्दर्भ किन ल्याएको हो भने तपाईं व्यवहारमा समाजवादी हो कि होइन ? तपाईंको भाषणको पुष्टि भाषणले नै गर्ने हो कि व्यवहारमा गर्ने हो भन्ने प्रश्न अब जहीँ तहीँ समातौं त !

    एउटा बेला आउनेछ । गाउँका क्रान्तिकारीहरुले सोभियत गठन हुँदा आफैं जम्मा भए, क्रान्तिकारीहरु र जो जो क्रान्तिकारीहरु थिए, कमिटी बनाएर अब सत्ता हाम्रो हो भनेर सुरु गरे । आज अन्तिम बेलामा यो साँच्चै नहुने हो भने हामीले घोषणा गर्नुपर्नेछ– गाउँ कमिटिहरु, नगरकमिटीहरु, प्रदेश कमिटीहरु र केन्द्रीय कमिटिहरुले, अब यो कार्यालयका वैध उत्तराधिकारी हामी हौं भनेर । त्यसका लागि पनि यो अन्तिम कुरा हो । आजै यो होइन, आजै यो भयो भने भत्काइदिन्छु बाख्राको खोर पनि हुन्छ । भोलि पनि यो नगर्ने हो भने हामी दलाल पुँजीवादमा फसिसकेका छौं भन्ने कुरा हो । त्यसो गर्दा आज र भोलिको बीचमा, कँही कतै यो एजेन्डा पनि राखेर त्यो जिम्मेवारीबोधका साथ समाजवादप्रतिको त्यो प्रतिवद्धताका साथ यो नौजवान समुहरुले बहस शुरु गर्‍यो भने…

    समाजवादको त्यो ग्यारेन्टी के हो भन्दा त्यो प्रतिबद्धता हो, त्यो खुलापन हो । समाजवादका लागि दुनियाँसँग, प्रतिक्रियावादसँग इतिहासको सारा हिसाव किताव चुक्ता गर्न हिँडेको यो क्रान्तिकारी आफ्ना नेतासँग डराउँछ भने तपाई हाम्रो समाजवाद पनि खोक्रो समाजवाद हो । नक्कली समाजवाद हो ।

    त्यसो हुनाले साथीहरु, यो क्रान्तिको कुरा हो । समाजवादको कुरा हो । यो मेरो वा नेपालीहरुको मात्रै जिन्दगीको कुरा होइन, मानव जीवनको कुरा हो, मानव समुदायको कुरा हो । मैले अघि भनिसकें, इतिहाससँगको हिसाव किताव चुक्ता गर्ने हो भने आज लाग्नुपर्ने यसरी नै होला भन्ने मेरो प्रस्ताव छ ।

    ‘शहीद कुसुम स्मृति प्रतिष्ठान, नेपालले २०७६ भदौ २६ गते काठमाडौंमा आयोजना गरेको ‘नेपालको सन्दर्भमा समाजवाद’ विषयक विमर्श कार्यक्रममा नेकपा (एमाले )नेता घनश्याम भुसालले दिनुभएको प्रवचनको  सार।

    -रातोपाटी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.