Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

गोर्खाको कथा-२: अमरसिंह थापाको आत्मसमर्पणसँगै सुरू भएको गोर्खा भर्ती 

'नालापानी युद्धका वीर कहलिएका बलभद्र कुँवर मामाहरू भूपालसिंह थापा र अर्जुनसिंह थापाको पछि लागेर लाहोर गई पञ्जाबकेशरी रणजित सिंहको फौजमा भर्ना भए। त्यहीं रहँदा अफगानिस्तानको युद्धमा प्राण त्याग गरे। त्यही लाहोर जानेहरू कालान्तरमा लाहुरे कहलाए।'

रोहेज खतिवडा रोहेज खतिवडा
भदौ १९, २०८०
- रिडर्स डिस्कोर्स, विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सम्भवत: स‌ंसारमा नेपाल मात्रै एउटा यस्तो मुलुक हो जसले राज्यहरूबीचको औपचारिक सम्झौतामार्फत विदेशी सेनालाई आफ्नो मुलुकमा आएर आफ्ना नागरिक भर्ना गर्न दिन्छ।

    ‘ब्रिटिस साम्राज्यको नेपाली मोहरा: गोर्खा भर्तीको नालीबेली’ नामक पुस्तकका लेखक झलक सुवेदीलाई मैले एक भेटमा सोधेको थिएँ, ‘संसारमा नेपालबाहेक अरू कुनै देशले राज्यहरूबीचको औपचारिक सम्झौता मार्फत अर्को देशको सेनामा आफ्ना नागरिक पठाउँछ ?’

    धरानबाट फर्किएपछि मैले उनीसँग पुतलीसडकको एक कफी सपमा भेटेको थिएँ।  मेरो प्रश्न सुनेपछि कालो कफीको चुस्की लिँदै उनी केहीबेर मौन भए। अनि भने, ‘आजसम्मको अध्ययन र कुराकानीमा मैले अन्त कतै यस्तो देखेको छैन। आफ्नो देशमा भर्ती डिपो नै खोलेर आफ्ना नागरिक विदेशी सेनामा पठाउने अर्को देश नहुनु पर्ने हो।’

    यसरी औपचारिक रूपमा विदेशी सेनामा भर्ती हुने परम्परा दुई सय वर्ष पुरानो छ। तर, नेपाली युवाहरू भारतीय सेनामा भर्ती हुने चलन भने त्यो भन्दा निकै पुरानो छ। खासमा यस्तो चलन कहिलेबाट सुरू भयो भन्ने प्रष्ट इतिहास हामीसँग छैन। यसको पुरानो इतिहास खोज्ने हो भने कथा इस्ट इन्डिया कम्पनीले गोर्खा बटालियन खडा गर्नुभन्दा निकै पुरानो देखिन्छ।

    हिमाल खबरपत्रिकाको नोभेम्बर १९९८को अंकमा प्रकाशित आफ्नो लेखमा जोन ह्वेल्प्टनले प्राचीन कालदेखि नै संसारभरी एक राज्यका बासिन्दा अर्को राज्यको सेनामा गएर काम गर्ने चलन रहेको भन्दै प्राचीन ग्रिक र मध्यकालीन युरोपका केही उदारहण दिएका छन्। स्वभाविक रूपमा दक्षिण एसियामा पनि यो प्रचलन थियो। वर्तमान नेपाल भित्र र आसपासका एक राज्यबाट अर्को राज्यको सेनामा काम गर्न जाने कुरा सामान्य थियो। सम्भवत: नेपालीहरू मुगल शासकका सेनामा काम गर्न पनि भारत जाने गर्थे। त्यसैले, पहिले भारतलाई मुग्लान भनिन्थ्यो।

    आधुनिक भारतीय सेनामा नेपालीहरू भर्ती हुन थालेको भने भारतमा ब्रिटिसहरूको आगमनको लामो समयपछि भएको एंग्लो-गोर्खा युद्धसँगै हो। बेलायतीहरूले भारतका विभिन्न भागको शासन हात लिएपछि खडा गरेका बम्बे, मद्रास र बंगाल प्रेसिडेन्सीका सैन्य दस्ता खडा गरेका थिए। सन् १८०४सम्म आइपुग्दा यी सैन्य दस्तालाई पुनर्संरचना गरी व्यवस्थित सेना बनाइयो। यहीँबाट आधुनिक भारतीय सैनिक इतिहास सुरू भएको सैनिक इतिहासकार उमाप्रसाद थपलियाले आफ्नो पुस्तक ‘मिलिटरी हिस्ट्री अफ इन्डिया’मा उल्लेख गरेका छन्। एक दशकपछि १८१५को एंग्लो-गोर्खा युद्धपछि इस्ट इन्डिया कम्पनीका सैन्य अधिकारीहरुले गोर्खा युनिट गठन गर्न सुरू गरेका थिए, जुन आज भारतीय सेनाको गोर्खा रेजिमेन्टहरूको इतिहासको उद्गम बिन्दु हो।

    सुरूमा गोर्खा शब्दले समग्र नेपाली भाषी समुदायलाई जनाउने शब्द नभएर काठमाडौंको उत्तरपश्चिममा रहेको सानो पहाडी राज्यको नाम थियो, जुन आज नेपालका ७७ मध्ये एक जिल्ला हो। लेखक एक्सेल मिखाइल्सका अनुसार सम्भवत गोर्खा शब्दको उत्पति गो-रक्षाबाट भएको थियो। केही इतिहासकारहरूले योगी गोरखनाथका नामबाट गोर्खा रहन गएको पनि तर्क गरेका छन्।

    बलभद्र कुँवर ।

    यही गोर्खा राज्यले वर्तमान नेपाल र भारतमा पर्ने विभिन्न भूभागहरूमाथि अधिपत्य कायम गर्दै १८औं शताब्दीको अन्त्यसम्ममा ठूलो हिमाली साम्राज्य स्थापना गर्‍यो। १९ औं शताब्दीको दोस्रो दशकमा भारतमा राज गरिरहेको इस्ट इन्डिया कम्पनीसँग युद्ध लड्यो। आधुनिक हतियार, युद्ध कला र ठूलो संख्याको कम्पनी सेनालाई युद्धमा आच्छुआच्छु पारेको यो सैन्य दस्तालाई बेलायतीहरूले गोर्खा भनेर चिने। उनीहरूले यही शब्द प्रयोग गर्न रूचाए र आफूअनुकल Goorkha र Gurkha बनाए। भारतीय नेपाली समुदाय आज आफूलाई गोर्खाका नाममा चिनाउन चाहन्छ। बाँकी विश्वले गोर्खाका नाममा चिने पनि विदेशी सेनामा काम गर्ने नेपालीलाई नेपाली समाज भने लाहुरे भनेर चिन्छ।

    इस्ट इन्डिया कम्पनीको सेनामा काम गर्न जानुअघि नेपालीहरू शिख सम्राट रन्जित सिंहको सेनामा जाने गरेको इतिहास पाइन्छ।  त्यसबेला पन्जाबको राजधानी वर्तमान पाकिस्तानको लाहोरमा थियो। लाहोरमा गएर भर्ती हुनुपर्ने भएकाले नै विदेशी सेनामा काम गर्नेहरूलाई लाहुरे भन्न थालिएको हो।  आफ्ना अग्रजहरूको यही पदचाप पछ्याउँदै गोरखाली सेनाका कप्तान बलभद्र कुँवर पनि शिख सम्राट रन्जित सिंहको सेनामा सामेल भए।

     विद्यालयका पाठ्यक्रममा उनले युद्धमा वीरगति प्राप्त गरे भनेर राखियो तर शिख साम्राज्यको सेनामा भर्ती भएर शिख-अफगान युद्धका क्रममा उनको मृत्यु भएको भने खुलाइएन। ‘एम्बिभ्यालेन्स डिनाइड’ शिर्षकको लेखमा प्रत्युष वन्तले लेखका छन्, ‘यसले गर्दा विद्यार्थीहरूमा उनले अंग्रेजविरूद्धकै युद्धमा मृत्युवरण गर्न पुगे भन्ने छाप बस्यो।’

    कुँवरका पुर्खा पृथ्वीनारायण शाहका बाबु नरभूपाल शाहको राज्यकालमा कास्की राज्यबाट गोर्खा सरेका थिए।  त्यसपछि कुँवर परिवार तत्कालीन गोर्खा राज्यको महत्वपूर्ण भारदार खलक बनेको थियो। बलभद्रका हजुरबुवा जयकृष्ण कुँवर गोरखाली सेनका महत्वपूर्ण लडाका थिए। जयकृष्णका दाजु रामकृष्ण त पृथ्वीनारायण शाहका सेनापति समेत भए। बलभद्रका बाबु चन्द्रवीर कुँवर पनि गोरखाली सेनामै थिए।

    गोर्खाका राजा पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा कुँवर परिवार दिलोज्यानले सरिक भएका थिए। शाहले आफ्नो अभियानमा पहिले छिमेकी राज्य नुवाकोटमाथि हमला गरी गोर्खामा सामेल गराए। यसपछि उनले काठमाडौं उपत्यकाका तीन राज्य काठमाडौं, भक्तपुर र पाटनमाथि जित हात पारे। शाहले आक्रमण गर्ने थाहा भएका काठमाडौंका राजा जयप्रकाश मल्लले इस्ट इन्डिया कम्पनीलाई सहयोग मागे। तिब्बतसँगको व्यापारका लागि काठमाडौं उपत्यकामा प्रभाव जमाउन चाहिरहेको कम्पनीका लागि यो सुनौलो अवसर बन्यो। कम्पनीले तत्काल उनको सहयोगका लागि सेना पठायो। अगस्ट १७६७मा क्याप्टेन किनलकको नेतृत्वमा काठमाडौं हिडेको २४०० जनाको पल्टनलाई गोर्खाली फौजले बाटैमा आक्रमण गर्‍यो। सिन्धुली गढीमा भएको यो लडाईंमा पहाडी भूभागमा लड्ने अभ्यास नभएको अंग्रेज सेनालाई करिब ७ सय जनाको गोर्खाली फौजले सजिलै परास्त गर्‍यो। यो जित बापत गोर्खाली सेनाले ठूलो संख्यामा अंग्रेजहरूको बन्दुक र गोलीगठ्ठा हात पार्‍यो।  यो पहिलो घटना थियो जहाँ अंग्रेजले गोर्खाली सेनाको युद्ध कौशल र साहसको पहिलोपटक सामना गरेका थिए।

    यो पनि पढ्नुहोस् –

    भारतीय सेनामा अग्नीपथ योजना: त्रिपक्षीय सन्धि खारेज गर्ने उपयुक्त अवसर

    भारतीय सेनामा अग्नीपथ योजना: त्रिपक्षीय सन्धि खारेज गर्ने उपयुक्त अवसर

     

    यसपछि गोर्खाली सेनाले काठमाडौं उपत्यका जित्दै राजधानी गोर्खाबाट काडमाडौं सारे। पूर्वमा टिस्टा नदी हुँदै सिक्किमसम्म गोर्खा राज्यको सीमाना बिस्तार गर्‍यो। पृथ्वीनारायण शाहको युद्धअभियानभरी अंग्रेजसँग अर्को युद्ध भएन। उनीपछि राजा भएका उनका जेठा छोरा प्रतापसिंह शाहको राजा भएको ३ वर्षमै मृत्यु भए। नाबालक रणबहादुर शाहलाई राजा घोषणा गरी प्रतापसिंहकी रानी राजेन्द्रलक्ष्मी र पृथ्वीनारायणका माइला छोरा बहादुर शाहले काठमाडौं पश्चिमका स-साना राज्यहरूका साथै कुमाउँ र गढवालका अधिकांश भूभाग कब्जा गरी गोर्खाको सीमाना सतलज नदीसम्म पुर्‍याए। पहाडको सानो र गरीब पहाडी राज्यबाट गोर्खा साम्राज्य भइसकेको थियो।

    गोर्खा राज्यबिस्तारका लागि नेपालले पश्चिममा लडेको अन्तिम लडाईं सतलज नदी पारी कांगडासँग थियो। काँगडाको अरू भूभाग जिते पनि गोर्खाली सेनाले काँगडा किल्ला कब्जा गर्न सकेको थिएन र यसका लागि प्रयास जारी राखेको थियो। युद्ध चलिरहेकै बेला सन् १८०९मा काँगडाका राजा संसार चन्दले शिख सम्राट रञ्जित सिंहसँग सहयोग मागे। पन्जाबी सेनाले गोर्खाली सेनालाई पराजित गर्दै सतलज वारी आर्की किल्लामा धकेल्यो।  यसबेला बलभद्र कुँवर गोर्खाली सेनामै थिए।

    गोर्खा साम्राज्यको पहाडमा फैलँदो शक्ति भारतमा शासन गरिररहेका अंग्रेजको चाहना प्रतिकुल थियो। त्यसमाथि अझ, तिब्बतसँगको व्यापारका लागि काठमाडौंले बाटो नदिएपछि व्यापारका भोका अंग्रेजहरू काठमाडौं दरबारसँग असन्तुष्टी बढिरहेको थियो। पूर्वदेखि पश्चिमसम्म सीमाना जोडिएपछि सीमा विवादलाई लिएर बेलाबेला कम्पनी र काठमाडौं दरबारबीच किचलो भइरहेकै थियो। युद्धको वातावरण तात्तिरहेको थियो। अन्तत: नोभेम्बर १८१४ मा भारतका गभर्नर जनरल लर्ड मोइराले गोर्खाविरूद्ध युद्धको घोषणा गर्‍यो।

    इतिहासकार राठोरका अनुसार युद्धको मुख्य कारण तिब्बतसँग व्यापारका लागि अंग्रेजलाई काठमाडौंले गरेको असहयोग थियो। तर, तत्कालीन कारण भने सीमा विवाद नै थियो। दुवै तर्फका शासकहरू वन्यस्रोतले भरपुर र उब्जाउ तराईको समथर जमिनमा कब्जा जमाउन चाहन्थे। अहिले झैं वैज्ञानिक रूपमा प्रष्ट सीमाङ्कन थिएन। त्यसैले छिमेकी देशहरू सीमालाई लिएर एक आपसमा लडिरहन्थे। अंग्रेज वा भारतीय इतिहासकारहरूले  नेपाली पक्षले कम्पनीको भूमि दाबी गरेकाले युद्ध भएको उल्लेख गरेका छन् भने नेपाली इतिहासकारहरूले ठीक उल्टो, नेपालसँग निहुँ खोज्न अंग्रेजले गोर्खा साम्राज्यको भूमि  दाबी गरेकाले युद्ध भएको उल्लेख गरेका छन्। कारण जे भए पनि केही स्युराज र बुटबलका केही क्षेत्र माथिको नियन्त्रणलाई लिएर सुरू भएको विवाद युद्धमा परिणत भयो। यो युद्ध सन् १८१६ सम्म चल्यो।

    यो युद्धमा पश्चिम क्षेत्रका सेनापति अमरसिंह थापाले नालापानीको किल्लाको रक्षाको जिम्मा क्याप्टेन बलभद्र कुँवरलाई  दिएका थिए। उनी सेनापति थापाका छोरीतिरका नाती हुन्।

    कुवँर गोर्खाली सेना छोडेर महाराजा रन्जित सिंहको सेनामा भर्ती हुन गएका थिए। यसरी बलभद्र कुँवर सात वर्षअघि आफ्नै सेनासँग लडेको दुश्मन सेनामा भर्ती हुन पुगे। तर, रन्जित सिंहको सेनामा भर्ती हुन जाने उनी पहिलो नेपाली भने थिएनन्। उनका मामाहरू पहिलेदेखि नै त्यहाँ काम गरिरहेका थिए। मामाहरूकै बाटो पछ्याउँदै उनी शिख सेनामा पुगेका थिए।

    उनीहरूले दोस्रो लडाईंमै अंग्रेज सेनाको नेतृत्व गरिरहेका जनरल जिलेस्पीसहित ठूलो संख्यामा अंग्रेज सैनिकहरूलाई मारिदिए। यसपछि कर्णेल माबीको नेतृत्वमा आएको सेनाले किल्ला घेरेर किल्लामा पानी आउने मुहान थुनिदिएपछि गोर्खाली फौज किल्ला छोडेर निस्किन्छ। नालापानी किल्लाको यो युद्धको कथा नेपालमा निकै प्रचलित छ। आफूसँग पराजित भए पनि बहादुरीका साथ लडेको भन्दै अंग्रेजहरूले नालापानीमा गोर्खाली सेनाको सम्मानमा स्तम्भ बनाएका छन् भन्ने कुरा नेपालको पाठ्यपुस्तकमै समावेश गरियो। राष्ट्रिय विभुतिका रूपमा प्रस्तुत गर्दै नेपालको राष्ट्रियता निर्माणका लागि महिमामण्डन गरिने पात्रहरूमध्ये कुँवर एक थिए। विद्यालयका पाठ्यक्रममा उनले युद्धमा वीरगति प्राप्त गरे भनेर राखियो तर शिख साम्राज्यको सेनामा भर्ती भएर शिख-अफगान युद्धका क्रममा उनको मृत्यु भएको भने खुलाइएन। ‘एम्बिभ्यालेन्स डिनाइड’ शिर्षकको लेखमा प्रत्युष वन्तले लेखका छन्, ‘यसले गर्दा विद्यार्थीहरूमा उनले अंग्रेजविरूद्धकै युद्धमा मृत्युवरण गर्न पुगे भन्ने छाप बस्यो।’

    यस्तै बालकृष्ण समको कविता ‘नालापानी’ पनि स्कुलमा नै पढाइ हुन्थ्यो।  त्यसबेला स्कुल पढेका धेरैलाई यो कविता कण्ठस्थ नै छ:

    नालापानी किल्लामा
    नलिई आराम छिन्‌भर
    नसुती चारै प्रहर
    खूबै सित लडे रे
    बलभद्र कुँवर

    पहाडको टाकुरी
    चमचम चम्के खुकुरी
    जसरी मेघ गर्जन्छ
    आकाशमा सनन
    उसरी गर्जे नेपाली
    नालापानी घनन

    मूला काटे झैं काटी
    खुकुरी घुमे फनन
    एकरात सुनसान
    पानी आउने मुहान
    वैरी आई थुनेछ
    सास धान्ने कसरी ?

    • नालापानी, बालकृष्ण सम

    यो युद्धपछि काठमाडौं फर्किएका कुवँर गोर्खाली सेना छोडेर महाराजा रन्जित सिंहको सेनामा भर्ती हुन गएका थिए। यसरी बलभद्र कुँवर सात वर्षअघि आफ्नै सेनासँग लडेको दुश्मन सेनामा भर्ती हुन पुगे। तर, रन्जित सिंहको सेनामा भर्ती हुन जाने उनी पहिलो नेपाली भने थिएनन्। उनका मामाहरू पहिलेदेखि नै त्यहाँ काम गरिरहेका थिए। मामाहरूकै बाटो पछ्याउँदै उनी शिख सेनामा पुगेका थिए। इतिहासकार दिक्पाल लेख्छन्:

    ‘नालापानी युद्धका वीर कहलिएका बलभद्र कुँवर मामाहरू भूपालसिंह थापा र अर्जुनसिंह थापाको पछि लागेर लाहोर गई पञ्जाबकेशरी रणजित सिंहको फौजमा भर्ना भए। त्यहीं रहँदा अफगानिस्तानको युद्धमा प्राण त्याग गरे। त्यही लाहोर जानेहरू कालान्तरमा लाहुरे कहलाए।’

    भूपालसिंह र अर्जुनसिंह थापाभन्दा अघि पनि नेपालीहरू पन्जाबी सेनामा जाने गरेको सम्भावना छ। शिख-अफगान युद्धमा बलभद्र कुँवरले नेपाली पल्टनको नेतृत्व गरेका थिए। यही युद्धमा उनको मृत्यु भएको थियो।

    नालापानी युद्धको सांकेतिक तस्बिर।

    यसरी नेपाली समाजका लागि विदेशी सेनामा काम गर्नेहरू लाहुरे भए। विदेशीहरूका लागि भने उनीहरू गुर्खा वा गोर्खा हुनपुगे। लाहुरेलाई नेपालबाहिर ‘वीर गुर्खा’का रूपमा परिचित गराउने काम भने भारतमा औपनिवेशिक शासन लादेका बेलायतीहरूले गरे। तर, गोर्खा इतिहासको सुरूवात रोचक छ। सबैभन्दा पहिले गोर्खाका रूपमा भर्तीहुनेहरू ‘गोर्खाली’ नभएर कुमाउनी र गढवालीहरू थिए। कम्पनी सरकारले खडा गरेको गोर्खा युनिटले ‘१६ अप्रिल १८१५का दिन देउथलमा नेपाली सेनालाई हराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो,’ राठोर लेख्छन्, ‘यही युनिटले १५ मे १८१५मा मलाउँको किल्लामा अमरसिंह थापाविरूद्ध जित हात पार्न डेभिड अक्टोरलोनीलाई मद्धत गरेको थियो।’ तत्कालीन गोर्खा साम्राज्य भित्रको भूगोलका बासिन्दा भएकाले ब्रिटिस अधिकारीहरूले उनीहरूलाई पनि गोर्खा नै भनिरहेका थिए। उनीहरूले गोर्खाली सेनाविरूद्ध लड्न खडा गरेको शिरमुर र नासीरी बटालियनका स्वयंसेवी दस्ता नै आधुनिक भारतीय सेनामा नेपालीहरूको प्रवेशको ढोका थियो।

    अहिले भारतको हिमाञ्चल प्रदेशमा पर्ने शिरमुर त्यसबेला उक्त क्षेत्रको महत्वपूर्ण राज्य थियो। यहाँ गोर्खाली साम्राज्यको अधिपत्य स्थापना भइसकेको थियो। इतिहासकार महेशचन्द्र रेग्मीका अनुसार सिंगो कुमाउँ-गढवाल क्षेत्रमा गोर्खाले विजय प्राप्त गरेपछि चर्को कर असुली र दमनका कारण यहाँका किसानहरू असन्तुष्ट थिए। स्थानीय जमिन्दार र रजौटाहरू आफ्नो पगरी गुमेपछि असन्तुष्ट हुने नै भए। इस्ट इन्डिया कम्पनी पनि यी क्षेत्रबाट गोर्खालाई धपाएर आफ्नो पकड जमाउन चाहन्थ्यो। यही परिस्थितिमा सन् १८१४बाट कम्पनी र गोर्खाबीचको युद्ध सुरू भयो।

    युद्धका दौरान अमरसिंह थापाले सिरमुरको जैथक किल्ला  रक्षा गर्ने जिम्मा रणजोरसिंह थापालाई दिएका थिए। मेजर लुडलो र मेजर विलियम रिचर्डको नेतृत्वमा रहेको अंग्रेज फौजले डिसेम्बर १८१४मा दुईपटक जैथक आक्रमण गरेपनि कुनै सफलता हात पार्न सकेन। यसैबेला सेनापति थापाले  रेवन्त काजीको नेतृत्वमा ८०० जनाको टुकडी जैथक किल्लामा पठाए। थप सेना आउँदै गरेको खबरले ब्रिटिस क्याम्पमा खैलाबैला मच्चियो। जनरल जिलेस्पीका एडिसी रहेका फ्रेडरिक योङले तत्काल स्थानीय युवाहरूलाई भेला पारेर दुई हजार जनाको स्वयंसेवी सैन्य दस्ता तयार पारे। यो दस्तामा गोर्खाली शासनसँग असन्तुष्ट सिरमुरेहरू थिए। राठोरको पुस्तक ‘द गुर्खाज’मा उल्लेख भए अनुसार स्वयंसेवी दस्ताले तालिमप्राप्त र नियमित युद्धमा रहेको गोर्खाली सेनाको सामना त गर्न सकेन तर केही समयपछि यहि दस्ता शिरमुर बटालियनका रूपमा भारतीय गोर्खाको एउटा बटालियन हुँदै सेकेन्ड किंग इडवार्ड्स ओन गोर्खा राइफल्स बन्न पुग्यो। यो बटालियनमा योङले आफू गोर्खालीहरूको कब्जाबाट मुक्त भएपछि देहरादुन र शिरमुरमा रहेका बन्दीहरूलाई पनि समावेश गरेका थिए।

    गोर्खा भर्ती सुरूवातमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका अक्टरलोनीले प्रष्ट शब्दमा लेखेका छन्, ‘इस्ट इन्डिया कम्पनीका सिपाहीहरूसँग गोर्खाको तुलनै हुन सक्दैन।‘

    गोर्खासँगको युद्धमा सामेल भएका बेलायती सैन्य अधिकारीहरू गोर्खालीहरूको साहस र युद्धकौशलबाट गहिरोसँग प्रभावित भए। खलंगाको युद्धमा भाग लिएका एक जना बेलायती सैनिक जोन सीपले लेखेका छन्, ‘मैले जीवनमा यस्तो युद्ध कौशल र बहादुरी प्रदर्शन कहिल्यै देखेको थिइनँ। भाग्ने त कुरै छोडौं, मृत्युसँग पनि उनीहरूलाई कुरै डर छैन।’ गोर्खाहरू युद्ध मैदानबाट भाग्न होइन, मृत्युको सामना गर्न तयार हुन्छन् भन्ने उनको यही भनाई गोर्खा सैनिकको चिनारी बन्न पुग्यो।

    यस्तै, क्याप्टेन हेयरसेले गोर्खालीको प्रशंसा गर्दै लेखेका छन्, ‘उनीहरू साहसी छन्, अभाव सहन सक्छन्, र जातको विभाजन पनि त्यति धेरै छैन। उनीहरू तटस्थ हिन्दू हुन्। गाइको मासु बाहेक मेसमा उपलब्ध लगभग सबै कुरा खान्छन्।’ उनले गोर्खालीहरूलाई कम्पनीको सेनामा भर्ती गर्न सके उत्कृष्ट योद्धा बन्ने दाबी गरका थिए।

    गोर्खा भर्ती सुरूवातमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका अक्टरलोनीले प्रष्ट शब्दमा लेखेका छन्, ‘इस्ट इन्डिया कम्पनीका सिपाहीहरूसँग गोर्खाको तुलनै हुन सक्दैन।’

    खलंगाको युद्धपछि आफ्नो असफलताको कारण खुलाउँदै कर्णेल माबीले गभर्नर जनरल ह्यासटिङ्सलाई लेखेका थिए, ‘यसमा दुई कारण मुख्य रूपमा जिम्मेवार छन्: पहिलो र मुख्य कारण दुश्मनहरूको निष्ठा र बहादुरी हो जसले हाम्रो आक्रमण रोक्न निरन्तर लागिरहे र हाम्रो आक्रमणलाई निस्तेज पारिरहे… दोस्रो कारण, भिरालो भौगोलिक बनोट हो… बलभद्र एक बहादुर सैनिक र दयालु दुश्मन थिए।’

    गोर्खालीको वीरताबाट प्रभावित भएर युद्धपछि अंग्रेजले खलङ्गामा बनाएको स्तम्भको शिलालेखमा लेखिएको छ, ‘यो शिलालेख किल्लाका कमाण्डर हाम्रा वीर शत्रु बलभद्र, जो पछि रन्जित सिंहको सेनामा छँदा अफगानी लडाकुको गोली लागेर मृत्युवरण गर्ने आफ्नो टुकडीका अन्तिम योद्धा बने।  र ३१ अक्टोबर १८१४ मा मारिएका बहादुर गोर्खाहरूको सम्मानमा कुँदिएको हो।’

    इस्ट इन्डिया कम्पनीले गोर्खाली लडाकुहरू आफ्नो सेनामा लिन चाहनुको कारण उनीहरूको वीरताबाट प्रभावित भएर मात्रै थिएन, उनीहरूबाट खतरा महशुस गरेकाले पनि थियो। लडाकु गोर्खालीहरूलाई आफ्नो सेनामा लिन सके यो खतराबाट बच्न सकिने उनीहरूको विश्लेषण थियो। गोर्खाली युवाहरूलाई आफ्नो सेनामा भर्ती गर्न सिफारिस गर्दै अक्टलोनीले लेखेका थिए, ‘गोर्खाहरू महान् लडाकु मानिस हुन्, जससँग मित्रता गर्न सके भारत सरकारका लागि ठूलो शक्तिको स्रोत हुनेछन् भने दुरी कायम गरे खतराको कारण।’

    यी बटालियनमा अहिलेको नेपाली भूभागका बासिन्दा नभएर कुमाउनी र गढवालीहरू भर्ती भएका थिए। वर्तमान नेपाली भूभागका बासिन्दाको भर्ती भने अमरसिंह थापा र जनरल अक्टोरलोनीबीचको सम्झौतापछि सुरू भयो। गोर्खासँग कुमाउनी र गढवालीहरू पनि मिसाउने प्रचलन भने सन् १८८३ बाट रोकिएको थियो।  

    यसैले, युद्ध भइरहकै समयमा अक्टरलोनीले कम्पनी सरकारलाई अलग गोर्खा बटालियन खडा गर्न आग्रह गरेर पत्र पठाए। बंगालका तत्कालीन गभर्नर जनरल लर्ड मोइराले यसलाई सदर गर्दै कम्पनीका निर्देशकहरूलाई सिफारिस गरे। २४ अप्रिल १८१५मा कम्पनीका निर्देशकहरूले अलग गोर्खा बटालियन बनाउन निर्देशन जारी गरे। तर, यसअघि नै अक्टरलोनीले स्वयंसेवी दस्ताका रूपमा गोर्खा युनिट बनाएका थिए, जसलाई पछि नियमित सेनाका रूपमा नासिरी बटालियन बनाइयो। यो निर्देशनका आधारमा  तीनवटा नासिरी गोर्खा बटालियन खडा गरियो, जसको नाम पहिलो नासिरी, दोस्रो नासिरी र तेस्रो सिरमुर बटालियन राखियो। यही बटालियन पछि गएर फर्स्ट किंग जर्ज्स ओन गोर्खा राइफल्समा रूपान्तरित भयो। यही वर्ष कुमाउँ बटालीयन पनि खडा गरियो जसलाई पछि ‘थर्ड क्वीन अलेक्जेन्ड्राज ओन गोर्खा राइफल्स’ नाम राखियो। तर, यी बटालियनमा अहिलेको नेपाली भूभागका बासिन्दा नभएर कुमाउनी र गढवालीहरू भर्ती भएका थिए। वर्तमान नेपाली भूभागका बासिन्दाको भर्ती भने अमरसिंह थापा र जनरल अक्टोरलोनीबीचको सम्झौतापछि सुरू भयो। गोर्खासँग कुमाउनी र गढवालीहरू पनि मिसाउने प्रचलन भने सन् १८८३बाट रोकिएको थियो।

    -अमरसिंह थापा।

    यसबेला कम्पनी र गोर्खाबीच युद्ध चलिरहेकै थियो। आधुनिक हातहतियार, गोलाबारुद र ठूलो संख्या भएको अंग्रेज सेनाले गोर्खालाई दबावमा राख्यो। युद्ध मैदानमा कडा टक्कर दिए पनि नालापानी, देउथल, मलाउँ लगायतका युद्धमा पनि गोर्खाली फौज पराजित भयो। मलाउँमा पराजित भएपछि पश्चिम क्षेत्रका सेनापति अमरसिंह थापा अंग्रेज सेनाका कमाण्डर जनरल अक्टरलोनीसँग सम्झौता गर्न बाध्य भए। अंग्रेज सेनासँग उनले गरेको सम्झौतामा गोर्खाली सेनाका जवानहरू कम्पनी सरकारको सेनामा काम गर्न सक्ने उल्लेख गरियो।

    उक्त सम्झौताको पाँचौं बुँदामा उल्लेख छ, ‘काजी अमरसिंह थापा र काजी रणजोरसिंह थापाको व्यक्तिगत सम्मान रक्षार्थ नियुक्त भएका सिपाहीहरुबाहेक अन्य सबै नेपाली सिपाहीहरुलाई इच्छानुसार ब्रिटिस सेनामा भर्ती हुने अनुमति छ। यसरी भर्ती हुन चाहने सिपाहीहरुलाई दुवै राज्यकोबीच सन्धि नहुन्जेलसम्म कम्पनी सरकारबाट नै भत्ता पाउने व्यवस्था गरिने छ।” यो भारतीय सेनामा नेपालीको भर्तीको पहिलो औपचारिक र लिखित सम्झौता हो। अमरसिंह थापासँगको सम्झौतापछि लगभग १६०० जना कम्पनी सरकारको सेनामा काम गर्न गए। सन् १८२६मा दुवै नासिरी बटालियनलाई एकिकृत गरेर गोर्खा राइफल्स बनाइयो, जसलाई पछि ‘फर्स्ट किंग जर्ज्स ओन गोर्खा राइफल्स’ नाम दिइयो।

    यसपछि सन् १८१६मा सुगौली सन्धि भएपछि औपचारिक रूपमा एंग्लो-गोर्खा युद्धको अन्त्य भयो। कम्पनीले तयार पारी हस्ताक्षर गर्न दबाव दिइएको उक्त सन्धि मार्फत नेपालले मेची नदी पूर्व, महाकाली नदी पश्चिम र तराईको ठूलो भूभाग गरी लगभग दुई तिहाई भूमि ब्रिटिसलाई सुम्पियो। नेपालमाथि कम्पनीले विभिन्न किसिमको दबाव र प्रतिबन्ध थोपर्‍यो, जसमा अमेरिकी वा युरोपेली देशका नागरिकलाई नेपाल सरकारको सेवामा राख्न परे बेलायत सरकारको स्वीकृति चाहिने समेत उल्लेख छ।

    अंग्रेजहरूले युद्धपछि सन् १८१७मा कट्टक लिजनका रूपमा अर्को गोर्खा बटालियन खडा गरे, जसलाई पछि छैटौं गोर्खा राइफल्समा रूपान्तरण गरियो।

    सुगौली सन्धि लगत्तै सन् १८१७मा तेस्रो एंग्लो-मराठा युद्ध सुरू भयो। दुई वर्ष चलेको यो युद्धमा सिरमुर बटालियनले आफ्नो बहादुरी देखायो। गोर्खा बटालियनका रूपमा खडा गरिएको सेनालाई अंग्रेजले प्रयोग गरेको यो पहिलो अवसर थियो। यसपछि सन् १८२५को डिसेम्बर र १८२६को जनवरीमा कम्पनी सेनाले भरतपुर आक्रमण गरी कब्जा गर्‍यो, यसमा सबैभन्दा प्रभावकारी भूमिका यिनै तीनवटा गोर्खा बटालियनले खेलेका  थिए। खासगरी नासिरी बटालियनको भूमिका यसमा सबैभन्दा प्रमुख रह्यो। यस्तै, १८४५ र ४६मा करिब ३ महिना चलेको एंग्लो-शिख युद्धमा पनि गोर्खाहरू अग्रमोर्चामा रहे। यी सबै युद्धमा कम्पनी सेनाले जित हात पार्‍यो। यसले कम्पनी सरकारलाई थप गोर्खा बटालियनहरू खडा गर्नुपर्ने आवश्यकता महशुस गरायो।

    सन् १८५७मा भएको सीपाही विद्रोहले गोर्खाप्रति अंग्रेजको धारणा अझ बलियो बनायो। भारतभर विभिन्न स्थानमा आगोसरी फैलिएको विद्रोहमा गोर्खाहरू अंग्रेजप्रति बफादार मात्रै रहेनन्, विद्रोह दबाउन अग्रमोर्चामा खटिए। सिरमुर बटालियनले विद्रोह दबाउँदै दिल्ली कब्जा गरेको थियो।

    सन् १८५७मा भएको सीपाही विद्रोहले गोर्खाप्रति अंग्रेजको धारणा अझ बलियो बनायो। भारतभर विभिन्न स्थानमा आगोसरी फैलिएको विद्रोहमा गोर्खाहरू अंग्रेजप्रति बफादार मात्रै रहेनन्, विद्रोह दबाउन अग्रमोर्चामा खटिए। सिरमुर बटालियनले विद्रोह दबाउँदै दिल्ली कब्जा गरेको थियो। यता केही वर्षअघिमात्रै कोत पर्व मच्चाएर सत्तामा आएका नेपालका प्रधानमन्त्री श्री ३ जंगबहादुर राणा  गोर्खाली सेनाको नौ हजार जनाको टुकडी लिएर आफैं  पुगे। लखनउको दमनमा उनको मुख्य भूमिका रह्यो। विद्रोह दबाउन भूमिका खेलेबापत खुशी भएर बेलायतले सुगौलीको सन्धि परिमार्जन गर्दै राप्ती नदी पश्चिम र महाकाली पूर्वको तराईको भूमी नेपाललाई फिर्ता गर्‍यो, जसमा वर्तमान नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पर्छन्।

    विद्रोह दमनकै क्रममा अंग्रेजले भारतमा थप दुई गोर्खा राइफल्स खडा गरे। अतिरिक्त गोर्खा रेजिमेन्टमा नाममा १८५७मा र २५औं पन्जाब इन्फेन्ट्री वा हजारा-गोर्खा बटालियनका नाममा १८५८मा दुई बटालियन खडा गरिए। पछि यी बटालियनलाई चौथो गोर्खा राइफल्स र पाँचौ गोर्खा राइफल्समा रूपान्तरण गरियो।

    यो पनि पढ्नुहोस् –

    गोर्खाको कथा-१: अग्निपथले तुहाएको लाहुरे सपना

    गोर्खाको कथा-१: अग्निपथले तुहाएको लाहुरे सपना

    विद्रोह पछि इस्ट इन्डिया कम्पनी भंग गरियो। बेलायतको राजसंस्थाले भारतको शासन आफ्नो हातमा लियो। तर, गोर्खाहरू प्रतिको उनीहरूको आकर्षण भने अझै बढ्दै गयो। सिपाही विद्रोहको कठीन परिस्थितिमा गोर्खा बटालियनको अंग्रेज प्रतिको बफादारिता, विद्रोह दमनमा उत्रिँदै देखाएको वीरता र नेपालबाट गएको फौजले गरेको सहयोगले बेलायत गोर्खाली सेनाको संख्या बढाउनु पर्ने निष्कर्षमा पुग्यो।

    १८६१मा यी बटालियनहरूको स्तरउन्नती गर्दै विभिन्न पाँचवटा गोर्खा रेजिमेन्टका रूपमा पुनर्संरचना गरियो। (सुवेदी, ५०)  गोर्खा सैनिकहरूलाई १८६४ मा भारतका विभिन्न भूभागमा जमिन खरिद गर्न अनुमति दियो। देहरादून, अल्मोडा, धर्मशाला लगायतका स्थानमा गोर्खा सैनिकहरू जमिन खरिद गरेर स्थायी बसोबास गर्न थाले। यसरी स्थायी बसोबास गरेका परिवारबाट जन्मिएका सन्तानलाई गोर्खा बटालियनमा भर्ती गर्न सजिलो हुने हिसाब अंग्रेजले गरेका थिए।

    सन् १८४३मा जंगबहादुरले आदेश जारी गर्दै ‘अबदेखि भर्ती हुन जान नदिनु’ भन्ने खबर पठाए। उनको आदेशमा उल्लेख थियो, ‘कोही जान्छ भने उसको स्वास्नी पोइल गए जारी लाग्ने छैन। कसैले पनि ब्रिटिस फौजी लुगा लगाएर नेपालमा घुम्न पाउने छैन।’ यस्तै १८५७ मा  सुदुरपश्चिमका एकजना जिल्लाधीश मेजर जनरल कृष्णध्वज कुँवरलाई पठाएको आदेशमा लेखिएको छ, ‘हाम्रा मुलुकका गोर्खाली मानिसलाई अल्मोडा गई पल्टनमा भर्ती नहुन भनी साहेबले थाहा नपान्या गरी उर्दी दिन। दुनियालाई कर लगाई भर्ती गर्न भन्या हुँदैन। आफ्ना खुशीले भर्ती हुन आउन्याहरू घाटमा रोकिन्या छैनन्, खुनषत गरी जान्या मात्र रोकिन्या छन् भनी निज साहेबलाई लेखी पठाउन्या का गरौं।’

    ब्रिटिस-इन्डिया सरकारलाई रिझाइराख्नु पर्ने बाध्यता भए पनि भए पनि नेपाली शासकहरु कम्पनी सेनामा आफ्ना नागरिक पठाउन सकारात्मक थिएनन्। अंग्रेज खुशी पार्न आफैं सीपाही विद्रोह दबाउन भारत गएका श्री ३ जंगबहादुर आफ्ना प्रजा बेलायती सेनामा जाउन भन्ने चाहँदैन थिए। तर, सीधै हुँदैन भन्न पनि सक्ने अवस्थामा थिएनन्। त्यसैले उनले बीचको बाटो रोजे। अंग्रेजलाई हुन्छ हुन्छ भन्ने तर आफ्ना जनतालाई निरूत्साहित गरिररहने। सन् १८४३मा जंगबहादुरले आदेश जारी गर्दै ‘अबदेखि भर्ती हुन जान नदिनु’ भन्ने खबर पठाए। उनको आदेशमा उल्लेख थियो, ‘कोही जान्छ भने उसको स्वास्नी पोइल गए जारी लाग्ने छैन। कसैले पनि ब्रिटिस फौजी लुगा लगाएर नेपालमा घुम्न पाउने छैन।’

    यस्तै १८५७ मा  सुदुरपश्चिमका एकजना जिल्लाधीश मेजर जनरल कृष्णध्वज कुँवरलाई पठाएको आदेशमा लेखिएको छ, ‘हाम्रा मुलुकका गोर्खाली मानिसलाई अल्मोडा गई पल्टनमा भर्ती नहुन भनी साहेबले थाहा नपान्या गरी उर्दी दिन। दुनियालाई कर लगाई भर्ती गर्न भन्या हुँदैन। आफ्ना खुशीले भर्ती हुन आउन्याहरू घाटमा रोकिन्या छैनन्, खुनषत गरी जान्या मात्र रोकिन्या छन् भनी निज साहेबलाई लेखी पठाउन्या का गरौं।’  सन् १८६८मा उनले कानुन नै जारी गरे जुन कानुनले भर्ती लाग्न जानेको जग्गा राज्यको हुने व्यवस्था गर्‍यो।

    जंगबहादुर राणा ।

    जंगबहादुरको नीतिलाई उनका भाइ रणोद्धिप सिंहले निरन्तरता दिए। रणोद्धिप प्रधानमन्त्री भएका बेला सन् १८७८मा अंग्रेजले एक हजार नयाँ भर्तीको माग गर्‍यो। रणोद्धिपले यो माग अस्वीकार त गरेनन् तर ५५९ जनामात्रै पठाए जसमा ३३९ जना त शारिरिक रुपमा अशक्त थिए। सेनामा काम गर्न अनुपयुक्त भएको भन्दै उनीहरूलाई फिर्ता पठाइएको थियो।

    नेपाल सरकारले खुलेर सहयोग नगरेका कारण अंग्रेजहरूले नेपाली सीमाना नजिकै भर्ती डिपो खोलेर गोर्खा भर्ती सञ्चालन गरिरहेका थिए। सुरूमा यस्तो भर्ती अल्मोडामा मात्रै लिइन्थ्यो तर पछि भारतका गोरखपुर, लेरा, कुनाघाट र घुमपहाड लगायतका नेपालसँगका सीमावर्ती क्षेत्रमा भर्ती डिपो सञ्चालन गर्न थालियो।  यी डीपोसम्म नेपाली युवाहरूलाई पुर्‍याउन बेलायती सेनाले खटाएका गल्लावाल(एजेन्ट)हरू गुपचुप रुपमा नेपालका गाउँगाउँमा जान्थे र युवाहरूलाई फकाउँथे। अनि भर्ती भएर आएकाहरूले पनि अनेक तरिकाले युवाहरूलाई फकाउने गर्थे। आफ्ना खसम वा छोराहरू लाहुर जालान् भन्ने डरले गल्लावाल गाउँ पसेको खबर पाएपछि महिलाहरू उनीहरूको पिछा छोड्दैन थिए। सरकारले बेलाबेला गल्लावालहरूलाई पक्राउ गर्ने गर्थ्यो।

    विश्वशक्ति बेलायतलाई खुशी राख्नु पर्ने बाध्यतामा रहेको काठमाडौंको शासक वर्ग आफ्नो नीतिमा टिकिरहन सकेन। भीमसेन थापाको मुख्तियारीकालमा सुगौली सन्धिमार्फत ब्रिटिस इन्डियाको प्रभुत्व र हस्तक्षेपलाई बाटो खोलिसकेको नेपाली शासकवर्ग यसमा धेरै टिक्न सम्भव पनि थिएन। जङ्गबहादुरको जस्तो चातुर्य उनका उत्तराधिकारीमा हुन सकेन। अझ, षडयन्त्र र हत्यामार्फत सत्तामा उदाएको समशेर खलक भारतमा रहेको बेलायती सत्ताको आशिर्वाद पाउन जमिनमै लम्पसार परिदियो।

     प्रधानमन्त्री रणोद्धिप सिंह लगायतको हत्या गर्दै सन् १८८५मा वीरशम्शेर श्री ३ महाराज तथा प्रधानमन्त्री बने। आफ्नो शासनलाई बेलायतले मान्यता दिनु पर्ने आवश्यकता महशुस गरी उनी भारतमा रहेका अंग्रेज रिझाउन लागे। अंग्रेजले पनि उनलाई आठ हजार राइफल र प्रतिजवान २० रूपैंया दिने प्रलोभन देखाएपछि उनले खुलेर गोर्खा भर्तीमा सहयोग गरे। सन् १९०१मा श्री ३ महाराज एवम् प्रधानमन्त्री बनेका चन्द्रशम्शेरले यसलाई अझ बढोत्तरी दिए। सन् १९०८सम्ममा गोर्खा रेजिमेन्टको संख्या १० वटा पुगिसकेको थियो र प्रत्येक रेजिमेन्टमा दुई दुई बटालियन गरी २० वटा बटालियन बनाइएका थिए।

    प्रधानमन्त्री रणोद्धिप सिंह लगायतको हत्या गर्दै सन् १८८५मा वीरशम्शेर श्री ३ महाराज तथा प्रधानमन्त्री बने। आफ्नो शासनलाई बेलायतले मान्यता दिनु पर्ने आवश्यकता महशुस गरी उनी भारतमा रहेका अंग्रेज रिझाउन लागे। अंग्रेजले पनि उनलाई आठ हजार राइफल र प्रतिजवान २० रूपैंया दिने प्रलोभन देखाएपछि उनले खुलेर गोर्खा भर्तीमा सहयोग गरे। सन् १९०१मा श्री ३ महाराज एवम् प्रधानमन्त्री बनेका चन्द्रशम्शेरले यसलाई अझ बढोत्तरी दिए। सन् १९०८सम्ममा गोर्खा रेजिमेन्टको संख्या १० वटा पुगिसकेको थियो र प्रत्येक रेजिमेन्टमा दुई दुई बटालियन गरी २० वटा बटालियन बनाइएका थिए।

    प्रथम विश्वयुद्धका दौरान चन्द्रशम्शेरले आफैं अघि सरेर बेलायती साम्राज्यको सहयोगका लागि नेपाली युवाहरू पठाउने प्रस्ताव गरे। उनको यो रवैयालाई दोस्रो विश्वयुद्धका बेला नेपालको सत्ता सम्हालेका जुद्ध र पद्म शमशेरले पनि निरन्तरता दिए। यी विश्वयुद्धका दौरान ठूलो संख्याका नेपाली युवाहरू ब्रिटिस-इन्डियाको सेनामा भर्ती भए। बेलायतको हाउस अफ कमन्सको डिफेन्स कमिटीले २ मार्च १९८९मा पेश गरेको प्रतिवेदन अनुसार पहिलो विश्वयुद्धमा दुई लाख र दोस्रोमा साढे २ लाख  गोर्खाहरू बेलायतका तर्फबाट सहभागी भएका थिए। पहिलोमा २० हजार र दोस्रोमा लगभग १० हजार गोर्खा सैनिक मारिएका थिए। सरदार भीमबहादुर पाँडेले पहिलो विश्वयुद्धमा नेपालको पहाडका वयस्क पुरूषको २० प्रतिशत सहभागी भएको अनुमान गरेका छन्। दोस्रो विश्वयुद्धमा पनि त्यसै हाराहारीमा नेपाली पुरूषहरू सहभागी भएको अनुमान गर्न सकिन्छ। यसक्रममा १३ जना गोर्खाहरूले बेलायतले आफ्ना सेनालाई प्रदान गर्ने प्रतिष्ठित भिक्टोरिया क्रस पदक प्राप्त गरे।

    हिमाल खबरपत्रिकाका पूर्वसम्पादक तथा लेखक बसन्त थापाले आफ्नो निचोड सुनाए, ‘नेपालीहरूले ब्रिटिसका लागि लडेबापत जे-जति पाए, हामीले गुमाएको तुलनामा त्यो नगन्य हो। हामीले केही पाएनौं, मात्रै गुमायौं।’

    बेलायतीहरूले दुश्मन क्याम्पमा खैलाबैला मच्चाउन गोर्खाको दानवीयकरण गरेर प्रचारबाजी पनि गरे। अर्को लेखमा हामी बिस्तारमा यो कथा पढ्नेछौं।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      Tags: अग्नीपथगोर्खा भर्तीभारतीय सेना
      रोहेज खतिवडा

      रोहेज खतिवडा

      खतिवडा नेपाल रिडर्सका संवाददाता हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.