यदि तपाईंको किताबको र्याकमा पूँजी ठेली वर्षौंदेखि थन्केर बसेको भने त्यो ओस्सिएर मोटो न मोटो भएको होला। अब बदल्नु होस् – कसरी बदल्ने त्यो तरिका यहाँ छ।
थाहा पाउनुभयो होला नि १९ औं शताब्दीको, कार्ल मार्क्सहरुका ‘घोषणापत्रको भूत’ ले आजका खर्बौंपतिलाई पनि तर्साउँदो रहेछ। एलोन मस्ककी पूर्व प्रेमी पपस्टार ग्रिम्सको संगीत कतिको धमाकेदार लाग्छ तपाईंहरुलाई, त्यो भन्दा बढी यही “भूत” देखाएर उनले सारा विश्वमा धमाका मचाइन्। उनले एलोन मस्कसँग ब्रेक-अप गरिन्, अनि कम्युनिस्ट घोषणापत्र समातेर खिचेको तस्वीर सार्वजनिक गरिन्। घोषणापत्रको प्रतीकात्मक शक्तिका रुपमा देखाइएको यो स्टन्टले एक्काइसौं सदीको सर्वश्रेष्ठ पूँजीपति, आफ्नो पूर्व प्रेमी विरुध्द उन्नाइसौं सताब्दीको युरोपलाई जसरी तर्सायो।
यी खर्बौंपतिहरुले आफ्ना आपसी मामलामा मार्क्स र फ्रेडरिक एंगेल्सको क्रान्तिकारी पाम्फ्लेटलाई हथियार बनाउनु एउटा कुरा हो, मार्क्सलाई पढ्नु र वर्तमान व्यवस्थालाई यथार्थमा बुझ्नु र त्यसलाई बदल्नका लागि उनका विचारलाई उपयोग गर्नु बिल्कुल अलग कुरा हो। असमानता र वर्ग संघर्ष बढ्दै गएकाले ८–१० वर्षयता मार्क्सहरुलाई पढ्नेहरुको संख्यामा अत्यधिक बृध्दि भइरहेको छ। तर यी नयाँ वामपन्थिहरु र यस्तै विचारका व्यक्तिहरुलाई मार्क्सहरुको लेखनभित्र भित्रैदेखि विचरण गर्न एक चुनौती नै हुनसक्छ। चौसट्ठी वर्षकैं उमेरमा बितेका मार्क्सले लेखेका अनगिन्ति कृतिहरु पढिसक्न निकै मुस्किल छ। मार्क्स र एंगेल्सका संकलित रचनाहरु अंग्रेजी भाषाका मात्रै ५० ठेली छन्। तर उनीहरुका अरु रचनाहरु प्रकाशन हुन अझैं बाँकी छन्।
मार्क्सलाई पढ्नु चाखलाग्दो नै हुन्छ। उनले पूंजीवादको गरेको आलोचना बेजोड भएर मात्र होइन, उनका विचार मौलिक रूपमा नै मानव स्वतन्त्रतासँग सम्बन्धित छन्, र उनका लेखनहरुले पूंजीवादमा हुने आर्थिक शोषणलाई गहिरोगरी उद्घाटन गर्छन् र – तिनीहरुले सवै प्रकारका सामाजिक दमन र शोषणलाई चुनौति दिन्छन्। उनी एक प्रतिभावान् बौध्दिक थिए, तिनको अध्ययन राजनीतिक पत्रकारिता, दर्शन, इतिहास र राजनीतिक अर्थव्यवस्थासम्म विस्तारित छन्। उनका रुचिका साहित्य, भाषा विज्ञान, विज्ञान, गणित र मानवशास्त्रहरुले उनका प्रमुख विचारहरुलाई सुस्पष्ट गरे भने उनका लेखनलाई समृद्ध पारे। मार्क्ससँग सम्पर्क स्थापित गर्न एक भन्दा अर्का तरिकाहरु छन्। तथापी यसका लागि उनका प्रमुख ग्रन्थहरुका साथसाथै उनका राजनीतिक, ऐतिहासिक र बौद्धिक सन्दर्भलाई अवलोकन गर्दापनि मदद पुग्छ।
राजनैतिक लेखनहरु
पहिलो विश्वयुद्ध अघिका कैयन जर्मन श्रमिकहरुले कम्युनिस्ट घोषणापत्र सँगै आफुलाई समाधिस्थ गर्न माग गर्थे। यो प्रतिबद्धताको एक कबुलियतनामा हो, जसले गरेको घोषणा बीसौं सदीको शुरुवातका श्रमिक आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण थियो। यसै कारणले मात्र पनि, मार्क्ससँग परिचित हुन चाहने पाठकहरुका लागि, सन् १८४८ मा पहिलो पटक प्रकाशित कम्युनिस्ट घोषणापत्र, सबैभन्दा पहिलो सिकारु पाठ्यसामग्री हुनसक्छ। किन सहयोगी हुन्छ भने हालसम्म लेखिएका सबैभन्दा प्रसिध्द र शक्तिशाली लेखनहरुमध्ये यो एक हो।
यसलाई उनका आजीवन सहयोगी र मित्र फ्रेडरिक एंगेल्सले खेस्रा गरेको मस्यौदामा, मार्क्सले केही हप्तामा पुरा गरेका थिए। यसको उद्देश्य कम्युनिस्ट लीगका विचारहरुलाई घोषणा गर्नु थियो। कम्युनिस्ट लीग मजदूर वर्गको एक सानो पार्टी थियो, जसमा मार्क्स र एंगेल्स पनि सदस्यहरु थिए। यो संक्षिप्त छ, तर विषयवस्तु प्रष्ट पार्नेगरी। यसले १८४८ ताका यूरोपमा भएका क्रान्तिहरुको भावनालाई व्यक्त गर्छ र यसको पहिलो अध्याय, “बुर्जुआ र सर्वहारा” मा नै मार्क्सका सबैभन्दा प्रसिध्दमध्ये एक पङ्कति छ। त्यस पङ्कतिले भन्छ:
“अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरुको इतिहास वर्ग-संघर्षको इतिहास हो। स्वतन्त्र र दास, पेट्रीशियन (कुलिन) र प्लेबीयन (सर्वसाधारण), सामन्त र दास, निर्पुर्ण कालिगढ र सिकारु कालिगढ, एक शब्दमा, उत्पीडक र उत्पीडित, निरन्तर एक अर्काका विरोधी रहेका थिए। उनीहरु कहिले लुकिछिपि त कहिले खुल्लारुपमा परस्पर संघर्ष गर्दैरहन्थे। यस्तो लडाइँ हरेकपल्ट कि त पूरै समाजको क्रान्तिकारी पुनर्गठन भएर, कि त संघर्ष गरिरहेका वर्गहरुको पूर्ण विनास भएर नै समाप्त हुन्थ्यो।”
पूँजीवादको तथ्यसङ्गत निन्दा गर्नुका साथसाथै, कम्युनिस्ट घोषणापत्रले मार्क्सका सिध्दान्तको केही तर सबैभन्दा आवश्यक भागलाई व्याख्या गर्छ, जसमा वर्ग संघर्ष तथा ऐतिहासिक परिवर्तनसम्बन्धी उनको विश्लेषण र मजदूर वर्गलाई राजनीतिक संगठनको आवश्यकताबारे छन्। मार्क्सको लक्ष्य राजनीतिक वर्तमानलाई बुझ्नु र आधुनिक दुनियाको सामाजिक गतिशीलतालाई स्पष्ट गर्नु हो। यही कारण यो दोहोर्याएर पनि पढ्नयोग्य छ – जति पटक पढ्यो त्यति नै मार्क्सको विचारको नयाँ गुत्थी खुल्दै जान्छ।
सन् १८७२ मा, मार्क्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा नयाँ भूमिका लेखेर एउटा महत्वपूर्ण सन्दर्भ थपे। त्यो सन्दर्भ पेरिस कम्यूनलाई राम्ररी अध्ययन गरेर थपेका थिए। पेरिस कम्युन जुन सन् १८७१ को एक जनविद्रोह हो जसले लगभग तीन महिनासम्म फ्रान्सको राजधानीलाई कब्जामा राखेको थियो। त्यो पेरिस कम्युन असफल भयो। त्यसपछि उनीहरु के निष्कर्षमा पुगेभने ‘मजदूर वर्गले केही गरी सत्ता कब्जा गरिहाले भने त्यो सत्तालाई पूंजीवादको विरुध्द प्रयोग गर्न असम्भव हुनेरहेछ।’ परिणामस्वरूप, कम्यून विरुध्द भएको दमनपछि लेखिएको “फ्रान्समा गृहयुध्द” मा, मार्क्सले निष्कर्ष निकाले– पूंजीवादको लोकतान्त्रिक, राजनीतिक विकल्प केवल मजदूर वर्गद्वारा निर्मित र नियन्त्रित संस्थाहरुले नै दिनसक्छन्।
लण्डनमा मस्यौदा गरिएको “फ्रान्समा गृह युद्ध” धेरै देशका समाजवादी समूहहरु र यूनियनहरुको एक फोरम– फर्स्ट इंटरनेशनलको सार्वजनिक वक्तव्य हो। यसले श्रमिकका संगठनहरुले सामूहिक रूपबाट र लोकतान्त्रिक रूपबाट आफ्नो राजनीतिक शक्तिको गठन गर्न सक्छन् भन्ने कुरालाई बुझायो र यसका लागि विश्वभरका समाजवादीहरुलाई प्रेरित गर्यो। फ्रान्समा गृहयुद्ध, मार्क्सको लोकतान्त्रिक संगठनको क्रान्तिकारी विचार र सामाजिक मुक्तिको दुरदृष्टिको एक कवुलियतनामा हो।
“साम्यवादलाई एउटा बेग्लै क्रान्तिकारी प्रणाली हो, जसले हाम्रा आवश्यकताहरु – जो असीमित लाग्नेजस्ता छन् र व्यक्ति–व्यक्तिबीच भिन्न छन् – ती दुवैलाई पहिला महत्व दिनेछ”
“फ्रान्समा गृहयुद्ध” को लक्षित पाठक आमजन थिए भने, मार्क्सले सन् १८७५ मा लेखेको “गोथा कार्यक्रमको आलोचना” समाजवादी आन्दोलनभित्र चलेको विवादबारे मुख्यतः जर्मनीमा नवगठित सोशल डेमोक्रेटिक पार्टीतर्फ लक्षित थियो। यस संक्षिप्त लेखनमा, मार्क्सले आफुलाई मार्क्सवादी हौं भन्ने समाजवादीहरुको डटेर आलोचना गरेका छन्। तिनीहरुले आफ्नो सिध्दान्तको प्रमुख पक्षलाई गलतरुपमा बुझे। वास्तवमा, “गोथा कार्यक्रमको आलोचना” मा उनले आफ्ना अन्य लेखनहरुमा सम्वोधन नगरिएका कैयन महत्वपूर्ण विचार राखेका छन्। सबैभन्दा महत्वपूर्ण भनेको उनले पूंजीवादबाट साम्यवादमा पुग्ने संक्रमणमाथि चर्चा गरेका छन्। उनले औंल्याएका छन्– समाजवाद र साम्यवादलाई दुई बेग्लाबेग्लै चरण (stages) का रुपमा बुझ्नु हुँदैन। बरु, मार्क्सले समाजवाद र साम्यवादलाई पूंजीवाद पछिको समाजको नयाँ रूपको विकासका विभिन्न “पक्षहरु” हुन् भनेर परिकल्पना गरेका छन्।
यसैबाट हामीलाई साम्यवादको वर्णन गर्ने उनको प्रसिध्द नारालाई बुझ्न मदद मिल्छ: “प्रत्येकले आफ्नो योग्यता अनुसार काम गरोस्, आफ्नो आवश्यकताहरु अनुसार पाओस्।” मार्क्स “बुर्जुआ अधिकारको सीमित क्षितिज” भन्दा परको जीवन हुनुपर्ने प्रस्ताव गर्दछन्, जहाँ उत्पादनलाई विवेकपूर्ण र सामूहिक निर्णयको आधारमा पुनर्गठित गरिनेछ। मार्क्स समाजवादी या अन्य कुनै पनि दृष्टिकोणका आलोचक हुन्, जसले सम्पत्ति पुनर्वितरण गरेर नै समानता प्राप्त हुनेछ, भन्छन्। उनले साम्यवादलाई एउटा बेग्लै क्रान्तिकारी प्रणालीको रुपमा देखे– जसले हाम्रा आवश्यकताहरु – जो असीमित लाग्नेजस्ता छन् र व्यक्ति–व्यक्तिबीच भिन्न छन् – ती दुवैलाई पहिला महत्व दिनेछ।
साम्यवादको उद्देश्य एक यस्तो जीवन प्रदान गर्नु हो जसमा हामी आफ्ना पूरै क्षमताबाट समृध्द र सुखी हुनका लागि स्वतन्त्र हुनसकौं। उनको विचारमा, स्वतन्त्रता र लोकतन्त्रका लागि एक यस्तो सामाजिक संगठनको आवश्यकता हुन्छ जसले श्रमको पूंजीवादी रूपमाथि विजय प्राप्त गरोस्।
मार्क्सको प्रारम्भिक लेखन
सन् १८४८ भन्दा पहिलाका, मार्क्सका अधिकाङ्श रचनाहरु दर्शनसँग सम्बन्धित थिए। युवा अवस्थामा, मार्क्स मुख्यतः जर्मन दार्शनिक जी.डब्ल्यू.एफ. हेगेलको विचारका पक्षधर मानिने बौध्दिक परिवेशका एक सहभागी थिए। हेगेलको १८३१ मा मृत्युभएपछि, जर्मनीमा हेगेलका अनुयायी दुई शिविरहरुमा विभाजित भए, ती दुवैले आफूलाई हेगेलको विरासत पाएको दावा गरे। “दक्षिणपन्थी हेगेलियन” ले रूढिवादी र धार्मिक दर्शनको प्रतिनिधत्व गरे र लोकतन्त्रविरोधी प्रशियाराज्यलाई समर्थन गरे। यसको विपरीत, “वाम हेगेलियन” ले हेगेलका दर्शनको धार्मिक-विरोधी पक्षलाई समर्थन गरे र प्रगतिशील राजनीतिक र सामाजिक सुधारहरुको वकालत गरे। मार्क्स धर्म र राजनीतिको एक उग्रआलोचक भएकाले अक्सर गरेर वामपन्थी हेगेलियन मानिने गरिन्छ तर उनी त्यो शिविरप्रति कहिलेपनि नरम भएनन्। प्रामाणिक रुपबाट, उन्ले हेगेललाई गम्भीरता र श्रध्दाका साथ पढे। हेगेलले मार्क्सको जीवनभरी नै मार्क्सका विचारमाथि महत्वपूर्ण बौद्धिक प्रभाव पारिरहे।
उनैको प्रभावका परिणामस्वरूप, मार्क्सको “प्रारम्भिक” लेखनहरु (आमरुपमा १८३९ देखि १८४५ सम्मको अवधि) मा हेगेलको विशिष्ट र कठिन शब्दावली भरमार पाइन्छन्। त्यो भन्दा बढी, मार्क्स त्यसबेला अप्रसिध्द समकालीनहरुका विरुध्द व्यापकरूपमा विवाद गर्छन्। यसकारण तिनीहरुलाई मार्क्सको नजिक पुग्न नै मुश्किल हुने गर्थ्यो। तथापि, यी प्रारम्भिक लेखनहरुमा मानव प्रकृति, मानव गतिविधि र श्रमको अलगावका बारेमा मार्क्सको केही महत्वपूर्ण सिध्दान्त समावेश छन्। यस अवधिको लेखनबारे दृष्टिकोण बनाउन, केही लेखनहरुलाई मात्र रोज्नु फाइदाजनक हुन्छ। म यहाँ दुईवटा ग्रन्थलाई रोज्न प्रस्ताव गर्दछुः (१) डेविड मैकलेलनद्वारा सम्पादित “कार्ल मार्क्स: सेलेक्टेड राइटिङ्स (१९७७)”, र (२) रबर्ट सी. टकरद्वारा सम्पादित “मार्क्स-एंगेल्स रीडर (१९७८)”। मार्क्सको प्रारम्भिक लेखनलाई बुझ्न मार्क्ससम्बन्धी जीवनीबाट अति नै सजिलो हुन्छ। माइकल हेनरिकको “कार्ल मार्क्स एण्ड द बर्थ अफ मोडर्न सोसाइटी (२०१९)” वा पीटर हुडिसको मार्क्स कन्सेप्ट अफ अल्टरनेटिभ क्यापिटलिज्म (२०१२) जस्ता पुस्तकहरु। यिनीहरुमा मार्क्सका विचारहरुलाई सुन्दर तरिकाले वर्णन गरिएका छन्।
सम्भवतः प्रारम्भिक लेखनमा सर्वोत्तम १८४३ मा लेखिएको “यहूदी प्रश्नबारे” हो। यो मार्क्सको प्रारम्भिक लेखनमध्ये सबैभन्दा महत्वपूर्णको छ किनकि यसमा उनले आधुनिक राजनीतिको आलोचनाको रूपरेखा तयार गरेका छन्, जो आज पनि शक्तिशाली छ। यस संक्षिप्त लेखमा, मार्क्स उदारवादको विविधतालाई विश्लेषण गर्छन्– त्यो विश्लेषण मानवाधिकारहरुमाथि केन्द्रीत छ र ती १७८९ मा भएको फ्रेन्च क्रान्तिपछि प्रभावशाली भएर आएका थिए।
उनको तर्क छ – उदार दृष्टिकोणले राजनीतिक नागरिकताप्रति मानव अधिकारहरुको पक्ष लिन्छ तर आधुनिक बजारले उत्पादन गरेको प्रष्ट असमानतालाई भने उपेक्षा वेवास्ता गर्छ। मार्क्सको निकर्षमा, नागरिकहरुको राजनीतिक जीवन र अर्थव्यवस्थाको निजी जीवनबीच द्वन्द्व छ। राजनीतिक जीवन स्वतन्त्र, विवेकसंगत र समान देखिएजस्तो भएपनि, यसलाई बजार तथा निजी सम्पत्तिको शक्तिले पूंजीका मालिकहरुलाई विश्वको वास्तविक शक्ति दिएर कमजोर पार्दछ। मार्क्स भन्छन् – राजनीतिक अधिकारहरु आवश्यक छन्, तर त्यसलाई विस्तार गरिनु पर्छ र मानव स्वतन्त्रताको रूपमा सार्वभौमिक बनाइनु पर्छ। हामीले स्वतन्त्रतालाई पर्याप्तरुपबाट बुझ्नका लागि मानव मुक्तिको कल्पना गर्नु अति नै आवश्यक छ।
“सिध्दान्त बिना अभ्यास अन्धो हुन्छ, र अभ्यास बिना सिध्दान्त नपुंसक हुन्छ”
यस मानव मुक्तिको कल्पनालाई अन्तर्दृष्टिमा राखेर, मार्क्सले पूंजीवादले उत्पादन र श्रमलाई कसरी व्यवस्थित गर्दो रहेछ भन्ने बुझ्नमा ध्यान दिनथाले। हेगेलको अलगावको विचारबाट प्रेरणा लिनुका साथसाथै, सम्पत्ति कहाँबाट आउँछ भनेर बुझ्न, उन्ले एडम स्मिथ र डेविड रिकार्डो जस्ता अर्थशास्त्रीहरुलाई ध्यान सूक्ष्मरुपमा अध्ययन गरे। यी अध्ययनहरुको दौरानमा मार्क्सले आफ्नो सोचलाई स्पष्ट पार्न टिपोट गरिएको नोटबुक्स १९३० का दशकमा मात्रै फेला पर्यो जुन नोटबुक्स “म्यानुस्क्रिप्ट १८४४” नामले प्रख्यात छ।
मार्क्सको १८४४ का लेखन नै बुर्जुआ राजनीतिक अर्थव्यवस्थासँग भएको पहिलो ठूलो टकराव हो। मार्क्सले पूंजीवाद अन्तर्गत मनुष्यको प्रकृतिलाई उजागर गर्न प्रयाश गरेका छन्। उनले त्यसमा पूँजीवादभित्र मानव “अलगाव” (alienated) र “विमुख” (estranged)” भएको देख्छन्। मार्क्सको तर्क छ – पूंजीवादले न केवल हाम्रो उत्पादक र सचेत क्रियाकलापहरु माथिको हाम्रो पकडलाई खोस्छ, यसले हाम्रो व्यक्तिगत र सामूहिक श्रम क्षमताहरुको उपलव्धीलाई समेतबाट वञ्चित गर्छ। जब हामीले आफ्नो श्रम रोजगारदातालाई ज्यालाको लागि बेची दिन्छौं, त्यसपछि हामी जे गर्छौं, जे उत्पादन गर्छौं, र श्रमको सामाजिक र पर्यावरणीय परिवेशमाथि समेतको हाम्रो पकडलाई गुमाउँछौं।
मार्क्सका प्रारम्भिक लेखनलाई १८४५ को “थिसिस अन फ्यूअरबैक” ले समापन गरेको जस्तो देखिन्छ। यस संक्षिप्त लेखमा व्यापक रूपमा उद्धृत ११ वटा थीसिस सामेल छन्: “दार्शनिकहरुले अहिलेसम्म दुनियाको व्याख्यामात्र गरेका छन् तर मुख्य कुरा त यसलाई बदल्नु हो”। यो सम्भवतः मार्क्सको सबैभन्दा प्रसिद्ध वाक्य हो, र यसले सिध्दान्त र व्यवहारका बिचको विरोधाभाषलाई उजागर गरेको छ। मार्क्स यही विरोधाभाषलाई काबूमा ल्याउन समर्पित थिए। तथापि, धेरै व्याख्याकारले उनको यस बूँदालाई भुलेका छन्। अति व्यवहारवादी मार्क्सवादी चिन्तकले थीसिसको वाक्यको पहिलो भागलाई मात्र अर्थ लगाउँदै ‘दर्शन अब आवश्यक छैन र यसको साटो हामीले सक्रिय रूपमा परिवर्तनतर्फ ध्यान केन्द्रीत गर्नु पर्दछ’– भन्छन्। प्राज्ञिक पाठकहरुले मार्क्सको अभ्यासको विचारको सैध्दान्तिक महत्व वरपर विचरण गर्छन् तर मार्क्स क्रान्तिलाई सफल पार्न सहयोग पुर्याउन सक्ने कुनै सिध्दान्त विकसित गर्न खोज्दैथिए भन्ने कुरा बिर्सिरहेका हुन्छन्। एघारौं थीसिसमा मार्क्सको कुरा के हो भने सिध्दान्त र व्यवहार एकअर्कामा अन्योन्यास्रित छन्। सिध्दान्त बिना, अभ्यास अंधो हुन्छ, र अभ्यास बिना, सिध्दान्त नपुंसक हुन्छ।
पुँजी
मार्क्सको महान कृति पूँजी बुझ्न चुनौतिपूर्ण नै हुनसक्छ– तर प्रयास गर्नु राम्रो हुन्छ। मार्क्सहरुले कम्युनिस्ट घोषणापत्र हतारहतारमा लेखेका थिए तर पूँजी को लेखन मार्क्सको जिवनभरको परियोजना थियो। सबभन्दा पहिला उनले यसलाई ६ खण्डमा लेख्ने योजना बनाएका थिए, तर जतिजति उमेर बढ्दै गयो र उनको स्वास्थ्य विग्रदै गयो तब उनले यसलाई ४ खण्डमा लेख्ने योजना बनाए। उनको जीवनकालमा १८६७ मा पहिलो खण्डमात्र प्रकाशित भयो। त्यसपछिका खण्डहरुका लागि विभिन्न मसौदा र पाण्डुलिपिहरु तयार थिए। उनको मृत्युपछि एंगेल्सले पूँजीको दुई खण्डलाई सम्पादन गरेर प्रकाशित गरे। चौथो खण्ड आर्थिक सिध्दान्तको एक महत्वपूर्ण इतिहाससम्बन्धी थियो जुन धेरैपछि “थ्योरी अफ सरप्लस भेल्यू” (अतिरिक्त मूल्यको सिध्दान्त) को नाममा प्रकाशित भयो। यसकारण मार्क्सको जीवनकालमा सबै उत्तरहरुलाई समाहित गर्नु त टाढाको कुरा, समग्रमा भन्नुपर्दा मार्क्सवाद जसरी नै, पूंजी पनि अधूरो रहन गयो।
पट्यारलाग्दो विधा अर्थशास्त्र त्यति प्रतिष्ठित नभएपनि, पूँजीमा मार्क्सको लेखाइ अधिकांश अंशहरु (कम से कम खण्ड १ मा), सामान्यतः रोमाञ्चक नै छ र उनले तर्कहरुलाई स्पष्ट र सावधानीपूर्वक राखेका छन्। यो भन्दा पनि महत्वपूर्ण कुरा यो छ कि पूंजी एक उपलब्धि हो किनकि यसमा समाविष्ट अवधारणाहरु पूंजीवादभित्रको जीवनको सामाजिक रूप र सामाजिक सम्बन्धहरुलाई ऐतिहासिक सेटको रूपमा बुझ्नका लागि आवश्यक छन्। जबकि सामाजिक सम्बन्धहरुले हाम्रो जीवनको निर्माण गरेपनि ती प्राकृतिक होइनन्, ती त सिर्फ एक विशिष्ट ऐतिहासिक र आर्थिक प्रणालीका उत्पादन हुन्।
पूंजीको पहिलो अध्यायमा, मार्क्सले स्पष्ट गरेका छन्– पूंजीवादलाई मूलरूपमा माल उत्पादन र विनिमयद्वारा बुझ्नसकिन्छ। माल, उनले व्याख्या गरेअनुसार, को “उपयोग-मूल्य” हुन्छ, यसो भन्नुको अर्थ, कुनै वस्तुलाई माल हुनका लागि, यो कसैको आवश्यकताका लागि पूरा का पूरा उपयोगी हुनु पर्छ। अर्को कुरा मालहरुलाई केवल तिनको उपयोगका आधारमा मात्र परिभाषित या मूल्य दिइएको हुँदैन, बरु तिनीहरुको मालको रुपमा बजारमा बिक्री हुने अवस्थाले परिभाषित गरिएको हुन्छ। उदाहरणका लागि, घरमा पकाइने खानाले निश्चित रूपमा नै मानवीय आवश्यकतालाई पूरा गर्दछ – तर यो कुनै माल होइन। कुरा के हो भने मालहरुले “विनिमय मूल्य” धारण गर्छन्, जुन “विनिमय मूल्य” ले आफ्नो मूल्य पैशामा तोक्छ।
यसलाई अझ राम्ररी बुझाउन, मार्क्स सोध्छन् – पूँजीवादअन्तर्गत सम्पत्ति कसरी मूल्यको रूपमा प्रकट हुन्छ, (जुन पैशाको रुपमा सामाजिक सम्बन्धको सेतु बन्छ) र, यस मूल्यका अवयवहरु के के हुन्। यसको आंशिक उत्तर मार्क्सका अनुसार – पुँजीवाद मानव श्रमलाई वस्तुकरण गरेर टेकेको छ।। श्रम शक्तिको विनिमय मूल्य ज्यालामा मापन गरिन्छ।
वास्वतमा, बजारमा बिक्री गरिने मालहरु उत्पादन गर्नका लागि लाग्ने कार्यसमय (अवधि) भित्र श्रमको उपयोग मूल्य लागेको हुन्छ। यो एक महत्वपूर्ण अन्तर्दृष्टि नै मार्क्सको शोषणसम्बन्धी प्रस्थापनाको गुदी हो। कार्यसमयको दौरानमा खर्चिएको हाम्रो श्रमले हाम्रो श्रम–शक्ति बापत दिइने ज्याला भन्दा बढी मूल्यको उत्पादन गर्दछ। यसो हेर्दा लेन-देन उचित हो नै जस्तो लाग्छ, तर काममा लागेको हाम्रो समयले हाम्रो ज्याला भन्दा अधिक नयाँ मूल्य पैदा गर्छ। यो नै “अतिरिक्त मूल्य” हो। यो अतिरिक्त मूल्य जुन उत्पादनका आवश्यक मशीनरी, जमीन र कच्चा पदार्थका मालिक पूंजीपतिहरुको गोजीमा जान्छ। यस प्रक्रियालाई ध्यानमा राख्दा, यो बुझ्न सहज हुन्छ कि पूंजीपतिहरु बीच हुने प्रतिस्पर्धा केवल लोभको सवालमात्र होइन, यो अनवरत पूँजी संचित गर्ने बाध्यता पनि हो, जसले पूंजीवादी प्रणालीभित्र मूल्यको स्थान निर्धारण गर्दछ।
“पुँजीवाद मानव श्रमलाई वस्तुकरण गरेर टिकेको छ”
मार्क्सको तर्कहरुमा सबैभन्दा महत्वपूर्ण यो छ – त्यस्तो मूल्य शारीरिक श्रम लागेरमात्र उत्पन्न हुँदैन, त्यो एक सामाजिक प्रक्रियाबाट पैदा हुन्छ। त्यस सामाजिक प्रक्रियाले नै मानव–श्रमलाई “सामाजिक रूपमा जरुरी श्रम समय” जसरी प्रस्तुत गर्छ र श्रम–क्रियाकलापलाई अमूर्त गर्दै मालहरुलाई मूल्य दिन्छ। यस प्रक्रियालाई विनिमयको आवश्यकता पर्छ, हुन त यो केवल मालहरुको बिक्री मात्र हो तर यसले मालहरुको सामाजिक मूल्यलाई वैधता दिन्छ।
मार्क्सले स्पष्ट गरेका छन् – मालहरु, पैशा र पूंजीले कसरी अलग-अलग क्षणहरुमा मूल्य निर्धारण गर्न सहयोग गर्छन्। यी आर्थिक रूपहरु सबै सामाजिक सम्बन्ध हुन्, मार्क्सका अनुसार ती सबै श्रम क्रियाकलापमाथि निर्भर छन्, जुन क्रियाकलापहरु अलगावमा परेका मजदुरले ज्यालाका लागि बेचेका हुन्छन्। यसको परिणाम, मानव श्रमले गरेको उत्पादन नै जसले बनाएको हो त्यसैमाथि हावी हुन्छ, हामी लाग्छ– तिनीहरु हामीबाट अलग्गै र स्वतन्त्र जस्तै हुन्छन्। बजारले मानवजातिलाई मालहरुको क्रेता र विक्रेता जसरी प्रष्टतः आर्थिक कार्यमा मात्र सिमित गरिदिन्छ। पूंजी पुस्तकमा यस परिघटनालाई मार्क्सले “fetishism” (आवश्यकताभन्दा बढि ध्यान दिइने) शव्द दिएका छन्। यो शव्द मालहरु, पैशा र पूंजीबारे उनले गर्ने विश्लेषणमा लागु हुन्छ। यी सामाजिक स्वरुपहरुमा पूंजीवाद अन्तर्गत वर्चस्व, अवैयक्तिक र सर्वव्यापी सम्बन्धहरुजस्ता असाधारण शक्ति हुन्छ।
यस कुरामा जोड दिनु पनि जरूरी छ कि पूंजी पुस्तक हरेक कोणबाट आर्थिक सिध्दान्तको आलोचना हो। मार्क्सको उपलब्धि भनेको मूल्य आफैंमा जीवनको एक ऐतिहासिक स्वरूप हो र जसको परिणामलाई रूपान्तरित गर्न सकिन्छ। पूंजीवादी सामाजिक सम्बन्ध प्राकृतिक होइन भन्ने स्पष्ट पार्दै, यो इतिहासको उपज हो भनेका छन्। उनी प्रमाणित गर्छन्– पूंजीवाद संकटमा पर्ने र भंग हुनेतर्फ अधोमुख छ। यसको अर्थ हो कि सामाजिक परिवर्तन सम्भव पनि छ र आवश्यक पनि।
मार्क्सहरुको लेखनलाई समूहमा बसेर पढौं
समूहमा बसेर मार्क्सलाई पढ्नु उपलव्धीमूलक हुन्छ। यसरी पढ्दा आफ्नो बुझाइ र विचारलाई समूहका अन्य साथीहरु, सहकर्मीहरुबीच छलफल गरी प्रष्ट हुन सहयोग पुग्छ। मार्क्सका लेखनलाई बुझ्नु त्यति कठीन छैन जति पढ्न नथाल्दा सोचिएको हुन्छ। तथापि मार्क्सले पूँजी पुस्तकका पाठकहरुलाई चेतावनी दिएका थिए, ‘विज्ञानका लागि कुनै राजमार्ग छैन, र जो थकाइ लगाउने उकालीमा उक्लन डराउदैन त्यसले नै शानदार शिखरमा टेक्न पाउनेछ।’
(मोनास यूनिभर्सिटिमा राजनीति र दर्शनका प्राध्यापन गराउने मिचेल लाजारसको २०२२ मार्च ३ मा ज्याकोबिन अनलाइनबाट साभार।)










